Sunday, July 29, 2012

लू उपन्यासको अध्ययन-


लू उपन्यासको अध्ययन

– लक्ष्मीशरण अधिकारी (पिएच्.डी.)

१. लू उपन्यासको वस्तुसार

इलैया राप्ती नदीमा डुबेर बेपत्ता भएको हल्ला गाउँभरि फैलिन्छ । इलैयाले गाउँका साथीभाइलाई थर्काएर राखेको हुन्छ । नामुद गोताखोर झिकाएर खोज्दा पनि इलैयाको लाश फेला नपरेपछि उसलाई पानीभूतले निल्यो होला भन्ने निष्कर्षमा समाज पुग्छ र कुशको इलैया बनाएर माटामा पुर्ने काम हुन्छ । तेह्रौं दिनका दिन इलैयाका बाउआमा (नन्दु र हरदेई) ले परम्पराअनुसार गाउँलेलाई दालभात खुवाउँदै गर्दा इलैया टुप्लुक्क आइपुग्छ ।

दश वर्षकै उमेरमा इलैयाले उरन्ठेउला गतिविधि गर्छ । नन्दुले इलैयालाई विद्यालयमा भर्ना गर्छ तर ऊ विद्यालयको अनुशासनमा बस्तैन । इलैयाले रामलीलामा सीताको भूमिका खेल्नेसित आसक्ति देखाउँछ तर रावणको कुटाइ खाएपछि उसको एकोहोरो प्रेम प्रकरण समाप्त हुन्छ ।

भिखारी आफ्नो छोरो बजरङ्गीलाई नेताको चर्पी सफा गर्ने परम्परागत काममा नलगाएर नेताका हातमा सुम्पिन्छि । नेताले दया गरी झन्डा समातेर दौडने काम दिन्छ । इलैयाले सिनेमाको कथाबाट प्रभावित भएर आमालाई टीका किनेर ल्याउँछ तर जङ्गल गएकी आमा सर्पले डसेर मर्छे । इलैयाको बाबु नन्दुले चमेली नाम गरेकी महिलासँग दोस्रो बिहे गर्छ र घर ल्याउँछ । इलैयाले आमाका रूपमा चमेलीलाई अस्वीकार गर्छ र उधुम मच्चाउँछ । नन्दु पत्नी लिएर गृहत्याग गर्छ । इलैयाले मुसलमान तरुनी नुसरतमा आफ्नी आमा हरदेईको प्रतिबिम्ब देख्छ र एकोहोरो प्रेम गर्छ । उसले नुसरतसित गाँसिएका विगतका कुरा सम्झिन्छ र ऊप्रति एकोहोरिन्छ तर चाहेर पनि नुसरतसँग मनको इच्छा व्यक्त गर्न सक्तैन । नुसरतलाई प्रभावमा पार्न गोबरीले हातपात गर्दा पनि गान्धी भएर थापिन्छ । गोबरीले बच्ची बेच्न खोज्दा रोक्ने असफल प्रयत्न गर्छ ।





पत्थरपुरवाको उपेक्षित र बाँझो कुनामा गुजरा गरेर बसेकी कमलाका आमाछोरीलाई इलैयाले विजयलालको पाँच सय रूपैयाँको लोभमा परेर गाउँबाट धपाइदिन्छ । रामलालले मुसलमान केटीलाई भगाएर बिहे गरेपछि नुसरत मुसलमान भएको विषयमा इलैया चिन्तामुक्त हुन्छ । डाँकाहरूले लुटपाट मच्चाउँदा इलैयाले मतलव राख्दैन । उनीहरूले नुसरतको इज्जत समेत लुटे भन्ने थाहा पाएपछि पछुताउँछ । डाकाहरूले धनमाल र छोरीको इज्जतसमेत लुटेका हुँदा अनवरको घरमा रुवाबासी चल्छ । नानपारामा बस्ने आसिफसित नुसरतको बिहे हुने कुराले अनवर र उसका परिवारमा खुशीका भावहरू छचल्किन्छन् । नेपालमा द्वन्द्व सुरु भएपछि मन्त्री जिल्ला दौडाहा कम हुन थालेकोले बजरङ्गीले भारतमा बस्ने शम्भुरामसित हिमचिम बढाउँछ । भारतले लक्ष्मणपुरमा बनाएको कलकलवा तटबन्धले गर्दा नालाहरू थुनिएर पत्थरपुरवा गाउँ डुब्छ ।
आसिफले बिहे नगर्ने सन्देश दिएपछि नुसरत तनाबमा पर्छे । टुटे पण्डितले इलैयाले बिहे नगरेकामा उसको पुरुषत्वमाथि शङ्का गर्छ । भारतीय सब इन्स्पेक्टर अमरपाल सिंहले नुसरतको बलात्कार भएका विषयमा उत्सुकता देखाउँदै छेडछाड गर्छ । चमेली नन्दु बिरामी परेको र छोरो भेट्न खोजेको खबर ल्याउँछे तर इलैयाले उसका कुरा सुन्दैन । महेशरको छोरो जागेशरले जुम्लीलाई रूपडियामा एसएसबीले दुःख दिएको देखेर विरोध गर्छ तर ऊ बेपत्ता पारिन्छ । महेशरको खेत भारतीयले जोत्छन् । नेपालका नेतासँग उसले गुहार माग्छ तर उनीहरूले कुनै सहयोग गर्दैनन् । उसले आफ्नी छोरी भारतमा बिहे गरेर नदिने निर्णय सुनाउँछ । नन्दु मरेपछि चमेलीले घरजग्गाको पुर्जा र गहनाहरू इलैयालाई फिर्ता दिन्छे ।
