Sunday, November 25, 2012

लूः सानो गाउँको ठूलो कथा




-जीवन क्षेत्री 

(November 8,2012)
साभार: http://jiwankshetri.blogspot.com/2012/11/blog-post.html)

साहित्य र पत्रकारिताका आ आफ्नै विशिष्टता र सीमाहरु छन् । समाजमा ती दुईले अलग अलग किसिमले समाचार, सुचना, ज्ञान र मनोरञ्जनको संचार गर्छन् । साहित्यको झल्को दिने पत्रकारिता र पत्रकारिताको झल्को दिने साहित्य कोरा प्रकृतिका साहित्य वा पत्रकारिताभन्दा विशिष्ट मानिन्छन् किन भने रचना शिल्पको खास सीमाभित्र रहेर एउटा अतिरिक्त सिर्जनशील जिम्मेवारी नलिएसम्म त्यस्तो सिर्जना गर्नु सम्भव हुँदैन ।


नयनराज पाण्डेको लु ले मलाई यही तथ्यको याद दिलायो । पत्रपत्रिका लगायतका संचारका सबै माध्यममा तराई लगायत नेपालका सबै भुभागमा रहेका आम मानिसको अंग्रेजीमा बर्डस आइ भ्यु भनेझैं टाढाबाट दृष्टिगोचर हुने सोलोडोलो चित्रले मात्र वर्चस्व जमाइरहन्छ । त्यसमा पनि दुर दराजका समाचारहरुमा राजनैतिक गतिविधिहरुको उपस्थिति यति हुन्छ कि जनजीवनका आर्थिक र सामाजिक पाटाहरुले उचित ठाउँ पाउँदैनन् । काठमाडौंका राजनेताहरुको रुघाखोकी समेत मुख्य समाचार बनिरहँदा भोकमरीको चपेटामा परिरहेका मानिसहरुको समाचारचाहिं कतै कुनामा लुकेको हुन्छ ।

यस्तो परिवेशमा एउटा सीमाक्षेत्रको दुर्गम गाउँको मिहिन चित्र खिच्नु आफैंमा ज्यादै चुनौतीपुर्ण काम हो । त्यसमा पनि डर लाग्दो गरी तन्किएको संक्रमणकालमा निकम्मा हुँदै गरेका राजनैतिक शक्तिहरु र कानुन आफ्नो हातमा लिइसकेका आपराधिक तत्वहरुका बारेमा लेख्नु झनै चुनौतीपुर्ण बनेको छ । अझ विगत केही वर्षमा सीमा क्षेत्रका विभिन्न ठाउँमा फैलिएको साम्प्रदायिक हिंसाको जरो केलाउनु त त्यो प्रक्रियालाई जरैदेखि नबुझ्नेहरुका लागि असम्भव नै हुन्छ ।

यिनै विविध पक्षमा अव्बल प्रस्तुति रहेको पाण्डेको लु ले सीमा क्षेत्रको एउटा गाउँको कथा मार्फत् एउटा अविकसित, पर निर्भर र निर्बल समाजको रुपमा नेपाली समाजको दयनीय कथा कहेको छ । २०४६ को परिवर्तनले छुन नसकेका नेपाली समाजका कुना काप्चाहरुको यथार्थपरक र मार्मिक कथा बोकेको नारायण ढकालको दुर्भिक्ष पछि लु ले त्यही स्तरमा समाजलाई साहित्यको ऐनामा उतार्न सफल भएको मेरो ठम्याइ छ । र त्यस हिसाबमा नेपाली साहित्यका लागि यो नवीन उपलब्धि हो ।


उपन्यासका रुपमा लु को विशुद्ध विशिष्टता के छ भने यसले धर्मका नाममा छिमेकी मुलुकमा मौलाईरहेको अपराधको खेती, मुलधारको राजनीतिमा त्यसको सफल प्रयोगले पाएको वैधता र त्यसले नेपाली समाजलाई ग्रस्त पार्ने सम्भावनाबारे अपुर्व रुपमा विश्वासिलो तर्क पेश गरेको छ । त्यसबाहेक सीमाक्षेत्रमा एकताका भड्केका साम्प्रदायिक दंगाहरुको भित्री कारण आम नेपालीहरुका लागि रहस्य नै बनेको अवस्थामा लु ले एउटा महत्वपुर्ण पत्रकारीय जिम्मेवारी निभाउँदै त्यसलाई खुलस्त पारेको छ ।

