Monday, March 27, 2017

रुमानी ‘सल्लीपिर’



रुमानी ‘सल्लीपिर’

 बाह्रखरी अनलाइन पत्रिकामा शनिबार २५, बैशाख २०७३प्रकाशित

– शिशिर पराजुली

वर्षले नयाँ खुड्किलो उक्लिए पनि पाठकको नयाँ साहित्यिक यात्राको उत्साह पुरानै सालबाट चल्दै आएको हल्लाखल्लामा आधारित थियो नै । तर, ०७२ साललाई जसरीतसरी आफ्नो मस्तिष्कबाट हटाउँदै ०७३ सालले आफ्नो आयतन बढायो । वर्षको सुरुमै कहलिएका लेखक नयनराज पाण्डेको सातौं उपन्यास ‘सल्लीपिर’ आयो । अहिले बजार यसकै चर्चापरिचर्चाले तातेको छ ।
दमदार साहित्यिक प्रस्तुति सरल तरिकाले दिन खप्पिस पाण्डेको नयाँ प्रस्तुतिको हल्लाखल्ला पनि जोडतोड थियो र भयो पनि त्यस्तै । विमोचन कार्यक्रममा पाठकको उपस्थिति निक्कै बाक्लो थियो । यो लेखकप्रतिको विश्वास र भरोसाको मापक पनि हो ।
‘लू’ र ‘उलार’ को विषयवस्तुले नेपाली पाठकलाई पाण्डेको लेखनीमा विश्वास थियो । त्यही विश्वासलाई जित्न ‘सल्लीपिर’ सफल रह्यो वा रहेन, त्यो सबै पाठकको हातमा भर पर्छ । नेपाली साहित्यमा पठन संस्कृति विकास भएको ठान्ने पाण्डे आफ्ना पाठकलाई निकै सम्मान गर्छन् र उनीहरूको आलोचनालाई रूचाउँछन् । उनी पहिले पाठक र पछि समालोचकको मस्तिष्कमा छिर्न मन पराउँछन् । यो उनको बल हो ।
किताबको शीर्षक सार्वजनिक भएपछि प्राय: पाठक अलमल्लमा परे । लेखक आफैं शीर्षकको अर्थ बुझाउन तल्लीन देखिन्थे । तर, सबै पाठक नयाँ विषयवस्तु, पात्र र स्थानसँग साक्षात्कार हुनेमा चाहिँ ढुक्क देखिन्थे ।
‘सल्लीपिर’को आवरणमा देखिने विषयवस्तुले कथाको झिनो झल्को त दिन्छ नै । आवरणमा कुनै एउटा बालक हिमालको काखमा ध्वजापताकासँगै छ । तर, उपन्यासको विषयवस्तु जति सरल देखिन्छ, त्यति नै किल्ष्ट छ । कति ठाउँमा रोकिनुपर्छ । थकाइ मार्नुपर्छ । पानी पिउनुपर्छ । रूनुपर्छ । डराउनुपर्छ । काँप्नुपर्छ ।
उपन्यासभित्र जम्मा ५६ वटा अध्याय छन् तर विषयवस्तु र कथा भने सयौं छन् । उपन्यासको यात्रा नगर्दै ब्याक कभरमा लेखिएका कुराले मस्तिष्कमा कम्पन ल्याइदिन्छन् । आफ्नै बाबु छोराको रूपमा फेरि धर्तीमा आउने कुराले पाठकलाई झस्काइदिन्छ । कतै यो किताब पुनर्जन्मको ग्रन्थ त हैन ? दिमागमा यस्तै कुरा खेल्न नपाउँदै सुरू हुन्छ- छिरिङ, पेमा, कर्मा, छिमी, फुर्वा र अरु शेर्पाहरूका कथा । पाण्डेले किताब सुरूमै समर्पण गर्दै लेखेका छन्, “जसको दुरूह जीवनयात्रा र संघर्षको कथा यो उपन्यासमा अक्षर बनेर पोखिए, उही पेमा र खुम्बुका सबै शेर्पालाई । उनीहरूको क्षमता, श्रम, भाषा र संस्कृतिको सम्मानसहित ।”
उपन्यासको सुरूवाती अध्यायमा पेमा र कर्माको कथा छ । उनीहरूका बालसुलव कथाले पाठक आफ्नो बालापनमा पुग्छन् र सम्झिन्छन् आफ्ना पिताको माया, उनले सुनाएका कथा र कापीमा कोरेर बनाएका चित्र । पेमा र कर्मासँगै सिम्टा र सल्लीपिर बटुलिन्छ, लालिगुराँससँग खेल्न पुगिन्छ, पूजाकोठामा बालेको धूपको बास्ना र घिउबत्तीको धुवाँ यहीँसम्म महसुस गर्न सकिन्छ । र, सँगै मोहक नुम्बुर र कोङ्दे हिमालको चिसो पनि छुन सकिन्छ ।
झुटो बोल्दा नराम्रो भएको ठान्ने पेमा सधैं आफ्ना बाबु र आमाबीच प्रेम अंकुराएको हेर्न चाहन्छे तर आफ्नो बाबुको व्यवहारले गर्दा पेमाकी आमा अर्कै विदेशी मान्छेसँग विवाह गर्छिन् । पतिको व्यवहार परिवर्तन गर्न उनले अनेक प्रयास गर्दा पनि सफल हुन्निन् । पत्नीले आफ्ना पुस्तक जलाइदिएपछि विक्षिप्त बाबु छिरिङ घर छाडेर हिँड्छन् । आमा विदेशीसँग विवाह गरेर जान्छन् अनि पेमा पुग्छिन् हजुरबुवा र हजुरआमाको घर । आमा र बाबुसँग छुट्टिएर बस्दा पेमाको मन रुन्छ । तर, पनि उसले बाँच्न सिक्छे । बाबु छिरिङले सुनाउने गीतको अर्थ उसले बिस्तारै बुझ्न थाल्छे :
“दु:ख दिन्छन् बाबै, साह्रै दु:ख दिन्छन्
सपना र रहरलाई पाहुना
पाहुना बनाउनु हुँदैन
पाहुनाहरूले साह्रै दु:ख दिन्छन् ।”

