Wednesday, September 26, 2012

'सकस'को सौर्य




 (SATURDAY, 22 SEPTEMBER 2012 नागरिक)

नयनराज पाण्डे

आख्यानका रूपमा उपन्यासको अस्तित्व संदिग्ध भइसकेको र तत्थ्यात्मक आख्यानका रूपमा यसको विकास हुने कुरा विद्वानहरुले गर्न थालेका छन्। नोबेल पुरस्कार विजेता भीएस नयपालले विधागतरूपमा उपन्यासको सम्भावना समाप्त भइसकेकाले भविष्यमा यसको सिर्जना सम्भव नहुने विचार व्यक्त गरेका छन्। त्यसो भए उपन्यास यथार्थ वाहकको काम गर्न अक्षम भइसकेको हो त? 

यही बहसलाई नेपाली उपन्यास लेखनको केन्द्रमा स्थापित गर्दै जगदीश घिमिरेको नयाँ उपन्यास 'सकस' बजारमा आएको छ। यसले कल्पना र यथार्थ, इतिहास र वर्तमान अनि व्यक्ति र समाजका चाहना अनि राज्यसत्तासित त्यसको अन्तर्द्वन्द्वलाई विशाल क्यानभासमा एकत्रित गरेको छ। यसले विधागतरूपमा उपन्यासको प्रचलित परिभाषालाई शालीन किसिमले फेरि परिभाषित गर्नुपर्ने आवश्यकतालाई पाठक र अध्येताहरूमाझ स्थापित गरिदिएको छ। विधा भञ्जनका नाममा यसले कौशलविहीन र आलोकाँचो कथावाचन पद्धतिविपरीत आकर्षक र सर्वथा नवीन शैली अँगालेको छ। यसरी 'सकस'ले इतिहास र इतिहासभित्रको मानवीय संघर्षको गाथालाई अत्यन्त आकर्षक ढंगले अभिव्यक्त गर्न सफल भएको छ। यही कारण 'सकस' भित्रको आख्यानले हामीलाई एकसाथ इतिहासको यथार्थ र वर्तमानको असजिलो धरातलमा रोचकतासाथ अल्मल्याइराख्छ। 'सकस'ले पाठकलाई आफूभित्रका शब्द र भावको राजमार्गमा डोर्‍याउँदै लैजान्छ। त्यसैले पाठकहरू 'सकस'को पठनसँगै इतिहास र यथार्थको यात्रामा सहजतासाथ सामेल हुन्छन्। उनीहरूले यस यात्रामा आनन्द अनुभूति गर्छन्।

'सकस'ले जगदीश घिमिरेको आख्यानकारितालाई गजबले धारिलो र प्रभावकारी बनाएको छ। यतिखेर उनी नयाँ छिमलका लेखकहरूमाझ अझै नयाँ भएर देखापरेका छन्। 'सकस' मा उठाएका विषयवस्तु, शैली, प्राञ्ज्वल भाषासहित घिमिरेले नयाँ लेखकलाई पनि तगडा चुनौती पेस गरेका छन्। 'लिलाम' र 'साविती' जस्ता उपन्यासमार्फत घिमिरेले चार दशकअघि नै नेपाली साहित्यमा आफ्नो ओजपूर्ण भूमिका स्थापित गरिसकेका हुन्। 'सकस'ले उनको त्यस भूमिकालाई अझ सार्थक बनाएको छ।

उपन्यासको विषयवस्तुको आयाम फराकिलो छ। यो एउटा कालखण्डको कथानकमा सीमित छैन। यसमा इतिहास भइसकेका चरित्रहरू पुनः आफ्नो सक्कली र नक्कली अनुहारमा फर्किएर आएका छन्। इतिहासमा बेपत्ता भइसकेका चरित्र र वर्तमानको संघर्षपूर्ण जीवन भोगिरहेका चरित्रहरूको फ्युजन उपन्यासमा छ। इतिहासको आख्यानिक पक्ष 'सकस' मा अत्यन्त उल्लेखनीय किसिमले आएका छन्। 

