Saturday, January 28, 2012

ब्यक्तिगर विवरण-Biodata


ब्यक्तिगत विवरण

नाम -                        नयनराज पाण्डे
जन्ममिति -    वि.सं २०२३ जेठ २७
शिक्षा            ः            बी.एल ।
स्थायी ठेगाना      ः    खलंगा गाविस,सल्यान ।
हलको ठेगाना     -    वसुन्धरा,काठमाण्डौ ।
प्रमुख कार्यक्षेत्र   - वि.सं २०४४देखि चलचित्र र साहित्य क्षेत्रमा संलग्न ।

हालको आवद्दता -  आर्को सिनेमा प्रालि


प्रशासनिक सम्बद्धताः (१) चलचित्र विकाश बोर्ड सदस्य (२०६४–६५),नेपाल सरकारबाट नियुक्त ।
                  (२) साझा प्रकाशनको निर्वाचित संचालक सदस्य (२०६५देखि हालसम्म)

प्रमुख साहित्यिक विधा ः   कथा तथा उपन्यास ।

स्तंभ लेखन - कान्तिपुर,नयाँ पत्रिका,राजधानी,नागरिक लगायतका दैनिक,साप्ताहिक पत्रपत्रिकामा नियमित रुपमा साहित्यिक तथा साँस्कृतिक विषय वस्तुमा समसामयिक लेख तथा स्तंभ लेखन ।

प्रकाशित पुस्तकहरु -
१) नांगो मान्छेको डायरी (उपन्यास),२०४४
२) विक्रमादित्य,एउटा कथा  सुन(उपन्यास),२०४४
३) अतिरिक्त(उपन्यास),२०५०
४) उलार (उपन्यास), २०५५
(त्रि.वि.वि.को स्नातक तह, तृतीय वर्षको ऐच्छिक नेपालीको पाठ्यक्रममा समावेश गरिएको)
५) खोरभित्र जोकर (कथा संग्रह),२०६०
६) निदाएँ जगदम्बा (कथा संग्रह)२०६५

प्राप्त पुरस्कारहरु
१) सर्वश्रेष्ठ नाटक लेखन पुरस्कार— नेपाल प्रज्ञा  प्रतिष्ठान,२०४५
२) राष्ट्रिय प्रतिभा पुरस्कार,२०५३  
३) सारस्वत सम्मान,महेन्दं पुस्तकालय,नेपालगंज ,२०५३  
४) लोकेन्द्र साहित्य पुरस्कार,२०५८
५) सर्वश्रेष्ठ पटकथाका लागि मोशन पिक्चर अवार्ड,२०५८  
६) रामराज पन्त स्मृति पुरस्कार,२०६०  
७) तन्नेरी सम्मान,२०६१  
८) गरिमा सम्मान पुरस्कार,२०६२ (साझा प्रकाशन)
(९) पहलमानसिंह स्वाँर स्मृति सम्मान, २०६५
१०) मैना चलचित्रको पटकथाका लागि राष्ट्रिय पुरस्कार,२०६७

चलचित्र लेखन -
बसाइँ, मलाई माफ गरिदेऊ, फेरि तिम्रो याद आयो, लडाइँ, आफ्नो घर आफ्नो मान्छे, शहीदगेट,जुनतारा,जीवनमृत्यु,सन्तान थरी थरीका,हतियार,जिद्दी, लगायतका दुई दर्जन चलचित्रको लेखन ।

टेलिश्रृंखला लेखनः
करुणा, दुई थोपा आँसु, पुष्पाञ्जली, जीवनचक्र, ममता,चेतना,चेष्टा,जीवन यात्रा,कसलाई आफ्नो भनुँ, दुई दिनको जिन्दगानी,किनारा, चाहना मनको लगायतका टेलिचलचित्रका २ हजार भन्दा बढी श्रृंखलाहरुको लेखन ।

