नाङ्गो मान्छेको डायरी : केही अंश
— नयनराज पाण्डे
।१।
कुराकानीको क्रम स्वाभाविक रुपमा चल्न थाल्यो । यसरी—
— तपाईँको शुभनाम ?
— मैले आफ्नो ‘नाम’ भनिदिएँ ।
तर ‘शुभ’ को संकेत दिने खालको विशेषता थिएन । त्यसैले मैले उसको अनुहार हेरेरै अनुमान लगाएँ । ऊ मेरो नामबाट त्यतिसारो प्रभावित भएको छैन ।
— के काम गर्नुहुन्छ ?
— मैले आफ्नो ‘काम’ भनिदिएँ ।
तर मेरो नाममा झैँ मेरो काममा पनि कुनै ‘शुभ’ तत्व समावेश थिएन । ऊ मेरो ‘काम’ बाट पनि त्यति खास प्रभावित भएन, मैले फेरि अड्कल लगाएँ ।
— घर कहाँ हो ?
— मैले आफ्नो ‘घर’ भनिदिएँ ।
अब भने मलाई कुराकानीको क्रम अलिक अस्वाभाविक लाग्न थाल्यो । म उसको अगाडि शाखा अधिकृतको इन्टरभ्यू दिन उपस्थित भएको हुँ कि भन्ने जस्तो खालले ऊ मलाई प्रश्न गर्दै थियो ।
खासमा म उसँग एउटा सिफारिस गराउन आएको हुँ । तर काम बन्ला जस्तो चाहिँ मलाई पटक्कै लागेको छैन । किनभने ऊ मबाट प्रभावित छैन । मेरो नाम अगाडि कुनै वरिष्ठता जनाउने पद गाँसिएको भए ऊ मबाट पक्कै पनि प्रभावित हुने थियो । तर मसित कुनै यस्तो मौकामा भजाउन सकिने खालको कुनै वरिष्ठता छैन । र मेरो ब्यक्तित्वमा उसले देख्ने खालको कुनै विशेषता पनि छैन ।
अहिले मसँग फगत एउटा नाम छ— ‘(फलानो) प्रसाद’ । अथवा फलानो राज । अथवा फलानो बहादुर ।
र फगत एउटा काम छ— ‘बेकाम’ ।
यद्यपि माथि भनेझैँ मेरो नाम (फलानो) प्रसाद वा फलानो बहादुर हो । तर म कसैको निम्ति ‘प्रसाद’ सकिन । बहादुर पनि बन्न सकिन । बरु मेरो नाम ‘(फलानो) भार’ वा ‘भारबहादुर’ भइदिएको भए बढी सार्थक हुन्थ्यो । यस्तो विचार मेरो मगजमा सयौँ पटक आइसकेको छ ।
अँ, अघि म के भन्दै थिएँ ? सायद सिफारिसको कुरा गर्दै थिएँ । अर्थात् म उसको अगाडि सिफारिस लिन आएको कुरा गर्दै थिएँ क्यारे । कस्तो सिफारिस, त्यो तपार्इँले बुझिसकेको हुनुपर्छ ।
— के कामले पाल्नु भयो ?
