Monday, January 16, 2012

मेरा उपन्यासका कुरा



मेरा उपन्यासका कुरा
(२०६८ पुष ३० शनिवार ‘नागरिक दैनिक’को “अक्षर”मा ‘उपन्यास उल्झन’शीर्षकमा प्रकाशित)
नयनराज पाण्डे

साल २०४३। स्थानीय निवार्चनको मौसम। त्यसैताक मैले लेखेँ पहिलो उपन्यास। शीर्षक राखेँ 'नांगो मान्छेको डायरी'। उपन्यास पनि डायरी शैलीमा थियो र डायरीमै लेखिएको थियो। डायरीको रंग अहिले पनि याद छ- हरियो। मोटो हैन पातलो डायरी। साइज पनि सानो। लगभग छसात इन्चीको। त्यही डायरीको पचास/पचपन्न पृष्ठमा अटाएको थियो मेरो त्यो उपन्यास। अर्थात उपन्यासिका। 
लेखिभ्याएको भोलिपल्टै मेरो क्षेत्रका चर्चित साहित्यकार सनत रेग्मी र नन्दराम लम्साललाई पढ्न दिएँ। तेस्रो दिन नै सनत रेग्मीले 'छाप्न योग्य छ' भनेपछि म भुइँमा न भाँडोमा भैहालेँ नि। नन्दराम लम्सालले पनि प्रशंसा गर्नुभयो र उपन्यासमा सानो संशोधन पनि गरिदिनुभयो। एउटा शब्द हटाएर दुइटा शब्द नयाँ थपिदिनुभयो- 'खन्ती खलास'। खलास त बुझेँ। 'खलास' अघि 'खन्ती' जोडिएको कमसेकम मैलेचाहिँ सुनेको छैन। मेरो अल्पज्ञान। आज पनि कैलेकाहीँ उपन्यासको त्यो शब्दमा पुग्दा म एकछिन अलमलिन्छु र त्यही अलमलको स्थितिमा मलाई हाल बेपत्तै हुनुभएका आदरणीय लेखक नन्दराम लम्सालको मुहार झल्झली याद आउँछ। जे होस्, उहाँलाई सम्झने राम्रो बहाना भएको छ त्यो शब्द।
उपन्यास त लेखियो तर छाप्ने कसरी? लगानी कसले गर्ने? पिताजीसित पैसो माग्ने आँट थिएन। किनभने त्यसै साल नै साहित्यिक पत्रिका निकाल्ने भनेर दुईतीन हजारको चुना लगाइदिसकेको थिएँ मैले। एकडेढ वर्षअघि मामाघर काठमान्डु आएका बेला साहित्यकार गोविन्द गिरी प्रेरणासित मेरो परिचय भैसकेको थियो। उहाँ नेपालगन्ज पनि आएपछि परिचय झन् गाढा भयो। त्यो परिचय काम लाग्यो। उहाँले तिनताक 'अनुभव प्रकाशन'को नाममा केही किताब निकालिसक्नुभएको थियो। मेरो उपन्यास पनि सोही प्रकाशनबाटै छापिने भयो। पार्टनरसिपमा। आधा पैसा मैले हाल्ने, आधा अनुभव प्रकाशनले। एक हजारप्रति किताब छाप्ने र आधाआधा बाँड्ने। अनि आआफ्नो हिसाबले किताब बेचेर आआफ्नो लगानी असुलउपर गर्ने। खर्च लाग्ने भयो दुई हजार नेट। मेरो भागमा पर्‍यो एक हजार। तर एक हजार कहाँबाट ल्याउने मैले?
