सानो लेखक, ठूलो कुरा
सानो लेखक हुँ । तर पनि मेरा केही अन्तर्वार्ताहरु प्रकाशित भएका छन् । कमजोर नै सही, ती अन्तर्वार्तामा मेरा विचार र रुचिहरु प्रकट भएका छन् । मेरा चाहना, सपना र रहरहरु पनि प्रकट भएका छन् । सबै अन्तर्वार्तालाई बेग्लाबेग्लै छाप्नु भन्दा ती मध्येबाट केही प्रश्न र ती प्रश्नका मेरा जवाफ छानेर यहाँ राखेको छु । मित्र जीके पोखरेल (नागरिक शुक्रवार), फणीन्द्र संगम (नागरिक दैनिक), दीपशिखा (खबरडबली) र रोहित खतिवडा (विरेचन) सित भिन्न समयमा भएका कुराकानीका अंश हुन् यी । प्रिय पाठकहरुलाई म, मेरो लेखन र मेरो सोचलाई बुझ्न थोरै भए पनि यी प्रश्नोत्तरहरु काम लाग्लान् ।
००
दीपशिखा—साहित्यकारको रुपमा तपाईँको परिचय के हो ?
म केही सपनाहरु बोकेर साहित्यको राजमार्गमा लुखुरलुखुर हिँडिरहेको आम मान्छे हुँ । सपनाको भारी जति गरुंगो अरु केही हुन्न । तर म कतै कुनै मोडमा पनि यो भारी बिसाउन चाहन्न । कुनै सुस्केरा नहाली, आँखामा भारी भारी सपनाहरु बोकेर हिँडिरहेको कुनै पथिकलाई देख्नु भयो भने ठान्नुस्, त्यो मै हुँ । त्यो पथिकले आफ्नो जे परिचय दिन्छ त्यही मेरो परिचय हो ।
दीपशिखा—समकालीन लेखनमा तपाईँको प्रतिस्पर्धा कोसित छ ?
म अरुसित आफूलाई कहिले पनि दाँज्दिन । मेरो प्रतिस्पर्धा सधैँ मसितै रहन्छ । म आफ्नो रुचि र चाहनाले साहित्यको महासागरमा छु । म यहाँ आफ्नै तालमा पौडिरहेको छु । मलाई स्विमिंगको प्रतिस्पर्धामा भाग लिनु छैन ।
दीपशिखा—के आफ्ना पाठकहरुसित कुनै अपेक्षा राख्ने गर्नु हुन्छ ?
अपेक्षा त सधैँ पाठकसितै राख्नुपर्छ । किनभने म जे लेख्छु, प्रकाशित भैसकेपछि त्यो पाठककै हो । तर हरेक पाठकको आफ्नै बुझाई हुन्छ । एउटा पाठकलाई राम्रो लागेको कुरा सबैलाई राम्रो लाग्छ भन्ने हुँदैन । तर मेरो प्रयत्न भने सम्वेदनाको तहमा पाठकसित एउटा संवाद कायम गरुँ भन्ने सधैँ रहन्छ । त्यही सम्वादले पाठक र लेखकलाई निकट ल्याउँछ ।
दीपशिखा—पाठकका पनि त तपाईँसित केही अपेक्षाहरु होलान् नि ? के ती पूरा गर्नु भएको छ ?
पाठकहरुका पनि मबाट पक्कै अपेक्षाहरु छन् । मेरा पाठक मबाट जिम्मेवार लेखनीको आसा गर्नु हुन्छ । आम मान्छेका सुख, दुःख, उसका चाहना र त्यो चाहना प्राप्तिको क्रममा उसले भोगिरहेका कष्टहरु मेरो लेखनमा देख्न चाहनु हुन्छ । मलाई किन किन त्यो चाहनाको सम्मान गर्न मन लाग्छ ।
दीपशिखा—साहित्य कति हदसम्म जीवनको नजिक हुनुपर्छ ?
साहित्यमा चरित्रहरु हुन्छन् । ती समाजका प्रतिनिधि चरित्र हुन् । चरित्रका आफ्ना भोगाइहरु हुन्छन् । भोगाइबाटै उसको जीवनदर्शन निर्माण हुन्छ । त्यसैले असल साहित्यमा जीवनका कुराहरु हुन्छन् । साहित्यबाट जीवनका कुराहरु गायब भएको दिन त्यो साहित्य रहँदैन । केही अरु थोकनै हुन्छ । मलाई भने साहित्य नै लेख्नु छ ।
दीपशिखा—लेखनको विषय कसरी छान्नु हुन्छ ?
विषय त थुप्रै हुन्छन् । जे विषयमा पनि लेख्न सकिन्छ । तर समाज र मान्छेसितको सम्बन्ध र सरोकारले मलाई कस्तो विषय चयन गर्ने भन्ने आधार तयार गर्छन् । त्यसैले म दिमागमा आयो भन्दैमा सबै कुरा लेख्न सक्दिनँ । त्यसैले विषय भेट्नु भन्दा पनि बिषय र समाजको सम्बन्धको सेतु खोज्नु मेरालागि गाह्रो काम हो ।
दीपशिखा—तपाईँको लेखनको प्राथमिकता के हो ? समाजलाई कति प्राथमिकता दिनु हुन्छ ?
समाजप्रति अलिकति पनि जिम्मेवारीवोध गरेर लेख्नेले आफ्नो लेखनको आफैँले प्राथमिकता तोक्छ । कसैलाई पनि हामीले यही विषयमा लेख्नुपर्छ भनेर डिक्टेट गर्न सक्दैनौ । तर म चाहन्छ, लेखिने विषयले कतै न कतै हाम्रो धरातललाई स्पर्श भने गरिरहोस् । धरातल गुमाएको लेखनी अर्थहीन हो मेरालागि ।
दीपशिखा—साहित्य केका लागि पढ्नुहुन्छ ?
