(यो लेख २०६७ जेठ १४ गते "कान्तिपुर"मा प्रकाशित भएको थियो । "साहित्यमा समकालीन प्रतिबिम्ब"शीर्षकको उक्त लेखको केही अंश ।)
अहिले यस पंक्तिकारले एउटा उपन्यासको पाण्डुलिपिमा समयको अनुहारलाई हेर्ने अवसर पाइरहेको छ । त्यस समयमा नेपाली मानसको त्रासदीका बहुआयामहरू छन् । यसमा नेपाली भूमिमा नेपाल हराइरहेको कथा छ । यस कथाले यात्रा गर्ने भूगोलमा भोक, रोग, हिंसा र प्रतिहिंसाका भयदायक दृश्यहरू उपस्थित छन् । तर राज्यको उपस्थिति छैन । आफ्नो आयु नसिद्धिँदै मानिस मरिरहेको छ र त्यसरी मरिरहने नियतिलाई व्यहोरिरहेको छ । जीवनका झिल्काहरू निकै निरीह छन् । के यो नै नेपालको राष्ट्रिय नियति हो ? यस पाण्डुलिपिलाई पढिरहँदा पंक्तिकारको मानसमा काँढा बनेर घोच्न आइरहेको प्रश्न यही नै हो ।
साहित्यले यसरी घोच्ने क्षमता राख्नुपर्छ । नेपाली साहित्यमा पाठकलाई घोच्ने क्षमता भएका रचनाहरू पर्याप्त छैनन् । त्यस अर्थमा नेपाली साहित्य धेरै प्रभावशाली हुनसकेको छैन । अहिले यस पंक्तिकारले पढिरहेको पाण्डुलिपिमा नेपालका राजनीतिक दलहरूको अयोग्यता उद्घाटित भएको छ । दलहरूले यतिखेर पनि प्रतिदिन आफ्नो अयोग्यतालाई उद्घाटित गरिरहेकै हुन् । तर यस उपन्यासभित्र तिनका अयोग्यताका दृष्टान्तहरूले निर्दोष तर निरीह जनताले निरन्तर भोगिरहेको अनिष्टलाई देखाइदिएका छन् । नेपाली राजनीतिमा हावी भइरहेका ठूला दलहरू लोकतन्त्र र अग्रगामी यात्राको कुरा गर्छन्, गरिरहेका छन् । तर नेपालको अनकन्टार गाउँतिर लोकतन्त्र पुगेको छैन, त्यहाँका गाउँलेहरू अग्रगामी यात्रामा हिँडिरहेका छैनन् । राजतन्त्र समाप्त भएको नेपालमा संघीय गणतन्त्रको कुरा जोडतोडले गरिँदैछ, तर उपन्यासले देखाएको नेपाललाई सामन्तवादी उत्पीडनले डसिरहेको छ । त्यस अर्थमा त्यहाँ अझै ज्ञानेन्द्रकालीन राजतन्त्रको प्रेतले ताण्डवनृत्य गरिरहेको छ ।
नयनराज पाण्डे एक समर्थ आख्यानकार हुन् । उनले आफ्नो पछिल्लो उपन्यास 'उलार'मार्फत छरितो र कलात्मक लेखनको दृष्टान्त देखाइसकेका छन् । छ्यालीस सालको परिवर्तनपछि सिमान्तीकृत समुदायले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्नको उत्तर चाहियो भने उलार पढे पुग्छ । अहिले यो पंक्तिकारले उनैको पाण्डुलिपिमा अहिलेको समयलाई नियाल्ने अवसर पाएको हो । नयनले देखाएको तराईको एउटा सीमावर्ती गाउँमा मानिसहरू आफूलाई नेपाली हौं भन्नसमेत असमर्थ छन् । देशको सीमास्तम्भ रातारात सारिन्छ र देश मिचिन्छ, तर मिचिएको देशले थाहा पाउँदैन । थाहा पाए पनि त्यसको उपचारमा उपस्थित हुँदैन । विदेशी सुरक्षाकर्मीहरू आउँछन्, नेपालीहरूलाई कुटपिट गर्छन् । फेरि आउँछन्, उनीहरू कुटपिटमात्र होइन, नेपाली चेलीहरूलाई बलात्कार गरेर फर्किन्छन् । नेपालको सुरक्षा संयन्त्रलाई त्यसको अत्तोपत्तो हुँदैन । भए पनि त्यस अत्याचार विरुद्ध ऊ त्यहाँ उपस्थित हुँदैन । विदेशी भूमिमा बसेको विदेशी डाँकाले सजिलैसित त्यहाँ आएर डकैती गर्छ, तर त्यसको सुइँको पाए पनि राज्यले वास्ता गर्दैन । नेपालीहरू त्यस्तो नेपालमा पनि छन् । नयनको यो उपन्यासले निकै टिठ मानेर यस्तो दुर्नियतिलाई दर्शाएको छ ।
No comments:
Post a Comment