(कान्तिपुर दैनिक-७ बैसाख,२०६९)
नेपाली लेखनमा मधेस र उलारको स्थिति
तराईतिर टाँगा वा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन बिग्रने प्रक्रियालाई स्थानीय भाषामा 'उलार' भन्ने गरिन्छ । नेपाली लेखनमा पनि कथ्य र परिवेशको दृष्टिले असन्तुलन छ ।
'उलार'पछि पछिल्लो साता 'लू' उपन्यास लेखेर नयनराज पाण्डे यतिखेर चर्चामा छन् । 'लू'मा पनि तराईका सीमावर्ती क्षेत्रका सवालहरूलाई उनिएको छ । परशु प्रधान र नारायणी तिवारीले एक वर्ष पहिला 'तराई मधेसका कथा' संग्रहमा बयालीसवटा कथाको सम्पादन गर्नुभएको छ । त्यो संग्रहमा कथा छनौटका आधारहरूबारे भनिएको छ, 'तराई- मधेसको पृष्ठभूमिमा लेखिएको, स्थानीय बोलिने भाषाहरूको प्रयोग भएको, शोषण, उत्पीडन र विसंगति आदिलाई उजागर गरिएको, त्यहाँको स्पष्ट चित्र आउनेछ ।' यसरी पछिल्ला समयमा तराई-मधेसका पृष्ठभूमिमा केन्दि्रत रही साहित्य लेखनको काम फक्रिँदै गएको छ ।
उसो त मधेसका जनजीवनलाई लिएर नेपाली साहित्यमा पहिला पनि लेखिएका छन् । तर यतिखेर भइरहेका प्रयत्नहरूलाई आधुनिक राष्ट्रनिर्माणको प्रकृयासंँग जोडेर पनि हेरिने गरिएको छ । नेपालको भविष्य सुनिश्चित गर्न सामूहिक रूपमा सबैको दूरदृष्टि आवश्यक छ । यसबाट सामाजिक र राजनीतिक धु्रवीकरणलाई न्यून गरी समावेशी राष्ट्रनिर्माणमा टेवा पुर्याउन सकिन्छ । हो पनि समाज एकातिर अग्रसर हुँदा स्रष्टा लेखक अर्को दिशामा प्रवृत्त हुनसक्दैनन् । आफ्नो माटो वा भनौं आफ्नो कालखण्ड सापेक्ष नरहने स्रष्टालाई समाजले विस्मृतिको गर्भमा थन्क्याएर
सुरक्षित राख्ने गर्छ । साहित्यको क्षेत्रबाट भइरहेका प्रयासहरूको लेखाजोखा भविष्यले गर्ला, तर अहिले यतिमात्र भन्न सकिन्छ, मधेसको कथ्यलाई यसले राष्ट्रियकरण गर्छ ।
बहसको अर्को कोण पनि छ, इतिहासमा कतै पनि त्यस्तो समाज उँभो लागेको छैन, जहाँ सांस्कृतिक र साहित्यिक प्रयासहरू भएको छैन ? कतै पनि यस्तो भेटिंदैन ? त के हामी पहिलोपटक यस्तो गर्न खोज्दैछौं त ? केवल राजनीतिकर्मी र राजनीतिलाई आलोचना गरेर समाज विकसित हुनसक्दैन । तराईमा विविधता छ र यहाँ अनेकौं प्रयत्न पनि भइरहेका छन् । तर फर्केर हेर्ने हो भने मधेसी समाजका बारेमा थोरै लेख्ने काम भएका छन् । लेखनलाई अनेकौ कोणबाट हेर्नुपर्ने हुन्छ, साहित्य, इतिहास, पत्रकारिता । अहिलेसम्मको स्थितिमा नेपाली लेखनलाई नियाल्दा मधेस र मधेसीलाई केन्द्रीय तत्त्व मानेर पुस्तक लेखनको काम अत्यन्त कम भएको छ । तराईतिर टाँगा वा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन नमिल्ने, बिग्रने प्रक्रियालाई स्थानीय भाषामा 'उलार' भन्ने गरिन्छ, नेपाली लेखनमा पनि कथ्य र परिवेशको दृष्टिले असन्तुलन छ । गैरआख्यानतिरको लेखनमा दुइटा धार देखिन्छ- एउटा, राजनीतिक उद्देश्यसाथ नियोजित रूपमा पुस्तक लेखनको काम, दोस्रो सोधकर्मीका रूपमा पुस्तकको प्रस्तुति । संविधानसभाको पृष्ठभूमिमा मधेसको मुद्दा र राज्य पुनसर्ंरचना आधारित पुस्तकहरू बाहिरिएका छन् । उपेन्द्र यादव, जयप्रकाश गुप्ता लगायत मधेसका बारेमा लेख्ने राजनीतिकर्मीहरू पनि छन् ।
जुन समाजका बारेमा जति बढी लेखिएको छ, शोध भएको छ, त्यहाँ परिवर्तनको गति तीव्र हुन्छ र त्यो समाजलाई अगाडि ल्याउन लेखकहरूको योगदानको ठूलो हिस्सा मानिन्छ । जातीय, भाषिक तथा क्षेत्रगत समुदायबाट राज्यप्रदत्त विभेदका विरुद्ध र राज्ययन्त्रमा न्यायपूर्ण सहभागिताका लागि आवाज उठाएको नेपालकै पहिलो क्षेत्र मधेस हो । तर मधेसी विद्रोहले पारेको सामाजिक, आर्थिक र राजनीतिक असरहरूका बारेमा बहुकोणीय अध्ययनका साथ प्राज्ञिक पुस्तक आउन सकिरहेको छैन । मधेश केन्दि्रत प्राज्ञिक तहमा शोधहरूको अत्यन्त खाँचो छ । मौलिक लेखनको दृष्टिले मधेस शोधार्थीहरूका लागि उर्वर मैदान रहेको छ । प|mेडरिक गेजले चार दसक पहिला अंग्रेजीमा लेखेका 'रिजनलिजम एन्ड नेसनल युनिटी इन नेपाल' पुस्तक विदेशीहरूले लेखेको तराईकेन्दि्रत पुस्तक कोशेढुंगा नै मानिन्छ । तर मधेसी विद्रोहपछि नेपालमा त्यसको पुनर्प्रकाशन गरिंदा त्यो पुस्तक खासै बिक्री भएन । त्यस्तै सोसल साइन्स उहाँले पाँच वर्ष पहिला 'मधेस समस्या र सम्भावना' पुस्तक निकालेको थियो । त्यतिखेर मधेसजस्तो सारै थोरैमात्र अध्ययन गरिएको र कमैमात्र छलफल हुने विषयमा यो पुस्तक एउटा गहकिलो सामग्री थियो ।
मूलधारको पत्रकारितामा मधेससँग जोडेर गरिने अखबारी लेखन एउटा पाटो हो, तर समाजलाई समुन्नत बनाउन तथा न्यायको खोजीको क्रमलाई सन्तुलित बनाउन प्राज्ञिक कार्यहरूको खाँचो छ । राजनीतिक नाराहरूलाई बोकेर कार्यपत्र लेख्नु, स-सानो पुस्तिकाहरू प्रकाशन गर्नु भनेको तात्कालिक कार्यसिद्धी मात्र हो । मधेसमा कार्यरत प्राध्यापकहरूमा मधेस केन्दि्रत अनुसन्धानप्रति उदासीनता रहेको भन्नु वेमुनासिव नहोला । जसले जाँगर देखाउँछन्, ऊ पनि आवश्यक स्रोत र साधनहरूको सीमाले चेपिन पुग्छन् । दाताहरूले तराईतिर नजर राख्न थालेपछि केही अध्ययनका काम हुने गरेका छन् । तर त्यो कतिको प्राज्ञिक र तथ्यपरक हुनसकेको छ, त्यसको परीक्षण हुन बांँकी छ । त्यसैले आवश्यकता