Monday, June 4, 2012

तनमा होइन मनमा चल्ने 'लु' पढेपछि- बासु श्रेष्ठ

(Khasskhass.com)


बहुचर्चित, बहुप्रचारित र बहुप्रतिक्षित नयनराज पाण्डेको पाँचौ उपन्यासले अमेरिका टेकेकै दिन मेरो हात पर्यो । सिमित दिनकालागी सापटीको रुपमा । नाईनास्ती गर्ने कुरै थिएन र सकेसम्म छिटो सक्ने ध्येयले पढन थालेँ ।

नौ अध्याय भनौँ या नौ उपशिर्षक भनौँमा बाँडिएको यो उपन्यासमा कुनै अध्याय कुनै एक पात्रको आत्मकथामा बोलिएको छ भने कतिपय अध्यायमा औपन्यासिक वर्णन गरिएको छ । मूल पात्र ईलैयाको वरपर घुमेको यो उपन्यासमा कतै ईलैया आफै बोलेको छ त कतै अन्य पात्र बोलेका छन् ।

पत्थरपुरवा पश्चिम नेपालको दक्षिणी भेगमा भारतीय सिमाना नजिकै रहेको एउटा गाउँ हो जहाँ नेपाल भारत सिमानामा बसोबास गर्ने सिमान्तवर्गका मानिसहरुको दिनचर्या, दुखपीडा, अन्याय अत्याचार, छलकपट, मायाप्रेम, सहअस्तित्ववाद र सहधर्मवादको अस्तित्व रहेको छ र यसैको आधारमा अडेको छ यो उपन्यास ।

विशेष गरी मुसलमान वर्गपट्टि सहानुभूति प्रकट गरिएको यस उपन्यासका लेखकले मुसलमानहरुको चाडपर्व, धर्म सस्ँकृति, बोलीचालीहरुको राम्रै अध्ययन गरेको अनुभव हुन्छ । किनभने मुसलमानहरुले प्रयोग गर्ने शब्दहरुको निर्धक्क प्रयोग गरिएको छ । जस्तो इदगाह, ताजिया, कर्बला, ख्वाजा,मोहर्रम आदि हामीले सुनीरहने अन्य मुस्लिम शब्दहरु जस्ता होईनन् ।

यस उपन्यासले सिमापारीबाट एसएसबी आएर दिने दुख, गर्ने लुटपाट, जबरजस्ती करणी तथा मनपरी, तर आफ्नै देशको सरकारबाट उपेक्षित नेपालीको दिनचर्यालाई उजागर गरेको छ । खडेरी, बाढि, आगजनीमा आआफैँ समस्यासँग जुधेर समाधान गर्ने र सहने गरेका छन् । अशिक्षाको कारणले कसैले गरेको अपराधको विरुद्ध लड्नुको सट्टा त्यस अपराधको शिकार भएकालाई सजायँ दिन्छन् । स्थानिय नेता भनाउँदाको नकच्चरोपन र आत्मसमर्पणवाद, नेपाल प्रहरीको कमजोरी, एसएसबीको मनपरी र त्यस मनपरी विरुद्ध कसैले बोल्ने या कसैले विद्रोह गरे मारिनेजस्ता घटनाहरुको उजागर गरिएको छ ।

वास्तवमा लू शरीरमा लाग्ने तातो वतास होईन यो मनमा चल्ने विद्रोह र आक्रोस हो । यो बुझ्न उपन्यासको झण्डै दुई तिहाई भाग पढिसक्नु पर्छ ।

कतिपय ठाउँमा स्वस्थानीमा वर्णन गरे झैँ वर्णन गरिएको छ जसले उपन्यासमा पाना थप्न मदत गरेको छ । पात्रसँग परिचित गर्न र जिवन्तता दिन लामो लामो वर्णन सहायक हुन्छ भन्ने सोच लेखकमा रहेको जस्तो छ ।

साधारण बोलिचालीको सम्वाद, कतिपय ठाउँमा आमाचकारी गालीको प्रयोगले पात्रलाई जिवन्त बनाउन खोजिएको छ तरपनि कतिपय ठाउँमा पात्र अनुसारको शब्द चयनमा लेखक चुकेका छन् ।
नेपालको उत्तरी र दक्षिणी भेगमा बस्नेहरु सँधै सरकारबाट उपेक्षित रहेका छन् । तरपनि साहित्यमा पहाडी क्षेत्रले मनग्गे ठाउँ पाएको भएपनि तराई क्षेत्रमा बस्नेहरु भने साहित्यमा समेत सदा उपेक्षित नै रहेका थिए । अन्तत, पहिलेका धच गोतामे, ध्रुवचन्द्र गौतम, धीरकुमार श्रेष्ठ तथा कृष्ण अविरलका केहि उपन्यास लगायत यस उपन्यासलेपनि ति सिमान्तकृत वर्गहरुको पक्षमा आवाज उठाएको छ । यो एउटा साहित्यिक मात्र नभई राष्ट्रिय चेतनाको लहर उठेको आभास त हुँदै हो औपन्यासिक लेखनको विषयपनि फराकिलो हुँदै गएको छ भन्ने सँकेत गरेको छ ।

निकै ठाउँमा 'आफैँ' शब्दको सट्ट 'आआफैँ' भन्ने मुद्रण गरिएको छ । यो सजिलै भेटिने त्रुटि भएपनि कसरी प्रूmफ रिडिँगबाट फुत्किएछ ।


सिमान्तीकृत वर्गको दुख पीडामा लेखिएको उपन्यास भएपनि यसै उपन्यासका केहि पात्रहरुलाई भने व्यँग्यात्मक उपनाम दिएर तिनै पात्रको हाँसोको विषय बनाएकोमा भने अलि मन खुम्च्याउनु पर्ने हुन्छ । तर लेखकले चलाखी गरेर त्यस्ता नामहरु उपन्यासको अर्काे कुनै पात्रको तर्फबाट उच्चारण गर्न लगाउँछन् । ति नामहरु गुलुपलाल तथा ट्युबलाल आदि । लाग्छ मानौ उपन्यासकार एक सफल हास्य व्यँग्यकारपनि बन्न सक्छन् । यसका थुप्रै उदाहरण भेटिने छन् उपन्यासमा ।

२५६ पेजको उपन्यास रु.३००.०० पर्दछ । कुनैपनि चर्चित लेखको भूमिका विना, कुनैपनि प्रकाशकीय विना र लेखकको भनाई उपन्यासको अध्यायमा मिसाएर तयार गरिएको यो उपन्यास पठनीय नै छ भन्दा अत्युक्ति नहोला ।

No comments:

Post a Comment