कस्ता विषयहरुमाथि कसरी लेखिँदैछन्, हाम्रा र अरुका साहित्यले अहिले कस्ता खालका विषय उठाइरहेका छन् भन्ने जानकारीका लागि पनि पढ्छु म । अरुहरुले लेखेको पढेर मैले कस्तो लेख्नु पर्छ भन्ने ज्ञान पाउँछु म । खासमा म आफूले कसरी लेख्ने भनेर सिक्नका लागि पढ्छु । त्यसबाहेक अरुले सिर्जना गरेको संसारमा प्रवेश गर्नु एउटा आनन्ददायक कुरा पनि हो । त्यो आनन्दका लागि पनि पढ्छु ।
दीपशिखा—अहिलेसम्म पढेकामध्ये सबैभन्दा बढी प्रभाव पार्ने पुस्तक ?
धेरै छन् । कथानकको बिस्तार, चरित्रहरुको विविधता, असंख्य घटनाहरुको सुरुचिपूर्ण संयोजनको कलालाई बुझ्नका लागि मजस्तो उपन्यासको विधार्थीले “युद्ध र शान्ति” पढ्नै पर्छ । तर, एउटै किताबको नाम लिनु पर्दा भने गोर्कीको ‘आमा’को नाम लिन रुचाउँछु म । आमाको परिवेश मलाई हाम्रो परिवेशसित नजिक लाग्छ । त्यसको कथानकसित मेरो भावना जोडिएजस्तो लाग्छ । त्यसका पात्रमा आफ्नै छेउछाउका परिचित अनुहार देख्छु । पाठकको रुपमा वीपीको मोदीआइन् मन पर्छ र लेखकको रुपमा उनको हिटलर र यहुदी मन पराउँछु । हिटलर र यहुदीमा एउटा आख्यानकारमा हुनुपर्ने क्राफ्टम्यानसिप देखिन्छ । विधार्थी बेलामा पढेकोले होला बसाइँ र मुनामदनले अवचेतनमा खुब प्रभाव पारेका छन् । त्रासदीहरु र त्यसबीचमा पात्रहरुले निर्धारण गर्ने संघर्षशील भूमिकाका कारण कामुको प्लेग र डोमिनिक लापियरको सिटी अफ ज्वाय खुब मन पर्छ । सानो उपन्यासमा मान्छेको जिजीविषा र संघर्षको महागाथा अटाएकोले हेमिंग्वेको द ओल्ड म्यान एण्ड सी खुब मन पर्छ । यी सबैले कतै न कतै मेरो लेखनमा पनि प्रभाव पारेका छन् ।
००
द कान्तिपुर पोष्ट—पुस्तकबिनाको जीवनको कल्पना गर्नुहुन्छ ?
पुस्तक बिनाको जीवन पनि हुन्छ । संसारका अरबौ दुःखी गरिबहरु अक्षर नचिनेरै मरिरहेका छन् । तिनीहरु आफू त पुस्तकको विषय बनेका छन् । तर तिनको जीवनको प्राथमिकतामा पेट पर्छ, पुस्तक पर्दैन । तर म भने “के पुस्तक बिनाको जीवन हुन्छ ?” भन्ने यस्तो प्रश्न मेरा अगाडि तेर्सिँदा कहालिन्छु । एकदम आतंकित हुन्छु । तर पक्का हो, पुस्तक बिना पनि म मरिहाल्ने थिइनँ । मेरा प्राथमिकता अरु नै केही हुने थिए सायद । किताबप्रति रुचि र चासो नभएको भए म लेखक पनि हुने थिइन् । कानुन पढेको थिएँ, त्यसैले वकील भएर बहस पैरवी गरिरहेको हुन्थेँ होला । किताब नपढ्ने भएपछि सिर्जनात्मक भोक पनि हुने थिएन । त्यसैले पैसाको भोको भएर जग्गा दलाली गरिरहेको पनि हुनसक्ने थिएँ । जे होस्, किताब बिनाको जीवन पनि हुन्छ र म आफू अनुकूलको कुनै जीवन बाँचिरहेको हुने थिएँ । किनभने बाँच्नु सामान्य कुरा हुँदै होइन । बाँच्नु आफैमा जीवनका सारा प्रतिकुलताहरुसितको लडाइँ पनि हो । म सायद त्यही लडाइँमा पूरा ऊर्जाका साथ संलग्न भैरहने थिएँ ।
०००
जिके—राजनीतिक चिन्तनका आधारमा तपाईं वामपन्थी होइन । तर, तपाईले आजभन्दा बीस वर्षअघि लेखेको ‘उलार’मा प्रगतिशीलताको ‘मानक’ र चुडान्त चित्रण छ । यो कसरी सभ्भव भयो त दाइ ? आजको परिस्थितिका ‘राजेन्द्र बाबु’ र ‘शान्तिराजा’ सरकारवादीहरु हुन् कि मधेसवादी ?