ठूलो पर्दाको चलचित्रको निर्देशनः          निर्मोही 

टेलिश्रृंखलाको निर्देशनः

–सुप्रसिद्ध नाटककार स्व. गोपालप्रसाद रिमालको बहुचर्चित नाट्यकृति“मसान”मा आधारित टेलिश्रृंखलाको निर्देशन । नेपाल टेलिभिजनबाट प्रसारित यो टेलिश्रृंखला “साँस्कृतिक संस्थान”(नाचघर) बाट २०५३सालमा निर्माण गरिएको हो।
–संगीत,चेष्टा,अर्थ लगायतका टेलिश्रृंखलाहरुको लेखन तथा निर्देशन ।

वृत्तचित्र निर्देशन तथा निर्माण -
युनिसेफ, आइ.एल.ओ., डि.एफ.आइ.डि, बाल विकास समाज,एबीसी नेपाल,तामाकोशी सेवा समिति,प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय(नेपाल सरकार)लगायतका संस्थाका लागि दर्जनौ वृत्तचित्रहरुको निर्माण तथा निर्देशन ।

टेलिभिजन कार्यक्रम उत्पादन -

विगतमा पटक पटक “अभिव्यक्ति”नामक साहित्यिक एवं साँस्कृतिक कार्यक्रमको निर्माण,निर्देशन र संचालन ।

सम्पर्क फोन        ः
                   
ईमेल              ः nayanrajpandey@hotmail.com  

सलाम प्रेमललवालाई-कान्तिपुर दैनिक




“साँस्कृतिक मान्यताको स्थापनामा सिनेमा ,समाज र राजनीति- एक अवधारणा”
                                                                                                                    – नयनराज  पाण्डे
लेखन मिति -२००७ जनवरी २८ , एउटा कार्यशालामा प्रस्तुत । पछि 'नयाँ पत्रिका' दैनिकमा पनि प्रकाशित)


(१)अहिलेको नेपाली समाज तीब्र रुपमा परिवर्तनको क्रममा छ । पुराना सामाजिक मूल्य, मान्यता, सोच, आस्था अनि विश्वासहरु केही भत्किने क्रममा छन् भने केही मूल्याङ्कन र पुनर्मूल्याङ्कनको स्थितिमा छन् । साँस्कृतिक स्वरुप र मान्यतामा पनि आमूल परिवर्तनको सोच प्रतिविम्वित हुन थालेको छ । समग्रमा नयाँ सोच सहितको नयाँ नेपालको बहस शुरु भएको छ । तर यी यावत् प्रक्रियालाई र यसभित्रका परिवर्तन र पुनर्मूल्याङ्कनको क्रमलाई सद्भावपूर्ण किसिमले व्यवस्थित गर्नु राज्यको, राजनैतिक दलहरुको ,सर्जक श्रष्टा र बौद्धिक वर्गको दायित्व भएको छ ।

Friday, January 27, 2012


प्रेम कविता-१


जताततै
फोहर भरिएका कन्टेनरहरु छन्
तिनलाई उठाउनु छ ।


देश कसैको डम्पिंग साइट नहोस्
त्यतातिर केही सोच्नु छ ।


जताततै अब्यवस्थाहरु छन्
तिनलाई तह लगाउनु छ ।


प्यारी, तिम्रो मायाले फुर्सद दिँदैन र पो
नत्र मलाई धेरैथोक गर्नुछ ।


( २०५६। ३।१८ शुक्रबार)

प्रेम कविता- २


यी हातहरुले
तिमीलाई सुम्सुम्याउँछन्,
तिमीलाई माया गर्छन्
तिम्रो देहको क्षेत्रफललाई नियाल्छन्
यी हातहरुले
तिम्रो कपासजस्तो देहलाई उचाल्छन्
र क्रोधमा कैलेकाँही
त्यही देहलाई निर्घात कुट्छन्
सास्ती दिन्छन् र फेरि तिम्रा
आँशुहरु पुस्छन्
र फेरि माया गर्छन् ।
00
र सिंगो देश
मेरा यिनै परिश्रमी हातहरुलाई 
पर्खिरहेछ
युगौँदेखि ।
( २०५६-३-१८ शुक्रबार)

Friday, January 20, 2012

अनसन बारे


कान्तिपुर, कोसेली»

साहित्यिक अनशन !

