(राजन सिलबालले "लू" पढिसकेपछि । मेरो फेसबुक इनबक्समा पठाउनु भएको थियो यो पत्र । मैले उहाँको अनुमति लिएर यो पत्र यहाँ संलग्न गरेको छु ।)
श्री नयनराज दाइ
लू पढिसकेपछिको प्रसन्नतापूर्ण नमस्कार ।
पटकपटक गरी पूरै दुई दिन लगाएर यहाँको उपन्यास लू पढेँ ।
पहिले पनि भनेको थिएँ दाइलाई कि मैले दाइका पूर्ववर्ती कुनैपनि उपन्यासहरु पढेको
छैन । दाइले फेसबुकको च्याटमा अनुरोध नगरेको भए न म त्यो विमोचन कार्यक्रम (पर्यटन
बोर्ड) को कार्यालयमै जान्थेँ त्यसदिन न त लू नै किन्थेँ सायद । आमन्त्रितहरुले
बस्ने ठाउँसम्म नपाएको त्यस कार्यक्रममा म युग पाठकको मन्तब्यका टुक्राटुक्री
सुनिसकेपछि पुस्तक किनेर १५ मिनेट जत्तिमै बाहिरिएँ । आगन्तुकलाई बेवारिसे पारियो
भन्नेचाहिँ मलाई लाग्यो, भलै म मान खोज्ने वा पाउनुपर्ने कोटीको आमन्त्रित
थिइनँ ।
म तपाइँ जस्तो उचाइ, मोटाइ र गहिराइ भएको
लेखकको कृति समीक्षा गर्ने न हिम्मत, न लोभ न त जिकिर नै
गर्दछु । तर कतिपय मनपर्ने नेपाली उपन्यासकारका उपन्यासहरु पढेको र नेपाली
साहित्यको विद्यार्थी भएकाले मनको उहापोहलाई बाँड्ने लोभ लागिहाल्यो ।
प्रतिक्रियालाई म निबन्धात्मकभन्दा बहस टिपोट जस्तो बनाउन चाहन्छु । मेरै सजिलाका
लागि ।
१. यस पुस्तकमा केही प्रयोगहरु रहेछन् । ती मलाई रमाइलै
लागे । जस्तो, प्रकाशकीय नै छैन, कसैका भूमिका लेखे वा लेखाएर पाठकलाई दुःख दिने वा लेखकको प्रशंसा गराउने वा
पुस्तकलाई सिंगार्ने प्रपञ्च यसमा देखिएन ।
२. लेखकको मन्तब्यलाई पुच्छारको खण्डमा साह्रै नयाँ
प्रयोगपूर्ण तरिकाले समेटेको खूब मन परयो । मैले यस्तो प्रयोग कहिल्यै देखेको
थिइनँ अद्यावधि ।
३. उपन्यासले तराई क्षेत्रको, त्यो पनि सीमाक्षेत्रको पीडादायी, भारतीय सीमा सुरक्षा
बलको बेरोकटोक ज्यादती, आपराधिक समूहको अत्याचार, धर्मान्धहरुको बर्बरता, गरिबी र त्यसले मुटुजत्तिकै प्यारा सन्तानहरुलाई
सर्कसमा बेच्नुपर्ने नियतिलाई जीवन्त शब्दमा उतारेको छ ।
४. कथा भन्ने शैली खूब मन परयो मलाई । भाषा मज्जाले बगेको छ
। एकदुई वटा अंग्रेजी शब्दको सट्टा मलाई नेपाली नै राखेको भए पनि उही मिठास
आउँथ्यो भन्ने लाग्यो । जस्तो स्टाइल । त्यसलाई काइदा वा शैली वा तरिका जे भनेको
भएपनि हुन्थ्यो । स्थानीय भाषाको प्रयोग सुहाएकै छ ।
५. इलैयाद्वारा कमलीको घर भत्काएर तिनीहरुलाई उपन्यासबाट
लेखकले अपहरण गरेको मलाई सत्ते मन परेन । तिनलाई एउटा भविष्य पो दिनुपथ्र्यो
लेखकले ।
६. नन्दुकी कान्छी श्रीमती अर्थात् इलैयाकी सौतेनी आमा
चमेलीलाई तपाइँले यति महिमामयी नारी बनाइदिनु भएको छ कि पाठक गौरवान्वित हुन्छ ।
