Sunday, June 24, 2012

लू -पाठक पत्र-रामबाबु नेपाल


(रामबाबु नेपाल)

(फेसबुक म्यासेजमा मिति २०६९ असार ११ गते प्राप्त । उहाँको फेसबुक ठेगाना-http://www.facebook.com/nepalrbabu )

प्रिय नयनराज पाण्डेज्यू
नमस्कार


यहाँले लेख्नु भएको लू उपन्यास भर्खरै पढी सकेर केही लेख्न मन लाग्यो । यहाँको ईमेल एड्रेश नहुँदा फेसबुकको माध्यमबाट आफूलाई लागेका कुराहरु लेख्दैछु । नेपाल बाहिर हुनाले पुस्तक प्राप्त गर्न समय लाग्यो ।
१.यहाँको अघिल्ला कृतिहरु निँदाएँ जगदम्बा र उलार पढेको थिएँ । दुवै मन छुने थिए । तर लू बृहत् र अझै बढी समाजको प्रतिबिम्ब प्रस्तुत गर्न सफल जस्तो लाग्यो ।.
२.नेपालको तराईको भारतीय सीमा नजिकका गाउँ र त्यहाँका वासिन्दाले भोग्नु पर्ने नियतिलाई नजिकबाट नियालेर प्रकाशमा ल्याइदिनु भएकोमा धन्यवाद ।
३.हिन्दू मुस्लिमबीच परिआउँदा केहीले हिम्मतसाथ दर्शाएको सहयोग सद्भावले दर्शाई हाम्रो समाजको सकारात्मक पक्षलाई उजागर गर्नु भएकोमा खुशी लाग्यो ।
४.हाम्रो समाजमा भएका असाध्यै अवसरवादी राजनीतिक ब्यक्तित्वहरुलाई उनीहरुको कर्तूत सान्दर्भिकरुपमा उल्लेख गर्नु भएकोमा पनि रमाइलो लाग्यो ।
५.समाजमा सिधासाधा रुपमा आफ्नो पेशा गरेर न्यूनतम अपेक्षा राखी जीवन गुजारा चलाइरहेकालाई कसरी दबाइन्छ त्यसलाई पनि मनमोहक ढङ्गबाट प्रस्तुत गर्नु भएको मलाई लागेको छ ।
६.ईस्लाम धर्मबारे यहाँको जानकारी प्रशंसनीय लाग्यो ।
७.उपन्यासमा प्रयुक्त भाषा बहुत रुचिकर लाग्यो ।
८.सबै कुरा त राम्रा छन् । तर मलाई खट्केको कुरा बदमासले सजाय पाएको देखिएन । अरुको नोक्सान गर्ने आफैले कुनै समयमा सजाय पाउँछ भन्ने कुरा दर्शाउन चुक्नु भएको होकि जस्तो मलाई लाग्यो ।
९.मलाई जानकी र कमला गाउँबाट वाध्य पारेर धपाइएपछि (पृष्ठ ६९) भविष्यमा राम्रो स्थितिमा कतै भेटिन्छन् कि जस्तो लागेको थियो, नभेटिँदा धेरै दु:ख लाग्यो । उनीहरुको दु:खलाई बुझेर उद्धार गरिदिने कोही भेटिएको भए उपन्यास अझ बढी राम्रो हुने थियो जस्तो लाग्यो ।

समग्रमा उपन्यास निकै रोचक पाएँ । यस्तै कृतिहरु भविष्यमा लेख्दै जानु होस् । यहाँको विचार, लेखनी अझ सशक्त बनोस्,  यही शुभकामनासहित अहिले विदा होऊँ । काठमाण्डु आउँदा सम्पर्क गरेर बसेर कुरा गर्न मन लागेको छ ।
यहाँलाई मेरा कुरा रुचिकर नलागे पनि लेख्नु होला है । त्यो मेरा लागि पनि पाठ हुनसक्छ । मैले अरु लेखकहरुलाई पनि उहाँहरुको उपन्यास पढेर लेख्ने गरेको छु ।

यहाँ र परिवारको आरामीको कामनासहित विदा हुन्छु ।

हार्दिक शुभकामनासहित
रामबाबु नेपाल

Saturday, June 23, 2012

लू लेख्न लू को प्रेरणा- अन्तर्वार्ता


‘नेपालगन्जको लूले लू लेख्न प्रेरित गर्‍यो’

(नागरिक दैनिकको 'पश्चिमेली'का लागि तुफान न्यौपानेले लिनु भएको अन्तर्वार्ता । २०६९ असार ९ गते शनिवार प्रकाशित ।)

नयनराज पाण्डेको अघिल्लो लघु उपन्यास ‘उलार’ चर्चित थियो । बाँके, नेपालगन्जको टाँगावालाको कथा थियो उलारमा । पाण्डेले ०४६ को परिवर्तनयता देखिएको राजनीतिक विकृतिलाई मिहिन तरिकाले उतारेका थिए । अहिले उनको पछिल्लो उपन्यास ‘लू’ चर्चामा छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपाली नागरिकले भोगेका दुःख र संघर्षलाई ‘लू’मा उतारेका छन् पाण्डेले । ‘लू’ पनि बाँकेको कथा हो । तर पाण्डे भन्छन् - ‘उपन्यासको गाउँ र पात्र बाँकेका भए पनि यो अन्तराष्ट्रिय मामिला सम्बन्धी उपन्यास हो, ‘लू’ को समस्या बाँकेमा मात्र छैन, देशभरका सीमामा बस्ने नागरिकले भोगेका छन् ।’ 

बिहीबार बिहान उनीसँग अन्तरवार्ता गर्दासम्म लू को ७ हजारप्रति बिक्री भइसकेको थियो । शुक्रबार तेस्रो संस्करण बजारमा आएको छ । पाण्डेका यसअघि नाङ्गो मान्छेको डायरी (२०४४), विक्रमादित्य एउटा कथा सुन (२०४४), अतिरिक्त (२०५०) र उलार (२०५५) उपन्यास प्रकाशित भइसकेका थिए । ‘लू’ उनको पाँचौँ उपन्यास हो । उनका खोरभित्रको जोकर (२०६०) र निदाएँ जगदम्बा (२०६५) गरी दुई वटा कथासंग्रह प्रकाशित छन् ।

‘यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र अपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसितको युगौँदेखि जारी सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको प्रेम र सामाजिक सद्भाव अत्यन्त नजिकबाट अनुभव गर्न पाइन्छ’ (लू को कभर पृष्ठबाट) । उनको नयाँ उपन्यास ‘लू’ बारे उपन्यासकार पाण्डेसँग नागरिककर्मी तुफान न्यौपानेले गरेको कुराकानी:

अघिल्लो उपन्यास ‘उलार’ र ‘लू’ लाई कसरी तुलना गर्नुहुन्छ ? 

दुवैमा आञ्चलिक परिवेश छ । बाँके क्षेत्रको संस्कृति र रहनसहन छ । दुवै बाँकेका कथा हुन् । दुवैमा स्थानीय, पात्र, कथा र जीवन छ । तर दुवै उपन्यासले उठाएको विषयवस्तु राष्ट्रिय हो । बाँकेका पात्रमार्फत् राष्ट्रिय कथा भन्न खोजिएको छ ।
उलारको कथा देशको राजनीतिसँग सम्बन्धित छ । ०४६ पछिको परिवर्तन र विकृति छन् त्यसमा । लू मित्रराष्ट्र भारतसँग पनि सम्बन्धित छ । यसले अन्तर्राष्ट्रिय मुद्दा उठाएको छ । सीमा क्षेत्रका पीडा बोलेको छ । उलार एउटा निश्चित विषयवस्तुमा सीमित पात्रको वरिपरि घुमेको छ भने लू मा धेरै पात्र र विषयवस्तु समावेश छन् । 

मुख्य पात्रमा सबैप्रकारका शोषण विरूद्ध लड्ने चेतना बढेको देखाएर उलारको अन्त्य गरिएको छ, तर लू का पात्रमा चेतना स्तर किन विकास नगरिएको हो ? 

होइन, त्यस्तो छैन । यसमा पनि प्रशस्त विद्रोहको भावना छ । नेपाली भूमिका रक्सीले मातेर आएका भारतीय प्रहरीलाई पिट्दै गिरफ्तार गर्ने महेशर र सीमा नाकामा जुम्लीलाई लुट्दै गरेका भारतीय एसएसबीका प्रहरीसँग लड्दालड्दै वेपत्ता महेशरको छोरा जागेशर के कम विद्रोही हुन् ? भारतीय गुण्डा शम्भुरामको चाकडी गर्ने बजरङ्गीले पछि अब कहिल्यै उसको काम नगर्ने प्रण गरेको छ र भारतीय झण्डालाई कट्टु बनाएर लगाएको छ, यो पनि ठूलो विद्रोह हो । उपन्यासको मुख्य पात्र इलैयाले त शम्भुरामलाई गोली हानेको छ । सीमा क्षेत्रको यथार्थ चित्रण गर्ने प्रयास गरिएकोले संगठित विद्रोह देखाइएको छैन । सीमा क्षेत्रमा त्यसप्रकारको विद्रोह भएको पनि त छैन । तर कथाका पात्रका चरित्रले गर्ने विद्रोह यसमा पनि छ । पूरै उपन्यासको मुल सन्देश पनि विद्रोही छ । सीमामा हुने हरेक ज्यादती विरूद्ध उत्रन आह्वान गरेको छ किताबले ।

किताबमा बाँकेको कथा समेट्न तपाईंलाई केले प्रेरित गर्‍यो ? 

