-जीवन क्षेत्री
(November 8,2012)
साभार: http://jiwankshetri.blogspot.com/2012/11/blog-post.html)
साहित्य र पत्रकारिताका आ आफ्नै विशिष्टता र सीमाहरु छन् । समाजमा ती दुईले अलग अलग किसिमले समाचार, सुचना, ज्ञान र मनोरञ्जनको संचार गर्छन् । साहित्यको झल्को दिने पत्रकारिता र पत्रकारिताको झल्को दिने साहित्य कोरा प्रकृतिका साहित्य वा पत्रकारिताभन्दा विशिष्ट मानिन्छन् किन भने रचना शिल्पको खास सीमाभित्र रहेर एउटा अतिरिक्त सिर्जनशील जिम्मेवारी नलिएसम्म त्यस्तो सिर्जना गर्नु सम्भव हुँदैन ।नयनराज पाण्डेको लु ले मलाई यही तथ्यको याद दिलायो । पत्रपत्रिका लगायतका संचारका सबै माध्यममा तराई लगायत नेपालका सबै भुभागमा रहेका आम मानिसको अंग्रेजीमा बर्डस आइ भ्यु भनेझैं टाढाबाट दृष्टिगोचर हुने सोलोडोलो चित्रले मात्र वर्चस्व जमाइरहन्छ । त्यसमा पनि दुर दराजका समाचारहरुमा राजनैतिक गतिविधिहरुको उपस्थिति यति हुन्छ कि जनजीवनका आर्थिक र सामाजिक पाटाहरुले उचित ठाउँ पाउँदैनन् । काठमाडौंका राजनेताहरुको रुघाखोकी समेत मुख्य समाचार बनिरहँदा भोकमरीको चपेटामा परिरहेका मानिसहरुको समाचारचाहिं कतै कुनामा लुकेको हुन्छ ।
यस्तो परिवेशमा एउटा सीमाक्षेत्रको दुर्गम गाउँको मिहिन चित्र खिच्नु आफैंमा ज्यादै चुनौतीपुर्ण काम हो । त्यसमा पनि डर लाग्दो गरी तन्किएको संक्रमणकालमा निकम्मा हुँदै गरेका राजनैतिक शक्तिहरु र कानुन आफ्नो हातमा लिइसकेका आपराधिक तत्वहरुका बारेमा लेख्नु झनै चुनौतीपुर्ण बनेको छ । अझ विगत केही वर्षमा सीमा क्षेत्रका विभिन्न ठाउँमा फैलिएको साम्प्रदायिक हिंसाको जरो केलाउनु त त्यो प्रक्रियालाई जरैदेखि नबुझ्नेहरुका लागि असम्भव नै हुन्छ ।
यिनै विविध पक्षमा अव्बल प्रस्तुति रहेको पाण्डेको लु ले सीमा क्षेत्रको एउटा गाउँको कथा मार्फत् एउटा अविकसित, पर निर्भर र निर्बल समाजको रुपमा नेपाली समाजको दयनीय कथा कहेको छ । २०४६ को परिवर्तनले छुन नसकेका नेपाली समाजका कुना काप्चाहरुको यथार्थपरक र मार्मिक कथा बोकेको नारायण ढकालको दुर्भिक्ष पछि लु ले त्यही स्तरमा समाजलाई साहित्यको ऐनामा उतार्न सफल भएको मेरो ठम्याइ छ । र त्यस हिसाबमा नेपाली साहित्यका लागि यो नवीन उपलब्धि हो ।
उपन्यासका रुपमा लु को विशुद्ध विशिष्टता के छ भने यसले धर्मका नाममा छिमेकी मुलुकमा मौलाईरहेको अपराधको खेती, मुलधारको राजनीतिमा त्यसको सफल प्रयोगले पाएको वैधता र त्यसले नेपाली समाजलाई ग्रस्त पार्ने सम्भावनाबारे अपुर्व रुपमा विश्वासिलो तर्क पेश गरेको छ । त्यसबाहेक सीमाक्षेत्रमा एकताका भड्केका साम्प्रदायिक दंगाहरुको भित्री कारण आम नेपालीहरुका लागि रहस्य नै बनेको अवस्थामा लु ले एउटा महत्वपुर्ण पत्रकारीय जिम्मेवारी निभाउँदै त्यसलाई खुलस्त पारेको छ ।
