Wednesday, December 18, 2013

प्रेमका १५ कविताहरु-नयनराज पाण्डे

प्रेमका १५ कविताहरु
                                   -नयनराज पाण्डे
१)      अन्तिम फूल
तिमी हाँस्दा
एउटा फूल फुल्छ,
मैले हाँस्दा पनि
एउटा फूल फुल्छ ।
संसारमा
एउटा फूल मात्र बाँकी रहँदा पनि
हामीले बुझ्नु पर्छ,
कोही एक्लै कतै
अझै मुस्कुराइरहेछ ।
(२०१२ सेप्टेम्बर २८,शुक्रवार)

२)अर्को बाटो
बाटो
थिएन कतै
र तिमीले बाटो देखाइदियौँ ।
जीवनभरि
त्यही बाटोमा
बेटुङ्गो यात्रा गरिरहेको छु ।
भेटियौ भने तिमी कतै
म फेरि सोध्ने छु तिमीसित
अर्को बाटो
तिमीसम्म पुग्ने ।
(मार्च ६,२०१२)

३)अन्तरा
मलाई त
सिंगै काब्य चाहिएको छ,
मान्छेहरु
मेरो जिन्दगीमा
गीतको एउटा
अन्तरा बनेर नआइदिए हुन्थ्यो  ।
(२०१२ अक्टोबर ५)

४)डायरी प्रेमपत्रको
वर्षौँअघि
तिमीले उपहार दिएको
हरियो डायरीमा
केही प्रेम कविताहरु लेखेको थिएँ
तिम्रा लागि
तिम्रै सम्झनामा
र तिमीलाई नै समर्पित गरेर ।

सुम्सुम्याएर डायरीलाई
म केही दिनअघिसम्म पनि हरेक दिन
पर्खिरहेको थिएँ
तिमीलाई
आफ्नो अध्ययन कक्षमा,
ढोका खुला राखेर ।

अचानक केही दिनअघि
कुनै चोर पस्यो मेरो घरमा
र चोर्यो मेरो
सबैभन्दा किमती सामान
त्यही हरियो डायरी ।

तर खुशी छु
अचेल शहरमा
हरेक प्रेमी युगहरुले
पठाइरहेका हुन्छन्
मेरा तिनै प्रेम कविताहरु
एसएमएस बनाएर ।

एकदिन
तिम्री नातिनीको मोबाइलमा पनि
पठाउन सक्छ उसको प्रेमिले
मेरै कविता ।
नरिसाउनू ऊसित
भन्ठान्नू
मैले पठाएँ
एउटा प्रेमपत्र
तिमीलाई
त्यही हराएको
हरियो डायरीबाट ।

(नोभेम्बर ४,२०१२)
५)मनभित्र
ढोका नढक्ढक्याएरै
यो मनको चक्रब्यूहभित्र
चोर जस्तै
सुटुक्क
को पस्न खोजिरहेछ हँ ?
के त्यसलाई
मनभित्र पसेपछि
बाहिर निस्कन सकिँदैन भन्ने थाहा छैन ?
(मार्च २,२०१२)

६)तस्विर
उनैले खिचेको
एउटा तस्विर मेरो
हेर्दैछु अहिले,
तस्विरभरि त उनै छिन्
म कहाँ छु ?
(सेप्टेम्बर २७,२०१२)
७)प्रस्थान
तिमी
ब्यग्रताका साथ
पर्खिरहेकी थियौ मलाई
र त
सुनिनौ
छेवैमा आएर
मैले बोलाएको पनि
र चुपचाप गयौ
आफ्नो अन्तिम प्रेमपत्र
मेरो हत्केलामा छाडेर ।
(मार्च ७,२०१२)
८)ऐना
तिम्रा ओँठहरु
चल्मलाए,
र त मैले थाहा पाएँ
म  हाँसेको ।
मैले सपना देख्दा
चल्मलाउँदा रहेछन्
तिम्रा परेलीहरु ।
चूपचाप चूपचाप
बिस्तारै बिस्तारै
तिमी त मेरो
ऐना पो भैसकिछ्यौ ।
(२०१२ अक्टोबर १०)

९)सपनामा
धेरै पटक
आएको थिएँ म
तिम्रो सपनामा ।
तिमीले चिनिनौ
र म फर्किएँ चुपचाप
आफ्नै सपनाको संसारमा ।
(जुन ३०,२०१३)
१०)आडम्बर
प्रेमका केही
कविताहरु लेख्नुछ,
यस साल तिमी
मेरो जिन्दगीमा नआऊ ।
(मार्च ८,२०१२)
११)विश्वास
धेरै वर्षअघि
तिमीले
बिदाईमा हात हल्लाउँदा
मैले देखेको थिएँ
तिम्रो हत्केलामा
लामो जीवन रेखा ।
त्यसैले
मलाई विश्वास छ
तिमी आउने छ्यौ एकदिन
अवश्य
मेरो चिहानमा
फूल चढाउन ।
(सेप्टम्बर २४,२०१२)
१२)बजार
शेयरको भाउ
घटेछ निकै,
प्रिये,
माफ गर
म आज तिमीलाई
माया गर्न सक्दिन ।
(मार्च २,२०१२)
१३)सन् बयासीको प्रेम
तिमी रोएकी थियौ
र तिम्रो आँशु पिएर
मैले तिमीलाई हँसाउने प्रयास गरेको थिएँ ।

त्यसपछि सायद
तिमी कहिले पनि रोइनौ
र मैले
कैले पनि हाँस्न सकिनँ ।

के त्यो सन् बयासीको कुनै गर्मी दिन थियो ?
(२०१२ सेप्टेम्बर २९)
१४)हतारमा
तिमीलाई भेट्न
अत्यन्त हतार थियो मलाई,
म ओर्लिएँ
दौडिरहेको बसबाट,
म बसेकै सिटको झ्यालबाट
तिमीले हाँसेर हल्लायौ हात ।
म यसरी नै जीवनका बिसौनीहरुमा
बस चढ्दैछु र ओर्लँदैछु
र देख्छु तिमीले हात हल्लाएको
हरेकपटक
बस छुटेपछि ।
(२०१२ सेप्टेम्बर २८)
१५)हामी पनि हिजो रोएको
हिजो परेको
पानीमा
एक थोपा पानी
मेरै आँशु थियो,
एक थोपा पानी
तिम्रो आँशु थियो,
कसले भन्छ
समुद्र पानीले बनेको ?
के हामी रोएको कसैलाई थाहा छैन ?

(मार्च १४,२०१२)

4 comments:

  1. chhota mitha ani man chhune kabitaharu.

    ReplyDelete
  2. मैले यी भावनाहरु चुम्न थालेकी छु l

    ReplyDelete
  3. वाउ । कति प्रिय भाव । मलाई त थाहै थिएन यति कवि हुनुहुँदो रहेछ दाजु त

    ReplyDelete