Sunday, August 5, 2012

सीमाभित्रको रुवाउने र सीमाबाहिरको दुखाउने लू:बसन्त विवश आचार्य



– बसन्त विवश आचार्य
(युगबोध दैनिक, दाङमा २०६९ साउन २० गते शनिवार प्रकाशित ।)

उलार  उपन्यास र निदाएँ जगदम्बा कथा संग्रहबाट नेपाली साहित्यमा दरिलो उपस्थिति जनाएका मध्यपश्चिमेली स्रष्टा नयनराज पाण्डेयको साहित्यिक उचाइलाई पछिल्लोपटक प्रकाशित उनको आञ्चलिक उपन्यास ‘लू’ ले निकै माथि पु¥याएको छ । विशेषगरी सिमानाभित्र उपेक्षित र सिमानाबाहिर उत्पीडितहरुको कथालाई अक्षरशिल्पी नयनले औपन्यासिक स्वरुपमा निकै मीठोढंगले उनेका छन् ।

अहिले उपन्यास लेखनीको उभार नै छ । विशेषतः नवीनतम विषयवस्तुमाथिको लेखनी साहित्यको बजारमा बढी महत्वका साथ हेरिने गरिन्छ । नेपाली उपन्यास, कथा अनि कविता अनेक सिर्जनाका स्वरुपमा धेरै कुरा अटाए तर कहिल्यै पनि प्रभावशालीरुपमा सीमाबासीका आँसु र पीडाहरुले ठाउँ पाएनन् । थातथलो सल्यान भए पनि नेपालगगञ्जमा जीवनको महत्वपूर्ण समय बिताएका पाण्डेयले सीमाबासीका पीडालाई मनभरि सजाएका थिए । त्यही पीडा उनको माझिएको शैलीमा औपन्यासिक स्वरुपमा आएको छ ।

अहिलेका चल्तीका उपन्यासको औसत स्वरुप संयोगान्तबाट वियोगान्ततिर बढ्दै गएको हुन्छ तर लू मा इलैयाको मृत्युको खबर अर्थात् वियोगान्तबाट कथा अगाडि बढेको छ । आफ्नै ढिपीमा चल्ने अनि जस्तोसुकै कुरासँग पनि नडराउने इलैया पात्रकै केन्द्रमा उपन्यास घुमेको भए पनि बजरङ्गी, रेडियोलाल, बृजलालजस्ता उसका सहपाठी चरित्रले उपन्यासको पूरै भागभरि आफ्नो दरिलो उपस्थिति जनाएका छन् । भारतसँग सिमाना जोडिएको नेपालगञ्जबाट केही टाढा रहेको पत्थरपुरवा गाउँको पीडादायी कथालाई उपन्यासमा उनिएको छ । भारतीय दमन र पीडाले आक्रान्त पत्थरपुरवावासीहरु हाँस्छन् भारतीय पुलिसको इशारामा अनि रुन्छन् त उनीहरुकै इशारामा । कुनै समय स्वर्गको टुक्रा मानिने कसैले धान थपिदिन्छ अनि कहाँ राख्ने भनेर रातभरि खलिहान कुर्ने पत्थरपुरवाबासीहरुको दिनचर्या बदलिएर बरु लोग्ने मरोस् गाग्रोचाहिँ नफुटोस्सम्मको अत्यन्त पीडादायी अवस्थामा आउँदा राप्तीमा धेरै पानी बग्यो अनि उस्तै पानी बग्यो पत्थरपुरवाबासीका आँखामा पनि । मुख्यतः असगर अलिजस्ता अवसरवादी, जनघाती र भ्रष्ट नेताका कारण शम्भुरामजस्ता भारतीय दलालहरुको सीमाबासीप्रतिको दृष्टिकोण तुच्छ बनेको कुरा उपन्यासले उठाएको छ । सीमामा बस्नुको सबैभन्दा पीडा नेपाली भएर बाँच्नु रहेको छ । बरु ज्यान दिन चाहने तर जनतालाई मुठ्ठीमा राखेर बन्दुक र शक्तिको आडमा तर्साउने अमरसिंहजस्ता गुण्डाको विरोधमा उत्रने  महेशरजस्ता कुकुरको हालत भएर मर्नुका पछाडि नेपाली स्वाभिमानको धज्जी उडाउनु नै हो ।

