“दैनिक १२–१५ घण्टासम्म लगातार लेखिरहेँ”
(बुटवलबाट प्रकाशित हुने 'दैनिक लुम्बिनी'मा मिति २०६९ असार २३ गते शनिवार प्रकाशित )
(‘लू’ उपन्यास र त्यसका लेखक नयनराज पाण्डे अहिले नेपाली साहित्यमा चर्चाको विन्दुमा छन् । सिमाक्षेत्रको गाउँले जीवन, त्यसलाई राज्यले गरेको उपेक्षा र भारतीय हस्तक्षेपको सजिव चित्रण गरिएको उपन्यास ‘लू’ को करिब तीन महिनामा तेस्रो संस्करण बजारमा आएको छ । अहिलेसम्म यसको करिब नौ हजार प्रति बिक्री भईसकेको बताइएको छ । आफ्नो अघिल्लो उपन्यास ‘उलार’ मार्फत विशिष्ट छवी बनाएका पाण्डेलाई वर्तमान नेपाली आख्यान साहित्यको एक हस्तीको रुपमा लिनसकिन्छ । उनको अघिल्लो उपन्यास ‘उलार’ त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहको तृतीय वर्षको पाठ्यक्रममा समावेश पनि गरिएको छ । तिनै लेखक नयनराज पाण्डेसँग ‘पाहुर’ का लक्ष्मण श्रेष्ठले ईमेल मार्फत एक दर्जन जिज्ञासाहरु राख्नुभएको थियो । प्रस्तुत छ उनै सवाल–जवाफहरु । –सं.)
१. ‘लू’ त सफलताको शिखर चढिरहेछ । बजार नै ढाकेको छ है ? ‘लू’ ‘बेष्टसेलर’ कि ‘बेष्टबुक’ ?
यसको लोकप्रियताले मलाई आनन्द दिइरहेछ । मलाई लागेको छ, मैले उपन्यासमार्फत उठाउन खोजेका मुद्धाहरुलाई पाठकहरुले एप्रिसिएट गर्नुभएको छ । प्रकाशक, वितरकहरुका अनुसार यसको बिक्री निकै उत्साहप्रद छ । यो सबै पाठकहरुको स्नेहका कारण संभव भएको हो । अहिलेका पाठकहरु आफ्नो समाजका विषयवस्तु उठाइएका आख्यानहरुप्रति अत्यन्त संवेदनशील हुनुहुन्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण हो । अब यो बेस्ट सेलर भयो या बेस्ट बुक भयो यो मैले भन्दा पनि पाठकहरुले नै भन्ने कुरा हो । तर म खुशी छु, कि पाठकहरुले अहिले मलाई निकै माया गरिरहनुभएको छ । यो स्नेह कायम रहोस् । म आफ्ना सबै आदरणीय पाठकहरुसित अनुरोध पनि गर्दछु ।
२.‘लू’ का पाठकहरू बढिरहनुको कारण के होला ?
पहिलो त लू उपन्यासले हालसम्म नेपाली साहित्यमा नउठेको विषयवस्तुलाई उठान ग¥यो । नेपालको समग्र दक्षिणी सीमावर्ती क्षेत्रको सिमासित सम्बन्धित विषयलाई, त्यहाँ बसिरहेका जनताका दुःख, पीडा, समस्यालाई, उनीहरुको दैनिक जीवन, उनीहरुबीच रहेको सामाजिक सद्भाव आदिलाई आख्यानको मार्फत सतहमा ल्याउने प्रयत्न ग¥यो र यो प्रयत्नलाई आदरणीय पाठकहरुले रुचाउनु भयो । यो विषयको गम्भिरतालाई बुझिदिनु भयो, यसप्रति संवेदनशील भैदिनु भयो । उहाँहरुले उपन्यास मार्फत बुझ्नु भयो कि हाम्रो देशको खिइँदै गएको सीमाप्रति को जिम्मेवार छ ? मलाई लाग्छ, लू को लोकप्रियताले पाठकहरु आफ्नो देशको समस्याप्रति सजग हुनुहुन्छ भन्ने जनाउँछ ।
३. किन सिमानाकै विषय रोज्नुभयो ?
