Wednesday, May 9, 2012

"लू"बारे फेसबुक र ईमेल प्रतिक्रियाहरु-जस्ताको तस्तै


जगदीश घिमिरे

रोचक भाषा र आकर्षक शैलीमा लेखिएको यो कृति नेपाली उपन्यास जगतको एक विशिष्ट उपलव्धी हो। यो एक सीमान्त गाँउका अति सीमान्तहरूको मर्मस्पर्शी कथा हो। 

यस कृतिको नायक पत्थरपुरवा भन्ने गाँउ हो। यसमा त्यस गाँउका निमुखा वासिन्दाहरू यति जीवन्त र स्वाभाविक तवरले प्रस्तुत भएका छन् कि पाठकलाई बेलाबेलामा बिजुलीका झट्का दिन्छन्--कहिले हाँसोका, कहिले आँसुका ।

प्रेम खड्का (उदास विनायक)

उपन्यासकार नयनराज पाण्डेको फेसबुकको प्रोफाइल तस्बिरमा 'लू' देख्नेबित्तिकै मेरा मनमा एउटा छाप बसेको थियो, पक्कै पनि सीमाछेत्रमा बस्ने नेपालीहरुले भारतीय सुरक्षा बलबाट पाएको पीडा समेटिएको होला/

'लू' लोकार्पण हुँदा मा नेपालगन्जमा थिएँ / पत्र-पत्रिकाहरुमा टिप्पणीहरु मात्र पढ्न पाएँ / दोस्रो संस्करण आयो, तैपनि हातमा परेन . फेसबुकमा पनि लेखें / पत्रपत्रिकामा पढेपछि लग्यो, 'लू' ठ्याक्कै मेरो कल्पना जस्तै रहेछ /

प्रसंगबस एकबर्ष अघि मैले श्यामलसंग कुरा गरेको थिएँ, 'म राप्तीको पीडामाथि उपन्यास लेख्न चाहन्छु / राप्ती र NGO संस्कृतिले ल्याएको पीडा / उपन्यासकारले त्यो पनि छुन भ्याएछन् /

संबिधान आउलाकि भन्ने अघिल्लो दिन म काठमाडौँ आएँ र पढ्न पाएँ 'लू' / पढिसक्दा दुईतीन कुरा भन्न मन लाग्यो, जुन टिप्पणीकारहरुले छुटाएका हरेछन् / मैले पनि टिप्पणी पढ्न छुटाएको हुन सक्छु /

यो उपन्यास होइन, यथार्थ जीवनमा तयार पारिएको छोटा कथाहरुको धारावाहिक सृन्ग्खला हो / एउटा कथा पढेपछि नबुझ्ने पाठकले पनि आफै कथा लेखौं जस्तो लाग्छ र अर्को कथा पढ्दा उस्तै हुन्छ, कल्पना गरेजस्तै / पट्यार नै लाग्दैन, कौतुहलता पैदा गरिरहन्छ र पछाडिको कभरपृष्ठ भन्दा उता पनि केहि छ कि भनेर हेर्न मन लाग्छ /

यहाँ मैले कल्पना गरेको र यथार्थमा देखेको कुरा गर्दै छु / समाजका पात्रहरुबीच द्वन्द्व हुन्छ रे, चरम द्वन्द्व / तर उपन्यासकारले बडो शालीन र सरल पाराले समग्र समाजलाई एउटा नै सूत्रमा कसरि बाँध्न सके, पत्तै पाइदैन / हिन्दु-मुस्लिम, उच-नीच, मधेसी-पहाडिया, धनि-गरिब, महिला-पुरुस, एउटा सूत्रमा बाँध्न सकिँदो रहेछ / सोचेको थिएँ, 'लू' तेही समाजभित्रबाट बहन्छ होला र निमिट्यान्न पार्छ होला जीवलाई /

यसको अर्को आकर्षक र मेरो कल्पना भन्दा परको कुरा हो, भाषाशैली / तेसैले त टिप्पणीकारहरुले भनेका रहेछन 'उपन्यासले सम्पूर्ण सीमावर्ती तराइको प्रतिनिधित्व गर्दछ' / सोचेको थिएँ, उपन्यासका सम्बादहरु पश्चिम तराइको बिल्कुल देहाती अवधी भाषामा होलान / तर मैले सोचेको जस्तो हुने भए उपन्यासले समग्र तराइको प्रतिनिधित्त्व गर्ने थिएन /

नयनराज पाण्डेको 'उलार'पछि 'लू' पढिसकेपछि अर्को यस्तै कृतिको पर्खाइमा छु /

बसन्त क्षितिज

 ‎'लु' वास्तवमै नेपालि आख्यान क्षितिजमा एउटा आशलाग्दो किताव रहेछ् । देशको पीडा उनिएको । 'उलार' पछि मेरो भरोसा तपाईंको लेखन क्षमता प्रति झन् बढेको छ । तपाईंको लेखन यात्राको झन् बढी शुभ कामना ।।

Kalpana Bantawa

"लू" पढ्दैछु । बाबा ठाकुरे ! नयन जीले कत्ति कुरा जानेका हौ !

