Wednesday, September 12, 2012

नयनराज पाण्डेको “उलार” : परिचयात्मक टीप्पणी -नरेन्द्र पराशर





Posted on April 10, 2012

(पाण्डेको नया उपन्यास “लू” आई सकेको छ । उनको यो पुरानो उपन्यासको टिप्पणीले नयाँ उपन्यासप्रति धारणा बनाउँन अवस्य पनि सहयोग गर्नेछ भन्ने लाग्छ)

नरेन्द्र पराशर

व्यक्तिगतरुपमा मैले कहिल्यै पनि नचिनेको र सार्वजनिक थलोहरुमा पनि कमकमै नाम सुनिने उपन्यासकार नयनराज पाण्डेको उलार उपन्यास पढिसकेपछि हृदय निकै आनन्दित र प्रसन्न भयो। उलार उपन्यासमा एकप्रकारको फरक जादूले काम गरेको छ। पश्चिम मधेसको नेपालगञ्ज सहरमा बसोबास गर्ने र सामाजिक मूलधारबाट अलगथलग रहेको सीमान्तकृत वर्गको प्रेमलाल अर्थात् प्रेमललवाले जीवनको पूर्वाद्धमै भोगेको त्रासदी, पीडा र बिस्मात्को अत्यन्त सशक्त तर सरल प्रस्तुति नै वास्तवमा उलार को जादू हो। पहाडीक्षेत्रका सीमान्तकृत विपन्न वर्गको प्रतिनिधित्व गर्ने उपन्यासहरु कम छन् जस्तो लाग्दैन तर मधेसबाट यसरी प्रेमललवालाई सार्वजनिकीकरण गर्नु यस उपन्यासको अनौठो सफलता हो। वास्तवमा प्रत्येक घरघर र टोलटोलमा अद्भूत कथाहरु छरिएर रहेका छन् र तिनलाई शूत्रबद्ध गरेर कथ्यमा रुपान्तरण गर्नसक्ने चेतनामात्रको खाँचो छ भन्ने कुरा नयनराज पाण्डेले कुशलतापवूर्वक प्रमाणित गरिदिएका छन्।

प्रेमललवाको खास नाम प्रेमलाल हो र कुनै इतिहास नै नभएको बुधेको ऊ एकमात्र छोरो। ट्रकले किचेर बाउ मरेको र आमा पनि सोही साल दमको रोगले मरेपछि प्रेमललवालाई स्थानीय राजनीतिज्ञ राजेन्द्रराजले बाबु मारिएको घटनाबाट आठ हजार क्षतिपूर्ति दिलाइदिन्छ। तर गाइँगुइँ के पनि सुनिएको हुन्छ भने राजेन्द्रराजले दशहजार आफूले नै चड्काएर आठहजारमात्र प्रेमललवालाई दिएको थियो। यही आठहजारले प्रेमललवाले टाँगा किन्छ र भाडामा लगाउँछ। कलवा ऊजस्तै वर्गको दैनिक ज्यालादारीको पसिनाको कमाइ खाने उसको मिल्दो विवाहित साथी हो। नजिकै कहीँ दरौपदी अर्थात् द्रौपदी बस्छे र उसको खानदानी पेशा बेश्यावृत्ति हो। प्रेमललवालाई द्रौपदीकहाँ जाने बानी परिसकेको हुन्छ। साबित्री पनि पेशाले अर्की बेश्या हो। प्रेमललवा आफ्नो साथी कलवालाई द्रौपदीकहाँ जान दिँदैन र साबित्री कहाँ कलुवा गएकोमा कुनै गुनासो पनि गर्दैन। एकपटक ऊ नराम्ररी बिरामी परेपछि राजेन्द्रराजले नै घरजग्गा बेच्न भन्छ र एकलाखमा सही छाप गराएर तीस हजार दिन्छ र उक्त जग्गामा शिलाबाबु र राजेन्द्रराजको पार्टी कार्यालय निर्माण हुन्छ। अब प्रेमललवा मूख्य सहरभन्दा केही पर एककठ्ठा जमीन र त्यसमै रहेको खरपरालको छाप्रोमा बस्न पुग्छ। र एउटा घोडी पनि किन्छ र इस्माइलसँग टाँगा चलाउँन सिक्छ। यही बेला चुनाव हुन्छ र राजेन्द्रराजको लागि ऊ बिना ज्याला चुनाव प्रचारप्रसारमा खट्छ। तर चुनाव शान्तिराजाले जित्छ। ननकउ अर्थात् टाँगारिक्सा एसोसिएशनको अध्यक्ष शान्तिराजापट्टि लागेको हुन्छ र उससँग प्रेमललवाको एक प्रकारको नदेखिने द्वन्द्व छ। शान्तिराजाको विजय जुलुसका लागि टाँगा आवश्यक पर्दा ऊ नमीठो मान्दै बाध्यतावश टाँगा लिएर निस्कन्छ र यही विजय जुलुसमा उसले राजेन्द्रबाबुले शान्तिराजाबाट पाँचलाख लिएर निष्त्रि्कय बसेको वा शान्तिराजालाई भोट खसाएको कुरा सुन्छ तर पनि पत्याउँदैन। विजय जुलुसमा जथाभावी मान्छे चढ्दा उसको टाँगा उराल हुन्छ। र घोडी बिरामी पर्छे। उसले उपचार पनि गराउँछ। यहीबेला कताकताबाट हिन्दू मुस्लिम दङ्गा भडि्कएको हुन्छ। उसको घोडी मर्छे।