बाँके मेरो घर हो । यहाँ मैले जिन्दगीको लामो कालखण्ड बिताएको छु । परिवेश, पात्र र घटना नजिकबाट चिन्छु । यहाँको धेरै ठाउँ पुगेको छु । धेरै पात्रसँग मेरो संगत छ । कतिपय त मेरा साथीभाइ हुन् । मैले लू लेख्न ४५ वर्ष लगाएको छु । मैले यहाँको संस्कृति, रहनसहन, परिवेश, घटना र पात्रलाई ४५ वर्षदेखि भोग्दै आएको छु । लिपिवद्ध गर्न मात्र तीन वर्ष लागेको हो । मैले देखेको जीवन भोगाइ लू मा उतारेको हुँ । बाँकेको लूसँग मेरो चिनापर्ची पुरानो हो । आफैले भोगेका, देखेका, बुझेका घटना लेख्दा प्रमाणित पनि हुन्छ ।

लू को प्रमुख पात्र इलैया उपन्यासभर नकारात्मक भूमिकामा छ, अन्तिममा एकाएक हिरोको भूमिका दिनुभयो, यो हिरोइज्मको स्रोत के हो ? 

हरेक मान्छेसँग खराब र असल प्रवृत्ति हुन्छ । तपाईं हामीसँग पनि त्यो प्रवृत्ति छ । इलैया खराब मान्छे होइन । उसले खाली उट्पट्याङ काम गथ्र्यो । आमालाई गुमाएपछि ऊ एक्लो भयो । उसले आमालाई बाहेक कुनै पनि केटीलाई राम्रो मान्दैनथ्यो तर नुसरतमा आमाको बिम्ब देख्यो । त्यसैले नुसरतको प्रेम पाउन उसले आफूलाई सुधा¥यो, किनकि उसलाई थाहा छ असल मान्छेले मात्रै प्रेम गर्न सक्छन् ।  प्रेमले मान्छेलाई परिवर्तन गर्छ भन्ने सूत्र प्रयोग गरेको छु मैले ।
उपन्यासका पात्रमा सिनेमा, नौटंकी, सर्कसको प्रभाव धेरै छ । उनीहरू फिल्मी टाइपको प्रेम गर्छन् । प्रेम पाउन असल हुन्छन् । त्यही पात्र मध्येको हो इलैया पनि । नुसरतको प्रेमले उसलाई सुधा¥यो ।

कथाको मुख्य पात्र इलैयाको निर्माण कसरी गर्नुभयो ? पात्रको निर्माण गर्नु त धेरै गाह्रो काम हो नि, होइन र ? 

पात्रहरू लेखकले सिर्जना गर्ने भन्दा पनि समाजबाट लिने हो । विषयवस्तु उठान गरेपछि त्यस विषलाई मिल्ने पात्र, चरित्र समाजमै खोज्ने हो । लेखकले सबैखाले चरित्र समाजमा देखेको हुन्छ, उसले आफ्नो आवश्यकता अनुसार त्यहाँबाट टिप्छ । इलैया जस्तो पात्र र चरित्र भएका व्यक्ति हाम्रो समाजमा धेरै ठाउँमा छन्, अथवा धेरै व्यक्तिको चरित्र मिसाउँदा उसको जस्तो बन्छ । लेखकले यी सबैलाई संयोजन मात्र गर्ने हो ।

कथाका अन्य पात्र कति यथार्थ हुन्, के तिनीहरू जीवितै छन् ? 

पात्र यथार्थ हुन् । जीवितै छन् । साहित्य मौलिक हुँदैन भनिन्छ नि । समाजमा कतै घटित घटनालाई लेखकले संयोजन गर्ने मात्र हो । त्यसैले कथा पनि जीवितै छ । परिवेश, पात्र, घटना फरक फरक ठाउँका होलान्, तर सीमा क्षेत्रमा बस्ने हरेकले यो कथा भोगेका छन् । ती सबैको भूमिका किताबका प्रतिनिधि पात्रले निभाएका छन् ।

पढ्दै जाँदा सत्य घटनामा आधारित हो कि जस्तो लाग्छ, किताबमा कति यथार्थता छ ? 

मैले चाहेकै त्यही थिएँ । यथार्थ कथा र गाउँ होस् भन्ने । ‘पत्थरपुरवा’ गाउँको नाम काल्पनिक हो । तर कथामा आएका वरिपरिका गाउँ, बजार, बाटा सबै वास्तविक हुन् । कल्पना र यथार्थताको मिश्रण हो । आख्यान भएकाले त्यसो गरेको । तर यस्ता गाउँ सीमाभर थुप्रै छन् । पूर्वदेखि पश्चिमसम्मका तमाम गाउँहरूको प्रतिनिधि गाउँ हो पत्थरपुरवा ।

किताब लेख्ने सोच बनाएर स्थलगत अध्ययन गर्दा र अहिले सीमाका ‘पत्थरपुरवा’ जस्ता गाउँ र गाउँलेको जीवनमा के परिवर्त आएको छ ? 

अहिले मोबाइलको सुविधा पुगेकोले सूचनाको पहुँच बढेको छ । तर राज्यको उपस्थिति छैन । उनीहरू भारतपरस्त छन् भन्ने राज्य सोच्छ, तर यथार्थमा भारतीय सीमा सुरक्षा बालद्वारा सबभन्दा बढी पीडित उनीहरू नै छन् । एसएसबीको अत्याचार, हत्या, हिंसा, लुटपाट, बलात्कार सबै उनीहरूले भोगका छन् । भारतको मिचाहा र हेपाह प्रवृत्ति देशभर छ । सीमाका नागरिकलाई तिमीहरू नेपाली हौ भनेर सोध्यो भने होइन भन्छन्, भारतीय हौ भन्यो भने पनि होइनौं भन्छन् । को हौ त भन्दा देशी हौँ भन्छन् । यस्तो अवस्था छ । सबै काम सीमा पारी निर्भर हुनुपर्छ । मालपोत बुझाउन र नागरिकता लिन मात्र नेपालगन्ज आउँछन् । अवस्था फेरिएको छैन । भारतीय सीमा सुरक्षा बलको ज्यादती रोकिएको छैन ।

कुरा गर्दै जाँदा तपाई भारत विरोधी जस्तो लाग्यो । 

म कुनै देशको पनि विरोधी होइन । तर जसले हामीलाई दुःख दिन्छ । हेप्छ । सीमा मिच्छ, उसको सबैले विरोध गर्नुपर्छ जस्तो लाग्छ । एक इन्च जमिन पनि कसैले मिच्न पाउँदैन । त्यो माटोको थुप्रो मात्र होइन । हाम्रो राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय हो । भारतले मात्र होइन चीनले सीमा मिच्यो भने त्यसको पनि विरोध गर्नुपर्छ । सीमा मिच्ने, नागरिकलाई दुःख दिने, लुटपाट गर्ने यस्ता व्यवहारको सबै सचेत नागरिकले विरोध गर्नुपर्छ ।

किताब बजारमा आएपछि पाठक प्रतिक्रिया कस्तो छ ? 

मलाई शंका थियो उपेक्षित ठाउँको विषय राष्ट्रिय मुद्दा नबन्ला कि भन्ने । नेपाली साहित्यमा तराईबारे अहिलेसम्म एकदम कम लेखिएका छन् । पहाडी परिवेशका उपन्यास पढ्ने बानी लागेकाले तराईको रहनसहन, संस्कृति, वेशभूषा र पात्र मन नपराउने हुन् कि भन्ने डर पनि थियो । तर पत्रपत्रिकामा किताबको समीक्षा छापिएपछि धेरै सकारात्मक प्रतिक्रिया आए । किताब पाठकको हातमा पुगेपछि देशको स्वाधीनताको विषयवस्तु उठान गर्नुभएको भनेर धन्यवाद पनि दिए । भर्खर प्लस टु र ब्याचलर पढ्दै गरेका विद्यार्थीको प्रतिक्रियाबाट उत्साहित छु । मैले कल्पना पनि नगरेका प्रतिक्रिया आइरहेका छन् ।

लूबारे देशका विभिन्न भागमा छलफल र अन्तरक्रिया भयो, तर जहाँको लूको कथा लेखिएको हो बाँके, त्यहाँ नै छलफल हुन सकेको छैन, किन ? 

नेपालगन्जमा पनि यसबारे छलफल हुन्छ । पाठक प्रतिक्रिया लिने र मैले आफ्ना कुरा भन्ने गर्नेछौँ । किताब प्रकाशन हुनेबित्तिकै हेटौडा, चितवन र पोखराका स्थानीय संघसंस्थाले चासो देखाए र त्यहाँ छलफल गरियो । जेठ १४ आसपासको बन्द, हड्तालले नेपालगन्जमा समयमा पुस्तक पुर्‍याउन सकिएन । अब छलफल गर्ने सोचिरहेका छौँ । जहाँको लूले मलाई ‘लू’ लेख्ने प्रेरणा दियो, त्यहाँ छलफल नगर्ने भन्ने हुँदैन ।

आगामी योजना के छ ? केही लेख्दै हुनुहुन्छ ? 