उपन्यासले सीमाभित्रका युवाहरुका साना तर मीठा सपनाहरुको निकै केरकार गरेको छ । विशेषगरी मुसलमान र हिन्दूबीचको सहिष्णुतालाई उपन्यासले प्रारम्भमा निकै जोडदाररुपमा उठाएको छ भने अन्त्यमा सुन्दर पत्थरपुरवा उजाड्ने मूल चुरो पनि यही जातीय द्वेषमै अडिएको छ । रेडियोलालको सामान्य कमजोरीले उपन्यासको कथा निकै उलटपलट भएको छ । आफूले निकै माया गर्ने श्रीमतीलाई कुनै मुसलमानले भगाएको सुनेर आहत बनेको रेडियोलालले त्यसको दुश्मनीस्वरुप जातीयतासँग जोडेर ठूलै विध्वंश निम्त्याउँछ जसले पत्थरपुरवालाई उजाड बस्तीमा परिणत गरेको छ ।

उपन्यास मूलरुपमा सिमानामा रहेका नेपालीको पीडा र वेदनामाथि केन्द्रित भए पनि उपन्यासमा इलैयाको नुसरतप्रतिको एकोहोरो प्रेमलाई निकै मिठासपूर्ण तवरले चित्रित गरिएको छ । खराब आचरणका कारणले नुसरतका नजरमा कहिल्यै पनि असल बन्न नसकेको इलैयाले उपन्यासको अन्तसम्म पनि नुसरतलाई पाउने सपना बुन्न छाड्दैन । महात्मा गान्धीले कतै भनेका छन्– ‘प्रेम खरावलाई सुधार्ने ओखती हो ।’ सबैको नजरमा गलत बनेको अनि सधै गलत क्रियाकलाप गर्ने इलैया नुसरतको एकोहोरो प्रेमले असल मार्गमा हिड्ने गर्दछ । तथापि नुसरत उसको सपनाभन्दा अगाडि हुन्छे ।

उपन्यासमा निकै कम तर मन छुनेसँग आएको एक पात्र हो चमेली इलैयाकी आमा हरदेईको मृत्यु भएपछि नन्दुले वेश्या काममा फसेकी  चमेलीको सिउँदो रातो पारेर घरमा भिœयाउँछ तर इलैयाले काट्नेसम्मको हविगत देखाएपछि नन्दुसँग ऊ गाउँ छोडेर भाग्छे । सानैमा सर्कसमा बेचिएर माया पाउनबाट बञ्चित चमेलीले नन्दुको माया पनि धेरै समय पाउन सक्तिन । नन्दुले पनि उसलाई छोडेर जान्छे । चमेली बाँकी सबै सम्पत्ति इलैयालाई छाडेर राप्तीको जंघार तर्छे । चमेली अधिकांश नेपाली चेलीको कथा हो, अझ सिमानामा बस्ने चेलीहरुका लागि यो त अति सामान्य कथा हो । जतिसुकै पीडालाई सहजै खप्न अभ्यस्त चमेलीको सोझोपनले मुटुको भित्रै कुनासम्म छुन्छ ।

राति सुत्दा आफ्नो भूमि बिहान उठ्दा भारतको भएका नेपाली जनले भोगेका पीडाहरुलाई यसमा निकै मिहिन तरीकाले केलाइएको छ । हाम्रो वरपरका तर फरक पात्रहरु यसमा समावेश छन् । अझ त्यसमा पनि नेपाली साहित्यमा अत्यन्त कम आएका पात्रहरुलाई यसमा समेटिएको छ र अधिकांश पात्रहरुलाई उनले इमानदारीका साथ निभाएका छन् । कुनै पात्रभित्र पनि नयनराज स्वभाव पोखिएको छैन । स्वयं पात्र नै त्यसमा उभिएको छ  यो उनको लेखनीको सबैभन्दा सशक्त पक्ष हो । अरुको भावनाभित्र पसेर उस्तैगरी लेख्न सक्नु चानचुने कुरा पक्कै पनि होइन । फेरि उपन्यासका हरेक हाइटेक छैनन् सबै सामान्य पात्र छन् जसले गरीवीको अत्यन्त सूक्ष्म अनुभूति गरेका छन् । एकातिर वातावरण लू को प्रभाव अर्कातिर सीमापारिको लूको प्रकोप यही प्रकोपका बीचमा उपन्यासका पात्रहरु दीन, हीन र असहाय बनेका छन् ।