सिमान्तीकृत र आम जनताका दुःखपीडाका कथा वामपन्थीहरुले मात्रै लेख्नुुपर्छ भनेर कतै कुनै सिद्धान्त प्रतिपादित भएजस्तो लाग्दैन मलाई । तर हामीकहाँ चाहिँ यो भ्रम लेखक र बुद्धिजीवीहरुमै बढ्ता हावी भएको छ । म जब सचेत रुपमा लेखनमा संलग्न भए मलाई सतहमा थेग्रिएका मानिसका सरोकारका बारेमा लेख्नुपर्छ भन्ने लाग्यो । मेरो सोच र चेतनामा तिनै पात्र र तिनकै जीवनले हस्तक्षेप गर्न थाले । जहाँसम्म शान्तिराजा र राजेन्द्रबाबुजस्ता पात्रहरुको कुरा छ । समाजमा ती उहिले पनि थिए, आज पनि छन् । फरक के छ भने, अहिले उनीहरु प्रगति या समाज रुपान्तरणका बाहेक बनेका नेपालका राजनीतिक दलभित्र पनि घुसपैठिया भएर पसेका छन् र त्यहीँ बसेर जनताको नाममा जनताकै उछित्तो काढिरहेछन् । उनीहरु मौका मिले प्रगतिशील पनि बनिदिन्छन्, कैले घोर प्रजातन्त्रवादी र अवसर पाए मधेशवादी पनि बनिदिन्छन् । समाजमा सायद यस्ता केही खराब र धेरै असलबीचको द्वन्द चलिरहन्छ । त्यही द्वन्द नै मेरो लेखनमा कथानक बनेर आएका हुन् ।
जिके—तपाईको ‘उलार’ उदयप्रकाशको ‘मोहनदास’बाट प्रभावित छ भन्नेहरु पनि छन् नि ।
हो र ? भन्नेहरु छन् ? धन्यवाद उहाँहरुलाई । जे होस्, मैले चाहिँ उलार लेखेको आज बीस वर्षपछि पहिलोपल्ट यो कुरा सुने । सायद अरुले शिष्टतावस मलाई यो आरोप नलगाएको हुनुुपर्छ । र आज, उलार लेखनको बीस वर्षपछि पहिलोपल्ट म खुसुक्क तपाईँलाई मात्र भन्छु, वास्तवमा समाजका पिँधमा रहेका चरित्रहरुबारे जजसले लेखेका छन्, उलार ती सबैबाट प्रभावित छ । प्रभावित हुने यो क्रम आज पनि चलिरहेछ । खुसी छु, कि यसलाई दया गरेर चोरी भनिदिनु भएन तपाईँले । जबकि प्रेमलाल, द्रौपदी, कलुवा, ननकउ यी सबै पात्र मैले मेरो समाजबाट चोरेकै हुँ । तर, यसमा म कसैसित क्षमा माग्दिनँ । समाजका बन्द र वर्जित ढोकाहरु फोडेर मलाई अझै धेरै कुरा चोरी गर्नु छ अझै । त्यसैले म ढुक्कले भन्न सक्छु, मैले इमान्दार हुने ठेक्का लिएको छैन । इमान्दारहरु सत्ताको भजन लेख्छन् । म जस्ता चोरहरु प्रेमललवा, द्रौपदी र इलैयाका कथा लेख्छन् । त्यस्ता चोरहरु मेरा आदर्श हुन् । साहित्यको इजलासमा तपाईँले मलाई सधैँ ती चोरहरुको पैरवी गरिरहेको भेट्नु हुनेछ ।
यो प्रश्नको अन्त्यमा म तपाईँ मार्फत उलारलाई मोहनदासबाट प्रभावित छ भन्ने साथीभाइहरुलाई सानो जानकारी पनि दिन चाहन्छु । उसरी नै । खुसुक्क । उलार उदयप्रकाशको मोहनदासभन्दा करिब दश वर्ष जेठो छ । मोहनदास सन् २००६ मा छापिएको हो । उलार सन् १९९६ मा । तर कृपया, उदयप्रकाशलाई मोहनदास उलारबाट प्रभावित भएको हो ? भन्ने प्रश्न नगर्नु होला । उनी हाँस्ने छन् ।
जिके—तपाईंले ‘लु’ मा इलैयालाई ‘साउथ इन्डियन सिनेमा’को हिरोजस्तै रातारात ‘हिरो’ बनाउनुभएको छ । त्यसरी मान्छेले सामाजिक जीवनमा आफ्ना गलत विचार र व्यवहार ‘ज्युँ का त्युँ’ भुलेर ‘नायक’ बन्न सक्छ र ?
अँ, खासमा मैले लू एकहजार पृष्ठको लेख्नु पथ्र्यो । त्यसो गरेको भए म इलैया हिरोमा रुपान्तरित हुनुुका अरु बडेमानका कारणहरु पनि उल्लेख गर्न सक्थेँ । तर मैले लू लाई धेरै मोटो बनाउन चाहिनँ । त्यसैले होला इलैयामा तपाईँले मधेशको आम युवा नदेखेर साउथ इन्डियन हिरो देख्नु भयो । खासमा, मैले लगाएको चश्मा र तपाईँको चश्मामा केही फरक परेको हुनसक्छ । त्यसैले त मैले इलैयामा गाउँघरमा हुने नौटंंकी र सर्कसहरुबाट अत्यधिक प्रेरित युवा देखेँ, तपाईँले बाहुवलीको हिरो देख्नु भयो । यो न तपाईँको दोष हो, न मेरो । सब चश्माको करामात हो ।
जिके—तपाईंकै ‘उमेर समूह’का र ‘तहका’ लेखकहरु केही वर्ष राजनीति गरेर किन समानुपतिक सभासद् कि त ‘प्राज्ञ’ बाले लाइनमा लाम्बद्ध छन् । यस उपक्रममा तपाई उति भिडेजस्तो त लाग्दैन । कि भित्रभित्रै प्रयास गरिरहनु भएको छ ?
मैले सभासद या प्राज्ञ बन्ने तहको लामो राजनीति गरिनँ । त्यो धैर्यता मभित्र छैन । एकदमै अस्थिर स्वभाव छ मेरो । मलाई सिर्जनामै मजा लाग्छ । सत्ता या सरकारको चाकरी नगरेर आजसम्म कुनचाहिँ व्यक्तिले प्राज्ञ हुने सौभाग्य पाएको छ र ? मलाई एक जनाको नाममात्र पनि बताइदिनु भयो भने धन्य हुनेछु । नेपालका मै हुँ भन्ने साहित्यकारलाई मैले नेताहरुको दरबारमा लम्पसार परेको देखेको छु । त्यो हदसम्मको चाकडी गर्ने ल्याकत मेरो छैन । रहर पनि छैन ।
जिके—‘घामकिरी’पछि तपार्इँको लेखन खस्किएको हो कि तपाईको किताबको बजार ? कि पाठकले म्याजिकल रियालज्म नबुझेर त्यस्तो भाको हो ?