संयोगले एक हजार ठ्याक्कै मेरो हातमा पर्ने भयो। त्यो पैसा मलाई नेपालगन्ज नगर पञ्चायतका तत्कालीन कार्यवाहक प्रधानपञ्चजीले नगरपञ्चायतकै कोषबाट दिने भए। सर्त थियो, आसन्न नगर पञ्चायतको चुनावमा प्रधानपञ्चका प्रत्यासी भएर उठ्ने तयारीमा लागेका उनको तर्फबाट प्रचार गरिदिने। 'नखाऊँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाउको अनुहार'जस्तो भैगयो मलाई। किनभने त्यतिबेलासम्म म नेपाल विद्यार्थी संघको साधारणै भए पनि कार्यकर्ता त भैसकेको थिएँ। तर मेरो मनमा बैमानी घुस्यो। मैले 'हुन्छ' भनिदिएँ। नगरपालिकाको कोषबाट एक हजार पाएँ। त्यही एक हजार मैले अनुभव प्रकाशनलाई पठाइदिएँ।
पैसा त लिइहालियो। तर चुनाव प्रचार गर्न कसरी जाने? किनभने त्यो निर्वाचनमा नेपाली कांग्रेसले पनि भाग लिएको थियो। अन्ततः प्रधानपञ्चका ती राजावादी प्रत्यासीले चुनावको दिन मलाई मतदान केन्द्रमा देखेर अमिलो मुख पारे। किनभने मतदान केन्द्रमा नेपाली कांग्रेसको उम्मेदवारको तर्फबाट मेरो घरनिरको बुथमा खटिएको थिएँ म। मैले त उनीतिर राम्ररी हेर्दा पनि हेरिनँ। बेइमानीको बोझले मेरो शिर घुँडाघुँडासम्म झुकेको थियो।
उपन्यास निस्कियो, २०४४ साला। म त्यतिन्जेल बिएल पढ्न काठमाडौं आइसकेको थिएँ। ल क्याम्पसमा उपन्यासको सानदार विमोचन भयो, युगकवि सिद्धिचरण श्रेष्ठको हातबाट। प्रमुख वक्ता हुनुहुन्थ्यो कृृष्णचन्द्रसिंह प्रधान र मदनमणि दीक्षित। विमोचन कार्यक्रममा त्यतिबेलाका जल्दाबल्दा थुप्रै साहित्यकारको उपस्थिति थियो। उद्घोषक हुनुहुन्थ्यो, कथाकार सीता पाण्डे। गजबले प्रशंसा सुनियो। मख्ख परियो। बेलुनझैं आकासमा उड्न थालेँ। ठूलो साहित्यकार भएँ भन्ने मन्दमन्द खाले भ्रमज्वरोले ग्रसित भएँ।
विमोचनको एकदुई दिनपछि मैले आफ्नो डेरामा दारु भोज गरेँ। धु्रवचन्द्र गौतम, धु्रव सापकोटा, मदनमणि दीक्षित, नगेन्द्र शर्मा, नकुल सिलवाल, शैलेन्द्र साकार आदिलाई निम्तो दिएँ। भोज सम्पन भयो। भोलिपल्ट प्रायः सबैद्वारा 'आफू कसरी घरसम्म आइपुगेँ' भनेर एकअर्कासँग सोधपुछ गरिएको कुरो सुन्नमा आयो। 'अभिव्यक्ति'को 'जमघटहरूबाट' भन्ने स्तम्भमा पूरा दुई पेज त्यो रातको मातको चर्चामा सकिएको थियो।
