Saturday, January 14, 2012

‘डिलिट’ नभएका दसैँका सम्झनाहरु



‘डिलिट’ नभएका दसैँका सम्झनाहरु
नयनराज पाण्डे


(नागरिक दैनिकमा २०६७ असोज २३ गते शनिवार प्रकाशित)

म नेपालगन्ज हुँदाको आफ्नो दसैँ सम्झिरहेछु । काठमाण्डौमा दसैँ मनाउन थालेको निकै भयो । त्यसैले बाल्यकालमा नेपालगन्जमा मनाएका दसैँको धमिलो धमिलो सम्झना मात्र बाँकी छ । कतिपय प्रसंगहरु सम्झनाको ‘हार्डडिस्क’बाट ‘डिलिट’ भैसकेका छन् । तिनीहरु कतै अवचेतनको ‘रिसाइकल बीन’मा गएर बसेका होलान् । कुन स्थिति, परिस्थिति र प्रसंगमा ती झल्याँस्स ताजा भएर आउँछन्, हाललाई थाहा छैन । तर पनि केही सम्झनाहरु अक्रमवद्ध किसिमले यतिबेला मस्तिष्कमा सल्बलाइरहेका छन् । तिनै सम्झनाहरुबाट यतिबेला बनिरहेको छ योे कोलाज—अनुभूति ।

हामी दसैँलाई दुई–तीन महिना अघिदेखि पर्खन थाल्थ्यौँ । बुवा स्थानीय मंगलप्रसाद माध्यमिक विधालयको हेडमास्टरीको कामबाट थकित भएर साँझ घर फर्कनु हुन्थ्यो र हामी चारजना सन्तानहरु उहाँको अनुहारतिर टुलुटुलु हेर्न थाल्थ्यौँ । हामीलाई त्यतिबेला लाग्थ्यो, बुवाले हामीहरुको हात समात्नु होस् र तत्कालै हामीलाई दसैँको नयाँ लुगा सिलाइदिनन त्रिभुवन चौकतिर लैजानुहोस् । तर बुवाको क्यालेन्डरमा दसैँ अलिक ढिलो शुरु हुन्थ्यो । मलाई अहिले लाग्छ, बुवाले त्यतिबेला समयमा तलब पाउनु हुन्नथ्यो । तर हाम्रो धैर्यताको सीमा नाघ्न पाउँदैनथ्यो । घटस्थापनाको दुईचार दिनअघि नै बुवाले घोषणा गरेझैँ भन्नु हुन्थ्यो— ‘हिँड, त्रिभुवन चौक जाऊँ । लुगा सिलाउन ।’
मलाई आज पनि लाग्छ, मेरो बाल्यकालको दसैँको त्यही क्षण नै सबैभन्दा सुन्दर क्षण हुन्थ्यो । त्यतिबेलामात्र हामीलाई साँच्चिकै दसैँ आएको आभाष हुन्थ्यो । सायद दुवै छोरालाई कुनै भेदभाव नगर्ने पितासुलभ मनोविज्ञानले काम गरेको हुनुपर्छ त्यतिबेला, त्यसैले दसैँमा बुवाले प्रायः म र भाइलाई एउटै खालको लुगा सिलाइदिनु हुन्थ्यो । बल्ल बल्ल आएको यो क्षण, हामी किन गुनासो गथ्र्यौँ र ?
