Thursday, April 19, 2012

"उलार" उपन्यासको समाजपरक समालोचना-विन्दु शर्मा


उलार’ उपन्यासको समाजपरक समालोचना

- बिन्दु शर्मा
प्रवेश
नयनराज पाण्डे (२०२३) समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने उपन्यासकार हुन् । चालीसको दशकको प्रारम्भदेखि नै कृति प्रकाशनमा सक्रिय रहेका पाण्डेका हालसम्म नाङ्गो मान्छेको डायरी (२०४४), विक्रमादित्य एउटा कथा सुन ! (२०४४), अतिरिक्त (२०५०), उलार (२०५५) र लू (२०६८) गरी पाँचओटा उपन्यास प्रकाशित छन् । उनका खोरभित्र जोकर (२०६१) र निदाए“ जगदम्बा (२०६५) जस्ता दुईओटा कथासङ्ग्रहहरू पनि प्रकाशित देखिन्छन् । भारतीय सीमावर्ती क्षेत्रको नेपाली जीवनलाई निकटबाट नियाल्ने लू उनको भर्खर प्रकाशित भएर पनि निकै चर्चा पाइरहेको एउटा स्तरीय उपन्यास हो तर यस लेखको विषय भने केवल उलार मात्र रहेको छ ।
उलार पहिलोपल्ट २०५५ सालमा तन्नेरी प्रकाशनबाट प्रकाशित भएको उपन्यास हो तर यसको दोस्रो संस्करण २०६५ सालमा फाइनप्रिन्ट आइएनसीबाट आएको छ । पोस्टकार्ड आकारका जम्मा असी पृष्ठमा विस्तारित यस कृतिमा कवि श्यामलको ‘सीमान्त तहका जनताको संघर्षकथा’ शीर्षकमा भूमिका समावेश गरिएको छ । पात्रको भाषा र परिवेशलाई आञ्चलिकताको रङ दिएर लेखिएको उनको उलार उपन्यास सामाजिक अध्ययनका दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण रहेको छ । त्यसैले यहाँ उलार उपन्यासलाई समाजपरक समालोचना–पद्धति आधारमा विश्लेषण गरिएको छ ।

समाजपरक समालोचना
कृतिलाई सामाजिक धरातलका आधारमा विश्लेषण गर्ने पद्धतिलाई समाजपरक समालोचना भनिन्छ । अठारौँ शताब्दीमा गियाम्बाटिस्टा भिकोले नया“ विज्ञान (सन् १७२५) शीर्षकको कृतिमा होमरका महाकाव्यको तत्कालीन ग्रिसेली सामाजिक सन्दर्भबाट विश्लेषण गरेपछि यस पद्धतिको आरम्भ भएको मानिन्छ । साहित्य समाजसापेक्ष हुने भएकोले यसको अध्ययनको केन्द्रबिन्दु समाजलाई नै बनाउनुपर्छ भन्ने मान्यता राख्ने यस पद्धतिमा लेखकको सामाजिक परिवेश, कृतिको विषयवस्तु, भाषाशैलीको समाजसँगको सम्बन्ध, समाजले कृतिमा पारेको प्रभाव र कृतिले समाजमा पार्ने प्रभावको विश्लेषण गरिन्छ ।
भिकोपछि जर्मनेली दार्शनिक जे.जी. हर्डरले यस पद्धतिलाई अगाडि बढाएका हुन् । साहित्य खास किसिमको भौतिक–सामाजिक परिवेशमा जन्मने हुनाले त्यसको इतिहास भौतिक–सामाजिक इतिहासकै एउटा रूप हो भन्ने उनको मान्यता छ । उनले साहित्यको व्याख्या गर्दा राष्ट्रिय, जातीय, जलवायवीय तथा सामाजिक नियमलाई महत्त्व दिनुपर्ने बताएका छन् (गौतम, २०५०ः४१–४२) । हर्डरले प्राचीन ग्रिसेली नाटक र पुनर्जागरणकालीन सेक्सपियरका नाटकको तुलनात्मक अध्ययन गरेर साहित्यकार आफ्नो युग र जातिको चैतन्यबाट गम्भीर ढङ्गले प्रभावित हुने निष्कर्ष पनि निकालेका छन् । त्यसपछि समाजपरक समालोचना चिन्तनको परम्परा फ्रान्समा सुरु भएको पाइन्छ । यस परम्परामा म्याडम द स्टायलले सामाजिक संस्थास“ग साहित्यको सम्बन्धमाथि विचार नामक पुस्तकमा पहिलो पटक साहित्यको भौतिक आधार, सामाजिक अस्तित्व र सामाजिक संस्थासँग त्यसको क्रियाप्रतिक्रियाबारे व्यवस्थित ढङ्गबाट विचार गरेकी छन् (पाण्डेय, १९८९ः११७) । यसमा उनले समाजका रीतिरिवाज तथा कानुनहरूले साहित्यलाई निश्चित दिशामा ढाल्छन् भन्ने उल्लेख गरेकी छन् । स्टायलको दृष्टि नवीन छ तर पनि उनको अध्ययन त्यति व्यवस्थित बन्न सकेको छैन । स्टायलको कमजोरी उनीपछिका टेनले आफ्नो सिद्धान्तमा हटाउने प्रयास गरेका छन् । त्यसैले समालोचनाको सामाजिक दृष्टिकोणको व्यवस्थित सैद्धान्तिक स्वरूप टेनबाटै सुरु भएको देखिन्छ (त्रिपाठी, २०५८ः१४९) ।
फ्रान्सेली दार्शनिक एवम् समालोचक हिप्पोलिट टेनको कलाको दर्शन नामक ग्रन्थ साहित्यको समाजपरक समालोचनाको सैद्धान्तिक मान्यता स्थापना गर्ने प्रमुख आधारशिला हो (बराल, २०५६ः६५) । यसको व्यावहारिक रूपमा प्रयोगचाहिँ उनले अङ्ग्रेजी साहित्यको इतिहास शीर्षकको कृतिमा गरेका छन् । साहित्य तथा कलाको उद्भव र विकासमा जाति, युग र परिवेशलाई बढी जोड दिएर उनले साहित्यिक सिद्धान्तको सुसङ्गत रूपरेखा प्रस्तुत गरेका छन् । टेनका अनुसार जाति, क्षण र परिवेशजस्ता तत्त्वले नै साहित्यलाई खास दिशामा ढाल्दछन् । यसरी हेर्दा उन्नाइसौँ शताब्दीका चिन्तक हिप्पोलिट टेनका सैद्धान्तिक मान्यताबाटै समाजपरक समालोचनाको प्रवर्तन भएको स्पष्ट हुन्छ ।

उलार उपन्यासको समाजपरक समालोचना