उसको यस वाक्यमा प्रयुक्त भद्रताले मलाई झण्डै मारिसकेको थियो । म यति भद्र हुन पुगेको थिएँ कि आफू ‘पाल्नुको’ उद्देश्य पनि झन्डै बिर्सिसकेको थिएँ । लाजले । तर मलाई लाजलाई पन्छ्याएर उसको अगाडि उदाङ्गिनु थियो।
र म उदाङ्गिएँ ।
00
आज जिन्दगीमा पहिलो पटक मलाइँ आफू सर्वाङ्ग नाङ्गो भएर बीच सडकमा उभिएको छु जस्तो लाग्यो ।
जब कुनै सुन्दरी सम्पूर्ण लाजहरु मिल्काएर कसैको अगाडि आमन्त्रणको मुद्रामा उभिन्छ । र आमन्त्रित व्यक्तिले उपेक्षासहित उसको आमन्त्रणलाई लत्याउँदा त्यो युवतीलाई पक्कै ग्लानी र पश्चातापयुक्त पीडा त हुन्छ नै । अहिले मेरो स्थिति पनि ठीक त्यस्तै भएको छ ।
म अब उसको कुनै कुरा सुन्न तयार थिइन । म उसको बैठकबाट जुरुक्क उठेँ । ऊ आफ्नो राजनीति सफल भएकोमा खुसी थियो ।
म उतिर हेर्दै नहेरी उसको बैठकबाट निस्किएँ । म बैठकबाट निस्कँदा मैले देखैँ राजनीतिज्ञको बैठकमा एउटा अर्को ‘(फलानो) प्रसाद’ अथवा फलानो बहादुरले प्रवेश ग¥यो ।
सायद त्यो पनि म जस्तै नाङ्गियो ।
(२)
बुबा स्वभावतः भन्दै हुनुहुन्थ्यो— ‘छोरो काम लाग्ने भएन ।’
र बुबाको भनाइमा स्वभावतः सबैबाट सहमति जनाइयो । कुराको केन्द्रबिन्दु जब ‘म’ हुन्छु, त्यतिखेर सबैबाट बुबाको भनाइमा यस्तो खालको सहमति जनाइन्छ । सर्वसम्मत रुपमा ।
म बुबा र सम्पूर्ण परिवारको दृष्टिमा, त्यतिखेर मात्र ‘काम लाग्ने’ देखिनेछु, जतिखेर हरिया नोटले सबैको आँखा ढाक्न सकुँ ।
00
घरबाट बाहिरिएर पान पसलमा आइपुग्नु मात्र के थियो, पान पसलेले ठुलै कुरा सोधे झैँ प्वाक्कै सोधिहाल्यो— ‘अचेल के गर्दै हुनुहुन्छ ?’
यतिखेर मैले आफूलाई निकै सस्तो अनुभव गरेँ । उसको प्रश्नको मसित कुनै ‘रेडिमेड’ उत्तर थिएन, त्यसैले मैले उसको प्रश्नको बडो अप्रासाङ्गिक उत्तर दिएँ— ‘यस्तै छ ।’
त्यसपछि उसले मसित कुनै अर्को प्रश्न सोध्नु आवश्यक ठानेन सायद ।
पान पसल मेरो निम्ति यस्तो ठाउँ हो, जहाँ म आफ्नो केही मूल्य अनुभव गर्छु । यहाँ कसैले कसैको वास्ता गर्दैनन् । त्यसैले पनि मलाई यो ठाउँ बढी सुविधाजनक र सुरक्षित लाग्छ । फुर्सदमा म यहाँ सधैँ उपस्थित रहन्छु । अर्थात् प्रायः म यहीँ नै हुन्छु ।
म यहाँ प्रायः बस्नुको एउटा कारण अर्को पनि छ । म यहाँ बसेर थुप्रै मीठामीठा कल्पनाहरु गर्न सक्छु । घरमा मैले यस्तो सुविधा कहाँ पाउनु ? मैले यहाँ बसेर गर्ने कल्पनाहरु मध्ये लगभग पन्चानब्बे प्रतिशत त अनैतिक र गैरकानूनी नै हुन्छन् । जस्तै —
— सडकमा हिँडिरहेकी कुनै युवतीलाई बलात्कार गर्ने,
— कसैको घरभित्र पसेर लुट्पाट गर्ने,
— कारहरुमा गुडिरहेका सम्भ्रान्तहरुलाई मार्ने अथवा निजहरुको कारको सिसा फुटाइदिने । अथवा, भित्र पसेर कारको सिट कभर च्यातिदिने जस्ता क्रान्तिकारी काम गर्ने आदि आदि ।
कहिलेकाहीँ म कल्पना गर्छु । मैले तपस्या गरेर दिनमा एक–दुई घण्टा नै भए पनि अदृश्य हुने वरदान पाऊँ । र अदृश्य भएको बेला तमाम सेठहरुका ‘सेफहरु’ रित्तो पारुँ । यस्तो भएको खण्डमा मैले बुबा आमाको सपना साकार पार्न सक्नेछु र ‘लायक छोरा’ को उपाधि प्राप्त गर्न सक्नेछु । त्यसपछि मेरो बुवाले स्वभावतः भन्नु हुनेछ–‘छोरो लायकको भयो ।’