पाठकलाई किन दोष ? मेरै लेखनको कमि कमजोरी होला नि । तर घामकिरी मेरो प्रिय उपन्यास हो । बजार र बिक्रीलाई सफलताको मानक मान्नु हुन्छ भने घामकिरी उलारभन्दा निकै बढी बिकेको उपन्यास हो । तर बिक्रीलाई सफलताको या असल लेखनको मानक बनाउने पक्षमा म रहिनँ । घामकिरीमा मैले एउटा औसतजस्तो लाग्ने लहडी प्रेमकथाको माध्यमबाट समाजमा पूँजीबजारले उत्पादन गरेका विषालुु सपनाहरु र त्यस्ता सपनाहरुको एडिक्ट भएकाहरुका कथा भन्न खोजेको हुँ । मैले त्यसमा पनि उपेक्षित समाज र पात्रकै कुरा गरेको छु । हो, कसैलाई घामकिरीमा मैले कथा भन्न रोजेको शिल्प मन नपरेको हुनसक्छ । कतिलाई त्यही शैली र शिल्प नै बेजोड पनि लागेको पनि छ । केही समीक्षकले त उलारलाई पनि झूरै भनेका थिए कुनै बेला । प्रकाशनको दशबाह्र वर्षपछि यसलाई असल उपन्यास ठान्ने पाठकहरु निस्कनु भयो । म समीक्षकको हैन, पाठकहरुको माया पाएको लेखक हुँ । मेरो ऊर्जा नै मेरा पाठकहरु हुनुहुन्छ । समीक्षक त मेरोलागि ट्राफिक पुलिसजस्ता हुन्, उनीहरु सिटी बजाइरहन्छन्, म हिँडिरहन्छु ।
जिके—नेपाली लेखक सेलिब्रेटी भइसके पछि मैले जेलेखे पनि पढि हाल्छन् नि भन्ने मनोग्रथिका सिकार हुने गरेको पाइएको छ । तपाईको घामकिरीमा भएको त्यही त होइन ?
म अचेल माइक्रोबसमा खुब हिँड्छुु । एकआध घटनाबाहेक मलाई कसैले चिनेको छैन । म ढुक्कले सडक छेउको मम पसलमा बसेर मम खान्छु । बारा र चटामरी खान्छु । मैले मम, बारा र चटामरी खाइरहँदा प्रायः मलाई लेखक भनेर कसैले चिनेको थाहा छैन । म फुटपाथमा कतिपल्ट बदम छोडाउँदै या मकै खाँदै हिँड्छु । तर कसैले मलाई प्रायः बिथोलेको छैन । अनि म कसरी सेलिब्रेटी भएँ ? मलाई मेरो निजी स्वतन्त्रता हनन गराएर सेलिब्रेटी हुुनु पनि छैन र सेलिब्रेटी भएँ भन्ने भ्रम पनि छैन । अर्को कुरा, पाठकलाई अन्डरइस्टिमेट गर्न मिल्दैन । उहाँहरुले जे पनि पढ्नुु हुन्न । अझ साहित्यका पाठकहरुले त आफूलाई रुचिकर लाग्ने र उहाँहरुभित्रको सिर्जनात्मक पठनलाई तुष्टि गर्ने कुरा नै पढ्न रुचाउनु हुन्छ । जहाँसम्म घामकिरीको कुरा छ, मलाई आफ्नो यो लेखन पनि प्रिय लाग्छ । असंख्य पाठक हुुनुहुन्छ, जसलाई मेरो सबैभन्दा राम्रो उपन्यास नै घामकिरी लाग्छ । मैले खराब लेखेँ भनेर म ती आदरणीय पाठकहरुको मन कसरी दुखाउन सक्छु ? म बजारका लागि लेख्दिनँ । स्वान्तसुखायका लागि पनि लेख्दिनँ । लेख्नुका केही कारणहरु छन् मसित । म ती कारण बुझ्ने पाठकहरुको लागि लेख्छु । म आफ्नो समयसित गुनासो गरेर बसिरहन चाहन्नँ, म समयसित झगडा गर्न रुचाउँछु । किनभने लेखन मेरोलागि लडाइँ हो । धरातल गुमाएको रुमानी कल्पनाशीलता मेरो रुचिको विषय होइनँ । त्यसैले म मेरो झगडा र मेरो लडाइँमा मलाई साथ दिने पाठकहरुका लागि लेख्छु ।
जिके—तपाईले प्रायः मधेस’ र ‘मधेसी जीवन लेख्नुभयो । मधेसी मूलका लेखक नभएको हो कि मधेसी मूलका लेखकका कृति नपढिएको ?
मलाई मधेशका बारेमा लेख्न सहज लागेकोले मेरा रचनामा मधेश धेरै आएको हो । अरु परिवेशका बारेमा पनि सहज अनुभव गरेँ भने लेख्ने छु । मेरो उपन्यास ‘सल्लीपिर’मा शेर्पा समाज आएको छ । तपाईँले मैले नेवारी र तिब्बती परिवेशमा लेखेका कथाहरु पढ्नुु भएको छ ? कतै भेटिएछ भने पढेर सल्लाह दिनु होला । मधेशमा बसेर मैले भन्दा हजार गुना राम्रो डा. राजेन्द्र विमलले लेखिरहनु भएको छ ।
जिके—तपाईँ पहाडी समुदायको मान्छे भएर पनि मधेस विशेष साहित्य लेख्नुहुन्छ । यसमा सांस्कृतिक अन्त घुसन ले काम गरेर हो कि लेखिदिऊँ न त भन्ने मनोविज्ञानले काम गरेर ?
मैले पहाडभन्दा पहिला मधेश देखेको हुँ । त्यसैले पहाडभन्दा बढ्ता मधेशका बारेमा जानेबुझेको छुु । कुनै भारी भरकम र भयानक सोच अनि अन्तरघुलनका आशय राखेर लेखेको हैन मैले । मलाई मैले देखे बुझेका चरित्रहरुका बारेमा लेख्न सजिलो लाग्यो, तिनका बारेमा लेख्नै पर्छ भन्ने पनि लाग्यो त्यसैले लेखेको हुँ । सिद्धान्तका ठेली अघिल्तिर राखेर र कुन कथा कुन सिद्धान्त, वाद या धारामा फिट हुन्छन् भनेर आख्यान लेख्ने रहर छैन मलाई । मलाई आख्यान पो लेख्नु छ, कानुनको किताब त हैन नि ।
जिके—साहित्यको बजारमा ‘लेखेरै’ दाल भात खाने लेखकहरु हातका औँलामा गनेरै सकिन्छ । तपाई लेखेरै जिविका चलाउन सक्ने लेखक भित्र पर्नुहुन्छ कि पर्नुहुन्न ?
