Thursday, March 1, 2012

कविता-अनुहार



पानीमा हेरेँ
एक दिन मैले
आफ्नो अनुहार,
उफ्, ऐना जस्तै
टुक्रिएको रहेछ ।
अचेल
ऐनामै हेर्छु
आफ्नो अनुहार,
तर पानीको कुनै अनुहार नहुने रहेछ ।

कविता-भ्रम



म पर्खिरहेछु
युगौँदेखि,
उनी भन्छिन्
आइसकेँ । 

कविता-मनभित्र



ढोका नढक्ढक्याएरै
यो मनको चक्रब्यूहभित्र
चोर जस्तै
सुटुक्क
को पस्न खोजिरहेछ हँ ?
के त्यसलाई
मनभित्र पसेपछि
बाहिर निस्कन सकिँदैन भन्ने थाहा छैन ?

कविता-जमिन


जमिनमा
टेकेको छु भनेर
के गर्व गर्नु र खै,
हिँड्दा त
                  पाइतालामुनिबाट
                  जमिन पनि छुट्दो रहेछ ।


कविता-अबेर



नयनराज पाण्डे
समयले त
पर्खिएकै थियो,
म निस्कने बेलामा
संघारमा प्रियसीको
आँशु पोखिएको रहेछ,
चिप्लिएँ,
हिलाम्मे भएँ,
लुगा फेरेर पुग्दा
समय हिँडिसकेको रहेछ ।




कविता- आडम्वर




                                          -     नयनराज पाण्डे

कविता भन्दा अगाडि
अझ एकदम माथि,
दायाँ या बायाँ कुनातिर
कवि सगर्व उभिएको हुन्छ
आफ्नै शुभनाममा रुपान्तरित भएर,
लाचार कविताले
कविलाई टुलुटुलु हेर्छ,
किन हेर्छ ?
जबकि कवि त-
पन्छिसक्यो आफ्नै कवितासित,
उसले अस्वीकार गरिसक्यो
कविताका पङ्तिहरुसित मिसिन ।
(२०१२-मार्च १ शुक्रबार)

कविता- भोकको कविता


                                   - नयनराज पाण्डे

आज मैले खाएँ
स्वादिष्ट परिकारहरु
पेटभरि,
मलाई सजिलो हुनेछ आज
भोकाएका मान्छेहरुको कविता लेख्न ।
                                        (२०१२ मार्च १ शुक्रवार)