टुटे पंडितका नुस्खा, इलैयाको दादागिरी र अरुको नाउँ राखिदिने बानी, उसको एकतर्फी प्रेम, उसकी माई हरदेई र नुसरतले गाउने दोहोरी टाइपका खाँट्टी देहाती गीतहरु र अमिर खुसरोका सुफी गीतहरु ....... आह ! म हुरुक्क हुन्छु ।

यो उपन्यास लेख्नलाई लेखकले खाली मधेशमा जन्मे-हुर्केर मात्र पुग्दै पुग्दैनथ्यो । सबभन्दा पहिला त आँट नै चाहिन्थ्यो, मधेशका बिम्बहरुलाई आफ्नो लेखनमा न्याय दिन सक्छु भन्ने । अनि, आफू बाँचेको परिवेशलाई मिहिन रुपमा perceive गर्न, र सामाजिक संस्कारमा मज्जैले भिज्नै पर्थ्यो । र, किताब पढिरहँदा लाग्छ, नयन जीले त्यो काम बडो इमान्दारीपूर्वक सम्पन्न गर्नु भएको छ । "लू" मधेश मात्र नभएर ज्ञानको गंगा नै हो मेरो विचारमा ।

कुन दुखले, र कति अनुसन्धान-सोंचविचार गरेर यस्तो राम्रो र संग्रहनीय पुस्तक तयार पारेर हाम्रा हातमा पारिदिने लेखक नयनराज पाण्डेलाई असंख्य आभार !!!

Durga Gharti


loo upanyas sachchikai abbal krti ho
Durga Gharti Loo, ek dinmai padhiyo ra dherai din chhoi rahyo


सुरेन्द्र सुमन

नेपाली साहित्य बजारमा पछिल्लो पटक चर्चामा रहेको उपन्यास "लु" पढेर भ्याएँ, आकर्षक शैली, पृथक शिल्पी अनि हरेक पात्रको रोचक र मार्मीक कथाले एउटै बसाइमा उपन्यास सक्याउन दबाब दिन्छ । त्यसैले मैले पनि एक दिनको अलिक लामै बसाइमा सर्लक्कै सिध्याएँ । उपनयासका पानाहरू सकिदै गर्दा पनि उपन्यासको कथा सकिएको थाहा भएन । तर कथा सकिए पछि मलाइ अहिले पनि एउटा कुरा नपुगेको जस्तो लागिरहेको छ ।

नयाँ साइकलमा करिमले नुसरतलाइ भगाएर लैजादा साइकल दिने फरिस्ताको नाम भन्नै लागेको बेला नयन राज पान्डे ज्युले नजिकै किन ठुलो ट्रक लिनुभएको होला ? कमसेकम नुसरतले थाहा पाउथी नि । त्यो फरिस्ता ''इलैया हो भनेर ।''

"लु" एउटा सर्वोत्कृष्ट उपन्यास हो । नेपालका हरेक ब्यक्तिले पढ्नु पर्छ । अझ बढि पढ्नु आवश्यक छ, नेपालका क्रान्तिकारी भनाउदा नेताहरूले ।


Dilip Poudyal 

I have just read the book which made me stunned in several places. I gave up my lunch but could't stop reading "LU". Character presentation, linguistic craftsmanship, and writers patriotic norms are true guiding force for any readers to complete the novel in a single reading.............

Netra Atom

‎'लू' उपन्यासमा हामी बाँचिरहेको समय र जीवनको यथार्थ प्रस्तुति छ तर यो जीवनसँग धेरै नेपाली जनता, नेता, राज्य, पार्टी, संविधानसभा, कूतनीतिक पक्ष तथा धर्म निरपेक्ष्यता र राज्य पुनर्संरचनाका चर्का आवाजहरू बेखबर छन् । वर्गलाई नभै जात र धर्मलाई मूल ठान्ने नेपालको उग्र राजनीतिको ठगी नबुझ्ने, आफ्नै पैगम्बर ठानिएकाहरू नै विदेशीका दलाल र शैतान भएर मोज गरिरहेको थाहा नपाउने किनारीकृत पत्थरपुरवाका सहिष्णु जनताको सकारात्मक गाथा हो यो उपन्यास ! करिमसित नटुट्ने साइनो गाँसिदियो यसले, नुसरतको मनमा जस्तै सुनौलो अबोध आशा जगाइदियो अनि महेशरको संघर्षलाई हृदयदेखि नै सलाम गर्न लगायो । इलैयाबाट गुम्न लागेको सुवास लूको तातोमा पनि पुन: संचार गरायो यसले। मान्छेसित धर्ती र संस्कृतिको गहिरो सम्बन्ध परिभाषित गरेर तथा छिमेकीहरुको कुनियतको पर्दाफास गरेर 'लू'ले जात, धर्म र थरका आधारमा देश चिरेर जनतामथि आफ्नो निरङ्कुशता लाद्न खोज्ने स्वार्थी तत्त्वहरु कहाँबाट सञ्चालित रहेछन् भन्ने कुरो छर्लङ्ग पारिदिएको छ । हामीलाई अपमान, तिरस्कार र भेदभाव गरेर लुट्न पल्केकाहरु बाहिर मात्र होइन, हामीभित्रै पनि रहेछन् भने वास्तविकता पनि पुष्टि गरिएको छ यहाँ । सिमावर्ती गाउँमा जनताका दु:ख, सहभाव, आशा, प्रेम र राष्ट्रियताको खोजी, लेखकीय स्वानुभूति, र निश्चित 'थिम'लाई उपन्यास कलाको मीठो आधारभूमि दिएर नयनराज पाण्डेले 'लू' लाई सिँगारेका छन्। यसघिका 'विक्रमादित्य एउटा कथा सुन!', 'अतिरिक्त' र 'उलार' उपन्यासमा भन्दा निकै गुणा सामर्थ्यशाली उपन्यास 'लू' पाठकका अघि राखिदिएर उनी साहित्य र सामाजिक जीवनको सुदीर्घ सम्बन्ध स्थापित गर्न सफल भएका छन् । विगत एक शताब्दीका नेपाली उपन्यासहरूको निकट अध्ययनबाट यही निष्कर्ष निस्कन्छ- 'लू' अखबारमा विज्ञापन गरिएभन्दा निकै महत्त्वपूर्ण र नपढ्दा पश्चातापै गर्नुपर्ने उपन्यास हो । कतिपय ठाउँमा कथा भन्ने कथयिता पात्रहरूको कुरामा लेखकीय हस्तक्षेप नभएको भए बेस हुन्थ्यो भन्ने चाहिँ लागिरह्यो। त्यहीँका पात्रको अन्तर चिनाउन अवधी भाषामै केही संवादहरू राखेको भए र आञ्चलिक शब्दहरुको अर्थ परिशिष्टमा पढ्न पाइने हो भने यसको महत्ता अझै बढ्थ्यो कि? यहाँ राप्ती नदीको कुरा छ, पत्थरपुरवाको जीवनसँग त्यसको सम्बन्ध कस्तो छ, जान्न मन लागेकोथ्यो उपन्यासमै तर कतै पाइएन। यस उपन्यासमा विचार, यथार्थ र शिल्प तिनै कुरामा शिखरको निकै नजिक पुगेका उपन्यासकार नयनराज पण्डेजीलाई शतशत बधाई !