उपन्यास त जसोतसो निस्कियो। तर वितरणको विकराल समस्या मुर्कट्टा भुत भएर मेरा अगाडि ठिंग उभियो। केही उपयोगी उपाय ननिस्केपछि आफंैले झोला बोकेँ र न्युरोड पिपलबोट, डिल्लीबजार, चाबहिल, बानेश्वरका पसलपसलमा चहारेर प्रत्येक पसलमा पाँचदस प्रति उपन्यास वितरण गर्दै हिँडेँ। आफ्नो भागमा परेको 'नांगो मान्छेको डायरी'को पाँचसय प्रति गोविन्द गिरी प्रेरणाले कसरी सक्नुभयो, थाहा भएन। मलाई भने पाँचसय प्रति सिध्याउन हम्मेहम्मे भयो। बिक्रीका लागि दिएको ठाउँमध्ये चाबहिलको एउटा पसलबाट मात्र पाँच प्रतिको पैसा पाइयो। अरू ठाउँबाट कौडी पनि आएन। पिपलबोटको एउटा पसलेसित झगडै पर्‍यो र पसलेसित मेरो आजीवन बोलचालै बन्द भयो। परार साल चाबेल, मैजुबहालमा एकजना मामाकहाँ गएको। उहाँको घरमा त्यो उपन्यासको करिब सयजति प्रति आधा कुहिएको अवस्थामा फेला पर्‍यो। आफूसँग एकप्रति पनि नरहेको त्यो उपन्यासको त्यतिका प्रति पाउँदा मन प्रफुल्ल हुनुपर्ने नि। के हुन्थ्यो, आफैंसित लाज लागेर आयो र बोक्न सक्नेजति लिएर आएँ। केहीप्रति अझै त्यहीँ मामाघरमै होलान्। अबचाहिँ लिन जान्नँ। 
...
त्यतिबेला आफ्नो हिसाबले चर्चा नै पाएको थियो भन्नुपर्छ त्यो उपन्यासिकाले। पत्रपत्रिकामा सकारात्मक समीक्षा आएका थिए। उतिबेलै छुच्चो समीक्षक भनेर चर्चामा आइसक्नुभएका हरि अधिकारीले पनि उतिसारो आलोचना गर्नु भएन। तर त्यो उपन्यासबाट मैले रोयल्टी पाउनु त परै जाओस्, लगानीको दसांश पनि फिर्ता पाउन सकिनँ। तर एकदिन चिट्ठा पर्‍यो। मेरी सानिमा शान्ति कुँवरले सिफारिस गरिदिएपछि जनकपुर चुरोट कारखानाका तत्कालीन महाप्रबन्धकले एकैपटक सयप्रति खरिद गरिदिने तोक लगाइदिनुभयो। रू.१० मूल्यको उपन्यासबाट एकै झट्कामा एक हजार आयो। सानो खालको मदन पुरस्कार पाएजस्तै भयो मलाई। मैले आफैंले सय थान किताब नयाँ बानेश्वरस्थित जचुकालीको गोदाममा पुर्‍याइदिएँ। धु्रवचन्द्र गौतम लगायत थुप्रै महान लेखकको कृति पनि त्यही गोदाममा चाङका चाङ रहेछ। केही कुहिसकेका थिए र केही कुहिने स्थितिमा। कुहिएका किताबको दिक्कलाग्दो गन्धले गोदाम व्याप्त थियो। मैले धु्रवदाइको किताबछेउ आफ्नो उपन्यास थपक्क राखिदिएँ। मेरो उपन्यास पनि धु्रवदाइको हाराहारीमै उभिएको छ भन्ने अनावश्यक आत्मगौरवले मुग्ध भएँ।
तर यतिन्जेल म उपन्यासकारमा दरिइसकेको थिएँ। रातारात अर्को घाघडान प्रयोगवादी उपन्यास लेखिहालेँ नि। 'विक्रमादित्य एउटा कथा सुन।' संवाद पनि नभएको, नायक र नायिका पनि नभएको। पात्रहरूका नाम विश्वका कुनै भाषासित नमिल्ने। कथानकको कुनै क्रम नभएको। मलाई त्यतिबेला लागेको थियो, मजति प्रयोगवादी को छ विश्वमा? यही तालले मैले प्रयोग गर्दै जाने हो भने धु्रवचन्द्र गौतमलाई त डेफिनेट मात दिन्छु, एकदुई सालमा मदन पुरस्कार र त्यसपछि नोबेल पुरस्कार पाइहाल्छु। तिनताक मैले जोसैजोसमा नेपालगन्ज बस्ने आमालाई चिठी नै लेखेँ, 'आमा, नआत्तिनुस्। तपाईंको छोरोले चाँडै काठमाडौंमा घर बनाउँछ र कार पनि किन्छ।'
