Sunday, October 27, 2013

गजबको शैली-कमलकुमार-कान्तिपुर कोसेलीमा प्रकाशित "घामकिरी"को समीक्षा-

गजबको शैली


    (प्रकाशन मिति:२०७० कार्तिक ९ गते शनिवार, अक्टोबर २६,२०१३)

    काठमाडौ, कार्तिक ८ - 
    ७० हजार शब्दको उपन्यासलाई लेखकले कविता भनिदिएका छन् । प्रेम कविता । उपन्यास राजु भनिने पात्रको भड्काइमा केन्दि्रत छ । भौतिक र काल्पनिक दुवै खाले भड्काइ । नेपालगन्ज आसपासको त्यो किशोरले पद्मिनी कोल्हापुरे भनिने बम्बईकी हिरोइनलाई फिल्म हेरेर मन पराउँछ र पहिलो प्रेम हस्तमैथुनमार्फत् व्यक्त गर्छ । कहिल्यै नभेटेको ती महिलाको प्रेममा बहुला भएका लेखकले उपन्यास उनकै मुस्कानहरूको संग्रह हो भनेर किताबको भूमिकामै कविता लेखेका छन् । तर 'घामकिरी' मुस्कानहरूको मात्र होइन, आँसुहरूको पनि संग्रह हो । 

    यसअघि 'उलार' र 'लु' जस्ता ब्लकबस्टर उपन्यास नेपाली पाठकलाई दिएका नयनराज पाण्डेले यसपटक भने केही नयाँ शैलीबाट पस्केका छन् यस उपन्यासलाई । उपन्यासले बोकेको गुदी कुरो अथवा कथावस्तु अघिल्ला उपन्यासको अगाडि साह्रै फिक्का देखिन्छन् । तर भाषा, शैली र कल्पनाशीलताचाहिँ बेजोड छ । सामान्य कुरालाई पनि असामान्य ढंगमा प्रस्तुत गरेका छन् लेखकले । उपन्यास पढिसकेपछि नपढेको मान्छेलाई सुनाउने कुनै कथा हुँदैन पढ्नेसँग । तर उसको मन मस्तिष्कभरि घटना र पात्रहरूको रंगीन चित्र नाचिरहेको हुन्छ । 

    आमा बिरामी भएको बहाना बनाएर बाउको साथीसँग १५ सय रुपैयाँ ऋण लिएर आफ्नी सपनाकी रानी पद्मिनीलाई भेट्न लखनउ र दिल्ली हानिएको राजु भारतीय महानगरीका फोहोरी र चरम गरिबीका यथार्थका माझ हराउँछ । मुम्बईका सुकुम्बासी बस्तीमा भेटिएका थरीथरीका पात्रहरूका अआफ्नै सुखदुःखका बेलिबिस्तारले कहींकहीं पाठकका आँखा रसाउँछन् । लेखकले बडो चलाखीपूर्ण ढंगले उपन्यासका बीचबीचमा राखेका यथार्थजस्तै लाग्ने काल्पनिक विवरणहरूले पनि उपन्यासमा थप रोमाञ्चकता थपिदिएका छन् । तर कतै कतै भने लेखकको कल्पनाशीलता चाहिनेभन्दा बढी झल्कन्छ । जसले एकनासले बगिरहेको पाठकीय संवेदनालाई होच्याएजस्तो लाग्छ । 

    'घामकिरी'को बलियो पक्ष भनेकै यसको लेखाइको शैली र भाषा हो । नयनका अघिल्ला उपन्यासजस्तै यो उपन्यास पढ्दा पनि फिल्म हेरेजस्तै लाग्छ । पाठकले कुनै कष्ट गर्नु पर्दैन । जति कष्ट गर्नुपर्ने हो लेखकको दिमागले गरिसकेको छ । भन्छन् नि साधारण कुरा बनाउन असाधारण मिहिनेत गर्नुपर्छ । उपन्यासले समेटेको दायरा पनि फराकिलो छ, विसं १९२२ मा भोजपुरमा जन्मेकी योगमायादेखि २/४ वर्ष पहिले मुम्बईका सुकुम्बासी बस्तीमा जन्मेसम्मका पात्रहरू छन् । घटना र पात्रहरू समय र भौगोलिकताको विशाल परिधिमा फैलिए पनि उपन्यास सरसर्ती बगेको छ । पाठकलाई कहीँकतै ठेस लाग्दैन । झन् राजु भनिने पात्र मुम्बई पुगिसकेपछि त उपन्यास कति छिटो अघि बढ्छ थाहै हुँदैन । 