यता करिम र नुसरतबीच लगाब बढ्छ । इलैयाले नुसरतलाई मन पराएको कुरा सीधै भन्न नसकेर देवकीलाई भन्छ । देवकी इलैयाको प्रेम सन्देश बोकेर नुसरतलाई भेट्छे । नुसरत इलैयाको व्यवहार सानैदेखि हरामी रहेको बताउँदै ऊप्रतिको घृणा यथावत् रहेको जवाफ दिन्छे । रक्सीले मातेर गाउँमा ज्यादती गर्ने अमरपाल सिंह लगायतका व्यक्तिलाई महेशरले पाता कसेर चौकीमा पु¥याउँछ । नेपाल प्रहरीका गाडी प्रयोग गरेर र नेपालगन्जका रामप्रसाद पौडेल जस्ता नेताको सहयोग लिई महेशरको अपहरण गर्छन् । दया सिंह अध्यक्ष रहेको स्वराज मुक्ति मोर्चा, नेपाल नामक भूमिगत सङ्गठनले महेशरको हत्याको जिम्मा लिन्छ । देवकीमार्फत नुसरतले करिमलाई मन पराएको थाहा पाएपछि इलैया करिमलाई अश्लील शब्दमा गाली गर्छ र हातपातसमेत गर्छ । करिम साइकल किन्ने हैसियत नहुनाले नुसरतलाई भगाउन सक्तैन । करिमका बाआमा सबै जग्गा भारतमा गाभिएपछि ऊ सानो हुँदै आत्महत्या गरेका हुन्छन् ।
रेडियोलालकी पत्नी कविता मुसलमानसँग पोइला जान्छे । बृजलालले किनेर ल्याएको चिल्लो माटामा मलमुत्र त्याग गरेर अपवित्र पारिन्छ । अमरपाल सिंह र शम्भुरामबाट धोका पाएपछि बजरङ्गीले भारतको झण्डालाई कट्टु बनाएर लगाउँछ । उसले नुसरतको बलात्कार गर्ने र स्वराज मुक्ति मोर्चा सङ्गठन खोल्ने शम्भुराम हो भनी पोल खोल्छ । लामो खडेरी पर्नाले पत्थरपुरवाका बासिन्दा गोरु र छोराछोरी बेच्छन् । रामनामी गम्छा बेरेका भारतीय अतिवादीहरू मुसलमानले दुर्गा माताको मूर्ति बनाउने माटो अपवित्र तुल्याए भनी पत्थरपुरवाका बािसन्दालाई अतङ्कित पार्छन् । गाउँलेहरू नेपालगन्जको नेता असगर अलीको शरणमा जान्छन् तर ऊ शम्भुरामलाई मासु र रक्सी खुवाइरहेको देखेपछि निराश भई गाउँ फर्किन्छन् । हिन्दू अतिवादीको आतङ्कबाट पत्थरपुरवामा भाग दौड मच्चिन्छ । शिवकुमारीले अनवर परिवारलाई मुसल्टे भनी होच्याएकी भए पनि अतिवादीहरूको आक्रमणबाट जोगाउने यत्न गर्छे ।
मुसलमान रहिमको घर जलाइन्छ । शम्भुरामका गुण्डाले मुसलमानसँग प्रतिशोध लिन खोजेकाले करिमलाई भाग्ने सुझाब बजरङ्गी र बृजलालले दिन्छन् । मुसलमान अनवरको परिवार पत्थरपुरवाबाट पलायन हुन्छ । त्यहाँका स्थानीय हिन्दू दुःखी हुन्छन् । इलैया आमा र नुसरतको कल्पनामा डुब्छ । रेडियोलालले इलैयालाई मुसलमान विरुद्ध भड्काउन खोज्छ तर इलैया निस्पृह बन्छ । इलैयाले नुसरतलाई प्राप्त गर्ने आशा त्याग्छ । करिमले नुसरतलाई नयाँ साइकलमा राखेर नेपालगञ्ज लैजान्छ । नुसरत इलैया हराम हो, करिम देवदूत हो भन्छे । उपन्यासकार भूमिकामा आउने पात्रलाई पनि कथानकमै घोल्छन् । करिम नयाँ साइकल उपलब्ध गराएकामा इलैयाप्रति कृतज्ञ हुन्छ । पत्थरपुरवा गाउँ अहिले भारतको उत्तरप्रदेशमा गाभिएको भनेर उपन्यासकारको कथा टुङ्ग्याइएको छ ।

२. लू उपन्यासको समीक्षा
यसमा लू (२०६८) उपन्यासका केही पक्षको अध्ययन गरिएको छ । यसका सर्जक नयनराज पाण्डे हुन् । लू उपन्यासले सीमाक्षेत्रका बासिन्दाले झेल्नु परेका आर्थिक, सांस्कृतिक, सामाजिक गतिविधिको सूक्ष्म अवलोकन गरेको छ ।