हामीलाई समयमै टेलरमास्टरले लुगा नसिइदेला भन्ने डर लागिरहन्थ्यो । त्यसैले म बेलाबेलामा त्रिभुवन चौक गएर टेलरमास्टरलाई आफ्नो अनुहार देखाउँथे । ङिच्च हाँस्थे र भन्थे—‘अस्सलाम वालेकुम ।’ सायद ऊ प्रभावित हुन्थ्यो र भन्थ्यो— ‘लुगा पर्सि तयार हुन्छ ।’
तिनताक हामीसित दुईजोर लुगा हुन्थ्यो । एउटा अघिल्लो वर्षको दसैँको र अर्को यसपालिको । प्रायः दुई जोर लुगामा हाम्रो वर्ष बित्थ्यो । तर हामी यसैमा खुशि थियौँ । दसैँमा झण्डै एकहात मोहताको ‘बेल्बटम’ र त्यसपछि चलेको ‘प्यारलल’ पाइन्ट लगाउनु हाम्रालागि गजबकै खुशिको कुरा हुन्थ्यो । त्यो खुशि अहिले जति राम्रो र जति थरीको लुगा लगाउँदा पनि पाइँदैन ।
दसैँभरि बिहानैदेखि बागेश्वरी मन्दिरको लाउडस्पीकरबाट सुरेश वाडेकर र यशुदासका भजनहरु आउन थाल्थे । नेपालगन्जभरि सजिलै सुनिन्थे ती भजनहरु । घटस्थापनाको दिनदेखि नै घरमा आमाको हस्याङफस्याङ बढ्थ्यो । बिहान चारै बजे उहाँ बागेश्वरी मन्दिर जानु हुन्थ्यो । कैलेकाँही हामी पनि आमाका पछि लाग्थ्यौँ । एकाबिहानै मन्दिरमा भक्तजनहरुको घुइँचो लागिसकेको हुन्थ्यो । मन्दिरबाट फर्कँदा आमाले जिलेवी किनिदिनु हुन्थ्यो । वास्तवमा हामी आमाको पछि लाग्ने कारणै त्यही थियो ।
दशहरा शुरु भएपछि बाटामा ठाउँठाउँमा दुर्गामाताका मूर्तिहरु स्थापित गरिएका हुन्थे । कति सजीव लाग्थे ती मूर्तिहरु । भट्टी टोलमा त्यस्तो मूर्ति बनाउने एउटा कलाकार बस्थ्यो । सायद दसैँकै लागि इण्डियाबाट आएको पनि हुनसक्थ्यो । मूर्तिको निर्माण प्रक्रिया मैले त्यहीँ देख्थेँ । बिना श्रृंगार, बिना पोशाकको मूर्ति देख्दा कुरीकुरी पनि लाग्थ्यो । दसहरामा बाटाबाटामा स्थापित गरिएका दुर्गामुर्ति सँगै बनाइएको पन्डालमा रातभरि भजन किर्तन हुन्थ्यो । इण्डियातिरबाट आएका भजन मण्डलीबीच रातभरि भजन गाउने प्रतिस्पर्धा पनि हुन्थ्यो । मलाई लाग्छ, मेरो बाल्यकालको त्यो स्वर्णिम कार्यकालमै शुरु भएको हो हिन्दी सिनेमाका हिट गीतहरुकै लयमा भजनको प्यारोडी गाउने चलन ।
मधेशको दसैँ न हो । दसहराभरि रामलीला हुने नै भयो । महेन्द्रपार्कमा हरेक दिन राति अबेरसम्म रामलीला मन्चन हुन्थ्यो । भारततिरबाटै झिकाइएको हुन्थ्यो रामलीला टोली । राम, सीता र लक्ष्मणलाई देख्दा साह«ै श्रद्धा जाग्थ्यो । कतिपय दर्शकहरु त तिनका चरणस्पर्श पनि गर्थे ।