र त्यसपछि स्वभावतः सबैले बुवाको भनाइमा सहमति जनाउने छन् ।
यस्ता कल्पनाहरु गर्दा मन एकछिन त खूब रमाउँछ । त्यसैले पनि मलाई पानपसलमा सधैँ आउन मन लाग्छ ।
(३)
— ‘यार ! जिन्दगी साह्रै बेमोजको भयो । झूर भयो ।’ मेरो एउटा साथी थियो । साह«ै मिल्ने । उसले अस्ति यस्तो पो भन्यो ।
मैले उसको भनाइलाई शतप्रतिशत समर्थन गरेँ । नगर्ने कुरो पनि थिएन । हामी दुवैको धारणा समान थियो ।
— ‘आत्महत्या गरुँ जस्तो पनि लाग्छ ।’ —उसले भन्यो ।
उसले यसोभन्दा मलाई डर लागने, किनभने आत्महत्यालाई उसले यसरी नै धेरैपटक वाक्यमा प्रयोग गरिसकेको थियो ।
तर अर्को दिन थाहा भयो, उसले त साँच्चिकै आत्महत्या गरेछ । अब भने मलाई साँच्चिकै डर लाग्न थाल्यो ।
(४)
एक बिहान प्रस्ताव पास भयो । घरमा । सर्वसम्मतले ।
मैले कमाउन सकिन, दाजुभाथि बोझ प¥यो र मैले अब छुट्टिनु पर्छ ।
छुट्टिँदा मलाई कुनै किसिमको पीडाको अनुभूति भएन । मेरो भागमा केवल भाँडाको रुपमा मात्र प्रयोग गर्न सकिने खालका कुराहरु परे । सबैले भने–‘यही हो सम्पत्ती ।’
मैले मेरो भागमा परेको सम्पत्तीलाई स्वीकार गरेँ ।
तत्पश्चात म एउटा टहरो जस्तो घरमा बस्न पुगेँ । हुने खानहरु यस्तो घरलाई ‘सर्वेन्ट क्वाटर’ भन्छन् ।
हिन्दी कहावत छ , भगवान् देता है तो छप्पर फाडकर देता है । मैले त्यसको नेपाली अनुवाद गरेँ । भगवानले दिन आँटे छानो च्यातेर दिन्छ । तर यो टहरो जस्तो घरमा भगवानलाई केही दिनुप¥यो भने छानो च्यात्नु पर्ने समस्या बेहोर्नु पर्ने छैन । किनभने आधा छानो त पहिलेदेखि नै च्यातिएर ह्वाङ्ग भएको छ ।
(५)
यदि तपार्इँले यो डायरी पढिरहनु भएको छ भने तपाईँलाई लाग्ला म संघर्षदेखि डराउँछु । अथवा आफ्नो आवश्यकता पूर्तिका दिशामा अनिवार्य किसिमले गर्नुपर्ने संघर्षहरुप्रति म उदासीन छु ।
तर तपाईँको धारणा एकदमै गलत र भ्रमपूर्ण छ । मैले कि लगभग संघर्षका हरेक उपायहरुको प्रयोग हुने खालले विभिन्न किसिमका संघर्षहरु गरिसकेको छु । त्यस्ता प्रयाशहरु मैले थुप्रै पटक त दोह¥याई पनि गरिसकेको छु ।
एउटा सानो नमूना यसै डारीमा कतै पहिले नै मैले उल्लेख गरिसकेको हुनुपर्छ । एउटा अर्को सानो उदाहरण तल प्रस्तुत छ ।
00
समय दिउँसोको दुई बजेको हुनुुपर्छ । तर भर्खरै योे शहरमा आएको कुनै विदेशी पर्यटकलाई साँझको सात बजेको छ भन्दा उसले अचम्म मान्ने छैन । मौसम यतिखेर यस्तै भएको छ । गुम्म र अँध्यारो ।
दिउँसै भएको यो नमिठो र पट्यारलाग्दो अँध्यारोलाई धेरै हदसम्म म आफ्नो जीवनसित पनि तुलना गर्न सक्छु ।
मेरो गन्तव्य लगभग आइपुग्नै लागेको छ । केही आशाहरु बोकेर हिँडिरहेको छु । साहित्यिक पाराले भन्ने हो भने आशाका लाशहरु बोकेर हिँडिरहेको छु । हिँडाईको यो क्रमलाई यही ढंगमा जारी राख्न सकेको खण्डमा पैदल हिँडाइमा विश्व कीर्तिमान कायम गर्ने बलियो सम्भावना हुनसक्छ ।
हिँडाइको मन्दतासँगै मेरो मुटुको ढुक्ढुकीको तीव्रतामा उल्लेखनीय ढंगले वृद्धि भएको छ । शायद गन्तव्य ठानिएको ठाउँसम्म आइपुग्दा मलाई जस्तै अरुलाई पनि यस्तै लाग्दो होला ।
गन्तव्य स्थलमा प्रवेश गर्नासाथ पछिल्तिरबाट मलाई कसैले सोध्यो— ‘तपाईँ पनि इन्टरभ्यू दिन आउनु भएको ?’
