Friday, June 15, 2012

देखिने कथाहरु-क्यासल रककी अप्सरा



देखिने कथाहरु
                                                —नयनराज पाण्डे


(कान्तिपुर दैनिकको २०६९ असार २गतेको "कोसेली"मा प्रकाशित)

हालका वर्षहरुमा डायस्पोरिक कथा साहित्यमा कृतिहरु लगालग प्रकाशित भैरहेका छन् । कृतिहरु यसरी आउनु नराम्रो कुरा हुँदै होइन । नेपाली भाषा साहित्यको सेवा नै भैरहेको छ भनेर चित्त बुझाउने बलियो आधार पनि हामीसित छ । तर जब प्रायः डायस्पोरिक भनिएका कथाहरुमा झण्डै एकै खालका विषय वस्त देखिन थाल्छन्, बेस्वादको क्रम यहीँबाट शुरु हुन्छ । आप्रवासी बूढाबूढीको एकाकीपन, लोग्नेस्वास्नीबीच ब्यस्तताले ल्याएको तनाब र त्यसले सम्बन्धमा पारिरहेको प्रभाव, छोराछोरी र बाउआमाबीचको स्नेहहीन सम्बन्धको तीतोपन र नेपाली पुरुष वा स्त्रीले त्यहीँको पुरुष वा स्त्रीसित वैवाहिक सम्बन्ध राखेपछिका समस्याहरु । धेरथोर यही र यस्तै खालका कथानकहरु हल्का पात्र , परिवेश र कलेवर बदलिएर साहित्य बजारमा आइरहेका छन् । हुन त डायस्पोरिक लेखनको चरित्र यही नै पनि होला । आफ्नो जमिनसित काटिएपछि डायस्पोरिक साहित्यकारले देखेको भोगेको यथार्थ लगभग यही नै होला पनि । यस्तो हुनुलाई मैले कुनै खतरनाक साहित्यिक अपराधको रुपमा वा डायस्पोरिक लेखकहरुको विशाल कमजोरीको रुपमा लिएको पनि छैन । डायस्पोरिक लेखनका आफ्नै खालका समस्या र सीमाहरु हुनसक्छन् । त्यसको विश्लेषण हुँदै जाला ।

जब कथाकार सुन्दर जोशीको नवीनतम कथाकृति ”क्यासल रककी अप्सरा” मेरो हातमा पर्यो,यतिन्जेलसम्म म डायस्पोरिक लेखनप्रति एकखालको पूर्वाग्रहले हदैसम्म पीडित थिएँ । त्यसैले केही दिन मैले ”क्यासल रककी अप्सरा”प्रति कुनै आशक्ति देखाइन । तर एक बिहान अलिक बेग्लै खालको मूडमा भएको बेला आफ्नो टेबल अगाडिको यो कथाकृतिलाई हातमा लिएँ र यसको पहिलो कथाको पहिलो वाक्य पढेँ—

”साउथ बिचको एउटा रेस्टरेन्टमा हामी विशाल सागरको बगरभरि आँखा छरेर बसिरहेका थियौँ ।”

बस्, यही वाक्यसँगै यसका कथाहरुप्रति म गजबले आकर्षित हुँदै गएँ । निकैपछि मैले कथामा नेपाली भाषा र बिम्बहरुको नयाँ बान्की अनुभव गर्न थालेँ । सहज शैली र काब्यात्मक प्रस्तुतिको मज्जा पनि गतिलै ढंगले लिन थालेँ । मैले सुन्दर जोशीका यसअघि एउटै पनि रचना पढेको थिइनँ । तर जब मैले ”क्यासल रककी अप्सरा”का कथाहरु एकपछि अर्को छिचोल्दै गएँ, मेरो यस कथाकृतिका लेखक र उनको कलमसित एकदमै आत्मीय सम्बन्ध स्थापित भयो । एउटा कथाले पाठकलाई कुन हदसम्मको तृप्ति दिनसक्छ, यसको गतिलो उदाहरण हो यो संग्रह ।

संग्रहका सबै कथा डायस्पोरिक परिवेशकै छन् । हामीले नदेखेका सडक, गल्ली, बजार, समद्रका किनारा वा अंग्रेजी नामका पहाडी बाटाहरु यसमा पनि छन् । यसमा पनि काला, गोरा पात्रहरु छन् । तर पनि किन फरक लागे त मलाई यी कथाहरु ? मैले आफैसित यसको उत्तर खोज्न थालेँ । मैले आफ्नै खाले विश्लेषण गरेँ र केही निचोड निकालेँ ।

सुन्दर जोशीका यस संग्रहमा भएका कथाहरुमा प्रयुक्त भाषा एकदमै ताजा लाग्दछ । अलिअलि वास्नादार,बिहानीको मुलायम खालको चिसोपन मिसिएको र अँजिरको वाइनको मिठास घोलिएको । त्यतिमात्र हैन, भाषालाई छाम्दा लाग्छ, कताकता उम्दा संगीतकारको मदहोश पार्ने संगीत पनि ती भाषाहरुमा गाँसिएका भएका छन् र यसले एउटा रोमान्चक सिम्फोनीको सिर्जना भएको छ । भाषामा एक खालको परिपक्वता छ । सहज र सरल बिम्बहरुको प्रयोगले कथाभित्र काब्यात्मकताले रसिलो प्रवेश पाएको छ र त्यसले पाठकलाई मन्त्रमुग्ध पनि पार्दछ । अतिरन्जित नै ठानिए पनि मलाई यतिबेला भन्न मन लागेको छ, भाषिक प्रयोग, बिम्ब निर्माण कला सिक्नका लागि यो संग्रह एउटा गतिलो गाइड हुनसक्छ हाम्रालागि ।