Shyam Krishna Khulimuli


loo padhisidhayen. utkrista ra lovlagdo saili man chhoyo.des harayeka ra sampradayik dwondako aagoma poliyeka nepaliko dardanak byetha chha.

Shailendra Thapa

”लू” पढिसके पछि.....

“त्यो धोती र चोलोले उसले शरीरलाई हैन, आफ्नो गरिबी र दरिद्रतालाई छोपेकी थिई” ! यो हविगत् नेपालको दुर-दराज वा देहातमा बसोबास गर्ने सवै गरिवहरुको हो। “लू” अर्थात तातो हावा, (प्राकृतिक प्रकोप) जसको प्रकोपले गर्मि याममा तराईमा बसोबास गर्ने मानिसहरु प्रताडित हुने गर्दछन्। प्राणिमात्रको शरीरको रगत ठाडै सुकाई दिन्छ, छाला पिल्स्याई दिन्छ। तर पनि वर्षा हुन्छ र शितलता छाउँछ भन्ने आशा रहन्छ। मानव निर्मित “लू” जो बाह्रै महिना बाह्रै काल चल्दछ र पिल्स्याई रहन्छ, जसबाट वर्षाको पानीले पनि बचाउन सक्दैन। लेखकले नेपालको दक्षिणी सीमावर्ति गाउँ “पत्थरपुरवा” र याहाँका बासिन्दाहरुको माद्यामबाट यही कुरा उजागर गर्न खोज्नु भएको हो भन्ने लाग्दछ।
इलैया, बजरङ्गी, वृजलाल, टुटे पण्डित, अनवर, असगर अली, अमरपाल, सम्भुनाथ, नुसरत, करिम, रजिया, महेसर, देवकी, रेडियोलाल,शिवकुमारि, पछवा आदि सवै पात्रहरु आ-आफ्नो ठाउँमा सकारात्मक वा नकारात्मक भूमिकामा खरो उत्रीएका छन्। सीमा पारिबाट अमरपाल र सम्भुनाथ एण्ड कम्पनि नामको “लू” आउदाँ समाज निर्माणको ठेक्का लिएका ठूला-बडा असगर अली र पौडेल थरका नेताले देखाएको निरिहता स्वामिभक्ति वा आफन्त प्रतिको विश्वासघात जे भनौँ, ले यीनिहरु प्रति घृणा आक्रोस र दया सवै एकै पटक जगाएको छ। महेसरको हत्या र नुसरत माथिको बलात्कार अनि रेडियोलालको बद्ला लिने भवनाले जन्माएको साम्प्रदाईक हिंसा दु:खान्त घट्ना हुन्। बजरङ्गीमा देखिएको सुझ-बुझ र इलैया, टुटे पण्डित अनि शिबकुमारिमा अन्त्य तिर देखिएको मानवता सह्राहनिय छन्। इलैयाले करिमलाई नयाँ साईकल किनिदिएको र भाग्न मद्धत गरेको कुरा नुसरतले थाहा पाउनुनै पर्थ्यो भन्ने लाग्दछ। रेडियोलाललाई माफि दिन नसकिने जो कुरा उठेको छ, त्यो सहि छ। असगर अली र पौडेल थरका नेता समेतले पनि माफि पाउन हुन्न भन्ने कुरामा पत्थरपुरवाका पिडित बासिन्दा लगायत हर क्षेत्रका पिडितहरु एकमत छन् भन्ने कुरामा कुनै द्विबिधा छैन। पत्थरपुरवाका बासिन्दाले टुटे पण्डितको मुखारविन्दबाट आफ्नो पिडाको आत्म काहानि सुन्न पाउने छन् भन्ने विश्वास लिईएको छ।
विषय उठान र प्रश्तुतिका हीसावले एउटा पाठकको नजरमा यो एउटा अत्येन्त सवल र शसक्त कृति हो। हाम्रो सीमावर्ति क्षेत्रमा सीमा पारिबाट आउने “छीमेकि लू”, जसले आज “पत्थरपुरवा” लाई निलिसकेको छ, का सम्बन्धमा याहाँको सरोकारवाला निकाय र पक्षको अलिकति पनि ध्यान गयो वा आँखाको पट्टि खुल्यो भने र यसको जानकारि उनै टुटे पण्डितका मुखारविन्दबाट पिडितहरुले सुन्न पाए भने थप सफलताको शिखर चढेको मानिने थियो। पुर्ण सफलताको कामना सहित दोश्रो, तेस्रो, चौथो संस्करण चाँडै प्रकाशित होस्, हार्दिक शुभकामना।

Jhalak Subedi


finish LOO. a good novel. congrats Nayan ji.

