Saturday, May 12, 2012

(लू)उपन्यासमा सीमाक्षेत्रको तस्बिर –दिनमान गुर्मछान


(लू)उपन्यासमा सीमाक्षेत्रको तस्बिर

(नयाँ पत्रिका दैनिक, २०६९ बैसाख ३० गते शनिवार)

–दिनमान गुर्मछान


नेपाली समाजको त्यो हाम्रो आफ्नै भूमि जहाँ नेपाली भएर पनि नेपाली हुन सकिरहेका छैनन् । त्यहाँका बासिन्दाको आँगन नेपालनै हो । तर, बजारचाहिँ भारतका सिमावर्ती क्षेत्र रहेको छ । उनीहरू आफ्नैखाले समस्याका जञ्जालमा परेका छन् । भारतसित सीमा जोडिएको ‘पत्थरपुरवा’को सेरोफेरोमा रहेर उपन्यासकार नयनराज पाण्डेले ‘लू’मार्फत त्यहाँको सामाजिक समस्यालाई राष्ट्रिय समस्यासित जोड्न खोजेका छन् । भर्खरै बजारमा प्रकाशित भएर चर्चा बटुलिसकेको ‘लू’ उपन्यास तराईको जटिल सीमावर्ती क्षेत्रको कथा र व्यथा हो ।

तराईको जनजीवनलाई उनले आञ्चलिक ढंगबाट प्रस्तुत गरिरहँदा पाठक त्यही भूमिमा पुग्छन् । ‘पत्थरपुरवा’को विशिष्टता र मौलिकता भेटिन्छ । स्थानीय पात्र र प्रवृतिले पश्चिम नेपालको गाउँको आफ्नै मौलिकता रहेको छ । गरिब गाउँलेहरूको दैनिक समस्या र सीमापारिबाट भइरहने दमनको चिरफार पाइन्छ । इलैयाको प्रमुख पात्र भूमिकाले तराईको जनजीवन, रहनसहन, चरित्रलाई छर्लंगै पार्न सकेको छ । गाउँले परिवेशमा इलैया कडा र सुरो स्वभावको पात्रलाई विभिन्न समय र परिवेशमा अलग–अलग ढंगबाट देखाइएको छ । समयमा वर्षा नहुनाले सुख्खा मौसममा निम्तिएको चरम गरिबी,भोकमरीको त्रासद् अवस्था पाइन्छ । भारतीय सीमाका सुरक्षाकर्मी वेलावेला गाउँमा प्रवेश गरी दिएको यातनाले पिल्सिएका छन् गाउँले । कमलाको कथाले मन छुन सक्छ । अविवाहित आमा हुँदा भोग्नुपरेको समस्या पाइन्छ । रेडियोलालको मुख्र्याइँले धार्मिक दंगा फैलिँदा साम्प्रदायीक सद्भाव भने बिथोलिन पाएको छैन । यहाँ सामाजिक सहयोग र मानवता पनि पाइन्छ ।

बहराइचको शम्भुरामले नेपालगन्जका नेतालाई आफ्नो मुठीमा राखी नचाएको प्रसंगले दिमाग रन्थनिन पुग्छ । पात्रहरू इलैया, नन्दु चिडिमार,बजरंगी,रेडियोलाल,हरदेई,चमेली,वृजलाल,टुटे पण्डित,नुसरत,करिम,अनवर जस्ता पत्थरपुरवामा छन् । जसले उपन्यासको कथा र घटनाक्रमलाई अघि बढाउँदै दुःखको भुमरीमा लैजान्छ । इलैयाजस्तो कडा र ज्याद्रो व्यक्तिको प्रेम प्रसंगले पाठकलाई ध्यानाकर्षण गर्छ । प्रेममा विछट्टै शक्ति हुँदो रहेछ । इलैयाभित्र प्रेमले मानवीय संवेदनायुक्त बनाएको छ । प्रेम जबर्जस्ती पनि हुँदैन । ‘नुसरत’प्रतिको इलैयाको प्रेम आशक्तिले परिवर्तन ल्याउँछ । ऊ दिनप्रतिदिन प्रेमरोगीझैँ देखिन्छ । नुसरतकालागि जेपनि गर्नसक्छु भन्ने इलैयाले जब नुसरतले उसलाई मन पराउँदैन भन्ने थाहा पाउँछ त्यसबेला के हुन्छ ? यो जान्नकै लागि पनि पाठक आतुर हुन्छन् ।

हम्रै नेपालीले भोगिरहेका समस्या, दुःख,ज्यादतीको प्रस्तुति उपन्यासको मुख्य पाटो भएको छ । भारतीय सैनिकको अत्याचार, अपराधिक गतिविधि,रोग,भोक र प्रकृतिसितको संघर्ष पाइन्छ । त्यसैले उपन्यासले साहित्यिक मूल्य बोकेको छ । पश्चिम नेपालको तराई समाजको चित्रणले त्यहाँको मूल्य,मान्यता,त्यहाँका व्यवहारको अध्यन गर्न सकिन्छ । इलैयाको अराजक र उद्दण्ड चरित्रको निर्माणसँगै आमाप्रतिको प्रेमभाव,पूजा अनि नुसरतप्रतिको आर्कषण र प्रेम आशक्तिले तराईको जनजीवन बुझ्न सजिलो पार्नुका साथै गरिबीबाट मुक्ति खोज्न नाबालक छोरी बेचेको प्रसंगले अशिक्षा र भोकमरीको गाथा बोकेको छ । भारतीय दादागिरी र गुण्डागर्दी सीमाक्षेत्रको मुख्य समस्या हो । दिनहँु नेपाली चेली बलात्कृत हुन्छन् भन्ने प्रसंग नुसरतको बलात्कारको घटनाले दर्साएको छ । यसर्थ दक्षिणी सीमाका लाखौं व्यक्तिका सवाल उठाएका छन् –उपन्यासकार पाण्डेले । नेपाली राजनीतिमा दक्षिणी क्षेत्रको प्रभाव कसरी छ ? हिन्दू र मुस्लिमबीच वा मधेसी र पहाडीबीच दंगा कसरी भड्किँदो रहेछ भन्ने यथार्थ‘लू’मा पाइन्छ । गरिबीले सामूहिक आत्महत्या गरेको अवस्था,समाजमा एक हुनुपर्ने विचार,आखिर आफ्नै छिमेकीले साथ र सहयोग गरेको यस्ता घटनाले मर्माहत बनाउँछ ।