उपन्यास लेख्दै छु । पहिला प्रयोगमुलक लेखन रुचाउँथे । ‘उलार’ देखि सामाजिक यथार्थतिर रुचि बढेको हो । अहिले पहिला जस्तो कोठामा बसेर लेख्ने दिन गए । स्थलगत अध्ययन, अनुसन्धान नगरी लेख्न सकिदैन । त्यसैले कम्तिमा दुई वर्ष त लाग्छ होला । लेख्न सुरु गरिसकेको छु । राष्ट्रिय राजनीति, गणतन्त्रपछिका विकृति र परिवर्तन समेटिएको उपन्यास लेख्दै छु ।

Monday, June 18, 2012

'लू'बारे आफ्नो कुरा-दीपक जडित


(jaditdeepak.blogspot.com)


नयनराज पाण्डेको 'लू' पढेर सकें । शुरु गरेपछि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला?...............त्यहि सोच्दैछु अहिले ।

'लू'बारे आफ्नो कुरा लेख्ने ईच्छा 'लू' पढिसक्नासाथ फेसबुकको स्टाटसमा लेखेको माथिकै कुराबाट शुरु गर्न चाहें । र यो स्मरण गराउन चाहन्छु कि 'लू'बारे आफ्नो कुरा म आफ्नो ब्लगको निमित्त लेख्दैछु । अगाडी जे जति लेख्नेछु त्यो कृति समिक्षा हेतु लेखिएको हुनेछैन । कृति समिक्षा लेख्नलाई म सायद आफुलाई योग्य सम्झन्न र त्यो मेरो रुचि पनि होइन ।

हो, साह्रै व्यग्रतासाथ पढेर सिध्याएँ मैले 'लू' । माथि प्रश्न गरेको छु आफैंलाई कि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला? तर त्यो प्रश्न जवाफ खोज्नलाई नभएर 'लू' पढ्दाको तन्मयतालाई पुष्टी गर्न थियो ।

जे होस्, 'लू' मलाई चाँडै पढ्ने धोको थियो । 'लू' बजारमा आउनासाथ मैले नेपालबाट मगाएर पढ्ने अठोट गरेको थिएँ र नेपालमा किनेर पठाइदिनुहोला है भनेर उर्दी पनि जारी गरेको थिएँ । फेरिपनि नेपालदेखि यौटा मात्र किताब किनेर यहाँ, हवाईसम्म मगाउनु शिपिङ्ग खर्चको हिसाबले उचित थिएन । शिपिङ्ग खर्च किताब खरीद भन्दा निक्कै धेरै महङ्गो पर्नेथियो । त्यसैले 'लू'को साथमा आओस भन्ने हिसाबले अन्य केहि नयाँ पुराना किताबहरुको पनि लिष्ट बनाएँ र आफ्ना अन्य प्रयोजनका सामानहरु, जो केहि हफ्तापछि मगाउँदैथिएँ, का साथमा मगाउने निश्चय गरें ।

जब नेपालमा मेरो निम्ती 'लू' किनिने दिन आयो तबसम्ममा बजारमा 'लू'को दोश्रो संस्करण आइसकेको थियो । फलत: दोश्रो संस्करणमै मुद्रण भएको 'लू' मेरो हातमा आइपुग्यो ।

नेपालमा मेरो निम्ती 'लू' खरीद हुनु र 'लू' मसम्म आइपुग्नुका बिचमा पनि फेरि नेपालमा जातिय राज्यको माग र विरोध ईत्यादिका कारणले भएका हप्तौंका नेपाल बन्द र अमेरिकामा पालन गर्नुपर्ने भन्सारका प्रक्रियागत कुराहरु आदि ईत्यादिका व्यावधानहरु खडा भए । जस्ले 'लू' प्राप्त गर्ने प्रतिक्षा पनि ठुलो व्यग्रता बन्यो मेरो निमित्त । जति व्यग्र प्रतिक्षाका साथमा 'लू' हात पर्यो । पढ्न शुरु गरेपछि पढेर सक्नलाई पनि उत्तिकै व्यग्रता रहिरह्यो । पढ्न बसेपछि नसकुन्जेल नथन्क्याएको किताबको थोरै लिष्टमा 'लू'ले अर्को एक संख्या पनि थप्यो ।

फेसबुक तथा फेसबुक मार्फत ईन्टरनेट सञ्जालमा 'लू'का बारे अनेकौं समिक्षात्मक टिप्पणीहरु पढिसकेको हुनाले तथा 'लू'भित्र मुद्रण लगायत केलाइएका अन्य कमजोरीहरु पनि थाहा पाईसकेको हुनाले लू'को पठनमा केहो खल्लोपना आउला कि? तिनै कारणले मनमा चतुर पाठक हुँ भन्ने आग्रह उपस्थित गराएर पठनमा नमज्जा होला कि? भन्ने पिरोलो थियो म भित्र 'लू' पढ्न शुरु गर्दा ।

तर अचम्म भयो । नयनराज पाण्डेको कलमले त मलाई ठीक त्यसैगरेर मुग्ध पार्यो जसरी जमिलको घरमा बाल्टीमा पानीलिन आएकि नुसरतलाई देखेर छुल्याहा इलैया मुग्ध बनेको थियो । परन्तु अन्तिममा नुसरत र करिम इलैयाले दिएको साइकल चढेर भाग्छन् भन्ने पहिल्यै थाहा पाइसकेको हुँदा त्यो सस्पेन्स मनमा थिएन । तर नुसरतले थाहा पाउँन गरेको प्रयत्नको प्रस्तुतिले उत्तिकै मजा दियो जति त्यो रहस्य पहिल्यै थाहा नपाएको अवस्थामा हुनसक्थ्यो ।

इलैयालाई अन्त्यमा फरिस्ता भनिएको भएपनि पढुञ्जेल मलाई लेखकले कुनैपनि पात्रहरुलाई नियतवश उचाल्न तथा कुनैलाई दवाउन खोजेको प्रतीत भएन । सबै पात्रहरुको उपस्थिती स्वभाविक रह्यो मेरो निम्ती । बरु मलाई 'लू'भित्र पात्रहरुलाई भन्दा पत्थरपुरवा; स्थानलाई महत्व दिइएको झैं लाग्यो । त्यसैकारणले पनि 'लू'ले म भित्र विशेष स्थान बनायो ।

भर्जिनियाबाट खसखस डटकमका सञ्चालक वासु श्रेष्ठ दाइले 'लू' पढेपछि केहि पात्रहरु, जस्को उपस्थिती गौंण छ, लाई अनाहकमा हास्यास्पद नाम दिइएको र त्यसले लेखक मार्फत पात्रहरु हेपिनलाई मात्र ल्याईएको जस्तो देखिएको टिप्पणी लेख्नु भएको थियो । पुरै पत्थरपुरवाभरी प्राय प्रत्येकले हास्य उपनाम पाउने गरेको औपन्यासिक यथार्थका सामु मलाई भने त्यो पनि अस्वभाविक लागेन । (वासुदाइसँगको निकटताका कारण र वहाँको टिप्पणीमै पनि प्रतिटिप्पणी गरेको कारण यहाँ मैले यो कुरा खुलाएर लेख्न उपयुक्त ठानें ।)

उपन्यासको शुरुवातमा १० वर्षे बच्चाको तर्फबाट भएको प्रस्तुती र १० वर्षकै हाराहारी उमेरको इलैयाको चमत्कारी छुल्याँई भने अस्वभाविक लाग्यो मलाई । कतै कतै छोटा वाक्य गठनको सिलसिलामा अचाक्ली भएको जस्तो पनि मससुस हुँदैथियो पढ्दा । तर हाम्रो साहित्य समाजले छोटा वाक्य गठनलाई राम्रो भन्ने गरेको पाइन्छ । म भने व्याक्तिगत तवरमा पठनियतामा सरल हुनलाई सँधैं वाक्य गठन नितान्त छोटा नै हुनुपर्छ भन्ने मान्दिंन ।

उपन्यासको कथानक सकिइसकेपछिको टुटे पण्डितको चिठ्ठी र चिठ्ठीमा पत्थरपुरवा भारतको उत्तर प्रदेश राज्यमा परेको कुरा दुखपूर्ण रह्यो मेरो लागी । 'लू'ले नेपाल राष्ट्रलाई माया गर्ने एक एक व्याक्ति, एक एक गाउँ समाज र हरेक तह र तप्कामा सरकारी तलव, सुविधा, भत्ता, जागिर ईत्यादि खानेहरुको आँखा खोल्न मद्दत गरोस् र नेपालका कुनैपनि गाउँ वस्तीहरु भविश्यमा भारततर्फ सर्नबाट रोक्न सकोस । मेरो धेरै शुभकामना 'लू' र 'लू'का लेखक नयनराज पाण्डेलाई ।

Saturday, June 16, 2012

तातो हावा कि औपनिवेशिक बिम्ब ?- सावित्रा ढुङ्गाना


( झापाबाट प्रकाशित "जनसंसद दैनिक"मा असार २,२०६९ मा प्रकाशित)

विशेष गरी मधेश या तराई क्षेत्रमा ‘लु’ को खतरा हुन्छ । ‘लु’ को अर्थ तातो हावाको प्रवाह हो जो गर्मी याममा नेपालगञ्जतिर चल्ने गर्दछ । गर्मी याममा ‘लु’ का बिरामी बढ्छन् । तातो हावाबाट सावधानी अपनाउन नजान्ने र नसक्नेहरु यसका शिकार हुन्छन् र अस्पतालसम्मै पुग्नुपर्ने अवस्था आउाछ (‘लु’ को सोझो अर्थ यही हो)ले आफ्नो पछिल्लो उपन्यासको शीर्षक यही अक्षरलाई बनाए । पाण्डेको ‘लु’ उपन्यासले नेपाली साहित्यमा गर्मी बढायो । यसको तातोपन अझै सेलाइसकेको छैन ।