दशमीको एक–दुई दिनअघिदेखि नै रामलीला मैदानमै रावणको पुतला बनाउने काम शुरु हुन्थ्यो । बाँसका पातला चिर्पटले रावणको अस्थिपन्जर तयार हुन्थ्यो । त्यसमाथि कालो कागज टाँसिन्थ्यो । कैलेकाहीँ म नवमीकै दिन रामलीला मैदानमा पुग्थेँ । र रावणको पुतलाभित्र पस्थेँ । रावणको शरीरभित्र प्रवेश गरेको अनुभूति हुन्थ्यो ।
नेपालगन्जमा हाम्रा नातागोता निकै कम थिए । त्यसैले दसैँको दिन टिका लगाउने काम दुई–तीन घण्टामै सकिन्थ्यो । त्यसपछि म रामलीला मैदानतिर दौडिहाल्थेँ । बाँगेबगियाको रामलीला मैदानमा बिहानैदेखि गाउँगाउँबाट दर्शकहरु ओइरिएर आउँथे । लोकल मिठाइ, पकौडी र बतासाका अस्थायी दुकानहरु स्थापित हुन्थे रामलीला मैदान वरिपरि । लगभग एक–दुई बजेतिर लंका दहन र रावणवधको दृश्य मन्चित हुन्थ्यो । हनुमान बनेको कलाकारले पुच्छरमा आगो लगाएर रंगीचंगी कागज र बाँसद्धारा निर्मित सानो लंका जलाउँथ्यो ।  एक–दुईपल्ट मैले हनुमानको पुच्छर समातेको पनि छु । निकैबेरसम्म रथमा बसेका रामलक्ष्मण र रावणबीच घमासान लडाइँ हुन्थ्यो । ताली र होहल्ला गजबले मच्चिन्थ्यो । अन्तिम दृश्यमा रावण बनेको कलाकार कतै बेपत्ता हुन्थ्यो र त्यसपछि रामलक्ष्मणको रथका अगाडि ल्याइन्थ्यो चालिस–पचास फिट अग्लो कागजको रावण । त्यसमा अरु सानासाना टाउका पनि गाँसिएका हुन्थे । मुख र आँखामा रातो कागज टाँसिएको हुन्थ्यो । कति डरलाग्दो देखिन्थ्यो त्यो रावण ।
एकैछिनपछि राम र लक्ष्मणले वाणको टुप्पोमा आगो सल्काउन थाल्थे । र नजिकै उभिएको त्यो अजंगको रावणको निर्जीव पुतलातिर बहादुरीसाथ ती वाणहरु प्रहार गर्थे । राम र लक्ष्मणको निशाना प्रायः गलत लाग्थ्यो । त्यसैले कतिपय वाणहरु रावणलाईं नलागेर दर्शकतिर खस्थे । भागाभाग हुन्थ्यो । रामलीला सकिएपछि मैदानमा यत्रतत्र दर्जनौँ चुँडिएका चप्पलहरु देखिन्थे ।
अन्ततः रावणको त्यो अजंगको पुतला सल्किन्थ्यो । पुतलाको भित्री भागमा राखिएका सयौँ पटकाहरु पड्किन थाल्थे । रामलक्ष्मणको जयजयकार मच्चिन्थ्यो । भीषण आगो बल्थ्यो र अनि बल्दाबल्दैको रावण लाचार भएर ढल्थ्यो । दर्शकहरु रावणको शरीरमा जल्न बाँकी कागजहरु लिन दौडादौड गर्थे । त्यो कागजको जन्तर बनाएर लगाएमा फलिफाप हुन्छ भन्थे । एकपटक मैले पनि एउटा सानो टुक्रा हात पार्न सफल भएको थिएँ । तिहारपछि स्कूल खुलेपछि मैले धेरैलाई त्यो कागजको टुक्रो देखाएको थिएँ । साथीहरु जिल्ल परे । तिनीहरुको नजरमा केही दिन म एउटा बहादुर बालक भएको थिएँ, जसले हजारौँको भीँडमा पसेर त्यो कागजको टुक्रा लिन सफल भएको थियो ।
