स्मृतिका जुलुसहरू
(कान्तिपुर दैनिकमा प्रकाशित)
नयनराज पाण्डे
कुशल कवि हुन् बुद्धिसागर । उनले अखबारी लेखनमा पनि आफ्नो सशक्त उपस्थिति जनाइसकेका छन् । अहिले उनी उपन्यासकारको रुपमा देखापरेका छन्, तीनसय चौहत्तर पृष्ठको आयतनमा फैलिएको र आकर्षक सज्जासहितको कर्नाली ब्लूज उपन्यास लिएर ।
नेपाली साहित्यमा सुदूर पश्चिमका पात्र, चरित्र र परिवेशहरु निकै कम मात्रामा उद्घाटित भएका छन् । कर्नाली ब्लूजले त्यो अभावलाई केही हदसम्म पूरा गर्नेछ । यो उपन्याससंगै नेपाली साहित्यमा केही नयाँ पात्रहरु, केही नयाँ चरित्रहरु र केही नयाँ परिवेशहरु सशक्त भाषाशैली र रोचक औपन्यासिक शिल्पका साथ भित्रिएका छन् ।
बुद्धिसागर नेपाली उपन्यास संसारमा दरिलो हस्तक्षेपका साथ विश्वासयोग्य श्रष्टा भएर उपस्थित हुन भैसकेका छन् । यससँगै उनले धेरै उपन्यासकारलाई पाखा लगाउने खतरा उच्च गतिमा बढेर गएको छ । उनको आगमनले आत्मरतिमा रमाइरहेका र नेपाली उपन्यासमा “साम्राज्य“ चलाइरहेका धेरै मठाधीशहरुलाई गजपले झस्काइदिएको छ ।
उपन्यासको पछिल्लो कभरमै लेखिएको छ— ‘यो उपन्यास छोराको आँखाबाट पिताको संघर्ष देखाउने उपन्यास हो ।’ यो एउटा वाक्यले नै समग्र उपन्यासको स्वरुप, यसले बोक्ने कथानक र यसको आन्तरिक विस्तारतर्फ संकेत गर्दछ । यसमा आफ्नो पितालाई संसारको सबैभन्दा असल पिता ठान्ने छोरा (वृषबहादुर) छ, आफ्ना मनोभावहरुलाई कहिले खुलस्त नभन्ने र सधैं बन्द खामजस्तो देखापर्ने तर आफ्नो घरपरिवारलाई आफ्नो गच्छे अनुसार सुखि र खुसि राख्न प्रयत्नशील पिता (हर्षबहादुर) छन् र पतिको संघर्ष अनि छोराछोरीका चाहनाबीच सधैं तालमेल मिलाउन खोजिरहने आमा छिन् । यिनै तीन पात्रको सेरोफेरोमा कुदिरहन्छ यो उपन्यास । उपन्यासकार मार्फत आफूले जिम्मा पाएको चरित्रलाई यी तीन पात्रले सफलतापूर्वक निर्वाह गरेका छन् । त्यसैले उपन्यासमा यी पात्रहरु जीवन्त बनेर आएका छन् र पाठकको मनमा यिनीहरु लामो कालखण्डसम्म जीवित रहनेछन् ।
उपन्यासमा भारी भरकम कथानक छैन । मगज खल्बल्याउने बोझिल र दार्शनिक विषयवस्तु पनि छैन । न यसले कुनै दर्शन वा वादको वकालत गर्छ । उपन्यासमा कुनै संगठित कथा पनि छैन । वास्तवमा यो छरिएका कथाहरुको उपन्यास हो । त्यसैले यसमा समाजको वृहत्तर फलकलाई देखाइएको छैन । तर यी सबै कुराहरु उपन्यासकारले नजानेर हैन, जानाजान गरेका हुन् । किनभने उनले सानो विषय, साना चरित्र, सानो परिवेश र सानो संसारमार्फत् पाठकसित केही अत्यन्त भावनात्मक कुराकानी गर्न खोजेका छन् । त्यसैले यो उपन्यास लेखक र पाठकबीचको आत्मीय भेटघाट जस्तो लाग्दछ ।
उपन्यासमा एउटा बालक, ऊ हुर्केको घरपरिवार, घरपरिवारले बेहोरिरहेका दैनिक समस्या, समस्याहरुका बीचमा कायम रहिरहेका आत्मीय सम्बन्धका विभिन्न आयामहरु अभिब्यक्त भएका छन् । यससंगै जोडिएर आएको छ, बालकले आफ्नो वरिपरि देखेको समाज र त्यस समाजले भोगिरहेका साश्वत दुःखहरु । अनि त्यहीँ कतै टाढाबाट मधुरोमधुरो भएर देखापर्छ वृषबहादुरले कथा भनिरहेको समयको नेपालको राजनैतिक, आर्थिक र सामाजिक परिदृश्यहरु ।
