Friday, January 3, 2014

दुई-दुई:निबन्ध

दुई-दुई : निबन्ध

-नयनराज पाण्डे

(नागरिक दैनिकमा कार्तिक २,२०७० मा प्रकाशित)

एक रात। हालसालैको रात। म मस्त निद्रामा थिएँ। अचानक घरबाहिर कोही सुँक्कसुँक्क रोइरहेको आवाज आयो। आवाज क्रमशः तीव्र हुँदै गएपछि निदाउन सक्ने स्थिति रहेन। म घरबाहिर आएँ। गेट खोलेँ। आवाज आएको दिशातर्फ लागेँ। अलिक पर चोकमा एक महिलालाई निरीह मुद्रामा बलिन्द्रधारा आँसु खसाल्दै रोइरहेको देखेँ।
'
हे नारी, तिमी को हौ? किन रोएकी?' मैले अत्यन्त विनम्रतापूर्वक सोधेँ तिनलाई।
उनले रुँदै जवाफ दिइन्, 'हे मानव, म पौराणिककालकी नारी हुँ। अहिल्या हो मेरो नाम। गौतम ऋषिकी पत्नी हुँ म। तर देउताका राजा इन्द्र मसित आसक्त रहेछन्। एकदिन मेरा पति स्नान गर्न नदीतर्फ गएको बेलामा देवराज इन्द्रले मेरै पतिको रूप धारण गरेर मेरो कोठामा आए र मसित सम्भोग गरे। गौतम ऋषिले थाहा पाएपछि मलाई श्राप दिएर पत्थरको शिलामा परिणत गरिदिए। त्रेतायुगका रामको चरण स्पर्शले म श्रापमुक्त भई पुनः नारीमा परिणत त भएँ। तर आज पनि पटकपटक इन्द्रले आफ्नो स्वरूप परिणत गरिरहन्छ र पटकपटक मसित सम्भोग गरिरहन्छ। म पुनःपुनः श्रापित भैरहन्छु।'
मैले अहिल्याको समस्या समाधान गर्न सक्ने कुरै थिएन। उनै यसैयसै अन्तर्ध्यान भइन्। तर अहिले पनि बेलाबेला म उनी सुँक्कसुँक्क रोएको आवाज सुनिरहन्छु। मैले मेरा निकटका केही मित्रहरूलाई सुनाएँ, यो कुरा। सबैले हाँसोमा उडाइदिए। भन्न थाले, 'अनिद्राले गर्दा तँलाई यस्तो भएको।'
***
एउटा भ्रमको सिकार म पहिले नै भैसकेको थिएँ। तर अचेल अर्को समस्या उत्पन्न भएको छ। अचेल म हरेक मान्छेलाई दुइटा देख्न थालेको छु। अस्ति एकजना मित्र मेरो घरमा आए। मैले उनलाई पनि दुइटा देखेँ। उनकै एउटा शरीर मेरो कोठाभित्र पस्यो र अर्को बार्दलीतिर गएर चुरोट खान थाल्यो। केही दिनअघि बाटोमा पुराना मित्र भेट भए। उनलाई पनि दुइटा देखेँ मैले। एउटाले मसित हात मिलायो र अर्को मलाई आँखा तदै अलिक पर गएर उभियो र खैनी मोल्न थाल्यो।
एकजना समीक्षक साथीले आफ्नो घरमा डिनरको लागि बोलाएका थिए। उनलाई पनि मैले दुइटा देखेँ। उनी एकसाथ सोफामा मेरो छेउमा बसेर मेरो लेखनको तारिफ पनि गरिरहेका थिए र त्यही समयमा अर्को कोठामा मेरो लागि तयार गरेको ह्विस्कीको ग्लास सुटुक्क जुठो पनि पार्दै थिए।
मेरा एक मित्र छन्। खगोल शास्त्रका विद्वान हुन् तिनी। एकदिन म उनको निर्माणाधीन घरमा गएँ। उनी एकातिर ल्यापटपमा खगोलविद्हरूको विश्वव्यापी सम्मेलनका लागि कार्यपत्र तयार गर्दै थिए। त्यही समयमा उनको अर्को छवि भने एकजना वास्तुशास्त्रीसित घरमा पूजाकोठा र किचन कताकता राख्न उपयुक्त हुन्छ भनेर परामर्श लिँदै थियो।
मैले माइनसको चस्मा लगाउन थालेको दशक बढी भैसक्यो। केही वर्षदेखि लेखपढ गर्दा प्लसको चस्मा पनि लगाउनुपर्ने भएको छ। दुइटा चस्मा बोकेर हिँड्न अलिक असहज हुने भएकोले करिब एक वर्षदेखि मैले प्रोग्रेसिभ लेन्सवाला बाइफोकल चस्मा लगाउन थालेको छु। यति हुँदाहुँदै पनि अचेल दृष्टिमा यत्रो भयानक समस्या देखापरेपछि मैले चिकित्सकलाई जँचाउनु आवश्यक थियो। म नेत्र विशेषज्ञकहाँ गएँ। यतिबेला उनी नै त हुन् मेरा भगवान। तर मैले उनलाई पनि दुइटा देखेँ। उनको एउटा शरीरले मेरो आँखाको रक्तचाप नाप्दै थियो र उनको अर्को शरीर आफ्नो क्लिनिकको भित्तामा रहेको देउताको तस्बिरमा धुपबात्ती गर्दै थियो। आँखा जाँचिसकेपछि तिनै चिकित्सक महोदयले भनेे, 'यो समस्या चस्माको होइन।'
के उसोभए अचेल म हरेका मान्छेभित्रको डाक्टर ज्याकिल र मिस्टर हाइडहरूलाई एकसाथ अनुभूत गर्दै छु? कतै म विशेष खालको अप्टिकल इल्युजनको स्थितिबीच भौंतारिइरहेको त छैन अचेल?