मैले पछिल्तिर फर्केर हेरेँ । प्रश्नकर्ता मेरालागि एकदमै अपरिचित थियो । सायद ऊ पनि भ्रम मै पर्यो र मलाई परिचित जस्तो ठान्यो । तर जब उसको भ्रम टुट्यो, उसले मेरो उत्तरलाई पर्खनेतर्फ कुनै रुचि प्रदर्शन गरेन ।
इन्टरभ्यू दिन कोठाभित्र पसेपछि मेरो दिमागमा निम्न खालका विचारहरुले लाम लागेर प्रवेश गरे–
— इन्टरभ्यू लिनेहरु चितुवा हुन् र अहिल्यै मलाई आक्रमण गर्नेछन् र घाइते बनाउने छन् ।
— यी अन्तर्वार्ताकारहरुले मेरो धूमधामसित खिल्ली उडाउने छन्,
— मलाई पूर्णरुपमा नङ्ग्याउने छन् ।
केही सजिला प्रश्नहरु पश्चात् एउटा एकदमै असजिलो प्रश्न सोधियो—
— ‘सिफारिश छ ?’
तपार्इँ नै भन्नुस् , म के जवाफ दिन सक्थे ?
00
इन्टरभ्यूमा पास हुनेहरुको नाम पत्रिकामा प्रकाशित भयो । ती नामहरु मध्ये कसैलाई पनि मैले आफ्नो नाम भन्न सक्ने कुनै संभावना थिएन ।
(६)
केही दिनदेखि मैले आफूलाई निकै असुरक्षित अनुभव गर्न थालेको छु । सडकमा हिँड्दा प्रत्येक मान्छे र प्रत्येक वस्तुहरुसँग डराउँछु । यस्तो स्थितिमा सःपरिवार सडकमा हिँड्नु प¥यो भने त मलाई झन् डर लाग्छ । लाग्छ, कोही व्यक्ति आएर मलाई कुनै बिजुलीको खाँबोमा बाँधिदिएर मेरी स्वास्नी र मेरी चार वर्षकी छोरीसित सामुहिक बलात्कार गर्नेछन् ।
यद्यपि चार वर्षकी बालिकासित बलात्कारको कल्पना आफैमा पनि एउटा रोगको परिचायक हो । तर यो शहरमा यस्तो हुनै सक्दैन भन्ने कसैले ग्यारेन्टी लिएको छैन । यो शहर पापीहरुको वस्ती हो । यसलाई पापी भन्ने मसित केही ठोस आधारहरु पनि छन् । त्यसमध्ये एउटा आधार हो शहरमा गल्ली पिच्छे भेटिने मन्दिरहरु । जहाँ पापीहरु बढी हुन्छन् , त्यहाँ मन्दिरहरु झन् बढी हुन्छन् ।
त्यसैले यो सहरमा हिँडनु पर्दा प्रायः म अँध्यारा गल्लीहरुको बाटो समात्छु । आफ्नो सुरक्षाको निम्ति मैले यो उपाय अपनाएको हुँ । र यो उपाय मलाई राम्रो पनि लागेको छ । अँध्यारा गल्लीहरुबाट हिँड्दा पसलहरु अगाडि सजाइएका शोकेशहरुसित डराउने स्थिति पनि आउँदैन ।
00
निकै थाकेको जस्तो गरेर ओछ्यानमा लडेँ । आज कोठामा म एक्लै छु । केही दिनको समस्याको समाधानको निम्ति स्वास्नीलाई माइत पठाइदिएको छु ।
कोठा यद्यपि सानो छ। । तर मलाई निल्न पर्याप्त छ । कोठामा एक धर्को प्रकाश मात्र छिर्न सक्ने झ्याल छ । यही झ्यालबाट बाहिर चिहाएर हेरेमा एउटा रुख देखिन्छ । रुख धेरै बूढो भइसकेको छ । तर पनि यो रुख तपस्यामा लीन ऋषि झैँ अझै उभिइनै रहेको छ । रुखका जराहरु टाढा टाढासम्म फैलिएका छन् । र त्यसका जराहरुको विस्तारले त्यो रुख अझै थुप्रै वर्ष अस्तित्वमा रहने कुराको सुस्पष्ट संकेत दिइरहेछ ।
