Tuesday, June 5, 2012

"लू" बारे साहित्यकार तथा मित्र कुमुद अधिकारीको चिट्ठी


नयनराजजी,

लूँ पढिसकेँ। पहिले त छोरीले पढी, रूँदै थिई र म गिज्याउँदै थिएँ। तर मैले किताब समातेपछि त तपाईँका अक्षरैले हो कि केले हो, आँखामा पानीपो ल्याइदिएछन्। बन्धुको किताब मागेर ल्याएको थियो, धूलोको कण पनि नलाउने सर्तमा तर भित्री पानामा त तप..तप.. पानी चुहिसकेछन्। बन्धुलाई म के भनूँ, किन यस्तो भो नयनराजजी ?

मैले उलार पढेको छैन, तर तपाईँको कथाकृति 'निदाएँ जगदम्बा' को शीर्ष कथा निदाएँ जगदम्बा म कहिल्यै पढेर थाक्तिनँ। तपाईँको कथाशिल्पको उत्कृष्ठ नमूना त्यो कथा बनेको छ। हामी जोई पोई बारम्बार त्यस कथाको चर्चा गरिरहन्छौँ।

लूँ पढिरहँदा मैले आफैँले बचपन गुजारेको दार्जीलिङ सम्झिएँ। पढून्जेल सम्झिएँ र अझै सम्झिरहेको छु। मलाई थाहा छ, मुसलमानहरूलाई मियाँ भनेर हेप्छन् हाम्रा मान्छे। तर सच्चा मुसलमान जत्तिको असल मानिस बत्ती बालेर खोज्दा पनि भेटिन्न। दार्जीलिङमा हाम्रो घर रकउड वा छोटाकागझोडा भन्ने ठाउँमा भीरमा थियो। हाम्रै घरको उत्तरपट्टिको घर मुहम्मद अङ्कलको थियो। अनवरलाई पढ्दा मैले असाध्यै मुहम्मद अङ्कललाई सम्झिएँ। हामीले भर्खरै बनाएको घरमा बिजुली थिएन। मट्टितेलको बत्ती बालेको देखेर मुहम्मद अङ्कल आफैँले बिजुलीको तार लिएर आउनु भयो र बुबालाई भन्नुभयो - 'सर, यसरी किरासिन ल्याम्प बालेर कसरी पढ्नुलेख्न गर्नुहुन्छ, यी लिनुस् तार छ, मिस्त्री बोलाएर तीनवटा होल्डर कस्न लाउनुहोस् र बाल्नुहोस् बिजुलीबत्ती। महिनाको दस रूपैयाँ तिर्नु जति बाले पनि हुन्छ।

बुबाले अनकनाउँदै तार जोड्न लगाउनुभो। हाम्रा घरमा बत्ती बल्यो। हाम्रो घरमा पहिलो उज्यालो छिराउने काम मुहम्मद अङ्कलले नै गर्नुभयो। मुहम्मद अङ्कलका छोरा थिए, समीर ठ्याक्कै सलिमजस्तै। मेरै हमउम्र। म हाइस्कुल पढ्थेँ, उनी अन्तै। तर हामी एउटै क्लासका थियौँ। समीरकी बहिनी थिइन् - सलमा ठ्याक्कै नुसरतजस्तै राम्री। मेरी पनि बहिनी भइन्।

सलमा र समीर मेरा घनिष्ट। उनीहरूको घर म जानु र उनीहरू मेरा घर आउनु सामान्य कुरा थियो। सेवई को कुरा गर्नु भयो नि नयनराजजी, मेरो मुखमा त्यही स्वादिलो सेवई आइपुग्यो जो समीर र सलमाले हाम्रा घरमा प्रत्येक चाडमा ल्याइदिन्थे। सलमाले रक्षाबन्धनका दिन मेरो र समीरको हातमा राखी बाँध्थिन्। हामी दुई राखी टल्काउँदै स्टेसन डुल्न जान्थ्यौँ। छेवैको धीरधाम मन्दिर गएर शिवजीको दर्शन गर्थ्यौँ। प्राजयसो शुक्रवार म समीरसँगै चोकबजार मुन्तिरको मस्जिद जान्थ्यौँ। घुँडा टेकेर प्रार्थना गर्थ्यौँ। मलाई उर्दू आउँदैन थियो, समीरलाई पनि हाम्रा श्लोक आउँदैन थिए तर हाम्रो प्रार्थनामा गजबको शक्ति थियो नयनराजजी। हाम्रो प्रार्थना अल्लाह तालाले पनि सुन्नुहुन्थ्यो, भगवान् शिवले पनि सुन्नुहुन्थ्यो।