पाण्डेले उपन्यासमा प्रयोग गरेको शीर्षक ‘लु’ गजब कै बिम्ब बनेको छ । यसले उपन्यासको हकमा पात्रहरुको शरीरले अनुभूत गरेको तातो हावा र मनले जबरजस्ती सहनु परेको तातो हावाको अवस्थालाई कलात्मक ढङ्गले प्रतिबिम्बित गर्दछ । जसरी नेपालगञ्ज आसपास र राप्ती किनारका वासिन्दाले तातो हावाको झोक्का चुपचाप सहनुको विकल्प छैन त्यस्तै तिनका मनमा चलेको तातो हावा बहने ठाउा नहुादा त्यो पनि आाखा चिम्लेर सहनुपर्ने बाध्यता जस्तो देखिएको छ । इलैया, रेडियोलाल र बजरङ्गिहरुको शरीर र मन दुबै छिमेकी देशबाट चल्ने ‘लु’ को प्रवाहले पात झरेको रुख जस्तै उजाड भएको छ । गर्मी याम सकिएपछि शरीरले सहने ‘लु’ सकिन्छ तर तिनका मनमा चल्ने ‘लु’ बाह्रैमास रोकिन्न । त्यो चलिरहेकै छ । इलैयाहरुको मनको ‘लु’ नरोकिंदै र आाखाको राप्ती बग्दाबग्दै उपन्यासको कथा सकिएको छ । तर, कथाका पात्रहरुको त्यो भोगाइ सकिने संकेत भेटिंदैन ।

राजनीतिक रुपमा औपनिवेशिक युग सकिएको घोषणा भइसकेको छ । बेलायतद्धारा इष्ट इण्डिया कम्पनी र हल्याण्डद्धारा डच इष्ट इण्डिया कम्पनीको स्थापना गरी प्रारम्भ भएको उपनिवेश अठारौं शताब्दिमा युरोपमा औद्योगिक क्रान्ति भएपछि जोडतोडले अघि बढ्यो । अठारौं शताब्दिको अन्त्यमा अमेरिकाले आफू कसैको उपनिवेश नरहेको भने पनि अन्य मुलुकहरुमा दोस्रो विश्वयुद्धपछि मात्रै उपनिवेशको अन्त्य भयो । अंग्रेजी साहित्यका अध्येता डा. सञ्जीव उप्रेती उत्तरऔपनिवेशिकवाद शीर्षकमा लेख्छन् – यस अर्थमा भन्न सकिन्छ ‘अब औपनिवेशिकवाद संसारमा छैन र हामी सबै उत्तरऔपनिवेशिकवादी संसारमा बाँचिरहेका छौं । तर फेरि उप्रेती प्रश्न गर्छन् के औपनिवेशिकवादका स्वरुपहरु राजनीतिक मात्र थिए ? के औपनिवेशिकवादको अन्त भए तापनि यसका आर्थिक तथा सांस्कृतिक पक्षहरु समसामयिक विश्वमा अझै पनि बिद्यमान छैनन् ?’ यी प्रश्नहरुको उत्तर खोज्ने प्रयास पनि उनले अरु थुप्रै उत्तरऔपनिवेशिक समालोचकहरुले गरेका छन् ।

तर नेपाल त साधै औपनिवेशिक चङ्गुलबाट बच्यो नि । नेपालले भारत, अमेरिका र चिन जस्तो कुनै पनि देशको औपनिवेशिक दास बन्नु परेन । के त्यसो भए औपनिवेशिकवादका आर्थिक र साँस्कृतिक वाछिटाहरुले पनि नेपाललाई छोएनन् त भन्ने प्रश्न म जस्ता थुप्रै साहित्यका विद्यार्थीहरुलाई हुन सक्छ । यसको पनि सम्भावित सवाल र जवाफ खोज्ने काम गरेका छन् डा. उप्रेतीले । के नेपाली साँस्कृतिक जीवनलाई उत्तरऔपनिवेशिकवादी सिद्धान्तको चस्मा लगाएर हेर्नु जायज हुन्छ त ? भन्ने प्रश्न अज्माएर उत्तरको खोजी पनि गरेका छन् । उनका उत्तर चित्तबुझ्दा लाग्छन् ।

हामी अपश्चिमेलीहरु पश्चिमेली संस्कृतिका उपनिवेश बनेको कुरा स्वीकार्न कर लाग्छ । हामीमा छिमेकी संस्कृतिको प्रभाव परेकै छ । हामीले जानेर या नजानेर त्यसको अनुकरण र प्रभाव ग्रहण गरेकै छौं । यो त भयो साँस्कृतिक प्रभाव जसलाई कति र कसरी ग्रहण गर्ने भन्ने कुरा उठ्ला तर ठ्याम्मै इन्कार गर्न त सकिन्न । तर, मलाई लाग्छ उत्तरऔपनिवेशिक युगमा उपनिवेशका प्रकृया मात्रै फेरिएका छन् । परम्परा मात्रै फेरिएको छ । निमिट्यान्न भएको छैन । पाण्डेका पात्रहरु इलैया र बजरङ्गिहरुको रातारात ठेगाना फेरिनु र तिनका मनमा चलेको ‘लु’ नरोकिनु कुनै एकादेशको कथा होइन । यस्तो ‘लु’ राप्तीमा मात्र होइन मेची र महाकालीको किनारमा पनि चलिरहेकै छ । यदाकदा यस्तो ‘लु’ काठमाडौमा पनि चल्ने गर्दछ र चलिरहेकै छ । अझ भारत भुटानको सन १९४९ को सन्धि र त्यसको सन् २००७ को संसोधन हेर्ने हो भने त्यसलाई प्रतीकात्मक अर्थ बोकेको ‘लु’ भन्ने कि उपनिवेशको नयाँ निरन्तरता ? यो ‘लु’ ले अवश्य पनि सचेत भुटानीको मनमा सुनकोस र मानस बगेको हुनु पर्दछ जसरी इलैयाहरुको आाखामा राप्ती अविरल बगेको छ । उपन्यासको कथामा नआटाएका पात्रहरुको आाखामा मेची र महाकाली बगेको छ । जति जोडले ‘लु’ चल्छ र सीमाका स्तम्भहरु नियतवस सर्छन् त्यति नै तोडले यथास्थानका जीवित पात्रहरुको आँखामा नदी हुँइकिन्छ ।

भारतको थार मरुभूमिबाट नेपालको तराईमा बेतोडले चल्ने ‘लु’ लाई प्रतीक बनाएर नयनराज पाण्डेले नयाँ अध्ययनको ढोका खोलेका छन् । यसले हामी उत्तरऔपनिवेशिक युगमा बाँचिरहेका छौं भन्ने कि उपनिवेशको ‘नयाँ’ निरन्तरता भन्ने ? मनमा जिज्ञासु प्रश्नहरु छँदैछन् ।

Friday, June 15, 2012

देखिने कथाहरु-क्यासल रककी अप्सरा



देखिने कथाहरु
                                                —नयनराज पाण्डे


(कान्तिपुर दैनिकको २०६९ असार २गतेको "कोसेली"मा प्रकाशित)

हालका वर्षहरुमा डायस्पोरिक कथा साहित्यमा कृतिहरु लगालग प्रकाशित भैरहेका छन् । कृतिहरु यसरी आउनु नराम्रो कुरा हुँदै होइन । नेपाली भाषा साहित्यको सेवा नै भैरहेको छ भनेर चित्त बुझाउने बलियो आधार पनि हामीसित छ । तर जब प्रायः डायस्पोरिक भनिएका कथाहरुमा झण्डै एकै खालका विषय वस्त देखिन थाल्छन्, बेस्वादको क्रम यहीँबाट शुरु हुन्छ । आप्रवासी बूढाबूढीको एकाकीपन, लोग्नेस्वास्नीबीच ब्यस्तताले ल्याएको तनाब र त्यसले सम्बन्धमा पारिरहेको प्रभाव, छोराछोरी र बाउआमाबीचको स्नेहहीन सम्बन्धको तीतोपन र नेपाली पुरुष वा स्त्रीले त्यहीँको पुरुष वा स्त्रीसित वैवाहिक सम्बन्ध राखेपछिका समस्याहरु । धेरथोर यही र यस्तै खालका कथानकहरु हल्का पात्र , परिवेश र कलेवर बदलिएर साहित्य बजारमा आइरहेका छन् । हुन त डायस्पोरिक लेखनको चरित्र यही नै पनि होला । आफ्नो जमिनसित काटिएपछि डायस्पोरिक साहित्यकारले देखेको भोगेको यथार्थ लगभग यही नै होला पनि । यस्तो हुनुलाई मैले कुनै खतरनाक साहित्यिक अपराधको रुपमा वा डायस्पोरिक लेखकहरुको विशाल कमजोरीको रुपमा लिएको पनि छैन । डायस्पोरिक लेखनका आफ्नै खालका समस्या र सीमाहरु हुनसक्छन् । त्यसको विश्लेषण हुँदै जाला ।