यस्ता प्रश्न महाभारत पर्वत शृंखला बनेर उभिएका छन् मेराअगाडि। र मेरो ताल हेर्नुस्, एकडेढ हजार शब्दको एउटा लेख लेखेर म त्यो पर्वत शृंखलालाई छिचोल्ने जमर्को गरिरहेको छु। मान्नुस्, उपल्लो दर्जाको हरिलट्ठक हुँ म।
००
सानो छँदा हजुरआमाले सुनाउनुभएको थियो– 'हेर् नाति, राम्ररी कुरो बुझ्। मान्छेको पनि काँचुली हुन्छ। सर्पको जस्तै। सर्पले जस्तै मान्छेले पनि काँचुली फेर्छ। सर्पले काँचुली फेरेको सर्प आफैंले देख्दैन रे। त्यस्तै मान्छेले काँचुली फेरेको पनि मान्छेले देख्दैन। जसरी मान्छेले सर्पले काँचुली फेरेको देख्छ, त्यस्तै सर्पले मात्र मान्छेले काँचुली फेर्छ।'
हजुरआमाले बाल्यकालमा सुनाएका यस्ता प्रसंगले मनमा एक खालको अजीवको जिज्ञासा पैदा गर्थ्यो उतिबेला। डर पनि पैदा गर्थ्यो। आज यतिका वर्षपछि पनि मलाई हजुरआमाको कुरालाई गलत सावित गर्न मन लागेको छैन। बरु वर्षौंअघि देहत्याग गरिसक्नुभएकी बूढी हजुरआमाका सयौं मुजा परेको मुहार सम्झेर भन्न मन लाग्छ अचेल, 'हो, हजुरआमा, मान्छेले पनि सर्पले जस्तै काँचुली फेर्दो रहेछ।'
हजुरआमासित संवाद गरिसकेपछि म फेरि आफ्नै मनतिर एकोहोरिन्छु। दिमागमा सर्पहरू सल्बलाउन थाल्छन्। म ठम्याउनै सक्दिनँ, तीमध्ये कति सर्प बिषालु हुन् र कति विषहीन। दिमागभित्रका ती चलायमान सर्प दिमागको ढोकाबाट फुत्तफुत्त बाहिर निस्कन्छन् र क्रमशः मानव बस्तीभित्र पस्छन्। ती सर्प सहरमा पनि पस्छन्। सहरको भीडमा हराउँछन्। ती सर्प र मान्छेकै पोसाक लगाउँछन्, मान्छेझैं बोल्न थाल्छन् र मान्छेझैं चलायमान हुन्छन्। सहरमा सर्प र मान्छे छुट्याउन सकिँदो रहेनछ। मनले भन्छ यसै। कहिलेकाहीँ।
***
मैले सुनेको छु। केही मान्छे मल्टिपल पर्सन्यालिटी डिसअर्डरबाट पीडित हुन्छन्। अचेल त्यसलाई डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर पनि भनिँदो रहेछ। खोजी बस्यो भने युट्युबमा त्यस्ता व्यक्तिका प्रशस्त भिडियो हेर्न पाइँदो रहेछ। एउटै व्यक्तिमा पाँच, सात, दस या त्योभन्दा पनि निकै बढी मान्छेको व्यक्तित्व लुकेको हुँदो रहेछ। द गार्डियनको सेप्टेम्बर ३०, २०११ को अंकमा त आफूभित्र सयवटा भिन्दाभिन्दै व्यक्तित्व लिएर बाँचिरहेकी ५० वर्षीया चित्रकार किम नोबलको बारेमा अत्यन्त रोचक आलेख नै छापिएको रहेछ। उनीभित्र बाथरुममा नुहाइरहँदा अर्कै व्यक्तित्व, कोठा सफा गर्दा अर्कै, आगन्तुकका लागि ढोका खोल्दा अर्कै व्यक्तित्व प्रकट हुँदो रहेछ। शरीर एउटै तर व्यक्तित्व अलग। बोल्ने काइदा र आवाज पनि फरक। शरीरको हाउभाउ फरक। किमको त 'अल अफ मी' शीर्षकमा अटोवायोग्राफी नै छापिएको रहेछ। डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डरले पीडित व्यक्तिमा कुन बेला, कुन परिस्थितिमा कुन व्यक्तित्व प्रकट हुन्छ भन्न गाह्रो हुँदो रहेछ। अतीतका केही न केही गाँठागुठी र लहराहरूले बेरेको हुँदो रहेछ त्यस्ता व्यक्तिलाई। त्यस्ता कतिपय व्यक्ति हिंस्रक पनि हुँदा रहेछन्। तिनीहरूसित एकदमै सचेत भएर व्यवहार गर्नुपर्दो रहेछ। तिनीहरूको उटपट्याङ गतिविधि देखेर हाँस्नु र गिल्ला गरेर जिस्काउनु पनि नहुने रहेछ। उनीहरू जस्ता हुन्छन्, आफू पनि त्यस्तै भइदिनुपर्ने रहेछ।
