Saturday, February 25, 2012

लघुकथा-शान्तिवार्ता


शान्तिवार्ता

नयन

शान्तिवार्तामा हात हालाहालै भएपछि शान्तिदेवी वार्तास्थलबाट बाहिरिन् । बाहिर सैनिकले उनलाई समात्यो र बलात्कार गर्‍यो । उनी रुँदै  वार्तास्थलमा फर्किन् । उनैको ठीक अगाडि त्यही सैनिक बसेको थियो । मुसुमुसु हाँस्दै । हतियारसहित । वार्तामा । 
(२०६८ फागुन १४ आइतवार) 

Thursday, February 23, 2012

अन्तर्वार्ता-नयाँ पत्रिका


My First Novel-मेरो पहिलो उपन्यास- नाङ्गो मान्छेको डायरी-वि.सं २०४४ मा प्रकाशित


Articals and Interviews




उलारका तीन संस्करण ।


कथा संग्रह-२०६५


उलारको २०६५ मा प्रकाशित दोस्रो संस्करण ।


उलारको 'अबधी'अनुवाद । वि.सं २०६६ मा प्रकाशित ।


उलारको पहिलो संस्करण-२०५५ सालमा प्रकाशित । आवरण चित्र: श्यामल


Thursday, February 16, 2012

' निदाएँ जगदम्बा'बारे गोरखापत्रमा प्रकाशित टिप्पणी



समाजमा व्याप्त विद्यमान विसङ्गतिहरू प्रतिको तीव्र आक्रोशलाई शब्द मार्फत व्यक्त गर्न सिपालु साहित्यकार नयनराज पाण्डेले यस्तै अभिव्यक्तिको स्वरहरूलाई सङ्कलित गर्दै प्रकाशित गर्नु भएको छ कथासङ्ग्रह 'निदाएँ जगदम्बा' ।

समाजमा व्याप्त सामाजिक बेथिति बिरुद्धको आफ्नो असन्तुष्टिलाई फरक फरक धारका १७ कथाक्रममा समाहित उक्त सङ्ग्रह कथाकार पाण्डेकै शब्दमा भन्नुपर्दा समाजमा प्रकट तर अदृश्य रहेका मैमत्त महाशयहरू विरुद्धको लडाई पनि हो । जति पढ्यो उति नै पाठकलाई उत्साहित बनाउने सङ्ग्रहभित्रका हरेक कथाहरूले एउटा सिङ्गो समाज, जीवन र वर्तमान सन्दर्भको प्रतिनिधित्व गरेजस्तो आभाष हुने कथाका पात्रहरूलाई झन् समाजका संगति र असङ्गतिहरूसँग साक्षात्कार गराएर प्रस्तुत गरिएको छ ।
आफ्नो सिर्जनामार्फत नै सामाजिक क्रान्ति गर्न चाहने लेखक भन्नुहुन्छ- "कथामा उ नाङ्गो भएर आओस् तर नङ्ग्याओस् समाजका ती टाठाबाठाहरूलाई, जसले आफूमाथि हैकम चलाउने र रजाइँ गर्न हरामी मालिकहरूलाई चिनोस् र चिनाओस् ।'

कथाभित्र आम मान्छेका दुःख, पीर, गरिबी र अभावका कुराहरूको सुनुवाई भएको छ । कथाकारको पनि गरिबका छटपटी, मलिन र मैलो अनुहारले गरेका सङ्घर्षहरू समाजका सुकिलावर्गलाई देखाउने ध्येय कथाभित्र मुखरित भएको छ ।

Wednesday, February 15, 2012

'निदाएँ जगदम्बा' बारे नारायण ढकाल


'निदाएँ जगदम्बा' कथाका बारेमा नारायण ढकालको प्रतिक्रिया ।

कहिले काँही मैले लेख्नु पर्ने रचना अर्कैले लेखिसकेको हुन्छ । कथाकार मित्र नयनराज पाण्डेले त्यस्तै गरे यो कथामा । कथा पढिसकेपछि मलाई लाग्यो—‘म किन ढिला भएँ ? जुन भावभूमिमा नयनले एउटा शक्तिशाली संरचना बनाए,त्यो मेरो पनि त हो ।’
मैले यो कुरा धेरै मित्रहरुलाई पनि भनेँ । नयन पहिला भए । अझ मैले यही कथा लेखेको भए यति प्रभावकारी हुने पनि थिएन । कथाद्वारा समयलाई यसरी तिक्ष्णरुपमा व्यक्ति गर्नसक्ने शिल्प ममा छैन । राजनीतिक कथाहरु म पनि लेख्छु । तर म यसरी सरल,सहज र चुस्त व्यंगात्मक भंगिमा निर्माण गरेर आफ्ना कुराहरु भन्न असमर्थ छु ।
प्रतिगमन र त्यसको सिंगो साँस्कृतिक धरातलको शवपरीक्षा गरेको छ यो कथाले । त्यसो त नयन मेरो जमानाको कथाको एउटा होनहार चरित्रनायक नै हुन् । उनका अन्य धेरै कथाहरु श्रेष्ठतम् कोटीका छन् । तर म अहिलेसम्म यही कथाले बढी रन्थनिएको छु । यो कथा पढेपछि मलाई चेखोबको ‘छेपारो’ को स्मरण हुन्छ । फरक समयमा, फरक किसिमले पनि त्यस्तो उचाइ छुन सकिनेरहेछ ।

