कविता–
संविधान
संविधान बहुलट्ठी बाबुसाहेबको
वंशावली होइन ,
संविधान पापी साहुले निमुखाहरुको
ल्याप्चे लगाएर बनाउने किर्ते तमसुक पनि होइन,
संविधान खल्तीमा राखिने
बाँकी बक्यौताको टिपोट होइन ,
संविधान अल्छी गुप्तचरले तयार गर्ने
गलत रिपोर्ट पनि होइन ।
छात्तीमा हात राख्नुस् र भन्नुस्–
के संविधान जथाभावी तलमाथि पारिने तासको गड्डी हो ?
छात्तीमा हात राख्नुस् र भन्नुस्–
के संविधान चना चट्पटे बेच्न तयार पारिने कागजको खोस्टा हो ?
छात्तीमा हात राख्नुस् र भन्नुस्–
के संविधान फुटपाथमा बेच्न राखिने तोता मैनाको किताब हो ?
छात्तीमा हात राख्नुस् र भन्नुस्–
के संविधान रद्धीवालालाई बेच्न ठीक्क पारिएको वासी अखवार हो ?
होइन, निश्चय पनि होइन
संविधान तासको गड्डी होइन
संविधान कागजको खोस्टा होइन
संविधान तोतामैनाको किताब हैन
संविधान वासी अखवार हैन ।
घुस्याहा नेताले लेखेको निजी डायरी हैन संविधान
संविधान मैले लेखेको मेरो कथा हो
संविधान तपाईँले लेखेको तपाईँको कथा हो ।
त्यसैले त –
संविधान बनाउनु र आफ्नो भाग्य बनाउनु
उस्तै उस्तै कुरा हो
त्यसैले त –
संविधान बनाउनु र सुन्दर चित्र बनाउनु
उस्तै उस्तै कुरा हो
त्यसैले त–
संविधान बनाउनु र अमर महाकाव्य लेख्नु
उस्तै उस्तै कुरा हो ।
२०६४। १२ । २ शनिवार
No comments:
Post a Comment