त्यसपछि कथाले अर्कै मोड लिन्छ । पेमाको विवाह दावासँग हुन्छ । पेमाले आफ्नो विवाहको बारेमा खासै ध्यान पनि दिइन र सोध्न पनि चाहिन किनकि उसलाई थाहा थियो– हजुरबुवा/आमा बूढाबूढी भइसके, अब बोझ बनिरहनु हुँदैन । पेमालाई अब नयाँ वातावरण र नयाँ घर जानु थियो । पेमा दु:ख बुझेकी मान्छे, नयाँ ठाउँमा गएर आफूलाई समाहित गर्छे । उसको जीवनमा नयाँ मोड, उकाली,-ओराली र नयाँ सम्बन्ध थपिँदै जान्छन् । दावाको प्रेममा ऊ असाध्यै खुसी हुन्छे र त्यो खुसीको सीमा फुर्वा अर्थात् पेमा र दावाको छोरासम्म आइपुग्छ । दावासँग तिब्बत जाँदा पेमाले शेर्पाहरूको दु:ख नजिकबाट बुझ्छे र देख्छे आफ्ना सन्नततिको भविष्य र कहालिन्छे हिमालको  चिसो र सन्नाटासँग । र, सम्झन्छे आफ्ना पिताले सुनाएको कथा, जहाँ हुन्छ ११ वटा मात्र घर भएको एउटा बस्ती, १११ वटा चौंरीको बथान । बथानको पछिपछि हिँडिरहेकी बालिका । चितुवाले आक्रमण गरेपछि घाइते भएका चौंरीहरू र चौंरीको रगतले बिस्तारै रातो हुँदै गएको हिउँ। मानिस र पशुको मौन सम्बन्धबारे अनेक तर्कना गरिएको भेटिन्छ । यात्राकै क्रममा पेमा निकै कल्पनाशील देखिन्छे र अनेक तर्कना गर्छे । आफूले बाँचिरहेको जीवनलाई कल्पनाशील ठान्दै भन्छे, “हामीहरू सबै यो दृश्यमय संसारमा हैन, कसैले सिर्जना गरेको कथामा बाँचिरहेका छौं । हामीहरू मान्छे हैनौं । अरूले नै लेखेको, अरूले नै भनेको कथाका कमजोर पात्रहरू हौं ।”
आफ्ना पिताको पुस्तकप्रतिको मोह आफ्नो छोरा फूर्वामा पाउँदा पेमा चकित हुन्छे किनकि उसलाई किताब र अक्षर भूत हुन् भन्ने लाग्थ्यो । एकरात पेमाको सपना देख्छे, जसले फूर्वाको भविष्य र ऊ आफैंको नयाँ यात्रा सुरू हुन्छ । त्यसपछि उसले अझ नजिकबाट देख्छे- जीवनको कारुणिक यात्रा र नयाँ सम्बन्धको विस्तारित रूप ।
आफ्नी आमाको आँखामा आँसु हेर्न नचाहने फुर्वाको कथा सुन्ने र अक्षर चिन्ने उत्सुकतालाई उसका पिता, आमा र छिमेकीले अनौठो मान्छन् । उनीहरूले फुर्वाको पुस्तकमोहलाई महत्व दिँदैनन् । तर, फुर्वाको पढ्ने उत्सुकता हिमालझैं अटल रहिरहन्छ । उसकै रहर पूरा गर्ने क्रममा दावा हिमालको खर्पसमा पुरिएर मर्छ । पति मरिसकेपछि छोराको अनुहार हेरेर बसेकी पेमा त्यसको क्षतिपूर्ति