जब कथाकार सुन्दर जोशीको नवीनतम कथाकृति ”क्यासल रककी अप्सरा” मेरो हातमा पर्यो,यतिन्जेलसम्म म डायस्पोरिक लेखनप्रति एकखालको पूर्वाग्रहले हदैसम्म पीडित थिएँ । त्यसैले केही दिन मैले ”क्यासल रककी अप्सरा”प्रति कुनै आशक्ति देखाइन । तर एक बिहान अलिक बेग्लै खालको मूडमा भएको बेला आफ्नो टेबल अगाडिको यो कथाकृतिलाई हातमा लिएँ र यसको पहिलो कथाको पहिलो वाक्य पढेँ—

”साउथ बिचको एउटा रेस्टरेन्टमा हामी विशाल सागरको बगरभरि आँखा छरेर बसिरहेका थियौँ ।”

बस्, यही वाक्यसँगै यसका कथाहरुप्रति म गजबले आकर्षित हुँदै गएँ । निकैपछि मैले कथामा नेपाली भाषा र बिम्बहरुको नयाँ बान्की अनुभव गर्न थालेँ । सहज शैली र काब्यात्मक प्रस्तुतिको मज्जा पनि गतिलै ढंगले लिन थालेँ । मैले सुन्दर जोशीका यसअघि एउटै पनि रचना पढेको थिइनँ । तर जब मैले ”क्यासल रककी अप्सरा”का कथाहरु एकपछि अर्को छिचोल्दै गएँ, मेरो यस कथाकृतिका लेखक र उनको कलमसित एकदमै आत्मीय सम्बन्ध स्थापित भयो । एउटा कथाले पाठकलाई कुन हदसम्मको तृप्ति दिनसक्छ, यसको गतिलो उदाहरण हो यो संग्रह ।

संग्रहका सबै कथा डायस्पोरिक परिवेशकै छन् । हामीले नदेखेका सडक, गल्ली, बजार, समद्रका किनारा वा अंग्रेजी नामका पहाडी बाटाहरु यसमा पनि छन् । यसमा पनि काला, गोरा पात्रहरु छन् । तर पनि किन फरक लागे त मलाई यी कथाहरु ? मैले आफैसित यसको उत्तर खोज्न थालेँ । मैले आफ्नै खाले विश्लेषण गरेँ र केही निचोड निकालेँ ।

सुन्दर जोशीका यस संग्रहमा भएका कथाहरुमा प्रयुक्त भाषा एकदमै ताजा लाग्दछ । अलिअलि वास्नादार,बिहानीको मुलायम खालको चिसोपन मिसिएको र अँजिरको वाइनको मिठास घोलिएको । त्यतिमात्र हैन, भाषालाई छाम्दा लाग्छ, कताकता उम्दा संगीतकारको मदहोश पार्ने संगीत पनि ती भाषाहरुमा गाँसिएका भएका छन् र यसले एउटा रोमान्चक सिम्फोनीको सिर्जना भएको छ । भाषामा एक खालको परिपक्वता छ । सहज र सरल बिम्बहरुको प्रयोगले कथाभित्र काब्यात्मकताले रसिलो प्रवेश पाएको छ र त्यसले पाठकलाई मन्त्रमुग्ध पनि पार्दछ । अतिरन्जित नै ठानिए पनि मलाई यतिबेला भन्न मन लागेको छ, भाषिक प्रयोग, बिम्ब निर्माण कला सिक्नका लागि यो संग्रह एउटा गतिलो गाइड हुनसक्छ हाम्रालागि ।

संग्रहका कथाहरुको अर्को विशेषता हो, कथा भन्ने शिल्प । कथा लेखकलाई कथावाचनको यति राम्रो शिल्प एउटा लामो साधनापछि प्राप्त हुने कुरा हो । अब सुन्दर जोशीले कति साधना गरे,त्यसको लेखाजोखा त मैले गरेको छैन र हाललाई त्यसतर्फ मैले खोजीनिधि पनि गरेको छैन । तर यिनी शब्दका पुराना खेलाडी हुन् भन्ने कुरा संग्रहका अग्रभागमा रहेका मंजुल र वासु श्रेष्ठका कथनीहरुबाट पनि स्पष्ट हुन्छ । उनी कम्प्लेक्स खालका थिमलाई पनि बडो सहजताका साथ उद्घाटित गर्दछन् । नत्र ”कार्लोस मेरो दर्पणछाया”जस्तो जटिल कथायति सरलताकासाथ प्रस्तुत हुने थिएन । उनले यो कथामा कथावाचक पात्रको कथा नभनीकनै उसको कथा भनिदिएका छन् । उसको मनोदशालाई उदांगो पारिदिएका छन् ।

कथाकारको अर्को महत्वपूर्ण विशेषता हो, परिवेशको चित्रण  । यसमा कतिकति बेला त उनी विलक्षणता नै देखाउँछन् । आफू बसेको परिवेशको चित्रण त धेरै डायस्पोरिक लेखकहरुले गरेकै छन् । तर सुन्दर जोशीले प्रवासका गल्ली,सडक र समुद्रका किनारहरुका नामहरु कण्ठ गरेर कथामा प्रयोग गरेको जस्तो लाग्दैन । यस्तो लाग्छ, उनी आफ्नो नेपाली भाषा, संस्कृतिलाई गर्भबाटै बोकेर उतै जन्मिएका ब्यक्ति हुन् । त्यतैको परिवेशमा लडीबुडी गर्दै हुर्किएका ब्यक्ति हुन् । उनी आफूले कथामा प्रयोग गरेका परिवेशलाई आधिकारिक ढंगले प्रयोग गर्छन् । परिवेशको स्थूल हैन, आधिकारिक प्रयोगले कथालाई विश्वसनीय बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

अनि यो संग्रहको सबैभन्दा महत्वपूर्ण विशेषता हो, यसका विषयबस्तु । यसमा पनि आप्रवासी हुनुको पीडा यत्रतत्र अनुभव गर्न सकिन्छ । तर यो विषयबस्तु पात्र, परिवेश, भाषा र शिल्पका माध्यमबाट अनायास अभिव्यक्त गरिएका छन् । कथाकारले कतै पनि मूल कथानकको बलजफ्ती निर्माण नगरिकनै त्यसको कथानकलाई सहज किसिमले दृश्यात्मक बनाइदिएका छन् । त्यसैले मलाई लाग्यो, ”क्यासल रककी अप्सरा” देखिने कथाहरुको संग्रह हो र यी कथाहरुमा एकखालको युनिवर्सल अपिल पनि छन् ।

सुन्दर जोशीका कथाहरु औसत नेपाली कथाहरु भन्दा लामा छन् । तर कतै पनि कथाहरु लामा लाग्दैनन् । विषयको मिहिन विस्तार र चरित्रको स्वाभाविक विस्तृतिले लामा कथालाई पनि छरितो बनाएका छन् । पढदा लाग्छ, प्रत्येक कथामा संगीत, ध्वनि,प्रकाश र रंगहरुको सुमधुर प्रयोग भएको छ । अनि लाग्छ, लेखकले यी कथाहरु मधुरो प्रकाशमा, संगीतको मधुरो धून सुन्दै,झ्यालबाट हिमश्रृंखला हेर्दै र आफूलाई मन पर्ने वाइनको चुस्की लिँदै लेखेका हुन् ।

यी कोरा प्रवासका कथाहरु होइनन् । हाम्रै नेपालको परिवेश र जीवनसित बिछट्टै गाँसिएका कथाको सुन्दर श्रृंखला हो । त्यसैले बेलाबेलामा यसका कथाहरुमा हाम्रै टुङ्ना र डम्फु बज्छन् । हाम्रै लोकलय र भाकाहरु तरंगित हुन्छन् । गुम्बाहरु,माछापुच्छ्रे र आमादब्लमहरु देखिन्छन् । त्यसैले यस संग्रहका कथाहरुले हामीलाई नेपालमै रोकिराखेर प्रवासको परिवेशसित परिचित गराउँछन् ।

प्रायः डायस्पोरिक भनिने रचनाहरुमा सायास या अनायास लेखकहरुबाट ”म त प्रवासमा भास्सिन आइपुगेँ । तिमीहरु चाहिँ नआउनू र सुन्दर नेपाललाई माया गरेर बस्नू” भन्ने खालको निहितार्थ लुकेकै हुन्छ । सुन्दर जोशीले भने प्रवासको चित्र त उतार्छन् तर ”यतातिर कहिले पनि नआउनू” खालका पाल्सी कुरा गर्दै गर्दैनन् । लेखनको यो इमान्दारी रु. दुई सय मूल्य पर्ने, झण्डै त्यति नै पृष्ठको यस संग्रहका एघारवटै कथामा झल्किन्छ ।

एउटा पठनीय उपन्यास-उदय तामाङ-


उदय तामाङ

(गरिमा मासिक,बैसाख,२०६९मा प्रकाशित)