    भाद्र ३० -
    उलार' उपन्यासको मुख्य पात्र थियो, प्रेमललवा । यो पात्र धेरै पाठकको मनमा गढेर बसेको छ । चुनाव प्रचारका क्रममा दलका कार्यकर्ता बोक्दा आपmनो टांगा उलार भएपछि क्षतिपूर्ति माग्न यो काठमाडौं आइपुग्छ । मन्त्री भेट्न आएको यो पात्रले देख्ने काठमाडौं र भोग्ने दुःखले उपन्यासलाई उत्कृष्ट बनाइदिएको थियो ।

    गत साता राजधानीका सडकमा त्यही उलारका लेखक नयनराज पाण्डे अनशन बस्ने ठाउँको खोजीमा निस्किए । करिब २ हजार साहित्यकारको सेयर भएको साझा प्रकाशनमा सुधारको माग राखी आमरण अनशनको घोषणा गरेका सञ्चालक समिति सदस्य उनले साझामा अनशन बस्न पाएनन् । साझाबाट सुरु भएको उनको खोजी माइतीघर मण्डला हुँदै रत्नपार्कमा पुगेर टुंगियो ।

    नजिकिँदो दसैंको किनमेलका लागि फुटपाथमा बढेको भीडलाई छिचोल्दै उनी पुगे शान्ति वाटिका । र, २०४६ को आन्दोलनका कमान्डर गणेशमान सिंहको सालिकको पछिल्तिर पाल टाँगेर आमरण अनशन सुरु गरे । गलामा फूलको माला लगाएर सत्याग्रह थालेका स्रष्टाको छेउमा उभिएर साझाका पूर्वअध्यक्ष र महाप्रबन्धकको एउटा टोलीले समर्थनमा विज्ञप्ति निकाल्यो । तर, त्यसमा 'आफूहरूले सुधार्न नसकेकोमा...' जस्तो केही उल्लेखचाहिँ गरिएको थिएन । विमल निभा र पुरुषोत्तम सुवेदीहरूको 'न्युरोड ग्याङ' पनि नयनको अभियानको साथ थियो । 

    वैचारिक हिसाबले कांग्रेस निकट मानिने नयनको अनशनले शान्ति वाटिकमै अर्को मञ्च जन्मायो, 'साझा सरोकार समूह' । र, यसको संयोजक बने, वामपन्थी खगेन्द्र संग्रौला । बिनाअनुमति अनशन बसेको भन्दै प्रहरीले नयनलाई मध्यराति संग्रौलाको घर पुर्‍याइदिएपछि यो एकता झन् मजबुत भयो । आखिरीमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई रत्नपार्क आएर माग पूरा गर्ने आश्वासन दिए । जुस खुवाएर नयनको अनशन तोडे र साहित्यकारका बीचमा पनि 'लोकपि्रय' नै बने ।

    भारतमा अन्ना हजारेको अनशन प्रकरण सेलाउँदै गर्दा नयनले गरेको अनशनले साझालाई कत्तिको 'साझा' बनाउला थाहा छैन । तर, यसले साहित्यकारहरूलाई एक ठाउँमा ल्याउने कामचाहिँ गर्‍यो । इतिहासमा गर्व गर्ने, वर्तमानमा तुँवालो लागेको यो संस्थाका विषयमा सहरमा थुप्रै कोणबाट चर्चा भए । जनक शिक्षाले प्रकाशन गर्ने पुस्तक बेचेर बाँचेको भनिने साझाले साहित्यलाई लगाएको गुनका विषयमा पूर्वअध्यक्ष, महाप्रबन्धक र सञ्चालकहरूले रत्नपार्कमा छोटो मीठो भाषण गर्ने अवसर पनि पाए ।