उपन्यासको शीर्षक साङ्केतिक छ । लूको अर्थ गर्मी प्रदेशमा चल्ने तातो हावा, तातो हावाको प्रवाह वा धार हो । उपन्यासको सम्पूर्ण संरचना लू (उग्र प्रवाह) केन्द्रित छ । लूको प्रवाहले पत्थरपुरवा आतङ्कित छ । सीमापारिको हेपाइ उग्र छ । इलैयाको छुकुछुके र आवेगी व्यवहार उग्र छ । समयमा वर्षा नभएर वातावरण उग्र छ । गरिबी उग्र छ । सीमावारिका धुपौरे नेताहरूको अवसरवादी व्यवहार उग्र छ । गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि उग्र छ । प्राकृतिक प्रकोप उग्र छ । अल्पसङ्ख्यक मुसलमानमाथि हेपाइ र दमन उग्र छ । भारतीय चटकेहरूका हातमा नाबालिका बाख्राभन्दा सस्तोमा बेचिने परम्परा उग्र छ । भौतिक, सांस्कृतिक, आर्थिक सबै दृष्टिले पत्थरपुरवा (सीमा क्षेत्र) का बासिन्दाको मन तातेको छ । धेरै पक्ष समेटेको हुँदा शीर्षक अनेक कोणबाट सार्थक र उपयुक्त छ ।
यस उपन्यासका उग्र पात्रहरूमध्ये इलैया केन्द्रका रूपमा स्थापित छ र यो पात्रसँग अन्य पात्रहरू कुनै न कुनै रूपमा जोडिएका छन् । पत्थरपुरवा गाउँका सुखदुःख, उन्नति–अवनति, उज्यालो–अँध्यारोको उद्घाटन गर्दा इलैया सन्दर्भित प्रस्तुति छ, जस्तै– इलैयाकी आमा ऊसँग झगडा गरेर जङ्गल जानु र सर्पले डसेर मर्नु, इलैयाले पिताको दोस्रो बिहे अस्वीकार गर्नु र उधुम मच्चाउनु, इलैयाले देवकी र नुसरतलाई खाजा खुवाएर पैसा नतिरी भाग्नु, रेडियोलाल, बजरङ्गी, बृजलाल, करिम लगायतका छिमेकी साथीलाई कुटपिट गरेर कब्जामा लिनु, नुसरतलाई प्रेम गर्नु र उसलाई अपनाउन अनेक यत्न गर्नु, कमलाका आमाछोरीलाई गाउँबाट लखेट्नु, सीमापारिको खल पात्र शम्भुरामलाई गोली हान्नु, गोबरीले बच्चीहरू बेच्दा रोक्न खोज्नु लगायतका सन्दर्भ इलैयासँग ठोक्किएका छन् । इलैयाले नुसरतलाई पिछा गर्न छाडेपछि उपन्यास अन्त्यतिर सोहोरिएको छ ।
उपन्यासले एउटा सिङ्गो गाउँ (पत्थरपुरवा) लाई समेटेको हुँदा यसको कथानकको आयाम विस्तृत फलकमा फिँजिएको छ । उपन्यास २५६ पृष्ठ र ५६ परिच्छेदमा विस्तारित छ । समयका दृष्टिबाट यो उपन्यास इलैयाको बाल्यकाल (१० वर्ष) मा प्रारम्भ हुन्छ र उसको युवाकाल (२०–२५ वर्ष) मा पुगेर समाप्त हुन्छ ।
यस उपन्यासमा थुप्रै पात्रका कथा (नन्दु र हरदेई, रेडियोलाल र कविता, नुसरत र करिम, बजरङ्गी र दुर्गा, बृजलाल, टुटे पण्डित, देवकी र अजय, महेशर, जागेशर आदि) भए पनि इलैया सन्दर्भित प्रस्तुति केही बढी छ र यसैबाट कथानकको एकतापूर्ण संयोजन हुन गएको छ । पात्रहरूको विपुलताका कारण यसको कथानक धेरै ठाउँमा घुमेको छ । कथानकको विकास स्वाभाविक ढङ्गमा भएको छ । इलैया राप्तीमा डुबेर वेपत्त भएको सन्दर्भबाट कथानक आरम्भ भएको छ । इलैयाकी आमा हरदेईको मृत्यु, नन्दुको दोस्रो विवाह, इलैयाको नुसरतसँगको प्रेम र नुसरतको घृणा, सीमापारिको आक्रमण र मुसलमानहरूको भागदौड, सीमाक्षेत्र कब्जा जस्ता सङ्कटावस्थाहरू शृङ्खलित भएका छन् । इलैयाबाट नुसरतको बिम्ब हटेपछि कौतूहल समाप्त हुन्छ । करिमले नुसरतलाई भगाउनु र यसमा इलैयाले सहयोग पु¥याउनु सङ्घर्ष ह्रास हो भने इलैयाले शम्भुरामलाई गोली हानेको र पत्थरपुरवा भारतमा परेको खबर उपसंहार हो ।
