Sunday, February 12, 2012

कविता-टुक्रा टुक्रा अक्षरहरु



टुक्रा टुक्रा अक्षरहरु
साना नानीहरुका सिलेटमा
छरपष्ट छन्,
टुक्रा टुक्रा अक्षरहरु
कति मीठा गीतहरु बन्छन्
बालकका तोते बोलीहरुमा ।

टुक्रा टुक्रा अक्षरहरु
जोडिएर कैले गीतहरु बने
कैले प्रितहरु बने ।
जोडिएरै शब्द बने
वाक्य बने
अनि नाराहरु पनि बने
अनि प्रार्थनाहरु पनि बने ।

भाँच्चिएका अक्षरहरुलाई
झन् धेरैपटक भाँचकुच पारियो
ट्राफिक सिग्नलमा झैँ
कहिले दायाँ दौडाइयो
कहिले बायाँ दौडाइयो ।
उन्मुक्त भएर अक्षरहरुले
आफ्नै बोली सुन्न नपाएको
थाहा छ तपाईँलाई कति भयो ?

कतिपटक वक्तव्य बनाइयो
कतिपटक घोषणापत्र बनाइयो
कतिपटक संविधान बनाइयो
कतिपटक धन्यवाद प्रस्ताव बनाइयो
कतिपटक गोप्य परिपत्र
कतिपटक समर्थन बनाइयो
कतिपटक विरोध ।
लु भन्नुस् त
अक्षरहरुलाई मुटुको स्पन्दन नबनाएको
कति भयो ?
लु भन्नुस्त-
अक्षरहरुलाई कविता नबनाएको
कति भयो ?
मिति थाहा छ भने भन्नुस्-
कहिलेदेखि अक्षरहरुको विभाजन
र कहिलेदेखि अक्षरहरुको हत्या शुरु भयो ?
(२०५१ माघ २७ । बगरमा २०५२मा प्रकाशित ।)

No comments:

Post a Comment