लिन काठमाडौं आइपुग्छे, जुन ठाउँ उसलाई हिमालको खर्पसभन्दा अप्ठ्यारो लाग्छ । याम्बु अर्थात् काठमाडौंमा आफ्ना कोही नभेटिएको तीतो यथार्थ र नयाँ सम्बन्धको विस्तारले कथामा नयाँ मोड दिन्छ । आफ्नो छोराका लागि किताब किनेर गाउँ फर्किंदा माओवादीको जालोमा फस्छे र थुनिन्थे ६ महिना सेनाको कालो काराबासमा । त्यहाँबाट ऊ चाहेर पनि फर्कन सक्दिन । ६ महिनाको अप्यारिलो बसाइ र खटनपछि पेमा किताबका भारीसहित घर फर्कन्छे । तर, ऊ बाटोमा कतै हराउँछे । आफ्नो गाउँको बाटो बिर्सिन्छे । उसले ल्याएका किताब छोरासम्म पुग्न पाउँदैनन् । पढ्न नजानेर पाएको दु:खले उसलाई काठमाडौंसम्म डोर्याएको थियो । त्यही ग्लानी हटाउन छोरालाई पढाउने उसको इच्छा बरफझैं जम्छ । नफर्किएकी आमाको पर्खाइमा नयाँ कथा र किताब पढ्ने रहर राख्दै बसेको फुर्वाले कोरेको धर्को सम्झँदा आङ सिरिंग हुन्छ ।
भनिन्छ- राम्रो काव्यको कथा एकै सासमा भनेर सकिन्छ । ‘सल्लीपिर’को कथा पनि एकै सासमा भन्न सकिन्छ । नेपाली साहित्यमा धेरै नआउने विषयलाई पाण्डेले ‘सल्लीपिर’मा उतारेका छन् । ‘लू’ र ‘घामकिरी’मा मुस्लिम समुदायको संस्कृति, रहनसहन र तिनको धार्मिक आस्थाको वर्णन छ । ‘सल्लीपिर’मा बौद्ध धर्म र यससँग सम्बन्धित विषयसँग साक्षात्कार हुन पाइन्छ । नेपाली साहित्यमा बौद्ध धर्म र हिमालको दु:ख समेटिएका उपन्यास औंलामा गन्न सकिन्छन् ।
‘सल्लीपिर’को विषयवस्तुले पाठकलाई बाँधराख्न सक्छ । पाठक कथा र पात्रसँगै डुल्छन् हिमाली क्षेत्र, गुञ्जिरहन्छ बौद्ध गुम्बाको घण्ट र अनुभूत हुन्छ धूपको सुगन्ध । ‘सल्लीपिर’का सबल पक्ष अनेकन् छन् ।
अनुसन्धान र चिन्तनको लेखनले पक्कै सफलता हासिल गर्छ । पाठकहरु सधैं यस्तै लेखनीमा भिज्न रूचाउने कुरा पाण्डेले राम्रोसँग बुझेका छन् । त्यसैले ‘सल्लीपिर’का लागि उनले गहकिलो अध्ययन/अनुसन्धान गरेका छन् । तराईमा हुर्केबढेको मानिसले हिमाली परिवेशमा आधारित बौद्ध धर्म, आनी, गुम्बा, शेर्पा संस्कृति/जीवनशैली, विवाह र मृत्यु संस्कारबारे लेखेको कथाले मन छुन्छ । पछिल्लो समय बजारमा प्रकाशित उपन्यास र त्यसका विषयवस्तुले व्यापक निराश बनाइरहेका बेला ‘सल्लीपिर’ले पाठकको मनमा नयाँ सूर्योदय पक्कै गर्नेछ ।

