Sunday, June 24, 2012

लू -पाठक पत्र-रामबाबु नेपाल


(रामबाबु नेपाल)

(फेसबुक म्यासेजमा मिति २०६९ असार ११ गते प्राप्त । उहाँको फेसबुक ठेगाना-http://www.facebook.com/nepalrbabu )

प्रिय नयनराज पाण्डेज्यू
नमस्कार


यहाँले लेख्नु भएको लू उपन्यास भर्खरै पढी सकेर केही लेख्न मन लाग्यो । यहाँको ईमेल एड्रेश नहुँदा फेसबुकको माध्यमबाट आफूलाई लागेका कुराहरु लेख्दैछु । नेपाल बाहिर हुनाले पुस्तक प्राप्त गर्न समय लाग्यो ।
१.यहाँको अघिल्ला कृतिहरु निँदाएँ जगदम्बा र उलार पढेको थिएँ । दुवै मन छुने थिए । तर लू बृहत् र अझै बढी समाजको प्रतिबिम्ब प्रस्तुत गर्न सफल जस्तो लाग्यो ।.
२.नेपालको तराईको भारतीय सीमा नजिकका गाउँ र त्यहाँका वासिन्दाले भोग्नु पर्ने नियतिलाई नजिकबाट नियालेर प्रकाशमा ल्याइदिनु भएकोमा धन्यवाद ।
३.हिन्दू मुस्लिमबीच परिआउँदा केहीले हिम्मतसाथ दर्शाएको सहयोग सद्भावले दर्शाई हाम्रो समाजको सकारात्मक पक्षलाई उजागर गर्नु भएकोमा खुशी लाग्यो ।
४.हाम्रो समाजमा भएका असाध्यै अवसरवादी राजनीतिक ब्यक्तित्वहरुलाई उनीहरुको कर्तूत सान्दर्भिकरुपमा उल्लेख गर्नु भएकोमा पनि रमाइलो लाग्यो ।
५.समाजमा सिधासाधा रुपमा आफ्नो पेशा गरेर न्यूनतम अपेक्षा राखी जीवन गुजारा चलाइरहेकालाई कसरी दबाइन्छ त्यसलाई पनि मनमोहक ढङ्गबाट प्रस्तुत गर्नु भएको मलाई लागेको छ ।
६.ईस्लाम धर्मबारे यहाँको जानकारी प्रशंसनीय लाग्यो ।
७.उपन्यासमा प्रयुक्त भाषा बहुत रुचिकर लाग्यो ।
८.सबै कुरा त राम्रा छन् । तर मलाई खट्केको कुरा बदमासले सजाय पाएको देखिएन । अरुको नोक्सान गर्ने आफैले कुनै समयमा सजाय पाउँछ भन्ने कुरा दर्शाउन चुक्नु भएको होकि जस्तो मलाई लाग्यो ।
९.मलाई जानकी र कमला गाउँबाट वाध्य पारेर धपाइएपछि (पृष्ठ ६९) भविष्यमा राम्रो स्थितिमा कतै भेटिन्छन् कि जस्तो लागेको थियो, नभेटिँदा धेरै दु:ख लाग्यो । उनीहरुको दु:खलाई बुझेर उद्धार गरिदिने कोही भेटिएको भए उपन्यास अझ बढी राम्रो हुने थियो जस्तो लाग्यो ।

समग्रमा उपन्यास निकै रोचक पाएँ । यस्तै कृतिहरु भविष्यमा लेख्दै जानु होस् । यहाँको विचार, लेखनी अझ सशक्त बनोस्,  यही शुभकामनासहित अहिले विदा होऊँ । काठमाण्डु आउँदा सम्पर्क गरेर बसेर कुरा गर्न मन लागेको छ ।
यहाँलाई मेरा कुरा रुचिकर नलागे पनि लेख्नु होला है । त्यो मेरा लागि पनि पाठ हुनसक्छ । मैले अरु लेखकहरुलाई पनि उहाँहरुको उपन्यास पढेर लेख्ने गरेको छु ।

यहाँ र परिवारको आरामीको कामनासहित विदा हुन्छु ।

हार्दिक शुभकामनासहित
रामबाबु नेपाल

No comments:

Post a Comment