नयनराज पाण्डेको लू भर्खरै प्रकाशित भएको छ । यो उनको पाँचौँ औपन्यासिक कृति हो । प्रकाशनपूर्व नै चर्चामा आउन आरम्भ गरेको यो कृति प्रकाशित भएपछि अझ बढी चर्चामा छ । यथार्थवादी दृष्टि र शैलीमा रचित यस कृतिमा पत्थरपुरुवाको कथा छ । पत्थरपुरुवा बाँकेको सीमावर्ती बस्तीको काल्पनिक नाउँ हो । यस बस्तीमा हिन्दू र मुसलमान वर्षौंदेखि सँगसँगै बस्दै आएका छन् । यो गरीब बस्ती हो । यहाँका मानिसहरू परिश्रमी र इमानदार छन् । उनीहरूका जीवनका आ–आफ्ना सुख–दुःख, आँसु–हाँसो, प्रेम–बिछोड, उकाली–ओराली, घात–प्रतिघात, स्वप्न–दुःस्वप्न, आशा–निराशा, माया र घृणाहरू छन्, आ–आफ्नो सांस्कृतिक धरातल, जीवनमूल्य र दृष्टिहरू छन् । कहालीलाग्दो गरीबीका कारण आत्महत्या गर्नेहरू छन्, गरीबीकै कारण छोरीहरूलाई सर्कसमा बेच्नेहरू छन् । सत्पात्रहरू छन्, खलपात्रहरू छन्, धूर्तहरू छन्, सोझा र इमानदारहरू छन् ।
सीमावर्ती गाउँ भएका कारण भारतीय सीमा– सुरक्षाकर्मीहरूको उत्पीडनको एक छुट्टै कथा छ पत्थरपुरुवासँग । भारतीय सिपाहीहरू गाउँभित्र पस्नु, अनेकन् सास्ती दिनु र उपद्रो मच्चाउनु सामान्य कुरा हुन् । प्रतिवाद गर्न खोज्ने महेशर र जागेशरहरू मारिन्छन् । सीमापारि बस्ने शम्भुरामजस्तो खलपात्रले नेपाली राजनीतिका पात्रहरूलाई सजिलै नचाउँदैन मात्र, हिन्दू र मुस्लिमहरूबीचको सद्भावलाई साम्प्रदायिक द्वन्द्वमा पनि बदल्छ । सीमास्तम्भहरू सार्नु र नेपाली भूभागलाई भारतमा गाभ्नु सामान्य क्रियाकलाप हुन् । आज आफ्नो भनेर खनजोत गरेको जमीन भोलि अर्कैको भएको हेर्न पत्थरपुरुवावासीहरू विवश छन् । केही जमीन मात्र होइन, अन्ततः सिङ्गो पत्थरपुरुवा नै भारत हुन्छ । लक्ष्मणपुर बाँधका कारण त्यस क्षेत्रका बासिन्दाहरूले पटक–पटक डुबानले उत्पन्न गर्ने त्रासदीपूर्ण समस्याको सामना गर्नुपरेको छ । यसरी नेपाली हुँदाहुँदै बलजफती भारतीय हुन पुग्ने, लक्ष्मणपुर बाँधका कारण सधैँ डुबानको समस्याबाट पीडित रहने, भारतीय सीमासुरक्षा प्रहरीबाट निरन्तर सताइने, गरीबीको डरलाग्दो खडेरीका कारण छातीभरि रापतीको बगर राखेर बाँच्ने पत्थरपुरुवाको कथालाई उपन्यासकारले उपन्यासमा सजीव औपन्यासिक प्रस्तुति दिएका छन् ।
उपन्यासकार पाण्डेले पत्थरपुरुवाको जीवनलाई बहुआयामिक रूपमा हेरेका छन् । आर्थिक, सामाजिक, सांस्कृतिक जीवन, तिनका बाह्य र आभ्यन्तरिक पक्षहरूको सूक्ष्म अवलोकन र अभिव्यक्ति उपन्यासमा पाइन्छ । विषयवस्तु, चरित्र, परिवेश, समय, घटनाक्रम, उद्देश्य आदि आपसमा सम्बद्ध, गतिशील र द्वन्द्वात्मक रहेका छन् । चरित्रहरूको गतिशीलता, स्वाभाविकता र द्वन्द्वात्मकताले पाठकलाई सजिलै प्रभावित गर्ने सामथ्र्य राख्छन् भने बस्तीको दुःखको प्रस्तुति र त्यहाँको दारुण एवं विदीर्ण जीवनले हृदयलाई हल्लाउँछन् । असीम दुःखका बीच पनि आशा उपन्यासको अत्यन्त महŒवपूर्ण पक्ष हो । उपन्यासले भ्रष्ट राजनीति, प्रशासन र निकम्मा नेताहरूको पोल मात्र खोल्दैन, उनीहरूप्रति घृणा पनि उत्पन्न गर्दछ । भारतीय उत्पीडन र अतिक्रमणलाई प्रस्तुत गरेर उपन्यासकारले भारतीय नियत र प्रवृत्तिलाई उदाङ्गो पारेका छन् । उपन्यासले निकै जीवन्त रूपमा पत्थरपुरुवाको सांस्कृतिक बिम्बको पुनर्सृजन गरेको छ । उपन्यास पढिसक्दा त्यस बस्तीका विपत्ति र दुःखका, परिश्रम र पौरखका कथाहरू मात्र आँखामा नाच्न थाल्दैनन् त्यसका आन्तरिक जीवनका चित्रहरू पनि सलबलाउन थाल्छन् । उपन्यासमा कथाकथनलाई नवीन र प्रभावकारी ढङ्गले अगाडि त बढाइएको छ नै भाषाशैलीलाई पनि सरल, सरस र मनोहारी तुल्याइएको छ । चित्रमयता यस उपन्यासको गजबको विशेषता हो । उपन्यासले साम्प्रदायिक सद्भावको विलक्षण सन्देश पनि दिन्छ । यो आधुनिक नेपाली उपन्यास–परम्परामा एक महŒवपूर्ण कृति हो ।
उपन्यासका कमजोर पक्षहरू पनि छन् । यथार्थको अतिनाटकीय प्रस्तुति यसको पहिलो कमजोरी हो । यथार्थवादी उपन्यासमा ठाउँ–ठाउँमा प्रकृतवादको गाढा छाया देखिन्छ । यौन र यौनजन्य भावना र क्रियाकलापको प्रस्तुतिमा यस्तो भएको छ । यो उपन्यासको दोस्रो कमजोरी हो । उपन्यासको तेस्रो कमजोरी उपन्यास आलोचनात्मक यथार्थवादको तहसम्म पनि राम्रोसँग उक्लन नसक्नु हो । उपन्यासको चौथो कमजोरी यथार्थको गतिशील पाटोलाई पक्रन नसक्नु हो । उपन्यासमा कहीँ पनि भारतीय ज्यादतीका विरुद्ध सामूहिक र सचेत प्रतिरोध देखिन्न । यही कुरा नेपाली राजनीति र प्रशासनका सन्दर्भमा पनि लागू हुन्छ । नेपाली सीमावर्ती गाउँहरूसँग प्रतिरोधको इतिहास पनि छ । त्यति धेरै दुःख बोकेको पत्थरपुरुवाको छातीमा सहज र स्वाभाविक रूपमा बल्नुपर्ने आगो पनि नबलेको देख्दा आश्चर्य अनुभव हुन्छ । जीवन आक्रोश, घृणा र प्रतिरोधको पर्याय पनि त हो, जो वैयक्तिक र सामूहिक रूपमा राजनीतिक चेतना नहुँदा पनि चल्छ । यो अस्तित्वरक्षाको आधार पनि हो । पुस्तकको साजसज्जा र छपाइ सुन्दर रहेको छ । यसका नम्ति साङ्ग्रिला बुक्सलाई धन्यवाद दिनुपर्छ । केही कमजोरीहरूका अतिरिक्त यो एक पटक नपढी नहुने पुस्तक हो ।

–उदय तामाङ
गरिमा, वैशाख २०६९

Thursday, June 14, 2012

देश गुमाउनेको कथा-पदम गौतम


लू- देश गुमाउनेको कथा
                                                                                    पदम गौतम

(राजधानी दैनिकमा २०६९ जेठ २७ गते शनिवार प्रकाशित)

केही साताअघि सांग्रिला प्रकाशनले बजारमा ल्याएको उपन्यास आख्यानकार नयनराज पाण्डेको ‘लू’ यतिबेला साहित्यिक बजारमा निकै चर्चामा छ । मध्यपश्चिम तराई र अझ सीमाक्षेत्रको कथालाई पाण्डेले उपन्यासमा ल्याएका छन् । उनको उपन्यास सकिने समयसम्म हरेक पाठकले वास्तविक पात्र र जीवन्तता अनुभूत गर्ने अवस्थाले पाण्डेको सफलता देखाउँछ ।

उपन्यासकार पाण्डे प्रजातान्त्रिक विचार राख्ने व्यक्ति भए पनि लामो समयदेखि प्रगतिशील चेतनासँग जोडिन आइपुग्छन् । उनको लेखनमा जहिले पनि राज्यको मूल धारले बेवास्ता गरेका, सीमान्तकृत र सर्वसाधारण आउँछन् जसको कथा अन्यले लेख्दैनन् । कथा र विगतको उपन्यास उलारमा जस्तै यस पटक पनि उनले विपन्न र राज्यबाट बेवास्ता गरिएकाहरूको कथा लेखेका छन् । उनले छानेको सीमाक्षेत्रको नेपाली गाउँको नाम हो, पत्थरपुरवा । अत्यन्तै पीडित स्थानीयवासीबीच वारिपारिको राजनीति र राजनीतिज्ञले बिगारेको अवस्था, हिन्दू, मुस्लिमबीचको सौहार्दता र त्यसलाई बिगार्ने तत्व पनि राम्ररी चिनाएका छन् । बाल्यकालमा बिग्रिएको र गाउँकै उद्दण्ड किशोर इलैयाबाट सुरु भएको कथा ऊ भारतीय नेतामाथिको आक्रोस सहन नसकेर गोली हान्न पुगेपछि भारतीय जेलमा परेसम्मको कथा छ, यसमा । गाउँमा इलैयाजस्ता अनेक पात्र जोडिएर आउँछन् ।