सल्लीपिर-सेतो हिमालको छाया



सेतो हिमालको छाया
(कान्तिपुर कोसेलीमा २०७३ जेठ २९ गते शनिवार प्रकाशित)
जीके पोखरेल,

काठमाडौं जेष्ठ २९, २०७३- सल्लीपिर’ नयनराज पाण्डेको सातौं उपन्यास हो । लेखनको आरम्भमा ‘विक्रमादित्य एउटा कुरा सुन’ र ‘नाङ्गो मान्छेको डायरी’जस्ता प्रयोगपरक उपन्यास लेखिसकेपछि उनले ‘उलार’, ‘लु’ र ‘घामकिरी’ जस्ता उपन्यास लेखे ।  यी तीनै उपन्यासबाट उनी पश्चिम मधेसको साहित्यिक व्याख्याता भएर निस्किए । ‘प्रेमललवा’जस्तो जीवन्त पात्र जन्माइसकेपछि उनमा साहित्यको पहाड बोक्ने जिम्मेवारी थपिएको छ । नभन्दै उनले जिम्मेवारी बोध गरे र हिमाली जीवनका भोक्ताहरू अर्थात् शेर्पाको ‘पोयटिक’ भुक्तमानको सन्धान गर्न निस्किए । यो जोखिमले पाण्डेको उपन्यास लेखनको क्रममा नयाँ क्षितिज उघ्रिएकोमा शङ्का छैन । भौगोलिक दृष्टिले नेपालकै सबभन्दा विकट हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूको कथा हो ‘सल्लीपिर’ । सल्लीपिर पठनअनुभूति मूलत: तीन कुरा (शेर्पाको गोठाले जुनीको आजन्म फिरन्तेचक्र, शेर्पा संस्कृतिको प्रस्तुति र विकट क्षेत्रमा शिक्षाको अवस्थाबारे जिम्मेवार धारणा) ले सम्झनलायक रह्यो । संसारभरि ‘शेर्पा भन्नेबित्तिकै हिमाल आरोहीको परिचय स्थापित छ । तर, जीवन बचाइका क्रममा शेर्पाले भोग्नुपर्ने फिरन्ते गोठालाको दुर्लङ्घ्य शिखर त सधैँ छायामा परेको रहेछ । यी उपन्यासको सापेक्षतासँग दाँज्दा पनि भन्न सकिन्छ, ‘शेर्पाहरूको जीवनका विविध पाटा र समस्याको एउटै पृथक् स्वादसहित आएको छ ।’ त्यति त चिनेकै रहेछन् पाण्डेले शेर्पालाई । किताबको अर्को महत्त्वपूर्ण प्राप्ति शेर्पा संस्कृतिको प्रस्तुति हो । सल्लीपिरमा शेर्पा समुदायका जन्म, विवाह, मृत्य, रोगव्याध आदि प्रसङ्गमा आएको कुराले ‘सांस्कृतिक अनेकानेक’को खोलुवा दिन्छ । पाण्डे शेर्पा संस्कृतिप्रति अनुदार छैनन् । आफ्नो संस्कृतिको संरक्षणका नाममा अरूको संस्कृतिमाथि भयानक प्रहार गर्ने नवक्रान्तिकारी लेखक/पाठक जमातमा पाण्डेको धारणा सांस्कृतिक अन्तर्घुलन र स्वीकरणको पक्षमा छ ।