राष्ट्रियताको पक्षमा यतिधेरै आवाज उठाएको कृतिको दुर्वलता नै छ नेपाली साहित्यमा । कृति पढ्दा जति रुवाउँछन् पात्रहरु बेलाबेलामा भित्रैबाट काउकुती पनि लगाएर आउँछन् । कृतिमा हास्यरसको प्रधानताले पढ्न थालेदेखि पढिनसक्दासम्म पुस्तक बन्द गर्न नै मन लाग्दैन । सबैभन्दा उपन्यासको अन्त्य अत्यन्त आकर्षक र नयाँ शैलीको छ यसले उपन्यासको उचाइ बढाउन निकै महत्व राख्छ ।

लू उपन्यासले भारतीय सीमा जोडिएको एउटा गाउँमा भइरहने अत्यन्त दुःखद् तर यथार्थ घटनाको चित्रण गरिएको छ तर उपन्यासलाई रोचक बनाउने निहुँमा केही काल्पनिक र नाटकीय दृश्यहरु पनि उपन्यासमा समेटिएका छन् । यसले उपन्यासलाई पठनीय बनाए पनि यथार्थमूलक उपन्यासलाई केही प्रश्नको घेरामा भने बाँधेको छ । उपन्यासमा नाटकीय दृश्यहरु सबै इलैया पात्रसँग जोडिएका छन् । आफूले हृदयदेखि नै मुटुमा सजाएको नुसरतलाई आफूले साइकल किनिदिएर करिमको जीवनमा जोडिदिनु अलि बढी उदारताजस्तो लाग्छ । त्यस्तै हराएको इलैया ठीक १३ दिनमा किरिया गरिसकेपछि आउनु अनि कैयौं दिन बजारमा हराएर आमा हरदेईको मृत्यु हुने दिन नै टिकिया अनि चुराका साथमा घर फर्कनु पनि अलि नाटकीय लाग्छ । उपन्यासले मुसलमानहरुमात्र सिमानामा पीडित रहेको तस्विरलाई देखाएको छ यसले सिमानाका हिन्दूहरुको पीडामाथि वेवास्ता भएको आभाष हुन्छ । यसलाई केही दृश्यमा लेखकले समेट्न सकेको भए हुने थियो कि ? उपन्यासमा समावेश केही गीत अनि शब्द स्थानीय भाषामा नै छन् जसले गर्दा भाषा नबुझ्नेलाई निकै कठिन पर्दछ । त्यसलाई नेपालीमा पनि लेखिदिएको भए हुने थियो । यस उपन्यासको सबैभन्दा मुख्य अनि जटिल कुरा उपन्यास लेखनी पत्थरपुरवा गाउँ नेपालबाट  शुरु भएको छ भने अन्त्य पत्थरपुरवा उत्तरप्रदेश भारतमा टुङ्गिएको छ । यसलेनेपालको सीमामा कसरी खिया लाग्दै गएको छ भन्ने कुरालाई प्रष्ट पारेको छ ।

नयनराज पाण्डेयको परिचयलाई अझै फराकिलो बनाउन यो उपन्यास सफल छ । यो उपन्यासले सिमानाका दुखेका मुटुलाई केही सान्त्वना अवश्य पनि दिएको छ । यो उपन्यास देश चलाउनेहरुले एकपटक जसरी पनि पढ्नु आवश्यक छ । अहिले पनि दिनप्रतिदिन त्रासमा बाँच्न विवश सिमानाका नेपालीहरुको पक्षमा उपन्यासले बलियो आधार बनाउन सक्छ । सीमापारिको लू को सबैभन्दा प्रभावलाई उपन्यासमा प्रतिकात्मकरुपमा देखाइएको छ ।

No comments:

Post a Comment