Friday, August 31, 2012

लेखन मेरा लागि लडाइँ हो



-नयनराज पाण्डे/साहित्यकार
('सौर्य दैनिक'मा २०६९ भाद्र १६ गते शनिवार प्रकाशित)

समकालीन नेपाली साहित्यमा नयनराज पाण्डे खासगरी उपन्यासकारका रूपमा चर्चित छन् । नेपालगन्जतिर हुर्के बढेकाले त्यहाँका कथा लेख्न उनलाई निकै सहज हुन्छ । ‘उलार‘ र ‘लू’ उपन्यास औधि रुचाइएका नयनका ‘निदाएँ जगदम्बा’ र ‘खोरभित्रको जोकर’ नामक कथासंग्रह पनि बहुप्रशंसित छन् । सिनेमाको पटकथा लेखन र निर्देशनमा पनि क्रियाशील भएकाले कतिले उनका आख्यानमा फिल्मी नाटकीयता देखिने टिप्पणी पनि गर्छन् ।

अहिले के लेख्दै हुनुहुन्छ ?

अलिक फरक विधातिर प्रवेश गर्ने योजनातर्फ पनि केही काम गर्दैछु ।

तपाईं कसका लागि लेख्नुहुन्छ ?

म समाजको जड चेतनामाथि हस्तक्षेप गर्न चाहनेहरूका निम्ति लेख्छु ।

तपाईंका पात्रहरूसम्म रचनाको प्रभाव पुग्दैन, जस्तै ‘उलार’को प्रेमललवा । तराईको कुनै ‘प्रेमललवा’ले आफ्नो कथा पढेर कहिले रोमाञ्चक हुन पाउने ?

पात्रसम्म रचनाको प्रभाव पुर्‍याउन सके त काइदा हुन्थ्यो नि । तर, सधैँ यही सोच राखेर पनि हुँदैन । आफूले रचनामार्फत उठाएको विषयतर्फ अरू पाठकहरूको पनि ध्यान आकृष्ट होस् भन्ने चाहना पनि राख्नुपर्छ लेखकले । कहिलेकाहीँ समाजका उपल्ला तप्काका मान्छेहरूको ध्यान आकृष्ट गर्न पनि लेख्नुपर्ने हुन्छ । तर, समग्रमा रचनाको सन्देश अथवा संवेदना आम मान्छेसम्म पुगोस् भन्नेतर्फ सबै सचेष्ट हुनुचाहिँ पर्छ । प्रेमललवाले उलारमा आफ्नो कथा पढ्न पाएको छैन । तर, उसका दु:ख र पीडालाई अरूले पढिरहनुभएको छ र त्यसप्रति चासो र सरोकार राखिरहनुभएको छ । मैले त खोजेको नै यही ।

तपाईंको कथा धरातलीय नै हुन्छ । तर, लेखनचाहिँ फिल्मी टाइपको रोमाञ्चक हुन्छ भन्छन् नि ?

कथा लेखेर मात्र हुँदैन । त्यो वैचारिक पक्षले सबल पनि हुनुपर्छ । कला र शिल्प पक्ष पनि उत्तिकै सशक्त हुनुपर्छ । कथा भन्ने शैली आकर्षक हुनुपर्छ । म त्यसतर्फ पनि सचेत छु । म कथालाई पत्यारिलो र रोचक हुने हदसम्म जुन किसिमले प्रस्तुत गरे पनि हुन्छ भन्ने सोच्छु । आजसम्म कसैले मेरो कथा वा उपन्यासमा फिल्मको प्रभाव छ भनेको थाहा छैन । तर ‘लू’ मा भने मैले सिनेमाको प्रविधिलाई प्रयोग गरेकै हुँ । तर, यसैले त्यति भारी कथानकलाई पनि पाठकहरूले रुचाइरहनुभएको छ । नत्र ‘लू’ केही बौद्धिक पाठकहरूको बुद्धिविलासको साधन मात्र हुन्थ्यो, पठनीय नहुन पनि सक्थ्यो । यत्तिको नरुचाइन पनि सक्थ्यो ।

तपाईंका पात्रहरूको र तपाईंको जीवनशैली कतै पनि मेल खाँदैन । तपाईंका कथाले ती पात्रलाई उपदेश मात्रै दिन खोजेको हो ?

म साधारण जीवन शैली बिताउने मान्छे । मध्यमवर्गको मान्छे । त्यसैअनुसारको  जीवनशैली छ मेरो । मैले ऐय्यासी जीवन बिताएको छैन । तर, मेरो सरोकार समाजका ती तल्लो तप्काका व्यक्तिप्रति केन्द्रित छ, जो युगौँदेखि उपेक्षित, उत्पीडित छन् । तिनीहरू नै मेरा रचनाका नायकहरू हुन् । उनीहरूको दु:ख/पीडा नै मेरा रचनाका विषय हुन् । म त्यही लेख्छु, जुन मैले देखेको छु, भोगेको छु । म लेखकले कसैलाई पनि आफ्नो रचनामार्फत अर्ति उपदेश दिनु हँुदैन भन्ने मान्यता राख्ने मान्छे । ल, मेरो कुनै एउटा चार लाइनको भए पनि त्यस्तो रचना देखाइदिनुस्, जसमा मैले उपदेश दिएको होऊँ ।

मधेसमा स्वात्तताको कुरा भइरहेको छ । तर, त्यहाँभित्रका सीमान्तकृत वर्गलाई उच्च जातिका भनिनेहरूले पहाडमा भन्दा पनि बढी शोषण गर्छन् । तराईका सवालहरूमा अहिलेको लेखनको भावभूमि के हो ?

लेखनमा मधेस र मधेसका सवालहरू निकै कम आएका छन् । आएका मध्ये पनि कति मनोगत कुरा छन् । मधेसमा दश/पन्ध्र दिन घुमेर मधेसको कुरा सतही किसिमले लेख्ने र के–के न लेखेँ भनेर आत्मरतिमा रमाउनेहरू पनि छन् । मधेसका मुद्दाहरू के हुन्, मधेसले कस्तोखालको परिवर्तनको अपेक्षा गरेको छ । यो पनि बुघ्नुपर्छ । मधेसप्रति हाम्रा कतिपय लेखकका धारणहरू स्पष्ट छैनन् । मधेसको समाजलाई त्यसको भित्री तहसम्म गएर बुघ्ने र लेख्ने काम कम भएका छन् । मधेसीहरूलाई सोझै भारतपरस्त हुन् भनेर हामीले आम सोच बनाएका छौँ । जबकि मधेसीहरू नै भारतबाट सबैभन्दा बढी पीडित छन् । सीमा समस्यालगायत भारतले ठाउँठाउँमा बनाउँदै गरेका बाँधका कारण मधेसीहरूले डुबानलगायतका अनेकौँ समस्या भोगिरहेका छन् । एसएसबीको उत्पीडन पनि उनीहरूले नै भोगिरहेका छन् । हामीले त गर्व गर्नुपर्छ कि यस्तो स्थितिमा पनि मधेसीहरू हाम्रो देशको सीमा रक्षक भएर उभिएका छन् । त्यसैले अहिले मधेसले आफ्नो पहिचान र परिचय खोज्नु धेरै हदसम्म मलाई जायज लागेको छ ।

तपाईंका उपन्यास ‘उलार’, र ‘लू’को ‘कन्टेन्ट’मा मधेस आन्दोलन अनि त्यसले निम्त्याएको जातीय र धार्मिक वैमनस्य अभिव्यक्त भएका छन् । तर, तिनको समाधानचाहिँ छैनन् नि ?

समाधान दिने काम मेरो होइन । मैले दिएको समाधान नै काम लाग्छ भन्ने के ग्यारेन्टी छ ? मैले यथार्थ देखाइदिने हो । त्यहाँको समस्या, त्यहाँका पात्रहरूको मानसिकता र तिनीहरूको भित्री चाहनालाई पाठकहरूसमक्ष ध्यानाकृष्ट हुने किसिमले राखिदिने हो । समस्याका कारणलाई इमानदारीपूर्वक देखाइदिने हो । साहित्य एनजिओको प्रतिवेदन त होइन नि । कुनै पार्टीको दस्ताबेज पनि त होइन साहित्य । समस्याको स्वाभाविक ढंगले समाधान पनि दिन सकिन्छ भने समाधानको बाटो देखाउँदा ठीकै होला । तर, प्रायोजित खालका समाधानले पाठकीय चेतनामाथि हस्तक्षेप गर्छ भन्ने मान्यता राख्छु म ।

मूलधारको साहित्यमा मधेसको मुद्दाले कत्तिको स्पेस पाएको छ ?

