Thursday, June 14, 2012

देश गुमाउनेको कथा-पदम गौतम


लू- देश गुमाउनेको कथा
                                                                                    पदम गौतम

(राजधानी दैनिकमा २०६९ जेठ २७ गते शनिवार प्रकाशित)

केही साताअघि सांग्रिला प्रकाशनले बजारमा ल्याएको उपन्यास आख्यानकार नयनराज पाण्डेको ‘लू’ यतिबेला साहित्यिक बजारमा निकै चर्चामा छ । मध्यपश्चिम तराई र अझ सीमाक्षेत्रको कथालाई पाण्डेले उपन्यासमा ल्याएका छन् । उनको उपन्यास सकिने समयसम्म हरेक पाठकले वास्तविक पात्र र जीवन्तता अनुभूत गर्ने अवस्थाले पाण्डेको सफलता देखाउँछ ।

उपन्यासकार पाण्डे प्रजातान्त्रिक विचार राख्ने व्यक्ति भए पनि लामो समयदेखि प्रगतिशील चेतनासँग जोडिन आइपुग्छन् । उनको लेखनमा जहिले पनि राज्यको मूल धारले बेवास्ता गरेका, सीमान्तकृत र सर्वसाधारण आउँछन् जसको कथा अन्यले लेख्दैनन् । कथा र विगतको उपन्यास उलारमा जस्तै यस पटक पनि उनले विपन्न र राज्यबाट बेवास्ता गरिएकाहरूको कथा लेखेका छन् । उनले छानेको सीमाक्षेत्रको नेपाली गाउँको नाम हो, पत्थरपुरवा । अत्यन्तै पीडित स्थानीयवासीबीच वारिपारिको राजनीति र राजनीतिज्ञले बिगारेको अवस्था, हिन्दू, मुस्लिमबीचको सौहार्दता र त्यसलाई बिगार्ने तत्व पनि राम्ररी चिनाएका छन् । बाल्यकालमा बिग्रिएको र गाउँकै उद्दण्ड किशोर इलैयाबाट सुरु भएको कथा ऊ भारतीय नेतामाथिको आक्रोस सहन नसकेर गोली हान्न पुगेपछि भारतीय जेलमा परेसम्मको कथा छ, यसमा । गाउँमा इलैयाजस्ता अनेक पात्र जोडिएर आउँछन् ।

पश्चिमी तराईमा चल्ने ज्यानमारा तातो हावा ‘लू’लाई उपन्यासकार पाण्डेले प्रतीक बनाएका छन् । उपन्यास पढ्दा र तराई नबुझेका पाठकलाई समेत ‘लू’ले भन्दा बढी पोल्ने गर्छ । उपन्यासको कथा दक्षिणी सीमावर्ती क्षेत्रका हरेक गाउँको वृत्तचित्रझैं लाग्छ । त्यहाँका राजनीतिक विषमता, सीमापारिबाट हुने गरेका अत्याचार, त्यसलाई नै मलजल गर्ने नेपाली राज्य राजनीतिक कार्यकताको वरिपरि पाण्डेको कथा घुमेको छ । मधेसी मूलका नेपाली नागरिक भएबापत पुस्तौंदेखि भोग्दै आएको पीडाको जीवन्त कथा र प्रस्तुतिका रूपमा यो उपन्यासलाई हेर्न सकिन्छ । यदाकदा समाचारका विषय बन्ने गरेका भारतीय सीमा सुरक्षा बलका सैनिकको ज्यादती र त्यसलाई आफ्ना पक्षमा मात्र लैजाने तर केही नगर्ने नेपाली नेता र शासकहरूको बेवास्ताले हरेक पाठकको मन सीमाक्षेत्रका जनताका पक्षमा जान्छ । उनले फरक–फरक पात्रहरूको कथा ल्याउँदै अन्तिममा नाटकीय रूपमा सिंगो मुलुक नै स्तब्ध र अवाक हुने मोड कथालाई दिएका छन् । उपन्यासको कथामा चरम दुःखको वर्णन त छँदै छ, तराईको वास्तविकता पनि आएको छ । दसगजा मिचेर नेपालको भू–भागमा आएर शासन चलाउने भारतीय सीमा–सुरक्षा बल एसएसबीको ज्यादती पढ्दा हरेक पाठकको रगत उम्लिएर आउँछ । त्यसलगत्तै नेपाली प्रशासन र राजनीतिज्ञले देखाएको उदासीनता र आत्मसमर्पणले हरेक नेपाली पाठक अवाक हुन पुग्छन् ।

आञ्चलिकताको निकै र तराई नबुझेका पाठकका लागि अनौठा शब्द प्रयोग भए पनि ती सबै सामान्य रूपमा लिइनुपर्ने अवस्था छ । तर, निकै रोमान्समा जीवन गुजार्ने एउटी महिलाको यौन जीवनको वर्णन गर्दा भने उनले प्रयोग गरेको खाट भाँचिएको चर्चा केही अपाच्य लाग्छ ।

सामान्य कमजोरी भए पनि उपन्यास डेढ दशकअघिको पाण्डेकै कृति उलारको स्तरमा नपुग्ने हो कि भन्ने पाठकको डरलाई समाप्त पारिदिएको छ । यसका लागि उपन्यासको अन्त्यसम्म भने पाठकले धैर्य गर्नै पर्ने हुन्छ । अन्त्यमा, पत्थरपुरवा गाउँ सीमा मिचिएर भारतमा पर्छ र उपन्यासको एउटा पात्र पण्डित टुटेप्रसादले लेखकलाई चिठी लेखेर यसको जानकारी दिन्छ । यो अन्त्यमा हरेक पाठक भावुक हुन्छन् र केही त रुन्छन् नै । यो नै उपन्यासकार पाण्डेको चरम सफलता हो । नेपाली साहित्यमा वास्तविक पीडित जनताका कथा स्तरीय ढंगले लेखे र बाहिर ल्याएबापत पाण्डे र प्रकाशन धन्यवाद र बधाईका पात्र छन् ।

No comments:

Post a Comment