उपन्यासको समाजपरक समालोचना गर्दा कृति र समाजको अन्तर्सम्बन्ध विश्लेषण गर्नुपर्ने हुन्छ । यस परिप्रेक्ष्यमा भिकोले साहित्यलाई भौतिक परिवेश र समाजकै सृष्टि मानेका छन् । हर्डरले पनि खास किसिमको भौतिक तथा सामाजिक परिवेशमा साहित्यको उत्पत्ति हुन्छ भन्ने कुरा स्विकारेका छन् । स्टायलले चाहिँ धर्म, कानुन, राजनीति आदिबाट साहित्यमा कस्तो प्रभाव पर्दछ भन्ने चर्चा गरेकी छन् (गौतम, २०५०ः४५) । यसरी साहित्यलाई समाजको उत्पादन मानिसकेपछि सामाजिकताकै आधारमा यसको विश्लेषण गर्नु उपयुक्त ठहर्दछ । यहाँ उलार उपन्यासलाई समाजपरक समालोचना पद्धितिका संस्थापक टेनका प्रमुख मान्यताहरू जाति, क्षण र परिवेशका आधारमा विश्लेषण गरिएको छ । यसका साथै यसमा भिको, हर्डर र स्टायलका मान्यताहरूको पनि आवश्यकतानुसार चर्चा गरिएको छ ।

(क) जाति
जाति भन्नाले कृतिमा अभिव्यक्त राष्ट्रिय चरित्रलाई बुझाउँछ (गौतम, २०५०ः४५) । प्रस्तुत उपन्यासले जनआन्दोलनपछिको राष्ट्रिय राजनैतिक क्षेत्रका नेपाली जातिका कुरूपतालाई प्रस्ट पारिदिएको छ । आजको राजनीतिले एकातिर प्रेमललवाजस्ता सोझा, गरिब र कर्मशील व्यक्तिहरूका आशा र सपनालाई भताभुङ्ग पारिदिएको छ भने अर्कातिर राजेन्द्रराजजस्ता ठग र शोषकहरूलाई शोषण गर्ने परिवेश सिर्जना गरी स्वतन्त्र अवसर समेत प्रदान गरेको छ । यहाँका कथित राजनेताहरूमा देश र गरिब जनताका लागि काम गर्ने परिपाटी कहिल्यै देखा परेन । व्यक्तिगत स्वार्थ र पार्टीगत हितका नाममा जस्तोसुकै भ्रष्ट कार्य गर्न पनि पछि नपर्ने नेपाली राष्ट्रिय राजनीतिको यथार्थ यस उपन्यासमा प्रस्तुत भएको छ । आपूmले भोट खसालेको राजेन्द्रराजले चुनाव हारेपछि छक्क परेको प्रेमललवाले आफ्नै टाँगामा बसेका व्यक्तिका मुखबाट सुनेका कुराहरूलाई यहाँ उदाहरणका रूपमा लिन सकिन्छ ः “बुझिस्, राजिन्दरबाबुले सहयोग नगरेको भए, कहाँ जित्नु शान्तिराजाले ? शान्तिराजाले राजिन्दरबाबुलाई पाँच लाख क्यास दिएको त मैले आफ्नै आँखाले देखेको । राजिन्दरबाबुले आफ्नो सत्तर प्रतिशत भोट शान्तिराजाकोमा खसाउन लगाए ।” (पृ. ३२)
आपूm जसका लागि भनेर चुनावमा खटिएको थियो, उसैको असली चरित्र प्रेमललवाले बुझेको थिएन । प्रेमललवाको निरीहता, राजेन्द्रराजको कपटी तथा शान्तिराजाको गैरजिम्मेवारपन नेपाली राष्ट्रिय राजनीतिक चरित्रकै विशेषता हुन् । टेनले जुन राष्ट्रिय चरित्रको उल्लेख गरेका छन्, त्यसको मूर्त रूप यसमा देखिन्छ । त्यसैले ‘उलार’ हाम्रो राजनीति र जातीय कुरूपतालाई सफलताका साथ प्रस्तुत गरिएको उपन्यास हो ।
टेनका अनुसार व्यक्तिका विशेषता, आनुवंशिकता, मानसिक बनावट र शारीरिक संरचनाजस्ता पक्षहरू पनि जातिअन्तर्गत पर्दछन् (पाण्डेय, सन् १९८९ः१२४) । आनुवंशिकताले वंशपरम्पराबाट अर्जित विशेषतालाई बुझाउँछ भने मानसिक बनावट तत्कालीन सामाजिक र राजनीतिक परिस्थितिसँग सम्बद्ध हुन्छ । उलारका लेखक नयनराज पाण्डेमा आनुवंशिकताका साथै तत्कालीन सामाजिक र राजनीतिक परिस्थितिको पनि प्रभाव परेको छ, जुन यसको पात्रयोजना तथा घटनाहरूमा स्पष्ट देख्न सकिन्छ । म्याडम द स्टायल पनि कृतिका पात्रयोजनामा लेखकको जातीयताले प्रभाव पार्ने बताउँछिन् (दाहाल, २०६०ः३) । यस उपन्यासमा प्रयुक्त लेखकपात्र निराकारमान उपन्यासकार पाण्डेको पेसागत जातीयताको प्रतिनिधि पात्र हो, जसले मन्त्री बनेका शान्तिराजालाई भेट्न काठमाडौँ गएको प्रेमललवाको जीवनका दुःखहरू सुन्छ, उसकै पैसाले रक्सी खान्छ र मन्त्रीसँग भेटाइदिने बाचा गरेर बेपत्ता हुन्छ । यसरी आफ्नो जीवनको कथा लेख्ने बताएर आफ्नै संवेदनाको शोषण गर्ने लेखकप्रति पनि प्रेमललवाको सद्भाव नै रहेको छ । यसले वर्तमानमा विकृत बन्दै गएको साहित्यिक क्षेत्रप्रति व्यङ्ग्य गरे पनि यसमा उपन्यासकार पाण्डेको पेसागत जातीयताको प्रत्यक्ष प्रभाव उद्घाटन भएको देखिन्छ ।
उलार उपन्यासका पात्रहरू प्रेमललवा, राजेन्द्रराज, शान्तिराजा, ननकउ, कलुवा, उसकी श्रीमती आदि लेखककै आर्य जातिका हुन् । यसका अधिकांश पात्रले निम्नवर्गीय निमुखा नेपाली जनताको प्रतिनिधित्व गरेका छन् तर तिनमा अर्काको दःुखप्रति संवेदनशीलता ज्यादा देखिन्छ । त्यसै गरी यहाँ प्रयुक्त पात्रहरू द्रौपदी, कुन्ती, सावित्री, सीता आदि हिन्दू धार्मिक ग्रन्थका आदर्श नारीका नाम हुन् । लेखकको धार्मिक आस्था हिन्दू धर्म नै भए पनि पौराणिक र वर्तमान कालका हिन्दू नारीका बीचमा पाइने चारित्रिक विपर्यास देखाउनका लागि उनले आफ्ना नारी पात्रलाई यस्ता नाम दिएका हुन् । तर लेखकको यो कदम उनीहरूको पेसाप्रतिको व्यङ्ग्य नभई वर्तमान समयका नारीहरूका विवशता तथा संवेदनामाथि परम्परा, परिवार, समाज र राज्यले गरेको शोषणको कुरूपताको चित्रण गर्नु हो ।