यसबारेमा अघि पनि हामीले कुरा गरिसक्यौँ । मधेस र मधेसको मनोविज्ञानलाई हामीले अझै राम्ररी बुघ्न  जरुरी छ । मधेसका धेरै कुरालाई साहित्यको मूलधारमा जोडदार ढंगले स्थापित गर्न अझै धेरै बाँकी छ ।

तपाईंका कथा आफ्नै अनुभव वा अनुभूतिबाट जन्मेका हुन् कि ती सीमान्तकृत पात्रका कथाहरूमा काल्पनिकता हाबी हुन्छन् ?

अनुभव र अनुभूति नै त हो लेखनका लागि सबैभन्दा आवश्यक कच्चा पदार्थ । आफूले देखेका, भोगेका कुराहरू लेख्दा पाठकहरूका लागि बढी विश्वसनीय हुन्छन् । यथार्थको धरातलमा टेकेरै कल्पनाको उडान गर्नुपर्छ लेखकले । यथार्थबाट टाढा रहेर गरिएको कल्पनाको उडानले रोमाञ्चक साहित्य त सिर्जना गर्न सक्ला तर जमिनसित जोडिएको साहित्य सिर्जना गर्न त गाह्रै पर्छ । म साहित्य जमिनसित जोडिनुपर्छ भन्ने मान्यता राख्ने लेखक हुँ । लेखक आफ्नो रचनाकर्मप्रति जिम्मेवार हुनैपर्छ भन्ने लाग्छ । मैले धेरैपटक भनेको छु, लेखन मेरो लागि रहर होइन, लडाइँ हो ।

लेखनमा आफ्नो हृदयलाई मात्र पोख्न चाहनुहुन्छ कि पाठकलाई पनि ध्यानमा राख्नुहुन्छ  ?

अब आफ्नो हृदयका कुरा मात्र गरेर, मनोगत कुराहरू पस्केर यही हो आजको साहित्य भन्ने दिन गए । पाठकहरूको चेतना र उसको स्तर अनि मनोविज्ञानलाई पनि लेखकले बुझ्न सक्नुपर्छ । सूचना र सञ्चारको सुविधा र त्यसले बनाइदिएको विश्व साहित्यसम्मको सहज पहुँच आदि कारणले आजको पाठक एकदमै सचेत भैसकेको छ । त्यसैले लेखक पाठकहरूप्रति जिम्मेवार हुनै पर्छ । त्यसैले उसले जिम्मेवारीवोधका साथ साहित्य सिर्जना गर्नुपर्छ ।

कथा लेखनका पुराना दिन कस्ता थिए ?

पुराना दिनहरू सुन्दर भन्दा पनि स्मरणीय थिए । तिनै दिनहरूलाई छिचोलेर आजको दिनसम्म आइएको हो । त्यसैले ती दिन मेरा लागि स्मरणीय छन् । उपलब्धिमूलक पनि छन् । पहिला लेखेको कुराको बारेमा ढिलो चर्चा परिचर्चा हुन्थे, अहिले तत्काल रेस्पोन्स पाउन थालिएको छ । पहिले र अहिलेका पाठकहरूको चेतनामा फरक आएको छ । फेसबुक, ट्युटरजस्ता सोसल मिडियाहरूका कारण लेखक र पाठकबीच तत्काल सम्पर्क हुन थालेको छ । अहिले लेखक पाठकको एकदम नजिक पुगेको छ । पहिला यसका लागि धेरै कसरत गर्नुपथ्र्यो ।

लेखनमा कत्तिको जोखिम उठाउनुहुन्छ ?

जोखिम नउठाइ राम्रो लेख्न सकिन्छ जस्तो लाग्दैन मलाई । प्रशस्त जोखिम उठाएको छु । मेरो एउटा कथा ‘निदाएँ जगदम्बा’ पढ्नुस् । मैले कतिसम्म जोखिम मोल्न सकेको छ, बुझिहाल्नु हुन्छ ।

अहिले नेपाली कथामा के खट्किरहेको छ जस्तो लाग्छ ?

त्यस्तो खासै खट्किने कुरा त केही छैन । तर, अबका कथामा विषयगत अनुसन्धानको पक्ष सबल हुनुपर्छ जस्तो लाग्छ । पहाडमा बसेर अखबारमा समाचार पढेको भरमा हिमाल वा मधेसका कुरा लेखेर हुँदैन । त्यस विषयमा प्रशस्त अध्ययन, अनुसन्धान गर्नुपर्छ । अब पाठकलाई ठगेर लेख्नेका दिन गए ।

नेपाली आख्यानले राजनीतिलाई कसरी प्रभावित पारिरहेको छ ? र, हाम्रो साहित्य यो मामिलामा कत्तिको प्रभावकारी छ ?

राजनीतिले हाम्रो शयनकक्षसम्म हस्तक्षेप गर्छ । त्यसैले राजनीतिबाट निरपेक्ष हामी कोही पनि हुन सक्दैनौँ । तर, आख्यानले राजनीतिलाई कसरी प्रभाव पारेको छ, त्यसको लेखाजोखा मबाट सम्भव छैन । साहित्यले आजको भोलि नै प्रभाव पार्ने पनि त होइन । यसले त समाजमा चेतनाको निर्माण गर्ने हो र बाँकी काम त्यही चेतनाले गर्ने हो । साहित्य लामो लडाइँ हो ।

तपाईंलाई मर्न डर लाग्छ कि नराम्रो कथा लेख्न ?

मर्न । किनभने बाँचे राम्रो लेख्न सकिने आशा पनि त हुन्छ ।
–प्रस्तुति : दीपक सापकोटा

Wednesday, August 22, 2012

कविता-छद्म


कविता

छद्म
                                                                                       नयनराज पाण्डे

कविताको मृत्युमा
आजसम्म
मरेको छैन कुनै कवि ।
ईश्वरलाई मृत घोषणा गर्‍यो  
कविता मरेको घोषणा पनि गर्‍यो 
तर आजसम्म 
आफ्नु मृत्युको घोषणा गरेको छैन
कुनै कविले ।

भनेपछि
कवितालाई
कहिले पो माया गरेको रहेछ र कविले ?
उसले त कवितालाई
आफू माथि  माथि उक्लने भर्‍याङ्ग पो बनाएको रहेछ
आफू अमर हुने प्रपन्च पो रचेको रहेछ उसले 
बडो योजनाबद्ध ढङ्गले ।
तर बुझ्नु पर्ने एउटा कुरा
बुझेकै रहेनछ कविले
कि-
कविता मरेर
कुनै कवि बाँचेको छैन
आजसम्म ।
(२०६९ साउन ३ । बुधवार । July 18, 2012)

Monday, August 20, 2012

उलार उपन्यासको मनोवैज्ञानिक विश्लेषण-प्रा.डा.मुरारिप्रसाद रेग्मी

समालोचना-

प्रा.डा.मुरारिप्रसाद रेग्मी
उलार  उपन्यासको मनोवैज्ञानिक विश्लेषण

प्रा.डा.मुरारिप्रसाद रेग्मी 

( “भृकुटी” समालोचनात्मक एवम् अनुसन्धनात्मक साहित्यिक-सांस्कृतिक त्रैमासिकको पूर्णाङक १३ कात्तिक-मंङ्सिर-पुष,२०६८ मा प्रकाशित समालोचनाका केही अंशहरु )

संक्षिप्त उपन्यासलाई अमेरिकन अङ्ग्रेजीमा novelette अर्थात्   a brief novel भनिन्छ । त्यसैलाई जर्मन भाषामा novella,इटालियनमा नोभेला(novella), फ्रेन्च भाषामा नोभेले (nouvelle) भन्ने गरिन्छ । नेपाली र हिन्दीमा ‘लघु-उपन्यास’ अथवा ‘उपन्यासिका’ भन्ने चलन छ । राम्रो लघु-उपन्यासमा अर्नेष्ट हेमिङ्वेको The old Man And The Sea  निकै प्रेरक उपन्यास मानिन्छ । यस्तै श्रेणीमा अल्बर्टो मोराविया (Alberto Moravia) को  Congugal Love नामको उपन्यास पनि पर्दछ । चेकोस्लोभाकियामा जन्मेका फ्रेन्ज काफ्का ( Franz Kaffka) यहुदी हुन् र मेटामोर्फोसिस पनि विशिष्ट संक्षिप्त उपन्यास भित्रकै कोटीमा पर्दछ ।

