(कान्तिपुर, कोसेलीमा २०७० साउन १२ गते शनिवार प्रकाशित)
- See more at: http://ekantipur.com/np/2070/4/12/full-story/372875.html#sthash.o45UBpyU.dpuf
राजनीतिका खेलाडीलाई 'चकलेट'
काठमाडौ, श्रावण १२ - धेरैसँग हुन्छन् कथा । थोरैले लेख्छन् तर पढिन्छ साह्रै थोरै मात्र । पढे जति सबै लेखकले बास पाउँदैनन् पाठकीय हृदयमा । पाठकको अन्तर्तहमा टाँसिएर बसेको लेखक मात्रै साँचो लेखक हो । नयनराज पाण्डे तिनै लेखक हुन्, जो अब्बल मानिन्छन् समकालीन कथा लेखनमा । 'चकलेट' कथासङ्ग्रहले उनको त्यही अब्बलतालाई अझ चहकिलो बनाएको छ ।
पढ्नुको आफ्नै काइदा र फाइदा छन् । लेखकले चाहिँ लेख्छन् किन ? यो प्रश्न जति हल्का लाग्छ, लेखकले दिने उत्तर हुन्छ उति नै गहन । नोबेल पुरस्कार विजेता लेखक इमरे कर्टिज भन्छन्, 'आफ्नै लागि लेख्छु म । कुनै पाठकलाई सम्झेर, प्रभावित गर्ने बारे सोच्दिनँ लेख्दा । मेरो लक्ष्य हुन्छ- आफ्नो हातमा रहेको विषय अनुकूल भाषा र र्फम बनाउनु ।' कर्टिजको हातमा जस्तै हरेक लेखकको हातमा विषय हुन्छ, त्यही विषय कहिले साउतीको भाषामा आउँछ, त कहिले आन्दोलनको आँधीमा । धेरै लेखकलाई थाहा नहुन सक्छ कि स्वयं आन्दोलनको प्रवाहमा समाहित भएको कुरा । तर नयनराज पाण्डे अत्यन्त सचेत लेखक हुन् भन्ने कुराको बलियो प्रमाण हो, 'चकलेट' । सबै पाठकले आफ्नो कथा रुचाउँछन् भन्ने कुरामा ढुक्क छैनन् पाण्डे ।
आफ्नो समय र समाजको कुरूप मानसिकता र बेथितिविरुद्ध आक्रोश पोख्नु छ उनलाई । कथा लेखन रहर नभई लडाईं हो पाण्डेका लागि । समाजमा प्रकट र अदृश्य रूपमा रहेका मैमत्त महाशयहरू विरुद्धको लडाइं । उनी आफ्ना कथाहरू अर्थहीन एकालाप नहुन् भन्नेमा जति सचेत छन्, त्योभन्दा बढी सावधान छन् प्रायोजित विद्रोह र बहुलट्ठी प्रयोगबाट । एउटा सच्चा लेखकको योभन्दा ठूलो इमानदारी अर्को के हुन सक्छ ?
'निदाएँ जगदम्बा' कथासङ्ग्रह पढेपछि नयनराज पाण्डे पि्रय कथाकार बनेर बसे मेरो हृदयको भित्तामा । मेरो हृदयमा भन्दा दिमागमै बढी किक हाने ती कथाहरूले । मेरो पाठकले खोजिरह्यो, त्यस्तै अनन्त किक । 'चकलेट' दिएर झन् गतिलो किक हाने उनले अहिले । पाठकको माया पाउनु जति आनन्दको विषय हो, त्योभन्दा बढ्दा उत्साहको खुट्किला हो अर्को समर्थ लेखकको प्रेम । निदाएँ जगदम्बा पढेपछि साहित्यकार नारायण ढकालले भने, 'म किन ढिला भएँ ? जुन भावभूमिमा नयनले एउटा शक्तिशाली कथा बनाए, त्यो मेरो पनि त हो ।' कथाद्वारा समयलाई तीक्ष्ण रूपमा व्यक्त गर्ने प्रभावकारी शिल्प आफूमा नरहेको बताउँदै पाण्डेलाई 'फस्ट' घोषणा गरे ढकालले । लाग्छ, चलनचल्तीको पुरस्कारभन्दा माथि छ ढकालको यो प्रतिक्रिया । भनिन्छ,आफ्नै आस्था र सहानुभूतिप्रति निर्मम हुने लेखक नै इमानदार हुन्छ । पाण्डे कुनै न कुनै राजनीतिक सिद्धान्तप्रति आस्थावान होलान्, तर उनले गरेको प्रहार आफ्नै आस्थाप्रति पनि हो । आफ्नो पूर्ववर्ती लेखनप्रति पनि उतिकै निर्मम छन् उनी । उनले कुनै बेला एउटा कथा लेखे- आवरण । त्यो कथा जति मार्मिक थियो अन्त्य उति नै फितलो । कथाको अन्त्यतिरको आशयले कुनै एउटा दलको राजनीतिक