लू’ उपन्यास र सीमा क्षेत्रको पीडा
– जितबहादुर शाह
(नागरिक दैनिक,पश्चिमेलीमा २०६९ भदौ २ गते शनिवार र "नयाँ युगबोध दैनिक", दाङमा २०६९ साउन २५ बिहिबार प्रकाशित)
प्यारा विद्यार्थी भाइबहिनीहरु
धेरै–धेरै माया अनि सम्झना ।
तपाईँहरु त अध्ययन गर्नुहुन्छ नै । किनभने तपाईँहरुको पेशा नै अध्ययन हो । म पनि कहिलेकाहीं मन परेको पुस्तकहरु पाएँ भने समय मिलाएर पढ्ने गर्छु । यसैक्रममा दाङका साहित्यकर्मी मित्रहरुबाट नयनराज पाण्डेको ‘लू’ उपन्यास राम्रो छ भन्ने थाहा पाएपछि तुरुन्तै पसलबाट किनेर ल्याएँ र शुरु गरिहालें पढ्न । साँच्ची राम्रो रहेछ उपन्यास । घटनाक्रमहरु र पात्रहरुको सरस, कौतुहलपूर्ण र जीवन्त प्रस्तुतिले उपन्यास पढ्न शुरु गरेपछि नसक्दासम्म छोड्न मन लागेन । यो उपन्यास एउटा साहित्यकारले मात्र लेख्न सम्भव देखिदैन, त्यसका लागि साहित्यकारमा एउटा संस्कृतिविद्, भाषाविद् र समाजशास्त्रीमा हुनुपर्ने अब्बल क्षमताहरु पनि हुनु आवश्यक देखिन्छ । ती सबै क्षमताहरु मध्यपश्चिमेली उपन्यासकार नयनराज पाण्डेले कत्ति पनि अभाव महसुस नहुने गरी भरपूर मात्रामा प्रयोग गर्नुभएको छ । यसका लागि उपन्यासकार नयनराज पाण्डेलाई उहाँले प्रदर्शन गर्नुभएको अब्बल क्षमताको उच्च सम्मान गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।
उपन्यासमा हाम्रो देशको सीमा क्षेत्रका बस्ती र बासिन्दाहरुको दिनचर्या सूक्ष्म एवं चित्रमय भाषामा प्रस्तुत गरिएको छ । उपन्यास पढ्दै जाँदा आँखा रसाए । हामी नेपाली हौं र नेपाली भएर बाँच्न पाउनुपर्छ भन्ने भावना मुटुभरि साँचेका सीमाक्षेत्रका बासिन्दाहरुको पक्षमा राष्ट्रले अहिलेसम्म केही गर्न नसकेको र उल्टै पीडकहरुप्रति नै वफादार हुने गरेको वास्तविकता उपन्यासमा पस्कन कत्ति पनि कञ्जुस्याइँ गरिएको छैन । उपन्यास पढ्दै जाँदा, सीमा क्षेत्रमा सरकारको सकारात्मक उपस्थिति छैन भन्ने कुरा प्रष्ट हुन्छ । गरीवीले खर्लप्पै निलेको छ बस्तीलाई । बेला–बेलामा हुने अनावृष्टि र अतिवृष्टिले पनि खेतीपाती भनेजस्तो हुन नसकेको र बालबालिकाहरुलाई भोकभोकै सुताउनु परेको अवस्थालाई मर्मस्पर्शी किसिमले प्रस्तुत गरिएको छ । राति सुतेको अवस्थामा भोक लाग्यो भनेर छोराछोरी रुँदा आमाले आकाशका तारा देखाएर म भोलि बिहानै ती आकाशमा छरिएर रहेका चामलका कनिकाहरुलाई जम्मा गरेर भात पकाउँछु, अनि अघाउञ्जेल खाने है भनेर सम्झाउँदै गरेको र उपन्यासकारसँग त्यहाँका बासिन्दाहरुले भोक नलाग्ने औषधि हुन्छ कि हुँदैन भनेर सोधेको घटनालाई पढ्न नभ्याउँदै छाती भक्कानिएर आउ“दोरहेछ । उपन्यास पढ्दै गर्दा यो कुराको चेत भयो ।