त्यसबाहेक पाण्डेको कथावाचनले कतिचोटि निपुण आख्यानकार गुरुप्रसाद मैनालीका चुम्बकीय कथाको याद दिलाउँछ भने कतै लु शुनको अति यथार्थवादी आख्यान शैलीको झल्को दिन्छ । पात्रहरुको जीवन्तताको बीचमै पनि उपन्यासको मध्यतिर उत्पन्न हुन हुन खाृेज्ने आलस्य र कथामा आउन पुग्ने सापेक्षिक धीमापनलाई पुस्तकको तेस्रो तृतीयांशको गतिशीलताले बिर्साइदिन्छ । संशय, गतिशीलता र आकस्मिकताको यथोचित संयोजन भएको उपन्यासको अन्तिम भागमा एकाएक तबसम्मका अपुरा कहानीहरु पुरा हुन्छन् र सिंगो कथाले ठोस आकार ग्रहण गर्छ । खासगरी चुनौतीपुर्ण प्रेम कहानीमा अति कृत्रिमता आउन नदिन कथाकारले गरेको प्रयास सफल भएको देखिन्छ र शुरुदेखि मुल पात्रको रुपमा आउने इलैयाको जीवनले लिने अरुचिकर र अप्रिय मोडहरु तथा रेडियोलालको भुमिकामा आउने एकाएकको परिवर्तनले समाजमा विद्यमान खास प्रवृत्तिहरुको ज्युँदो चित्रण गर्छन् । समाजका खास पात्रहरुको जीवनमा घटित हुन जाने घटनाहरु कसरी समाजमा चलायमान ठुला र डरलाग्दा प्रवृत्तिहरुसँग जोडिन पुग्छन् र त्यसको नतिजा कति भयावह हुन पुग्छ भन्ने कुरा रेडियोलालको जीवनमा आएको कायापलटले देखाउँछ ।

त्यसैगरी उपन्यासको अन्तमा टुटे पण्डितले लेखेको पत्रले नेपाली समाजलाई एउटा डरलाग्दो सांकेतिक चेतावनी दिइरहेको छ । नाममा स्वतन्त्र र स्वाभिमानी तर यथार्थमा परतन्त्र र विवश नेपाली समाज जस्तो सुकै विपदमा पनि चिच्याउन र विरोध प्रकट गर्नसम्म सफल छ तर त्यो अवस्थालाई बदल्ने ल्याकत र हैसियतमा नभएकैले अन्ततः चुपचाप आफ्नो नियतिलाई कोस्दै गुम्सिएर बस्न अभिशप्त छ ।

त्यसो त उपन्यास सबै नराम्रा र नकारात्मक व्यक्ति र प्रवृत्तिहरुको संयोजन पनि हैन । त्यहाँ आमस्तरमा आशलाग्दो स्तरको बौद्धिकता र सहिष्णुता बोकेका पात्रहरुको कमी पनि छैन । इमान बेचिसकेका राजनीतिज्ञहरुले आफ्नो निहित स्वार्थका लागि परिआउँदा आफुलाई चुन्ने जनतालाई राहत दिलाउने भन्दा तिनलाई त्राहिमाम पार्ने आपराधिक तत्वहरुसँग साँठगाँठ गर्ने गरेको दुरुह कथा एकतिर छ भने दुई गाँस भात र एकसरो लुगाका लागि संघर्षरत गरीबहरु चहिं परिआउँदा आफ्ना छिमेकीहरुलाई बचाउन निस्केको गर्वलाग्दो कथा पनि त्यससँगै छ ।

समग्रमा सार्थकता र सान्दर्भिकताभन्दा पर रहेर हेर्दा पनि उपन्यासका रुपमा लु मा देखिने कलाचेत र विविध पक्षबीचको सन्तुलन तथा कथा प्रवाहमा विद्यमान प्राकृतिक वहाबले लेखकको साहित्यिक अभिव्यक्तिलाई नयाँ उचाइ दिएको छ । यो उपन्यासले नेपाली आख्यान विधामा एउटा नयाँ कोसे ढुंगा त थपेको छ नै साथमा नयनराज पाण्डेलाई एउटा आश लाग्दो आख्यानकारका रुपमा स्थापित गरेको छ ।

1 comment: