एउटा अग्लो उपन्यास
हालका वर्षहरूमा आएका केही राम्रा उपन्यासहरूको नाम लिनुपर्दा यसो भन्न सकिन्छः 'प्रेतकल्प', 'हेत्छाकुप्पा', 'उर्गेनको घोडा', 'कर्नाली ब्लुज' । तर यसै वर्ष आएका उपन्यासहरूमा सबभन्दा राम्रो उपन्यासका रूपमा भन्न सकिन्छ- 'लू' । त्यसो त धु्रवचन्द्र गौतमको उपन्यास 'सातौं ऋतु' पनि यसै वर्ष आएको हो । यथार्थको भुसतिघ्रे पक्षलाई स्वैरकल्पनाको उपयोगद्वारा धु्रवचन्द्र गौतमले 'सातौं ऋतु'मा बयान गरेका छन् । तर नयनराज पाण्डेले भने यथार्थको एउटा डरलाग्दो, खतरनाक र आपत्तिजनक पक्षलाई अध्ययन, अनुसन्धान र वैयक्तिक अनुभवका अनुभूतिहरूको उपयोगद्वारा उपन्यास 'लू'मा अनावरण गरिदिएका छन् । अनावरणको प्रक्रियामा उपन्यासकारले अपनाएको सिर्जनात्मक परिश्रमले यस उपन्यासलाई धेरै माथि उचालिदिएको छ ।
ठूलो महत्त्वको सानो उपन्यास 'उलार' को उचाइसँग नयन आफैं तर्सिरहेका थिए । यो पि्रयतापूर्ण त्रासले उनलाई सिर्जनात्मक रूपले अघि बढ्नको निम्ति जिम्मेवार र गम्भीर तुल्याइदिएको थियो । पाठकप्रति सम्मानभावले ओतप्रोत भएको जिम्मेवारी र गम्भीरताको प्रतिफल बनेर 'लू' सार्वजनिक भएको छ । गत चैत २५ गते 'लू'को विमोचनमा उर्लिएको साहित्यकार र पत्रकारको भीडले पनि त्यही कुरा खुलस्त गरिदिएको थियो । एउटा पुस्तकको निम्ति मानिसहरूमा रहेको त्यत्रो सरोकार ज्यादै सुखद् कुरा हो । आगामी दिनमा राम्रा पुस्तकले आपनो सत्ता आफैंले निर्माण गर्छन् भन्ने दृष्टान्तका रूपमा पनि त्यसलाई बुझ्न सकिन्छ किनभने नयनको यो उपन्यासको गुणस्तरको सामान्य संकेत पाठकहरूले नेपालका ठुल्ठूला दैनिकहरूमा प्रकाशित पुस्तकअंशबाट पनि पाएका थिए । त्यसैले उनीहरू पुस्तकको औपचारिक विमोचन कार्यक्रममा त्यसरी हुर्रिएर आएका थिए ।
पहाडका मानिसहरूको निम्ति तराई केही नौलो र केही विरानो भूगोल हो । पहाडका उकाली-ओरालीहरू तराईमा हुँदैनन् । तर जीवनका उकाली-ओरालीहरू त्यहाँ पनि हुन्छन् । पहाडका भीरपाखा र पहराहरू तराईमा हुँदैनन् । तर नियतिका भीरपाखा र पहराहरू त्यहाँ पनि हुन्छन् । तैपनि पहाडेहरूका निम्ति तराई केही नौलो र केही विरानो लागिदिन्छ । त्यसै गरी तराईवासीहरूलाई पनि पहाड लगभग त्यस्तै लाग्छ । सामाजिकता, आर्थिकता र सांस्कृतिकताको दृष्टिले पनि तराई र पहाडमा भिन्नताहरू पर्याप्त छन् । तर राज्यले गर्ने उपेक्षा, सामाजिक भेदभाव, वर्गीय उत्पीडन कणर्ाली अञ्चलजस्ता पहाडी भूभागहरू र तराईका गाउँहरूमा उस्तैउस्तै किसिमका देख्न सकिन्छ । विकट पहाडहरू बेलाबेलामा भोकमरी र महामारीले आक्रान्त हुन्छन् र थुप्रै पहाडेहरूले अकालमा ज्यान गुमाउँछन् । तर तराईमा भोकमरी नभइहाल्ने र उपचारमा पहुँचका दृष्टिले तराई सुगम क्षेत्र हो । म यो किन उल्लेख गरिरहेको छु भने एउटै देशको फरक भौगोलिकताले निर्धारण गर्ने थुप्रै कुराहरूमा समानता र पृथकताहरू पाइन्छन् तर सीमावर्ती क्षेत्रका जनताले भोग्नु परिरहेको अत्याचारको विस्तृति भने तराईले मात्र भोग्नुपरेको पीडा हो । नयनराज पाण्डेको नयाँ उपन्यासले त्यही पीडालाई विषयवस्तु बनाएको छ ।
अर्को कुरा, तराईको समाज र त्यहाँका विपन्न समुदायका रहनसहन, त्यहाँका श्रमजीवी मानिसहरूले अपनाउने पेसागत विविधताहरू, चाडपर्व, उत्सव र अन्य सांस्कृतिक पक्षहरू पहाडे पाठकहरू निम्ति ज्ञानवर्द्धक र रोचक हुन्छन् । बोली, पहिरन र खाद्य संस्कृतिमा पनि पहाडभन्दा तराईमा यति पृथकताहरू छन् कि ती पृथकताहरू पहाडेहरूका लागि ज्ञानवर्द्धक र रोचक लाग्छन् । यस उपन्यासमा यी ज्ञानवर्द्धक र रोचक कुराहरू छन् ।
दुःखले थिल्थिल्लिएका अधिकांश तराईवासीहरूलाई आफू कस्तो छु भन्ने थाहा पाउन अथवा आपनो अवस्थाको अनुहार हेर्न एउटा राम्रो ऐना चाहिन्छ । यस उपन्यासले त्यही ऐना प्रस्तुत गरेको छ । त्यसैले तराईका पाठकहरूका निम्ति पनि यो उपन्यास ज्ञानवर्द्धक र रोचक छ । भित्री मधेसका मानिसका दुःखका चरित्रहरू बेग्लै हुन्छन् । उनीहरूलाई दक्षिणी सिमानाका मानिसहरूमाथि थपिएको दुःख थाहै हुँदैन । त्यसैले सीमाभन्दा बढी उत्तरतिर बस्ने पाठकहरूका निम्ति पनि यो उपन्यास बढी ज्ञानवर्द्धक र रोचक भएको छ ।
नेपाललाई केही वर्ष अघिसम्म 'हिन्दु राष्ट्र' भनिन्थ्यो । त्यस्तो राष्ट्रका अल्पसंख्यक मुसलमानहरूले आपनो जीवनमाथि के कस्ता दुःखहरू थप्दै बाँच्नुपरेको छ भन्ने कुरालाई यस उपन्यासले राम्ररी उद्घाटित गरिदिएकोले यस्तो 'भर्जिन' विषयमाथि उपन्यास पढ्न पाउनु वास्तवमा सबैका लागि ज्ञानवर्द्धक र रोचक घटना हो ।