छ, मधेसका इतिहास, सामाजिक विकास, अर्थतन्त्र, आप्रवासन, खुला सिमाना, दाताहरूको सहयोग, आन्दोलनको रसायन, भूराजनीति, अधिकारको राजनीति, केन्द्रीय राजनीतिमा पहुँच, सामाजिक विविधता र सम्मिलीकरण, पर्यावरण, कृषि, राजमार्ग संस्कृति, भारतीय राज्यहरूसंगको अन्तरनिर्भरता, सामाजिक सुरक्षा, लैङ्गकि चेतना, सामुदायिक सम्बन्ध, दलित सन्दर्भ, नगरीय संस्कृतिको विकास र त्यसका आयामहरूजस्ता अनेकौं पक्षबारे प्राज्ञिक अध्ययनको खाँचो छ । मधेसका बारेमा वैज्ञानिक इतिहास लेखनको काम बाँकी छ । तराई-मधेस आफैमा विविधतापूर्ण छ, सन्थाल, राजवंशी, विराट क्षेत्र, मिथिला, लुम्बिनी वा नयाँ मुलुकका क्षेत्रगत रूपमा जिम्मेवार र सरोकारी इतिहास लेखनको काम गर्नु पर्नेछ ।
विगतमा विभिन्न गैरसरकारी संस्थाहरूमार्फत पनि अध्ययनहरू भए, तर त्यसमा हिमाल र पहाडलाई प्राथमिकता भन्दै समथल भूभागका पक्षहरू किनारामा परे । मधेशसंँग जोडिएका तमाम पक्षका बारेमा अहिले पनि ठूलो रिक्तता छ । सामग्रीहरूको खोजी गर्दा सन्दर्भहरू फेला पार्नु अत्यन्त दुष्कर हुन्छ । मधेस भनेको नेपालका लागि सघन जनघनत्व भएको, सामाजिक विविधता बोकेको, फरक भूगोल भएको तथा दक्षिण एसियाका खुला सिमाना भएको अन्तर्राष्ट्रिय सेतु पनि हो । यसका लागि राष्ट्रियस्तरमै पहलको खाँचो छ । प्राज्ञिक अध्ययन भन्नु सजिलो छ, तर त्यसका मान्यताहरूलाई अनुपालन गर्नु अत्यन्त गारो हुन्छ । उसो राजनीति खेतीकै नाममा यतिखेर लेख्नेहरू हौसिएका छन्, कमसेकम मौन रहनुभन्दा बोल्नुलाई राम्रो मान्नुपर्छ । तथापि थारुका बारेमा पनि थोरै काम भएका छन्, तर जेजति भएका छन्, तुलनात्मक रूपमा थोकमा मधेसभन्दा बढी गुणात्मक भएका छन् ।
केन्द्रीय अखबारका पानाहरू पल्टाउँदा प्रायः मधेसीहरू यो छैन, त्यो छैन भनेर गुनासा गरिरहेका भेटिन्छन् । उद्योगका रूपमा स्थापित भइसकेको नेपाली मिडियाले आफ्नो बजार केन्दि्रत सामग्री पस्किनु उसको स्वार्थ हो । यहींनिर प्रश्न उठ्छ, तराईका मधेसी बहुल क्षेत्रमा पत्रिका किन्ने र पढ्ने कतिको बानी छ ? त्यस्तै केन्द्रीय अखबारहरूको खपत कतिको छ ? पाठक प्रतिक्रिया लेख्ने कतिको सोच छ ? मधेसीहरू जबसम्म अखबारका लागि थोक बजार हुँदैनन्, तबसम्म उसका रुचिकर कुराहरू कम फेला पर्नु अनौठो होइन । अहिले पनि यस्ता पेसाकर्मीहरूको कमी छ, जो उपहारमा पाएका पुस्तकलाई पनि गम्भीरतापूर्वक पढुन् । छिमेककै पश्चिम बंगालमा पुस्तक संस्कृतिको गहिरो तादात्म्य छ । मधेसमा जबसम्म पढ्ने र लेख्ने आन्दोलन हुँदैन, यो