उपन्यासको अर्को महत्त्वपूर्ण उपलब्धि ‘विकट क्षेत्रमा शिक्षाको अवस्था’ हो । किताब सपनामा मात्रै देखिन्छ या किशोर अवस्थामा प्रवेश गरेपछि मात्रै । राजधानी र सहरहरू बोर्डिङ स्कुलको होर्डिङ बोर्ड राख्न प्रतिस्पर्धा गरिरहँदा पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मको ‘सेतो हिमाल शिक्षाको कालो छाया’मुनि पोलियोले सुकेको बच्चाजस्तो उच्छवास काढिरहेको छ । हो, साँच्चिकै हिमाली जिल्लाको शैक्षिक अवस्था सोनामजत्तिकै मरन्च्याँसे छ । समग्र हिमाली र नेपाली/पर्वते भाषासम्म सहज पहुँच नभएका साठी प्रतिशतभन्दा बढी मातृभाषी विद्यार्थीको आवाज उपन्यासमा आएको छ । शिक्षामा शेर्पाहरूको पहुँच नपुग्नुका तीन कारणहरू : गरिबी, विकटता र भाषा हुन् भन्ने कुरा कुनै शिक्षा निकायलाई खोज्न लगाएको भए त्यसको निष्कर्ष दिउञ्जेलमा राज्यको ढुकुटीबाट करोडौँ हजम हुन्थ्यो होला । तर, पाण्डेले आफ्नै बलबुतामा खोजिदिए ।  अझ पढ्न सक्ने हुनका लागि ‘फुर्वा’को पुस्तालाई नै कुनुपर्ने अवस्थाको चित्रणले कम्तीमा पनि पाठकको मन मस्तिष्कमा सानातिनो ‘परकम्प’ पैदा गरिदिन्छ । किनकि उनीहरूले छोराछोरी पढाउन यति कष्ट उठाउँछन् कि भनिसाध्य छैन । ‘खुब’ पढ्ने र ‘रिम्पोछे’ हुने सपना चकनाचुर हुन्छ फुर्वाको । उसको सपनामा ‘हिमालको कठिन उकालो’ र ‘पुरिएका सयौं आरोही र शेर्पाहरूसँग एकचित्त हुने सपना’ मात्र बाँकी रहन्छ । बस † इन्द्रेणीको बाक्लो घेराले खुम्बुलाई घर्लप्प अँगालेझैँ असंख्य ‘फुर्वाहरू’को सपनालाई ‘हिमाली चिसो र विकटता’ले अठ्याउँछ । उपन्यास सकिन्छ तर सकिँदैनन् शेर्पाका पुस्तैनी श्रापित अवशेषहरू ।  प्रकाशित: जेष्ठ २९, २०७३ 

सल्लीपिर: अक्षरको अभिव्यञ्जना-शंकर तिवारी



सल्लीपिर: अक्षरको अभिव्यञ्जना

(हिमाल खबर पत्रिकामा २०७३ बैसाख २६ आइतवार प्रकाशित)