नयनराज पाण्डेको उलार संक्षिप्त उपन्यास हो । संक्षिप्त उपन्यासमा भवानी भिक्षुको सुभद्रा बज्यै (२०१९) पनि हो, जहाँ नायिका व्यक्तित्वविहीनताबाट पीडित छिन् । उनको पाइप नम्बर २ पनि संक्षिप्त उपन्यास हो । उलारको शिल्प विधान पाइप नम्बर २ भन्दा कम छैन । उलारमा पुरुष नायकको प्रधानता वा चेतना छ भने पाइप नम्बर २ मा नायिका (नारी)को चेतना वा प्रधानता छ । अन्य संक्षिप्त उपन्यासमा गोविन्दबहादुर मल्ल गोठालेको पल्लो घरको झ्याल, लैनसिंह वाङ्देलको लङ्गडाको साथीलाई पनि लिन सकिन्छ ।

उलार नामको संक्षिप्त उपन्यासबाट जीवन ब्यथा र गरीबीले पीडित मानवहरुको सामाजिक कटु यथार्थलाई प्रस्तुत गरिएको छ । भिक्षुको सुभद्रा बज्यैमा जस्तो स्व-विश्लेषण पाण्डेको द्रौपदीमा पाइन्न । तर खेमानन्दको कु-स्व (Bed self) जस्तै पाण्डेका पात्रहरुमा राजेन्द्रराज शर्मा र शिलाबाबुझैँ राजनैतिक फटाहा र समाजका उडुस एवम् उपियाँ जस्ता शोषकहरु अन्य उपन्यासहरुमा पनि पाइन्छन् । सम्पन्न र विपन्न (have and have not) पात्रहरुमा चारित्रिक भिन्नता देखाउनु, विपन्न वर्गको उत्तरप्रजातन्त्रकालीन रुपान्तरण तथा विशेषता अनि उनीहरुमा पाइने मानवीयताको परिचय उलार उपन्यासमा पाइन्छ ।.............उपन्यासकार पाण्डेको उलारमा शरतचन्द्रको सरलता र प्रेमचन्दको परागमय सुवास व्यक्त भएको छ । उनको वाक्य संयोजन सरल, सरस र यथार्थपूर्ण छ । उनी सफल उपन्यासकारका विशेषताबाट ओतप्रोत छन् । उनको ब्यक्तित्व विनयी छ ।

काफ्का जर्मन भाषामा लेख्थे र उनको नाम पनि गौणकरण (minoritarian) मा लिइन्छ । उनले प्रागको जर्मन भाषा पढे र त्यसैमा विकाश गरे । त्यस्तै नयनराज पाण्डेले पनि नेपालगन्ज क्षेत्रमा वादीहरु  निम्न वर्गीय जनताले बोल्ने गौण (minority)भाषा जसमा अवधी भाषा पनि सामेल छ,त्यसको सहारा लिएर उलार उपन्यास लेखेकाले उनी धन्यवादका पात्र छन् । गौण भाषामा लेख्ने पनि भाषिक प्रयोग हो । आइरिस लेखक जेम्स ज्वायस र वेटिङ्ग फर गोदोका लेखक सामुएल बेकेटले पनि ब्रिटिश र  अमेरिकी अङ्ग्रेजीमा निरन्तर परिवर्तनको प्रक्रिया शुरु गरेका हुन् । उनीहरु जस्तै पाण्डेलाई भाषिक परिवर्तनको प्रयोग गर्ने श्रेय जान्छ । उनी भाषिक प्रयोक्ता पनि ठहर्छन् । उनको भाषिक प्रयोग पूर्ण पारदर्शी र यथार्थपूर्ण छ । उनका पात्रहरु सामाजिकरुपमा केही प्रक्रिया लुकाउँदैनन् । सबै स्पष्टवादी छन् । निम्त वर्गीयको ब्यथा(agony) पोख्नमा उनी बेजोड छन् ।.......यसको (उलारको) कथानक भविष्योन्मुख एवम् प्रत्याशाहरुले भरिएको छ । नेपाली साहित्यमा यस्तो उपन्यास दुर्लभ नै मानिन्छ ।.........उपन्यासकारले वादीहरुको संसार (singnfied) एवम् उनीहरुको स्थितिलाई क्रमबद्ध ढङ्गले प्रस्तुत गरेका छन् । यसैमा उनको महानता छ ।
यस उपन्यासमा नायकका उत्कृष्ट अभिप्रायहरु(excellent intentions)लाई खुलस्त रुपमा प्रस्तुत गर्न उपन्यासकार सफल भएका छन् । काफ्काले चेक जनताको आवाजलाई चर्को स्वरमा भने जस्तै उपन्यासकार पाण्डेले रैथाने वादीहरुको प्रथा र जीवनमाथि प्रकाश पारेर त्यसमा परिवर्तन गर्नका लागि आह्वान गरे । जस्तो कि- जेम्स ज्वायसले आफ्नो आयरलैन्डका डब्लाइनरहरुको आवाज र जीवनको फरकपन प्रतिध्वनित गराए । नयनराज पाण्डेको प्रयास अति सराहनीय छ । युलिसिस (Ulysses) का रचयिता ज्वायस जस्तै उलारका नयनराज पाण्डे पनि सफल छन् ।

Sunday, August 19, 2012

LOO: Comments by Pravinata Osti


Pravinata Osti

(लू बारे प्रविनता वस्तीजीले 2012 August 18 Saturday का दिन मेरो फेसबुक इनबक्समा पठाउनु भएको प्रतिक्रिया उहाँको अनुमतिले यहाँ साभार गरेको छु ।)

"Loo" .....First of all thank you for the good writing. I enjoyed it very much. Every character is justified. The flow of writing never let the reader to close or to scape the paper and even the single line or word. I think most of the reader have finished it in one sitting. While reading the novel... at the end the letter ... the address was predictable although I wanted not to see the name of country. Really heart touching and somewhere I feel like this is the real picture as used to the news of encroachment of Nepali land by India. Right after finishing the LOO I told my sister that this should be translated in English. When the Nepali diplomats are not serious about the boundary of Nepal at least there will be some literature in this issue. Lets unite together for the security of Nepal.

Monday, August 13, 2012

लू ; उत्कृष्ट क्लाइमेक्स को नमुना - मेरो डायरी मा !!!!

Surya Prateek Surkhalee
(Facebook comment)

11 August,2012

As a reader it is just a great opportunity to read a novel like this..... Only a few books give optimum satisfaction till the climax ......... And make us feel even more touched after we finish it.... LOO did it for me and I scribbbled it in my Diary....


लू ; उत्कृष्ट क्लाइमेक्स को नमुना - मेरो डायरी मा !!!!

by Surya Prateek Surkhalee on Saturday, August 11, 2012 at 8:25pm ·
(२०६९ श्रावण २१
कृष्णनगर, कपिलवस्तु)

दुइ महिना पछी मेरो डायरी को पाना खुलेको छ त्यो पनि रात को साढे बाह्र बजे ! मेरो दिमागले , ए होइन मेरो मनले  ल्यापटप को स्विच अन गर्यो (आजकल म डायरी ल्यापटप मा लेख्छु ) . र मैले टाइप गर्न थाले . सायद यो क्षण नै यस्तै थियो . खास  कुरो नघुमाइ  भन्नु पर्दा के हो भने मैले आज अहिले मेरो पुस्तक पढ्ने सुची मा परेको एउटा पुस्तक, नयन राज पाण्डे को लू पढेर सकाएँ भर्खरै !