एउटा पुरानो भक्स ब्यागनमा मेरो आँखा गाडिइसकेको थियो। त्यतिखेर साथीहरू भन्थे, त्यो त अस्सीनब्बे हजारमा पाइन्छ। आमाले अहिले पनि कहिलेकाहीँ मेरो त्यो चिठीको कुरा गर्नुहुन्छ। म कसरी भनुँ आफ्नी बुढी आमालाई, 'बिन्ती, भो अब त्यो कुरै नगरिदिनुस्।'
दोस्रो उपन्यासलाई चलाखी गरेर छापेँ। 'रूपरेखा' पत्रिकाका करिब अठार वटा ब्याक इस्युहरू निकाल्नुपर्ने थियो। आफैं सम्पादक भएको थिएँ, पत्रिकाको दुई या तीन अंकमा क्रमशः गरेर छापेँ त्यो उपन्यास। करिब सात सय प्रतिमा मदन चित्रकारद्वारा डिजाइन गरेको कभर हालेर किताबको रूप दिइयो। तर त्यो किताब पनि बिक्री भएको र मैले पसलेहरूबाट पैसा पाएको हालसम्म सम्झना छैन। धेरैजसो प्रति बाँडेरै सकियो। करिब दुई सय प्रति यटखास्थित प्रेसमै थन्किएको थियो। प्रेस साहु राजदाइको पैसा तिर्न नसकेकाले लाज लागेर प्रेस जानै छाडिदिएँ। त्यो दुई सय प्रति पनि त्यहीँ कुहियो त होला नि।
त्यसपछि मैले कसम खाएँ- आफैं पैसा हालेर त मरिगए किताब छाप्दिनँ। कसममा अडिग भएँ। बरु उपन्यासै लेखिनँ। अंगुर अमिलो छ भन्ने पाराले मैले पनि सिद्धान्त बनाएँ, छापिएर मात्र महान लेखक भइँदैन। मदन र नोबेल पुरस्कारको धङधङी पनि यतिन्जेल स्वाहा भैसकेको थियो।
त्यसपछि केही वर्षसम्म टुक्रे कथा लेखेर बसिरहेँ। एकदिन ज्ञानुवाकर पौडेलले प्रस्ताव गर्नुभयो। 'साझाबाट किताब छाप्ने हो?' मैले नाइँ भन्ने कुरै थिएन। उहाँले सर्त तेर्स्याउनुभयो, 'एक महिनाभित्र दिनुपर्छ। कथासथा हैन, उपन्यास।' मैले एक महिनाभित्र आफ्नो हिसाबको अर्को घाघडान उपन्यास लेखेँ, 'अतिरिक्त'। नपुंसक पात्रबारे, जो सेक्स चेन्ज गरेर केटी बन्छ र आफ्नै दाजुबाट बलात्कृत हुन्छ। ५० सालमा त्यो उपन्यास साझा प्रकाशनबाट छापियो। अहिलेचाहिँ त्यो उपन्यास नलेखेकै भए हुन्थ्यो भन्ने लाग्छ। ५० सालमा निस्केको त्यो उपन्यास अझै साझाका गोदाममा छन् र कुहिने क्रममा छन्। 
चौथो उपन्यास 'उलार'को पनि त्यही ताल। ५३ मा लेखियो। तन्नेरी पत्रिकाले छाप्ने भयो। पत्रिकामा छापियो पनि। तर श्यामलको भूमिकासहित किताब निकाल्ने क्रममा भूमिका पनि हरायो र उपन्यासको प्लेट पनि। 'उलार' छाप्ने मोह नै हरायो। दुई वर्षपछि कताकताबाट हातमा पैसा पर्‍यो र जाँगर पनि पलायो। त्यसपछि करिब तेह्र हजार लगानी गरेर, तन्नेरी प्रकाशनको नाम राखेर निकालियो उपन्यास। पढ्नेजतिले प्रशंसा गरे। त्यो उपन्यास पनि आफैंले पसलपसलमा गएर बिक्रीका लागि दिएँ। पाँचसात सय उठ्यो होला।