Nimesh Nikhil

नयनराज पाण्डेको लु दुर्इ बसाइमै पढेर सिध्याएँ । निकै मार्मिक र जीवन्त कथानक छ उपन्यासमा र त्योभन्दा पनि राम्रो छ फरकफरक कथावाचकबाट कथानकलाई अघि बढाउने शैली । भाषा सामान्य र बोधगम्य भए पनि निकै ठाउँमा पाठकले नचिताएको भाषिक बान्कीहरूको प्रयोग पाउँछन् । कतिपय अवस्थामा पात्रका पीडासँगै पाठक आँसु बगाउन बाध्य हुन्छन् भने कतिपय अवस्थामा पात्रका क्रियाकलापसँगै पेट मिचिमिची हाँसिरहेका हुन्छन् । निष्कर्षमा देशमा उपेक्षित भएका र विदेशी हस्तक्षेपबाट सताइएका सीमान्तकृत वर्गको पीडाको अभिव्यक्ति हो लु । हुनत नेपाली भाषाको वर्णविन्यासका बारेमा अझै विवाद कायमै छ तर हामीले स्कुल बलेजमा पढाउने वर्णविन्यासका आधारमा हेर्दा भने उपन्यासको नाम लू खि नै पर्याप्त त्रुटिहरू छन् । धन्यवाद ज्ञापन पनि उपन्यासमा निमिसाउँदा ठिक । भाषाका कुरामा पाठकका हिसाबले त मलाई त्यसले केही फरक पारेन तर एउटा शिक्षकका हिसाबले म यसप्रति चिन्तित छु । यो चिन्ता चिन्ता लिनुपर्नेले चाहिँ कहिले लिन्छन् खै ?

Lila Bahadur Basnet

‎'लू' पढिसके !

उपन्यास ' सिमानाभित्र उपेक्षित र सिमाना पारिबाट उत्पीडित ' हरुको बारेमा लेखिएको र उनीहरु प्रति समर्प्रित रहेछ | यतिबेला मनमा लू चलेको छ | उपन्यासका पात्रहरु सजिव छन् | पढ्दा पात्रहरुको माया लाग्छ | मलाई 'इलैया'को माया लाग्यो | अरु , अरु सबै पिडितहरुको माया लाग्यो | यथार्थपरक उपन्यास लेख्नुभएकोमा धन्यवाद लेखक नयनराज पाण्डेलाइ |केहि कुराहरु चाहिँ मलाई अलि अस्वाभाविक झैँ लाग्यो|जस्तो कि उपन्यासको सुरुवातका खण्ड १० बर्षीय रेडीओलालको भनाइमा आधारित छ |त्यो उमेरको बालकलाई 'म' पात्र बनाएर लेखिएको कुरा पढ्दा त्यो बयस्क मान्छेको बोलि जस्तो देखियो | अनि अर्को कुरा उपन्यासको सुरु तिर पाठकलाइ अलि बढि हसाउनै पर्छ जसरी लेखिएको छ |जस्तो-"च्व..च्व..सहानुभूतिको आवाज ? हैन भगेरा कराएको" |

तर पछि पछि गएर उपन्यासको बिषयबस्तुको चयन र बेजोड कलात्मकताको अघि अरु कुरा धुमिल बन्न पुग्यो | समग्रमा उपन्यास सित प्यार भयो | प्यारमा परेपछि त भिलेन पनि हिरो भइहाल्छ रे। यो त एउटा मन छुने उपन्यास !



Ji Bamkim 


लू नोबेल ले नेता हरु ले अग्रज हरु ले उदासिन बनएको अति सम्बेदनशील बिषयमा बोलेको छ । वा बोल्न वाध्य भएको छ । राष्ट्र का जिम्मेवार सचेत नागरिक लाई उदासिन नबन्न किँकर्तब्यबिमुढ नबन्न घच्घच्याएको छ ।