मलाई बाह्र बजी सकेकोले निद्रा लाग्नु स्वाभाविक नै थियो . र मैले उपन्यास का बाँकि २,३ अध्याय हरु भोलि पढ्ने निर्णय गरि पनि सकेको थिए . तर जब करिमले टलक्क टल्केको नया एभन साइकलको अगाडी को डन्डी मा राखेर नुसरत लाइ भगायो तब मलाई चित्त बुझेन,  खै किन मलाई त्यो थाहा छैन यति थाहा थियो कि पुरा उपन्यास का पात्र तथा घटना क्रम हरुले येस्तो खालको अन्त्य को  माग गरिरहेका थिएनन जस्तो लागेको थियो मलाई !

त्यसैले जब करिमले नुसरत संग अब को नया जीवन को सपना बुन्दै गयो तब मेरो निधार खुम्चदै गयो . म  अझै अशन्तुष्ट हुदै गएँ . यसको अर्थ मैले करिम लाइ मन नपराईरहेको थिए भन्ने पक्का पनि होइन . उस लाइ मैले अहिले पनि उत्तिकै नै मन पराउछु... ऊसको त्यो निर्दोषिता र स्वच्छापन साच्चिकै उदाहरनिय छ !

मलाई भित्र भित्रै लेखक ले राम्रो काम गरेनन भन्ने लागिसकेको थियो . मैले ईलौया प्रति सहानुभूति दर्शारई रहेको थिएँ मन मनै . अनि सोचिरहेको थिए साला तेरो आफ्नै बनि ले गर्दा आज तैले आफुलाई भन्दा बढी  प्यार गर्ने केटि लाइ अरु कसैले भगाएर लग्दैछ अनि त चाही टुलु टुलु हेरेर बसेको छस !

अनि एक्कासी जब हिजो सम्म नभएको नयाँ साइकल करिम संग कसरि आयो भन्ने प्रश्न आयो तब म पनि सोच्न बाध्य भए र सोचे हो त कहाँ बाट आयो त्यो साइकल ? एउटा ठुलो प्रश्न बाचक चिन्ह मेरो आखा अगाडी आएर तेर्सियो ???
त्येस्पछी लेखक ले जब साइकल को यथार्थ कुरो भन्छु भनेर उपन्यासका पात्र तथा आफुलाई सहयोग गर्ने सहयोगीहरु को नाम भन्न थाले मलाई झनक्क रिस पनि उठ्यो . सिधै भनिदिए भैहाल्यो नि..... आभार साभार पछी गरे पनि त भैहाल्थ्यो नि त जस्तो लाग्यो तर उपन्यास को अन्तिम शब्द पढिसकेपछि लेखक को यो सस्पेन्स राख्ने शैली झनै मन पर्यो... अत्यन्तै गज्ज़ब को लाग्यो !
हा हा मा आफै यस्तै शैली मा पो जान लागेछु कि क्या हो???

अनि मैले खोजे जस्तै, त्यो साइकल दिने मान्छे ए होइन ईलैयाकै भाषामा त्यो फरिस्ता , देवदूत को बारेमा भन्न थाल्यो करिमले नुसरत लाइ .... अनि गाउँ मा आतंक मच्चिदा आधा गाउँले हरुलाई आफ्नो घरमा राखेर बचाएको थियो भन्ने कुरो खुलायो , मलाई बिश्वास भयो कि त्यो फरिस्ता अरु कोहि नभएर टूटे पण्डित हो .. र त्यो साइकल पनि उसैले करिमलाई दिएको हो .. र उपन्यास सकाएको सोच्दै लामो सास फेरें र अगाडी बाँकी अन्तिम अनुच्छेद सुरु हुनु भन्दा अगाडी  जब करिमले  त्यस फरिस्ता को नाम "___________ " भन्यो जुन नुसरत ले सुनी कि सुनिन थाहा भएन मैले स्पष्ट संग सुने ऊ टूटे पण्डित नै थियो . तर अन्तिम अनुच्छेद ले मेरा आँखा हरु चम्किला भए , म दङ्ग परें, मलाई एक किसिम को सन्तुष्टि लाग्यो . अत्यन्त खुसि भएँ . ईलैया प्रति म लेखक भन्दा हजार गुना बढी आभारी भएँ (सायद) . मलाई उसले जीवन भरि अरु लाइ दिएको दुख हरु , धोका हरु सबै अल्लाह ले माफ गरिदिए जस्तो लग्यो . आमा ले आफ्नो बुहारी लाइ भनेर राखेका अठाह्र तोला चांदी का गहाना बेचेर पो उसले करिम् लाइ साइकल किनिदिएको रहेछ !!!!

अझ टूटे पण्डित को चिठी बाट खुलेका घटना हरु र पथ्थरपुरवा मा छोडिएका सम्पूर्ण पात्र हरु को बयान झनै उत्कृष्ट र महत्वपुर्ण लग्यो . ईलैया ले शम्भुराम लाई पेस्तोल ले मार्न लागेको थाहा पाउँदा ईलैया साच्चिकै उपन्यास को हिरो भएको अनुभव गरें !

यी सबै कुरा हरु भन्दा पनि अझ महत्वपुर्ण लागेको कुरा त के भने टूटे पण्डित को ठेगाना परिवर्तन भएछ !! नेपाल को सिमाना अतिक्रमीत भै भारत पो भैसकेको ??? कति यथार्थपरक मार्मिक ढंगले प्रस्तुत गरिएको हो ?? मा फेरी दङ्ग परें . यो  कुरो दुखद लाग्यो , र सोचनीय पनि !

यसरी नयन राज पाण्डे ले माया पिरती , धर्म परम्परा र राष्ट्रियता लाइ समानान्तर ढंगले अगाडी बढाई गरेको मन छुने अन्त्य मैले पढेका सम्पूर्ण पुस्तकहरु को अन्त्य भन्दा उत्कृष्ट लाग्यो ... मैले पढेका प्राय: अन्य उपन्यासका कथा अत्यन्त मर्मस्पर्शी र उत्कृष्ट हुदा हुदै पनि अन्त्य मा दम नभएको महसुस गरेको छु . तर लू को अन्त्य मिठो लग्यो, सन्तुष्टिपूर्ण लाग्यो ( व्यक्तिगत रूपमा ) ... बधाई तथा धन्यबाद पाण्डे जी !

पात्र हरुलाई त्यो हद सम्म  यथार्थ परक बनाइएको पनि उदाहरणीय लाग्यो ! मा आफु पनि  तराई को पथ्थरपुरवा , नेपालगंज जस्तै, र तेही ठाउँ नजिकैको एउटा सिमानामा भएको हुनाले कुनै दिन करिम रिक्सा चलाउदै गरेको त भेटिदैन जस्तो पो लाग्छ त

Thursday, August 9, 2012

लू’ उपन्यास र सीमा क्षेत्रको पीडा:जितबहादुर शाह


  लू’ उपन्यास र सीमा क्षेत्रको पीडा

– जितबहादुर शाह
(नागरिक दैनिक,पश्चिमेलीमा २०६९ भदौ २ गते शनिवार र "नयाँ युगबोध दैनिक", दाङमा २०६९ साउन २५ बिहिबार प्रकाशित)

प्यारा विद्यार्थी भाइबहिनीहरु
धेरै–धेरै माया अनि सम्झना ।

तपाईँहरु त अध्ययन गर्नुहुन्छ नै । किनभने तपाईँहरुको पेशा नै अध्ययन हो । म पनि कहिलेकाहीं मन परेको पुस्तकहरु पाएँ भने समय मिलाएर पढ्ने गर्छु । यसैक्रममा दाङका साहित्यकर्मी मित्रहरुबाट नयनराज पाण्डेको ‘लू’ उपन्यास राम्रो छ भन्ने थाहा पाएपछि तुरुन्तै पसलबाट किनेर ल्याएँ र शुरु गरिहालें पढ्न । साँच्ची राम्रो रहेछ उपन्यास । घटनाक्रमहरु र पात्रहरुको सरस, कौतुहलपूर्ण र जीवन्त प्रस्तुतिले उपन्यास पढ्न शुरु गरेपछि नसक्दासम्म छोड्न मन लागेन । यो उपन्यास एउटा साहित्यकारले मात्र लेख्न सम्भव देखिदैन, त्यसका लागि साहित्यकारमा एउटा संस्कृतिविद्, भाषाविद् र समाजशास्त्रीमा हुनुपर्ने अब्बल क्षमताहरु पनि हुनु आवश्यक देखिन्छ । ती सबै क्षमताहरु मध्यपश्चिमेली उपन्यासकार नयनराज पाण्डेले कत्ति पनि अभाव महसुस नहुने गरी भरपूर मात्रामा प्रयोग गर्नुभएको छ । यसका लागि उपन्यासकार नयनराज पाण्डेलाई उहाँले प्रदर्शन गर्नुभएको अब्बल क्षमताको उच्च सम्मान गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।