विसं २०४६ मा बहुदलीय प्रजातन्त्रको आगमन भएपछि आशावादी बनेका लेखकको सकारात्मक सोचाइ र नेताप्रतिको सद्भाव प्रेमललवाको चरित्रमा स्पष्ट देख्न सकिन्छ । राजेन्द्रराजले ट्रकवालासँग प्रेमललवाको बाबुको मृत्युको क्षतिपूर्ति लिएको रकमबाट अठार हजार रुपियाँ आपूmले राखेर आठ हजार मात्र उसलाई दिएको देखिन्छ । प्रेमललवा कति सिधासाधा छ भने अरूले त्यो कुरा बताए पनि उसले विश्वास नै गर्दैन । राजेन्द्रराजले नब्बे हजारको कागजमा सही गराएर तीस हजार मात्र दिँदा पनि उसले आफ्नो नेताप्रति षड्यन्त्रको कुनै आशङ्का गरेको छैन । चुनावमा शान्तिराजालाई राजेन्द्रराजले सहयोग गरेको भन्ने भनाइप्रति पनि उसले बेवास्ता गर्छ र शान्तिराजाले उनकै जुलुसको ओभरलोडले मरेको आफ्नो घोडीको क्षर्तिपूर्ति दिलाइदिन्छन् भन्ने आशले ऊ काठमाडौँसम्म पनि पुग्छ । प्रेमललवाका यी कार्यहरू उसले नेताप्रति गरेको सद्भाव र चरम विश्वासकै परिणति हुन् ।
उपन्यासकार नयनराज पाण्डे बाँके जिल्ला वा नेपालगन्ज सहरको राजनीतिमा सक्रिय रूपले संलग्न नभए पनि त्यहाँका नेताहरूको विकृत राष्ट्रिय चरित्रबाट टाढा रहन भने सकेनन् । राजनीतिमा व्याप्त सौदाबाजी, कुटिल षड्यन्त्र, अनैतिकता, वैयक्तिक स्वार्थ पूरा गर्ने प्रवृत्ति, नेताहरूको चरित्र, बोली तथा व्यवहारका बीच एकरूपता नदेखेपछि उनमा राजनीतिप्रति असन्तुष्टि बढेको देखिन्छ । नेता र कार्यकर्ताप्रतिको यही असन्तुष्टि उपन्यासमा यसरी प्रकट भएको छ— ‘ऊ हूलहरूमा पस्यो । विभिन्न हूलहरू र विभिन्न समूहमा पस्यो । कति ठाउँमा, कतिलाई माथि उठाउने कुरा सुन्यो । कति ठाउँमा, कतिलाई तल झार्ने कुरा सुन्यो । उसलाई बालुवाटार चक्रव्यूहजस्तो पो लाग्यो । र बालुवाटारको चक्रव्यूहमा ऊ निकै बेर हरायो’ (पृ. ६२–६३), र ‘पार्टी अफिसभित्र देशको भूत, भविष्य, वर्तमानबारे बहस भइरहेको थियो । तर ‘देश’ भन्दा बढी सत्ता, कुर्सी र षड्यन्त्रका कुराहरू । र कार्यकर्ताहरू बाहिर बसेर निर्णयलाई पर्खिरहेका थिए । तर त्यो पर्खाइ खासमा पद, प्रतिष्ठा र पैसाको पर्खाइजस्तो देखिइरहेको थियो ।’ (पृ. ६३)
त्यस्तै, मन्त्री भएका शान्तिराजालाई भेट्न काठमाडौँ पुगेको प्रेमललवालाई पार्टी अफिसमा भेट भएको सात सालदेखि छयालीस सालसम्मका आन्दोलनको घाइते योद्धाले भनेका तलका भनाइहरू पनि लेखकको राजनीतिप्रतिको चरम वितृष्णाकै रूप हुन्— ‘जा बरु आफ्नै जिल्लामा जा । राजनीति गर् । आठ–दस वर्षमा तैँ आफै मन्त्री हुन्छस् । यहाँ आएर तँजस्ताले मन्त्रीलाई भेट्नुभन्दा त्यै चाँडो हुन्छ ।’ (पृ. ६४)
उलार उपन्यासमा प्रयुक्त नारीपात्रहरू बादी जातिका महिला हुन् । आफ्नो पुख्र्यौली परम्पराअनुसार उनीहरू जीवन निर्वाहका लागि यौनव्यवसाय अपनाउन बाध्य छन् । यस्ता महिलाका विवशता र बाध्यता पनि यहाँ व्यक्त भएका छन् । गगनगन्ज र भगवान तलौवाको यस्तो समाजसँग परिचित लेखकको मानसिकतामा त्यहाँको सामाजिकताले पारेको गहिरो प्रभावकै कारण यस उपन्यासमा ती पात्र तथा तिनका समस्याले महत्त्वपूर्ण स्थान पाएका हुन् ।
यसरी उपन्यासकार पाण्डेको मानसिक संरचनाको निर्माण नेपालको राष्ट्रिय राजनीति र नेपालगन्जको राजनीतिक तथा सामाजिक स्थितिबाट भएको छ । समाजका क्रियाकलापबाट निर्मित लेखकको मानसिकता, धर्म, संस्कृति तथा जातीयताको प्रभाव कृतिमा पर्दछ भन्ने समाजपरक समालोचनाको मान्यता उलार उपन्यासका सन्दर्भमा उपयुक्त ठहरिएको छ ।

(ख) क्षण
क्षणअन्तर्गत टेनले युग विशेषलाई लिएका छन् (गौतम, २०५०ः४३) । यसमा युग भनेको लेखक बाँचेको र उसको जीवनमा प्रत्यक्ष प्रभाव पारेको समय पनि हो । कृतिमा लेखकको जीवनका महत्त्वपूर्ण क्षणहरू समेटिने भएकाले यो कृति सिर्जनाको आन्तरिक प्रेरकका रूपमा पनि रहन्छ । समकालीन युगसँग राम्ररी परिचित भएकाले र समस्याहरू आफैँले भोगेका हुनाले नै नयनराज पाण्डेले उलार उपन्यासमा कथित प्रजातन्त्रका नाममा भएका विकृतिहरूका बारेमा सटीक टिप्पणी गर्न सकेका हुन् । आफ्नो जीवनको अधिक समय नेपालगन्जमा बिताएकाले पनि उनमा त्यहाँका केही घटनाका सन्दर्भहरू महत्त्वपूर्ण क्षणका रूपमा रहिरहेको र त्यही नै उलार उपन्यास रचनाको प्रेरक तत्त्व बनेको देखिन्छ ।