शंकर तिवारी


सुन्दै अनौठो लाग्ने सल्लीपिर नामक उपन्यास लिएर चर्चित आख्यानकार नयनराज पाण्डे फेरि झुल्किएका छन् । तराईको जनजीवन चित्रण गर्न ख्याति कमाएका उनले सल्लीपिर मा भने एउटा हिमाली बस्तीको कष्टकर जीवनगाथालाई कलात्मक शैलीमा उतारेका छन् ।
उपन्यासको सार यस्तो छ– पेमाका बाबुको किताबमोह उनकी आमाले बुझ्दिनन् । यही कारण उनीहरुको खटपट शुरु हुन्छ । समयक्रममा पेमाको छोरो फुर्वा पनि किताबप्रति सम्मोहित हुन्छ । पेमा उनको आमाले गरेको गल्तीबाट आफ्नो छोरालाई जोगाउन चाहन्छिन् ।
सजिलै पाठ्यपुस्तक नपुग्ने विकट हिमाली बस्तीमा छोराको ज्ञानको तलतल मेट्न पेमा राजधानी काठमाडौं पुग्छिन् । किताब लिएर फर्कंदा उनले अनेक सास्ती भोग्नुपर्छ । अधिकांश शेर्पा हिमाल चढ्नेका भरिया या चौंरी गोठाला हुन्छन् । पेमा छोराको नियति बदल्न र उसलाई लामा बनाउन चाहन्छिन् । तर, पुस्तक बोकेको चौंरी अगाडि लगाएर हिंडिरहेकी उनलाई हिउँले आफ्नो बनाउँछ ।
नयनराज सधैं समाजका सीमान्तकृत ‘सबाल्टर्न’ पात्रहरुलाई केन्द्रमा राखेर लेख्छन् । आजीविकाका लागि तिनले गर्ने दुःखको वरिपरि उपन्यासको हृदय घुमिरहन्छ । यसपालि उनी हिमाली पात्र र खुम्बुको सेछेनलगायतका हिमाली गाउँ पुग्छन् ।
उपन्यासको विशेषता मुख्य पात्र नारी (पेमा) हुनु हो । बालखैमा सुनेको एउटा तिलस्मी कथा जस्तै जीवनको अन्त्यसम्म अविश्रान्त संघर्ष गर्नु पेमाको सफलता हो । बाबु छिरिङले पेमालाई हमेशा कथा सुनाउँथ्यो तर ती कथाहरुमा दुःख मात्र हुन्थे । छिरिङ भन्थ्यो– के गर्नु छोरी, मसित रमाइला कथा छैनन् । हाम्रो जीवन पनि कहाँ रमाइलो छ र ? जीवन सुन्दर भए पो कथा पनि सुन्दर हुन्छ । छिरिङले किताब पढेको उसकी श्रीमती ग्याल्मोलाई पटक्कै मन पर्दैन ।
छिरिङ निदाएको मौका पारेर ग्याल्मोले सबै किताबमा आगो लगाइदिन्छे । प्रतिक्रियाविहीन छिरिङले भोलिपल्ट घर छाड्छ र पेमाले गहभरि आँसु लिएर बाबुको विदाइका दृश्य हेर्छे । यही बिन्दुबाट पेमाको संघर्ष शुरु हुन्छ ।
पेमाकी आमा ग्याल्मो विदेशी आरोही पिटरसँग प्रेममा पर्छिन् र छोरीलाई माइतीमै छाडेर अमेरिकातिर लाग्छिन् । हजुरबुबा, हजुरआमाले केही समय हुर्काएपछि पेमाको बिहे दावासँग गराइदिन्छन् । हिमाली दुःखले नवविवाहिता जोडीलाई पनि छोड्दैन । उपन्यास भन्छ– यो शहर होइन, खुम्बु हो । यहाँ माया पाउन याम पर्खिनुपर्छ ।
book cover new
कृति: सल्लीपिर,  लेखकः नयनराज पाण्डे, प्रकाशकः फाइनप्रिन्ट बुक्स,  पृष्ठः २२९+१०,  मूल्यः रु.३४८
चौंरीका लागि खर्क खोज्दै बसाइँ सर्नु, सीमापारि तिब्बतको खर्क पुग्नु हिमाली जीवन हिस्सा हुन् । कुशल चित्रकार झैं नयनले पनि चौंरीखर्कका कथा दुरुस्त उतारेका छन् । काठमाडौं/केन्द्रको लापरबाहीले कतिपय नेपाली बस्ती तिब्बततिर परेका कुराले पाठकको मन कटक्क खान्छ ।