बस्, घोडीको मृत्युसँगै उसको सारा अस्तित्वसमेत संकटमा पर्छ। अब ऊ आफ्नो मालिक अर्थात् राजेन्द्रराजको शरणमा पुग्छ। राजेन्द्रराजले चुरोटको बट्टामा सानो चिट लेखिदिन्छ र हिजोअस्तिमात्र चुनाव जितेको शान्तिराजकहाँ पठाउँछ। शान्तिराजालाई बडो मुस्किलले भेट्दा भोलि आउँन भन्छ र भोलिपल्ट पुनः पुग्दा काठमा48डौ आउँन भनिदिन्छ। कलवा, द्रौपदी सबैले एकपटक काठमा48डौ जाने सल्लाह दिन्छ्न् र हजारबार्हटसय जम्मा पारेर ऊ काठमाण्डौ पुग्छ। ऊ काठमाण्डौ पुगेर पहिलोपटक जोसँग बोल्छ त्यहीँबाट उसको कन्तबिजोग शुरु हुन्छ।

तब पुष महिनाको काठमाण्डौंमा प्रेमललवाको दौडधुपको सिलसिला निकै पीडादायी छ। पुल्चोक, सिंहदरबार, बालुवाटार अनि पार्टी कार्यालय (बल्खु वा सानेपा?)। यही क्रममा ऊ होटेलमा पनि बस्न बाध्य हुन्छ र आफूलाई लेखक बताउँने एउटा भलाद्मी मान्छे ऊसँग हृदय फुकाएर कुरा गर्छ। र उसबाट झ48डै सय रुपैयाँ लिएर रक्सी खाइदिन्छ, मन्त्री भेटाइदिने प्रलोभन वा आश्वासन समेत दिएर। भोलिपल्ट ऊ पनि गायब हुन्छ। मन्त्री शान्तिराजसँग कतिगर्दा पनि भेट सम्भव हुँदैन। मन्त्रालयमा मन्त्रीको पि. ए. ले उसको सबै कुरो सुन्छ र सवाल रिक्साटाँगाको भएकोले यातायात मन्त्रालय जान भन्छ। यातायात मन्त्रीको पिएले सबै कुरो सुनेर उसलाई घर जानु नै बेश भनेर जय नेपाल भन्छ र प्रेमललवा द्रौपदीले आफ्ना कानका टप निकालेर दिएको गहना बेचेर र कलवा र कलवाकी बूढीले एकअर्कालाई नदेखाई दिएको रकम काठमाण्डौँमा सकेर पुनः नेपालगञ्ज उत्रिन्छ : बिलकूल रित्तो र निराश।

समस्या यत्तिकैमा सकिँदैन। उसकी घोडी बसन्ती त पहिल्यै मरिसकेकी नै थिई घर पर्किँदा टाँगा पनि चोरिएको र अकस्मात् आएको वर्षाले घर पनि ढलेको हुन्छ। हृदयको अन्तस्थलमा छियाछिया भएको प्रिय साथीलाई यसबेला कलुवाले स्वान्त्वना दिन्छ।