टेनका अनुसार कुनै एक युगमा एउटा विचार प्रधान हुन्छ । २०४६ सालको जनआन्दोलनपछिको प्रजातान्त्रिक भनिएको युगमा जनताका आशाहरू चरम निराशामा बदलिएका थिए । राजनीति सीमित सामन्ती वर्गको व्यवसाय र नवधनाढ्यहरूको पारिवारिक ठेकेदारीजस्तो पेसा नै बनेको थियो । यसले गर्दा सीमान्त तहका जनता र राजनीतिकर्मीका बीचको दूरी बढ्दै गयो । राजनीति किनबेचको सामग्री बनेकाले सामाजिक क्षेत्रका विकृतिहरू झन् झाँगिदै गए । यस्तो परिस्थितिमा लेखकहरूले सोचेको प्रजातन्त्र र राजनीतिप्रतिको आदर्श आस्था पनि वितृष्णामा परिणत भयो । फलस्वरूप यथार्थप्रति आलोचनात्मक टिप्पणी गरेर साहित्य सिर्जना गर्ने आलोचनात्मक यथार्थवादी विचार त्यस अवधिमा सबल रूपमा देखा प¥यो । नयनराज पाण्डेको उलार (२०५५) भन्दा अगाडि ध्रुवचन्द्र गौतमको उपसंहार अर्थात् चौथो अन्त्य (२०४८) र नारायण ढकालको पीतसंवाद (२०५४) जस्ता कृति यही युगमै देखा परे । पञ्चायतकालीन निरङ्कुशताको तीव्र विरोध गरेर लेख्ने यस्ता साहित्यकारहरूले नै प्रजातान्त्रिक युगका विकृतिको चिरफार र आलोचना गरेर लेख्न थाले । यसको उद्देश्य व्यङ्ग्यबाट सुधारको आकांक्षा थियो तर त्यो सब सुन्ने राजनीतिको कान फुटिसकेको थियो । त्यसैले नेपालगन्जको राजनीतिक र सामाजिक जीवनका बेथितिहरू केलाएर विसङ्गतिको निराकरणका लागि पाण्डेले पनि यही आलोचनात्मक प्रवृत्ति नै उपयुक्त ठाने र प्रजातान्त्रिक व्यवस्थाबाट जनताले पाएको शून्यले जन्माएको उनको तिक्तता उलार उपन्यासमा व्यक्त भयो । प्रेमललवा नेपालगन्जको मेनरोडबाट धकेलिँदै परसपुरसम्म पुगेको, जनआन्दोलनको योद्धाले पार्टीअफिसमा चरम निराशा व्यक्त गरेको, भ्रष्ट र घुसखोरहरू नै देशका शक्तिशाली मन्त्री बनेको प्रसङ्ग उल्लेख गर्नुले उक्त विचारलाई पुष्टि गर्दछ ।
प्रस्तुत उपन्यासमा खुल्लारूपमा देहव्यापार सञ्चालन भइरहेको नेपालगन्जको तत्कालीन युगको चित्र प्रस्तुत गरिएको छ । कुन्ती, द्रौपदी, सावित्रीजस्ता पात्रहरू बादी जातिका भएकै कारण आफ्नो पुख्र्यौली पेसा अपनाउन बाध्य छन् । द्रौपदीकी आमा त्यही पेसा गर्दागर्दै सिफलिसले मरेकी देखिन्छे भने द्रौपदीको बाबुले नातिनी अर्थात् द्रौपदीकी छोरीलाई पनि त्यही व्यवसायमा लगाउन खोजेको छ । पहिले द्रौपदीको बाबुले छोरीको लागि ग्राहक खोजेर ल्याएको पाइन्छ भने त्यहाँ व्यवसाय घट्न थालेपछि यौनव्यवसाय फस्टाउँदै गएको क्षेत्र दाङतिर छोरीलाई लैजाने विचार गरेको देखिन्छ । यसरी पुस्तौँदेखि नै वादी महिलाहरू आफ्नै परिवारका पुरुषहरूबाट बलजफ्ती यौनव्यवसायमा लगाइएको तीतो यथार्थ पनि यसमा उल्लेख भएको छ । यसका साथै द्रौपदीकी आमा, द्रौपदी र द्रौपदीकी छोरी सीताले उपन्यासमा विगत, वर्तमान र भविष्यत् गरी तीन युगलाई सङ्केत गरेका छन् । पञ्चायती शासनकालमा यही व्यवसाय द्रौपदीकी आमाले गर्थी भने प्रजातान्त्रिक युगमा त्यसको जिम्मेवारी द्रौपदीमा सरेको छ र भविष्यमा यही बोझ सीताले बोक्नुपर्ने भयङ्कर कहालीलाग्दो आगत पनि यसमा देखिन्छ । त्यसमा पनि पुलिस–प्रशासन नै यौनकर्मीलाई सस्तोमा उपभोग गर्न लालायित भएको प्रसङ्ग असई विष्णुप्रसादको घटनाले पुष्टि गरेको छ । यसरी प्रजातन्त्रकालमा पनि वादी महिलाहरूका समस्या समाधान हुन नसकेको युगीन तथ्य यस उपन्यासमा चित्रित छ ।
हरेक युगमा मानिसको एउटा अवधारणा वा परिकल्पना हुन्छ, जसले आदर्श रूप धारण गर्दछ । उलार उपन्यासको आरम्भमा सोझो, कुनै महत्त्वाकांक्षा नभएको, हताश र निराश प्रेमललवा अन्त्यतिर पुग्दा साहसी र अत्यन्त आशावादी बनेको छ । आपूmलाई मेनरोडबाट, सुर्खेतरोड, कोरियनपुरवा हुँदै परसपुरसम्म धकेल्ने सामन्तहरूको असली चरित्र ढिलै भए पनि उसले थाहा पाएको छ । त्यसैले ऊ राजेन्द्रराज र उसको परिवारलाई ‘फिरी’मा टाँगामा नबसाउने, शान्तिराजाको ओभरलोडलाई नस्विकार्ने र टाँगालाई उलार हुन नदिने कठोर निर्णय गर्दछ । आफ्नो घर, टाँगा र जाँगर भएको प्रेमललवा अविवाहित जवान केटो हो तर पनि उसले बादी जातिकी यौनकर्मी र दस वर्षकी छोरीकी आमा द्रौपदीलाई बिहे गर्ने दृढ निश्चय गर्दछ— ‘साला कसले के भन्ने ? उसैलाई ल्याउँछु’... हदै भए बिरादरीमा हुक्का पानी बन्द होला । साला पछि सबैलाई बोलाएर रक्सी मासु खुवाइदिएपछि सब ठीक । त्यसपछि कसले के भन्ने ?’ (पृ. ७९)
यसरी प्रेमललवामा देखा परेको साहस र दृढता लेखककै आदर्श हो । समकालीन परिस्थितिप्रति विरक्त भए पनि पाण्डेमा एकातिर वर्तमान युगमा सोझा गरिबहरू चेतनशील होऊन् र राजनीतिक प्रणाली तथा रूढ समाजसँग विद्रोह गर्न सकून् भन्ने चाहना रहेको छ भने अर्कातिर उनी जातीयताको सङ्कीर्णता पनि अन्त्य गर्न चाहन्छन् । त्यसैले यहाँ प्रेमललवाले द्रौपदीलाई स्विकार्नु र सीतालाई यौनव्यवसायबाट टाढा राख्न खोज्नु वर्तमान युगका उपन्यासकार नयनराज पाण्डेको परिकल्पनाको आदर्श रूप हो । यसले २०६३ सालको जनआन्दोलन—२ को आवश्यकता औँल्याएको छ, जसमा सामन्ती सामाजिक संरचना ध्वस्त भएर सीमान्तीकृत जनताले पनि अवसर पाउन सक्ने नयाँ नेपालको समावेशी चरित्र खोज्न सकिन्छ ।
