गैर कम्युनिष्ट वामपन्थ
(राजधानी दैनिक मा २०६९ असार ३० गते शनिवार प्रकाशित)
-पदम गौतम
नयनराज पाण्डे स्थापित,चर्चित र लोकप्रिय लेखक तथा विचारक हुन् भन्दा फरक पर्दैन । तर उनको बारे लेख्न सुरु गर्दा यो पंक्तिकारलाई फरक सन्दर्भबाट सुरु गर्न मन लाग्यो । त्यो हो–साहित्यमाथिको विचार,घुलमिल,उठबस र लेखनधर्मिताका हिसाबले उनमा देखिने बामपन्थ । त्यस दृष्टिले उनलाई वामपन्थी कित्ताका लेखकमा नै राखिदिए हुन्छ । तर वास्तविकतामा भने त्यस्तो गरिहाल्न मिल्दैन । किनभने उनी प्रजातान्त्रिक खेमा भनिने विचारसँग निकट छन् ।
आफ्नो विचार र लेखन प्रतिबद्धताबारे उनी निकै स्पष्ट देखिए सिर्जनामाजस्तै विचारमा पनि । पंक्तिकारसँग राजनीतिक बिषयमा कुराकानी हुँदा उनले भने,‘म कसैको कार्यकर्ता होइन । तर हरेक लेखक आम मान्छे र समाजप्रति उत्तरदायी हुनुपर्छ ।’
वास्तवमा एक दशकअघिसम्म पनि आम मान्छे र जनताका पीडा र दुखको कुरा गर्ने मान्छे वामपन्थी मात्र हुन्छन् भन्ने मान्यता थियो । खास गरी निजी कुण्ठा,यौन र अन्य हलुका बिषय मात्रै प्रजातान्त्रिक धारका लेखकले लेख्नुपर्छ भन्ने हल्लाकै पछि स्थापित लेखकहरु पनि दौडिएका हुन्थे । पाण्डे आफ्नो विचार र विगत मिसाउँदै भन्छन्,‘ समाजलाई बिर्सिएर लेख्नु हुँदैन भन्ने मेरो सुरुदेखिकै मान्यता थियो ।’ पंक्तिकारको साहित्यलाई माक्र्सवादीहरुले हेने दृष्टिकोणसँग सहमत हुनुहुन्छ ? भन्ने प्रश्नमा पाण्डेले बीचभन्दा अर्को किनारा नजिक पुग्दै भने,‘लेखक समाजसँग निरपेक्ष बस्नु हुँदैन । साहित्यले तत्कालै समाज परिवर्तन नगर्ला तर त्यसको पनि प्रभाव छ ।राजनीतिको उद्देश्य पनि समाज परिवर्तन नै हो तर यी दुईबीच फरक चाहिँ छ ।’
पाण्डेको संलग्नता र योगदान अन्य क्षेत्रमा पनि छ । तै पनि उनी ती छेउछाउका काम छाडेर अहिले साहित्य लेखन र त्यसलाई नै आर्जनको बाटो बनाइरहेका छन् । करिब २४ बर्षअघि नेपालगञ्जबाट काठमाडौं आएर बसेका लेखक पाण्डे हालै लू नामक उपन्यासका कारण चर्चित छन् । त्यस पुस्तकमा उनले ल्याएका इलैया पात्रले नेपाली जनतालाई दुख दिने भारतीय नेतालाई गोली हानेको बिद्रोह र अर्को एउटा पात्रले भारतको झण्डाको कट्टु बनाएको सन्दर्भमा उनी राजनीतिप्रति निकै सचेत र स्पस्ट लाग्छन् । त्यस्तै अन्तिममा टुटे पण्डितले लेखकलाई पठाएको पत्रमा मध्यपश्चिम तराईको पत्थरपुरवा भारतको उत्तरप्रदेशमा सारिएको हृदय बिदारक कथा छ । यिनै सन्दर्भले यस उपन्यासलाई व्यवस्थित बिद्रोह चेत नभए पनि क्रन्तिकारी र राष्ट्रवादी उपन्यास भन्न सकिन्छ ।