पश्चिमी तराईमा चल्ने ज्यानमारा तातो हावा ‘लू’लाई उपन्यासकार पाण्डेले प्रतीक बनाएका छन् । उपन्यास पढ्दा र तराई नबुझेका पाठकलाई समेत ‘लू’ले भन्दा बढी पोल्ने गर्छ । उपन्यासको कथा दक्षिणी सीमावर्ती क्षेत्रका हरेक गाउँको वृत्तचित्रझैं लाग्छ । त्यहाँका राजनीतिक विषमता, सीमापारिबाट हुने गरेका अत्याचार, त्यसलाई नै मलजल गर्ने नेपाली राज्य राजनीतिक कार्यकताको वरिपरि पाण्डेको कथा घुमेको छ । मधेसी मूलका नेपाली नागरिक भएबापत पुस्तौंदेखि भोग्दै आएको पीडाको जीवन्त कथा र प्रस्तुतिका रूपमा यो उपन्यासलाई हेर्न सकिन्छ । यदाकदा समाचारका विषय बन्ने गरेका भारतीय सीमा सुरक्षा बलका सैनिकको ज्यादती र त्यसलाई आफ्ना पक्षमा मात्र लैजाने तर केही नगर्ने नेपाली नेता र शासकहरूको बेवास्ताले हरेक पाठकको मन सीमाक्षेत्रका जनताका पक्षमा जान्छ । उनले फरक–फरक पात्रहरूको कथा ल्याउँदै अन्तिममा नाटकीय रूपमा सिंगो मुलुक नै स्तब्ध र अवाक हुने मोड कथालाई दिएका छन् । उपन्यासको कथामा चरम दुःखको वर्णन त छँदै छ, तराईको वास्तविकता पनि आएको छ । दसगजा मिचेर नेपालको भू–भागमा आएर शासन चलाउने भारतीय सीमा–सुरक्षा बल एसएसबीको ज्यादती पढ्दा हरेक पाठकको रगत उम्लिएर आउँछ । त्यसलगत्तै नेपाली प्रशासन र राजनीतिज्ञले देखाएको उदासीनता र आत्मसमर्पणले हरेक नेपाली पाठक अवाक हुन पुग्छन् ।

आञ्चलिकताको निकै र तराई नबुझेका पाठकका लागि अनौठा शब्द प्रयोग भए पनि ती सबै सामान्य रूपमा लिइनुपर्ने अवस्था छ । तर, निकै रोमान्समा जीवन गुजार्ने एउटी महिलाको यौन जीवनको वर्णन गर्दा भने उनले प्रयोग गरेको खाट भाँचिएको चर्चा केही अपाच्य लाग्छ ।

सामान्य कमजोरी भए पनि उपन्यास डेढ दशकअघिको पाण्डेकै कृति उलारको स्तरमा नपुग्ने हो कि भन्ने पाठकको डरलाई समाप्त पारिदिएको छ । यसका लागि उपन्यासको अन्त्यसम्म भने पाठकले धैर्य गर्नै पर्ने हुन्छ । अन्त्यमा, पत्थरपुरवा गाउँ सीमा मिचिएर भारतमा पर्छ र उपन्यासको एउटा पात्र पण्डित टुटेप्रसादले लेखकलाई चिठी लेखेर यसको जानकारी दिन्छ । यो अन्त्यमा हरेक पाठक भावुक हुन्छन् र केही त रुन्छन् नै । यो नै उपन्यासकार पाण्डेको चरम सफलता हो । नेपाली साहित्यमा वास्तविक पीडित जनताका कथा स्तरीय ढंगले लेखे र बाहिर ल्याएबापत पाण्डे र प्रकाशन धन्यवाद र बधाईका पात्र छन् ।

Tuesday, June 5, 2012

"लू" बारे साहित्यकार तथा मित्र कुमुद अधिकारीको चिट्ठी


नयनराजजी,

लूँ पढिसकेँ। पहिले त छोरीले पढी, रूँदै थिई र म गिज्याउँदै थिएँ। तर मैले किताब समातेपछि त तपाईँका अक्षरैले हो कि केले हो, आँखामा पानीपो ल्याइदिएछन्। बन्धुको किताब मागेर ल्याएको थियो, धूलोको कण पनि नलाउने सर्तमा तर भित्री पानामा त तप..तप.. पानी चुहिसकेछन्। बन्धुलाई म के भनूँ, किन यस्तो भो नयनराजजी ?

मैले उलार पढेको छैन, तर तपाईँको कथाकृति 'निदाएँ जगदम्बा' को शीर्ष कथा निदाएँ जगदम्बा म कहिल्यै पढेर थाक्तिनँ। तपाईँको कथाशिल्पको उत्कृष्ठ नमूना त्यो कथा बनेको छ। हामी जोई पोई बारम्बार त्यस कथाको चर्चा गरिरहन्छौँ।

लूँ पढिरहँदा मैले आफैँले बचपन गुजारेको दार्जीलिङ सम्झिएँ। पढून्जेल सम्झिएँ र अझै सम्झिरहेको छु। मलाई थाहा छ, मुसलमानहरूलाई मियाँ भनेर हेप्छन् हाम्रा मान्छे। तर सच्चा मुसलमान जत्तिको असल मानिस बत्ती बालेर खोज्दा पनि भेटिन्न। दार्जीलिङमा हाम्रो घर रकउड वा छोटाकागझोडा भन्ने ठाउँमा भीरमा थियो। हाम्रै घरको उत्तरपट्टिको घर मुहम्मद अङ्कलको थियो। अनवरलाई पढ्दा मैले असाध्यै मुहम्मद अङ्कललाई सम्झिएँ। हामीले भर्खरै बनाएको घरमा बिजुली थिएन। मट्टितेलको बत्ती बालेको देखेर मुहम्मद अङ्कल आफैँले बिजुलीको तार लिएर आउनु भयो र बुबालाई भन्नुभयो - 'सर, यसरी किरासिन ल्याम्प बालेर कसरी पढ्नुलेख्न गर्नुहुन्छ, यी लिनुस् तार छ, मिस्त्री बोलाएर तीनवटा होल्डर कस्न लाउनुहोस् र बाल्नुहोस् बिजुलीबत्ती। महिनाको दस रूपैयाँ तिर्नु जति बाले पनि हुन्छ।

बुबाले अनकनाउँदै तार जोड्न लगाउनुभो। हाम्रा घरमा बत्ती बल्यो। हाम्रो घरमा पहिलो उज्यालो छिराउने काम मुहम्मद अङ्कलले नै गर्नुभयो। मुहम्मद अङ्कलका छोरा थिए, समीर ठ्याक्कै सलिमजस्तै। मेरै हमउम्र। म हाइस्कुल पढ्थेँ, उनी अन्तै। तर हामी एउटै क्लासका थियौँ। समीरकी बहिनी थिइन् - सलमा ठ्याक्कै नुसरतजस्तै राम्री। मेरी पनि बहिनी भइन्।

सलमा र समीर मेरा घनिष्ट। उनीहरूको घर म जानु र उनीहरू मेरा घर आउनु सामान्य कुरा थियो। सेवई को कुरा गर्नु भयो नि नयनराजजी, मेरो मुखमा त्यही स्वादिलो सेवई आइपुग्यो जो समीर र सलमाले हाम्रा घरमा प्रत्येक चाडमा ल्याइदिन्थे। सलमाले रक्षाबन्धनका दिन मेरो र समीरको हातमा राखी बाँध्थिन्। हामी दुई राखी टल्काउँदै स्टेसन डुल्न जान्थ्यौँ। छेवैको धीरधाम मन्दिर गएर शिवजीको दर्शन गर्थ्यौँ। प्राजयसो शुक्रवार म समीरसँगै चोकबजार मुन्तिरको मस्जिद जान्थ्यौँ। घुँडा टेकेर प्रार्थना गर्थ्यौँ। मलाई उर्दू आउँदैन थियो, समीरलाई पनि हाम्रा श्लोक आउँदैन थिए तर हाम्रो प्रार्थनामा गजबको शक्ति थियो नयनराजजी। हाम्रो प्रार्थना अल्लाह तालाले पनि सुन्नुहुन्थ्यो, भगवान् शिवले पनि सुन्नुहुन्थ्यो।

थाहा छ नयनराजजी, नुसरतजस्तै सलमा हाँस्दा मैले रकउडका पाखाभरी गुराँस फुलेको देखेको छु। समीरको उन्मुक्त अट्टहास हुँदा हामीमाथिको बादल हटेर सूरजले हामीमाथि रोशनी फ्याँक्थ्यो। समीर र मेरा हातहरू साङ्लाका कडीजस्ता गासिँएका हुन्थे। हासेन हुसेनमा म पनि उसँगै डान्डिया लिएर निस्कन्थे र बजारबजार डुल्थेँ। शिवरात्रीका दिन हामी महाँकाल गएर दर्शन गर्थ्यौँ। अनि फेरि धीरधाम घुम्दै मस्जिद पुग्थ्यौँ। सँगै मोहम्मद गल्लीका चना चबाउँथ्यौँ। घिर्लिङको बाटो हुँदै मस्जिद पुग्थ्यौँ।