स्कूलमा मेरा धेरै साथीहरु कर्मचारीका छोराहरु थिए । दसैँ विदा सुरु हुनासाथ तिनीहरुले नेपालगन्ज छाडिसकेका हुन्थे । साथीहरुको सानो समुह बाँकी रहन्थ्यो । सुवर्ण, दिनेश, सुनिल, जय, विजय, निर्मल र राजेन्द्र । हामी प्रायः यति बाँकी रहन्थ्यौँ । जय र विजय त फुलपाति लागेपछि बर्दियाको आफ्नो गाउँतिर लाग्थे । त्यसपछि दसैँको रौनक केही कम भएको हो कि जस्तो लाग्थ्यो । घरमा तास खेल्न मनाही थियो । त्यसैले कुनै बहानामा म साइकल चलाएर बाँके बयिया पुग्थेँ ।  सुवर्ण र दिनेशको घरमा । दिनभरि त्यहीँ तास खेल्थेँ । प्रायः हार्थेँ । एक साल जितेको थिएँ । सायद चालिस पचास रुपियाँ । त्यो पैसाले मैले ‘चिल्डेन्स नलेज बैँक’को चार खण्ड किनेको थिएँ । एउटा ‘हण्डे«ड वन म्याजिक ट्रिक्स’ भन्ने किताब पनि किनेको थिएँ । त्यसपछि म सानोतिनो जादूगर पनि भएँ । म बोक्रै नताछी केराको गुदीलाई टुक्रा टुक्रा पार्न सक्थेँ । हाते रुमालमा सलाईको काँटी बेर्थेँ । काँटी भाँच्न लगाउँथे र तत्काल काँटी जस्ताको तस्तै देखाइदिन्थे । त्यसमा बक्सामा राखिएको मानिस कसरी दुई टुक्रा पारेर काटिन्छ र हात्ति कसरी गायब पार्न सकिन्छ भनेर पनि सिकाइएको थियो । म बाहेक ती जादू अरुले नसिकुन भनेर मैले धेरै समयसम्म त्यो किताब लुकाएर राखेको थिएँ ।
अष्टमिमा घरमा कुलदेवतालाई बोको बलि दिने चलन थियो । बलि दिने बोको हामीकहाँ कैलेकाहीँ महिनादिनअघि नै पनि आइसकेको हुन्थ्यो । हामीलाई बोकोको लागि घाँस खोज्ने चटारो हुन्थ्यो । सायद दाना बढी ख्वाएर होला कैलेकाहीँ बोकोलाई छेरपटी लाग्थ्यो । हामी डराउँथ्यौँ । अष्टमिसम्म बोको मरि पो हाल्ने हो कि । त्यसपछि बुवाले भेटनरीबाट औषधि किनेर ल्याएको र बोकाको मुख बजफ्ती खोलेर औषधि ख्वाएको पनि अलिअलि सम्झना छ ।
बलिकै प्रसंग । बोकोलाई मार हान्न बुवाको स्कूलको राधे भन्ने पियन आउँथ्यो । बुवा त्यतिन्जेल पूजामा बसिसक्नुुहुन्थ्यो । एकपटक बोको छिनाउने क्रममा बोकोको टाउकोतिर डोरी समातिदिने कोही भएन । मैले समात्नु पर्यो । होस हवासै हरायो । मैले काम्दै बोकोतिर नफर्किएर हात कम्मरपछाडि लगेरे दाम्लो समातेँ । राधेले खुकुरी उज्यायो । ठीक मार हान्ने बेलामा मेरो हातबाट दाम्लो फुत्कियो । गर्दनमा हान्नु पर्ने खुकुरी अन्तै लाग्यो । बोको छट्पटाउन थाल्यो । टाढा बसेर हेरिरहेको भाइ तर्सिएर रुन थाल्यो । मैले कुलेलम ठोकेँ । राधेले चार–पाँच पटकमा बल्ल बल्ल बोकोको गर्दन छिनालेछ । पूजाकोठाबाट बुवाले पनि बोकोको आर्तनाद सुन्नु भएछ । बुवालाई नरमाइलो लागेछ । अपसगुन हुन्छ भन्ने डर पनि भयो । त्यसपछि बुवाले घोषणा गर्नु भयो, अबदेखि बोकाको बलि नदिने । त्यसपछि हामीले दसैँमा पनि हलाल गरेको मासु खान थाल्यौँ । बुवाले कुलदेवतालाई कुविन्डोको बलि दिन थाल्नु भयो ।