यसरी प्रस्तुत कृतिमा नयनराज पाण्डेको जीवनका महत्त्वपूर्ण क्षणहरू समेटिएका छन् । क्षणको प्रमुख विचारको प्रसार निश्चित व्यवहार र चिन्तनका साथै जीवनका सम्पूर्ण क्षेत्रमा हुन्छ भन्ने समाजशास्त्रीय अवधारणा द्रौपदी, प्रेमललवाजस्ता पात्रका साथै उपन्यासमा आएका राजनीतिक र सामाजिक घटनाका माध्यमबाट उलार उपन्यासमा लागु भएको छ ।

(ग) परिवेश
लेखक बाँचेको युगको सामाजिक र भौगोलिक वातावरणलाई टेनले परिवेश मानेका छन् । उनले व्यक्तिको जातिगत विशेषता परिवेशबाट निर्धारित हुन्छ भन्दै यसअन्तर्गत भौगोलिक र सामाजिक परिवेशको चर्चा गरेका छन् ।
प्रस्तुत उपन्यासका लेखक नयनराज पाण्डे नेपालगन्जका बासिन्दा हुन् । त्यसैले यस कृतिको सामाजिक र भौगोलिक परिवेश पनि नेपालगन्जमै केन्द्रित रहेको छ । सीमापारिको भारतीय सहर रुपैडिहासँग जोडिएको नेपालगन्ज मध्यपश्चिम क्षेत्रकै प्रमुख व्यापारिक केन्द्र हो । स्थानीय भाषा अवधी भएको र भारतीयहरूसँगको दैनिक व्यावहारिक निकटताका कारण नेपालगन्जका मानिसहरूको भाषामा हिन्दीको प्रभाव बढी रहेको छ । प्रचलनलाई हेर्दा, तत्कालीन परिवेशमा त्यहाँका स्थानीय यातायातका प्रमुख साधन रिक्सा र टाँगा भएकाले अधिकांश तल्लो वर्गका व्यक्तिहरूको प्रमुख पेसा रिक्सा चलाउने, टाँगा चलाउने हुन्थ्यो भने घोडाका लागि घाँस बेच्ने कार्य पनि व्यवसाय बनेको थियो । उलार उपन्यासको प्रमुख पात्र प्रेमललवा टाँगा व्यवसायी हो । उसको छिमेकी कलुवाकी स्वास्नी घोडाका लागि घाँस बेच्ने कार्य गर्दछे । नेपाली बोले पनि उनीहरूको भाषामा हिन्दीको प्रभाव बढी पाइन्छ । उदाहरणका लागि काठमाडौँमा शान्तिराजालाई भेटेपछिको प्रेमललवाको भाषा यस्तो छ— ‘हजुर माईबाप सरकार, चार दिन भइसक्यो—’ ... ‘उहाँ हजुरको जुलुसमा मेरो घोडी मरेको । हजुरले काठमाडाँै बोलाउनुभएको सरकार—माई बाप ।’ (पृ. ६६)
त्यस्तै, चुनाव जितेपछिको विजय–जुलुसमा कलुवाले शान्तिराजासित गला मिलाएको देखेपछि प्रेमललवाले उसलाई ‘सुअरको औलाद’ (सुँगुरको सन्तान) भनेर गाली गरेको छ किनभने उसले एउटाको नुन खाएर अर्काप्रति बफादारी देखाएको पे्रमललवालाई मन परेको छैन । उसले कलुवालाई गरेको गालीको प्रसङ्ग यस्तो छ ः ‘उसले फेरि मनमनै कलुवालाई ‘मा–बैन’को गाली ग¥यो र जुलुस सिद्धिएर कलुवा भेटिएमा उसको ‘चुतड’मा लात बजाउने निश्चय ग¥यो ।’ (पृ. ३२)
यसरी हेर्दा नेपालगन्जको भौगोलिक परिवेशले पनि उपन्यासका पात्रको पेसा र भाषामा प्रभाव पारेको देखिन्छ । यस्तै प्रसङ्गलाई स्थानीयकरण गर्नका लागि र व्यङ्ग्य सिर्जना गर्नका लागि उपन्यासमा कथयिताले पनि एकल उद्धरण–चिन्ह दिएर निकै कथ्य शब्द प्रयोग गरेका छन्, जस्तै— ‘शिलाबाबुको व्यवहार उसलाई ‘भरासे’ मार्का लाग्यो ।’ (पृ. १७), ‘अनि उसलाई राजिन्द्रराजले ढाँटेर उमेर पुगेको भनी बनाइदिएको ‘नागिर्ता’ र त्यसको आधारमा बनाएको ‘लैसन’ देखाउन कर लाग्थ्यो ।’ (पृ.१८), ‘घर । ‘पर्जातन्तर’ आउने बित्तिकै किनेको घर ।’ (पृ.१९)
व्यक्तिका जातिगत विशेषता सामाजिक परिवेशबाट प्रभावित हुन्छन् भन्ने टेनको भनाइ उलार उपन्यासका सन्दर्भमा पनि विश्लेषणीय ठहर्छ । नयनराज पाण्डे ब्राह्मण परिवारका व्यक्ति हुन् तर यस उपन्यासमा उनी जातीय सङ्कीर्णताबाट माथि उठेर आफ्ना पात्रहरूलाई सिर्फ मानव जातिका रूपमा चिनाउन खोजेका छन् । एकातिर दलित महिला द्रौपदीलाई केन्द्रमा राखेर विभिन्न जातजातिका पात्रहरू उपन्यासमा प्रयोग गरेका छन् भने अर्कातिर प्रेमललवा र द्रौपदीको बिहे हुने सङ्केत पनि गरेका छन् । यो जातीय विभेद हराउँदै गएको बहुल जातीय सामाजिक परिवेशमा हुर्केका पाण्डेको मानसिकतामा परेको प्रभावको प्रकटीकरण हो ।