नेपाली आख्यानमा एउटा समस्या अझै पनि छ। कतिपय मै हुँ भन्ने लेखक कोठामा कोच्चिएर मनोगत विषय उठाएर आख्यान सिर्जना गरिरहेका छन्। नेपालमै पनि समय, परिस्थिति र परिवेशमा आएको परिवर्तनलाई तिनीहरूले आत्मसात गर्न सकिरहेका छैनन्। कल्पनाको उडान र भाषिक सामर्थ्यको धरातलमा मात्र तिनीहरूका आख्यान उभिएका छन्। यथार्थको नाममा मनोगत भ्रमको सिर्जनामा वासनात्मक तहसम्म लिप्त लेखकहरूको बाक्लै जमात नेपाली साहित्यमा अझै पनि दादागिरी देखाइरहेछ। तिनीहरूले अब जगदीश घिमिरेको 'सकस' पढ्नु जरुरी छ। किनभने विषयलाई केवल मनोगत एकालाप र भाषिक शिल्पले मात्र जीवन्त बजाउन सक्दैन। त्यसका लागि विषय सम्बद्ध अध्ययन र चिन्तन पनि चाहिन्छ भन्ने 'सकस'ले सावित गरिदिएको छ।

 'सकस' राजनीतिक भंगिमा बोकेको उपन्यास हो। यसले वर्तमान राजनीतिलाई आख्यानमार्फत बहसको सतहमा ल्याएको छ। बहसमा उत्रँदा 'सकस' भित्रका कतिपय राजनीतिक प्रसंग कतिपयका लागि पूर्वाग्रही पनि लाग्ला। तर, लेखकको निजी अब्जर्बेसन, निजी विचार र अनुभवको सत्ता स्वीकृत भएपछि यस बहसले पक्कै उपयोगी रूप धारण गर्छ। 'सकस' लाई हाम्रो इतिहास, विगत र वर्तमान हेर्ने स्वतन्त्र लेखकीय हैसियतको उपलब्धिका रूपमा सम्मानित पनि गरिएला। 'सकस'ले पाठकहरूसित एकखाले उदार पाठकीय चेतनाको जायज आग्रह राखेको छ। 

'सकस' मा पातलो खालको केन्द्रीय कथानक छ। तर, यसलाई बाक्ला-बाक्ला सहायक कथानकले यसरी थामेका छन्, उपन्यास लेखनका लागि भारी कथानक चाहिन्छ भन्ने मान्यतालाई जोरदार दनक दिएको छ। यसमा यथार्थ घटनाक्रमलाई आख्यानीकृत गरिएको छ। त्यसले यथार्थप्रति आ-आफ्नै खालको बुझाइ पनि निर्माण गर्छ। सायद यसैलाई मारियो भर्गस ल्योसाले लेबल अफ रियालिटी भनेका हुन्। 'सकस'ले एकदमै मिहिन संवेदना, गहिराइ र विस्तारसहित देश, समाज र व्यक्तिमाथि पर्ने प्रभावहरूको अध्ययन कथात्मक धरातलमा उभिएर गरेको छ। 'सकस' को यो महत्वपूर्ण पक्ष हो। उपन्यासले यथार्थको निराशाजनक पक्षलाई पस्कियो भनेर आरोप लगाउने केही ठालू पनि भटाभट यही मेसोमा निस्किएलान्। तर, हामीले के बुझ्नुपर्छ भने कुनै पनि साहित्यले निराशाको वकालत गर्दैन। त्यसले कहिलेकाहीँ निराशाको कहालीलाग्दो परिवेश पाठकसामु उभ्याएर 'हे मित्रहरू, अब त अति भो, केही त सोच न' भन्ने आग्रह कुनै न कुनै रूपमा गरिरहेकै हुन्छ। जसले जे आरोप लगाओस्, हरेक साहित्यकार आशावादी हुन्छ। उसले घनघोर निराशा लेखेर भोलिपल्ट आत्महत्या गर्दैन। बरु भोलिपल्टका अखबारहरूमा आफ्नो लेखनको समालोचना खोज्छ। आफ्नो लेखनले कति पाठकहरू प्रभावित भए भनेर डाटा खोज्दै हिँड्छ। त्यही त हो आशा। त्यही नै त हो आफ्नो लेखनप्रतिको विश्वास। समग्र साहित्य आशा र विश्वासको दस्तावेज हो। 'सकस' पनि त्यस्तै दस्तावेज हो, जसले हामीलाई हाम्रो आगामी भविष्यप्रति सोचमग्न बनाउँछ। वर्तमानसित आफ्नो भविष्यको सुनिश्चितताको जोडदार हिसाबकिताब पनि माग गर्छ।