तीनचार वर्षपछि तन्नेरीका सम्पादक विदुर गौतमले तत्कालीन नगरपालिकाकाका प्रधान अधिकृत साहित्यकार शिवभक्त शर्मालाई सिफारिस गरिदिएकाले पाँच हजारजतिको 'उलार' एकमुष्ठ काठमाडांै नगरपालिकालाई बिक्री गरियो। मलाई विश्वास छ, खोजिपसियो भने 'उलार'का ती प्रति अझै पनि नगरपालिकाको गोदाममा कतै भेटिनेछन्, कुहिएको अवस्थामा। यसरी मेरा लगातार चार वटा उपन्यासले कुहिने नियति भोगिसकेका छन्। ती उपन्यास पाठकको हातमा कम, चिसो गोदाममा बढी पुगे।
यसैबीच एउटा कथासंग्रहको पाण्डुलिपि तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई बुझाएको थिएँ। स्वीकृत भयो। करिब दुई अढाई वर्षसम्म निस्कने कुनै सुरसार भएन। त्यसपछि एकेडेमीमा आदरणीय धु्रवचन्द्र गौतम दाइ सदस्यसचिव भएर आउनुभयो। म ढुक्क भएँ। तर उहाँको पूरा पाँचवर्षे कार्यकालमा मेरो कथासंग्रह निस्किएन। मेरो अड्बांगो खालको स्वाभिमानले किताब छापिदिने आग्रह गर्न पनि मानेन। धु्रवदाइको टर्म सकिएपछि सनत रेग्मी दाइ प्राज्ञ भएर आउनुभयो। म यसपटक पनि ढुक्क भएँ। तर मेरो कथासंग्रह प्रेसको दराजबाट मेसिनसम्म पुग्दै पुगेन।
आफूले भन्दा पछाडि पाण्डुलिपि बुझाएकाहरूको धमाधम छापिइसकेपछि मलाई झोँक चल्यो। अनि एकदिन मैले कसम खाएँ- एकेडेमीबाट किताबै छाप्दिनँ। मैले सनत दाइलाई केही नभनी त्यहाँबाट आफ्नो पाण्डुलिपि फिर्ता लिएँ। त्यो कथासंग्रह 'खोरभित्र जोकर'को शीर्षकबाट 'तन्नेरी प्रकाशन'बाटै छापियो। रोयल्टीवापत पहिला अस्सी र पछि दसबीस प्रति बुझेँ। ती सबै बाँडेँ मैले। राम्ररी बाँड्नका लागि भाग पनि पुगेन। धेरैजसो साथीले मेरो त्यो कथासंग्रहको अनुहार पनि देख्नुभएको छैन। यो कथासंग्रहको नियति पनि सुखद रहेन।
त्यसपछि पालो अर्को कथासंग्रहको। मेरो छैठौं किताब (कृति त मरिगए भन्दिनँ)। कृष्ण अविरलजी बडो उत्साहित भएर आउनुभयो। मलाई पनि उहाँको जोसजाँगर देखेर 'यसपालि त कुछ न कुछ जरुर हुन्छ' भन्ने लागिहाल्यो। 'निदाएँ जगदम्बा' शीर्षकमा कथासंग्रह छापियो। रोयल्टीवापतका प्रति दिँदै अँध्यारो अनुहार पारेर कृष्ण अविरलले भन्नुभयो, 'दाइ, प्रेसले धोका दियो। बर्बादै गरेर छापिदियो।'
चारपाँच वर्षअघि छापिएको 'निदाएँ जगदम्बा'ले नेपालको किताबको बजारलाई तताएन। एक हजार प्रति पनि बिक्री भएजस्तो लागेन। केही प्रति कृष्ण अविरलकै गोदामतिर कुहिने गरी थन्किएका छन् कि, सोधुँला भन्छु। अप्रिय उत्तर आउला भनेर सोध्ने आँट फिटिक्कै आउँदैन।
...