हिप्पोलिट टेन व्यक्तिका स्वभावको निर्माण उसले भोगेको परिवेशबाट हुन्छ भन्ने मान्यता राख्छन् । उलार उपन्यासको आरम्भमा प्रेमललवा आपूmलाई अरूले ठगेको, शोषण गरेको पनि थाहा पाउँदैन र अरूले सचेत गराउँदा पनि त्यसमा विश्वास गर्दैन । राजेन्द्रराजका लागि ऊ आपूmले सकेको जस्तोसुकै सहयोग गर्न पनि तयार हुन्छ । उनका आफन्तलाई सित्तैमा टाँगा चढाउने, रुपैडियाबाट सामान ल्याइदिने, बिनापैसा टाँगासहित चुनावमा खटिने आदि कार्यहरू उसले गरेको देखिन्छ किनभने राजेन्द्रराजले नै उमेर नपुग्दै उसको नागरिकता र लाइसेन्स पनि बनाइदिएका छन् । सानैमा टुहुरो भएको प्रेमललवा राजेन्द्रराजको संरक्षणमा बस्नु नै यसको प्रमुख कारण हो । बाबुको मृत्युबापत पाएको क्षर्तिपूर्ति रकम बैंकमा राखिदिने, उमेर भएपछि टाँगा किनिदिने र आपत परेका बेला जग्गा किनिदिएर राजेन्द्रराजले आपूmलाई सहयोग गरेको भन्ने भ्रम उसलाई परेको छ । यसरी परिवेशले नै एक्लो र उपायहीन बनाएका कारण उसको चरित्र सरल र निमुखो देखिएको हो । उपन्यासको अन्तिमतिर भने उसमा साहस, दृढता र विद्रोहजस्ता प्रवृत्ति विकसित भएका छन् । आफ्नो घोडी मरेपछि शान्तिराजाको सहयोग पाउने आशामा काठमाडौँ गएको प्रेमललवा रित्तै हात घर फर्कन्छ अनि एक रातको हिउँदे झरीले घर पनि भत्किन्छ र टाँगा पनि चोरिन्छ । राजेन्द्रराजले पनि सहयोग गर्ने नाममा नब्बे हजारमा जग्गा बेचिदिएर उसलाई तीस हजार मात्र दिन्छन् । यसपटक राजेन्द्रराजको असली चरित्र थाहा पाए पनि त्यसको विरुद्ध जाने ऊ कुनै उपाय फेला पार्न सक्तैन र चुपचाप अन्याय सहन्छ । त्यसपछि भने उसले शोषकहरूलाई त्यस्तो अवसर नै नदिने निर्णय गर्दछ । नेताहरू र आफ्नै वर्गका व्यक्तिको स्वार्थी तथा षड्यन्त्रकारी चरित्रकै कारण ऊ सचेत, निर्भीक र साहसी बनेको छ । यसरी परिवेश र परिस्थितिले नै प्रेमललवालाई परिपक्व बनाएको हो भन्ने कुरा उलार उपन्यासले चित्रण गरेको देखिन्छ ।
साहित्यमा लेखक बाँचेको परिवेशले उसको जीवनमा प्रत्यक्ष प्रभाव पार्दछ । उलार उपन्यासमा चित्रित नेपालगन्जको गगनगन्ज र भगवान तलौवा कुनै समयखण्डमा यौनव्यवसायका लागि प्रख्यात मानिन्थे । विशेष गरी बादी महिलाहरूबाट सञ्चालित यस्तो व्यवसायका ग्राहकहरू निम्नवर्गीय टाँगावाला, रिक्सावाला, फुटपाथे व्यापारीका साथै प्रहरी प्रशासनका व्यक्तिहरू, प्रतिष्ठित व्यापारी, राजनीतिज्ञ आदि हुन्थे । लेखकका आँखाअगाडिको त्यही समाज यहाँ चित्रित छ । त्यहाँको सामाजिक परिवेश, तल्कालीन विकृति र प्रशासनिक स्वेच्छाचारिताबाट लेखक राम्ररी परिचित थिए । यहाँ द्रौपदीले आफ्नी छोरी सीताको अनुहार कहिले असई कृष्णबहादुरको जस्तो, कहिले असई जगत्मानको जस्तो, कहिले भू.पू. प्रधानपञ्च हर्कमानको जस्तो र कहिले कबाडिया असलमको जस्तो देखेको प्रसङ्ग आएको छ । यसबाट प्रहरी प्रशासनदेखि राजनीतिज्ञ र कवाडी व्यापारीहरूसमेत देहव्यापार फस्टाउनमा संलग्न भएको देखिन्छ । यसका साथै प्रहरी प्रशासनका व्यक्तिहरूबाटै यौनशोषण बढी हुने तथ्य तलका पङ्क्तिबाट छर्लङ्ग भएको छ— ‘र यस्तै बेहोराको सोचविचार गरिरहेकै बेलामा असई विष्णु आयो र उसलाई गिजोल्न थाल्यो । साला फिरीमा दिनुपर्छ त्यो पनि दुखाइ सहेर ।’ उसले मनमनै विष्णेलाई गाली गरी । विष्णुप्रसाद आपूm फटाफट नाङ्गियो र द्रौपदीमाथि पोखियो । (पृ. ४७–४८)
यस्तो समाजलाई लेखकले नजिकबाट नियालेको हुनाले पनि त्यसको प्रत्यक्ष प्रभाव उलार उपन्यासमा परेको हो तर उपन्यासकारले द्रौपदी र प्रेमललवालाई अश्लील, अनैतिक र भ्रष्ट ठानेका छैनन्, बरु आफूलार्ई ठूलाबडा ठान्ने अधिकारी र राजनीतिज्ञहरूलाई नै अश्लील र अनैतिक देखाउन खोजेका छन् (श्यामल, २०५५ः४) । वास्तवम यसमा आएको पे्रमललवाको सङ्घर्षशील ज्ञान र द्रौपदीको संवेदना अत्यन्त आदरणीय देखिन्छ ।
उलार उपन्यास बहुदलीय प्रजातन्त्रपछिको पहिलो आमनिर्वाचन, २०४८ को सेरोफेरोमा केन्द्रित छ । राजेन्द्रराज र शान्तिराजाको सौदाबाजी, व्यक्तिगत स्वार्थ, बालुवाटार र पार्टी अफिसका गतिविधिहरूको यथार्थ चित्रण गरिएको यस उपन्यासलाई राजनीतिक वातावरणले जीवन्तता प्रदान गरेको छ । साहित्यले समकालीन राजनीतिसँग कति गहिरो सम्बन्ध राख्छ भन्ने यसबाट बुझ्न सकिन्छ । राजनीति जनताको प्रत्यक्ष आशा, निराशा र वर्तमान तथा भविष्यसित गाँसिने हुनाले तत्कालीन राजनीतिक परिवेशको चित्रणबिनाको उपन्यास जीवनहीन, कोरा काल्पनिक र झुटो प्रलाप मात्र ठहरिन पुग्छ भन्ने कुरा उपन्यासकार पाण्डेले बुझेको देखिन्छ ।
नेपालगन्जमा प्रसिद्ध हिन्दी फिल्म ‘शोले’ चलेको २०४८ सालको प्रसङ्ग, शोलेकै घोडीसित दाँजेर प्रेमललवाले आफ्नो घोडीको नाम राख्दा झुक्किएर ‘वसन्ती’ परेको प्रसङ्ग पनि यसमा आएको छ । यसले तत्कालीन परिवेशको प्रत्यक्ष प्रभाव उलारमा परेको पुष्टि गर्छ । यहाँ प्रेमललवाले वसन्तीलाई औषधी गराउन लैजाँदा हुलदङ्गा भएको र फर्कंदा कफ्र्यु लागेको बताइएको छ । बेलाबेलामा हिन्दू–मुसलमानका बीच साम्प्रदायिक दङ्गा भड्किने नेपालगन्जको परिवेशलाई यसले चिनाएको छ । यसका साथै काठमाडौँ जानका लागि प्रेमललवाले कलुवाकी स्वास्नीसँग पैसा मागेपछि उसले भनेका तलका भनाइले पनि वर्तमान समयमा बढ्दै गएको त्यहाँको साम्प्रदायिक संवेदनशीलतालाई सङ्केत गरेका छन्— ‘भैया त्यति पैसा त मसित कहाँ छ र ? हिन्दू–मुस्लिमको दङ्गा भएपछि टाँगावाला हामीकहाँ आउँदैनन् । हामी हिन्दू... । चार दिनदेखि घाँस त्यसै पडिरहेछ ।’ (पृ. ५१)