(शब्द-संयोजन,२०६२ साउनमा प्रकाशित)

Tuesday, February 14, 2012

लघुकथा-राजनीति




मरेको मान्छेलाई भोक लाग्यो । उसले छटपटिँदै भन्यो-
“मर्न पाए पनि हुन्थ्यो ।“
नजिकै मरेका नेताहरु थिए । उनीहरुले त्यसको कुरा सुने । उनीहरुले उसको पीडालाई अवसरको रुपमा लिए । र तुरुन्तै मरेका मान्छेहरुलाई जम्मा गरेर भाषण गरे-
“हामी ज्युँदा मान्छेहरुले त्यसलाई मर्न दिनु हुँदैन ।“
०००

(२०६९ फागुन ३ बुधबार)

Sunday, February 12, 2012

२०५२ सालको डायरीबाट

(अचानक किताबहरुको चाङमा पुरानो डायरी फेला पारेँ । केही कविताहरु पनि त्यसैमा रहेछ । अनियमित ढंगले २०५२ सालका केही निजी घटनाहरुको टिपोट गरेको रहेछु । एउटा सानो तर रोचक प्रसंगको यहाँ उल्लेख गरेको छु ।)

२०५२ ।९।१८ मंगलबार

आजदेखि एउटा उपन्यास थालेको छु । आजै करिब २९ पेज लेखेँ । निकै साधारण र सांकेतिक विषयवस्तु उठाएको छु ।

२०५२।९।१९ बुधबार

उपन्यास लेख्ने क्रम आज पनि जारी राखेँ ।४५ पेजसम्म लेखेँ । डा.संजिव ढुंगेलकहाँ गएर चेकअप(स्वास्थ्य) गराएँ । ईसिजी पनि गराएँ । केही रैनछ । धेरै दिनदेखिको शंकाको समाधान गरियो । औषधि केही लिइन ।

एउटा ७-८ भागको टिभी स्क्रिप्ट पनि शुरु गरेँ । १८ पेज जति लेखेँ ।

२०५२।९।२०

स्क्रिप्टको फस्ट एपिशोड पूरा गरेँ । र उपन्यास ५० पेजसम्म लेखेँ ।

२०५२।९।२१ शुक्रबार

उपन्यास पूरा गरेँ । ६२ पेज । लघु उपन्यास । नाम राखेको छैन । "अब नरुने"....वा "अबदेखि नरुने" कस्तो होला सोच्दैछु ।

(तर पछि यो उपन्यासको शीर्षक "उलार"राखियो । २०५३ सालमा "तन्नेरी"द्‍वैमासिकमा पूरै छापियो । २०५५ सालमा पुस्तकाकारमा निस्कियो । )

कविता-जिन्दगीलाई



तिमी चश्मा लगाएर हेर्छौ
म नाङ्गो आँखाले हेर्छु ।

तिमी पन्जा लगाएको हातले छाम्छौ
म नाङ्गो हातले स्पर्श गर्छु ।

तिमी बूट लगाएर कुल्चँदै हिँड्छौ
म रित्तो पाइतालाले टेक्छु ।

तिमी मन्दिरमा पूजा गर्छौ
                           म अँध्यारो कोठामा कुपी बालेर पर्खन्छु ।

आ-आफ्नो क्षमता
आ-आफ्नो हैसियत
आ-आफ्नो सोचको कुरा हो मित्र,
आत्तिएर भाग्छौ प्राय: जिन्दगीसित तिमी
र म सधैँ झगडा गर्छु जिन्दगीसित ।
(२०५२।९।११ मंगलबार)(गोरखापत्रमा २०६६ जेठ ३० शनिवारमा प्रकाशित ।)

कविता-टुक्रा टुक्रा अक्षरहरु



टुक्रा टुक्रा अक्षरहरु
साना नानीहरुका सिलेटमा
छरपष्ट छन्,
टुक्रा टुक्रा अक्षरहरु
कति मीठा गीतहरु बन्छन्
बालकका तोते बोलीहरुमा ।

टुक्रा टुक्रा अक्षरहरु
जोडिएर कैले गीतहरु बने
कैले प्रितहरु बने ।
जोडिएरै शब्द बने
वाक्य बने
अनि नाराहरु पनि बने
अनि प्रार्थनाहरु पनि बने ।

भाँच्चिएका अक्षरहरुलाई
झन् धेरैपटक भाँचकुच पारियो
ट्राफिक सिग्नलमा झैँ
कहिले दायाँ दौडाइयो
कहिले बायाँ दौडाइयो ।
उन्मुक्त भएर अक्षरहरुले
आफ्नै बोली सुन्न नपाएको
थाहा छ तपाईँलाई कति भयो ?