उपन्यासमा हाम्रो देशको सीमा क्षेत्रका बस्ती र बासिन्दाहरुको दिनचर्या सूक्ष्म एवं चित्रमय भाषामा प्रस्तुत गरिएको छ । उपन्यास पढ्दै जाँदा आँखा रसाए । हामी नेपाली हौं र नेपाली भएर बाँच्न पाउनुपर्छ भन्ने भावना मुटुभरि साँचेका सीमाक्षेत्रका बासिन्दाहरुको पक्षमा राष्ट्रले अहिलेसम्म केही गर्न नसकेको र उल्टै पीडकहरुप्रति नै वफादार हुने गरेको वास्तविकता उपन्यासमा पस्कन कत्ति पनि कञ्जुस्याइँ गरिएको छैन । उपन्यास पढ्दै जाँदा, सीमा क्षेत्रमा सरकारको सकारात्मक उपस्थिति छैन भन्ने कुरा प्रष्ट हुन्छ । गरीवीले खर्लप्पै निलेको छ बस्तीलाई । बेला–बेलामा हुने अनावृष्टि र अतिवृष्टिले पनि खेतीपाती भनेजस्तो हुन नसकेको र बालबालिकाहरुलाई भोकभोकै सुताउनु परेको अवस्थालाई मर्मस्पर्शी किसिमले प्रस्तुत गरिएको छ । राति सुतेको अवस्थामा भोक लाग्यो भनेर छोराछोरी रुँदा आमाले आकाशका तारा देखाएर म भोलि बिहानै ती आकाशमा छरिएर रहेका चामलका कनिकाहरुलाई जम्मा गरेर भात पकाउँछु, अनि अघाउञ्जेल खाने है भनेर सम्झाउँदै गरेको र उपन्यासकारसँग त्यहाँका बासिन्दाहरुले भोक नलाग्ने औषधि हुन्छ कि हुँदैन भनेर सोधेको घटनालाई पढ्न नभ्याउँदै छाती भक्कानिएर आउ“दोरहेछ । उपन्यास पढ्दै गर्दा यो कुराको चेत भयो ।

गरीवीकै कारण त्यहाँका बासिन्दाहरुले आफ्ना साना छोरीहरुलाई खसीबाख्राको मूल्यमा सर्कसवालाहरुलाई बेच्ने गर्दछन् । सर्कसवालाहरुले उनीहरुलाई लिएर पाशविक यातना दिदै सर्कसमा जोखिमपूर्ण काम गराउँछन् र अतृप्त यौन तिर्खा पनि मेट्छन् । विरामी भए र शारीरिक हिसावले अशक्त भए भने ती चेलीहरुलाई बेवारिसे छोडिदिन्छन् सर्कसका मालिकहरु । यो कथा उपन्यासमा वर्णन गरिएको भए तापनि उपन्यासकारले कल्पना गरेको कथा नभई सीमा क्षेत्रको वास्तविक कथा हो । उपन्यासमा चमेलीलाई प्रतिनिधि पात्र बनाएर उपन्यासकारले यो कहालीलाग्दो अवस्थाको पटाक्षेप गरेका छन् । छोरीबुहारीहरु त्यसमा पनि अलि सुन्दर भएर जन्मनु त त्यो बस्तीमा अभिशाप नै हुँदोरहेछ । सीमापारिबाट रातमा आएर विभिन्न बहानामा घरमा डकैती गर्ने, आगजनी गर्ने र छोरीबुहारीको इज्जत लुट्ने घटनाहरु पटक–पटक बेहोर्नुपर्ने रहेछ त्यहाँका बासिन्दाहरुले । हत्या, बलात्कार र लूटपाटका घटनाहरु सीमा सुरक्षामा खटिएका भारतीय सुरक्षाकर्मीहरुको संलग्नतामा हुँदारहेछन् । यो कुराको न्याय माग्ने ठाउँ त्यहाँका बासिन्दाहरुको निम्ति कतै रहेनछ ।

भारतीयहरुले विभिन्न बहानामा बस्तीमा आएर गरेको ज्यादतिको विरुद्धमा आवाज उठाउनेहरुलाई भूमिगत पार्टीको नाममा हत्या गरिदोरहेछ भारतीयहरुबाटै । रातारात सीमास्तम्भ सारेर बिहान हुँदा सीमापारिका मानिसहरुले आएर आफ्नो खेतबारी जोत्दै गरेको दृश्य पनि त्यहाँका बासिन्दाहरुले  धेरैपटक बेहोर्नुपरेको अवस्था रहेछ । यी सबै घटनाहरुले त्यहाँका बासिन्दाहरुलाई सधैंजसो पिरोले पनि राष्ट्रियताको ठेक्का लिएका नेता र नेपाल सरकारलाई कत्ति पनि दुख्दो रहेनछ । उल्टै यस्तै–यस्तै अवसर पारी सीमापारिका नेताहरुलाई आमन्त्रण गरेर  मदिरापानको आयोजना गरी यहाँका नेताहरुले स्वागत गर्दारहेछन् । यौटा बालप्रतिभालाई हिमालबाट सूर्य उदाउँदै गरेको चित्र कोरेको कारण तत्कालीन अञ्चलाधीशले हिमाल उत्तरतिर हुन्छ, सूर्य त पूर्वबाट पो उदाउँछ, तैले यो के गरेको ? नेपाललाई चीनमा मिस्याउन खोजेको ? जस्ता कुतर्क गरेर सजाय गरेको र उक्त प्रतिभालाई अन्ततः भारतीय प्रहरीहरुले सीमापारिबाट आउँदै गरेका जुम्लीहरुको पक्षमा लागेर आफूसँग झगडा गरेको भन्ने आरोपमा बेपत्ता पारेको घटनाले राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका लागि काम गर्नेलाई सीमापारि र सीमावारि कतैबाट पनि सुरक्षा थिएन र छैन भन्ने कुरा उपन्यासमा स्वाभाविक किसिमले प्रस्तुत गरिएको छ ।

उपन्यास पूर्णरुपले पत्थरपुरवाको बस्तीमा आधारित छ, जो बाँके जिल्लामा पर्दछ । उपन्यास पढिसकेपछि मलाई दाङको दक्षिणतिर पर्ने नाका क्षेत्रलाई सम्झन मन लाग्यो । गत जेठ महिनामा बाँकेको कुसुमबाट पुल तरिसकेपछि ट्रयाक्टरमा चढेर भौवानाकाको विद्यालयमा जाँदा करीव–करीव दाङको नाका क्षेत्र पनि कतिपय सवालहरुमा पत्थरपुरवा जस्तै रहेछ भन्ने बोध भयो । उक्त क्षेत्रमा नेपाली मोबाइलले काम गर्दो रहेनछ । नेपाली रेडियो र पत्रपत्रिकाहरु पनि सुन्न र पढ्न पाइँदोरहेनछ । नेपाली नोट (रुपैयाँ) पनि त्यति प्रयोगमा आउँदो रहेनछन् । अझै भनौं भने वर्षौंदेखि बस्दै आएका नाका क्षेत्रका दङालीहरुसँग आफूले प्रयोग गर्दै आएको जग्गाजमिनको लालपूर्जा पनि रहेनछ । यति हुँदाहुँदै पनि उनीहरु नेपाली हुन् र नेपालको सीमारक्षक पनि हुन् भन्ने कुरा छाती फुकाएर भन्न मन लाग्यो । मैले यसो भन्नुका केही कारणहरु पनि मसँग सुरक्षित छन् ।

