उदय तामाङ
(गरिमा मासिक,बैसाख,२०६९मा प्रकाशित)
नयनराज पाण्डेको लू भर्खरै प्रकाशित भएको छ । यो उनको पाँचौँ औपन्यासिक कृति हो । प्रकाशनपूर्व नै चर्चामा आउन आरम्भ गरेको यो कृति प्रकाशित भएपछि अझ बढी चर्चामा छ । यथार्थवादी दृष्टि र शैलीमा रचित यस कृतिमा पत्थरपुरुवाको कथा छ । पत्थरपुरुवा बाँकेको सीमावर्ती बस्तीको काल्पनिक नाउँ हो । यस बस्तीमा हिन्दू र मुसलमान वर्षौंदेखि सँगसँगै बस्दै आएका छन् । यो गरीब बस्ती हो । यहाँका मानिसहरू परिश्रमी र इमानदार छन् । उनीहरूका जीवनका आ–आफ्ना सुख–दुःख, आँसु–हाँसो, प्रेम–बिछोड, उकाली–ओराली, घात–प्रतिघात, स्वप्न–दुःस्वप्न, आशा–निराशा, माया र घृणाहरू छन्, आ–आफ्नो सांस्कृतिक धरातल, जीवनमूल्य र दृष्टिहरू छन् । कहालीलाग्दो गरीबीका कारण आत्महत्या गर्नेहरू छन्, गरीबीकै कारण छोरीहरूलाई सर्कसमा बेच्नेहरू छन् । सत्पात्रहरू छन्, खलपात्रहरू छन्, धूर्तहरू छन्, सोझा र इमानदारहरू छन् ।
सीमावर्ती गाउँ भएका कारण भारतीय सीमा– सुरक्षाकर्मीहरूको उत्पीडनको एक छुट्टै कथा छ पत्थरपुरुवासँग । भारतीय सिपाहीहरू गाउँभित्र पस्नु, अनेकन् सास्ती दिनु र उपद्रो मच्चाउनु सामान्य कुरा हुन् । प्रतिवाद गर्न खोज्ने महेशर र जागेशरहरू मारिन्छन् । सीमापारि बस्ने शम्भुरामजस्तो खलपात्रले नेपाली राजनीतिका पात्रहरूलाई सजिलै नचाउँदैन मात्र, हिन्दू र मुस्लिमहरूबीचको सद्भावलाई साम्प्रदायिक द्वन्द्वमा पनि बदल्छ । सीमास्तम्भहरू सार्नु र नेपाली भूभागलाई भारतमा गाभ्नु सामान्य क्रियाकलाप हुन् । आज आफ्नो भनेर खनजोत गरेको जमीन भोलि अर्कैको भएको हेर्न पत्थरपुरुवावासीहरू विवश छन् । केही जमीन मात्र होइन, अन्ततः सिङ्गो पत्थरपुरुवा नै भारत हुन्छ । लक्ष्मणपुर बाँधका कारण त्यस क्षेत्रका बासिन्दाहरूले पटक–पटक डुबानले उत्पन्न गर्ने त्रासदीपूर्ण समस्याको सामना गर्नुपरेको छ । यसरी नेपाली हुँदाहुँदै बलजफती भारतीय हुन पुग्ने, लक्ष्मणपुर बाँधका कारण सधैँ डुबानको समस्याबाट पीडित रहने, भारतीय सीमासुरक्षा प्रहरीबाट निरन्तर सताइने, गरीबीको डरलाग्दो खडेरीका कारण छातीभरि रापतीको बगर राखेर बाँच्ने पत्थरपुरुवाको कथालाई उपन्यासकारले उपन्यासमा सजीव औपन्यासिक प्रस्तुति दिएका छन् ।
