Tuesday, December 27, 2011

उलार बारे अनुप रेग्मीको टिप्पणी


नयनराज पाण्डेको उलार वर्गसंघर्षको कथा होे । जहाँ प्रेमललवा र द्रौपदी जस्ता पीडित व्यक्ति र शान्तिराजा र राजेन्द्रराजजस्ता शोषक वर्ग छन् । लेखकले एउटा सानो उपन्यासमा यी दुई वर्गको संघर्ष वताएका छन् । उलारमा २०४६ सालपछिको समयको घटना वताइएको छ ।
उलार भन्ने शीर्षकले पाठकलाई यो नेपाली भाषाको पुस्तक होइन भन्ने जस्तो लाग्न सक्छ तर यो नेपाली लघु उपन्यास हो । यो उपन्यास छोटो छ सामान्य पाठकले पनि यो उपन्यासलाई २÷३ घण्टामानै पढ्न सक्छन् । उपन्यासको शुरूवात चुनावको परिणाम पछिको घटनाबाट हुन्छ । उपन्यासको प्रमुख पात्र हो प्रेमललवा, जसले शोषित वर्गको प्रतिनिधत्व गर्दछ । प्रेमललवा टाँगा चालक हो । कथाले यहि टाँगा चालक ‘प्रेमललवा’को संधर्षलाई वताएको छ । उसकी प्रेमीका छ द्रौपदी । कथाअनुसार प्रेमललवाले भोट दिएको व्यक्ति ‘राजेन्द्रराज’ चुनावमा पराजित हुन्छ । प्रेमललवाले समर्थन नगरेको व्यक्ति ‘शान्तिराजा’को विजय जुलुसमा उसको टाँगा भाडामा लैजादा वढी भारले गर्दा उसको जीवन चलाउने घोडी मर्छे अनि कथाले नयाँ संघर्षको मोड लिन्छ । चुनाव जीतेर शान्तिराजा मन्त्री वन्छन् प्रेमललवाले आफ्नो दुःख पोख्दा शान्तिराजाले उसलाई काडमाण्डौ आउन भन्छन् । राजेन्द्रराजको सल्लाहले ऊ काठमाण्डौ जान्छ तर उसलाई सहयाग गर्छु भन्ने कसैले पनि उसलाई सहयोग गर्दैनन् । त्यसपछि रित्तो वनेको प्रेमललवा घर फर्कन्छ । यता द्रौपदी जो पेशाले वेश्या हो र पनि उसमा मानवता छ । उसले आफूसँग पैसा नभएपनि प्रेमललवालाई कानको गहना फुकालेर दिन्छे । कलुवा र भौजीमा पनि मानवता छ जो एकअर्कालाई थाहा नदिई प्रेमललवालाई सहयोग गर्छन् ।
कथा सामान्य छ तर यसमा सजिवता छ । यस उपन्यासले मूलत नेपालमा २०४६ सालपछि देखिएको राजनीतिक परिवेशलाई चित्रण गरेको छ । यो पुस्तक २०५५ सालमा नै प्रकाशित भैसकेको पुस्तक हो त्यसवेला देखिएको राजनीतिक उतारचढाव र त्यसमा मिसिएका गरिब नेपाली जनताको संघर्षमा आधारित यो पुस्तक तर अहिलेको राजनीतिक परिवेशमा पनि यो कथा उत्तिकै सजिव लाग्छ ।
उपन्यासको भाषा मिठो छ र पनि कसैलाई यो अश्लिल लाग्न सक्छ तर यो अश्लिलता होइन यथार्थ हो । लेखकले यस उपन्यास मार्फत विष्णुप्रसादजस्ता पतन भएका पुलिस साथै शान्तिराजा र राजेन्द्रराजजस्ता भ्रष्ट नेताको यथार्थ वताएका छन् । लेखककले राजेन्द्रराज जस्ता समाजमा समाजसेवकको पहिचान वनाएका व्यक्तिकोे ९० हजारको जमिन ३० हजारमा हडप्ने शोषक चरित्रलाई उद्दांगो पारेका छन् ।
उलारले पाठकको ध्यान शुरूदेखि अन्तसम्म नै तानिरहन्छ । यो उपन्यास सरल भाषा र यथार्थ घटनाको सजिव चित्रण हो जसलाई नयनराज पण्डेले शरस भाषामा उतारेका छन् ।
- अनुप रेग्मी / Voice of Youth बाट साभार ।

No comments:

Post a Comment