किनभने यो आजसम्म साहित्यमा नउठाइएको तर उठाउनै पर्ने विषय थियो । म पनि सिमावर्ती क्षेत्रकै बासिन्दा भएकोले मैले त्यस भेगका समस्यालाई नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएको छु । म आफ्नो बाल्यकालदेखिनै त्यसभेगका जनताले भोगिरहेका दुःख, पीडा, प्राकृतिक संकटलगायत सीमापारिबाट हुने उत्पीडनलाई देखिरहेको छु । र एउटा समयमा आएपछि मलाई लाग्यो, अब आख्यानको मार्फत सीमाको समस्या, सीमा अतिक्रमणको समस्या, भारतीय सीमा सुरक्षाबल ( एसएसबी)को ज्यादतीलाई उजागर गर्नैपर्छ । यही जिम्मेवारी बोधले मलाई यो विषयको उठान गर्न उत्प्रेरित गरेको हो ।
४. विषयवस्तुको स्रोत के हो ?
विषयवस्तुको स्रोत त सिमावर्ती क्षेत्रका वासिन्दाहरुले दैनिक जीवनमा भोगिरहेका समस्याहरु नै हो । त्यसबाहेक राज्यले उनीहरुप्रति गरेको उपेक्षाले पनि मलाई पिरोलिरहेको थियो । किनभने मैले उठान गरेको ठाउँमा राज्यको उपस्थिति नै छैन । उनीहरुलाई ‘हामी नेपाली हौं’ भनेर राज्यले बोध गराउनै सकेको छैन । नागरिकता दिंदैमा राज्यको जनताप्रतिको उत्तरदायित्व समाप्त हुँदैन । तर ती क्षेत्रहरुमा राज्य उदासिन भएर बसिदिएको छ । उनीहरुप्रति कुनै सरोकार देखाउन सकेको छैन । यिनै कुराहरु नै यस उपन्यासका विषयवस्तुका स्रोत हुन् ।
५. ‘लू’ को लेखनक्रमबारे हामीलाई थोरै बताइदिनोस् न । कति समय लाग्यो ? कति पटक दोहो¥याउनु भयो ? दिनको कति घण्टासम्म लेख्नुभयो ? लेखनक्रममा घटेका केही अविस्मरणीय घटनाहरू छन् कि ?
म प्रायः भन्ने गर्छु, लू लेख्न मलाई ४७ वर्ष लाग्यो । किनभने त्यो त मैले आफ्नो बाल्यकालदेखिनै देखेको, सुनेको, भोगेको विषय हो । तर भौतिकरुपमा कलम समाएर मैले ३ वर्ष लगाएर लू तयार गरेको हुँ । यो लेखनको क्रममा मैले निकै पटक रिराइट गरेँ । कतिपटक त दैनिक १२–१५ घण्टासम्म लगातार कम्प्युटरमा लेखिरहेँ । सुन्दा रमाइलो लाग्ला, मैले लू लाई ६–७ वटा भर्सनमा लेखेँ । कथावाचनका विभिन्न शैलीहरुमा कुन चाहिँ राम्रो लाग्ला भनेर प्रयोग पनि गरिरहेँ । कतिपटक त यो उपन्यास लेख्नै सक्दिन कि भनेर हतास पनि भएँ । हतासाको यस्तो क्षणमा मैले कविताहरु लेखेँ, आफूलाई सहज बनाउन । लू लेख्ने क्रममा मैले झण्डै १२५ वटा कविताहरु पनि लेखेँ । तर ती कविताहरु अहिले नै प्रकाशित गरिहाल्ने सोंच भने छैन । ‘लू’ लेख्ने क्रममा मैले निदाउनका लागि औषधी नै खानुप¥यो । सपनामा पनि पात्रहरु आउने र रातभरि अनिंदोको अनुभूति भैरहेको थियो । त्यसपछि मेरा मित्र साहित्यकार डा. रविन्द्र समिरको सल्लाहमा औषधी लिन थालेँ ।
६. तपाईले लेख्नुभएको उपन्यास ‘लू’ मा देशको राष्ट्रिय पिडालाई आञ्चलिक परिवेशमा प्रस्तुत गरिएको छ । तराईको शहरहरूमात्र देखेका, शहरबाट धेरै टाढा रहने तराईका गाउँहरू नदेखेका, पहाडी जीवनशैलीमा अभ्यस्त नागरिकहरूले ‘लू’ को विषय र मर्मलाई प्रष्ट बुझ्न सक्छन् जस्तो लाग्छ तपाईलाई ?