समीर र ममा केही अन्तर त थिएन र छैन हैन नयनराजजी ! उसको र मेरो छालाको रङ एउटै, रगत एउटै सबैथोक एउटै।

चोकबजार मन्तिरको मस्जिदबाट आउने अल्लाह हो अकबर, अल्लाह हो अकबर त्यत्तिकै पवित्र र राम्रो सुनिन्थ्यो। मलाई समीरका अल्लाह र हाम्रा भगवान अलग्गै पटक्कै लाग्दैन थिए। समीर हाम्रै भाषा बोल्थ्यो, सलमा हाम्रै स्कुल पढ्थी। समीर सलमा र म सँगै गएर जुलाई तेह्र तारिख चौरस्तामा भानुभक्तको रामायण वाचन गर्थ्यौँ - एकदिन नारद सत्यलोक पुगिगया लोकको गरूँ हित भनी..।

समीरले हाम्रै भाषा आन्दोलनमा पनि नारा घन्काएको छ नयनराजजी। भाषा हाम्रो प्राण हो, भाषा हामीलाई चाहिन्छ चाहिन्छ। समीर हाम्रै भाषा बोल्छ।

उफ ! म त लू पो पढिरहेको छु त। कहाँबाट म मुहम्मद अङ्कल, समीर र सलमाका कुरा सम्झिन पुगेँ। दार्जीलिङ छोडेको पच्चीस वर्षपछि ती बचपनका दिन कसरी फिरे फिरे नयनराजजी। करिम, अनवर र नुसरतले मलाई फेरि त्यहीँ पुर्या्ए। म त्यहीँ पुगेँ। कहिले बिर्सिन सक्छु र रकउडको पाखाभरी फुलेका लागीगुराँश, तल छ्याङ, छ्याङ गर्दै खस्ने भिक्टोरिया फल्स अनि समीर र मेरो दोस्ती।

लू त तपाईँ हाम्रै वेदना भयो हैन र ? अमरपालसिँह र शम्भुनाथजस्ता कुत्सित व्यक्तिहरू, हाम्रा नेता र तिनका भरौटेहरू, तल्लापट्टिको हेपाई, यी सबै मानवतालाई कहाँ हेरेका छन् र ? यिनका नजरमा त मात्रै पद र पैसा छ। त्यसभन्दा माथिको केही छैन।

टुटे पण्डितको नुस्खा र ग्रहदशा, बृजलालको दुर्गामाताको मूर्ति बनाउने धन्धा, महेशर, इलैया आदि जीवन्तता सच्चा प्रतिरूप हुन्।

खै.... अरू के लेखूँ र मनमा कति हो कति कुरा छन् तर जति भए नि ती अक्षरमा आउँदैनन्।

सादर,
तपाईँकै कुमुद।

Monday, June 4, 2012

तनमा होइन मनमा चल्ने 'लु' पढेपछि- बासु श्रेष्ठ

(Khasskhass.com)


बहुचर्चित, बहुप्रचारित र बहुप्रतिक्षित नयनराज पाण्डेको पाँचौ उपन्यासले अमेरिका टेकेकै दिन मेरो हात पर्यो । सिमित दिनकालागी सापटीको रुपमा । नाईनास्ती गर्ने कुरै थिएन र सकेसम्म छिटो सक्ने ध्येयले पढन थालेँ ।

नौ अध्याय भनौँ या नौ उपशिर्षक भनौँमा बाँडिएको यो उपन्यासमा कुनै अध्याय कुनै एक पात्रको आत्मकथामा बोलिएको छ भने कतिपय अध्यायमा औपन्यासिक वर्णन गरिएको छ । मूल पात्र ईलैयाको वरपर घुमेको यो उपन्यासमा कतै ईलैया आफै बोलेको छ त कतै अन्य पात्र बोलेका छन् ।

पत्थरपुरवा पश्चिम नेपालको दक्षिणी भेगमा भारतीय सिमाना नजिकै रहेको एउटा गाउँ हो जहाँ नेपाल भारत सिमानामा बसोबास गर्ने सिमान्तवर्गका मानिसहरुको दिनचर्या, दुखपीडा, अन्याय अत्याचार, छलकपट, मायाप्रेम, सहअस्तित्ववाद र सहधर्मवादको अस्तित्व रहेको छ र यसैको आधारमा अडेको छ यो उपन्यास ।

विशेष गरी मुसलमान वर्गपट्टि सहानुभूति प्रकट गरिएको यस उपन्यासका लेखकले मुसलमानहरुको चाडपर्व, धर्म सस्ँकृति, बोलीचालीहरुको राम्रै अध्ययन गरेको अनुभव हुन्छ । किनभने मुसलमानहरुले प्रयोग गर्ने शब्दहरुको निर्धक्क प्रयोग गरिएको छ । जस्तो इदगाह, ताजिया, कर्बला, ख्वाजा,मोहर्रम आदि हामीले सुनीरहने अन्य मुस्लिम शब्दहरु जस्ता होईनन् ।

यस उपन्यासले सिमापारीबाट एसएसबी आएर दिने दुख, गर्ने लुटपाट, जबरजस्ती करणी तथा मनपरी, तर आफ्नै देशको सरकारबाट उपेक्षित नेपालीको दिनचर्यालाई उजागर गरेको छ । खडेरी, बाढि, आगजनीमा आआफैँ समस्यासँग जुधेर समाधान गर्ने र सहने गरेका छन् । अशिक्षाको कारणले कसैले गरेको अपराधको विरुद्ध लड्नुको सट्टा त्यस अपराधको शिकार भएकालाई सजायँ दिन्छन् । स्थानिय नेता भनाउँदाको नकच्चरोपन र आत्मसमर्पणवाद, नेपाल प्रहरीको कमजोरी, एसएसबीको मनपरी र त्यस मनपरी विरुद्ध कसैले बोल्ने या कसैले विद्रोह गरे मारिनेजस्ता घटनाहरुको उजागर गरिएको छ ।

वास्तवमा लू शरीरमा लाग्ने तातो वतास होईन यो मनमा चल्ने विद्रोह र आक्रोस हो । यो बुझ्न उपन्यासको झण्डै दुई तिहाई भाग पढिसक्नु पर्छ ।

कतिपय ठाउँमा स्वस्थानीमा वर्णन गरे झैँ वर्णन गरिएको छ जसले उपन्यासमा पाना थप्न मदत गरेको छ । पात्रसँग परिचित गर्न र जिवन्तता दिन लामो लामो वर्णन सहायक हुन्छ भन्ने सोच लेखकमा रहेको जस्तो छ ।

साधारण बोलिचालीको सम्वाद, कतिपय ठाउँमा आमाचकारी गालीको प्रयोगले पात्रलाई जिवन्त बनाउन खोजिएको छ तरपनि कतिपय ठाउँमा पात्र अनुसारको शब्द चयनमा लेखक चुकेका छन् ।
नेपालको उत्तरी र दक्षिणी भेगमा बस्नेहरु सँधै सरकारबाट उपेक्षित रहेका छन् । तरपनि साहित्यमा पहाडी क्षेत्रले मनग्गे ठाउँ पाएको भएपनि तराई क्षेत्रमा बस्नेहरु भने साहित्यमा समेत सदा उपेक्षित नै रहेका थिए । अन्तत, पहिलेका धच गोतामे, ध्रुवचन्द्र गौतम, धीरकुमार श्रेष्ठ तथा कृष्ण अविरलका केहि उपन्यास लगायत यस उपन्यासलेपनि ति सिमान्तकृत वर्गहरुको पक्षमा आवाज उठाएको छ । यो एउटा साहित्यिक मात्र नभई राष्ट्रिय चेतनाको लहर उठेको आभास त हुँदै हो औपन्यासिक लेखनको विषयपनि फराकिलो हुँदै गएको छ भन्ने सँकेत गरेको छ ।

निकै ठाउँमा 'आफैँ' शब्दको सट्ट 'आआफैँ' भन्ने मुद्रण गरिएको छ । यो सजिलै भेटिने त्रुटि भएपनि कसरी प्रूmफ रिडिँगबाट फुत्किएछ ।


सिमान्तीकृत वर्गको दुख पीडामा लेखिएको उपन्यास भएपनि यसै उपन्यासका केहि पात्रहरुलाई भने व्यँग्यात्मक उपनाम दिएर तिनै पात्रको हाँसोको विषय बनाएकोमा भने अलि मन खुम्च्याउनु पर्ने हुन्छ । तर लेखकले चलाखी गरेर त्यस्ता नामहरु उपन्यासको अर्काे कुनै पात्रको तर्फबाट उच्चारण गर्न लगाउँछन् । ति नामहरु गुलुपलाल तथा ट्युबलाल आदि । लाग्छ मानौ उपन्यासकार एक सफल हास्य व्यँग्यकारपनि बन्न सक्छन् । यसका थुप्रै उदाहरण भेटिने छन् उपन्यासमा ।

२५६ पेजको उपन्यास रु.३००.०० पर्दछ । कुनैपनि चर्चित लेखको भूमिका विना, कुनैपनि प्रकाशकीय विना र लेखकको भनाई उपन्यासको अध्यायमा मिसाएर तयार गरिएको यो उपन्यास पठनीय नै छ भन्दा अत्युक्ति नहोला ।