दावा आरोहीको भरिया बनेपछि पेमाको जीवनमा उज्यालो धर्सा देखा पर्छ, तर त्यसको आयु छोटो हुन्छ । सगरमाथा आरोहणका क्रममा दावाको मृत्यु र क्षतिपूर्ति लिन राजधानी आउने आग्रहसहितको सरकारी चिठी सेछेन त पुग्छ तर चिठी पढ्न सक्ने गाउँमा कोही हुँदैन । पेमाको छोरो फुर्वाले लामा गुरुलाई चिठी पढ्न लगाउँछ । बुबाको मृत्युको खबर आमालाई सुनाउँदाको वर्णन हृदयविदारक छ । एउटा बालकले आफ्नो बाबुको मृत्युको खबर कुन आँट र धैर्यले आमालाई सुनायो होला । यस्तैमा हो लेखकको परख जाँचिने, जसमा उपन्यासकार खरो उत्रिएका छन् ।
फुर्वालाई कथा सुन्ने रहर हुन्छ । घरमा पाहुना आएकी लडाकूले सुनाएको कथाको पात्र नामग्याल र छिमीले सुनाएको कथाको पात्र डुनले फुर्वालाई साँच्चिकै मोहनी लगाउँछन् । फुर्वाले एक दिन आफैंसँग प्रश्न गर्छ– ‘के मैले कुनै कथा सुन्न पाउँदिन ? के कहिल्यै पनि अक्षर चिन्न पाउँदिन ? के कागजका अक्षर मेरा लागि सधैं वाणीहीन चौंरी झैं हुनेछन् ? के नामग्याल र डुनसित कुनै अर्को कथामा मेरो भेट हुने छैन ? के मैले कहिल्यै पनि आफैंले किताब पढ्न पाउने छैन ? त्यसो त दावाले फुर्वा जन्मनेवित्तिकै भनेको हुन्छ– ‘चढ्दैन यसले चोमोलोङ्मा । बन्दैन कसैको भरिया । त्यस्तो दुःखी काम गर्दैन यसले । यसलाई त गुम्बामा लामा पढ्न पठाउँछु म ।’
किताबलाई भूत मान्ने आफ्नी आमा झैं अक्षरप्रति सन्देह भएकी पेमालाई एक दिन आभास हुन्छ– ‘मन्त्र बन्ने अक्षरहरुले कहिल्यै पनि मान्छेलाई दुःख दिंदैनन् । कथा भन्ने अक्षरहरुले कहिल्यै पनि तर्साउँदैनन् मान्छेलाई ।’ अनि मात्र पेमाले बाबु छिरिङ ज्ञानी भएको महसूस गर्छे ।
बुबा छिरिङले सुनाएको दुःखपूर्ण कथाका अनेक पन्ना र तह पेमाले आफ्नै जीवनमा भोग्छे । शायद छिरिङले पेमालाई जीवनका दुःखसँग अभ्यस्त बनाउनकै लागि यी कथाहरु सुनाएको थियो । बौद्ध दर्शनबाट प्रभावित भए पनि गीताको दर्शनसँग पनि मिल्ने पेमा अन्तिम वाक्य बोल्छे– ‘हे साङगे, … मैले मेरो यात्रा पूरा गर्न सकिनँ । फुर्वाले किताब पढेको हेरुँला भन्ने रहर थियो … मैले मेरो रहर पूरा गर्न सकिनँ । … मैले हिम्मत हारेकी थिइनँ । मैले यी किताब गाउँसम्म पु¥याउने हरेक प्रयास गरेकी थिएँ ।’
अघिल्लो उपन्यास ‘घामकिरी’ मा ‘म्याजिकल रियालिज्म’ को प्रयोग गरेका नयनराजले यही सिद्धान्तको सहाराले किताब बोकेको चौंरी गाउँसम्म पुर्‍याएका छन् । यस्ता प्रयोगले उपन्यास ‘मोनोटोनस’ हुनबाट जोगिएको मात्र छैन, नयाँ स्वाद पनि थपिएको छ ।
टिम्बुरबोटे काण्ड, जनमतसंग्रहदेखि २०४६ पछिका चुनाव, माओवादी सशस्त्र युद्धले गाउँ र पेमाको जीवनमा पारेको प्रत्यक्ष परोक्ष प्रभाव पाठकले सजिलै महसूस गर्न सक्छन् । दुःख, अक्षर र किताबबारे नयनराजले उपन्यासभरि यति धेरै मार्मिक उद्गार व्यक्त गरेका छन् कि तिनको संकलन मात्रले सानो पुस्तक नै तयार हुन्छ । कालो अक्षरलाई भूत सम्झेकैले शेर्पाहरु पछिपरेको उपन्यासकारको ठहर छ ।
राजनीतिका कारण देशमा ‘पहाड भर्सेज मधेश’ मानसिकता विकसित भइरहेको बेला लेखकका रुपमा नयनराजले मानिस जहाँ भए पनि सीमान्तकृतको दुःख समान भएको अनुभूत गराउन सफल भएका छन् । नयनको लेखनीमा विशिष्ट क्षमता भएकैले यो सम्भव भएको हो । सामाजिक सहिष्णुताका लागि एउटा लेखकले अपील गर्ने अर्को सम्यक् शैली नहोला ।