हर्षबहादुर हामीले देखिरहेकै बाउ हुन् । कतिपय सन्दर्भहरुमा हर्षबहादुरमा हामीले आफ्नै पिताको अनुहार देख्न सक्छौँ । कतिपटक वृषबहादुरमा हामी आफै छर्लंग देखिन्छौं । त्यसैले यो उपन्यास पढ्नु सुन्दर ढंगले नक्कासी गरिएको ऐना हेर्नु जस्तै हो, जसमा हामी निरन्तर देख्न सक्छौं आफ्नो र आफ्ना सबैभन्दा नजिकका आत्मीयजनका अनुहारहरु । कहिले एकदमै स्पष्ट, कैले धमिलो ।
आत्मपरक र संस्मरणात्मक शैलीमा लेखिएको यस उपन्यासले हाम्रा सामु सुदूर तराईको मटेरा गाउँ, अनि त्यस नजिकैको कटासे बजार र त्यसपछि विकट कालिकोटको दृश्यात्मक छवि निर्माण गर्छ । अझ कतिपय सन्दर्भमा त त्यो छवि विस्तारित भएर परिदृश्यात्मक अर्थात प्यानोरामिक नै भैदिन्छ । आँखाको आयतनभन्दा पनि फराकिलो । उपन्यासका कतिपय प्रसंगमा संस्मरण र सिर्जनाबीचको सीमारेखा मेटिएकोजस्तो आभाष भैरहन्छ । उपन्यासको पहिलो पानादेखि नै शुरु भएको स्मृतिको जुलुसमा पाठक आफै पनि सामेल भैसकेको हुन्छ । ऊ आफैले आफ्नो संस्मरण पढेको भ्रममा अलमलिइसकेको हुन्छ । यसलाई उपन्यासकारको लेखनीको उल्लेखनीय पक्ष मान्नु पर्दछ ।
यो उपन्यासमा यस्ता धेरै कुराहरु छन्, जुन पूर्ववर्ती नेपाली उपन्यासमा एकदमै कममात्रामा भेटिन्छन् । यो उपन्यासमा साना र अत्यन्त महत्वहीन लाग्ने प्रसंगहरुलाई आफ्नो सशक्त भाषा, शैली र शिल्पका माध्यमबाट उपन्यासकारले उल्लेखनीय बनाइदिएका छन् । पाठकका सामु ती प्रसंगहरु स्मृतिहरुको रंगीचंगी जुलुस भएर आउंछन् र मनमा एक खालको मीठो प्रभाव छाडेर जान्छन् । यसरी उपन्यासकारले एउटा निम्न मध्यमवर्गीय परिवारको अत्यन्त साधारण जीवनशैलीलाई पुजनीय बनाइदिएका छन् ।
यो उपन्यासलाई विशिष्ट भनेर लेखकलाई फुक्र्याइहाल्नु कतिपय अर्थमा असंगत पनि हुनसक्छ । यो उपन्यासका पनि केही समस्याहरु छन् । ती समस्याहरुतिर उपन्यासकारको ध्यान आकृष्ट गरिदिनु उपयुक्त हुनेछ ।
उपन्यासका धेरै पृष्ठहरु पढिसक्दासम्म पनि यसको शीर्षक किन कर्नाली ब्लूज राखियो भनेर आम पाठकको मनमा खट्किन सक्छ । किनभने आजका मितिमा कर्नाली आफैमा एउटा प्रतीक भैसकेको छ । अभाव, भोकमरी र राज्य संयन्त्रको उपेक्षाको प्रतीक । तर यो उपन्यासमा कर्नालीको त्यो रुप मुखररुपमा प्रस्तुत हुन सकेको छैन । यदि कर्नाली नदी र यसको विशालताको अनुभूतिको आधारमा शीर्षक निर्माण गरिएको हो भने पनि यो आशय युक्तिसंगत ढंगले प्रकट हुनसकेको छैन । त्यसैले े शीर्षकले उपन्यासको विषयवस्तुलाई बहन गर्न नसकेको हो कि जस्तो लागिरहन्छ । तथापि उपन्यासका नयाँ र युवा पाठकलाई भने यो शीर्षकले आकर्षित गर्दछ ।
उपन्यासमा उपमा र बिम्बहरुको आवश्यकता भन्दा बढी प्रयोग भएको छ । यसले पाठकको कल्पनाशीलतालाई कमजोर बनाइदिन सक्छ । कतिपय ठाउँमा यस्तो क्षण पनि आइपुग्दछ, जुन क्षणमा पाठक पूर्णरुपमा लेखकले दिएका बिम्ब र उपमाहरुमाथि निर्भर भैदिन थाल्छ र उसले आफ्नो कल्पनाशीलताको प्रयोग गरेर चरित्रसित एकाकार हुन अल्छी गर्न थाल्छ । पाठकको कल्पनाशीलतामा भएको यो हस्तक्षेपकै कारण उपन्यासको अन्तसम्म आइपुग्दा अधिकांश पुर्ववर्ति चरित्रहरुलाई जरीलाल र मन्दिरेका चरित्रले खर्लप्प ओझेलमा पारिदिन्छन् । बाटु र ममता दिदी त फेरि पनि सम्झनामा रहन्छन् तर शर्मिला, पार्वती, छोट्कु, चन्दे्र, भागीराम र एकराजजस्ता चरित्रहरु अन्यायमा परेका छन् । तर कतिपय ठाउँमा उपमाहरुको चामत्कारिक प्रयोग पनि भएको छ । तिनले उपन्यासकारको कल्पनाशीलताको गजपको बान्की पनि दिन्छन् । एउटा सानो उदाहरण । वृषबहादुरले कर्नाली नदीलाई देखेपछि भन्छ—