    दुई महिनाजति पछि हुने साझाको साधारणसभा पनि अनशनको छेउतिर आएर बस्यो । अनस्थलछेउको चौरमा यसको राजनीतिको पनि चर्चा भयो । 'लु' नामक उपन्यासको पाण्डुलिपि तयार गरेर बसेका नयन अनशनको आँधीमा छिरेपछि उनको पाण्डुलिपि भने केही समय बिचल्लीमा पर्‍यो ।

    साझा प्रकाशनलाई कृषि मन्त्रालयबाट सारेर शिक्षामा लानुपर्ने, अध्यक्ष र महाप्रबन्धक एकैजना बनाउन नहुने र महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छानिनुपर्ने उनका माग थिए । 'सञ्चालक समितिको बैठकमै यी कुरा ल्याएको थिएँ,' अनशनपछि उनले अन्तर्वार्तामा भने, 'त्यहाँबाट नभएपछि अनशन बस्नुपरेको हो ।'

    प्रधानमन्त्रीको आश्वासनपछि अनशन तोडे पनि साझा सुधार अभियान बल्ल सुरु भएको र यो गन्तव्यमा नपुगी नटुंगिने पनि उनले बताए । अनशनका माग हेर्दा एउटा संस्थासँग सम्बन्धित भए पनि माहोलले चाहिँ अनशनलाई साहित्यिक बनाइदियो ।


    प्रकाशित मिति: २०६८ भाद्र ३१ १०:५८

    उलार बारे

    Thursday, January 19, 2012

    पुस्तक वार्ता - पारस नेपाल

          (कान्तिपुर,कोसेलीमा २०६५ चैत्र २१ मा प्रकाशित)
    पारस नेपाल




    चैत्र २२ - नयनराज पाण्डे समकालीन नेपाली आख्यानकारमा सम्भवतः बढी पढिनेमध्ये पर्छन् । २१ वर्षकै उमेरमा ँनांगो मान्छेको डायरी’ उपन्यासमार्फत साहित्यमा उदाएका उनका 'विक्रमादित्य एउटा कथा सुन,’ 'अतिरिक्त’ र 'उलार’ उपन्यास तथा 'खोरभित्र जोकर’ र हालसालै 'निदाएँ जगदम्बा’ कथासंग्रह प्रकाशित छन् । ४३ वर्षीय पाण्डेको क्रियाशीलता चलचित्र लेखनमा पनि उत्तिकै छ ।

     के पढ्दै र लेख्दै हुनुहुन्छ ?

    नारायण ढकाल दाइले 'प्रेतकल्प' उपन्यासको पाण्डुलिपि दिनुभएको थियो, भर्खरै सिध्याएँ । यो उपन्यासमार्फत नेपाली साहित्यमा एउटा नयाँ विषय नयाँ ढंगले आउन लागेको छ । लेखनमा चाहिँ छिटफुट रूपमा कथामै एकोहोरिएको छु । तयार केही कथाको पुनर्लेखन पनि भइरहेको छ ।

    चलचित्र लेखनमा पनि निकै व्यस्त हुनुहुन्छ, पढ्ने समय कसरी निकाल्नुहुन्छ ?

    जागिर छैन नि त । अर्को पेसा नभएको हुनाले चलचित्र लेखनले पढाइमा बाधा पारेको छैन । लेख्ने काम सामान्यतः दिउँसो हुन्छ । बिहान र बेलुका पढ्नलाई मैले प्रशस्त समय पाउँछु । तर जति समय पाएको छु त्यसलाई पढाइमै सदुपयोग गर्न भने उति सकिरहेको छैन ।

    नेपालगन्जमै हुर्केको हो ?