यसको कथानक महाआख्यानात्मक नभएर प्रतिआख्यानात्मक छ । यसमा पत्थरपुरवाका उपेक्षित जनतालाई केन्द्रमा ल्याइएको छ । यहाँ महान् मान्छेको स्तुतिगान छैन, किनारामा पारिएका व्यक्तिका समस्याबारे विमर्श गरिएको छ । यसको कथानक नवकेन्द्र वा लघुकेन्द्रको समर्थनमा छ ।
यो उपन्यासमा जीवनको वास्तविकतालाई सामान्यतः यथार्थवादी भएर प्रस्तुत गरिएको छ । हरदेई, नुसरत, करिम जस्ता पात्रको चरित्रचित्रण आदर्शवादी ढङ्गमा गरिएको भए पनि अधिकांश पात्रको चित्रण यथार्थपरक ढङ्गमा गरिएको छ । पात्रको आन्तरिक विश्लेषणबाट मनोवैज्ञानिक यथार्थको अङ्कन गरिएको पनि छ, जस्तै–
ड्ड नुसरतमा हरदेईको रूप देख्नुबाट इलैयाको मनोविश्लेषण
ड्ड कपडा सुँघ्नुबाट रेडियोलाल र कविताको मनोविश्लेषण
ड्ड बृजलालको माटो र बालुवामाथि मलमुत्र त्यागबाट सामाजिक एवं जातीय मनोविश्लेष
ड्ड नुसरतलाई भगाउन आलटाल गर्नुबाट करिमको हीनत्व ग्रन्थीको विश्लेषण
ड्ड बलात्कृत नुसरतको मनोविश्लेषण
ड्ड भारतको झण्डालाई कट्टु बनाएर लगाउनुबाट बजरङ्गीको मनोविश्लेषण
ड्ड सीमापारिहरूको उच्चता ग्रन्थीको विश्लेषण ।
यी सबै मनोविश्लेषणद्वारा मानिसभित्रको यथार्थलाई बाहिर ल्याउने प्रयास गरिएको छ । यस कृतिको उद्देश्य पत्थरपुरवा गाउँका बासिन्दाको मनस्थिति एवं मानसिक द्वन्द्वको उद्घाटन गर्नु पनि हो । त्रास मान्छेको खुशीको सबैभन्दा ठूलो शत्रु हो । पत्थरपुरवाका बासिन्दा भौतिक रूपमा गरिब छन् भने मानसिक रूपमा त्रसित छन् । उनीहरूमा हीनताग्रन्थी छ । उनीहरूमा हामी कन्डम फुटेर जन्मेका नालायक हौं भन्ने हीनता छ । हिन्दीका सस्ता सिनेमाको प्रभाव परेको छ । उनीहरू भिलेनलाई ठटाएर नायिकालाई उसको कब्जाबाट मुक्त गराएको र पछि त्यही नायिकासँग प्रेम परेको सपना देख्छन् । पितृसत्तात्मक संरचना छ । पुत्रहरू पिताको कठोर र रुखो व्यवहारका कारण उद्दण्ड बनेका छन् ।
लू बहुपात्रीय उपन्यास हो । यसमा इलैया मुख्य पात्र हो । नन्दु, हरदेई, नुसरत, करिम, शम्भुराम, अमरपाल सिंह, टुटे पण्डित, रामप्रसाद पौडेल, महेशर, जागेशर, रेडियोलाल, देवकी, बजरङ्गी, बृजलाल, गोबरी, मुनियाँ, कमला उल्लेख पात्र हुन् । यी पात्रहरूको विशेषता यस प्रकार छ–
१. इलैया ः अस्थिर, उपद्रो मच्चाउने, साहसी, उग्र, सनकी, छुकछुके, उट्पट्याङ, गतिशील, वर्गीय, मुख्य पात्र ।
२. नन्दु ः पहलमान तर सुधो, आध्यात्मिक, तेल मालिसको काम समातेको, छोरालाई माया गर्ने ढङ्ग नभएको, वर्गीय, स्थिर ।
३. हरदेई ः मिठो वचन, अनुकूल, मायालु, प्रतिव्रता, भजन गाउन सिपालु, स्थिर, वर्गीय, आदर्श नारी ।
४. नुसरत ः सुन्दर, मिठो स्वर, इलैयाकी आमाजस्ती तर गतिशील ।
५. करिम ः निर्धो, हीन भावना भएको, सुधो, गतिहीन, आदर्शवादी, स्थिर ।
६. शम्भुरामः भूमिगत नाम दया सिंह, स्वराज मुक्ति मोर्चा नेपालको अध्यक्ष, भारतीय नागरिक, बलात्कारी, नेतालाई मालमत्ता र मान्छे जुटाउने ठेकेदार ।
७. अमरपाल सिंह ः भारतीय सब–इन्स्पेक्टर, सीमावारिका जनताका निमित उत्पीडक, अश्लील शब्द बोल्ने, घुस्याहा, खलपात्र, वर्गीय ।
८. टुटे पण्डितः अल्पज्ञानी पण्डित, अन्टसन्ट सल्लाह दिने, ५८ इन्चेको भुँडी, सद्भाव कायम राख्ने भूमिका ।
९. रामप्रसाद पौडेलः नेपालगन्जको चल्तीको नेता, भरातीय दलाल ।