नेपालमा त्यस्ता व्यक्तिबारे कुनै कथाव्यथा कतै छापिएको थाहा छैन मलाई। तर म अचेल पाइलैपिच्छे त्यस्ता व्यक्ति भेटिरहेछु। निरन्तर तिनीहरूसित सम्पर्कमा छु। तिनीहरूसित निरन्तर संवाद पनि गरिरहेछु। तीमध्ये कति मेरा आत्मीय मित्र नै हुनुहुन्छ। कतिपय मेरा श्रद्धेय र अग्रज पनि हुनुहुन्छ। रूप त एउटै हुन्छ, तर बोली फेरिइरहन्छ उहाँहरूको। अगाडि पर्दा सावरबाट प्रशंसाको बर्सात् भइरहने आकर्षक बाथटबमा उभ्याएर श्रीखण्डको बास्ना आउने साबुनले मिचिमिची नुहाइदिने र अलिकति आँखा झिमिक्क गर्‍यो कि अग्घोर गन्हाउने आहालमा चुर्लुम्म डुबाइदिने गर्नुहुन्छ उहाँहरू। 'तपाईंको लेखनमा दम छ', अगाडि पर्दा यही हो उहाँहरूले भन्ने मलाई। अनि मेरो अनुपस्थितिमा उहाँहरूले अरूलाई भन्ने वाक्यांश हो– 'खत्तम लेख्छ यसले।'
मलाई लाग्छ, अचेल मेरा वरिपरिका अधिकांश मान्छे एउटा हातमा प्रशंसाको र अर्को हातमा घृणाको शब्दकोश पनि बोकेर हिँडिरहेछन्। बोली एकथरीको र व्यवहार अर्कोथरीको छ तिनको। शरीरलाई त सुकिलो लुगाले ढाकेका छन्। तर भित्र आडम्बरको एउटा बलियो आवरण पनि पहिरिएका छन्। अरूहरूले त गरे गरे। आफूलाई नेपाली साहित्यको महारथी ठान्नेहरूकै दुई रूप देख्दा भने अचम्मै लाग्दो रहेछ। तिनीहरूको एउटा रूपले कवितामा ईश्वरलाई तथानाम गाली गर्छ र अर्को रूप बिहान सुटुक्क नजिकैको देउता थानमा शिर झुकाएर आउँछ। उनले र उनीहरू जस्ताले यो डबल स्ट्यान्डर्ड कहिलेदेखि धारण गरेर हिँडिरहेका होलान्? यो प्रश्न अर्को सुमेरु पर्वत भएर उभिएको छ मेराअगाडि अचेल।
विद्वानहरू त भन्छन्, आफूले हुर्कने बेलादेखि नै मान्छेले डबल स्ट्यान्डर्ड हुने सूत्रलाई ग्रहण गर्दै जान्छ। घरमै उसले आफ्नो पिताले बैठकमा छिमेकीसित एकथरीको कुरा र छिमेकी गएपछि अर्कोथरीको कुरा गरिरहेको सुनिरहेको हुन्छ। आमाले पार्टीमा साथीहरूको बोली व्यवहार र पहिरनको तारिफ गरेको र घर आएपछि त्यही साथीलाई बाइफाले भनेको पनि सुनिरहेको हुन्छ। यसरी बाल्यकालदेखि नै मान्छेलाई उसको सामाजिक परिवेशले दुईथरीको व्यवहार गर्न सिकाइरहन्छ। त्यसैको प्रतिविम्ब जीवनभरि उसको व्यक्तित्वमा टाँस्सिइरहन्छ। त्यसपछि मान्छे जीवनभरि आफ्नै प्रतिविम्बको दास भएर हिँडिरहन्छ। त्यस्ता तमाम मान्छे अचेल दिनदिनै मसित ठोक्किइरहन्छन्। मप्रति कति स्नेहभाव देखाउँछन्। उनीहरू त्यतिबेला मेरो कति नजिक हुन्छन्। तर कतिबेला कतिबेला उनीहरूको प्रतिविम्ब नजिकैको कुनै साइबर क्याफेमा पसिसकेको हुन्छ। हतारहतार फेसबुकको आफ्नो फेक अकाउन्ट लग इन गरेर मलाई तथानाम भनेर स्टाटस अपडेट गर्न थाल्छन् तिनीहरू।
मैले यतिबेला आफ्ना मित्र र परिचितहरूको पो कुरा गरेँ। तर दुइटा व्यक्तित्व धारण गर्ने मेरा साथीभाइहरू मात्र कहाँ हुन् र? लगभग हरेकजसो नेतामा यो गुण देखिँदो रहेछ। त्यसैले त ऊ आफ्नो पार्टीको कार्यसमितिमा एक खालको कुरा र कार्यकतामाझ अर्को खालको कुरा गरिरहेको हुन्छ। अझ कार्यकर्ताहरूको बन्द प्रशिक्षण शिविरमा एकथरी र पत्रकार सम्मेलनमा अर्कोथरीको कुरा गरिरहेको भेटिन्छ। सार्वजनिक कार्यक्रममा भारतीय विस्तारवादको धज्जी उडाउँछ र मध्यरातमा भारतीय दूतावासको ककटेल डिनरमा सहभागी हुन्छ। एउटा व्यापारी फुटपाथको पसलदेखि फोर्ब्स म्यागेजिनको अरबपतिको सूचीमा सामेल हुँदासम्मको आफ्नो उपलब्धिको आत्मकथा लेख्छ र राति फोनबाट आफ्ना कारिन्दालाई आफ्नो चाउचाउ उद्योगमा निम्न गुणस्तरको तेल मिसाउन उर्दी दिन्छ। दिउँसो पण्डित दिनबन्धुको पुराणवाचनमा लाखलाखका चन्दा दिएर आउँछ र राति निजी चाटर्ड एकाउन्टेन्टसित बसेर भ्याट छलीको योजना बनाउँछ। यहाँ त व्यापारी, उद्योगपति, कर्मचारी, पुलिस, प्रशासक, न्यायमूर्ति सबैले आफूले सक्ने जति फरकफरक व्यक्तित्वको भारी बोकेर हिँडिरहेकै छन्। यसरी मेरो वरिपरिको समग्र समाजले आफ्नै सोच, चिन्तन र विचारको किमा बनाइरहेछ र त्यसैको मोमो खाइरहेछ। हरेक क्षण उसको ढ्याउबाट किमामा मिसाएको अजिनोमोटोको गन्ध आइरहेको हुन्छ। तर पनि उसले ढाँटेर भन्छ, 'भेज मोमो खाएको आज।'