बेला बेलामा यो बूढो रुखले पनि मलाई गिज्याए जस्तो लाग्छ ।
कोठा अति अँध्यारो छ । कोठामा भिन्न भिन्न समयमा आएका दुई परिचित व्यक्तिलाई पनि एक अर्कासित परिचय लिनु पर्ने स्थिति आउँछ । यद्यपि कोठामा व्याप्त अँध्यारोको फलस्वरुप कोठाको आक्रमणदेखि मैले आफूलाई सुरक्षित ठानेको छु । तर खापा नभएको झ्यालबाट देखिने बूढो रुखको आक्रामक स्थितिबाट जोगिन मलाई आँखा चिम्लन बाध्य हुनु पर्छ, बेलाबेलामा ।
आँखा चिम्लिएपछि देखिने अँध्यारो मलाई सबभन्दा बढी मन पर्छ । यस्तो अँध्यारोमा केही कल्पनाहरु गर्नुपर्दा, कस्तो कल्पना गरिन्छ, त्यो त तपार्इँलाई पनि थाहा हुनुपर्छ । अर्थात् तपाईँ यदि म जस्तै हुनुहुन्छ भने भावी संघर्षहरुको रुपरेखा बनाउनु हुनेछ । त्यसपछि केही क्षण त्यसको चिन्तनमनन गर्नु हुनेछ । केही बेरको चिन्तनमननपछि केही अत्यावश्यक संशोधन सहित यो रुप–रेखालाई कार्यरुपमा परिणत गर्ने निधो गर्नुहुनेछ ।
तर म जस्तो किरिया पनि खान तयार छु , मैले त्यस्तो केही कल्पना गरेको छैन । यदि केही कल्पना गरेको छु भने स्मरण रहोस् ती मेरा पूर्व कल्पनाझैँ अनैतिक र गैरकानूनी छन् ।
00
अब कल्पनाको दिशा केही मोडिएको छ । अब म पान पसलबाट देखिने सामन्ती टाइपको घरको कल्पना गर्दैछु । त्यो घरको ठूलो झ्यालबाट एउटी युवती सधैँ मतिर हेरिरहन्छे । त्यो केटीले मलाई नहेरेर पान पसलेलाई पनि हेरिरहेकी हुनसक्छे । किनकि पान पसले पनि धेरै पटक त्यता हेर्ने गर्छ ।
युवती राम्री छ । उसका भित्री अंगहरु झन् राम्रा होलान्— म कल्पन्छु । अहिले मेरो मस्तिष्कमा थुप्रै ब्लू फिल्मका सजिव चित्रहरु फन्फनी घुम्न थालेका छन् ।
मेरो अस्वस्थ कल्पनाको क्रममा त्यतिखेर मात्र केही शिथिलता आयो, जब मैले कोठाको एउटा कुनामा गएर अप्राकृतिक कार्य गरेँ । र शिथिल भएँ ।
00
छुट्टिँदा एउटा टेबुल घडी पाएको थिएँ । टेबुलको अभावमा त्यसलाई मैले आफ्नो खाट मुन्तिर राखिदिएको छु । अहिले त्यो घडी आफ्नो सम्पूर्ण शक्ति मिलाएर टिक्टिक् टिक्टिक् गरिरहेछ । मलाई यो घडीको स्वर सुनेर बडो नमज्जा लाग्छ । अझ भनुँ, डर पनि लाग्छ ।
कोठामा सबै चीज शान्त हुँदा, घडीको टिक्टिक् साइलेन्सर बिग्रिएको मोटरसाइकल बीच सडकमा कराउँदै गुडेको जस्तो लाग्न थालेको छ मलाई ।
मलाई एकपटक लाग्यो, घडीको यो तीव्र गतिले मेरो जिन्दगीको स्थिरतालाई कडा व्यङ्ग्य गरिरहेछ । त्यसपछि मलाई धेरै पटक त्यस्तै लाग्न थाल्यो ।
No comments:
Post a Comment