यो उपन्यास नेपालको पश्चिम तराईको सीमावर्ती गाउँको कथामा आधारित छ । गाउँ ः पत्थरपुरवा । पात्रहरू ः पत्थरपुरवाका गरिब गाउँलेहरू । कुपात्रहरूः भारतीय सीमा सुरक्षाबलको रूपमा तैनाथ भारतीय सशस्त्र प्रहरीहरू, शम्भुराम जस्ता भारतीय विस्तारवादका स-साना पुर्जाहरू र तिनको ज्यादतीलाई समर्थन-अनुमोदन गरिरहेका नेपाली नेताहरू । कथाको केन्द्रीय अन्तरवस्तु ः नेपाली भूमिमाथि भारतीय अतिक्रमण र सीमाक्षेत्रमा बसोबास गर्ने नेपालीहरूविरुद्ध भारतीय पक्षद्वारा विभिन्न वहानामा आर्थिक, सामाजिक तथा राजनैतिक हस्तक्षेपको निम्ति बर्बरतापूर्ण हिंसाको प्रयोग । सीमावर्ती क्षेत्रका सीमान्तीकृत समुदायप्रति मूलतः नेपालका राजनीतिकर्मीहरूले गर्नुपर्ने दायित्वबोधको अभावले गर्दा अल्पसंख्यक नेपाली मुसलमानहरू, दलितहरू, आर्थिक विपन्नताको पराकाष्ठामा पुगेका गरिबहरू कसरी बाँचिरहेका छन् र मरिरहेका छन् भन्ने प्रश्नलाई यस उपन्यासले कलात्मक अभिव्यक्ति सहित उत्तर दिएको छ ।
पाठकहरू ! इलैया, नन्दु चिडिमार, हरदेई, चमेली, रेडियोलाल, कमला, बजरंगी, वृजलाल, महेशर, जागेशर, टुटे पण्डित, अनवर, रजिया, सलिम, नुसरत, करिम, सबै मिलेर नयनको उपन्यासलाई राम्रो कथा र नराम्रो दुःखको पुरिया बनाइदिएका छन् । त्यही कथा र त्यही दुःखलाई तपाईंको हृदयदेखि मस्तिष्कसम्म पुर्याउनका लागि पढ्नुपर्ने उपन्यास हो ः लू । बहराइचको शम्भुरामले नेपालगन्जका नेताहरूलाई कसरी नचाउँछ भन्ने थाहा पाउन पढ्नुपर्ने उपन्यास हो ः लू । काठमाडौंले नेपालगन्जमा 'दंगा' फैलिएको सुनेको थियो । काठमाडौंबाट निस्कने पत्रपत्रिकाहरू, टेलिभिजन, रेडियोहरूबाट अरू ठाउँका मानिसले पनि त्यस्तो अपि्रय समाचार सुनेका थिए । तर त्यस्तो 'दंगा'को भित्री कथा कस्तो हुन्छ भन्ने कुरा धेरैलाई थाहा थिएन । त्यही सत्य थाहा पाउन पनि पढ्नुपर्ने उपन्यास होः लू ।
यस उपन्यासलाई तेस्रो पटक 'लू' शीर्षक अन्तर्गत पढिरहँदा नेपालले भोगिरहेको दुःखका किसिमहरूबारे मैले अझै थप अन्वेषण गर्नुपर्ने आवश्यकता अनुभव गरें । अन्त नदेखिएका दुःखहरूलाई यस उपन्यासभित्र देखिसकेपछि राजनीतिक व्यभिचार, साम्प्रदायिक हिंसा, सिमाना ताछिँदै गएर देशको भौगोलिक आयतन घटिरहेको मर्म, अन्तरजातीय सुसम्बन्धहरूमाथि आक्रमण बाहेक अरू दुःखहरू पनि हुन सक्छन् भन्ने कुराको आभास हुन्छ । त्यस्तो अनुभूतिले मस्तिष्कलाई दुःखीभन्दा बढी चनाखो पारिदिन्छ । यति राम्रो उपन्यासभित्र पनि दुर्बलताहरू फेला पार्न सकिन्छ । चिनी र खजुर हालेको सेबई खाएर करिमका बाआमा र दाजुभाउजूहरूले आत्महत्या गरेका छन् । चरम गरिबीले निम्त्याउने अनेक प्रकारका दुःखहरूबाट त्राण पाउन आत्महत्याको बाटो रोजेको त्यो परिवारले करिम एक्लोलाई चाहिँ किन बचाइदियो ? कुराकानीको क्रममा 'त्यस्तो हुँदैन' भन्छन् नारायण ढकाल । सामान्यतः त्यस्तो हुँदै हुँदैन । उपन्यासकारले त्यस अवस्थाको तर्कसंगत प्रष्टीकरण उपन्यासमा दिएका छैनन् । यो अलि बढी नाटकीय लाग्दछ ।