१०. महेशरः सहयोगी, राष्ट्रवादी, सचेत, स्वाभिमानी, विद्रोही ।
११. जागेशरः पढाइमा तेज, सूर्यको चित्र बनाउँदा कम्युनिस्ट भनेर थुनिएको, जुम्लीलाई भारतीय एसएसबीले दुःख दिएको देखेर विरोध गर्दा बेपत्ता भएको, सहिद ।
१२. रेडियोलाल ः पहिले सकारात्मक पछि नकारात्मक (मुसलमानविरोधी) वर्गीय, गतिशील ।
१३. देवकी ः अनुकूल, सहयोगी, सचेत, विद्रोही ।
१४. बजरङ्गी ः मरन्च्याँसे भए पनि फुर्तिलो, नेताको झन्डा बोक्ने, सीमापारिका मान्छेबाट धोका खाएपछि बदलिएको, गतिशील ।
१५. बृजलाल ः सिद्धहस्त कलाकार, अनुकूल ।
१६. गोबरी ः जँड्याहा, पैसाका निम्ति बालबालिका बेच्ने ।
१७. मुनियाँ ः गोबरीकी पत्नी, पतिलाई धम्क्याएर रक्सी छुटाउने यत्न गरेकी, पैसाका निम्ति सन्तान बेच्ने, असचेत ।
१८. कमला ः भारतीय सिपाहीबाट बलात्कृत, किनारामा परेकी उपेक्षित महिला ।
यस उपन्यासका नुसरत, हरदेई, करिम, बृजलाल, महेशर, जागेशर, कमला भुइँका मान्छेहरू हुन् र यस्ता पात्र अरू पनि छन् । पत्थरपुरवा दीनहीनहरूको बस्ती हो, जहाँ बहुसङ्ख्यक जनता गरिब, शोषित र उपेक्षित छन् । यो उपन्यास समावेशी रचना हो । यसमा मुसलमानका पीडालाई केन्द्रमा ल्याइएको छ । उपन्यासकार पाण्डेले पात्रको चयन किनारामा परेका मध्येबाट गरेका छन् ।
लू उपन्यासमा ऐतिहासिक कथास्थलका रूपमा पत्थरपुरवा छ भने काल्पनिक तथा सामान्य कथास्थलका रूपमा नेपालगन्ज, बहराइच (भारत), नानपारा रहेका छन् । पत्थरपुरवामा मुसलमान र केही स्थानीय हिन्दू छन् । नेपालगन्ज नेपाली नागरिकता लिएका तर सीमापारिको दलाली गर्ने नेता बस्ने स्थल हो । बहराइच शम्भुराम जस्ता ठेकेदार बस्ने स्थल हो । यसमा सीमावारिका उपेक्षित र सीमापारिका उत्पीडकका कथाव्यथा उतारिएको छ । उपन्यासको समय इलैयाको उमेरलाई आधार बनाउँदा १०–१५ वर्षको भएको सङ्केत मिल्छ ।
यस उपन्यासमा विचारधारात्मक द्वन्द्व छ । यसमा संस्थापन पक्षको केन्द्रक भएका हिन्दू र विस्थापन पक्षको केन्द्रक भएर मुसलमानहरू उभिएका छन् । मुसलमानहरूलाई आफ्नो रीतिरिवाज जोगाउन मुस्किल छ । हिन्दूहरू उनीहरूलाई मुसल्टे भनी हेप्छन् । छोइछिटोको व्यवहार गर्छन् । सीमापारिका व्यक्तिहरूमा पशुता भाव छ र सीमावारिका बासिन्दालाई दुःख दिन्छन् । सीमावारि खडेरी परे सीमापारिबाट सर्कसका लागि बच्चा खरिद गर्न आउँछन् । सीमावारिका संस्थापन पक्ष सीमापारिको जस्तो पशु भने देखिएको छैन ।
लू उपन्यासको उद्देश्य सामाजिक यथार्थको प्रस्तुति नै हो । यसमा तराईको पत्थरपुरवा गाउँको प्रस्तुति छ । हिन्दू धर्मको कट्टरतामा बाँचेको तराईमा छुवाछुतको समस्या छ । अल्पसङ्ख्यक मुसलमानप्रति चरम घृणा गर्ने खालको सामाजिक संरचना छ । गाउँमा चेतनाको अभाव छ, चरम गरिबी छ । उच्च जतिले मुसलमानलाई हेपेका छन् । तराईको सामाजिक र आर्थिक व्यवस्थाको मूल आधार भूमि हो । भारतले लक्ष्मणपुरमा बनाएको तटबन्धले गर्दा पत्थरपुरवा गाउँ डुबानमा परेको छ । मलिलो जग्गामा बालुवा थुप्रिएको स्थिति छ । माटाले बनाइएका घर ढलेका छन् । गाईभैंसी, अन्नबली नदीले बगाएको स्थिति छ । बाढी आएका बखत राज्यले हेलिकप्टरबाट चाउचाउ, बिस्कुट फाल्छ, त्यो टिप्न जाँदा मान्छेहरू नदीले बगाएर मर्छन् । पत्थरपुरवाका