‘कति फराकिलो हो कर्नाली ? आँखाभित्र अटाउँदैनथ्यो । आँखाका डिलडिलबाट फुत्केर टाढा–टाढासम्म भाग्थ्यो ।’
उपन्यासकारले वृषबहादुरको मनोदशालाई मात्र प्राथमिकता दिएर अरु चरित्रको मनोदशालाई अझ प्रभावकारी ढंगले उजागर गर्न खासै जाँगर नचलाएको पो हो कि जस्तो पनि लागिरहन्छ । त्यसबाहेक परिवेशको चित्रणका क्रममा कतैकतै त अत्यधिक मात्रामा विवरणहरु थुपारिएका छन् । विवरणहरुको थुप्रोमा सहायक पात्रहरुको मनोदशा स्वाभाविकरुपमा स्पष्ट हुन सकेका छैनन् । विवरणको अत्यधिक प्रयोगले धेरै ठाउँमा कथानकको प्रवाहमा पनि वाधा उत्पन्न गरेजस्तो पनि लाग्छ । अस्पतालका प्रसंगहरुमा यस्तो समस्या देखिएको छ ।
उपन्यासको अर्को कमजोर पक्ष हो, अनियोजित पृष्ठ—विन्यास । उपन्यास धेरै समयसम्म कटासेकै परिवेशमा अल्झिरहन्छ । कटासेका प्रसंगहरुमा उपन्यासकारले आवश्यकता भन्दाबढी पाना खर्च गरेका छन् । त्यतिबेला उपन्यासका पानाहरु त पल्टिरहन्छन् तर कथानक जहाँको तहीँ अल्झिएको छ । त्यसबाहेक अघिल्ला परिच्छेदहरुमा बढी पृष्ठ सकिएकाले उपन्यासकारले कालिकोट पुगेर हतारमा कथानकलाई विश्राम दिन खोजेको जस्तो लाग्छ ।
उपन्यासका तीन मुख्य पात्र आमा, छोरा र बाबुको चरित्रमा कुनै खास उतारचढाव देखिँदैन । उनीहरुको संघर्ष र समस्याको लगभग एउटै स्वरुप पटकपटक आइरहन्छ । चरित्रका अरु आयामहरु खुल्न नसकेर यी पात्रहरु एकांगी भएका छन् ।
उपन्यासको सबैभन्दा सबल पक्ष यसमा प्रयुक्त भाषा हो । माथि भनेझै बिम्ब र उपमाहरुको बढी प्रयोगले केही ठाउँमा अल्झाउने गरे पनि समग्रमा उपन्यासको भाषा अत्यन्त काब्यात्मक छ । तर उपन्यासका उत्तरार्धतिरका परिच्छेदहरुका तुलनामा अघिल्ला परिच्छेदहरुको भाषा तुलनात्मकरुपमा कम परिस्कृत देखिन्छ । सरल भाषामा जीवनका जटिल कुराहरु अभिब्यक्त गर्न ठूलै कसरत गर्नुपर्ने हुन्छ । तर कर्नाली ब्लूजका उपन्यासकारले आफूसित भएको शब्द र भाषाको असीमित भण्डारकोे भरपुर उपयोग गरेका छन् । तर भाषा सम्पादनको काम अलिक हतारमा भएको जस्तो लाग्छ । आम पाठकले मतलब नराख्ने खालका व्याकरणीय त्रुटी निकै ठाउँमा भेटिन्छन् । केही प्रसंगहरुमा प्रयोग भएका थारु भाषाका संवादहरु वोधगम्य हुनसकेका छैनन् । गालीहरु प्रशस्त छन् । चरित्र र परिवेश अनुसार ती गालीहरु स्वाभाविक लागेपनि तिनको प्रयोग आवश्यकता भन्दा बढी भएको छ । यति हुँदाहुँदै पनि बुद्धिसागरको भाषिक सामथ्र्यलाई सलाम गर्नै पर्दछ ।
पहिलो उपन्यासमै यो हदको सशक्त लेखनीले बुद्धिसागरको अबको औपन्यासिकयात्रा अझ उर्वर हुनेछ भन्ने संकेत गर्दछ । सशक्त भाषा, शिल्प, शैली र प्रस्तुतिले उपन्यास पठनीय बनेको छ । उपन्यासमा केही दर्जन पृष्ठ कम गरेर यसलाई अझै छरितो बनाउन सकिन्थ्योे । तर पनि कथावाचनको रोचक शैलीले उपन्यासलाई अन्तसम्म पट्यारलाग्दो बन्न दिएको छैन ।
No comments:
Post a Comment