Indira Kaphley 

soche vanda ........great novel .............i like this book

Dutendra Chamling

April 10
पहिले लूट चल्यो अहिले लू चल्दैछ काठमाडौँमा ! "लू " Nayan Raj Pandeyनयन राज पाण्डेको हालसालै प्रकाशित उपन्यास हो ! यो "मेटा स्टोरी" को संयोजनले बनेको छ ! छुट्टा छुट्टै शिर्षकमा विभक्त यो उपन्यासमा रेडियोलाल, बृजलाल, बजरङ्गी,देवकी, करिम,टुटे पण्डित, नुसरत र यो उपन्यासको लेखक " नयन राज पाण्डे "ले आ - आफ्नै शैलीले कथाहरू भन्छन् , ति कथाहरूमा कहीं न कहीं इलैया भन्ने पात्रको बारेमा कुरा गरिन्छ ! सबै भन्दा बढी कुराकानी गरिने पात्र " इलैया " भने उपन्यास भरि कहीं पनि आफै बोल्दैन,मौन छ , उसको बारेमा अरुले नै कुरा गरेर बोले जस्तो बनाउछन् ! सायद " इलैया " नै यो उपन्यासको नायक हो ! तर कलिउड़को नायक जस्तो उसले सुरु देखि नै "वाह ! " भन्न लायकको काम गर्दैन ,बरु धेरै धेरै ठाउँमा "छ्या " भन्न कर लाग्ने काम गरेको छ ! उसको व्यवहारमा "लू " चलेको छ ! यस अर्थमा उ हलीउड़ चलचित्र " ब्लड डायमण्ड" को लियोनार्दो डिकारप्रियो जस्तै लाग्छ ! यो उपन्यास जरुर मुद्दा प्रधान उपन्यास हो तर यहाँ घरिघरि अनुभूति प्रधान पनि यति हावी हुन खोजेको छ कि लाग्छ यो मेटा स्टोरीको पनि अर्को मेटा स्टोरी हो ! यो उपन्यासमा कतै कतै संवेग यति पर सम्म गइदिन्छ कि पाठकलाई त्यहाँ पुग्न निकै समय लाग्छ अनि फर्किन पनि उति नै समय लाग्छ ! कथाको पहिलो सुत्रधार रेडियोलाल कहार ( बिहेमा डोली बोक्ने एक जात ) हो उसको बास्तविक नाम चमना भए पनि सधैं रेडियो बोक्ने भएकोले अर्काको नाम राख्नमा माहिर इलैयाले उसको नाम रेडियोलाल राखिदियो ! रेडियोलालले " इलैया मर्यो ! " भनेर यो उपन्यास सुरु गर्छ ! उसले भन्न सुरु गरेको कथा तराई बेल्टको " पत्थरपुरुवा " गाउँको हो ! जहाँ सुरुमा इलैयाले लू चलाए पनि पछि छिमेकी देश भारत बाट निर्दयी र एकदमै कुर्दयी लू को लहर चल्छ , जहाँ रात रात सीमास्तम्भ सारिन्छ्न् अनि नेपालको जमिन भारतको भूमिमा गाभिन्छ र गंगाप्रसाद उर्फ टुटे पण्डितले बसाई नसरि उत्तर प्रदेश बाट लेखकलाई चिठ्ठी पठाउछ ( वास्तवमा उ अझै पनि नेपालकै भुमि छ ) , जहाँ हरियो पन्ना जस्तो आँखाहरू ( जुन आँखाहरू धेरै बोल्छन् ) भएकी, निधारमा टल्किने रातो कुमकुम टिका लगाउने परि जस्ती नुसरत बलाकृत हुन्छे, धेरै घरहरू लू ले जल्छन्, धेरै मुसलमानहरु उग्र भारतीय लू ले गर्दा आफ्नो गाउँ छोडेर हिड्छन् , त्यहि लू ले गर्दा रेडियो लालले चरा नभएको आकास पहिलो चोटी देख्छ, "सबैले ' समय ' भन्छन् ! तर मलाई त यो तबेला बाट फुत्किएको बौलाहा घोडा जस्तो लाग्छ ! दिन, महिना र साललाई कुल्चदै बेतोडले दौडिरहेको ! " बृजलाल कहीं बोलि पठाउँछ ! नुसरत देख्दा इलैयाको मनको थिर पोखरीमा कसैले ढुंगा हाने जस्तो हुन्छ कि त बृजलालले हरिभक्त कटुवाल पढेको हुनुपर्छ कि त इलैयाले नारायणगोपाल सुनेको हुनुपर्छ ! यस उपन्यासकी एक पात्र देवकी भन्छे जो संग साइकल छैन त्यसको प्रेम गर्ने पनि कुनै हैसियत छैन ! साइकलले नै अजय र देवकी अनि करिम र नुसरतलाई लैला - मजनु, रोमियो - जुलिएट, हीर राँझा र मुना - मदन बनाउछ ! लू हटाउने त्यस्तो कुनै साइकल नभए पनि एक पात्र करिम र लेखकले त्यहि साइकलको माध्यम द्वारा इलैया लाई आफ्नो उपन्यासको नायक बनाउछन् ! संवेगमा 'गुड अर्थ' को ब्लुज र सिम्फोनी धून गुन्जे पनि लू उपन्यासको प्रस्तुति एकदम पृथक छ ! पश्चिमी मुलुकको लू नै सिम्फोनी र ब्लुज हुन् तर पश्चिमी मुलुकको सिम्फोनी र ब्लुज दुखको नदि हुन् भने यो उपन्यासको लू भने दुखको सागर हुन् ! लेखकले पात्र हावी हुनु दिएको स्वीकार गर्नु र यो उपन्यासको पात्रहरू करिम र नुसरतले यो उपन्यासको अंशहरू छापिदिएर सहयोग पुर्याउने यज्ञश र कर्नाली ब्लुजको लेखक बुद्धिसागर चपाईं लाई भेट्ने इच्छा जाहेर गर्नु र सम्झनु यो मेटा स्टोरीको एब्स्ट्रयाक्ट पराकाष्टा हो,सायद उत्तर आधुनिकतावादको होउवा ( अभिबादन ) पनि ! तर इलैयाले मनमनै "इस् " भन्दा बृजलालले सुन्नु एक पात्रको अव्यक्त कुरा अर्को पात्रले पाठक समक्ष ब्यक्त गर्दा पात्रहरू बिचको सामिप्यता भन्दा बढी सबै पात्र इलैया हुन् कि जस्तो लाग्छ !यहाँको पात्रहरु कहिँ कहीं गीति कविता लयमा बोल्छन् ! यो उपन्यासको अन्तिम सुत्रधार लेखक स्वयं हुन् ! भारत द्वारा सिमा अतिक्रमण र तिनीहरूको ज्याजतिले पिडित तराई मुलुकको नेपालीहरूको पिडादायिक र अति नाजुक अवस्थाको चित्रण यो उपन्यासले ससक्तरुपमा एउटा ज्वलन्त मुद्दाको रुपमा अघि सारेको छ! यस अर्थमा यो उपन्यास सफल देखिन्छ ! यो उपन्यास पृथक ढंगले सुरु हुन्छ , पृथक ढंगले अगाडी बढ्छ र अन्त्य पनि पृथक ढंगले नै हुन्छ ! यसरी लू उपन्यास एउटा नौलो आयाम र नौलो प्रयोग बोकेको उपन्यास हो ! नेपाली उपन्यास विधामा यो उपन्यासको उपस्थिति नौलो प्रयोग र एउटा ससक्त मुद्दा उठाएको कारणले महत्वपूर्ण छ ! यो उपन्यास पाठकहरूको लागि नयाँ चौतारी हुनसक्छ !