***
कति गाह्रो भएको छ अचेल मलाई। कोसित के कुरा गर्ने, के कुरा नगर्ने समस्या उत्पन्न भएको छ। कोसित कति विश्वास गर्ने, कति नगर्ने? कसलाई मित्र ठान्ने र कसलाई शत्रु? अन्ततः मेरो मनले निष्कर्ष निकाल्योयो मित्र र शत्रु एकअर्काको प्रतिविम्ब भएको समय हो। समग्र समाज गजबको विश्वासहीनता र दोहरो मापदण्ड लिएर हिँडिरहेको समय हो। बोली र व्यवहारमा आकाशपाताल फरक हुँदै गइरहेको समय हो। यस्तै केही सोचिरहेको थिएँ। सोचलाई लेखको स्वरूप दिएर ल्यापटपमा टाइप गरिरहेको थिएँ। कसैले मेरो अध्ययनकक्षको ढोका जोडजोडले ढक्ढक्यायो। मैले ढोका खोलेँ।
उफ्! ढोकाबाहिर ठिंग उभिएको थिएँ म। आफैँ। र, आफैँतिर हात बढाएर कुटिल भावमा सोधिरहेको थिएँ, 'हाउ आर यु माइ डियर?'
त्यही बेला बाहिर अहिल्या फेरि रुन थाली।

No comments:

Post a Comment