उसले एउटा वृहत् आत्मसम्मान पाई तर इलैयाले जति नै अपमान गरे पनि अन्तिम घडीमा
उसकी आमाका चाँदीका गहना र लालपूर्जा फिर्ता गरेको इमान्दारिता चमेलीको हैन लेखकको
हो भन्ने लाग्छ । नयनराज पाण्डे वास्तविक जीवनमा त्यत्तिकै इमान्दार र महान हुन् ।
७. अनि रत्नाकर अन्ततः बाल्मीकि भए जस्तै इलैयालाई आमाका
गहना बेचाएर करिम र खासमा नुसरतका खुशीका लागि नयाँ साइकल किनिदिने महानता पनि
चानचुने कुरै हैन । इलैयाले उपन्यासको उत्तरार्धतिर नायकत्व प्राप्त गरेको देख्दा
आँखाबाट खुशीका आँशु तर्रर्र खस्छन् । पाठकलाई रुवाउन वा हँसाउन नसक्ने के उपन्यास ?
८. मधेशी पहाडी समुदायको बीच विहा गराउने तपाइँको इच्छा
अहिले अपरिहार्य छ । त्यसले कालान्तरमा राम्रै गर्छ भन्ने मलाई लाग्छ । अन्तरजातीय
र अन्तरक्षेत्रीय विवाह अपेक्षित छ दाइ ।
९. ओहो भन्नै बिर्सेको ।
मरेको इलैयालाई केही दिनपछि जिउँदै
पाठकका अघिल्तिर ल्याइदिँदा तपाइँको जय जयकार गर्न मन लाग्यो र वास्तविक जीवनमा
यस्ता हराएका मानिसहरु फर्केर आइदिए समाज कति भाग्यमानी हुँदो हो ।
१०. टुटे पण्डित तपाइँलाई पनि मन परेको पात्र हो भनेर बुझ्न
गाह्रो पर्दैन । इन्द्रबहादुर राईले आज रमिता छ को पात्र खोज्दा धनकुटा, इलाम कताकता पो घुमेँ भनेर लेखे जस्तो लाग्छ । तपाइँले कहाँ खोज्नुभो थाछैन तर
त्यो यही नेपाली तराई समाजको साझा पात्र हो । उसले मुसलमानहरुलाई बास दिएर
मानवाधिकारको एन.जी.ओ. खोल्नेहरु वा यु.एन.को मानवाधिकार आयोग वा नेपालकै
संवैधानिक मा.अ.आ. ले भन्दा कता हो कता महान काम गरयो उपन्यासकारको सहयोग र मायाले
। टुटे पंडित र ध.च. गोतामेको यहाँदेखि त्यहाँसम्मको पात्र पवनको पिता उस्तै
लाग्यो मलाई यहाँनेर । महान ।
११. रेडियोलालका कतिपय कुरा राम्रो तर मुसलमानहरुको बस्ती
उठाउन उसले जे गरयो त्यो निन्दनीय । हिन्दूको छोरा भइकन पनि मलाई मुसलमानहरुको
माया लाग्यो । तीप्रति श्रद्धा लाग्यो र त्यहाँ नेपालीको बास उठेको देखेँ मैले ।
बरु त्यो शिवकुमारीप्रति सुरुमा घृणा लाग्यो जब उसले रजियाको जीवन रक्षा गरी उ
मलाई मदर टेरेसा जत्तिकै महान लागी । नमस्कार छ उसलाई ।
१२. रहिमको घर जलेको र उसको मृत्यु नै भएको कुरा तराइका
साम्प्रदायिक–संवेदनशील समाजमा भैरहने घटना हो तथापि त्यहाँ जे
भयो त्यसले मजस्ता पाठकहरुका मनलाई चिमोट्छ र दिनभरि खिन्न तुल्याउँछ । सत्य हो,
तर अप्रिय दाइ ।
१३. कविता र रेडियोलालको लोभलाग्दो सम्भोग जीवनले उस्तै
उस्तै उमेरका पाठकलाई उत्ताउलै पार्ला भन्ठान्छु म । तिनीहरु निस्यै सुहागरातको
कल्पनामा लीन हुन्छन् । उपन्यासमा यत्ति पनि नभए त के को उपन्यास ?