जनता भोक टार्न बाख्राको मोलमा आफ्ना बच्चाबच्ची बेच्छन् । सीमापारिबाट अमरपाल सिंह लगायतका भारतीय सिपाही र शम्भुरामजस्ता ठेकेदार दलबलसहित गाउँमा आएर आतङ्क मच्चाउँछन् । नुसरतजस्ता सुन्दर र असल युवतीलाई बलात्कार गर्छन्, गाउँमा आएर धनमाल लुट्छन् र आतङ्क मच्चाउँछन् । नेपाली राजनीतिका अगुवालाई भारतीय झण्डा बोकाएर भारतको जयगान गर्न लगाउँछन्, नेपाली नेतालाई उपयोग गरी नेपालको सामाजिक सद्भाव बिथोल्छन्, अनवर जस्ता लघु उद्यमीको व्यापार धार्मिक किचलो उठाएर बन्द गराउँछन्, दलालहरू भारतीय ठेकेदारले धाप मारे जस्तो गरी हिर्काएर नेपाली नेतालाई दुव्र्यवहार गर्छन् र पनि भारतपरस्त मानिसकता यहाँका नेतामा रहिआएको छ । यसरी नेपालका सीमा क्षेत्रका बासिन्दा सामाजिक, आर्थिक, सांस्कृतिक रूपबाट उपेक्षित छन् ।
पत्थरपुरवा बासीले भारतीय ज्यादतीबारे उजुर गर्न नेताछेउ जाने प्रयास नै नगरेका होइनन् । उनीहरूले नेपालगन्जका चल्तीका नेता रामप्रसाद पौडेललाई भारतीय कुख्यात सिपाही अमरपाल सिंहको गाडीमा देखे । पत्थरपुरवा पुख्र्यौली गाउँ भएको र जागेशरसँग राजनीति सुरु गरेको असगर अलीलाई नेपालगन्ज गई भेटेर शम्भुरामको ज्यादतीबारे फिराद गर्न पनि खोजेका हुन् तर ऊ शम्भुरामलाई मासु र रक्सी खुवाउँदै गरेको अवस्थामा भेटिएपछि पत्थरपुरवाबासी नेताहरूबाट निराश भएका हुन् । सीमापारिका ठालुहरूले पत्थरपुरवाका बासिन्दाहरूप्रति गरेको दुव्र्यवहार र नेपालका नेताहरूले उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पु¥याएको सहयोग देखेर पत्थरपुरवा आजित छ । पत्थरपुरवालाई जति शोषण र थिचामिचो गरे पनि उनीहरू आफ्ना दुःखमा ‘ऐया’ भन्न सक्ने स्थितिमा छैनन् । सहनु, नबोल्नु र केही नलागे ठाउँ छाडेर भाग्नु नै तिनीहरूको नियति भएको छ । महेशर जस्ता केही व्यक्तिले भारतीय डसाहाको विरोध गरे पनि तिनले समाजबाट र राज्यबाट सहयोग पाउन सकेनन् । सिङ्गो पत्थरपुरवा भारतीयबाट आतङ्कित छँदै छ, अल्पसङ्ख्यक मुसलमान सीमावारिबाट पनि शोषित छन् ।
सीमा क्षेत्रमा सीमापारिबाट अत्याचार परम्परादेखि नै हुँदै आएको विषय हो । यहाँका नेताहरूको अवसरवादी प्रवृत्ति, हीन भावना, चाकडी प्रवृत्ति झन्झन् डरलाग्दा रूपमा देखिएको छ । त्यसैले महेशरको जग्गा भारतीयहरूले जोते । करिमको परिवारले सामूहिक आत्मदाह गर्न बाध्य भयो । ज्यादतीको विरोध गर्दा जागेशरलाई बेपत्ता पारियो । हेर्दाहेर्दै पत्थरपुरवा भारतको भूमि बन्यो । अल्पसङ्ख्यक समुदायमाथि राज्यको दृष्टि नपुग्दा र हिन्दू र मुसलमान मिलेर बस्न नसक्दा त्यसको फाइदा भारतले उठायो ।
यस उपन्यासमा पाण्डेले व्यक्तिसत्ताको खुलेर समर्थन गरेका छन् । निर्णयको स्वतन्त्रता हरेक व्यक्तिको अस्तित्वको कुरा हो । हरेकले जीवनमा आफ्ना बारेमा आफैले निर्णय गर्न पाउनुपर्छ । परम्पराका नाममा समाजका इच्छा लाद्न हुँदैन । देवकीले पहाडिया युवकसँग विवाहका निम्ति गरेको विद्रोह, नुसरतले करिमलाई गरेको छनोटले यिनै कुराको सङ्केत मिल्छ ।