म साहित्य लेखनलाई कमाईसित जोड्दिन । नेपालमा अहिलेसम्म लेखेरै शानदार जीवन बाँच्ने स्थिति आएको छैन । केही सीमित आवश्यकतापूर्तिमा मेरो साहित्य लेखनले सघाएको होला । मलाई मेरो साहित्य बिक्री होस् भन्ने लाग्छ । तर बिकाऊ होस् भन्ने चाहिँ लाग्दैन । कृपया यो फरक बुझिदिनु होला ।
००
फणीन्द्र—एकातिर आख्यानका पाठक बढेको बताउनेहरू छन् । कविहरू भने बढी लेखिने र पढिने विधा कविता हो भन्छन् । आख्यानलाई कविताले पछि पार्दै गरेको उनीहरूको दाबी छ नि?
यो आख्यानको बजार हो या कविताको भन्ने प्रश्नमा नअल्मलिएर अहिलेको बजार समग्र साहित्यकै बजार हो भन्ने ठान्छु म । किताबको बिक्रीको संख्यालाई मानक मान्ने हो भने आख्यानकै बजार बढेको जस्तो पक्कै देखिएला । तर गैरआख्यान र कविताले पनि बजारको ध्यान आकृष्ट गरेकै छन् । आख्यानमा जीवनको विराटतालाई झल्काउने कथानक हुन्छ । नयाँ खालको परिवेश र चरित्रहरू हुन्छन् । त्यसले पाठकको अहम्लाई तुष्टि पनि गर्छ । त्यसैले आख्यानले हरेक वर्ग, उमेर र तप्काका पाठकहरूलाई आकृष्ट गर्छ ।
राजनीतिले विभेदको खेल खेलिरहे पनि सञ्चार, शिक्षा र यातायातको सुविधाले गर्दा अहिलेको समाज एकअर्कासित जोडिँदै गएको छ । अहिलेको पाठक आफूले सुनेको तर नबुझेको समाजका कुराहरू बुझ्न चाहन्छ । त्यो समाजको भाषा, रीतिथिति, परिवेश र भूगोलबारे जानकारी लिन चाहन्छ । यसको लागि आख्यान उपयोगी हुन्छ । आख्यानमा कविताको स्वाद पनि हुन्छ, निबन्धको वैचारिक सामथ्र्य पनि हुन्छ । आख्यानले पाठकलाई कल्पनाशील पनि बनाउँछ । कथानकको प्रवाहमा बगेर पाठकले आख्यानका चरित्रहरूलाई आफैंले स्वरूप दिन्छ र त्यसै चरित्रको दुःख–सुखमा सामेल पनि हुन्छ । आख्यान त्यसैले विश्वव्यापी रूपमा बढी पढिने विधा हो । किताबी रूपमा बढी बिक्री हुने विधा पनि हो । तर कवितामात्रै या गैरआख्यान मात्रै पढ्ने पाठकहरू पनि प्रशस्त हुन्छन् । आख्यानबाहेक अरूमा रुचि नदिने पाठकहरू पनि हुन्छन् । यो पाठकको निजी रुचिको कुरा पनि हो । किताबको बिक्रीलाई विधागत सफलताको मापदण्ड मान्न थालियो भने धेरै खालका समस्याहरू निम्तिन्छन् ।
साहित्य सिर्जना सय मिटरको दौड होइन । त्यसैले कसले कसलाई पछाडि पारेको छ भन्ने तर्क गर्ने र दाबी गर्नेहरूको सोचलाई दयनीय मान्नुपर्छ । यो एकखालको कुण्ठा या मनोरोग हुनसक्छ । अगाडि र पछाडिको कुरा गरेर आत्मरतिमा रमाउने रोग पाल्नुुभन्दा हामीले सबै विधाका आफ्नै प्रकारका विधागत विशिष्टताहरू हुन्छन् भनेर स्वीकार्ने हिम्मत राख्न सक्नुपर्छ । म यस्ता तर्क गर्नेहरूलाई विवादमा अल्झनु भन्दा आफ्नो सिर्जनामा वैशिष्टता हासिल गर्नतिर लाग्नुस् भन्ने सल्लाह दिन्छु ।
००
रोहित—‘सल्लीपिर’ कस्तो उपन्यास हो ?
‘सल्लीपिर’मा यसपटक मैले फरक परिवेश र फरक पात्रमा काम गर्ने प्रयास गरेको छु । केही वर्षअघिको खुम्बु क्षेत्रको भ्रमणमा आधारित रहेर लेखेको हुँ यो उपन्यास । उपन्यासलाई आवश्यक पर्ने अध्ययन र अनुसन्धान पनि गरेको छुु । हामीकहाँ आफूले देखेकै र भोगेकै विषयमा लेख्नुपर्छ भन्ने आम धारणा छ । तर, अध्ययन र अनुसन्धान गरेर पनि लेख्ने परिपाटी बाहिरतिर प्रशस्तै छ । हामीकहाँ यस्तो प्रयास कमै हुने गरेको छ । सल्लीपिरमा मैले जुन विषय र मुद्धा उठाएको छु । त्यसका लागि खुम्बुको परिवेश र शेर्पा जनजीवन उपयुक्त भएकोले मैले त्यस विषयमा प्रवेश गरेको हुँ । सल्लीपिर, एकजना युवती पेमा मार्फत अभिव्यक्त भएको लगभग तीन पुस्ताको कथा हो । शेर्पाको जनजीवन, भाषा, श्रम र संस्कृतिको सम्मान गर्दै मैले ‘सल्लीपिर’ लेखेको हुँ ।
रोहित—तराईमा जन्मी, हुर्किएको मानिसले हिमाली परिवेशमाथि लेख्दा पात्र र कथामाथि न्याय होला त ? हिमालकै सेटिङ किन रोज्नु भएको ?