मेरा किताबको स्थिति जेजस्तो भए पनि यो त पक्कै हो कि आज स्थिति फेरिएको छ। मैले बखान गरेजस्तो खराब स्थिति छैन अहिले। विगत केही वर्षयता राम्रा किताबले बिक्रीका नेपाली बजारअनुसारका कीर्तिमान पनि बनाइरहेका छन्। किताब प्रकाशन र वितरणको परम्परागत ढाँचा र ढर्रामामा केही निजी प्रकाशनगृहको सक्रिय हस्तक्षेपका कारण किताब बिक्री सुधारोन्मुख देखिएको छ। पठन संस्कृति विकास भएकै देखिन्छ। इन्टरनेट, फेसबुकजस्ता सन्जालले किताब प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन्। आजभन्दा एक दशकअघिसम्म पनि नयाँ किताब निस्केको कुरा पत्रपत्रिकामा समीक्षा आदि आएपछि मात्र पाठकलाई थाहा हुन्थ्यो। तर आज कुन किताब कहिले निस्कँदैछ भन्ने जानकारी पनि पाठकले प्राप्त गर्न सकिरहेका छन्। राम्रा लेखकको राम्रैखाले फ्यानको जमात पनि तयार हुँदैछ।
करिब दस वर्षको अन्तरालपछि जब 'फाइनप्रिन्ट'ले मेरो उपन्यास 'उलार'को पुनर्मुद्रण गर्‍यो, यसले एकाएक पाठकको ध्यानाकर्षण गर्‍यो। तर ढिलै भएपनि 'उलार'लाई पाठकमाझ स्थापित गर्ने कारक तत्व 'मेरो दमदार लेखन नै हो' भन्ने भ्रमबाट भने म मुक्त छु। मलाई थाहा छ, 'फाइनप्रिन्ट'को एग्रेसिब मार्केटिङ, छपाइको गुणवत्ता र प्रिन्ट मिडियाले पुर्‍याएको प्रचारात्मक सहयोगका कारण नै नयाँ पुस्तासम्म पनि 'उलार' पुग्न सकेको हो। अब त म आफ्नोे निजी अनुभवकै आधारमा भन्नसक्छु, पुस्तक लेखेर मात्र हुँदैन, यसलाई आजको बजारअनुसार उत्पादन, बिक्री, वितरण र प्रवर्द्धन गर्न सकिएन भने राम्रा किताब पनि ओझेलमा पर्छन्।
तर फेरि अर्को यथार्थ पनि उत्तिकै सश्ाक्त छ। किताबको उच्चस्तरीय उत्पादन, जोडदार मार्केटिङ र आकर्षक प्रवर्द्धनमात्र भएर किताब बिक्री हुने होइन रहेछ। त्यसका लागि त किताबको लेखन पनि गुणस्तरीय हुनुपर्दो रहेछ। आज फाइनप्रिन्ट, नेपालय, सांग्रिला बुक्सजस्ता जल्दाबल्दा किताब प्रकाशकले लेखकले पाण्डुलिपि बुझाएकै आधारमा किताब छाप्दैनन्। उनीहरू किताबको विषयवस्तु, त्यसको प्रस्तुतीकरण, शैली र शिल्पबारे पनि त्यत्तिकै सजग हुन्छन्। लेखकलाई सल्लाह र सुझाव पनि दिन्छन्। दसचोटि पुनर्लेखनसमेत गराउँछन्। बेग्लै जनशक्ति खोजेर र थप नगद लगानी गरेर भाषा सम्पादन गराउँछन्। कतिपय विश्वासयोग्य लेखकसित उनीहरू किताबका लागि आग्रह पनि गर्छन्, आकर्षक एडभान्स पनि दिन्छन्। किताबको कभर डिजाइनदेखि लिएर यसको भित्री लेआउट तयार गर्दासम्म गम्भीर खालको मेहेनत गर्छन्। किताबमा कस्तो खालको कागज प्रयोग गर्ने भन्ने कुरामा पनि प्रकाशक सचेत छन्। 