शुरुमा मलाई पनि यो कुरामा अलि संशय थियो । तर जब लू बजारमा आयो मेरो संशय समाप्त भयो । आज के पहाड, के तराई र के हिमाल । सबै क्षेत्रका पाठकहरुले यसलाई रुचाउनु भएको छ । फेरि मधेशको परिवेश भए पनि मैले लू सबैका लागि बोधगम्य बनाउने प्रयास गरेको छु । मलाई लाग्छ, म आफ्नो प्रयासमा सफल पनि भएँ ।
७. तपाईले सिर्जना गर्ने पात्रहरू अलि भिन्नै किसिमका हुन्छन् । त्यो तपाईको अघिल्लो उपन्यास ‘उलार’ मा पनि देखियो । ‘लू’ मा पनि त्यस्तै छ । जहाँसम्म मैले बुझेको छु, इलैया ‘लू’ को प्रमुख पात्र हो । सानैदेखी चकचके, केही न केही उपध्रो गरिरहने उपध्य्राहा जो पछि गएर पनि त्यस्तै जीवन बिताउँछ । गाउँको सानोतिनो डन नै हुन्छ । काम पनि त त्यस्तै गर्छ । कमलाको घरबार उजाड पारिदिन्छ । जानकी र चन्द्रुको प्रेम त ध्वस्त नै पारिदिन्छ । यस्तो चरित्रलाई किन प्रमुख पात्र बनाउनुभयो ? के इलैयालाई कसैको आदर्श बनाउन सकिन्छ ?
समाज आदर्शपात्रहरुले मात्र बनेको हुँदैन । समाजमा विविध खालका चरित्रहरु हुन्छन् । तिनीहरुको समाजप्रति, जीवनप्रति, आफ्नो परिवेशप्रतिको आफ्नै खालको बुझाइहरु हुन्छन् । फेरि हामीले युगौंदेखि डाँकु रत्नाकार पछि गएर वाल्मीकी ऋषि भएको किंवदन्ती पनि त सुन्दै आएका छौं । यसबाट के पनि बुझिन्छ भने, सबै खराब व्यक्ति सँधैको लागि खराब नहुन पनि सक्छ र सबै असल व्यक्ति जीवनभरि असल नरहन पनि सक्छ । चरित्रहरुमा सदैव उचारचढाव त भै नै रहेको हुन्छ । समाजमा इलैयाजस्ता पात्रहरु छन् । र म समाजबाट चरित्रलाई टिप्न रुचाउने मान्छे । म चाहन्छु, मेरा रचनामा आम मान्छेहरु आफ्नै खालका स्वभाव र विशेषताहरु लिएर उपस्थित हुन् । त्यहीं सोंचका साथ मैले लू मा ईलैयालाई नायक बनाएको हुँ । मलाई लाग्छ, उसको चरित्रमा आएको रुपान्तरणले धेरै पाठकहरुलाई प्रभावित पारेको छ ।
८. ‘लू’ ‘उलार’भन्दा फरक नै देखिन्छ । विषयवस्तुको हिसाबले मात्र होइन, बरु शैलीको हिसाबले पनि । ‘उलार’मा जस्तो कथा सलल बगेको छैन । बरु तराईकै नदीजस्तो बटारिएको छ । ‘मूल्यांकन’को पछिल्लो अंकमा त अमर गिरीले आरोप नै लगाउनु भएको छ– तपाईको केन्द्रीय कथावस्तु कमजोर भयो । तपाई के भन्नुहुन्छ ? के विषयवस्तुको प्रस्तुती अलिक विशृङखलीत भएन र ?
मलाई त त्यस्तो लाग्दै लाग्दैन । मलाई आजसम्म पाठकहरुले कथावस्तु कमजोर भयो भनेर गुनासो गर्नु भएको छैन । र मैले लू लेखेको आदरणीय पाठकहरुका लागि हो । समालोचक वा दिमागमा लगाम लगाएर बसेका प्राध्यापकहरुका लागि हैन ।
९. ‘लू’ मा अलि फिल्मीपन बढी भयो भन्ने एकथरी आरोप छ’नी ? म¥यो भनेर सतगत गरिइसकेको इलैया फर्किनु । उ रहमा डुबेको देख्नु तर पार भएको नदेख्नु । अनि करिमको सपरिवारले सांसरिक दुःखलाई झेल्न नसकेर सामूहिक आत्महत्या गर्दा पनि उसकी ¥यारी आमाले आफ्नो छोरोलाई त्यही सांसरिक भूमरीमा त्यो पनि एक्लै बाँच्न छोडिदिनु । साँच्ची अलि बढी नाटकियता वा अलि बढी फिल्मीपन भएन र ?