चित्रहरू बनाउँदा प्रकाश र छायाको सन्तुलन बिगि्रयो भने चित्र बिगि्रन्छ । त्यसैगरी चित्र बनाउँदा अनुपात बिगि्रयो भने अर्थात् शरीर वा कुनै वस्तुको आकारको अनुपातमा शरीरको अंग वा वस्तुको कुनै अंग सानो वा ठूलो भइदियो भने कुनै चित्र कुरूप हुन्छ र चित्रकार असफल हुन्छ । मलाई लाग्छ आख्यानमा त्यसैगरी समयको अनुपात मिलेन भने लेखाइको आधिकारिकतामा प्रश्न उठन सक्छ । उपन्यास 'लू' पढिरहँदा एक ठाउँमा पञ्चायतकाल आइपुगेको छ । खडानन्द पौडेल नाउँको प्रधानपञ्चले एउटा राम्रो चित्रकार हुन सक्ने जागेशरलाई सत्ताविरोधी चित्र बनाएको आरोपमा अञ्चलाधीश कहाँ पुर्याइदिएको छ । र, सत्ताविरोधी चित्र बनाएको आरोपमा अञ्चलाधीशले जागेशर र उसको बाउ महेशरलाई तीन दिनसम्म थुनाइदिएको छ । यहाँ समयको अनुपात अलि बिगि्रएझैं लाग्छ किनभने उपन्यासले समयको किटानी नगरे पनि लक्ष्मणपुर बाँध बनिसकेपछिको बहुदलीय कालको कथालाई समेटेको बुझिन्छ । त्यसैले पनि प्रधानपञ्चहरू समयको अनुपात नमिलेका पात्र भएका छन् । यस्ता स-साना त्रुटिहरू छन् । छिद्रान्वेषणमा रुचि भएकाहरूले अलि बढी भेट्लान् तर समग्रतामा यो उपन्यास यति आकर्षक, यति नवीन र कलात्मक रूपले पनि यति शक्तिसम्पन्न भएर आएको छ कि त्यस्ता स-साना छिद्रहरूलाई पाठकले अक्षम्य ठान्नै सक्दैन ।
सिर्जनशील परिश्रम गर्दा उपन्यासकारले हज्जारौं शब्दहरूलाई निर्ममतापूर्वक आख्यानको कलेवरबाट बिदा दिएका छन् । उनले उपन्यासको दोस्रो मस्यौदालाई 'उठ् इलैया उठ्' शीर्षक दिएका थिए । त्यहाँसम्म आइपुग्दा पनि हज्जारौं शब्दहरू मूलकथामा हाँगा हालेर झांगिएका थिए । त्यसबेला एउटा खतरनाक पात्र थियो- शिवकुमार । नेपालको नागरिकता समेत लिन भ्याएको भारतीय युवक पत्रकार बनेर नेपालीहरूविरुद्ध भारतीय अपराधी र डाँकाहरूसँग साँठगाँठ गथ्र्यो र कमाउँथ्यो । ऊ पैसा र जीवन दुवै यसरी कमाउने धन्दामा लिप्त थियो । उपन्यासको सूत्रधार जस्तो बनेको त्यो पात्रमा उपन्यासकार नयनले यथार्थको ठूलो भारी बोकाएका थिए, तर त्यो त्यति धेरै स्वाभाविक देखिन्नथ्यो । उपन्यासमा हाबी हुन खोजेको नाटकीयतालाई