Monday, November 18, 2013

सन्दर्भ "घामकिरी"-नीला तामांग

सन्दर्भ "घामकिरी"

-नीला तामांग (Neela Tamang)

सबैको दशैबिदामा पढ्ने सूचीमा रहेको घामकिरी दशैकै लागि भनेर किनेपनि एक त थोरै बिदा, त्यसमापनि दिनभरि काममा, अनि राती अबेरसम्म पाहुनाहरुसंग खानपिन लगायत भलाकुसारीमा व्यस्त.. कहां बिदामा पढ्न पाउनु र ? पढेर बिदाको सदुपयोग गर्ने सौभाग्य त पुरुषहरुको मात्र हुन्छ शायद..., कि त महिला भए अविवाहिताका लागि ।

खैर, अन्ततः आकर्षक आवरण पृष्ठ, प्रकाशन हुनुपूर्व नै बहुचर्चित, व्यग्रताका साथ पर्खाईपछि प्राप्त ४५ च्यापटरको (लेखकले भनेझै करीब सत्तरी हजार शव्दको प्रेमकविता) घामकिरी उपन्यास केही दिनअघि मात्र पढिसिध्याए । सुन्दै मनमा मीठो सुखानुभुति दिने शव्द, पुरानो पुस्ताका लागि मात्र नभई हालका पुस्ताको केटाकेटीहरुमाझ पनि प्रिय घामकिरी । घामकिरी शव्द मात्र नभई, अल्लारे उमेरको पात्रको कल्पनाशीलताले पनि नोस्टाल्जिक दिनहरुमा पुर्याईदियो कारण अधिक मात्रमा कल्पना गर्ने, सपना देख्ने उमेर हो अल्लारे उमेर ।

पढ्दै जांदा एउटा साधारण पाठक भएको नाताले शुरु शुरुमा धेरै अल्मलिए पात्रहरुको चरित्रमा, घट्नाक्रमहरुमा, ८०/९० दशकको चर्चित हिरोईन पद्मिनी कोल्हापुरेसंगको प्रेमकथामा, आमाले सुनाएका योगमायाको कथामा । जब मुख्य पात्र राजु मुम्बई प्रवेश गर्छ आफ्नो सपना साकार पार्न, आफ्नी प्रेमिकालाई भेट्न, तब घट्नाक्रमहरु तीब्ररुपमा अघि बढेपछि धेरै चरित्रहरुको प्रेमकथा, संघर्षकथा पढेपछि शनै शनै थाह लाग्यो कि यो त कल्पनाको संसार हो । त्यही कल्पनाको संसारभित्र तथ्यपरक धेरै परिघट्नाहरुलाई उजागर गर्नुभएको छ लेखकले । घट्ना परिघट्नाको कन्टेन्ट, उपशीर्षक चयन र त्यसभित्रका कथाहरुको प्रस्तुति धेरै फरक छ पारम्परिक शैलीको नेपाली उपन्यास भन्दा ।

"सबैले भने, प्रेम नगर । मैले टेरिनं ।"
...
साथीले सम्झाएको थियो,"कलममा मसी सकिए जस्तै सकिने हो र प्रेम । केटाकेटी कुरा नगर यार ।"
तर ऊ आफैं भने मेरै उमेरको थियो । तेह्र चौधको ।
......
त्यो सुनेर गरिबी पनि भक्कानो छाडेर रुनेछ ।
(उपन्यासभित्रका केही अंशहरु)

कायल बनाईदिने मीठो शव्दशील्प । तात्कालिन ८०/० ताकाको बहुराष्ट्रिय कम्पनीको उत्पादन लक्स साबुन र पेय पदार्थ लिम्का प्रतिको पात्रहरुको आसक्ति इत्यादि (हालको कथा भए IPhone, Galaxy S4, MacBook, ईत्यादि यस्तै केही हुनेथिए होलान्) । कल्पनाशीलताको व्यापक प्रयोग गरिएको छ उपन्यासमा । एक शताव्दीभन्दा अघिकि योगमायालाई आफ्नो उमेरसंगै हुर्काउनु, आफ्ना अघिल्ला जन्मको कथा प्रेमिका पद्मिनी कोल्हापुरेलाई सुनाउन आतुर, अनि प्रेमिकासंगको संवाद, यस अर्थमा पनि बिलकुल नवीन लाग्छ उपन्यास । । यति कल्पनाशीलता कि, कतै पढेको थिए.. पुस्तकमा कहीं उल्लेख नगरिएपनि कतै मुख्य पात्र सिजोफ्रेनिया भन्ने मनोरोगबाट ग्रसित त हैन ? उसको मनोवेग, सम्वेग, तथ्य लाग्ने कल्पना हेर्दा यस्तै लाग्छ ।

कल्पनाशीलता भए पनि उपन्यास सन्देशमूलक छ । कल्पनाको चमकधमक संसारमा हराएको एउटा टिनएजर तन्नेरी सपना साकार पार्न घरबाट भागी विभिन्न ठाउंमा पुगी, विविध प्रकृतिका चरित्रहरुको सामना गर्दै हण्डर ठक्कर खाएर अन्ततः वास्तविकतालाई आत्मसात गर्न, आफ्नो परिवारलाई अंगाल्न, आफ्नै ठाउ्रमा आईपुग्छ । काल्पनिकता इन्द्रधनुष झै बिस्तारै फिका हुंदै अनि बिलाउंदै जान्छ घामसंगै ।

अन्तमाः प्रिय लेखक नयनराज पाण्डेलाई शुभकामना, बधाई र उत्तरोत्तर प्रगतिको कामना ।
 — 

No comments:

Post a Comment