प्यारा विद्यार्थी भाइबहिनीहरु, हामी त्यहाँ गएको अवसरमा अभिभावकहरुको भेला गरी नाकाका तपाईँहरुजस्तै भाइबहिनीहरुले गीत र नाच पनि प्रस्तुत गरे । हाम्रा गल्लीगल्ली र टोलटोलमा हिन्दी गीतहरुले साम्राज्य जमाइसकेको अवस्थामा पनि त्यहाँका भाइबहिनीहरुले राष्ट्रिय संस्कृति, राष्ट्रिय भावना र राष्ट्रिय पहिरनमा नेपाली संस्कृति झल्कने गरी नाचे र गीत गाए । त्यहाँका भाइबहिनीहरुलाई राष्ट्रियताको बलियो आधार भनेको राष्ट्रिय संस्कृति र राष्ट्रिय पहिरनको जगेर्ना हो भन्ने कुरा स्पष्ट जानकारी रहेछ ।

भौवानाकामा रहेको शिवशक्ति माध्यमिक विद्यालयको निरीक्षण गर्दा विद्यालयको भौतिक पूर्वाधार पनि राम्रो लाग्यो । सरकारले यदाकदा दिएको थोरै रकमबाट पनि समुदायका मानिसहरुले सक्रिय योगदान गरेर विद्यालय राम्रो बनाएका रहेछन् । सरकारले दिएको रकममा थपथाप गर्नुको सट्टा त्यही रकममा पनि लामो हात गर्नेहरुमध्ये कतिपयले राष्ट्रभक्त र देशभक्त हौं भनेर यदाकदा कुर्लने गरेको देख्दा देशभक्त र राष्ट्रक्तको अर्थ र परिभाषामा समेत चोट परेको स्पष्टै छ । त्यतिमात्र नभएर सरकारको नूनपानी खाएर काठमाडौं उपत्यका छोड्न नचाहने कर्मचारीहरु र सरकारकै नूनपानी खाएर घरछेउको विद्यालयभन्दा बाहिर जान नचाहने शिक्षकहरुले पनि यदाकदा राष्ट्रभक्त र देशभक्त हौं भन्दा मलाई फेरि भन्न मन लाग्छ– राष्ट्रभक्त र देशभक्त हेर्नु छ भने नाका क्षेत्रमा जानुपर्दछ र सीमा क्षेत्रमा छाप्रो बनाएर बस्नुपर्दछ ।  अनि थाहा हुन्छ, राष्ट्रभक्त र देशभक्तको साँचो अर्थ । राष्ट्रभक्त र देशभक्त हुनका लागि कुनै दलको टिकट लिएर पुग्दैन, न त राष्ट्रभक्त र देशभक्तको बारेमा लेखिएका पुस्तक नै अध्ययन गरेर पुग्छ । त्यसका लागि भोग्नुपर्दछ, राष्ट्रभक्त र देशभक्त हुनुको पीडा सीमाबासीले जस्तै र लड्नुपर्दछ देशको राष्ट्रियताका लागि सीमारक्षक भएर सीमाबासी र नाकाबासीले जस्तै । माटो छुन घिनाउनेहरुलाई माटोको माया नभएजस्तै देशको ढुकुटी रित्याएर कंगाल बनाउनेहरुले राष्ट्रियताको संरक्षण गर्छन् भनेर विश्वास गर्ने हामी नै बुद्धु हौं क्या रे ।

प्यारा विद्यार्थी भाइबहिनीहरु, उपन्यासमा वर्णन गरेझै साँच्ची हाम्रो राष्ट्रियता सबैभन्दा कमजोर देखिएको छ यो बेला । मेरो अनुरोध, तपाईँहरुले देश हाँक्ने बेला हाम्रो राष्ट्रियता अहिले जस्तो कमजोर नभएर सशक्त र सुदृढ होओस्, मेरो यही शुभकामना । अहिलेलाई विदा हुन्छु । बाँकी अर्को पत्रमा ।
       
उही तपाईँहरुको शुभेच्छुक

                                                                                                            जीतबहादुर शाह, जि.शि.अ.दाङ

Tuesday, August 7, 2012

लू:आन्चलिक जीवनको सजीव चित्रण-प्रा.राजेन्द्र सुवेदी

प्रा.राजेन्द्र सुवेदी



लू : आन्चलिक जीवनको सजीव चित्रण

( प्रा.राजेन्द्र सुवेदीद्वारा लिखित "समसामयिक नेपाली उपन्यासको अध्ययन"(प्रथम संस्करण,२०६९,पैरवी प्रकाशन)नामक समालोचनाकृतिमा 'नयनराज पाण्डेको उपन्यासकारिता"शीर्षक अन्तर्गत समालोचनामा "लू"बारे लेखिएको एक अध्यायका केही अंशहरु)

लू शीर्षकमा सृजना भएको मध्यम आकृतिको उपन्यास कृति नेपालको दक्षिण पश्चिम सीमावर्ती भूभागको परिवेशमा आधारित सांस्कृतिक,भाषिक,जातिगत,राजनीतिक र आर्थिक जीवनका समस्यालाई आख्यानीकरण गरेर औपन्यासिक रुप प्रदान गर्ने क्रममा निर्माण भएको कृति हो । यथार्थताका साथ सहज विम्बहरु आख्यान बनेर प्रस्तुत भएको उपन्यास.........

जीवनका समग्र यथार्थहरु पनि यहाँ प्रस्तुत भएका देखिन्छन् । झिनामसिना विषय पनि आवश्यकता अनुसार यस उपन्यासमा प्रवेश भएका छन् । समाज त्यस्तै सानातिना र तपसिलका पक्ष बनेर पनि प्रस्तुत भएको देखाइएको छ । दिनचर्या र सांस्कृतिक शैलीका सन्दर्भहरु पनि उपन्यासमा प्रवेश भएका छन् ।........

नेपाली उपन्यासको इतिहासमा पछिल्लो चरण अन्तर्विषयक परिधिमा टिकेको छ । बहुल विषय, बहुल सांस्कृतिक,बहुल परिवेशीय चिन्तनको समन्वय बनेको छ । विषयका विविधता र चिन्तनका सुक्ष्मताको सन्दर्भले पनि उपन्यासको विषय बनेर प्रवेश पाएको छ । नयनराज पाण्डेको उपन्यासकारितामा देखिने आन्चलिक वैशिष्ट्यलाई समेटेर उपन्यास लेख्ने पाण्डेका उलार र लू उपन्यासले नेपालको तराईमा भारतीय खुला सीमाबाट पारिपट्टिबाट प्रविष्ट संस्कृतिको प्रदूषण आर्थिक र राजनीतिक आचरणको लू प्रवेश गरेर नेपालको पर्यावरण प्रदूषित र अस्वस्थकर बनाएको छ भन्ने ठहर गरेको छ । समसामयिक दुर्वृत्तिको सजीव चित्र प्रस्तुत गर्ने यो उपन्यास आन्चलिक दृष्टिले सजीव बनेको छ ।

(पृष्ठ १३४-१४५)

Sunday, August 5, 2012

सीमाभित्रको रुवाउने र सीमाबाहिरको दुखाउने लू:बसन्त विवश आचार्य



– बसन्त विवश आचार्य
(युगबोध दैनिक, दाङमा २०६९ साउन २० गते शनिवार प्रकाशित ।)

उलार  उपन्यास र निदाएँ जगदम्बा कथा संग्रहबाट नेपाली साहित्यमा दरिलो उपस्थिति जनाएका मध्यपश्चिमेली स्रष्टा नयनराज पाण्डेयको साहित्यिक उचाइलाई पछिल्लोपटक प्रकाशित उनको आञ्चलिक उपन्यास ‘लू’ ले निकै माथि पु¥याएको छ । विशेषगरी सिमानाभित्र उपेक्षित र सिमानाबाहिर उत्पीडितहरुको कथालाई अक्षरशिल्पी नयनले औपन्यासिक स्वरुपमा निकै मीठोढंगले उनेका छन् ।

अहिले उपन्यास लेखनीको उभार नै छ । विशेषतः नवीनतम विषयवस्तुमाथिको लेखनी साहित्यको बजारमा बढी महत्वका साथ हेरिने गरिन्छ । नेपाली उपन्यास, कथा अनि कविता अनेक सिर्जनाका स्वरुपमा धेरै कुरा अटाए तर कहिल्यै पनि प्रभावशालीरुपमा सीमाबासीका आँसु र पीडाहरुले ठाउँ पाएनन् । थातथलो सल्यान भए पनि नेपालगगञ्जमा जीवनको महत्वपूर्ण समय बिताएका पाण्डेयले सीमाबासीका पीडालाई मनभरि सजाएका थिए । त्यही पीडा उनको माझिएको शैलीमा औपन्यासिक स्वरुपमा आएको छ ।