त्यस्तै, मधेसीहरूलाई हेपाहा दृष्टिले हेर्ने काठमाडौँ उपत्यकाबासीको प्रवृत्ति र परिवेशलाई पनि यस उपन्यासले समेटेको छ । काठमाडौँमा ओर्लेर ‘पुल्चोक कता पर्छ ?’ भनी प्रेमललवाले सोध्दा चियापसलेले गरेको व्यवहारलाई यहाँ उदाहरणका रूपमा लिन सकिन्छ— ‘चिया पसले दस पाउन्ड दूध फाटेको रिसमा थियो । त्यसैले आफ्नो गुप्ताङ्गतिर देखाउँदै उसले भन्यो ‘यी याँ पर्छ मूला, मस्र्या ।’ (पृ. ५३)
उलार उपन्यासले मूल रूपमा २०४६ सालमा बहुदलीय प्रजातन्त्र आइसकेपछिको परिवेशलाई समेटेको छ तर पनि पञ्चायतकालीन चाकडी, चाप्लुसी, शोषण र अन्याय भने समाप्त भइनसकेका देखिन्छन् । प्रेमललवाले शान्तिराजालाई ‘माई–बाप सरकार’ भनेर सम्बोधन गर्नु, राजेन्द्रराजले उसलाई आर्थिक शोषण गर्नु, असई विष्णेले द्रौपदीको यौनशोषण गर्नु आदि सन्दर्भबाट उपन्यासमा प्रजातान्त्रिक परिवेशको कुनै झल्को पाइँदैन । त्यसैले प्रस्तुत उपन्यास प्रजातान्त्रिक नामधारी विकृतियुक्त प्रणालीको राज भएको परिवेशमा आधारित छ । यसरी हेर्दा लेखक बाँचेको युगको भौगोलिक र सामाजिक परिवेशको प्रत्यक्ष प्रभाव परेको उलार उपन्यासमा टेनको परिवेशको अवधारणा पनि सार्थक रूपले प्रयुक्त देखिन्छ ।

लेखक, कृति र पाठक
जसरी लेखकको आफ्नो छुट्टै समाज हुन्छ, त्यसरी कृति र पाठकको पनि आ–आफ्नो समाज हुन्छ । लेखक, कृति र पाठक तीनओटैको समाजमा एकरूपता भएमा त्यो कृति समाजपरक दृष्टिकोणले उत्तम ठहरिन्छ । कृतिमा चित्रित समाजमा लेखक र पाठकको समाज पनि प्रतिबिम्बित हुनुपर्छ भन्ने अवधारणा नै लेखक, कृति र पाठकको अन्तर्सम्बन्धको कडी हो ।
उलार उपन्यास नेपालगन्जको निम्नवर्गीय समाजमा आधारित छ । यो नेपालगन्जको समाज सल्यानबाट एकपुस्ता अगाडि मात्र बसाइँ सरेर आएका लेखक नयनराज पाण्डेको पनि हो । यसका साथै यस कृतिको एउटा पाठक प्रस्तुत लेखकी लेखक बिन्दु शर्मा पनि हुन् । दाङमा जन्मेहुर्केर दाङ तथा गगनगन्जको बादी समाज तथा उपन्यासमा वर्णित निम्नवर्गीय पात्रका बोली र क्रियाकलापसँग यो पाठक पनि राम्ररी परिचित छ । त्यसैले यसमा चित्रण गरिएको समाज पाठकको मनोभावनासित सामञ्जस्य राख्तछ । यसका पात्रहरू उसका आँखाअगाडि नै रहेका आफ्नै छिमेकीजस्ता लाग्छन् । यसरी उपन्यासमा प्रयुक्त समाजमा लेखक र पाठकको समाज समेत प्रतिबिम्बित भएका कारण प्रस्तुत कृति लेखक, कृति र पाठकको सम्बन्धका दृष्टिकोणले सबल छ ।
समाजपरक समालोचनामा लेखकको जन्म, आदर्श, कृतिमा चित्रित समाज र कृतिले पाठकमा उमारेको सामाजिक प्रभावहरूको विश्लेषण आवश्यक हुन्छ (गौतम, २०५०ः४८) । नयनराज पाण्डेको जन्म मध्यमवर्गीय परिवारमा भएको हो । त्यसैले उनको सम्बन्ध उच्चवर्गसँगभन्दा ज्यादा निम्नवर्गीयसँग भएको हुन सक्छ । साथै उनले आपूmलाई निम्नवर्गीयको नजिक देखाउन पनि निम्नवर्गको चित्रण गर्न रुचाएका होलान् । यसमा निम्नवर्ग र यौनव्यवसायी महिलाप्रति सहानुभूति राखिएको छ, जुन पाण्डे र समकालीन समाजको दृष्टिकोणको मूर्त रूप हो ।
साहित्यमा राजनीतिप्रति लेखकले राख्ने सहमति, असन्तुष्टि, विद्रोह आदिको पनि चित्रण हुन्छ । समकालीन राजनीति र प्रजातान्त्रिक विकृतिले उपन्यासकार पाण्डेभित्र एक किसिमको विद्रोह सिर्जना भएको देखिन्छ । त्यही विद्रोहलाई व्यक्त गर्ने तरिका उनले खोजिरहेका थिए । सामाजिक शोषण, अन्याय, जातीय भेदभाव आदिको प्रमुख कारण चेतनाहीनता नै भएकाले सचेत समाजको निर्माण गर्नु उनले पहिलो आवश्यकता देखे । यही आवश्यकता पूर्ति गर्ने माध्यम उनले उलारको प्रेमललवालाई बनाए । उनी शोषण र जातीय विभेदरहित समाज निर्माण गर्न चाहन्छन् भन्ने सङ्केत पनि उलारबाट पाइन्छ ।