संग्रहका कथाहरुको अर्को विशेषता हो, कथा भन्ने शिल्प । कथा लेखकलाई कथावाचनको यति राम्रो शिल्प एउटा लामो साधनापछि प्राप्त हुने कुरा हो । अब सुन्दर जोशीले कति साधना गरे,त्यसको लेखाजोखा त मैले गरेको छैन र हाललाई त्यसतर्फ मैले खोजीनिधि पनि गरेको छैन । तर यिनी शब्दका पुराना खेलाडी हुन् भन्ने कुरा संग्रहका अग्रभागमा रहेका मंजुल र वासु श्रेष्ठका कथनीहरुबाट पनि स्पष्ट हुन्छ । उनी कम्प्लेक्स खालका थिमलाई पनि बडो सहजताका साथ उद्घाटित गर्दछन् । नत्र ”कार्लोस मेरो दर्पणछाया”जस्तो जटिल कथायति सरलताकासाथ प्रस्तुत हुने थिएन । उनले यो कथामा कथावाचक पात्रको कथा नभनीकनै उसको कथा भनिदिएका छन् । उसको मनोदशालाई उदांगो पारिदिएका छन् ।

कथाकारको अर्को महत्वपूर्ण विशेषता हो, परिवेशको चित्रण  । यसमा कतिकति बेला त उनी विलक्षणता नै देखाउँछन् । आफू बसेको परिवेशको चित्रण त धेरै डायस्पोरिक लेखकहरुले गरेकै छन् । तर सुन्दर जोशीले प्रवासका गल्ली,सडक र समुद्रका किनारहरुका नामहरु कण्ठ गरेर कथामा प्रयोग गरेको जस्तो लाग्दैन । यस्तो लाग्छ, उनी आफ्नो नेपाली भाषा, संस्कृतिलाई गर्भबाटै बोकेर उतै जन्मिएका ब्यक्ति हुन् । त्यतैको परिवेशमा लडीबुडी गर्दै हुर्किएका ब्यक्ति हुन् । उनी आफूले कथामा प्रयोग गरेका परिवेशलाई आधिकारिक ढंगले प्रयोग गर्छन् । परिवेशको स्थूल हैन, आधिकारिक प्रयोगले कथालाई विश्वसनीय बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

अनि यो संग्रहको सबैभन्दा महत्वपूर्ण विशेषता हो, यसका विषयबस्तु । यसमा पनि आप्रवासी हुनुको पीडा यत्रतत्र अनुभव गर्न सकिन्छ । तर यो विषयबस्तु पात्र, परिवेश, भाषा र शिल्पका माध्यमबाट अनायास अभिव्यक्त गरिएका छन् । कथाकारले कतै पनि मूल कथानकको बलजफ्ती निर्माण नगरिकनै त्यसको कथानकलाई सहज किसिमले दृश्यात्मक बनाइदिएका छन् । त्यसैले मलाई लाग्यो, ”क्यासल रककी अप्सरा” देखिने कथाहरुको संग्रह हो र यी कथाहरुमा एकखालको युनिवर्सल अपिल पनि छन् ।

सुन्दर जोशीका कथाहरु औसत नेपाली कथाहरु भन्दा लामा छन् । तर कतै पनि कथाहरु लामा लाग्दैनन् । विषयको मिहिन विस्तार र चरित्रको स्वाभाविक विस्तृतिले लामा कथालाई पनि छरितो बनाएका छन् । पढदा लाग्छ, प्रत्येक कथामा संगीत, ध्वनि,प्रकाश र रंगहरुको सुमधुर प्रयोग भएको छ । अनि लाग्छ, लेखकले यी कथाहरु मधुरो प्रकाशमा, संगीतको मधुरो धून सुन्दै,झ्यालबाट हिमश्रृंखला हेर्दै र आफूलाई मन पर्ने वाइनको चुस्की लिँदै लेखेका हुन् ।

यी कोरा प्रवासका कथाहरु होइनन् । हाम्रै नेपालको परिवेश र जीवनसित बिछट्टै गाँसिएका कथाको सुन्दर श्रृंखला हो । त्यसैले बेलाबेलामा यसका कथाहरुमा हाम्रै टुङ्ना र डम्फु बज्छन् । हाम्रै लोकलय र भाकाहरु तरंगित हुन्छन् । गुम्बाहरु,माछापुच्छ्रे र आमादब्लमहरु देखिन्छन् । त्यसैले यस संग्रहका कथाहरुले हामीलाई नेपालमै रोकिराखेर प्रवासको परिवेशसित परिचित गराउँछन् ।

प्रायः डायस्पोरिक भनिने रचनाहरुमा सायास या अनायास लेखकहरुबाट ”म त प्रवासमा भास्सिन आइपुगेँ । तिमीहरु चाहिँ नआउनू र सुन्दर नेपाललाई माया गरेर बस्नू” भन्ने खालको निहितार्थ लुकेकै हुन्छ । सुन्दर जोशीले भने प्रवासको चित्र त उतार्छन् तर ”यतातिर कहिले पनि नआउनू” खालका पाल्सी कुरा गर्दै गर्दैनन् । लेखनको यो इमान्दारी रु. दुई सय मूल्य पर्ने, झण्डै त्यति नै पृष्ठको यस संग्रहका एघारवटै कथामा झल्किन्छ ।

No comments:

Post a Comment