१४. अनि, नूसरत र करिमको पृष्ठ १६७ को
सम्वाद मलाई उपन्यासभरिकै श्रेष्ठतम लाग्यो जो यस्तो छ :
करिमः म फक्कडसित दुःख पाउँछेस् ।
नुसरतः मैले भोगेभन्दा ठूलो दुःख पनि कुनै हुन्छ र ।
करिमः मेरो अनुहार पनि त राम्रो छैन नुसरत । हेर, म तँभन्दा कति कालो छु ।
नुसरतः तेरो दिल राम्रो छ करिम ।
करिमः मेरो लुगा पनि फोहोर छ । घिनलाग्दो छ ।
नुसरतः तेरो मन त सफा छ नि ।
बाफ रे नयन दाइ । तपाइँले जीवनमा प्रेम गर्नुभएन होला भनेर
म मरे पत्याउन्नँ ।
१५. बजरंगीले तिरंगा कपडाको कट्टु बनाएर लगाएको कुराले कम
तृप्ति दिँदैन अमरपालसिंह जस्ताको क्रूरताको, अत्याचारको र
त्यतातिरका मान्छेको विस्तारवादी हैकमलाई । म त भन्छु बजरंगी जिन्दावाद । अँ
अमरपालंसँग भिड्ने वीर शहीद महेशर काकालाई फूलका गुच्छा चढाउन मन लाग्छ । तिनको
सालिक उठाउन मन लाग्छ । त्यो काम गरौँ न नयन दाइ । साला नेपाली नेता, भारतीय पुलिसको चाकरी गर्ने नेपाली इन्सपेक्टर सम्झँदा पञ्चायती पुलिसको र
फटाहाबाज नेताहरुको बिर्सनलायक चरित्रको सम्झना हुन्छ । यी भएकै कुरा हुन् दाइ, तपाइँले अनावरणसम्म गरिदिनुभो । शम्भुरामहरु धेरै छन् सीमापारि र सीमावारि । म
तिनलाई घृणापूर्वक बिर्सनै चाहन्छु ।
१६. पुरानो सुइटर उध्रिए जस्तै मिलेजुलेको समाज उध्रेको जुन
विम्ब बनाउनु भएको छ नि, त्यो पनि मन परयो मलाई ।
१७. अन्त्यमा, नेपाली पत्थरपुरवा
भारतीय भूमिमा गाभिएको जुन सन्देश तपाइँले पाठकलाई दिनुभएको छ त्यो पनि उपन्यासका
केही सारहरुमध्येको हो । सीमाविद् बुद्धिनारायण श्रेष्ठसमेतबाट विमोचन गराएर
तपाइँले यस उपन्यासको निशानालाई संकेत त त्यसै दिन पनि गरेकै हो । दिनहुँ देश
लुटिएको देखेर पनि सहन बाध्य हामी र नदेखे जस्तो गर्ने नेपाली नेता र तिनले बनाएको
सरकारलाई धिक्कार नभनेर म सलाम गर्न त सक्दिन नि दाइ ।
यसअघि तपाइँका कुनै उपन्यास नपढेकोमा घाटा परेको महसुस
गर्दैछु दाइ । पूरै २५६ पृष्ठको उपन्यास पढिदिने तपाइँको पाठकको यो ३ पृष्ठको
प्रतिक्रिया जाँगर लगाएर पढ्नु होला र दाइ तपाइँले ? आग्रह त छैन नि है । मैले चिनेका पुस्तकप्रेमी साथीहरुलाई म अवश्य यो किताब
पढ्नुस् भनेर सल्लाह दिनेछु दाइ । बिदा ।
पाठक
राजन सिलवाल
पनौती–१२, खोपासी, काभ्रे
२०६९।०१।०१
No comments:
Post a Comment