    बिलकुल । आठ-नौ कक्षा पढ्दादेखि नै साहित्यको टस बसेको हो । स्कुल जाने बाटामा मध्यपश्चिम क्षेत्रमै ठूलो मानिने महेन्द्र पुस्तकालय थियो । सनत रेग्मी, नन्दराम लम्सालजस्ता साहित्यकारहरूका कारण पुस्तकालयमा साहित्यिक कृतिहरूको भण्डारै थियो । हामी हरेक दिन स् कुल छुट्टी भएपिच्छे त्यहाँ बस्थ्यौं र मन लागेका कुरा पढ्थ्यौं । पढ्ने बानी, अझ भनूँ साहित्यतिरको लगाव, त्यही पुस्तकालयका कारण बसेको हो ।

    लेख्ने सोखचाहिँ कसरी पलायो ?

    नाम छापिने लोभले मलाई लेखनमा प्रवृत्त गराएको हो । मेरा मामाबुबा (बालमुकुन्ददेव पाण्डे) ले काठमाडौंमा 'रूपरेखा' पत्रिका निकाल्नुहुन्थ्यो । उहाँको नाम पत्रपत्रिकामा देखेपछि आफनो नाम त्यसै गरी आए कस्तो हुँदो हो भन्ने लागिरहन्थ्यो । बुबालाई सोध्दा कविता लेखेपछि पत्रपत्रिकामा नाम छापिन्छ भन्नुभयो । यही लोभले सात कक्षामा हुँदा पाठ्यक्रममै रहेको माधवप्रसाद घिमिरेजीको कविता राम्रा अक्षरमा कापीमा उतारें र पठाएँ । तर कहिल्यै छापिएन । पछि बुबालाई यो कुरो गरेपछि उहाँले कसरी के पठाएको भनी सोध्नुभयो । मैले सबै कुरो खोलेपछि उहाँले 'अर्काको सारेर/चोरेर पठाएकाले हुन्न, आपmनै नयाँ लेख्नुपर्छ' भन्नुभयो । आफै लेख्नुपर्छ भन्ने बुबाको अर्ती पछ्याउँदै लेख्न थालें । रेडियो नेपालका बाल कार्यक्रम हुँदी पठाउन थालें । नेपालगन्जकै साप्ताहिक पत्रिकाहरूमा छापिन थाले । कसैकसैले भेटेका बेला चिने जस्तो गर्न थाले 


    आख्यान मन पर्छ कि गैरआख्यान ?


    आफूले आख्यानै लेख्ने गरेकाले पनि म यसमै रत्तिन्छु । गैरआख्यान धैर्य दिएर पढ्न सक्दिनँ । लेख्ने बेला केही कुरा सन्दर्भ सामग्रीका रूपमा चाहिने भए हेरे जस्तो गर्छु । अथवा आफ्नो संवेदनासँग मिल्दो केही भए मात्रै गैरआख्यान पढ्ने गरेको छु । मन पर्ने स्रष्टा ?अग्रजहरूमा महाकवि देवकोटा पहिलो नम्बरमा पर्छन् । उनलाई सुरुसुरुमा ठूला कवि भनेर ख्यालख्यालै पढियो । तर पछि पढ्दैबुझ्दै जाँदा उनी त ज्ञानका पुस्तकालयै पो रहेछन् । नेपाली साहित्यका संस्थाभन्दा हुन्छ, उनलाई । कलेजताका मलाई शंकर लामिछानेका निबन्धले ताने । बीपीका कथा, उपन्यास पनि पि्रय लाग्छन् । पारिजातले 'शिरीषको फूल' मार्फत मन जितिन् । त्यसयताको पुस्तामा श्यामल र विमल निभाका कविता, राजवका कथा मन पर्छन् ।  


    कविता मन पराउनुहुँदो रहेछ तर तपाईंका कविता देखिएका छैनन् ? 


