Friday, January 3, 2014

Weekly Nepal मा प्रकाशित मेरो अन्तर्वार्ता

म पनि लेखकहरुको भीडमा अलग देखिउँ भन्ने प्रयत्न गछुनयनराज पाण्डे

(weekly Nepalमा सेप्टम्बर २३,२०१३ मा प्रकाशित)

Posted by admin in कला-साहित्य on September 23, 2013 11:56 am / no comments
काठमाडौ ।  २०४४ सालमा  पहिलो उपन्यास नांगो मान्छेको डायरी प्रकाशित गर्ने संघर्षमय लेखकीय जीवनको सबैभन्दा स्मरणीय क्षण कालान्तारसम्म पनि यही लेखकीय जीवनलाई निरन्तरता दिने गहकिलो सोच बोकेर नेपाली साहित्य संसारमा उदाएका थिए लेखक नयनराज पाण्डे। २०७० सालमा आईपुग्दा  आफ्नो कलम झनै बलियो बनाएर साहित्यीक फाटमा दरिएका छन। न्ोपाली साहित्यलाई उकास्न आफ्नो प्रतिभा उत्खनन् गरी साहित्यिक सृजनाको राम्रो फड्को मार्न सफल उलारलुजस्ता चर्चित उपन्यासका लेखक नयनराज पाण्डे आफ्नो छैटों कृति घामकिरीनामक उपन्यास बजारमा लिएर आएका छन्। हसिलो स्वभावका लेखक नयनराजले आफ्नो जीवनको कुनै खास घटनालाई कसरी रोचक र कलात्मक कौशलका साथ औपन्यासिक सुत्रमा आबद्ध गर्न सकिन्छ भन्ने कुरालाई उठाएका छन् घामकिरीमा। २०२३ सालमा काठमाडौमा जन्मिएपनि वाल्यकालदेखि युवावस्थाको उनको समय नेपालगन्जमै बित्यो। त्यसैले उनी आफूलाई नेपालगन्जको वासिन्दाकै रुपमा चिनाउन चाहन्छन। उनका लेखनमा पटकपटक त्यतैको परिवेश आउनुको कारण पनि त्यही भएको उनी बताउँछन्।
नयनराज पाण्डे  घामकिरी बनेर आउनुभएको हो नेपाली साहित्य संसारको भिडमा?
यसपटक विचार र चिन्तनको धरालतलाई नछोडिकनै मनलाई स्वतन्त्र उडान भर्न दिन मन लाग्यो। यसपटक मलाई प्रेमको कथा भन्न मन लाग्यो। तर प्रेमभित्र निहित मानवीय संवेदनाको पनि कुरा गर्न मन लाग्यो। त्यसैले यसपटक मलाई घामकिरी हुन मन लाग्यो।
लेखक नयनराज पाण्डेको छैटौं कृति घामकिरीले पाठकलाई खास के दिन खोजेको छ, मनोरञ्जन, ज्ञान अन्य केहि?
मैले घामकिरीमा के दिन खोजेको भन्दा पनि महत्वपूर्ण कुरा हो, पाठकले यसबाट के लिन्छ, के ग्रहण गर्छ। प्रेमको रुमानी उडान खोज्नेले त्यही भेट्ला, प्रेमभित्र अन्तर्निहित अर्थशास्त्रको खोजी गर्नेले त्यही भेट्ला। मैले भनेको पनि छु, यो प्रेम कथा हो। तर प्रेम कथामात्र होइन। यसमा अरु धेरै कुराहरु पनि छन्। अरु धेरै कुरा पनि भन्न खोजेको छु मैले यसमा। कथालाई नयाँ ढंगले भन्ने प्रयास पनि गरेको छु मैले घामकिरीमा।
छैटौं कृति घामकिरी बजारमा आएको छ, अगाडिका कृतिदेखि अहिलेसम्मको यहाँको कृतिले पाएको प्रतिकृयाले नयनराज पाण्डेलाई के दियो?