लेखकले आफ्नो लेखनमा विविधता ल्याउने पनि प्रयास गर्नु पर्छ । मैले आफ्नो लेखनको शुरुवातदेखि नै फरक विषयमा काम गर्दै आएको छु । मेरा प्रारम्भिक तीन उपन्यासमा पनि फरक पात्र र परिवेश नै छन् । नयाँ परिवेशमा लेख्ने ममात्र हैन, अरु थुप्रै छन् । नेपालमै पनि यस्ता प्रयासहरु भएका छन् । वीपीको ‘मोदिआइन’ पनि महाभारतकालीन सन्दर्भसित जोडिन्छ । ‘माधवी’ झन् वैदिककालीन विषय हो । पारिजातको ‘शिरीषको फूल’ का केही सन्दर्भ पनि पारिजातले देख्दै नदेखेको परिवेशमा आधारित छ । ‘चपाइएका अनुहार’मा दौलतविक्रम विष्टले युद्धको त्रासदी लेख्नु भएको छ । अझ बहुचर्चित ‘बसाँइ’ लेख्दासम्म त उपन्यासकारले उपन्यासमा वर्णित परिवेश नै देख्नु भएको थिएन रे । अमर न्यौपानेजीले केही दिनको नेपालगन्ज बसाइको अनुभवमा ‘पानीको घाम’ लेख्नु भयो । युद्धमै नगएकाहरुले युद्धका उपन्यास लेखेका छन् । आरोहण नै नगरेर सरुभक्तले हिमाल आरोहणकै विषयमा ‘चुली’ लेख्नु भयो । मोदनाथ प्रश्रितले ‘देवासुर संग्राम’ लेख्नु भयो । केही समय तिब्बत बसाइको आधारमा डोरबहादुर विष्टले ‘सोताला’ लेख्नु भयो । पढेको र सुनेकै भरमा जीवनीपरक आख्यानहरु लेखिएका छन् । आफू जन्मिएको भन्दा दशकौँ अघिको विषयमा अमिताभ घोषले ‘सी अफ पपिज’ जस्ता उपन्यास लेखे । अध्ययन र अनुसन्धान गरेरै ऐतिहासिक उपन्यासहरु लेखिन्छन् । विज्ञान नपढेकाहरुले साइन्स फिक्सनहरु लेखेका छन् । जुनसुकै विषय लेख्न पनि कल्पनाशीलता त चाहिन्छ नै । बिना कल्पना त यथार्थ पनि लेख्न सकिन्न । त्यसैले कैलोकाहीँ आफू बाँचेको र आफूलाई सहज लाग्ने परिवेशबाट हटेर अध्ययन, भ्रमण र अनुसन्धानको आधारमा अर्को परिवेशको कुरा पनि लेख्न सकिन्छ र लेख्नु पनि पर्छ । मुल कुरो लेखकले उठान गर्ने विषय हो । ‘सल्लीपिर’मा उठाइएको विषय लगभग सबैतिर मिल्ने विषय हो । यसभित्र वर्णित दुःख धेरैको साझा दुःख हो । बस्, यसको परिवेश र पात्र फरक छन् । नेपाली साहित्यमा शेर्पा जनजीवन खासै आएको थिएन । मलाई त्यो परिवेशप्रति जिज्ञाशा भयो । त्यहाँको जनजीवन र समस्यालाई बुझ्ने प्रयास गरेँ र सल्लीपिर लेखेँ ।
रोहित— हिमालको सेटिङबाहेक यस अघिका दुई अत्यन्तै चर्चित उपन्यासहरु लू र उलार भन्दा यसमा के नयाँ कुरा अपेक्षा गर्ने तपाईका नियमित पाठकले ?
सेटिंग त सहायक कुरा हो । उपन्यासलाई पृथक त यसको कथावस्तुले बनाउने हो । त्यो कथावस्तुले उठाएका मुद्धाहरु र त्यसलाई बोकेर हिँड्ने चरित्रहरुले उपन्यासको ओज र पृथकता निर्धारण गर्छन् । ‘सल्लीपिर’ पढ्ने पाठकलाई यसको परिवेशमात्र नयाँ नलाग्ला, यसको विषयवस्तु, यसको प्रस्तुति र यसका पात्रहरु पनि नयाँ लाग्लान् । यसपटक भाषामा कवितात्मक हुने प्रयास गरेको छु । ‘सल्लीपिर’ मै पनि केही कविताहरु छन् । यो आंचलिक उपन्यास हो, जसमा मैले शेर्पा सँस्कृतिको गरिमा र विविधतालाई उजागर गर्ने प्रयास गरेको छु । हिमाल आरोहण पनि पाठकले रुचाउने विषय हो । ती कुराहरु पनि ‘सल्लीपिर’मा छन् ।
रोहित—यस अघिका तपाईंका प्रसिद्ध उपन्यासहरु उलार र लूूमा केही सशक्त पात्रहरु छन् । ‘उलार’को प्रेमललवा, दरौपदी, ‘लूू’ को इलैया र नुसरतजस्ता थुप्रै पात्रहरु पाठकको मनमा राज गर्न सफल छन् । उपन्यास कत्तिको राम्रो भयो भन्ने कुरा पात्र कति सशक्त छन् भन्ने कुराले निर्धारण गर्ने हो ?
हैन, पात्रले हैन उपन्यासको सशक्त हुने त लेखकले उठान गरेको विषय र त्यसभित्र प्रवेश गरेको मुद्धाले हो । विषय कमजोर र विश्वसनीय भएन भने जतिसुकै बलियो पात्र भए पनि उपन्यास बलियो हुन सक्दैन । पात्रहरु विषयको हात समातेर हिँड्छन् । यो सम्बन्ध जति बलियो हुन सक्यो, उपन्यास त्यति नै शक्तिशाली हुन्छ ।
उपन्यासमा हिरो वा एन्टी हिरो केन्द्रीयपात्रका रुपमा कुनै पात्र आउनै पर्छ ? सिङ्गो उपन्यासभरि त्यही पात्र छाइरहनु आवश्यक छ ? तपाईका सबै उपन्यासमा त्यस्ता केन्द्रीयपात्र छन् । छ भने किन र छैन भने यसको विकल्प के हुन्छ ?