भाषाशैली आकर्षक हुनुका साथै सरल र सरस छ । सरल र छोटा वाक्यले आकर्षक भएको छ । मधेशको सामाजिक,आर्थिक, सांस्कृतिक विषयवस्तुलाई पाठकसामु सुन्दरशैलीमा पस्केका छन् । ‘लू’मा प्रयोग भएका भाषाशैलीले पाठकलाई तान्न सक्छ भन्ने विश्वास गर्न सकिन्छ ।

उपन्यास समग्रमा राम्रो भए पनि त्रुटि नै नभएको वा कमजोर पक्ष नै नभएको भने होइन । एउटा अग्लो उपन्यासमा केही सामान्य अलमल भने भेटिन्छ नै । जस्तै–एउटा राम्रो चित्रकार हुनसक्ने जागेश्वरलाई सत्ता विरोधी चित्र बनाएको आरोपमा अञ्चलाधिशकहाँ पु¥याउँदा पञ्चायतकालको झल्को देखिनुले समयकाल खण्ड नमिलेको देखिन्छ । कविताले गर्भपतन गर्न नहुने गरी गर्भपतन गराउँदा गराउँदा अक्षम शरीरले मधेसीसँग अन्तरजातीय विवाह गरेको प्रसंगमा पुनः विवाहपश्चात पनि गर्भपतन निरन्तर भइरहन्छ । गर्भपतनको पराकाष्टा नाघेकी कविता एकदिन पोइल जान्छे । रेडियोलाल र कविता चौबीसैघण्टा सँगै रहेको देखिदादेखिदै यो कसरी सम्भव छ । जसले कथाको नयाँ मोड दिनमात्र खोजेको देखिन्छ । स्थानीय भाषा र नेपाली भाषाको एउटै वाक्यमा प्रयोग हुनुले खिचडी भएको छ । तर पनि उपन्यासका यी प्रसंगले पाठकलाई केही हदसम्म मधेसी मूलको जनजीवनको जानकारी गराउँछ ।
विशेषतः नवीनतम शैलीमा चिनिएका नयनराज पाण्डे ‘उलार’ उपन्यासबाटै परिचित छन् पाठकहरूमाझ । त्यस्तै ‘निदाए जगदम्बा’ले दिएको ख्यातिले ‘लू’ उपन्यासको आँकलन गर्न सजिलो बनाउँछ नै । ‘उलार’को तराई परिवेश ‘लू’सम्म आइपुग्दा अझ दक्षिणी सीमाक्षेत्रको तस्बिर बोकेर आउन सफल भएको छ । सीमान्तीकृत नागरिकको बाँच्ने उपक्रममा भोग्नु परेको नियतिको दस्तावेज बनेको छ लू ।

‘लू’ मा एउटा यथार्थको डरलाग्दो विषयलाई उठाइएको छ । अनुसन्धानात्मकझैँ लाग्ने यो उपन्यासले नेपालीले भोग्नुपरेको सीमापीडालाई उठाएको छ । जसलाई फरक किसिमले प्रस्तुत गरिएको छ । नेपाली साहित्यिक बजारमा आख्यानको बढ्दो मोहमा उपन्यास अग्रस्थानमा देखिएको भान हुन्छ । गएको पछिल्लो वर्ष यस्ता महत्वकांक्षी उपन्यासहरूको लाइनै लागेको थियो । यो वर्ष पनि उपन्यासको प्रकाशन उकालो लाग्दो हुने छ भन्ने संकेत देखिएका वेला ‘लू’ले पाठकमाझ आफूलाई सीमाक्षेत्रको कथाको रूपमा चिनाउन सफल भएको छ ।

एउटा उत्कृष्ट उपन्यास लाग्न सक्ने ‘लू’ ले यिनै समाजका गरिब,किसान,मजदुर,भूमिहीन सुकुम्बासीको सवाल उठाएको छ ।  उपन्यासले किसान जीवनलाई महत्वपूर्ण स्थान दिएको छ । त्यसैले अन्तमा विभिन्न प्रश्नहरू पनि छोडेर गएको छ । के ठेगाना परिवर्तन भएको  पत्थरपुरवा फेरि नेपालको हुन सक्छ ? तीतो यथार्थ या मनोगत प्रलाप ??? मा टुटे पण्डितको पत्रले पाठकलाई ठूलै झट्का दिन्छ । मस्तिष्क रन्थनिने गरी करेन्ट लाग्छ । के यो उपन्यासकारले भनेझैँ भ्रम थियो ? उपन्यासको अन्त्य नै अर्को अध्यायको सुरूवातझैँ लाग्ने गरी भएको छ ।

No comments:

Post a Comment