पाठकबिना कृतिको अर्थ रहँदैन भन्ने मान्यता अघि सार्दै समाजपरक समालोचनाले कृतिलाई समाजबारे अध्ययन गर्ने आधार सामग्रीका रूपमा लिएको देखिन्छ । यसरी कृतिबाट समाजको अध्ययन गर्ने कार्यचाहिँ पाठकको हो । कृतिमा जुन वर्ग प्रभावशाली हुन्छ, त्यही वर्ग आफ्नै किसिमको पाठक समुदायलाई पनि आकर्षित गर्दछ (गौतम, २०५०ः४९) । यसरी हेर्दा निम्नवर्गीय पाठकहरू उलार उपन्यासमा आफैँले भोगिरहेका समस्या पाउँछन् र कृति पढ्न रुचाउँछन् । कृति रचनामा पाठकको रुचि पनि महत्त्वपूर्ण हुन्छ । नयनराज पाण्डेभन्दा अगाडि नेपालगन्जकै बासिन्दा सनत रेग्मीले त्यहाँको आञ्चलिकतामा आधारित यौनमनोवैज्ञानिक कथाहरू लेखेका छन् । पाण्डे स्वयम् पनि यी कथाहरूका बौद्धिक र सचेत पाठक हुन् तर तिनमा समकालीन विकृतिहरू चित्रण नगण्य रहेकाले उनी सन्तुष्ट थिएनन् । त्यसैले एउटा उपन्यासकारका रूपमा उनले यहाँ नेपालगन्जका पाठकको पनि प्रतिनिधित्व गरेका छन् । उनले प्रतिनिधित्व गर्ने पाठकले साहित्यमा समकालीन सन्दर्भको यथार्थ चित्र खोज्दछ । यस उपन्यासका पाठक र भूमिकालेखक श्यामलको अवधारणा पनि यस्तै छ । पाठकको यस्तो रुचिसँग परिचित पाण्डेले उलार उपन्यासलाई यौनमनोवैज्ञानिक प्रवृत्तिभन्दा फरक तरिकाले रचेर समसामयिक र आलोचनात्मक यथार्थवादी बनाएका छन् । यसरी ‘उलार’ उपन्यासको रचनामा पाठकको रुचिले पनि महत्त्वपूर्ण प्रभाव पारेको छ । यसमा प्रयुक्त पात्रका बोली, व्यवहार तथा स्वभावमा आफ्नै प्रतिबिम्ब पाउने भएकाले प्रस्तुत उपन्यास त्यहाँका पाठकहरूका माझ झन् लोकप्रिय बनेको छ ।

निष्कर्ष
नयनराज पाण्डेले उलार उपन्यासमा लेखक, कृति र पाठकको सम्बन्धलाई समुचित ढङ्गले प्रयोग गरेका छन् । साहित्य रचनामा जाति, क्षण र परिवेशको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने समाजपरक समालोचनाको प्रस्थापना यस उपन्यासमा सार्थक भएको छ । उपन्यासकार पाण्डे आफ्नो जाति, आपूm बाँचेको युग तथा यसको भौगोलिक र सामाजिक परिवेशप्रति अत्यन्त सचेत देखिएका छन् । लेखक र उपन्यासका पात्रको मानसिकता पनि नेपाली जाति, समकालीन युग र त्यहाँको स्थानीय परिवेशबाट रचना भएको छ । परिस्थिति र परिवेशअनुसार नै पात्रलाई क्रियाशील बनाउने लेखकको प्रवृत्तिका कारण कतिपय सन्दर्भमा भने प्रेमललवाको चरित्र केही कमजोर बनेको देखिन्छ । उपन्यासमा उसलाई सचेत बनाउने र विद्रोहमा साथ दिने कोही पनि देखिएका छैनन् । यो उपन्यासकारको कमजोरी नभई समकालीन राजनीतिक प्रणाली र नेर्तृत्ववर्गको विडम्बना हो । सामन्ती स्वार्थका कारण यसमा निम्नवर्गीय पात्रहरूबीच वर्गीय एकता पनि सम्भव भएको देखिँदैन । यसरी हेर्दा लेखकले एक्लो प्रेमललवाका माध्यमबाट मात्र पनि समाजलाई सचेत बनाउन सकिन्छ भन्ने आदर्श राखेको देखिन्छ । तथापि उपन्यासका यस्ता केही सन्दर्भलाई प्रेमललवाको साहस र दृढताले सजिलै छोप्न सकेको छ । समग्रमा भन्नुपर्दा पाठकलाई सङ्घर्ष र साहसतर्फ उन्मुख गराउने उलार उपन्यास समकालीन राजनीतिक र सामाजिक विकृतिको दस्ताबेज हो, जसले नेपाली उपन्यास विधामा आफ्नो छुट्टै अस्तित्व कायम गरिसकेको छ ।

प्रमुख सन्दर्भसामग्री
एटम, नेत्र (२०६१) समालोचनाको स्वरूप, काठमाडौँ ः साझा प्रकाशन ।
गौतम, कृष्ण (२०५०) आधुनिक आलोचनाः अनेक रूप अनेक पठन, काठमाडौँ ः साझा प्रकाशन ।
ढकाल, करुण (२०६४) ‘आज रमिता छ उपन्यासको समाजशास्त्रीय अध्ययन’, अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि. रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग ।
त्रिपाठी, वासुदेव (२०५८) पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, (दोस्रो भाग), तेस्रो सं., पुल्चोक ः साझा प्रकाशन ।
दहाल, खेम (२०६०) ‘साहित्यको समाजशास्त्र ः एक अवधारणा’, प्रज्ञा. ३४ः९९. पृ.१–२३ ।
पाण्डेय मैनेजर (१९८९) साहित्य के समाजशास्त्र की भूमिका, चण्डीगढ ः हरियाणा साहित्य अकादमी ।
पाण्डे, नयनराज (२०६५) उलार, दोस्रो सं., काठमाडौँ ः फाइनप्रिन्ट आइएनसी ।
बराल, ऋषिराज (२०५६) उपन्यासको सौन्दर्यशास्त्र, काठमाडौँ ः साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५८) उपन्यास–सिद्धान्त र नेपाली उपन्यास, दोस्रो सं. काठमाडौँ ः साझा प्रकाशन ।
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०६१) पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
श्यामल (२०६५) ‘सीमान्त जनताको संघर्षकथा’, उलारमा सङ्कलित. लेखक नयनराज पाण्डे, काठमाडौँ ः फाइनप्रिन्ट आइएनसी, पृ.१—७ ।

(लेखकको परिचय ः बिन्दु शर्मा (२०३३, दाङ) रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापन गर्छिन् र उनको लेखनक्षेत्र कविता, गीत, गजल, निबन्ध, कथा र समालोचनाा हो । उनका गीतिनाट्य परम्परामा राष्ट्रकवि घिमिरे (२०६२) र आधारभूत नेपाली समालोचना (२०६५) दुईओटा समालोचना कृति प्रकाशित छन् । उनी हाल ‘नेपाली गीतिनाटकका प्रवृत्ति’ शीर्षकमा विद्यावारिधि गर्दैछिन् ।)

No comments:

Post a Comment