अहिलेका चल्तीका उपन्यासको औसत स्वरुप संयोगान्तबाट वियोगान्ततिर बढ्दै गएको हुन्छ तर लू मा इलैयाको मृत्युको खबर अर्थात् वियोगान्तबाट कथा अगाडि बढेको छ । आफ्नै ढिपीमा चल्ने अनि जस्तोसुकै कुरासँग पनि नडराउने इलैया पात्रकै केन्द्रमा उपन्यास घुमेको भए पनि बजरङ्गी, रेडियोलाल, बृजलालजस्ता उसका सहपाठी चरित्रले उपन्यासको पूरै भागभरि आफ्नो दरिलो उपस्थिति जनाएका छन् । भारतसँग सिमाना जोडिएको नेपालगञ्जबाट केही टाढा रहेको पत्थरपुरवा गाउँको पीडादायी कथालाई उपन्यासमा उनिएको छ । भारतीय दमन र पीडाले आक्रान्त पत्थरपुरवावासीहरु हाँस्छन् भारतीय पुलिसको इशारामा अनि रुन्छन् त उनीहरुकै इशारामा । कुनै समय स्वर्गको टुक्रा मानिने कसैले धान थपिदिन्छ अनि कहाँ राख्ने भनेर रातभरि खलिहान कुर्ने पत्थरपुरवाबासीहरुको दिनचर्या बदलिएर बरु लोग्ने मरोस् गाग्रोचाहिँ नफुटोस्सम्मको अत्यन्त पीडादायी अवस्थामा आउँदा राप्तीमा धेरै पानी बग्यो अनि उस्तै पानी बग्यो पत्थरपुरवाबासीका आँखामा पनि । मुख्यतः असगर अलिजस्ता अवसरवादी, जनघाती र भ्रष्ट नेताका कारण शम्भुरामजस्ता भारतीय दलालहरुको सीमाबासीप्रतिको दृष्टिकोण तुच्छ बनेको कुरा उपन्यासले उठाएको छ । सीमामा बस्नुको सबैभन्दा पीडा नेपाली भएर बाँच्नु रहेको छ । बरु ज्यान दिन चाहने तर जनतालाई मुठ्ठीमा राखेर बन्दुक र शक्तिको आडमा तर्साउने अमरसिंहजस्ता गुण्डाको विरोधमा उत्रने  महेशरजस्ता कुकुरको हालत भएर मर्नुका पछाडि नेपाली स्वाभिमानको धज्जी उडाउनु नै हो ।

उपन्यासले सीमाभित्रका युवाहरुका साना तर मीठा सपनाहरुको निकै केरकार गरेको छ । विशेषगरी मुसलमान र हिन्दूबीचको सहिष्णुतालाई उपन्यासले प्रारम्भमा निकै जोडदाररुपमा उठाएको छ भने अन्त्यमा सुन्दर पत्थरपुरवा उजाड्ने मूल चुरो पनि यही जातीय द्वेषमै अडिएको छ । रेडियोलालको सामान्य कमजोरीले उपन्यासको कथा निकै उलटपलट भएको छ । आफूले निकै माया गर्ने श्रीमतीलाई कुनै मुसलमानले भगाएको सुनेर आहत बनेको रेडियोलालले त्यसको दुश्मनीस्वरुप जातीयतासँग जोडेर ठूलै विध्वंश निम्त्याउँछ जसले पत्थरपुरवालाई उजाड बस्तीमा परिणत गरेको छ ।

उपन्यास मूलरुपमा सिमानामा रहेका नेपालीको पीडा र वेदनामाथि केन्द्रित भए पनि उपन्यासमा इलैयाको नुसरतप्रतिको एकोहोरो प्रेमलाई निकै मिठासपूर्ण तवरले चित्रित गरिएको छ । खराब आचरणका कारणले नुसरतका नजरमा कहिल्यै पनि असल बन्न नसकेको इलैयाले उपन्यासको अन्तसम्म पनि नुसरतलाई पाउने सपना बुन्न छाड्दैन । महात्मा गान्धीले कतै भनेका छन्– ‘प्रेम खरावलाई सुधार्ने ओखती हो ।’ सबैको नजरमा गलत बनेको अनि सधै गलत क्रियाकलाप गर्ने इलैया नुसरतको एकोहोरो प्रेमले असल मार्गमा हिड्ने गर्दछ । तथापि नुसरत उसको सपनाभन्दा अगाडि हुन्छे ।

उपन्यासमा निकै कम तर मन छुनेसँग आएको एक पात्र हो चमेली इलैयाकी आमा हरदेईको मृत्यु भएपछि नन्दुले वेश्या काममा फसेकी  चमेलीको सिउँदो रातो पारेर घरमा भिœयाउँछ तर इलैयाले काट्नेसम्मको हविगत देखाएपछि नन्दुसँग ऊ गाउँ छोडेर भाग्छे । सानैमा सर्कसमा बेचिएर माया पाउनबाट बञ्चित चमेलीले नन्दुको माया पनि धेरै समय पाउन सक्तिन । नन्दुले पनि उसलाई छोडेर जान्छे । चमेली बाँकी सबै सम्पत्ति इलैयालाई छाडेर राप्तीको जंघार तर्छे । चमेली अधिकांश नेपाली चेलीको कथा हो, अझ सिमानामा बस्ने चेलीहरुका लागि यो त अति सामान्य कथा हो । जतिसुकै पीडालाई सहजै खप्न अभ्यस्त चमेलीको सोझोपनले मुटुको भित्रै कुनासम्म छुन्छ ।

राति सुत्दा आफ्नो भूमि बिहान उठ्दा भारतको भएका नेपाली जनले भोगेका पीडाहरुलाई यसमा निकै मिहिन तरीकाले केलाइएको छ । हाम्रो वरपरका तर फरक पात्रहरु यसमा समावेश छन् । अझ त्यसमा पनि नेपाली साहित्यमा अत्यन्त कम आएका पात्रहरुलाई यसमा समेटिएको छ र अधिकांश पात्रहरुलाई उनले इमानदारीका साथ निभाएका छन् । कुनै पात्रभित्र पनि नयनराज स्वभाव पोखिएको छैन । स्वयं पात्र नै त्यसमा उभिएको छ  यो उनको लेखनीको सबैभन्दा सशक्त पक्ष हो । अरुको भावनाभित्र पसेर उस्तैगरी लेख्न सक्नु चानचुने कुरा पक्कै पनि होइन । फेरि उपन्यासका हरेक हाइटेक छैनन् सबै सामान्य पात्र छन् जसले गरीवीको अत्यन्त सूक्ष्म अनुभूति गरेका छन् । एकातिर वातावरण लू को प्रभाव अर्कातिर सीमापारिको लूको प्रकोप यही प्रकोपका बीचमा उपन्यासका पात्रहरु दीन, हीन र असहाय बनेका छन् ।

राष्ट्रियताको पक्षमा यतिधेरै आवाज उठाएको कृतिको दुर्वलता नै छ नेपाली साहित्यमा । कृति पढ्दा जति रुवाउँछन् पात्रहरु बेलाबेलामा भित्रैबाट काउकुती पनि लगाएर आउँछन् । कृतिमा हास्यरसको प्रधानताले पढ्न थालेदेखि पढिनसक्दासम्म पुस्तक बन्द गर्न नै मन लाग्दैन । सबैभन्दा उपन्यासको अन्त्य अत्यन्त आकर्षक र नयाँ शैलीको छ यसले उपन्यासको उचाइ बढाउन निकै महत्व राख्छ ।