    लेख्न त प्रशस्त लेखेको छु, सम्पादकहरूले कथै माग्ने गरेकाले उति प्रकाशन नभएका हुन् । केही दिनयता तीन-चारवटा कविता झोलामै राखेर हिँडेको छु, कसैले नमागे पनि कुनै प्रकाशन कार्यालयमा पुगेका बेला थमाउनुपर्ला भनेर हाऽहाऽहाऽ... ।


    तपाईंका कथा राम्रा भए पनि मानक सिद्धान्तभित्र नरहेको आरोप लाग्ने गरेको छ ।


    म कथा भन्ने शैली फरक होस् भन्नेमा जहिल्यै सचेत रहन्छु । फरक होस् भन्दैमा एकदमै बोझिल वा सामान्य मान्छेले बुभmनै नसक्ने खालको कथा पनि लेख्न चाहन्नँ । सामान्य मान्छेको संवेदनामा मेरो कथाले एकदमै चाँडो प्रभाव पार्नुपर्छ र उसले चित्रात्मक अनुभूति गर्न पाउनुपर्छ । शैलीगत, शिल्पगत रूपमा भिन्न देखिन चाहने यही प्रयासका कारण त्यस्तो आरोप लागेको हुन सक्छ ।   अधिकांश कथाको केन्द्रविन्दु राजनीति हुनुको कारण ?राजनीतिका विसंगति/विकृति, त्यसले भुइँमान्छेमा पार्ने प्रभाव/असर मेरा सरोकारका विषय हुन् । राजनीति सुधि्रए देश आफैं सुधि्रन्छ । सिर्जना, चेतना, देश, जनता सबैसबैका लागि राजनीति बडो चासोको विषय हो । त्यसैले मैले जुनै कुरो उठाउन खोजे पनि राजनीति मिसिइहाल्छ ।


    पछिल्लो कथासंग्रह 'निदाएँ जगदम्बा' बाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?


    कसैबाट नमीठो प्रतिक्रिया पाएकै छैन । यसले खुसी तुल्याउँछ । तर डर पनि कम लाग्दैन किनकि मेरा कथा समसामयिक/समकालीन घटनाको सेरोफेरोमा बुनिएका हुन्छन् । यसले ती कथा रिपोर्ताज बनाउने र तिनको आयु छोट्टयाउने खतरा हुन्छ । फेरि आपmना सिर्जना आपmनो समयको साक्ष्य हुन सकेनन् भने के सिर्जना जस्तो लाग्छ र ढुक्क पनि भइरहेको छु ।


     'उलार' पछि उपन्यास नआएको दस वर्ष भयो नि ?


    २०५५ मा त्यो उपन्यास निक्लेयता म बढी चलचित्र लेखनमा एकोहोरिएँ । पेसा नै चलचित्रसम्बद्ध भएकाले सिर्जनात्मकता ओझेलमा पर्‍यो । उपन्यासका लागि एकाग्रता अलि बढी चाहिन्छ, त्यो पनि भएन । अर्को कुरा, 'उलार' मा मैले थोरैमा धेरै कुरा भन्ने कोसिस गरेको छु । तर समय त्यति धेरै यताउता भएको छैन । बीचमा उब्जेको सशस् त्र द्वन्द्व खुराक हुन सक्ने भए पनि आफू राजधानीमा मात्रै बसेकाले सुनेका/पढेका भरमा लेख्ने कुरा भएन । त्यही भएर निकै वर्ष सेल्फ सेन्सरसिपमा रहेँ । अहिले संघीयता, आदिवासी/जनजाति, मधेसलगायत धेरै मुद्दा उठिरहेका छन् जसलाई मैले आफैंले देखे/बुझेको छु । यिनैलाई उपन्यासमा समेट्ने विचार गरिरहेको छु । 


    प्रकाशित मिति: २०६५ चैत्र २१ ०९:३२

    Monday, January 16, 2012

    मेरा उपन्यासका कुरा



    मेरा उपन्यासका कुरा
    (२०६८ पुष ३० शनिवार ‘नागरिक दैनिक’को “अक्षर”मा ‘उपन्यास उल्झन’शीर्षकमा प्रकाशित)
    नयनराज पाण्डे