CP Aryal


April 9
"लेख्न सजिलो छ, पटक्कै गाह्रो छैन। बस चरित्रहरुले इमान्दारीपूर्वक आफ्ना कथा भन्नुपर्छ र लेखकले इमान्दारीपूर्वक लेख्न सक्नुपर्छ ।" - Nayan Raj Pandey; 'लू'बाट (थोरै मात्र लेखकहरुले पाठकलाई 'स्तब्ध' बनाउने क्षमता राख्छन् । नयन दाइले ममाथि त्यो गुन लगाउनुभयो । धन्यवाद दाई !) :-)





नेत्र एटम



लू’ बारे थप कुरा




नयनराज पाण्डेको ‘लू’ र ध्रुवचन्द्र गौतमको ‘अलिखित’ उपन्यास केही हदसम्म समान भएकाले यी तुलनीय छन् किनभने यी दुबैले तराईको जीवन, संस्कृति र परिवेशलाई अति नजिकबाट चित्रण गरेका छन् । यी दुईमा धेरै भिन्नता पनि पाइन्छ, जस्तै: ‘लू’ नेपालीबाट भन्दा बढी भारतीय पुलिस र गुन्डाबाट सताइएको गाउँको कथा हो तर ‘अलिखित’ नेपाली सत्ताबाट उपेक्षित, जमिन्दार र पुलिसबाट सताइको गाउँको कथा हो ।’लू’ गाउँले पात्रहरुको मानवीय प्रेम, संवेदना र सहकार्यलाई सरल ढंगले प्रस्तुत गर्ने कृति हो भने ‘अलिखित’ चाहिँ व्यङ्ग्यको प्रधानता भएको र अलि जटिल कृति हो किनभने यसमा प्रयुक्त स्वैरकल्पनाको प्रतीकात्मक अर्थ सामान्य पाठकले बुझ्न निक्कै गाह्रो पर्छ ।’लू’मा रहेको समाजप्रतिको लेखकीय अवधाराणामा आलोचना मात्र नभै समस्यासित प्रत्यक्ष्य सरोकार पनि छ तर ‘अलिखित’मा पाइने सामाजिक पक्षको लेखकीय आलोचना प्रवृत्तिगत विकृतिको उपहासमा केन्द्रित भएकाले त्यो अप्रत्यक्ष्य र कति ठाउँमा त नकारात्मक समेत बनेको छ । ‘लू’मा रहेका विविध जात, धर्म, पेशाका पात्रहरु एकीकृत सहकार्यमा जुट्ने, सक्रियता देखाउने, विरोधका आवाज निकल्ने खालका छन् तर ‘अलिखित’का धेरै पात्रहरु जमिन्दारका पिछलग्गु, बढी निष्क्रिय रहेकाले त्यहाँको गाउँ नै अन्त्यमा बिलाएको छ ।’लू’मा भने भारतीयहरुको छिमेकीलाई हेप्ने, नेपालको आन्तरिक ममिलामा हस्तक्षेप गर्ने र सीमास्तम्भ रातारात सार्ने बदनियतपूर्ण व्यवहार तथा हाम्रा नेता भनाउँदाहरुको व्यक्तिगत स्वार्थ र लाचारीका कारण सुरुमा केही खेतबारी हुँदै पछि गाउँको सबै भाग नै जवर्जस्ती भारततिर पुगेको हो। गाउँ बिरहिनपुर बरेवा हराएको प्रसङ्गको सङ्केत बुझ्न ‘अलिखित’मा निकै गहिरिएर हेर्नुपर्छ, त्यो पनि निकै अस्पष्टताका साथ अनुमान मात्र लगाउन सकिन्छ, तर ‘लू’को गाउँ पत्थरपुरवा सरेको कथा भने चिठीको ठेगानाबाट मात्र थाहा पाइने हुनाले त्यो निकै आकस्मिक, झड्का दिने र गम्भीर प्रभाव उत्पन्न गर्ने खालको छ। निष्कर्षमा,’लू’ का जोडी साइकलमा भागेर नेपालगन्ज जानु जीवनप्रति आशा, विश्वास र सिर्जनाको सङ्केत हो तर ‘अलिखित’मा काठमान्डुबाट गएकाहरु गरिब गाउँमा अर्थहीन अनुसन्धान गरी भागेर आउनु यथास्थितिको पोषण, पलायन र निराशाको प्रस्तुति हो। त्यसैले ‘अलिखित’की वाचाल पात्र कथनी बुढिया अन्त्यमा बहिरी, अन्धी र लाटी बनेकी छ तर ‘लू’ को एउता परिवर्तित पात्र टुटे पन्डितले भने लेखकलाई चिठी नै लेखेको हुनाले यसका पात्रहरु जीवन्त छन् । ‘लू’मा भन्दा ‘अलिखित’मा भाषाको स्थानीय प्रयोग प्रत्यक्ष्य र सही ढङ्गले भएको छ। विविध कलात्मक प्रयुक्तिका दृष्टिले ‘अलिखित’ सफल रहे पनि यो उपन्यास पाठकले टाढाबाट हेरेको सम्भ्रान्त पात्रहरुको कथा हो तर ‘लू’ भने त्यहीँको भूमिसित जोडिएका पात्रको अन्तरङ्ग चेतनाबाट उत्पन्न भएकाले पाठकलाई निकटबाट छुने कथा हो। ‘अलिखित’का बिम्ब, अलङ्कार, विट, उखान आदि भोजपुरी भाषामै प्रस्तुत भए पनि ती व्यङ्ग्य कठमान्डौली मन्छेका मनोभावना हुन् तर ‘लू’का बिम्ब, अलङ्कार, मिथक, जीवनपद्धति सबै वर्नणलाई पुनर्कथन गरिएकाले ती नेपाली भाषामा लेखिएका भए पनि स्थानीय रङ्गका, संस्कृति, चेतना, धर्म, भाषासित जरा जोडिएका रूपमा देखिन्छन् ।’अलिखित’ले तत्कालीन स्थिति (२०४० आसपास)मा एनजीओले उत्पादन गर्ने विकासे बुद्धिजीवीबाट देशमा निम्तिन सक्ने खतरा देखाएको थियो भने ‘लू’ले अहिलेको व्यावसायिक राजनीति, उग्र धार्मिकता, भ्रष्ट जातीयता र सीमा समस्यालाई नजिकबाट अनुभूत गरी संवेदनशील तरिकाले उठाएको छ। यी समस्यालाई निहुँ बनाएर उच्च सामाजिक सद्भवनालाई भड्काउने बाह्य तत्त्वसित आन्तरिक भूमिगत तत्त्वको गहिरो साँठगाँठ पनि ‘लू’मा देखिन्छ। त्यसैले पाठकलाई नेपाली सीमावर्ती तराइली जनताको जनजीविका र राष्ट्रियताको सवालमा रोमञ्चकता सहित दरो सञ्चेतना दिन ‘लू’ निकै सफल छ। अत: यो नेपाली उपन्यासको इतिहासमा एउटा उत्कृष्ट कृति हो।