लू उपन्यासले भारतीय सीमा जोडिएको एउटा गाउँमा भइरहने अत्यन्त दुःखद् तर यथार्थ घटनाको चित्रण गरिएको छ तर उपन्यासलाई रोचक बनाउने निहुँमा केही काल्पनिक र नाटकीय दृश्यहरु पनि उपन्यासमा समेटिएका छन् । यसले उपन्यासलाई पठनीय बनाए पनि यथार्थमूलक उपन्यासलाई केही प्रश्नको घेरामा भने बाँधेको छ । उपन्यासमा नाटकीय दृश्यहरु सबै इलैया पात्रसँग जोडिएका छन् । आफूले हृदयदेखि नै मुटुमा सजाएको नुसरतलाई आफूले साइकल किनिदिएर करिमको जीवनमा जोडिदिनु अलि बढी उदारताजस्तो लाग्छ । त्यस्तै हराएको इलैया ठीक १३ दिनमा किरिया गरिसकेपछि आउनु अनि कैयौं दिन बजारमा हराएर आमा हरदेईको मृत्यु हुने दिन नै टिकिया अनि चुराका साथमा घर फर्कनु पनि अलि नाटकीय लाग्छ । उपन्यासले मुसलमानहरुमात्र सिमानामा पीडित रहेको तस्विरलाई देखाएको छ यसले सिमानाका हिन्दूहरुको पीडामाथि वेवास्ता भएको आभाष हुन्छ । यसलाई केही दृश्यमा लेखकले समेट्न सकेको भए हुने थियो कि ? उपन्यासमा समावेश केही गीत अनि शब्द स्थानीय भाषामा नै छन् जसले गर्दा भाषा नबुझ्नेलाई निकै कठिन पर्दछ । त्यसलाई नेपालीमा पनि लेखिदिएको भए हुने थियो । यस उपन्यासको सबैभन्दा मुख्य अनि जटिल कुरा उपन्यास लेखनी पत्थरपुरवा गाउँ नेपालबाट  शुरु भएको छ भने अन्त्य पत्थरपुरवा उत्तरप्रदेश भारतमा टुङ्गिएको छ । यसलेनेपालको सीमामा कसरी खिया लाग्दै गएको छ भन्ने कुरालाई प्रष्ट पारेको छ ।

नयनराज पाण्डेयको परिचयलाई अझै फराकिलो बनाउन यो उपन्यास सफल छ । यो उपन्यासले सिमानाका दुखेका मुटुलाई केही सान्त्वना अवश्य पनि दिएको छ । यो उपन्यास देश चलाउनेहरुले एकपटक जसरी पनि पढ्नु आवश्यक छ । अहिले पनि दिनप्रतिदिन त्रासमा बाँच्न विवश सिमानाका नेपालीहरुको पक्षमा उपन्यासले बलियो आधार बनाउन सक्छ । सीमापारिको लू को सबैभन्दा प्रभावलाई उपन्यासमा प्रतिकात्मकरुपमा देखाइएको छ ।

मन्थनमा 'लू":खिमु केसी


मन्थनमा ‘लू’
(युगबोध दैनिक ,दाङमा २०६९ साउन २० गते शनिवार प्रकाशित ।)

– खिमु केसी

अंग्रेजी साहित्यको विद्यार्थी भएका कारण पनि जबर्जस्त नाटक, कविता र उपन्यास पढ्नुपथ्र्यो । त्यसैको फलस्वरुप होला पढ्ने क्रममा लेख्ने मन पनि जागेर आयो । जानी नजानी लेख्ने पनि बानी बस्यो । पछिल्लो पटक नयनराज पाण्डेयको उपन्यास लू पढें । मदानी साहित्य समूह नेपालले आज गर्न लागेको उपन्यासकार नयनराज पाण्डेको उपन्यासको समीक्षा तथा अन्तत्र्रिmयाका लागि पनि यो उपन्यास पढ्नु जरुरी भयो । केन्द्रको सदस्यको नाताले पनि यो उपन्यासको गहिरो अध्ययन गर्नुपर्ने थियो । भर्खर–भर्खर किताब किनेर पढ्ने बानीको विकास हुँदै गरेको हाम्रो दाङमा लेखकहरुको सम्मान र रचना रच्नुपर्छ, केही लेख्नुपर्छ भन्ने भावनाको विकास पनि भएको पाइन्छ । त्यसैलाई मध्यनजर राखेर मदानीको जन्म भयो । यसलाई हुर्काउनु, बढाउनु सबैको साझा जिम्मेवारी पनि हो । मदानीमा लू जस्ता उपन्यासको अध्ययन जरुरी छ । भनिन्छ साहित्य समाजको दर्पण हो । पक्कै पनि लू ले समाजको दर्पणको भूमिका निभाएको छ । कसैले आफ्नो सिर्जनालाई फलेको र फुलेको हेर्न चाहन्छ । कसैले पनि आफ्नो रचना तुहिएको हेर्न चाह“दैन । जब आफ्नो कृतिले सकारात्मक रेकर्ड कायम गर्न थाल्छ एउटा लेखकलाई खुशी लाग्छ अनि अर्को कृतिको कल्पना गर्छ । साच्चै लू ले यस्तै रेकर्ड राखेको छ मेरो नजरमा ।

गाउँको एउटा ठाउँलाई आधार बनाएर लेखिएको उपन्यास यथार्थपरक छ । सीमावर्ती क्षेत्रमा हुने ज्यादतिलाई फिलिम हेरे जस्तो गरी शब्दमार्फत प्रस्तुत गरिएको छ लू मा । प्बच िःबचह ले भनेझैं हुने र नहुनेबीच सधैं संघर्ष भइरहन्छ । हुने सधैं नहुनेलाई हेप्न खोज्छ । शोषण गर्न खोज्छ । शोषण जस्तो किसिमको पनि हुनसक्छ । जवर्जस्ती जस्ता कुरा पनि हुनेका लागि सामान्य भएको हुन्छ । शम्भुरामले नुसरतलाई गरेको बलात्कार एउटा उदाहरण हो । आफ्नो नामै परिवर्तन गरेर गरेको ज्यादति साह्रै हिंसक छ । शब्द, बोल्ने शैली र गर्ने व्यवहार साह्रै भद्दा छ हुनेहरुको । गरीवहरुको बस्तीमा एउटा भिलेनको रुपमा आउने अनि आफ्नो खुशी गर्ने एकतर्फी राज गर्नु साहै्र अशोभनीय दृश्यहरु पढ्दा पीडा हुन्छ पाठकहरुलाई । आँसु तप्प खस्छ ।  हुनेहरुले नहुनेको इज्जतलाई खाना नास्ता खाए जस्तो खान खोज्छन् त्यो पनि फ्री मा । गरीवको माया, दया र सद्भावको कुनै कदर छैन । उनीहरु त हुनेका लागि एचष्खबतभ खेलौना हुन् । जतिबेला इच्छा लाग्यो प्रयोग ग¥यो ।

गरीवको माया पनि घामछायाँझैं हुन्छ । इलैयाको आमाको मृत्युपछि । इलैयाको बाबु नन्दुले एउटा गरीव सर्कसवाली चमेलीलाई दोस्रो बिहे गर्छ । त्यो बिहे उनीहरुको लागि अभिशाप बन्छ । गाउँ छाडेर जान बाध्य हुन्छ नन्दु । यस्तै गतिविधिले भरिएको छ यो उपन्यास । इलैयाको उद्दण्ड स्वभावले जीवनमा पाएको दुःख साह्रै पीडादायी छ । मान्छेले अरु कसैको कुभलो चाहनु हुँदैन । मान्छेले अरुको इष्र्या गर्‍यो भने त्यसको पनि एकातिर खस्किन्छ । इलैयाले नुसरत भाइलाई बिगारेकोले गर्दा इलैयाले नुसरतको माया पाउन सक्दैन । इलैयाले नुसरतको माया एकथअजय भाको हुन्छ । नुसरतको माया पाउन उसले नुसरतकी बालसखी देवकीको ठूलो सहयोगका लागि आग्रह गर्छ र पनि नुसरतको  माया पाउन सक्दैन । यसबाट हामीले के थाहा पाउँछौँ भने हामीले जस्तो फल रोप्यो त्यही फल पाउँछौं ।

माया दियो माया पाइन्छ । घृणा दियो घणा पाइन्छ । करिम र नुसरतको गरीवीको माया त्यस्तै सहानुभूति जगाउने खालको छ । एउटा साइकलसँग जोडिएको माया प्रीति फरक किसिमको छ । हिन्दु र मुस्लिमको कहिले मनमा नराम्रा फिलिङ आए पनि एउटै समाजमा बस्दा धर्म निरपेक्षताको पनि यो उपन्यासले देखाएको छ । पढ्दा धेरै पटक आँसु आउँछ । साच्चै समाजको दपर्ण बनेको छ लू ।