मेरो दोस्रो उपन्यास ‘विक्रमादित्य एउटा कथा सुन’मा मैले उपन्यास लेखनका सबै मान्यताहरु भत्काएको छु । त्यसमा कुनै नायक छैन, केन्द्रिय पात्र छैन । एउटा अध्यायमा आएको पात्र अर्को अध्यायमा आउँदैन । पात्रको नाम कुनै भाषासित मिल्दैन । संवादहरु छैनन् त्यसमा । त्यो घोर प्रयोगवादी लेखन थियो । म एउटै खालको लेखनमा अल्झिएर बसिरहन चाहन्नँ । मलाई विविधता मन पर्छ । उपन्यास लेखिरहँदा मलाई आफैँलाई पनि आनन्द महसुस हुनुु पर्छ भन्ने मान्यता राख्छु म । त्यसपछिका मेरा उपन्यासमा केन्द्रिय पात्र अवश्य छन् । तर मैले केन्द्रिय पात्रलाई मात्र भूमिका थोपरेको छैन । सहायक पात्रको उपस्थितिले नै केन्द्रिय पात्रको पहिचान र सामथ्र्य निर्माण गर्ने हो । तर कसैले केन्द्रिय पात्र बिना पनि उत्कृष्ट उपन्यास लेख्छु भन्छ भने उसलाई त्यो स्वतन्त्रता छ । यसमा कुनै वन्देज छैन । जे लेखे पनि हुन्छ, जसरी लेखे पनि हुन्छ । तर लेखेको कुरा पाठकलाई विश्वसनीय लाग्ने हुनुपर्छ ।
रोहित—तपाईं पात्र कसरी छनोट गर्नुहुन्छ ?
म पहिला विषय सोच्छु । त्यसपछि विषयलाई डोर्याउने पात्र सोच्छु । पात्र मैले चिनेजानेकै हुन्छन् भन्ने छैन । एउटै पात्रमा विविध खालका चरित्रहरुको सम्मिश्रण पनि गर्छु । सल्लीपिरको विषय दिमागमा बसेपछि म कति दिन बौद्धतिर गएर डुल्थेँ । त्यहाँ देखिने तिब्बेतियन, शेर्पा, तामांग अनुहार र तिनका गतिविधिहरुलाई नियाल्थेँ । त्यसरी केही अनुहारहरु मेरो दिमागमा निर्माण गरेँ । विषय त पहिलादेखि छँदै थियो, पात्रको स्वरुप चाहिँ त्यसरी ग्रहण गर्दै गएँ । मेरो स्मृतिमा धमिलो भएर रहेका उतिबेलाको शेर्पा पात्रहरुको अनुहार पनि सम्झिएँ । तिनीहरुको जीवनशैली, सुखदुःख र संघर्षसित ती अनुहारको संगति मिल्दै गयो र सल्लीपिर लेखन सजिलो हुँदै गयो । लगभग सबै उपन्यासकारले पात्र छान्दा यही प्रक्रिया अपनाउँछन् भन्ने मलाई लाग्छ ।
रोहित—उपन्यासमा पात्रको व्यक्तित्व कसरी निर्माण हुन्छ ? कथाको विकासक्रमसँग उसको व्यक्तित्व कसरी गाँसिएर जान्छ ?
विषयबस्तु, परिवेश, पात्रको जीवन र जीवनशैलीबाटै पात्रको व्यक्तित्व निर्माण हुन्छ । म चाहिँ पात्रको व्यक्तित्वमा विभिन्न शेड्स होस् भन्ने चाहन्छु । हामी प्रायः पात्रको एकै खालको व्यक्तित्वलाई समातेर लेख्न सजिलो मान्छौँ । खराब पात्र सधैँ खराब र असल पात्र सधैँ असल देखाउने बानी परेको छ हामीलाई । तर खराब पात्रका असल पाटा र असल पात्रका खराब पाटाहरुतिर हामी आँखा चिम्लिदिन्छौँ । फलतः हाम्रा चरित्रहरु एकाकी लाग्छन् । म त्यो जोखिमबाट जोगिन चाहन्छु ।
रोहित—तपाईं समाजको सीमान्तकृत समुदायका निम्नवर्गीय पात्रहरुलाई उपन्यासमा लिएर आउनुहुन्छ ? यो चुनौतिपूर्ण छैन र ?
यही चुनौतीमै त मजा छ । फेरि मेरो लेखन अँध्यारोमा अन्धाधुन्ध दौडिने घोडा हैन । मेरा लेखनका केही उद्धेश्यहरु छन् । मैले आफैँसित गरेका केही प्रतिवद्धताहरु छन् । म त्यही पूरा गर्न लेखिरहेको छु । यस्तोमा त्यस्ता पात्रहरुप्रति मेरो ज्यादा सरोकार भैदिन्छ । हामीकहाँ सीमान्तिकृत पात्रका अझै धेरै कथाव्यथाहरु आउनुपर्छ भन्ने मलाई लाग्छ ।
रोहित—पात्रहरुमाथि न्याय भयो वा अन्याय भयो भन्ने टिप्पणी पनि पाठक समीक्षकबाट आइरहन्छ ? यो त सम्पूर्णरुपमा लेखकको स्वतन्त्रताको कुरा होइन र ? यस्तो टिप्पणी गर्न मिल्छ ?
लेखन निरपेक्ष विषय हैन । जिम्मेवारी पनि हो । मनोगत लेखनका जमाना गए । स्वान्त सुखायको लागि लेख्छु भन्नु वाहियात कुरा भैसक्यो । समाजका सरोकारहरुसित जोडिनका लागि लेख्छु म । त्यसैले समाजका पात्रहरुको कुरा विश्वासिलो ढंगबाट मेरा उपन्यासमा आउन् भन्ने मेरो चाहना हुन्छ । त्यसैले स्वतन्त्रताको नाममा धरातल गुमाएको लेखन मेरो प्राथमिकतामा पर्दैन । म मेरो लेखनमा कल्पना रुचाउँछु, तर कतै न कतै त्यसले जमिन छोएको हुनुपर्छ भन्ने मान्यता राख्छु । मैले घामकिरी त्यही मान्यतामा लेखेको हुँ । जब विषयप्रति म जिम्मेवार छु भने मेरा पात्रहरुप्रति पनि मैले सचेत हुनै पर्छ । उनीहरुको संवेदनाको गलत प्रयोग गर्न म चाहन्नँ ।
रोहित— त्यसो हो भने पात्र उपन्यासमा स्थापित हुन सक्यो वा सकेन भन्ने हुन्छ ? मुख्यपात्र नै उपन्यासमा स्थापित नहुनुको कारण के हो ?