म के सोंच्छु भने, आख्यानमा जे कुरा पनि लेख्न सकिन्छ, जसरी पनि लेख्न सकिन्छ । तर त्यो विश्वास योग्य हुनुपर्छ । नाटकीयता त हाम्रो जीवनमै हुन्छ । फेरि मैले यी विषयहरु कुनै मनोगत रुपमा उठान गरेको हैन, यी त ती ठाउँहरुमा भैसकेका, घटिसकेका घटनाहरुको पुनर्लेखन वा पुनर्कथन मात्र हो ।
१०. ‘लू’ मा आशाको संकेत कहाँनेर छ ? के यो उपन्यास पराजयको दस्तावेज हो ?
म यो मान्दिन । आशा र विश्वास नै यो उपन्यासको आधार हो । इलैया शंभुरामलाई मार्न गएको छ । जेलमा होला अहिले । तर कुनै न कुनै दिन इलैयाले शंभुरामलाई समाप्त गरेर छाड्छ । अर्को कुरा, उपन्यासले पाठकको मनमा उत्पन्न गर्ने सिमाप्रतिको सचेतता, त्यस ठाउँप्रतिको संवदेनशीलता र सीमापारिबाट हुने ज्यादतीप्रति आक्रोशत नै बनाएको छ । बजरंगी जस्तो पात्रले भारतीइ झण्डालाई कट्टु बनाएर लगाएको छ । यो भन्दा ठूलो विद्रोह अरु के हुनसक्छ ?
११. ‘लू’ को अन्त्यमा टुके पण्डितको पत्र छ । टुटे पण्डितको गाउँ उही हो– पत्थरपुरवा । भूगोल उही । जीवन उस्तै । तर ठेगाना फेरिएको छ । वास्तवमै भईरहेको पनि त्यस्तै त छ । सुस्ता भन्ने गाविस अहिले तीनवटा वडामा सिमित भएको छ । देशका चौवन्न भन्दा बढी ठाउँमा सिमा मिचिएको सिमाविद्हरू बताउँछन् । एक सचेत लेखकको हिसाबले टुके पण्डितहरूको ठेगाना परिवर्तन भईरहनुमा कसको दोष देख्नुहुन्छ ? कसरी रोक्न सकिन्छ यो समस्यालाई ? एक जना लेखकले वा यसो भनौं कलमका फौजहरूले कस्तो भूमिका निभाउनुपर्छ जस्तो लाग्छ तपाईलाई ?
यदि हामी नेपाली हौं र हामीलाई आफ्नो देशप्रति अलिकति पनि माया छ भने हामीले आफ्नो सिमाप्रति अब सचेतता देखाउनै पर्छ । यो विषयमा संवेदनशील हुनैपर्छ । टुटे पण्डितको चिठ्ठीको उचित राजनैतिक सम्बोधन हुनैपर्छ । नेपालका राजनैतिक कर्मीहरु अब उदासिन भएर बस्ने हो भने उहाँहरु देशप्रतिको गद्धार हो भन्ने बुझे हुन्छ । अब दलाली र भारतको चाकडी गरेरमात्र देश चल्दैन ।
१२. अन्त्यमा दैनिक लुम्बिनीको परिशिष्टाङ्क ‘पाहुर’ मार्फत केही भन्नुहुन्छ कि ?
लू लाई तपाईहरुले यति महत्व दिनुभयो । यति स्नेह दिनुभयो । त्यसका लागि दैनिक लुम्बिनी प्रति आभारी छु । यसको यो ‘पाहुर’ परिशिष्टांक अत्यन्त लोकप्रिय रहेको छ । काठमाण्डौमा पनि यसका बारेमा चर्चा भएको सुन्छु । खुशी छु । यसले आफ्नो गरिमा र स्तरियता कायम राखोस् । यही चाहना छ ।
No comments:
Post a Comment