कतिपटक वक्तव्य बनाइयो
कतिपटक घोषणापत्र बनाइयो
कतिपटक संविधान बनाइयो
कतिपटक धन्यवाद प्रस्ताव बनाइयो
कतिपटक गोप्य परिपत्र
कतिपटक समर्थन बनाइयो
कतिपटक विरोध ।
लु भन्नुस् त
अक्षरहरुलाई मुटुको स्पन्दन नबनाएको
कति भयो ?
लु भन्नुस्त-
अक्षरहरुलाई कविता नबनाएको
कति भयो ?
मिति थाहा छ भने भन्नुस्-
कहिलेदेखि अक्षरहरुको विभाजन
र कहिलेदेखि अक्षरहरुको हत्या शुरु भयो ?
(२०५१ माघ २७ । बगरमा २०५२मा प्रकाशित ।)

कविता-केही मान्छेहरु


केही मान्छेहरु
कवितामा सुद्धा रोएर बाँच्छन्,
केही मान्छेहरु
विचारमा सुद्धा रोएर बाँच्छन् ।

समृद्ध कोठामा बस्दा पनि
केही मान्छेहरु दरिद्र देखिन्छन्,
खल्तीमा राखेर पनि नोटमा बिटाहरु
केही मान्छेहरु ज्यादै गरिब देखिन्छन् ।

केही मान्छेहरु
बोकेर नागरिकताको परिचयपत्र
तर पनि परिचयहीन देखिन्छन् ।

केही मान्छेहरु
मान्छेलाई छाडेर
आकाशमा उभिन्छन्
र पनि खाल्टोमा देखिन्छन् ।
(२०५२।९।१० सोमबार)

Thursday, February 9, 2012

कविता- प्रश्न

किन नबलेको आगो
हामीभित्र,
के हामी सलाईका ओसिएका बट्टा हौँ ?

Wednesday, February 8, 2012

कविता-दोष

समयसित


हिँड्न जान्दैनन् 


र भन्छन्-


समयले साथ दिएन ।

Tuesday, February 7, 2012

कविता-बाटो

बाटो, 
जति फराकिलो भए पनि,
हिँड्नेहरुले त सधैँ 
छेउ लागेरै हिँड्नु  पर्दोरहेछ ।

Monday, February 6, 2012

कविता-रुपान्तरण






जङ्गलको बाघले 
सिंहदरबारको क्यान्टिनमा 
शहरका मान्छेहरुसित बसेर
मासुभात खायो, 
र कुकुरले जस्तो भुक्न थाल्यो ।

Thursday, February 2, 2012

कविता-लाचार

लाचार
आगो छ
हामीभित्र,
तर लाहाको घरभित्र बसेको दानव
निर्धक्क हाँसिरहेछ,
र हामी डढिरहेछौँ ।
                                                    (२०६८-१०-१९)

कविता-लाचार-२


लाचार
एकपटक त समय
मसित पनि हुन्छ,
एकपटक त समय
तिमीसित पनि हुन्छ ।
त्यसपछि समय
कोसित हुन्छ ?
००
पटक पटक माया गर्‍यौँ
पटक पटक चुम्बन गर्‍यौँ
वाचा गर्‍यौँ र फेरि माया गर्‍यौँ ।
लगातार सन्तान पायौँ
लगातार वन्ध्याकरणका योजनाहरु बनायौँ,
लगातार विफल भयौँ
र फेरि योजना बनायौँ ।
००
देशको चिन्ता गर्‍यौँ
सन्तानको चिन्ता गर्‍यौँ
केही थान क्रान्तिका कविताहरु पनि लेख्यौँ
००
यो पनि गर्‍यौँ,
त्यो पनि गर्‍यौँ
तर खासमा हामीले के गर्‍यौँ ?????
                              (२०५६-५-२८ सोमवार)

कविता-सम्भावना

सम्भावना

म आगो हुन सकेको भए
आजसम्म
डढेर खरानी भैसक्ने थिए,
नयाँ सम्राटहरुका
नयाँ नयाँ महलहरु,
र त्यहाँ तयार भैसक्ने थियो
एउटा सुन्दर बगैचा
जहाँ खेल्ने थिए
मेरा र तिम्रा कलिला सन्तानहरु ।
                                                                         (२०६८-माघ-१९ बिहिबार)

Wednesday, February 1, 2012

कविता- ढोका खोल्नुस् ।





खोल्नुस् ढोका
तपाईँको सिंहदरबारको ,
मलाई
पिसाबले च्यापेको छ ।
                                           (रचना मिति-२०६८ माघ १८)