Avaya Shrestha


विभिन्न अखबारमा आएका अंश पढेका भरमा मैले नयनराज पाण्डेको उपन्यास लूका तीन प्रति किनेँ । अमेरिकाकाको कनेक्टिकट राज्यको फेयरफिल्ड सहरमा बस्ने मेरो दाइ र न्यूयोर्क बस्ने साथीका लागि एक, एक प्रति केहीअघि नेपाल आएर गत हप्ता फर्केकी भाउजूको हातमा पठाइदिएँ । एक प्रति आफैँले राखेँ ।

पढिसकेपछि लाग्यो, यो साठीको दसककै उत्कृष्ट किताबमध्ये एक हो ।

पाण्डेको लेखनको सबैभन्दा सबल पक्ष के हो भने ती समाजशास्त्रीय दृष्टिले समेत वस्तुगत छन् । यस उपन्यासलाई सीमावर्ती मध्यपश्चिम तराई जीवनको आख्यानपरक तर आधिकारिक दस्तावेज मानिदिए हुन्छ । तराईको ग्रामीण जीवन, मुसलमान जीवन संस्कृति र सीमावर्ती भारतीय क्षेत्रको रीतिथितिलाई उनले कति गहिरोसँग बुझेका छन् भन्ने कृति पढ्दा छर्लंग हुन्छ । खासगरी वामपन्थी लेखकहरुले पाण्डेका अघिल्लो कृति उलार र केही कथाको अत्यधिक प्रशंसा गरेका थिए । त्यसमा मेरो आंशिक सहमति थियो । ती कृतिमा अत्यन्त जीवन्त विषयवस्तु छनोट भए पनि खाल्डाखुल्डी त्यसै छाडिएको, काँडा टिप्न बाँकी रहेको, सिर्जनात्मक हिसाबले तीख्खर बन्न बाँकी रहेको मलाई लागिरहन्थ्यो । तर लूमा उनले साँच्चिकै अत्यन्त कडा मिहिनेत गरेका छन्, जीवन्त चित्रणमात्र होइन भाषाशैली र प्रस्तुतिलाई पनि खुबै स्वादिलो बनाएका छन् । पहिले उनी बढी देखक र कम लेखक थिए, अहिले समानरुपले लेखक र देखक दुवै बनेका छन् । अध्यायपिच्छे विभिन्न पात्रले कथा भन्ने शैलीले मलाई मिलान कुन्देराको उपन्यास 'जोक'को मिठास अनुभव भइरह्यो ।
चरित्र चित्रणका हिसाबले छोटो भए पनि इलैयाकी कान्छी आमा बनेर आएकी वेश्या चमेली र टुटे पण्डित मलाई अत्यन्त सशक्त लागे । उपन्यासको नायक इलैया र नायिका नुसरतकै चरित्र चित्रणमा चाहिँ पर्याप्त न्याय हुनसकेजस्तो लागेन । इलैया एक्लैले नेपाली मुसलमानमाथि आक्रमण गर्न आएका भारतीय अतिवादी हिन्दू गुण्डाहरुलाई भगाएको प्रसंग पूरै फिल्मी भयो । पहिले बतासे चलचित्रको पटकथाकार भएको नजानिदो प्रभाव परेको हुँदो हो ! नुसरत उच्च दार्शनिक र दीक्षित नभई अत्यन्त साधारण तर सुन्दर मुसलमान युवती हो । यस्ती युवती करिमजस्तो कालो न कालो कुरुप, अत्यन्त कंगाल युवकसँग अकास्मात् प्रेममा फस्नु पनि फिल्मी प्रभावजस्तै लाग्छ । सामान्यतया यस्ता युवती इलैयाजस्तै बदमास भए पनि जब्बर र हट्टाकट्टा पुरुषप्रति नै आकर्षित हुन्छन् ।


पाण्डे भाले गद्यकार हुन् । तर यसमा उनले ठाउँठाउँमा हदैसम्म रुमानी पोथी गद्यप्रति आकर्षण देखाएका छन् । जस्तैः रेडियोलालको सन्दर्भमा एक ठाउँमा उनले लेखेका छन्, उसले कविताको पेटीकोट र चोलो बटुल्यो । सुँघेरै बस्छ कि क्या हो ! के बस्थ्यो ! मेरो दृष्टिमा पछिल्ला दुई वाक्यको काम छैन । यस्तै खालको भाषा ठाउँठाउँमा थुप्रै छन् । वाक्यको सुरुमै र अनि एउटै वाक्यमा थुप्रै एकभन्दा बढी रको प्रयोगले पनि धेरै ठाउँमा वाक्यलाई कुरुप बनाएको छ । परन्तु खटकँदा यी केही कुरा उपन्यासको जीवन्तताताको तुलनामा केही होइनन् ।<br>
अन्त्यमा, छापिनेबित्तिकै राम्रा कुनै पनि किताबको नाम मदन पुरस्कारसँग जोड्ने गरिन्छ । यो हामी लेखकको अलि छोट्टापन हो । यो किताब मदन पुरस्कारका लागि एक नम्बरको दाबेदार भने पक्कै हो । पाएन भने चाहिँ अचम्म नमाने हुन्छ । कारण यस किताबमा मुसलमान समाजप्रति अत्यन्त सहानुभूति र हिन्दू समाजप्रति केही आलोचना छ । न्याय दिने ठाउँमा उभिँदा गनुपर्ने चाहिँ यही हो ।
मेरा अग्रज दाइ नयनराज पाण्डेलाई हार्दिक बधाई र सफलताका लागि मुरीमुरी शुभकामना ।