'अनलाइन' बिक्रीका योजना पनि बनाउँछन्। किताब व्यावसायिक किसिमले अनुकूल हुने समयमा बजारमा ल्याउँछन्। भव्य किसिमले विमोचन आदिका कार्यक्रम तय गरिन्छन्।
अझ राम्रो कुरा त के भने, अचेल पुस्तक प्रदर्शनी प्रसस्त हुन थालेका छन्। यस्ता प्रदर्शनीले पनि किताब, लेखक र पाठकको सम्बन्धलाई आत्मीय र सहज बनाउँदै लगेका छन्। अब त 'ई बुक'को अवधारणामा प्रकाशक लाग्न थालिसकेका छन्। तर यतिविधि मेहेनत गर्ने प्रकाशक हातका औंलामा गन्न सकिनेजति संख्यामा पनि छैनन्। तर पनि यति त म अब ठोकेरै भन्न सक्छु, यदि तपाईं राम्रो लेख्न सक्नुहुन्छ भने ऐयासी गर्नलाई नपुगे पनि लेखेर बाँच्न भने सक्नुहुन्छ। तर सर्त उही, तपाईंको लेखनले पाठकलाई तृप्त र विश्वस्त पार्नुपर्छ।
हामीले जति नै आदर्शका कुरा गरे पनि र 'उपभोक्ता संस्कृति'लाई जति नै सत्तोसराप गरेपनि, आज साहित्य उपभोग्य कुरा भैसकेको कुरा घामजत्तिकै छर्लंग भैसकेको छ। आत्मरतिका लागि लेख्नुहुन्छ भने त कुरै खत्तम। तर तपाईंको लेखन बहुसंख्यक पाठकसम्म पुगोस् र त्यसले पाठकबाट राम्रो रेस्पोन्स पनि पाओस् भन्ने चाहनुहुन्छ भने उत्पादन र उपभोगको सिद्धान्तलाई तपाईंले मान्न करै लाग्छ। त्यसैले हाल आएर मेरो अल्पबुद्धिले भन्छ, तपाईंले जे लेख्नुहुन्छ, त्यो विशुद्ध लेखनीमात्र हैन, उत्पादन पनि हो। भन्ठान्नुस् बिस्कुट। त्यसैले तपाईंले उत्पादन गरेको बिस्कुट स्वादिलो पनि हुनुपर्छ, बिस्कुटको प्याकेजिङ पनि राम्रो हुनुपर्छ। बिस्कुटको प्रचारप्रसार पनि राम्ररी हुनुपर्छ। त्यसपछि बिस्कुटले उपभोक्ताको भोकलाई शान्त पनि गर्नुपर्छ। तर यो जादु एकपल्टलाई मात्र हो, अर्कोपल्ट सम्मलाई तपाईंले आफ्नो जादु कायम राख्न, आफ्नो उत्पादनको गुणवत्तालाई समान ढंगले कायम राख्न सक्नुपर्छ।
अब किताबको परिभाषा पनि फेरिएको छ। तपाईंको आख्यान वा साहित्यले कुनै विशाल कथानक बोकेको हुनुपर्छ, त्यसमा समाजको व्यापक परिदृश्यलाई खाँदाखाद गरी समेटिएको हुनुपर्छ, त्यसले कुनै सामाजिक सन्देश बोकेको हुनुपर्छ भन्ने पटक्कै छैन। बस, अब तपाईंको लेखन पाठकका लागि सहज र बोधगम्य हुनुपर्‍यो। रुचिकर हुनुपर्‍यो। प्रभावमय र प्रवाहमय हुनुपर्‍यो। केही नयाँ स्वाद हुनुपर्‍यो। कथानक, शैली, शिल्प वा प्रस्तुतिमा केही न केही चमत्कार देखाउने हैसियत हुनुपर्‍यो।