उपन्यासकार पाण्डेले पत्थरपुरुवाको जीवनलाई बहुआयामिक रूपमा हेरेका छन् । आर्थिक, सामाजिक, सांस्कृतिक जीवन, तिनका बाह्य र आभ्यन्तरिक पक्षहरूको सूक्ष्म अवलोकन र अभिव्यक्ति उपन्यासमा पाइन्छ । विषयवस्तु, चरित्र, परिवेश, समय, घटनाक्रम, उद्देश्य आदि आपसमा सम्बद्ध, गतिशील र द्वन्द्वात्मक रहेका छन् । चरित्रहरूको गतिशीलता, स्वाभाविकता र द्वन्द्वात्मकताले पाठकलाई सजिलै प्रभावित गर्ने सामथ्र्य राख्छन् भने बस्तीको दुःखको प्रस्तुति र त्यहाँको दारुण एवं विदीर्ण जीवनले हृदयलाई हल्लाउँछन् । असीम दुःखका बीच पनि आशा उपन्यासको अत्यन्त महŒवपूर्ण पक्ष हो । उपन्यासले भ्रष्ट राजनीति, प्रशासन र निकम्मा नेताहरूको पोल मात्र खोल्दैन, उनीहरूप्रति घृणा पनि उत्पन्न गर्दछ । भारतीय उत्पीडन र अतिक्रमणलाई प्रस्तुत गरेर उपन्यासकारले भारतीय नियत र प्रवृत्तिलाई उदाङ्गो पारेका छन् । उपन्यासले निकै जीवन्त रूपमा पत्थरपुरुवाको सांस्कृतिक बिम्बको पुनर्सृजन गरेको छ । उपन्यास पढिसक्दा त्यस बस्तीका विपत्ति र दुःखका, परिश्रम र पौरखका कथाहरू मात्र आँखामा नाच्न थाल्दैनन् त्यसका आन्तरिक जीवनका चित्रहरू पनि सलबलाउन थाल्छन् । उपन्यासमा कथाकथनलाई नवीन र प्रभावकारी ढङ्गले अगाडि त बढाइएको छ नै भाषाशैलीलाई पनि सरल, सरस र मनोहारी तुल्याइएको छ । चित्रमयता यस उपन्यासको गजबको विशेषता हो । उपन्यासले साम्प्रदायिक सद्भावको विलक्षण सन्देश पनि दिन्छ । यो आधुनिक नेपाली उपन्यास–परम्परामा एक महŒवपूर्ण कृति हो ।
उपन्यासका कमजोर पक्षहरू पनि छन् । यथार्थको अतिनाटकीय प्रस्तुति यसको पहिलो कमजोरी हो । यथार्थवादी उपन्यासमा ठाउँ–ठाउँमा प्रकृतवादको गाढा छाया देखिन्छ । यौन र यौनजन्य भावना र क्रियाकलापको प्रस्तुतिमा यस्तो भएको छ । यो उपन्यासको दोस्रो कमजोरी हो । उपन्यासको तेस्रो कमजोरी उपन्यास आलोचनात्मक यथार्थवादको तहसम्म पनि राम्रोसँग उक्लन नसक्नु हो । उपन्यासको चौथो कमजोरी यथार्थको गतिशील पाटोलाई पक्रन नसक्नु हो । उपन्यासमा कहीँ पनि भारतीय ज्यादतीका विरुद्ध सामूहिक र सचेत प्रतिरोध देखिन्न । यही कुरा नेपाली राजनीति र प्रशासनका सन्दर्भमा पनि लागू हुन्छ । नेपाली सीमावर्ती गाउँहरूसँग प्रतिरोधको इतिहास पनि छ । त्यति धेरै दुःख बोकेको पत्थरपुरुवाको छातीमा सहज र स्वाभाविक रूपमा बल्नुपर्ने आगो पनि नबलेको देख्दा आश्चर्य अनुभव हुन्छ । जीवन आक्रोश, घृणा र प्रतिरोधको पर्याय पनि त हो, जो वैयक्तिक र सामूहिक रूपमा राजनीतिक चेतना नहुँदा पनि चल्छ । यो अस्तित्वरक्षाको आधार पनि हो । पुस्तकको साजसज्जा र छपाइ सुन्दर रहेको छ । यसका नम्ति साङ्ग्रिला बुक्सलाई धन्यवाद दिनुपर्छ । केही कमजोरीहरूका अतिरिक्त यो एक पटक नपढी नहुने पुस्तक हो ।
–उदय तामाङ
गरिमा, वैशाख २०६९
No comments:
Post a Comment