    'उलार'ले नेपालगन्जदेखि काठमाण्डुसम्मको यात्रा गर्‍यो । 'लु' नेपालगन्ज आसपासका सीमा क्षेत्रमा देखियो । 'घामकिरी'ले भने मुम्बईसम्मको यात्रा गरेको छ । उपन्यासमा धेरै पात्र र प्रसङ्ग भारतीय छन् । तर यो भारतीयको भन्दा पनि मानवीय संवेदनाको फेहरिस्त हो । नयनको उपन्यासका सबभन्दा सुन्दर पात्रहरू भनेका मुसलमान पात्र हुन् । 'घामकिरी'मा पनि ती पात्रहरू देखिन्छन् । ती नयनका उपन्यासमा मात्र नभई नेपाली साहित्यका मूलधारे पात्रहरू भन्दा फरक, विशेष र आकर्षक छन् । 

    हुन त, उपन्यासमा कतै पनि सिजोफेनिया भनिने रोगबारे उल्लेख भएको छैन न त यो शब्दको प्रयोग नै भएको छ । तर पाठकले उपन्यास पढिसकेपछि अनुमान लगाउन सकिन्छ राजु भनिने पात्र यस्तै एउटा मानसिक विशिष्टताबाट गुजि्रएको छ जो हुँदै नभएका घटनामा हराउँछ । उसले कहिल्यै नभेटेको व्यक्ति उसकी प्रेमिका हुन्छे । जोसँग ऊ पटक पटक भेट्छ । जसलाई ऊ पटक पटक चुम्बन गर्छ । कल्पना र वास्तविकताको ठाउँठाउँमा भेट हुन्छ 'घामकिरी'मा । बलिउड स्टार पद्मिनी कोल्हापुरेलाई भेट्न मुम्बई हिँडेको ठिटो पद्मिनीसँगको प्रेम बिर्साइदिने अरू यथार्थहरूमा अल्मलिन्छ । 

    'घामकिरी' प्रेमको कथा होइन । उपन्यासबाट योगमाया र पद्मिनी कोल्हापुरेलाई हटाइदिने हो भने पनि यो उत्तिकै शक्तिशाली बन्छ । लेखकले प्रेम भनेर ढाँटिदिएका मात्र हुन् । 'घामकिरी' समाजको, गरिबीको, मान्छेको मनको, ठूला सहरको, सानागाउँको, मित्रताको, यात्राको, भारतीय रेलको, ठगको, पुलिसको, अपराधको, ल ठीकै छ अलि-अलि मायाको पनि विवरण हो । शक्तिशाली ।

    ५० वर्षभन्दा अघि जेडि स्यालिन्गरले लेखेका 'क्याचार इन द राइ'को शैलीसँग अलिअलि मेल खान्छ 'घामकिरी' । स्यालिन्गरको उपन्यासमा पनि घरमा एउटी सानीबहिनीलाई औधि माया गर्ने एउटा किशोर यसैगरी भड्किएको हुन्छ । 'घामकिरी'मा आफ्नो जन्मिदै नजन्मिएको भाइलाई सम्भिmँदै हिँडेको हुन्छ राजु । कतिपय विम्ब 'एक शताब्दी लामो मौनता' जस्ता कुराले पनि क्याचर इन द राइको झल्को दिन्छ । तर मलाई थाहा छ, त्यो संयोग मात्रै हो । 

    स्वाभाविक रूपमा बजारमा उपन्यासबारे तीनखाले प्रतिक्रिया सुनिएका छन् । धेरैले धेरै राम्रो भनेका छन् । अलिअलिले अलिअलि राम्रो भनेका छन् । थोरैले थोरै राम्रो भनेका छन् । प्रस्ट भन्ने हो भने 'घामकिरी'ले कुनै सिद्धान्त, दर्शन, गह्रौं विचार, केही बोकेको छैन । यसैकारण पनि 'घामकिरी'लाई कतिपयले हलुका साहित्यको रूपमा समेत लिएका छन् । तर हामी एकातिर साहित्यका पाठक बढाउन चाहन्छौं र अर्कातिर प्रगतिशील विचार, मुक्ति र क्रान्तिका कुरा भएन भनेर कुनै किताबको आलोचना गर्छौं भने समस्या साहित्यमा होइन हाम्रो पाठकीय पारम्परिकतामा छ । 

    किताब पढ्नेले पढिसक्नुभयो । नपढ्नेलाई पढ्न सुझाव । तपाईंलाई मन पर्ने नेपाली किताबको सूचीमा 'घामकिरी'को नाम पक्कै थपिनेछ । 

    प्रकाशित मिति: २०७० कार्तिक ९ १०:४४

    No comments:

    Post a Comment