    साल २०४३। स्थानीय निवार्चनको मौसम। त्यसैताक मैले लेखेँ पहिलो उपन्यास। शीर्षक राखेँ 'नांगो मान्छेको डायरी'। उपन्यास पनि डायरी शैलीमा थियो र डायरीमै लेखिएको थियो। डायरीको रंग अहिले पनि याद छ- हरियो। मोटो हैन पातलो डायरी। साइज पनि सानो। लगभग छसात इन्चीको। त्यही डायरीको पचास/पचपन्न पृष्ठमा अटाएको थियो मेरो त्यो उपन्यास। अर्थात उपन्यासिका। 
    लेखिभ्याएको भोलिपल्टै मेरो क्षेत्रका चर्चित साहित्यकार सनत रेग्मी र नन्दराम लम्साललाई पढ्न दिएँ। तेस्रो दिन नै सनत रेग्मीले 'छाप्न योग्य छ' भनेपछि म भुइँमा न भाँडोमा भैहालेँ नि। नन्दराम लम्सालले पनि प्रशंसा गर्नुभयो र उपन्यासमा सानो संशोधन पनि गरिदिनुभयो। एउटा शब्द हटाएर दुइटा शब्द नयाँ थपिदिनुभयो- 'खन्ती खलास'। खलास त बुझेँ। 'खलास' अघि 'खन्ती' जोडिएको कमसेकम मैलेचाहिँ सुनेको छैन। मेरो अल्पज्ञान। आज पनि कैलेकाहीँ उपन्यासको त्यो शब्दमा पुग्दा म एकछिन अलमलिन्छु र त्यही अलमलको स्थितिमा मलाई हाल बेपत्तै हुनुभएका आदरणीय लेखक नन्दराम लम्सालको मुहार झल्झली याद आउँछ। जे होस्, उहाँलाई सम्झने राम्रो बहाना भएको छ त्यो शब्द।

    Saturday, January 14, 2012

    स्मृतिका जुलुसहरू



    स्मृतिका जुलुसहरू
    (कान्तिपुर दैनिकमा प्रकाशित)


    नयनराज पाण्डे

    कुशल कवि हुन् बुद्धिसागर । उनले अखबारी लेखनमा पनि आफ्नो सशक्त उपस्थिति जनाइसकेका छन् । अहिले उनी उपन्यासकारको रुपमा देखापरेका छन्,  तीनसय चौहत्तर पृष्ठको आयतनमा फैलिएको र आकर्षक सज्जासहितको कर्नाली ब्लूज उपन्यास लिएर ।
    नेपाली साहित्यमा सुदूर पश्चिमका पात्र, चरित्र र परिवेशहरु निकै कम मात्रामा उद्घाटित भएका छन् । कर्नाली ब्लूजले त्यो अभावलाई केही हदसम्म पूरा गर्नेछ । यो उपन्याससंगै नेपाली साहित्यमा केही नयाँ पात्रहरु, केही नयाँ चरित्रहरु र केही नयाँ परिवेशहरु सशक्त भाषाशैली र रोचक औपन्यासिक शिल्पका साथ भित्रिएका छन् ।