अष्टमिको दिन बागेश्वरी मन्दिर रगतको आहाल बनेको हुन्थ्यो । हजारौँको संख्यामा बोकाहरुको बलि दिइन्थ्यो । म मार हानेको दृश्य हेर्न सक्दैनथे । तर बागेश्वरी मन्दिरनजिकैको घरबारी टोलमा बस्ने मेरो एउटा साथी भने बिहानैदेखि बडेमानको खुकुरी लिएर बागेश्वरी मन्दिरमा बसेको हुन्थ्यो । उसले दर्जनौँ बोकालाई ढालेको भन्ने हल्ला सुनिन्थ्यो । मेरो स्मृतिले धोका दिएको होइन भने, दर्जनौँ बोकालाई मार हालेर ढाल्ने त्यो बहादुर साथी अहिले नेपाली रंगमंचको नामूद अभिनेता भैसकेको छ । एकपल्ट अपुष्ट हल्ला चल्यो । साथीले मार त हान्यो तर निशाना गलत भयो । बोको ढाडबाट छिनियो ।
दसैँभरिमा मलाई मन नपर्ने अष्टमि । बुवाले त्यो दिन बिहानैदेखि पूजा थाल्नु हुन्थ्यो । त्यो पूजा दिउँसो दुई तीन बजेसम्म चल्थ्यो । त्यतिन्जेल आमाले मासुका विविध परिकारहरु पकाइसक्नुुहुन्थ्यो । हामी भोकले रन्थनिसकेका हुन्थ्यौँ । तर समस्या, पूजा नसकी खान पाइँदैनथ्यो । हामी दिनभरि नै भोकै बस्नु पथ्र्यो । मैले भने कैलेकाहीँ कुनै बहानामा घरबाट निस्कन्थेँ र त्रिभुवन चौकको मिठाइपसलमा पसेर टन्न दही र जिलेवी खान्थेँ । घरमा चार–पाँच बजेतिर बल्ल खान पाइन्थ्यो । त्यतिन्जेल ‘आज त एक किलो मासु नखाइ छाड्दिन’ जस्तो लाग्थ्यो । के सकिन्थ्यो ? अलिकति खाँदैमा अमन्य भैहाल्थ्यो । तर एउटा कुरा भन्नै पर्छ । श्रीमती रिसाए पनि । आमाले पकाएको जस्तो मीठो मासु मैले त्यसपछि कैले पनि खान पाएको छैन । आमाको हातले पकाएको सबै कुरा मीठो । सायद बाल्यकालमा खाएका खानेकुराका स्वादहरु आजीवन जिब्रोमा बसिरहन्छन् । कसले भन्छ, जिब्रोमा मेमोरी पावर हुँदैन ? जे होस्, त्यो दिन हामीलाई बुवाले बोकाको राजखानी पनि खान दिनुहुन्थ्यो । नारीहरुका लागि त्यो निसिद्ध थियो । त्यो दिन हामीलाई पुरुष भएर जन्मिएकोमा गजपको गर्व महसूस हुन्थ्यो ।