इतिहासको अपव्याख्या गथ्र्यो । नारीमैत्री पनि थिएन । तर पाण्डेले त्यस कथालाई नयाँ रङ्गरोगन गरेर बनाएछन्, सुकुमेल । भिडन्त नामक कथामा एउटा वाक्य यस्तो थियो, 'सिपाही नै भए पनि आखिर उसले मान्छे पो मार्यो त ।' आफूलाई राम्रो लागेका केही नेपाली कथामध्येको एक कथाको यस वाक्यले मलाई झस्काएको थियो, तर पाण्डेले पछिल्लो सङ्ग्रहमा सम्पादन गरी बनाएछन् -'सपनामै भए पनि आखिर उसले मान्छे पो मार्यो त ।' यसबाट थाहा हुन्छ कि लेखनमा कति सिरियस छन् पाण्डे । उत्तरवर्ती चिन्तनको एउटा आशय छ, 'अर्थ बोक्न सक्दैन शब्दले ।' पाण्डेको उत्तरदायित्वपूर्ण लेखन पढेपछि भन्न मन लाग्छ, शब्दले अर्थको तहलाई आकाश- जमिन फरक पार्छ नै पार्छ ।
पाण्डेका कथामा छोटा छोटा वाक्य छन् तर तिनको प्रभाव लामो समयसम्म रहिरहन्छ । उनका वाक्यात्मक संरचनाले हिन्दी आख्यानाकार कमलेश्वरको सम्झना गराउँछन् कहिलेकाहीँ । कमलेश्वर बन्नु छैन पाण्डेलाई । बरु पाण्डेले जस्तै लेख्न कोसिस गर्ने धेरै छन् नयाँ पुस्तामा । पुरानो पुस्तासँग दाँजेर हेर्दा नयनराज पाण्डे अलग्ग/मौलिक अनुहार लिएर छुट्टिन्छन् नै । उनी पुरानो र नयाँ पुस्ताको पुलजस्तो देखिन्छन् पनि । कहिलेकाहीं त लाग्छ, कलात्मक राजनीतिक कथाका उत्कृष्ट नमुना पेस गर्दै छन् उनी । राष्ट्रिय स्वाभिमान गुम्छ कि भन्ने डर छ उनलाई । विभिन्न नाममा राज्यमाथि हुने हस्तक्षेपका विरुद्धमा छन् उनी । हामीलाई थाहा छ, नेपालका धेरै नीति निर्मातालाई आफ्नो चिन्ता छ, लोभ छ, आसक्ति छ । उनीहरूको सोचको केन्द्रमा देश छैन । केही पाउने लोभ मनको कुनै कुनामा बाँकी रहेपछि स्वाभिमानको शिर स्वतः झुक्छ ठूलाका पाउतिर । तिनै स्वाभिमानको शिर नुहेकाहरूको अन्तर्य खोतल्नुलाई आफ्नो धर्म ठान्छन् पाण्डे । उनले आम मान्छेका कथा सुनाउँछन्, दुःख र अभावको कुरा बताउँछन् । उनले भनेका छन्, 'उसले मेरा कथामार्फत् समाजका सुकिलाहरूलाई देखाओस् आफ्नो मलिन र मैला अनुहार । कथामा ऊ नाङ्गो भएर आओस् तर नङ्ग्याओस् समाजका ती टाठाबाठाहरूलाई, जसले उसलाई लगातार सीमान्त कित्तातिर धकेलिरहन्छन् । म चाहन्छु, उसले आफूमाथि हैकम चलाउने र रजाइँ गर्ने हरामी मालिकहरूलाई चिनोस् र चिनाओस् ।' चकलेट पढेपछि धेरै नेतालाई आफ्नो कार्यप्रति ग्लानि हुन सक्छ । टाउको दुख्न सक्छ धेरै साहित्यकारको । चकलेटमा सङ्ग्रहित कथामा सानो सानो घटनालाई अनौठो नाटकीयता दिएका छन् पाण्डेले । नाटकीयताका माध्यमबाट व्यङ्ग्य प्रहार गर्न सक्नु उनको खुबी हो । 'तातो' कथा पढ्दा निरोको बाँसुरी प्रसङ्ग सम्झना हुन्छ । तुलना गर्न मन लाग्छ, निरोचेतना र निरोका नयाँ संस्करणहरूको । कथाले आफूअनुकूल शब्द चयन गर्नु मात्र सबथोक होइन । अक्षरहरूले प्रतिविम्बित गरेको कुरा बारम्बार प्रतिध्वनित भइरहनुचाहिँ नम्बरी कथा हो । 'चकलेट'का प्रायः कथामा त्यस्तो ताकत छ, जसले हामीलाई काव्यात्मक मात दिन्छ । सामाजिक कुरूपताका सग्लो चित्र हाम्रा अगाडि ल्याएर उभ्याइदिन्छ । लाग्छ, यी कथा नेपाली राजनीतिको मैदानका स्ट्राइकरहरूले पढिदिए कति बेस हुन्थ्यो ।
प्रकाशित मिति: २०७० श्रावण १२ ११:२३