    नाङ्गो मान्छेको डायरी : केही अंश


    नाङ्गो मान्छेको डायरी : केही अंश


    — नयनराज पाण्डे 


    ।१।

    कुराकानीको क्रम स्वाभाविक रुपमा चल्न थाल्यो । यसरी—
    — तपाईँको शुभनाम ?
    — मैले आफ्नो ‘नाम’ भनिदिएँ ।
    तर ‘शुभ’ को संकेत दिने खालको विशेषता थिएन । त्यसैले मैले उसको अनुहार हेरेरै अनुमान लगाएँ । ऊ मेरो नामबाट त्यतिसारो प्रभावित भएको छैन ।
    — के काम गर्नुहुन्छ ?
    — मैले आफ्नो ‘काम’ भनिदिएँ ।
    तर मेरो नाममा झैँ मेरो काममा पनि कुनै ‘शुभ’ तत्व समावेश थिएन । ऊ मेरो ‘काम’ बाट पनि त्यति खास प्रभावित भएन, मैले फेरि अड्कल लगाएँ ।
    — घर कहाँ हो ?
    — मैले आफ्नो ‘घर’ भनिदिएँ ।
    अब भने मलाई कुराकानीको क्रम अलिक अस्वाभाविक लाग्न थाल्यो । म उसको अगाडि शाखा अधिकृतको इन्टरभ्यू दिन उपस्थित भएको हुँ कि भन्ने जस्तो खालले ऊ मलाई प्रश्न गर्दै थियो ।
    खासमा म उसँग एउटा सिफारिस गराउन आएको हुँ । तर काम बन्ला जस्तो चाहिँ मलाई पटक्कै लागेको छैन । किनभने ऊ मबाट प्रभावित छैन । मेरो नाम अगाडि कुनै वरिष्ठता जनाउने पद गाँसिएको भए ऊ मबाट पक्कै पनि प्रभावित हुने थियो । तर मसित कुनै यस्तो मौकामा भजाउन सकिने खालको कुनै वरिष्ठता छैन । र मेरो ब्यक्तित्वमा उसले देख्ने खालको कुनै विशेषता पनि छैन ।
    अहिले मसँग फगत एउटा नाम छ— ‘(फलानो) प्रसाद’ । अथवा फलानो राज । अथवा फलानो बहादुर ।
    र फगत एउटा काम छ— ‘बेकाम’ ।
    यद्यपि माथि भनेझैँ मेरो नाम (फलानो) प्रसाद वा फलानो बहादुर हो । तर म कसैको निम्ति ‘प्रसाद’ सकिन । बहादुर पनि बन्न सकिन । बरु मेरो नाम ‘(फलानो) भार’ वा ‘भारबहादुर’ भइदिएको भए बढी सार्थक हुन्थ्यो । यस्तो विचार मेरो मगजमा सयौँ पटक आइसकेको छ ।
    अँ, अघि म के भन्दै थिएँ ? सायद सिफारिसको कुरा गर्दै थिएँ । अर्थात् म उसको अगाडि सिफारिस लिन आएको कुरा गर्दै थिएँ क्यारे । कस्तो सिफारिस, त्यो तपार्इँले बुझिसकेको हुनुपर्छ ।
    — के कामले पाल्नु भयो ?
    उसको यस वाक्यमा प्रयुक्त भद्रताले मलाई झण्डै मारिसकेको थियो । म यति भद्र हुन पुगेको थिएँ कि आफू ‘पाल्नुको’ उद्देश्य पनि झन्डै बिर्सिसकेको थिएँ । लाजले । तर मलाई लाजलाई पन्छ्याएर उसको अगाडि उदाङ्गिनु थियो।
    र म उदाङ्गिएँ ।

    ‘डिलिट’ नभएका दसैँका सम्झनाहरु



    ‘डिलिट’ नभएका दसैँका सम्झनाहरु
    नयनराज पाण्डे


    (नागरिक दैनिकमा २०६७ असोज २३ गते शनिवार प्रकाशित)

    म नेपालगन्ज हुँदाको आफ्नो दसैँ सम्झिरहेछु । काठमाण्डौमा दसैँ मनाउन थालेको निकै भयो । त्यसैले बाल्यकालमा नेपालगन्जमा मनाएका दसैँको धमिलो धमिलो सम्झना मात्र बाँकी छ । कतिपय प्रसंगहरु सम्झनाको ‘हार्डडिस्क’बाट ‘डिलिट’ भैसकेका छन् । तिनीहरु कतै अवचेतनको ‘रिसाइकल बीन’मा गएर बसेका होलान् । कुन स्थिति, परिस्थिति र प्रसंगमा ती झल्याँस्स ताजा भएर आउँछन्, हाललाई थाहा छैन । तर पनि केही सम्झनाहरु अक्रमवद्ध किसिमले यतिबेला मस्तिष्कमा सल्बलाइरहेका छन् । तिनै सम्झनाहरुबाट यतिबेला बनिरहेको छ योे कोलाज—अनुभूति ।