अब फेरि प्रेमललवा लालपूर्जा लिएर राजेन्द्रराजकहाँ पुग्छ। पार्टीको वडा कार्यालय निर्माण गर्न जग्गा चाहिइरहेको बेलामा राजेन्द्रराजले नब्बे हजारको कागज बनाउँछ र तीस हजारमात्र प्रेमललवालाई दिन्छ र बाँकी पैसो सिलाबाबु र उसले खाइदिन्छन्। यसरी प्रेमललवाले फेरि टाँगा र घोडा किन्छ। अन्त्यमा बिहे गर्ने प्रवल अठोटका साथ ऊ द्रौपदीकहाँ पुग्छ।

सरसर्ती भन्दा कुरो यत्तिमात्र हो। यसमा थप कुरा भनेको प्रेमललवा र द्रौपदीको अन्तरङ्ग प्रेम हो। तर नयनराज पाण्डेले यति छोटो उपन्यासमा नेपाली राजनीति, समाज, धर्म संस्कृतिजस्ता पक्षहरुलाई कुनै पनि प्रकारको खोल नओडाइकन नांगो पारेर व्याख्या गरिदिएका छन्। साथै राजधानी र मोफसलबीचको भेद, पार्टी कार्यालयमा पुराना त्यागी कार्यकर्ताहरुको बेहाल, जनताका पहुँचभन्दा बाहिर पुगेका नेताहरु, गरीव र विपन्नवर्गका मानिसहरुको भावनामा हुने खेलबाड अनि गरीव र आदिबासीहरु कसरी मूल थलोबाट विस्थापित हुँदै किनारतिर धकेलिँदै छन् भन्ने कुरालाई पनि उनले जस्ताको तस्तै चित्रित गरिदिएका छन्।

यति सामान्य विषयमा पनि उपन्यास बन्न सक्दोरहेछ भन्ने कुरा वास्तवमा पत्याउँन पनि मुस्किल पर्ने गरी तयार पारिएको यस उपन्यासको भाषा पनि उत्तिकै ओज र गरिमाले भरिएको छ। किनभने त्यो निकै सरल र सहज छ। उपन्यासमा स्थानीय भाषाका शब्दहरुको प्रयोगले पाठकलाई मधेसतिर पुर्या ई दिन्छ। दगाबाजी, मा–बहिनको गाली, सिना, जुबान, घपला, मुहल्ला, बिरादरी, मवाद, सुअरको औलाद जस्ता शब्दहरु बडो उपयुक्त स्थानहरुमा देख्नसकिन्छ। साथै यस उपन्यासमा देखिने झर्रा संवाद र शब्दहरु पनि निकै आकर्षक छन्। कुनै प्रकारको कपट, धुर्त्याइँ, बौद्धिक विलासिताका फाल्तू तिकडमबिना नै नयनराजले जे जसरी यो उपन्यास तयार पारेका छन्, निकै मर्मस्पर्शी छ। समग्रमा भन्ने हो भने उरालले प्रजातान्त्रिक कालख48डको एउटा विद्रुपता र त्रासदीलाई छर्लङ्ग पारिदिएको छ।

“नयाँ र पृथक् बन्ने मोहमा विसंगतिवाद वा शून्यवादका सूत्रहरुमा उनिएका र अवाञ्छित बौद्धिकताको चापले गर्दा सम्प्रेषण क्षमता गुमाएका नेपाली उपन्यासहरुको पंक्तिमा तर बेग्लै विशेषता लिएर यो उपन्यास देखा परेको छ।” उपन्यासको भूमिकामा कवि श्यामलले भनेजस्तै समाप्तिको हिसावले यो उपन्यास शून्यवादीजस्तो देखिएता पनि प्रेमललवाको जीवन समाप्त भएको छैन बरु झनै सशक्तरुपले शुरु हुने संभावनाको मुहानमा छ भनेर मान्न सकिन्छ। तर पनि पात्रहरुमाथि अन्याय हुनुहुन्न भन्ने विचार–मान्यता राख्ने पाठकहरुले उपन्यासको अन्त्यमाथि अवश्य पनि प्रश्न उठाउँने छन्।

सामाजिकरुपले उठ्नसक्ने सम्भावित खतराको सम्पूर्ण जोखिम मोलेर प्रेमललवाले द्रौपदीसँग बिहे गर्ने अठोट गरेपछि किन उपन्यास समाप्त भयो? यो प्रश्न मेरो मनमा पनि उठिरह्यो।

समाप्त
(नयाँ पत्रिका दैनिकमा प्रकाशित)

No comments:

Post a Comment