I  P Adhikari

लू" पढेपछि नयनराजजीलाइ त्यस पुस्तकको बारेमा केहि न केहि अवश्य लेख्छु भन्ने सोचेको थिएँ. अरु पाठकले 'शायद नभनेका कुरा' म भन्न चाहन्छु. मैले नयनराजजिको "निदाए जगदम्बा" पढ्दा खुब हासेको थिए र यो "लू" ले पनि खुब हसायो, म हासेको देखेर मेरा पाहुना केटाकेटीहरु छक्क पर्दै मलाइ हेरिरहे र सोधे 'किन हासेको' ?... यो हो 'लू' को एउटा कमाल . अनि "उलार" पढ्दा खुब भावुक भएको थिए, "लू" पढ्दा पनि त्यस्तै भावुक बनायो . दुइवटै पुस्तकको बेजोड संगम रहेछ यो 'लू' उपन्यास.



अब कुरो कन्टेन्टको गरौ अर्थात् केहि तितामिठा कुरा : १. बालपात्रहरुले बोलेका कुरा धेरै ठाउमा लेखकले बोलेजस्ता छन् अर्थात् उच्चस्तरका शव्दावली र शैली ! त्यो कुरा अलि खट्कियो मलाई. २.इलैया मारिएको भए अझ बढी सिम्प्याथी पाउने थियो पाठकहरुबाट . ३.इलैयाले हानेको गोलीले घाइते शम्भुरामको खुट्टा अस्पतालमा काटिएर उ सदाका लागि बैशाखीमा हिंड्नु परेको देखाइएको भए राम्रो हुन्थियो. ४. सधै खाट भाँचिने गरी सम्भोग सन्तुस्टी पाउने कविता किन अश्वगन्धा औषधि लिएर पोइल जानु पर्यो होला बुझ्न सकिएन. ५. बलात्कार गर्दा "कन्डोम लगाएको थियो कि थिएन" भन्ने शब्द पिडित बालपात्रहरुलाई भनिनु अत्त्यन्तई बेइज्जति पूर्ण र अनावश्यक लाग्यो.



स्थानीय भाषाको हुबहु र सुन्दर प्रस्तुति छ 'लू'मा..... टुटे पण्डितको नुस्खा कति राम्रोसंग दिनु भएको छ. टल्कने साइकल करिमलाई कसले दियो भन्ने बताउने तरीका सुन्दर लाग्यो. अनि, हरेक कुरा सस्पेन्समा राखेर पाठकले एक्सपेक्ट गरेको नतिजाको ठिक बिपरित चित्त बुझ्दो नतिजा देखाउन सक्ने खुबी मान्नै पर्छ . कल्पना बन्तावाजी ले भनेको कुरा फेरी दोहोर्याउदै छु " बाबा ठाकुरे, नयनराजजीले कति कुरा जानेको !!!"



देश र जनताप्रति गहन जिम्मेदारी बोकेका छन् नयनराज जी ले यस पुस्तकमा, त्यसका लागि उहाँलाई स्यालुतेशन !! एकपल्ट पढेर धित मरेन, फेरी पढ्ने छु. पुस्तक संग्रहनीय छ, पुस्तकको पठनीयता उचच स्तरको भएकोले पुस्तकालयलाई तथा साथिभाइ सबैलाई उपहार दिन योग्य छ. यो पुस्तक नेपाली उपन्यास जगतको धरोहर हो. हामीले यस पुस्तक प्रति गर्व गर्नु पर्छ. धन्यवाद.

1 comment:

  1. विष्णुप्रसाद गजुरेलOctober 7, 2022 at 10:07 PM

    लू उपन्यासमा सीमावर्ती क्षेत्रमा भारतीय एसएसपी, प्रहरी जवान तथा नेतृत्वकर्ताहरूले गर्ने ज्यादती, हिन्दू र मुसलमानका नाममा आपसमा नेपालीहरूलाई लडाउने र भिडाउने कुतत्वको चित्रण, भारतीय पक्षबाट नेपाली भूभागमा आएर लुटपाट र बलात्कार जस्ता जघन्य अपराध हुँदा पनि मुकदर्शक बन्ने नेपालको प्रहरी र प्रशासन, गरिबी, अभाव र तिनका कारण आफ्ना बालबच्चा समेत सर्कसमा बेच्नु पर्ने बाध्यता, अभावका कारण आत्महत्या गर्नुपर्ने परिस्थिति, हिन्दु र मुसलमानका बीचमा आत्मीयता आदि जस्ता विषयलाई अत्यन्त सशक्त र मार्मिक रूपमा प्रस्तुत गरिएको छ । यो उपन्यास नेतृत्ववर्ग र प्रशासनको अकर्मण्यताका कारण सीमावर्ती क्षेत्रमा नेपालीहरूले कस्तो नारकीय जीवन व्यतित गरिरहेका छन् भन्ने कुरा बुझ्नका लागि प्रत्येक नेपालीले पढ्नु पर्दछ ।

    ReplyDelete