उपन्यासमा मुख्यपात्र बनाउने तर त्यसलाई लेखकले खासै भूमिका नदिने हो भने त्यो पात्र कमजोर भैदिन्छ । पात्रहरु लेखककै सिर्जनात्मक सन्तान हुन् । लेखकले त्यसलाई उभिन सक्ने बनाइदिनु पर्छ । त्यसपछि हिँड्ने जिम्मा पात्रको हो । लेखकले आफ्नो पात्रको आफ्नै स्वतन्त्र व्यक्तित्व बनोस् भन्ने चाहनु पर्छ । जसरी हामी हाम्रा सन्तानलाई जीवनभरि समातेर राख्ने सक्दैनौ, त्यसरी नै लेखकले पात्रलाई स्वतन्त्र छाड्नु पर्छ । तर उसका गतिविधिलाई अभिभावकले झैँ नियालिरहनु पर्छ । जब पात्रलाई लेखकले आफ्नो बन्धनमा राखिरहन्छ र आफ्नो अहम् तुष्टिका लागि पात्रलाई साधन बनाउँछ, मुख्यपात्र बलियो गरी स्थापित हुन सक्दैन ।
रोहित—तपाईं आफैंलाई आफ्ना पात्रहरुमाथि न्याय गरेँ जस्तो लाग्छ ?
त्यो मैले नै भन्ने कुरा हैन । मैले न्याय दिने प्रयत्न गर्ने हो । भयो भएन छुट्याउने जिम्मा समीक्षकहरुको हो । तर जब पाठकहरुले प्रेमललवा, द्रौपदी, इलैया, टुटे पण्डित, नुसरत आदिको प्रशसां गर्छन् , मलाई आनन्द आउँछ । ऊर्जा मिल्छ ।
रोहित—हामीले न्याय अन्यायको कुरा ग¥यौं, पात्रको व्यक्तित्व र विकासको कुरा ग¥यौं, छनोटको कुरा पनि ग¥यौं । तपाईं समकालीन नेपाली आख्यानहरु पनि मजैले पढिरहनु भएको छ । पात्रहरुलाई प्रस्तुत गर्ने हाम्रो समग्र प्रवृत्ति कस्तो छ यतिबेला ?
माथि पनि भनेको छु । हामी कहाँ प्रायः पात्रको एउटै रंग देखाउने चलन छ । कि सेतो , कि कालो । तर, समाजमा चरित्रहरु बदलिइरहेका छन् । कुनै एउटा व्यक्ति समग्रमा ब्ल्याक या समग्रमा ह्वाइट नहुन सक्छ । अब त्यो रंग मिसिएर खैरो भैसक्यो । त्यसैले अब हामीले पात्रको विविधतालाई पनि विचार गर्नु पर्छ । आख्यानलाई समृद्ध गराउने हो भने पात्र निर्माणमा विविधताले प्रवेश पाउनु आवश्यक छ ।
रोहित—यो दशकको सुरुदेखि नै उपन्यासको बजार बिस्तार भएको छ । पाठक बढेका छन् । विज्ञापन र प्रवद्र्धनको शैली फेरिएको छ । तर यति हुँदाहुँदै पनि साँच्चिकै स्तरीय उपन्यास आएन भन्ने गुनासो पनि छँदै छ । यो गुनासो नै अनावश्यक हो कि त्यस्ता उपन्यास नआएकै हुन्?
गुनासो भैरहनु जायज हो । यसले बहसको वातावरण बनाइराख्छ । तर, अहिलेका उपन्यासकारहरुको विषय फराकिलो हुँदैछ, चरित्रहरु नयाँ आउँदैछन् । परिवेशहरु नयाँ नयाँ भित्रिँदैछन् । त्यसैले यो आख्यानको लागि सुन्दर समय हो ।
रोहित—बजारले लेखकमा दबाव सिर्जना गर्छ । कति प्रति बिक्यो वा कति रोयल्टी आयो भन्ने हुन्छ । यसले उपन्यासलाई कमजोर बनाउँछ ?
बनाउँदैन । लेखकलाई उसको प्रतिवद्धता र समाजप्रतिको उसको सरोकारले बलियो बनाउँछ । बलिया लेखकहरु बजारको दवाबमा पर्दैनन् । कमजोरहरु लेखक रहँदैनन् । तर बजारको तिरस्कार गर्न मिल्दैन । यसलाई सकारात्मक रुपमा लिनु पर्छ । बजारले अवसर सिर्जना गर्छ, लेखकलाई आर्थिक हिसाबले सहज वातावरण बनाइदिएर उसलाई नयाँ खालको सिर्जनाका लागि उत्प्रेरित पनि गर्छ ।
रोहित—उपन्यास लेखनको करिब २८ वर्षे यात्रापछि पछाडि फर्केर हेर्दा नेपाली उपन्यासमा के कस्ता कमजोरी देख्नु हुन्छ ?अब हामीले जोड गर्नु पर्ने पाटो कुन हो ?
अझै पनि हाम्रा उपन्यासमा पात्रमाथि लेखकको हस्तक्षेप भैरहेको छ । मनोगत कुराहरु हावी भैरहेका छन् । विचार र कलाको तालमेल अझै मिलिसकेको छैन । एकथरि उपन्यासकारले विचारको नाममा कलाको उपेक्षा गरिरहेका छन् र अर्को थरिले कलाको नाममा विचारबिहीन सामग्री पनि पस्किरहेका छन् । विचार र कलाको सन्तुलनप्रति अब अझै बढ्ता सचेत हुन जरुरी छ । सामाजिक यथार्थवादको नाममा कल्पनाशीलताको खिल्ली उडाउने र कल्पनाशीलताको नाममा यथार्थतिर हेर्नै नचाहने लुतोजस्तो रोग लेखकले जतिसक्यो चाँडो फ्यालेको राम्रो हो ।