दसैँमा म खोप्पी पनि खूब खेल्थेँ । हाम्रो घरनेरकै जय र विजयको घरमा गएर । हाम्रो टोलमा तिनताक एकजना दादा थिए । नाम त तिनको ईश्वर थियो, तर हाम्रालागि ती दानवभन्दा कम थिएनन् । टोलभरि उनको आतंक थियो । हामीहरु खोप्पी खेल्दा कताकताबाट उनी पनि आइपुग्थे । हामीले भाग्न पाउँदैनथ्यौँ । उनीसित खोप्पी खेल्नै पथ्र्यो । हामी नहारुन्जेल उनीसित खोप्पी खेलिरहनु पथ्यो । दसैँमा मलाई त्यतिबेला त्यो क्षण सबैभन्दा नरमाइलो लाग्थ्यो । हामी त्यो दादासित भरिसक्के जोगिन्थ्यौँ ।
तर त्यो दादा अचेल भलादमी भैसक्नु भएको छ । अचेल हामी कोही पनि उहाँसित डराउँदैनौँ । कैलेकाहीँ भेट हुन्छ । भेटेपिच्छे भन्नुहुन्छ—‘कुन सिनेमा बनाउँदैछौ ? मलाई नखेलाउने ? तर हिरोइनको रेप गर्ने सिन दिनुपर्छ । बाउको रोल भएपनि हुन्छ । तर हिरोइनलाई अँगालो मार्ने सिन हुनैपर्छ ।’
टिकाको दिन बिहान बुवाले हामी सबै छोराछोरीलाई नयाँ नोटहरु दिनु हुन्थ्यो । एकएक, दुईदुई र केही पाँचपाँचका नोटहरु । कसैलाई टिका लगाएर दिनका लागि । तर मैले कसैलाई दिन्नथेँ । नेपालगन्जमा हामी दाजुभाइले कसैबाट दक्षिणा पाउँदैनथ्यौँ । दिदी र बहिनीले दक्षिण गन्दा त्यतिबेला काठमाण्डौमा मामाघर जाऊँजाऊँ लाग्थ्यो । त्यसैले बुवाले दिएका  नोटहरु मैले जोगाएर नराखी सुखै थिएन । त्यही पैसाले त पूर्णिमाका दिनसम्म दिनेशको घरमा गएर तास खेल्नु पथ्र्यो ।
दसैँ र तिहारबीचमा एक महिना स्कूल विदा हुन्थ्यो । होमवर्क पनि टन्नै हुन्थ्यो । तिहार लाग्न थालेपछि होमवर्कको चिन्ताले सताउँथ्यो । होमवर्क प्रायः अधुरो हुन्थ्यो । अधुरो होमवर्क देखाउँदा शिक्षकबाट पिटाइखाइने डर प्रशस्त हुन्थ्यो । तर पनि तिहारपछि स्कूल खुलेको पहिलो दि म स्कूल अवस्य जान्थे । पढ्ने रहरले हैन, साथीहरुलाई दसैँको लुगा देखाउन । टाढा गएका विधार्थीहरु केही दिन ढिलो नेपालगन्ज फर्किने भएकोले स्कूलमा खुलेको एक–दुई दिन खासै पढाइ हुँदैनथ्यो । सरहरुले होमवर्क पनि हेर्दैनथे । तर तेस्रो चौथो दिनपछि त मैले नभागी सुखै पाउँदैनथेँ । दसैँको केही पैसा अझै बाँकी हुन्थ्यो । त्यही पैसाले लक्ष्मी चित्र मन्दिरमा थर्ड क्लासमा बसेर मेटनी सो सिनेमा हेर्थेँ ।
केटाकेटीमा मनाएको दसैँको स्मृति कति सुन्दर ? तर कस्तो विडम्बना, कम्युटरको यो युगमा पनि हामी ती स्मृतिहरुलाई विगतबाट ‘कट्’ वा ‘कपी’ गरेर वर्तमानमा ‘पेस्ट’ गर्न सक्दैनौँ । माइक्रोसफ्टका विल गेटस् दाइसित आसा राखेको छु । निकट भविष्यमा केही चमत्कार गरि पो हाल्छन् कि ? अनि त सारा स्मृतिलाई ओल्टाइपल्टाइ हेरिरहन हुन्थ्यो । एलबमका पानाहरु जस्तै ।

No comments:

Post a Comment