पाण्डे उपन्यासमा युग सुहाउँदो परिवर्तन भित्रिएको देख्न चाहन्छन् । उनी रुढिग्रस्त सामाजिक मूल्यमान्यतामा परिवर्तन देख्न चाहन्छन् । हाम्रो समाजमा पिताले पुत्रप्रति रुखो व्यवहार गर्ने गरेको, भारतीयहरूलाई यथेष्ठ दाइजो दिएर छोरी पठाउँदा समाजमा प्रतिष्ठा बढ्ने गरेको, भारतीयहरूबाट मैल्याइएका नारीहरूप्रति सहानुभूति देखाउनु पर्नेमा घरबाट नै खेद्ने गरिएको, नेताहरू समाजका प्रतिनिधि कम र भारतीय दलाल बढी देखिने प्रवृत्तिप्रति पाण्डेले चिन्ता व्यक्त गरेका छन् । रुढिग्रस्त मान्यता र परम्पराहरू त्यागेर समाजमा एक ढिक्का भएर बस्न सकेनौं भने हाम्रो साँध–सिमाना भत्कँदै जाने खतरा छ भन्ने सन्देश उनले दिन खोजेका छन् । पत्थरपुरवामा सांस्कृतिक, सामाजिक र राजनीतिक शोषण छ । पत्थरपुरवाबासीले शोषित, पीडित भई अभावग्रस्त जीवन बिताइरहेका छन् । तराईको यो सिमान्तकृत वर्गले अवसर पाउनु पर्छ भन्ने अप्रत्यक्ष सन्देश यसमा निहित छ ।
लू उपन्यासमा भविष्यप्रति आशावादी बन्न छोड्न नहुने विचारको अभिव्यक्ति छ । झट्ट हेर्दा एउटा विडम्बना (इलैयाको मृत्यु) बाट प्रारम्भ भएको र अर्को विडम्बना (पत्थरपुरवा गाउँ भारतमा गाभिएको) मा अन्त्य भएको त्रासदी उपन्यासमा व्यक्त गरिएको भए पनि “के त्यस्तो कुनै चिठी मलाई पत्थरपुरवाबाट आएको थियो ! या, उपन्यास लेखनको धङधङीमा मलाई भ्रमित पार्ने र मैले नै कल्पना गरेको मनोगत कुरा थियो त्यो ! म यसै भन्न सक्तिनँ” (पृ. २५६) भनी उपन्यास टुङ्ग्याइएको हुँदा हाम्रा साँध–सिमानामा पारिबाट खतरा छ, सीमा स्तम्भहरू रातारात सार्ने काम हुँदै आएको छ । हेर्दाहेर्दै नेपाली भूमि भारतमा मिसिएको छ र नेपाल सरकार यस विषयमा लाचार देखिएको छ । सरकारको लाचारीपनमाथि उपन्यासकारले झापट हानेका छन् । यत्न गरे अरू गाउँ जोगाउन सकिएला भन्ने अप्रत्यक्ष सन्देश उपन्यासले दिन्छ ।
यो उपन्यासमा सन्देश उपदेशका रूपमा नआएर घटना, सन्दर्भ, चरित्रका संवाद र वर्णनमार्फत आएको छ । पाठकले उपन्यास पढिसक्दा आफ्नो धारणा आफैं बनाउन सक्छ । टुटे पण्डितले मुसलमानलाई घरमा लुकाएर मारपिटबाट जोगाएको सन्दर्भ, महेशरले सीमापारि सात पुस्तासम्म छोरी नदिने भनी गरेको उद्घोष, तराई र पहाडियाबीच हुन थालेको प्रेम विवाह, बजरङ्गीले सीमापारिका शक्तिहरूको दलाली गर्दा पाएको अपमान र धोकाबाट सिकेको पाठ, महेशर र जागेशरको व्यक्तिगत विद्रोह, अवसरवादी नेताहरूबाट जनताले सिकेको पाठ, गाउँमा खडेरी पर्दा सीमापारिबाट बच्चाहरू खरिद गर्न सर्कसवालाहरू सलबलाउने र लोकतान्त्रिक भनिएको सरकारले त्यसबखत अपनाउनुपर्ने रणनीति, सामाजिक सद्भाव खलबलिँदा समाजले बेहोर्नु पर्ने क्षतिजस्ता घटना सन्दर्भ पठनीय र मननीय छन् । यो उपन्यास पढ्दै गर्दा राज्यले तराई मधेशका लागि छुट्याइएका आरक्षण कोटा पत्थरपुरवाबासीका भागमा कति पर्छन् र तराईका झा, सिंह, यादव जस्ता पञ्चायतकालदेखिका सत्तासीनका भागमा कति पर्छन् भन्ने प्रश्न उठाउन सकिन्छ । घटना सन्दर्भ र चरित्रका व्यवहारमार्फत सन्देश दिइएको हुँदा यसको प्रस्तुति आधुनिक छ ।
लू उपन्यासमा मूलतः प्रथम पुरुष र अंशतः तृतीय पुरुषको दृष्टिबिन्दुको प्रयोग छ । पत्थरपुरवाको समाजलाई लेखकका कोणबाट कम र पात्रका कोणबाट बढी हेरिएको छ । यसमा आर्थिक दृष्टिकोणबाट पत्थरपुरवाबासी गरिब रहेको, सांस्कृतिक दृष्टिबाट अल्पसङ्ख्यकको संस्कृति सङ्कटमा परेको देखाइएको छ । यसमा विचारधाराको रखाइ वा विन्यास स्थानिक पनि छ र सार्विक पनि छ । प्रतीकात्मक दृष्टिबाट द्विचर विरोधहरू संस्थापन÷विस्थापन, सीमावारि÷सीमापारि रहेका छन् ।