त्यसबाहेक पाण्डेको कथावाचनले कतिचोटि निपुण आख्यानकार गुरुप्रसाद मैनालीका चुम्बकीय कथाको याद दिलाउँछ भने कतै लु शुनको अति यथार्थवादी आख्यान शैलीको झल्को दिन्छ । पात्रहरुको जीवन्तताको बीचमै पनि उपन्यासको मध्यतिर उत्पन्न हुन हुन खाृेज्ने आलस्य र कथामा आउन पुग्ने सापेक्षिक धीमापनलाई पुस्तकको तेस्रो तृतीयांशको गतिशीलताले बिर्साइदिन्छ । संशय, गतिशीलता र आकस्मिकताको यथोचित संयोजन भएको उपन्यासको अन्तिम भागमा एकाएक तबसम्मका अपुरा कहानीहरु पुरा हुन्छन् र सिंगो कथाले ठोस आकार ग्रहण गर्छ । खासगरी चुनौतीपुर्ण प्रेम कहानीमा अति कृत्रिमता आउन नदिन कथाकारले गरेको प्रयास सफल भएको देखिन्छ र शुरुदेखि मुल पात्रको रुपमा आउने इलैयाको जीवनले लिने अरुचिकर र अप्रिय मोडहरु तथा रेडियोलालको भुमिकामा आउने एकाएकको परिवर्तनले समाजमा विद्यमान खास प्रवृत्तिहरुको ज्युँदो चित्रण गर्छन् । समाजका खास पात्रहरुको जीवनमा घटित हुन जाने घटनाहरु कसरी समाजमा चलायमान ठुला र डरलाग्दा प्रवृत्तिहरुसँग जोडिन पुग्छन् र त्यसको नतिजा कति भयावह हुन पुग्छ भन्ने कुरा रेडियोलालको जीवनमा आएको कायापलटले देखाउँछ ।
त्यसैगरी उपन्यासको अन्तमा टुटे पण्डितले लेखेको पत्रले नेपाली समाजलाई एउटा डरलाग्दो सांकेतिक चेतावनी दिइरहेको छ । नाममा स्वतन्त्र र स्वाभिमानी तर यथार्थमा परतन्त्र र विवश नेपाली समाज जस्तो सुकै विपदमा पनि चिच्याउन र विरोध प्रकट गर्नसम्म सफल छ तर त्यो अवस्थालाई बदल्ने ल्याकत र हैसियतमा नभएकैले अन्ततः चुपचाप आफ्नो नियतिलाई कोस्दै गुम्सिएर बस्न अभिशप्त छ ।
त्यसो त उपन्यास सबै नराम्रा र नकारात्मक व्यक्ति र प्रवृत्तिहरुको संयोजन पनि हैन । त्यहाँ आमस्तरमा आशलाग्दो स्तरको बौद्धिकता र सहिष्णुता बोकेका पात्रहरुको कमी पनि छैन । इमान बेचिसकेका राजनीतिज्ञहरुले आफ्नो निहित स्वार्थका लागि परिआउँदा आफुलाई चुन्ने जनतालाई राहत दिलाउने भन्दा तिनलाई त्राहिमाम पार्ने आपराधिक तत्वहरुसँग साँठगाँठ गर्ने गरेको दुरुह कथा एकतिर छ भने दुई गाँस भात र एकसरो लुगाका लागि संघर्षरत गरीबहरु चहिं परिआउँदा आफ्ना छिमेकीहरुलाई बचाउन निस्केको गर्वलाग्दो कथा पनि त्यससँगै छ ।
समग्रमा सार्थकता र सान्दर्भिकताभन्दा पर रहेर हेर्दा पनि उपन्यासका रुपमा लु मा देखिने कलाचेत र विविध पक्षबीचको सन्तुलन तथा कथा प्रवाहमा विद्यमान प्राकृतिक वहाबले लेखकको साहित्यिक अभिव्यक्तिलाई नयाँ उचाइ दिएको छ । यो उपन्यासले नेपाली आख्यान विधामा एउटा नयाँ कोसे ढुंगा त थपेको छ नै साथमा नयनराज पाण्डेलाई एउटा आश लाग्दो आख्यानकारका रुपमा स्थापित गरेको छ ।
Loo Le Sitalta lyai dieko xa derai ko man ma.......
ReplyDelete