गरीवीकै कारण त्यहाँका बासिन्दाहरुले आफ्ना साना छोरीहरुलाई खसीबाख्राको मूल्यमा सर्कसवालाहरुलाई बेच्ने गर्दछन् । सर्कसवालाहरुले उनीहरुलाई लिएर पाशविक यातना दिदै सर्कसमा जोखिमपूर्ण काम गराउँछन् र अतृप्त यौन तिर्खा पनि मेट्छन् । विरामी भए र शारीरिक हिसावले अशक्त भए भने ती चेलीहरुलाई बेवारिसे छोडिदिन्छन् सर्कसका मालिकहरु । यो कथा उपन्यासमा वर्णन गरिएको भए तापनि उपन्यासकारले कल्पना गरेको कथा नभई सीमा क्षेत्रको वास्तविक कथा हो । उपन्यासमा चमेलीलाई प्रतिनिधि पात्र बनाएर उपन्यासकारले यो कहालीलाग्दो अवस्थाको पटाक्षेप गरेका छन् । छोरीबुहारीहरु त्यसमा पनि अलि सुन्दर भएर जन्मनु त त्यो बस्तीमा अभिशाप नै हुँदोरहेछ । सीमापारिबाट रातमा आएर विभिन्न बहानामा घरमा डकैती गर्ने, आगजनी गर्ने र छोरीबुहारीको इज्जत लुट्ने घटनाहरु पटक–पटक बेहोर्नुपर्ने रहेछ त्यहाँका बासिन्दाहरुले । हत्या, बलात्कार र लूटपाटका घटनाहरु सीमा सुरक्षामा खटिएका भारतीय सुरक्षाकर्मीहरुको संलग्नतामा हुँदारहेछन् । यो कुराको न्याय माग्ने ठाउँ त्यहाँका बासिन्दाहरुको निम्ति कतै रहेनछ ।
भारतीयहरुले विभिन्न बहानामा बस्तीमा आएर गरेको ज्यादतिको विरुद्धमा आवाज उठाउनेहरुलाई भूमिगत पार्टीको नाममा हत्या गरिदोरहेछ भारतीयहरुबाटै । रातारात सीमास्तम्भ सारेर बिहान हुँदा सीमापारिका मानिसहरुले आएर आफ्नो खेतबारी जोत्दै गरेको दृश्य पनि त्यहाँका बासिन्दाहरुले धेरैपटक बेहोर्नुपरेको अवस्था रहेछ । यी सबै घटनाहरुले त्यहाँका बासिन्दाहरुलाई सधैंजसो पिरोले पनि राष्ट्रियताको ठेक्का लिएका नेता र नेपाल सरकारलाई कत्ति पनि दुख्दो रहेनछ । उल्टै यस्तै–यस्तै अवसर पारी सीमापारिका नेताहरुलाई आमन्त्रण गरेर मदिरापानको आयोजना गरी यहाँका नेताहरुले स्वागत गर्दारहेछन् । यौटा बालप्रतिभालाई हिमालबाट सूर्य उदाउँदै गरेको चित्र कोरेको कारण तत्कालीन अञ्चलाधीशले हिमाल उत्तरतिर हुन्छ, सूर्य त पूर्वबाट पो उदाउँछ, तैले यो के गरेको ? नेपाललाई चीनमा मिस्याउन खोजेको ? जस्ता कुतर्क गरेर सजाय गरेको र उक्त प्रतिभालाई अन्ततः भारतीय प्रहरीहरुले सीमापारिबाट आउँदै गरेका जुम्लीहरुको पक्षमा लागेर आफूसँग झगडा गरेको भन्ने आरोपमा बेपत्ता पारेको घटनाले राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका लागि काम गर्नेलाई सीमापारि र सीमावारि कतैबाट पनि सुरक्षा थिएन र छैन भन्ने कुरा उपन्यासमा स्वाभाविक किसिमले प्रस्तुत गरिएको छ ।
उपन्यास पूर्णरुपले पत्थरपुरवाको बस्तीमा आधारित छ, जो बाँके जिल्लामा पर्दछ । उपन्यास पढिसकेपछि मलाई दाङको दक्षिणतिर पर्ने नाका क्षेत्रलाई सम्झन मन लाग्यो । गत जेठ महिनामा बाँकेको कुसुमबाट पुल तरिसकेपछि ट्रयाक्टरमा चढेर भौवानाकाको विद्यालयमा जाँदा करीव–करीव दाङको नाका क्षेत्र पनि कतिपय सवालहरुमा पत्थरपुरवा जस्तै रहेछ भन्ने बोध भयो । उक्त क्षेत्रमा नेपाली मोबाइलले काम गर्दो रहेनछ । नेपाली रेडियो र पत्रपत्रिकाहरु पनि सुन्न र पढ्न पाइँदोरहेनछ । नेपाली नोट (रुपैयाँ) पनि त्यति प्रयोगमा आउँदो रहेनछन् । अझै भनौं भने वर्षौंदेखि बस्दै आएका नाका क्षेत्रका दङालीहरुसँग आफूले प्रयोग गर्दै आएको जग्गाजमिनको लालपूर्जा पनि रहेनछ । यति हुँदाहुँदै पनि उनीहरु नेपाली हुन् र नेपालको सीमारक्षक पनि हुन् भन्ने कुरा छाती फुकाएर भन्न मन लाग्यो । मैले यसो भन्नुका केही कारणहरु पनि मसँग सुरक्षित छन् ।