मैले साहित्यबाट धेरै कुरा पाएको छु। सबैभन्दा बढी त पाठकहरुको स्नेह पाएको छु। त्यसमा पनि नयाँ पुस्ताका पाठकहरुको स्नेहले त मलाई धनी नै बनाएको छ। सबैभन्दा बढी त मैले आफ्ना किताबहरु मार्फत भन्न खोजेका कुराहरु पाठकसम्म पुगिरहेको छ र उहाँहरुले त्यसलाई सम्मानसाथ ग्रहण गरिरहनु भएको छ। यो भन्दा ठुलो प्राप्ति एउटा लेखकको लागि अरु के नै हुनसक्ला र?
लेखको भिड बढ्दै गैरहेको छ नेपाली साहित्य संसारमा आफु कस्तो लेखक हुँ भन्ने लाग्छ?
हरेक लेखक अरुभन्दा पृथक हुन खोज्छ। म पनि लेखकहरुको भीडमा अलग देखिउँ भन्ने प्रयत्न गर्छु। आफ्ना आख्यानमा कथावाचनको नयाँ तरिका अपनाउँ भन्ने भैरहन्छ मलाई। त्यसैले म निरन्तर आफूभित्र तमाम किसिमको छटपटी पालेको एउटा प्रयोगशील लेखक भन्न रुचाउँछु आफूलाई। तर मैले यो कुरा आफैँले मात्र दावी गरेर हुँदैन। मेरो दावीलाई पाठकहरुले स्वीकार गरिदिएमात्र मेरो वास्तविक परिचय स्थापित हुन्छ।
को बाट मिल्यो लेख्ने प्रेरणा?
मैले लेखनमा कुनै व्यक्ति विशेषको खास किसिमको प्रेरणा भन्दा पनि मैले म बाँचेको समय, परिवेश र परिस्थितिबाट धेरै प्रेरणा पाएको छु। मेरो समय, मेरो कालखण्ड, मेरो परिवेश मेरा सबैभन्दा  महान् गुरु हुन्।
नेपाली पाठक माझमा यहाँलाई आफ्ना कृतिले राम्रो लेखकको रुपमा परिचित गराएको छ, अब यसलाई कायम राख्दै अगाडि बढ्न चुनौती थपिए भन्ने लाग्दैन? कस्ता चुनौती होलान्?
लेखकको लागि हरेक नयाँ लेखनले नयाँ खालको चुनौती थप्दै लैजान्छ। तर म चुनौती स्वीकार्ने लेखक हुँ। म आलोचना सहन सक्ने लेखक हुँ। म आलोचनाबाट रिसाउन्न, हरेक आलोचना मेरा लागि नयाँ सुझाव हो र हरेक सुझाव मेरा लागि चुनौती हो। घामकिरीबाट ममाथि अझ बढ्ता चुनौती थपिएको छ। म आफ्नै विगतको लेखनको शिल्पबाट नयाँ खालको शिल्प र शैलीको दुनियाँमा प्रवेश गरेको छु। म यो प्रवेशलाई मैले अझै सार्थक बनाउने छ।
न्ायनराज पाण्डे कुन  पुस्ताको रोजाईमा बढि? किन?
पछिल्लो समयमा आएर मैले अनुभव गरेको कुरा के हो भने मेरा किताबहरु एकदमै नयाँ तर सचेत पुस्ताले पढिरहेको छ। सामाजिक संजालमार्फत प्राप्त हुने जानकारीको आधारमा मैले यसो भन्न खोजेको हुँ। मेरा आख्यानका बारेमा सबैभन्दा बढी चासो, चिन्ता र सरोकार यही पुस्ताले राखिरहेको छ। त्यसका लागि म उहाँहरुलाई धन्यवाद पनि दिन्छु।
लेखक हुनु भन्दा अगाडि र भैसकेपछि तपाइको जीबनमा के फरक आयो?
त्यस्तो ठुलो फरक केही आएको छैन। आज मेरो सानोतिनो परिचय स्थापित भएको छ। केही पाठकहरुले मलाई चिन्नु हुन्छ। मेरा रचनाहरु पढेर प्रतिक्रियाहरु दिनु हुन्छ। मेरो लेखनले अलिकति भएपनि ध्यानकर्षण गर्न थालेको छ। तर खास कुरा के हो भने, म मेरो जीवनलाई उति सारो परिवर्तन गर्न नचाहने मान्छे हुँ। जमिनको मान्छे हुँ म, जमिन मै रमाउन चाहन्छु र निरन्तर पाठकहरुसित नजिकबाट सम्बाद गरिरहन चाहन्छु।