लू उपन्यासमा अन्तर्पाठीयताका केही लक्षणहरू छन्, जस्तै–
(क) संवाद– नाटकको विधागत उपकरणको प्रयोग
(ख) चिठी– निबन्धको एक उपविधाको प्रयोग
(ग) भूमिका (कृतज्ञता) खण्डको मूल कथ्यमा मिसोट
(घ) अवधी गीतको प्रयोग ।
यसको भाषिक प्रयोग अलङ्कारले बोझिल हुन पुगेको छैन । यसको गद्यभाषामा बिम्ब, सादृश्य, समानतान्तरता, अलङ्कार, विचलन, विशिष्ट कथन आदिको प्रयोग अजटिल पारामा गरिएको छ । यस्ता केही उदाहरणहरू तल प्रस्तुत गरिएका छन् ः
(क) बिम्ब– त्यसपछि बाँकी बेचेको खुद्राखाद्री साहस पानी भएर पोखियो (पृ. ११९) ।
(ख) समानान्तरता– ... गाउँलेहरूको चिन्ता बढ्न थालेको छ । उनीहरूका निधारका धर्साहरू बढ्न थालेका छन् । उनीहरूलाई दिक्दारीले गाँज्न थालेको छ (पृ. १९९) ।
(ग) अलङ्कार– उसको मस्तिष्कमा बलात्कारको त्रास कालो अलकत्रा जस्तो टाँसिएर बसेको छ (पृ. ११७) । सबैका आँखाबाट राप्ती बगिरहेको थियो (पृ. २२७) ।
(घ) विचलन– अनि राति मेहरारु (स्वास्नी) लाई कुतिया बनाउँछन् (पृ. ८२) । जुँगामुनि मुस्कान तैरिरहेको हुन्थ्यो (पृ. १८) । रोएरै रात बिताई नुसरतले (पृ. १४८) । मुसलमानहरूका घरभित्र डर र त्रासको कालो न कालो घनघोर साउने बादल मडारिन थाल्यो (पृ. २०५) ।
(ङ) कवितात्मकता– तर अहिले फेरि ती आँखामा सपनाहरू तैरिन थालेका रहेछन् (पृ. १४५) ।
यो उपन्यास धेरैका निम्ति स्वीकार्य छ । विधापरकता, व्याकरणिक शुद्धता, कठिन शब्दको अभाव, सरल र सरस वाक्यको गठन, आक्षेपयुक्त कथनको अभाव, समकालीनता, अल्पसङ्ख्यकप्रति सहानुभूति, स्पष्ट कथन, प्रयोगशीलता, आधुनिकता, राष्ट्रप्रेम, बेइमान नेताप्रति मुखभरिको जवाफका कारण यसमा स्वीकार्यता छ । दृष्टिबिन्दुको प्रयोग गर्दा केही ठाउँमा अस्वीकार्य सन्दर्भ छन्, जस्तै बजरङ्गीले कथाभन्दा कविताका व्यक्तिगत (बन्द कोठाभित्रका घटना) कुरा र देवकीले कथा भन्दा उसका पिताका मनका कुरा (क्रमशः पृ. ८९ र १५३) बताइएको अमिल्दो देखिएको छ । यसमा प्रथम पुरक्ष दृष्टिबिन्दुको सीमा उल्लङ्घन भएको छ । कृतज्ञता खण्डको कथावस्तुमा फेटाइ गम्भीर ठाउँमा हलुका कुरा मिसिएको हुँदा कतिका निम्ति अस्वीकार्य हुन सक्छ । विचार घटना सन्दर्भमा फेटिएको कुरा पनि असिर्जनशील पाठकका निम्ति अस्वीकार्य हुन सक्छ । टुटे पण्डित एकाएक सामाजिक सद्भावको वाहक देखिएको कुरामा पनि प्रश्न उठ्न सक्छ । इलैयाले करिमलाई सहयोग पु¥याएको सन्दर्भ पनि कतिलाई मनोगत लाग्न सक्छ । इलैयाकी आमाको मृत्यु हुनुपूर्व इलैयाको गतिविधि र व्यवहार देख्दा उसकी आमाको मृत्यु भएको रहेछ भन्ने अनुमान सजिलै लगाउन सकिने खालको कथानक छ । यहाँनेर कथानक बौद्धिक प्रकार्य बनेको छैन । दश वर्षे द्वन्द्वको प्रभाव पनि उपन्यासमा सघन रूपमा आएको छैन । त्यसैले यसको विश्वसनीयतामा केही क्षति भएको अनुमान गर्न सकिन्छ ।
समग्रमा उपन्यास विधाका वैशिष्ट्यहरूको कलात्मक दोहन गरिएको यो कृति सफल, प्रभावकारी, सन्देशपूर्ण, पठनीय र कलात्मक छ । यसमा करुणा र त्रासका भावहरू छरिएका छन् । समकालीन यथार्थताको चित्रण र प्रयोजनपूर्णता यसको मूल्य हो ।

No comments:

Post a Comment