मिल्काउन उपन्यासकारले उपन्यासको अन्तिम मस्यौदामा शिवकुमारसँग जोडिएका सम्पूर्ण उपकथाहरू मिल्काइदिए । यसो गरेर उपन्यासकारले एकातिर शिवकुमारको सम्पूर्ण चरित्रलाई नयाँ आख्यानको निम्ति सुरक्षित राखेका छन् भने अर्कातिर उपन्यासको शरीरमा लाग्न पुगेको बोसो मिल्काइदिएर उपन्यासलाई छरितो पार्ने कौशल देखाएका छन् ।
अर्को प्रसंग । दोस्तोएब्स्कीको उपन्यास 'क्राइम एन्ड पनिसमेन्ट' मा रस्कोलनिकोभले हत्या गरिदिएको निकम्मा बूढीजस्ती एउटा रहस्यमयी वृद्धा पनि नयनको यो उपन्यासभित्र मूल कथाको डिलमा बसेकी थिई । सामन्तवादी सामाजिकताको पुँजीवादमा संक्रमण हुने तत्परतालाई उपन्यासकारले त्यस पात्रको माध्यमबाट व्यक्त गर्न खोजेका थिए । त्यस प्रयोजनका निम्ति त्यस पात्रलाई उनले मूलकथाभित्र एउटा गहनाजस्तो बनाएका थिए । तर अनुपात नमिलेको चित्रजस्तै त्यो गहना उपन्यासको निम्ति गाईको घााटीमा झुन्डिएको घााडोजस्तो पनि देखिएको थियो । अर्को अलग्गै कथा विस्तार गर्न सक्ने वाहनजस्तो त्यस पात्रको इतिवृत्तलाई छााटेर पनि उपन्यासकारले 'लू' लाई छरितो र बढी कलात्मक पार्ने परिश्रम गरेका छन् ।
उपन्यास परिमार्जनका निम्ति पाण्डुलिपिको पाठक समेत भएको नाताले म यस तथ्यलाई अन्य लेखक तथा पाठकहरूसँग बाँडचुँड गरिरहेको छु । यसो गरेर मैले जिम्मेवार रचनाकारको रचना-प्रक्रिया कतिसम्म परिश्रमपूर्ण हुन्छ भन्ने कुरा विज्ञदेखि सामान्य पाठकसम्म वितरण गर्ने काम गरेको छु । रचनात्मक सामथ्र्यलाई दायित्त्वपूर्ण लेखनको दिशातिर मोड्न पनि मैले यो प्रक्रियाका बारे उल्लेख गर्ने धृष्टता गरेको हुँ । उपन्यासकारले गरेका यस्ता परिश्रमहरू 'लू' मा धेरै छन् । पहिलो लेखनदेखि अन्तिम लेखनसम्म पुग्नलाई गर्नुपर्ने वा गर्न सकिने यावत् परिश्रमहरूलाई मैले यहाँ सिर्जनशील परिश्रम भनेको छु । लेख्नेबित्तिकै छपाउन हतार गर्ने र आफूले लेखेको 'पक्कै राम्रो' भन्ठान्ने घातक प्रवृत्तिलाई यस्तो परिश्रमले दुरुत्साहित गर्नेछ र लेखनको संसारमा विचरण गर्न चाहनेहरूलाई जिम्मेवारीपूर्वक अग्रसर हुनका लागि एउटा राम्रो पाठ सिकाउनेछ ।
एउटा उत्कृष्ट उपन्यासको सिर्जना सहित रचना-प्रक्रियामा परिश्रमको महत्ता उजागर गर्दै एउटा असल शिक्षाको सञ्चार समेत गरेकोमा उपन्यासकार नयनराज पाण्डेलाई हार्दिक बधाई !
प्रकाशित मिति: २०६९ वैशाख २ ०९:३८
No comments:
Post a Comment