समाज उँभो लाग्दैन । खासगरी मधेसका युवाहरूले यो पक्षलाई बुझ्न जरुरी छ । चार-पाँच दशक पहिला तराईका प्रमुख बजारहरूमा गतिला पुस्तकालयहरू थिए, ती पुस्तकालयहरू लगनशील युवाहरूले संचालन गरेका थिए । तीमध्ये कैयौं पुस्तकालय त राष्ट्रियस्तरमै चिनारी पाएको थियो । तर तीमध्ये आज धेरै पुस्तकालय बन्द भइसके वा जनकपुरको रेलजस्तै छुकुछुकु हिंड्दैछन् ।
यहाँनिर तीनटा कुरा छन्, एउटा त गम्भीर पाठकको ठूलो सङ्ख्या भयो भने लेखकहरूको बढोत्तरी हुन्छ वा जब मधेस र मधेसीको अन्तर्राष्ट्रिय रणनीतिक महत्व हुन्छ, त्यतिखेर लेख्ने र लेखाउनेहरूको घुइँचो लाग्छ वा स्वयम् आफ्नो इतिहास, परम्परा र विशिष्टता जान्दै ऊध्र्वमुखी हुन सामाजिक प्रवृत्ति संस्कृतिकै रूपमा विकसित हुन्छ । त्यतिखेर लेखनको बाढी आउँछ । तराईका भाषामा आफ्नो साहित्य र संस्कृतिको पक्षमा लेखनहरू भएका छन्, त्यसको सामाजिक मूल्य पनि छ । तर यतिखेर तराईको समाजका बारेमा लेखनको अत्यन्त खाँचो छ । तराईका भाषाहरूमा भइरहेका लेखनलाई अन्य भूगोलका नेपालीमाझ फिँजाउन पनि त्यतिकै आवश्यक छ, जो नेपालीमा अनुवाद गरेर हुनसक्छ । साहित्यिक माध्यमहरूमा तराईको परिवेश पस्किंँदा यसले सम्बन्धित समाजलाई सशक्त बनाउँछ र आफ्ना समयका कमजोरीहरूसंँग जुझ्न ऊर्जा दिन्छ । यो कार्य मधेसकै मान्छेले गर्नुपर्छ भन्ने छैन । तर मधेससँग परिचितहरूले यस विषयमा गहिरो अनुभूति राख्ने भएको हुनाले सटिक अभिव्यक्ति दिनसक्छन् ।
तराई-मधेस क्षेत्रको नाम लिंदैमा एकातिर संस्कृति, सभ्यता, इतिहास र ज्ञानचिन्तन सबैको तस्विर खडा हुन्छ, अर्कोतिर वर्तमानमा परस्पर विरोधी परिस्थिति पनि झल्किन्छ । त्यसैले अतीतको स्मरण र वर्तमानमाथि गम्भीरतापूर्वक विचारले नै तराई-मधेसले आफ्ना समस्याहरूको समाधान गर्नमा समर्थ हुन्छ । मधेसको अतीत गतमात्र होइन, त्यो ऊध्र्वमुखी हो र वर्तमान चुनौतीपूर्ण छ । मधेस ऊध्र्वमुखी भएर आफ्ना वर्तमानका चुनौतीहरूसँग सामना गर्न सकुन्, त्यो राष्ट्रिय मूल प्रवाहीकरण र समृद्धिका लागि पनि आवश्यक छ । यस दूरदृष्टिका साथ मधेसका प्रत्येक पक्षका बारेमा बहुआयामिक लेखन हुन जरुरी छ । लेखनका साथ साथै गम्भीर पाठक पनि चाहिने हुनाले यस सम्बन्धमा सामाजिक विमर्शको आवश्यकता छ । त्यस्तै मूलधारको मिडियाले सामाजिक उत्तरदायित्व पालना गर्दै समावेशी स्वरलाई पछिल्ला समयमा 'स्पेस' दिंदै गएको छ । त्यो अवसरलाई पनि सामुदायिक सशक्तीकरणमा अनुवाद गर्न सामाजिक अभियानकै माग राख्छ ।
No comments:
Post a Comment