डेढ दशकअघि प्रकाशित उपन्यास उलारलाई पाठकले निकै मन पराए पनि तत्कालीन समयमा हुने प्रकाशन संस्थाको समस्या र किताब किनेर नपढ्ने बानीका कारण उनी पीडित भए । भन्छन्,‘किताब निकालेर साथीभाइलाई बाँड्नु नै ठूलो कुरो हुन्थ्यो , त्यो किताबको दोस्रो संस्करणदेखि बल्ल मैले रोयल्टी पाएँ ।’ प्रविधि,शिक्षा र मिडियाका कारण आएको परिवर्तनलाई नजिकबाट नियालेका लेखक पाण्डे अहिलेको लेखन र समयबारे भन्छन्,‘लेखेरै बाँचीहाल्ने अवस्था भन्दा पनि त्यसको हलुका आधार तयार भएको छ अब भन्न सकिन्छ । लेखनको भविष्य चाहिँ सुन्दर छ ।’ कुराकानीका सन्दर्भमा प्रविधिको विकाससँगै आएका सामाजिक सञ्जाल र शिक्षित वर्गमा तिनको प्रभाव तथा साहित्यलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तनमा उनी निकै खुसी देखिए । भने,‘ हामीले त्यो बेला यति सकारात्मक अवस्था पनि आउला भन्ने कल्पनासमेत गरेका थिएनौं ।’
२०३९ सालमा रुपरेखा पत्रिकामा कविता छापेर लेखन यात्रा सुरु गरेका यी आख्यानकार कवि पनि हुन् । आफू अझै पनि कविता लेखिरहेको तर कविता छापौं भनेर कसैले अनुरोध नगरेको र आफैंले पनि पहल गरेर नदिएको कारण ‘कवि’ को छवीबाट टाढै रहेको बताउँछन् । पाण्डेले अहिलेसम्म साहित्यको मूलधारमा नांगो मान्छेको डायरी,उलार,बिक्रमादित्य एउटा कथा सुन ,अतिरिक्त र लू उपन्यास प्रकाशित छन् । त्यस्तै उनका खोरभित्र जोकर र निदाएँ जगदम्बा कथा संग्रह पनि प्रकाशित छन् । निदाएँ जगदम्बा त अझ बिक्रीभन्दा पनि पाठकले निकै मन पराएको कथा संग्रह हो । स्थापित र सर्व प्रशंसित लेखकका हिसाबले उनले विश्व साहित्यमा नेपाली स्तर साहित्यको स्तरका बिषयमा कस्तो धारणा बनाएका रहेछन् त ? उनले यस बिषयमा भने,‘हामी पनि विश्वकै एक भाग हौं । साहित्यको कुनै मानक नहुने हुँदा यसको जवाफ पनि सजिलो छैन । तर पाण्डेले ‘युनिभर्सल अपील’ भन्ने वस्तुका कारण राम्रो तत्वले अरु सबैलाई प्रभाव पार्ने उनले बताए । भने,‘हामी त्यति कमजोर चाहिँ छैनौ भन्ने मलाई लाग्छ ।’
पाण्डे कथाकार र उपन्यासकार मात्र होइनन् उनी धेरै र राम्रा चलचित्र लेखक पनि हुन् । “निर्मोही” ठूलो पर्दाको फिल्म र “मसान” नाटकको टेलिफिल्म निर्देशक पाण्डेले दर्जर्नौं स्मरणयोग्य टेलिफिल्मको पटकथा लेखेका छन् । बिगतमा एक समयमा त उनको पेशा नै यही थियो भन्दा पनि हुन्छ । अहिले त्यो कामबाट केही टाढा भएका पाण्डे त्यही कामले काठमाडौंमा घर बनाएको स्वीकार्छन् । ‘यति लेख्थेँ कि भन्दा पनि साथीहरुले नपत्याउलान् जस्तो ।’ एकताका पत्रकारितामा संलग्न समेत भएका वकील पाण्डेले भने । उनी वकील पनि अध्ययन र लाइसेन्सले मात्र बनेका रहेछन् । भन्छन्,‘बीएल पढे पनि एउटा तमसुक पनि लेखिएन जीवनमा ।’
गत साताको झरिलो काठमाडौंको एक मध्यान्ह हामी प्रकाशक संस्था संग्रिलाको स्टलबाट भृकुटीमण्डपको खुला चौर छेउको चिया पसलमा गफिएका थियौं । कुराकानी सकिएपछि हामीलाई पानीले केही बेर रोक्यो । तर हामी एक अर्काबीच औपचारिक पनि थिएनौं । त्यसैले हामी अनौपचारिक कुराकानी तिर मोडियौं ।
Daju,Thnx
ReplyDelete