थाहा छ नयनराजजी, नुसरतजस्तै सलमा हाँस्दा मैले रकउडका पाखाभरी गुराँस फुलेको देखेको छु। समीरको उन्मुक्त अट्टहास हुँदा हामीमाथिको बादल हटेर सूरजले हामीमाथि रोशनी फ्याँक्थ्यो। समीर र मेरा हातहरू साङ्लाका कडीजस्ता गासिँएका हुन्थे। हासेन हुसेनमा म पनि उसँगै डान्डिया लिएर निस्कन्थे र बजारबजार डुल्थेँ। शिवरात्रीका दिन हामी महाँकाल गएर दर्शन गर्थ्यौँ। अनि फेरि धीरधाम घुम्दै मस्जिद पुग्थ्यौँ। सँगै मोहम्मद गल्लीका चना चबाउँथ्यौँ। घिर्लिङको बाटो हुँदै मस्जिद पुग्थ्यौँ।

समीर र ममा केही अन्तर त थिएन र छैन हैन नयनराजजी ! उसको र मेरो छालाको रङ एउटै, रगत एउटै सबैथोक एउटै।

चोकबजार मन्तिरको मस्जिदबाट आउने अल्लाह हो अकबर, अल्लाह हो अकबर त्यत्तिकै पवित्र र राम्रो सुनिन्थ्यो। मलाई समीरका अल्लाह र हाम्रा भगवान अलग्गै पटक्कै लाग्दैन थिए। समीर हाम्रै भाषा बोल्थ्यो, सलमा हाम्रै स्कुल पढ्थी। समीर सलमा र म सँगै गएर जुलाई तेह्र तारिख चौरस्तामा भानुभक्तको रामायण वाचन गर्थ्यौँ - एकदिन नारद सत्यलोक पुगिगया लोकको गरूँ हित भनी..।

समीरले हाम्रै भाषा आन्दोलनमा पनि नारा घन्काएको छ नयनराजजी। भाषा हाम्रो प्राण हो, भाषा हामीलाई चाहिन्छ चाहिन्छ। समीर हाम्रै भाषा बोल्छ।

उफ ! म त लू पो पढिरहेको छु त। कहाँबाट म मुहम्मद अङ्कल, समीर र सलमाका कुरा सम्झिन पुगेँ। दार्जीलिङ छोडेको पच्चीस वर्षपछि ती बचपनका दिन कसरी फिरे फिरे नयनराजजी। करिम, अनवर र नुसरतले मलाई फेरि त्यहीँ पुर्या्ए। म त्यहीँ पुगेँ। कहिले बिर्सिन सक्छु र रकउडको पाखाभरी फुलेका लागीगुराँश, तल छ्याङ, छ्याङ गर्दै खस्ने भिक्टोरिया फल्स अनि समीर र मेरो दोस्ती।

लू त तपाईँ हाम्रै वेदना भयो हैन र ? अमरपालसिँह र शम्भुनाथजस्ता कुत्सित व्यक्तिहरू, हाम्रा नेता र तिनका भरौटेहरू, तल्लापट्टिको हेपाई, यी सबै मानवतालाई कहाँ हेरेका छन् र ? यिनका नजरमा त मात्रै पद र पैसा छ। त्यसभन्दा माथिको केही छैन।

टुटे पण्डितको नुस्खा र ग्रहदशा, बृजलालको दुर्गामाताको मूर्ति बनाउने धन्धा, महेशर, इलैया आदि जीवन्तता सच्चा प्रतिरूप हुन्।

खै.... अरू के लेखूँ र मनमा कति हो कति कुरा छन् तर जति भए नि ती अक्षरमा आउँदैनन्।

सादर,
तपाईँकै कुमुद।

No comments:

Post a Comment