'सकस'को एउटा उल्लेल्य पक्ष यसको शिल्प हो। घिमिरेले रोजेको शिल्पले नै 'सकस'को विषय, परिवेश, चरित्र आदिलाई विश्वसनीय बनाएका छन्। उनले 'सकस'मा अटाएका कथानकहरूलाई सहज र प्रवाहमय बनाउन आफ्नै खालको सुन्दर कथाभाषा निर्माण गरेका छन्। त्यसले गर्दा उपन्यासको झन्डै ३ सय पृष्ठको खँदिलो विस्तार छिचोल्न पाठकले 'सकस' गर्नु पर्दैन। उपन्यासको गति र कथानकलाई उनले आफ्नो पकडबाट फुत्किन दिएका छैनन्। पात्रहरूलाई उति सारो हस्तक्षेप गरेका छैनन्। तिनलाई आफ्नो स्वतन्त्र पहिचानका लागि संघर्षरत रहने छुट दिएका छन्। 

'सकस'मा विगतदेखि वर्तमानसम्म नेपाली जनताले केकस्ता 'सकस' भोग्नुपर्यो भन्ने कुरालाई कथानकको स्वरूप दिइएको छ। विषय चयनले नै उपन्यासको क्यानभास फराकिलो हुनैपर्ने बाध्यता देखाउँछ। घिमिरेले यसलाई बाध्यता बन्न दिएनन्। उनले विषयको व्यापकतालाई बडो सहजतासाथ प्रयोग गरेका छन्। समग्रमा रामेछाप र त्यसवरिपरि निरन्तर भइरहने राजनीतिक र सामाजिक क्रियाकलापका राम्रा-नराम्रा पक्ष पछ्याउँदै जाँदा उपन्यासले थाहै नपाई थुप्रै राष्ट्रिय सवालहरूलाई सतहमा ल्याएको छ। जनताको भाग्य र भविष्यसित जोडिएका ती सवालको उत्तर 'सकस'मा पाइँदैन। तर, 'सकस'ले ती सवाललाई सशक्त ढंगले सबैको सामुन्ने राखिदिएको छ। उपन्यासमा घिमिरेको विषयप्रतिको गम्भीरता, शिल्पप्रतिको सचेतता र भाषिक प्रयोगप्रतिको सहजता राम्ररी मुखरित भएको छ। यसको पृष्ठभूमिमा आख्यानकारको गहन अध्ययन, विषय चेतना, राजनीतिक चिन्तन, अन्वेषणको क्षमताले राम्ररी काम गरेको छ। घिमिरेको आँट, धैर्य, अध्ययन र चिन्तनको गोडमेलले तयार भएको यो कृति हातमा लिँदा हामी यसका प्रमुख पात्र शरद र कुमारीको दुःखपूर्ण जीवनी पढ्न बस्छौँ। तर, उठुन्जेल हामी नेपालको समग्र राजनीतिको 'सकस' पूर्ण क्षणलाई पनि पढिसक्छौँ। यो पृथ्वीनारायण शाहको पालादेखि तपाईँले किताब हातमा उठाउँदा र यसको अन्तिम हरफ पढिरहँदासम्मको कथानकलाई समेटिएको जीवन्त र अद्भूत आख्यान हो। 'सकस'लाई यस दशककै एक उत्कृष्ट कृति भन्न सकिन्छ।

No comments:

Post a Comment