Wednesday, August 22, 2012

कविता-छद्म


कविता

छद्म
                                                                                       नयनराज पाण्डे

कविताको मृत्युमा
आजसम्म
मरेको छैन कुनै कवि ।
ईश्वरलाई मृत घोषणा गर्‍यो  
कविता मरेको घोषणा पनि गर्‍यो 
तर आजसम्म 
आफ्नु मृत्युको घोषणा गरेको छैन
कुनै कविले ।

भनेपछि
कवितालाई
कहिले पो माया गरेको रहेछ र कविले ?
उसले त कवितालाई
आफू माथि  माथि उक्लने भर्‍याङ्ग पो बनाएको रहेछ
आफू अमर हुने प्रपन्च पो रचेको रहेछ उसले 
बडो योजनाबद्ध ढङ्गले ।
तर बुझ्नु पर्ने एउटा कुरा
बुझेकै रहेनछ कविले
कि-
कविता मरेर
कुनै कवि बाँचेको छैन
आजसम्म ।
(२०६९ साउन ३ । बुधवार । July 18, 2012)

No comments:

Post a Comment