भन्नुस् पुरानै कथा, केही छैन, तर नयाँ किसिमले भन्नुस्। अब तपाईंभित्रको कथावाचक अल्छी भएर काम छैन। यदि तपाईंलाई 'बेस्ट सेलर' बन्नु छ भने अब तपाईंले आफ्नो मनको कुरामात्र गरेर पुग्दैन, आफ्नो पात्र र चरित्रको मनोविज्ञानलाई बुझेर मात्र हुँदैन, तपाईंले पाठकको मनोविज्ञान र रुचिलाई पनि बुझ्नुपर्छ। नत्र त छाप्ने र कुहिने नियति मैले त भोगिसकेको छु, तपाईंले पनि भोग्नुपर्छ। 
हाल मेरो 'लु' नामक उपन्यास प्रकाशनको क्रममा छ। मैले कस्तो लेखेँ र मेरो यो उपन्यासको के हविगत हुन्छ, त्यो पाठकसम्म पुगेपछि थाहा हुने कुरो भयो। तर यसपटक मैले प्रकाशनका लागि हन्डर खानु परेन। धेरै प्रकाशनगृहका साथीले व्यक्तिगत रूपमै सोधखोज गर्नुभयो, किताब माग्नुभयो। छपाइ, प्रवर्द्धन र वितरणका योजना पनि मलाई बताउनुभयो। किताब प्रकाशनमा विगतमा चाङका चाङ समस्या भोगेको मजस्तो अदना लेखकका लागि यो चमत्कारै भएको हो। तर यो चमत्कारको श्रेय म 'उलार'को दोस्रो संस्करणका प्रकाशक 'फाइनप्रिन्ट'लाई दिन्छु। किनभने ओझेलमा परेको 'उलार'लाई किताबको नयाँ, ग्ल्यामरस र मायाबी संसारमा ल्याउने र यसलाई स्थापित गरिदिने काम त्यही प्रकाशनगृहले नै गरेको हो। त्यसक्रममा मैले बुझेँ, अब किताबसित लेखक र उसको व्यक्तित्वमात्र उभिएर पुग्दैन, प्रकाशक पनि त्यो किताबसँगै उभिनुपर्छ। 
तपाईं लेखेर राख्नुस्, अहिले नेपालका केही प्रकाशक यति प्रोफेसनल भैसकेका छन् कि यिनले निकट भविष्यमै एकसाथ किताबको सस्तो एडिसनसँगै अत्यन्त महँगो र आकर्षक 'कर्पोरेट एडिसन' पनि निकाल्नेछन्। त्यसैले मलाई लाग्छ, राम्रा लेखकका लागि अब स्वर्णयुग आउँदैछ। अब लेखकको झुत्रेझाम्रे, लामो दाह्री पालेको, स्थायी रूपमा फ्रस्ट्रेटेड देखिने र मैलो झोला बोकेको परम्परागत विम्ब हराउनेछ र त्यसको ठाउँमा लेखकको अत्यन्त सुकिलो, सुन्दर र गरिमामय छवि स्थापित हुनेछ।
आफ्नो लेखनीमा विश्वास छ भने, तयार हुनुस्, आफ्नो किताबको 'कर्पोरेट एडिसन' मा अटोग्राफ दिनका लागि। तपाईं नै हो आगामी बेस्ट सेलर। मेरो अग्रीम बधाई!

No comments:

Post a Comment