प्यारा विद्यार्थी भाइबहिनीहरु, हामी त्यहाँ गएको अवसरमा अभिभावकहरुको भेला गरी नाकाका तपाईँहरुजस्तै भाइबहिनीहरुले गीत र नाच पनि प्रस्तुत गरे । हाम्रा गल्लीगल्ली र टोलटोलमा हिन्दी गीतहरुले साम्राज्य जमाइसकेको अवस्थामा पनि त्यहाँका भाइबहिनीहरुले राष्ट्रिय संस्कृति, राष्ट्रिय भावना र राष्ट्रिय पहिरनमा नेपाली संस्कृति झल्कने गरी नाचे र गीत गाए । त्यहाँका भाइबहिनीहरुलाई राष्ट्रियताको बलियो आधार भनेको राष्ट्रिय संस्कृति र राष्ट्रिय पहिरनको जगेर्ना हो भन्ने कुरा स्पष्ट जानकारी रहेछ ।
भौवानाकामा रहेको शिवशक्ति माध्यमिक विद्यालयको निरीक्षण गर्दा विद्यालयको भौतिक पूर्वाधार पनि राम्रो लाग्यो । सरकारले यदाकदा दिएको थोरै रकमबाट पनि समुदायका मानिसहरुले सक्रिय योगदान गरेर विद्यालय राम्रो बनाएका रहेछन् । सरकारले दिएको रकममा थपथाप गर्नुको सट्टा त्यही रकममा पनि लामो हात गर्नेहरुमध्ये कतिपयले राष्ट्रभक्त र देशभक्त हौं भनेर यदाकदा कुर्लने गरेको देख्दा देशभक्त र राष्ट्रक्तको अर्थ र परिभाषामा समेत चोट परेको स्पष्टै छ । त्यतिमात्र नभएर सरकारको नूनपानी खाएर काठमाडौं उपत्यका छोड्न नचाहने कर्मचारीहरु र सरकारकै नूनपानी खाएर घरछेउको विद्यालयभन्दा बाहिर जान नचाहने शिक्षकहरुले पनि यदाकदा राष्ट्रभक्त र देशभक्त हौं भन्दा मलाई फेरि भन्न मन लाग्छ– राष्ट्रभक्त र देशभक्त हेर्नु छ भने नाका क्षेत्रमा जानुपर्दछ र सीमा क्षेत्रमा छाप्रो बनाएर बस्नुपर्दछ । अनि थाहा हुन्छ, राष्ट्रभक्त र देशभक्तको साँचो अर्थ । राष्ट्रभक्त र देशभक्त हुनका लागि कुनै दलको टिकट लिएर पुग्दैन, न त राष्ट्रभक्त र देशभक्तको बारेमा लेखिएका पुस्तक नै अध्ययन गरेर पुग्छ । त्यसका लागि भोग्नुपर्दछ, राष्ट्रभक्त र देशभक्त हुनुको पीडा सीमाबासीले जस्तै र लड्नुपर्दछ देशको राष्ट्रियताका लागि सीमारक्षक भएर सीमाबासी र नाकाबासीले जस्तै । माटो छुन घिनाउनेहरुलाई माटोको माया नभएजस्तै देशको ढुकुटी रित्याएर कंगाल बनाउनेहरुले राष्ट्रियताको संरक्षण गर्छन् भनेर विश्वास गर्ने हामी नै बुद्धु हौं क्या रे ।
प्यारा विद्यार्थी भाइबहिनीहरु, उपन्यासमा वर्णन गरेझै साँच्ची हाम्रो राष्ट्रियता सबैभन्दा कमजोर देखिएको छ यो बेला । मेरो अनुरोध, तपाईँहरुले देश हाँक्ने बेला हाम्रो राष्ट्रियता अहिले जस्तो कमजोर नभएर सशक्त र सुदृढ होओस्, मेरो यही शुभकामना । अहिलेलाई विदा हुन्छु । बाँकी अर्को पत्रमा ।
उही तपाईँहरुको शुभेच्छुक
जीतबहादुर शाह, जि.शि.अ.दाङ
No comments:
Post a Comment