अगाडि आधा पेटको भरमा लेखक बाचेको हुन्छ भनिन्थ्यो अहिले लेखकको अबस्था कस्तो  ?
यो लेखकको मात्र समस्या हैन। समग्र देश र देशका तमाम जनताहरुको समस्या हो। इमान्दारीपूर्वक दिनभरि श्रम गरेर एकछाक पेटभरि खान नपाउने देश हो यो। त्यस्तोमा लेखक भएकैले विशेष सम्मान र सुविधा खोज्नु जायज पनि हुँदैन। तर म विशुद्ध कलमजीवी मान्छे हुँ। स्वतन्त्र लेखक भएर बाँचिरहेको छु। म यसैमा गर्व गर्छु।
लेखकले नेपाली साहित्यको दायरालाई बढि प्रेममा आधारित कुरामा सीमित बनाए भन्ने गुनासो बढ्न थालेको छ नी?
यो स्थिति पहिले पनि थियो। यही गुनासो पहिले पनि थियो। यो अहिलेको मात्र कुरा कहाँ हो र? पहिला पनि युधीर थापा र प्रकाशको विदले साहित्य बिगारे भन्ने गरिएकै हो। तर के साहित्यको विशिष्ठता र गरिमामा उनीहरुको लेखनले केही फरक पार्योे र? उनीहरुलाई रुचाउने पनि जमात छ। उनीहरुकै पदचिन्हलाई पछ्याएर लेख्न चाहनेहरुको जमात पनि छ र त्यस्तै साहित्य पढ्न चाहनेहरुको जमात पनि छ। समाजमा हरेक खालको लेखन आउनु पर्छ। कसैले सस्पेन्स थि्रलर लेख्छु भन्छ भने लेख्न पाउनु पर्छ। हामीले निषेध गर्नु हुँदैन। यी सबैका बीच चेतनशील र गम्भीर पाठकहरु पनि त हुनुहुन्छ नि। अरुले कस्तो लेख्छ भन्दा पनि मैले कस्तो लेख्ने भन्ने कुरामा हामी सचेत हुनुपर्छ जस्तो लाग्छ।
कुन उमेर समुहको पाठकको संख्या बढि छ भन्ने, यहाँको कुनै अनुमान?
उमेरै त तोक्न सक्दिनँ। तर एकदमै युवापुस्ता अहिलेको सबैभन्दा बलियो पाठक हो। उनीहरुमा हुने पठन संस्कृतिको विकाशबाटै नेपाली साहित्यको विकाशको परिकल्पना गर्न सकिन्छ।
कस्ता साहित्य बढि रुचाईन्छन् नेपाली पाठकमाझ?
वर्तमान समयमा त पाठकहरुले विविधता खोजेजस्तो लागिरहेछ मलाई। उसले घामकिरी पनि पढिरहेछ, लू पनि पढिरहेछ। उलार अचेल खोजिखोजी पढ्न थालिएको छ। ननफिक्सन पनि उत्तिकै पढिँदै छ। पाठकको रुचिको यो विविधता नै पठन संस्कृतिको विकाशको परिचायक हो।
आगामी दिनमा यहाँको लेखन् यात्रा कसरी बढ्छ?
मलाई लाग्छ, मैले आफ्नो सर्वोत्तम कृति अझै लेख्न सकेको छैन। म भविष्यमा त्यस्तो आख्यान लेखनमा सक्रीय हुन चाहन्छु। म आख्यान लेखनमै जीवन बिताउन चाहन्छु।
आफ्ना सृजनाले  नाम र दाम बढी कुन कमायो भन्ने लाग्छ ?
म दुवै पक्षबाट सन्तुष्ट छु।
अन्त्यमा पाठकलाई केही भन्नु छ?
किताब पढ्नु होस्। अरुलाई पढ्न उत्प्रेरित गर्नुहोस्। पढिसकेपछि त्यसबारेमा चर्चा परिचर्चा गर्नु होस्।
प्रस्तुती :  सरस्वती कटुवाल


No comments:

Post a Comment