‘नेपालगन्जको लूले लू लेख्न प्रेरित गर्यो’
(नागरिक दैनिकको 'पश्चिमेली'का लागि तुफान न्यौपानेले लिनु भएको अन्तर्वार्ता । २०६९ असार ९ गते शनिवार प्रकाशित ।)
नयनराज पाण्डेको अघिल्लो लघु उपन्यास ‘उलार’ चर्चित थियो । बाँके, नेपालगन्जको टाँगावालाको कथा थियो उलारमा । पाण्डेले ०४६ को परिवर्तनयता देखिएको राजनीतिक विकृतिलाई मिहिन तरिकाले उतारेका थिए । अहिले उनको पछिल्लो उपन्यास ‘लू’ चर्चामा छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपाली नागरिकले भोगेका दुःख र संघर्षलाई ‘लू’मा उतारेका छन् पाण्डेले । ‘लू’ पनि बाँकेको कथा हो । तर पाण्डे भन्छन् - ‘उपन्यासको गाउँ र पात्र बाँकेका भए पनि यो अन्तराष्ट्रिय मामिला सम्बन्धी उपन्यास हो, ‘लू’ को समस्या बाँकेमा मात्र छैन, देशभरका सीमामा बस्ने नागरिकले भोगेका छन् ।’
बिहीबार बिहान उनीसँग अन्तरवार्ता गर्दासम्म लू को ७ हजारप्रति बिक्री भइसकेको थियो । शुक्रबार तेस्रो संस्करण बजारमा आएको छ । पाण्डेका यसअघि नाङ्गो मान्छेको डायरी (२०४४), विक्रमादित्य एउटा कथा सुन (२०४४), अतिरिक्त (२०५०) र उलार (२०५५) उपन्यास प्रकाशित भइसकेका थिए । ‘लू’ उनको पाँचौँ उपन्यास हो । उनका खोरभित्रको जोकर (२०६०) र निदाएँ जगदम्बा (२०६५) गरी दुई वटा कथासंग्रह प्रकाशित छन् ।
‘यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र अपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसितको युगौँदेखि जारी सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको प्रेम र सामाजिक सद्भाव अत्यन्त नजिकबाट अनुभव गर्न पाइन्छ’ (लू को कभर पृष्ठबाट) । उनको नयाँ उपन्यास ‘लू’ बारे उपन्यासकार पाण्डेसँग नागरिककर्मी तुफान न्यौपानेले गरेको कुराकानी:
अघिल्लो उपन्यास ‘उलार’ र ‘लू’ लाई कसरी तुलना गर्नुहुन्छ ?
दुवैमा आञ्चलिक परिवेश छ । बाँके क्षेत्रको संस्कृति र रहनसहन छ । दुवै बाँकेका कथा हुन् । दुवैमा स्थानीय, पात्र, कथा र जीवन छ । तर दुवै उपन्यासले उठाएको विषयवस्तु राष्ट्रिय हो । बाँकेका पात्रमार्फत् राष्ट्रिय कथा भन्न खोजिएको छ ।
उलारको कथा देशको राजनीतिसँग सम्बन्धित छ । ०४६ पछिको परिवर्तन र विकृति छन् त्यसमा । लू मित्रराष्ट्र भारतसँग पनि सम्बन्धित छ । यसले अन्तर्राष्ट्रिय मुद्दा उठाएको छ । सीमा क्षेत्रका पीडा बोलेको छ । उलार एउटा निश्चित विषयवस्तुमा सीमित पात्रको वरिपरि घुमेको छ भने लू मा धेरै पात्र र विषयवस्तु समावेश छन् ।
मुख्य पात्रमा सबैप्रकारका शोषण विरूद्ध लड्ने चेतना बढेको देखाएर उलारको अन्त्य गरिएको छ, तर लू का पात्रमा चेतना स्तर किन विकास नगरिएको हो ?
होइन, त्यस्तो छैन । यसमा पनि प्रशस्त विद्रोहको भावना छ । नेपाली भूमिका रक्सीले मातेर आएका भारतीय प्रहरीलाई पिट्दै गिरफ्तार गर्ने महेशर र सीमा नाकामा जुम्लीलाई लुट्दै गरेका भारतीय एसएसबीका प्रहरीसँग लड्दालड्दै वेपत्ता महेशरको छोरा जागेशर के कम विद्रोही हुन् ? भारतीय गुण्डा शम्भुरामको चाकडी गर्ने बजरङ्गीले पछि अब कहिल्यै उसको काम नगर्ने प्रण गरेको छ र भारतीय झण्डालाई कट्टु बनाएर लगाएको छ, यो पनि ठूलो विद्रोह हो । उपन्यासको मुख्य पात्र इलैयाले त शम्भुरामलाई गोली हानेको छ । सीमा क्षेत्रको यथार्थ चित्रण गर्ने प्रयास गरिएकोले संगठित विद्रोह देखाइएको छैन । सीमा क्षेत्रमा त्यसप्रकारको विद्रोह भएको पनि त छैन । तर कथाका पात्रका चरित्रले गर्ने विद्रोह यसमा पनि छ । पूरै उपन्यासको मुल सन्देश पनि विद्रोही छ । सीमामा हुने हरेक ज्यादती विरूद्ध उत्रन आह्वान गरेको छ किताबले ।
किताबमा बाँकेको कथा समेट्न तपाईंलाई केले प्रेरित गर्यो ?
बाँके मेरो घर हो । यहाँ मैले जिन्दगीको लामो कालखण्ड बिताएको छु । परिवेश, पात्र र घटना नजिकबाट चिन्छु । यहाँको धेरै ठाउँ पुगेको छु । धेरै पात्रसँग मेरो संगत छ । कतिपय त मेरा साथीभाइ हुन् । मैले लू लेख्न ४५ वर्ष लगाएको छु । मैले यहाँको संस्कृति, रहनसहन, परिवेश, घटना र पात्रलाई ४५ वर्षदेखि भोग्दै आएको छु । लिपिवद्ध गर्न मात्र तीन वर्ष लागेको हो । मैले देखेको जीवन भोगाइ लू मा उतारेको हुँ । बाँकेको लूसँग मेरो चिनापर्ची पुरानो हो । आफैले भोगेका, देखेका, बुझेका घटना लेख्दा प्रमाणित पनि हुन्छ ।
लू को प्रमुख पात्र इलैया उपन्यासभर नकारात्मक भूमिकामा छ, अन्तिममा एकाएक हिरोको भूमिका दिनुभयो, यो हिरोइज्मको स्रोत के हो ?
हरेक मान्छेसँग खराब र असल प्रवृत्ति हुन्छ । तपाईं हामीसँग पनि त्यो प्रवृत्ति छ । इलैया खराब मान्छे होइन । उसले खाली उट्पट्याङ काम गथ्र्यो । आमालाई गुमाएपछि ऊ एक्लो भयो । उसले आमालाई बाहेक कुनै पनि केटीलाई राम्रो मान्दैनथ्यो तर नुसरतमा आमाको बिम्ब देख्यो । त्यसैले नुसरतको प्रेम पाउन उसले आफूलाई सुधा¥यो, किनकि उसलाई थाहा छ असल मान्छेले मात्रै प्रेम गर्न सक्छन् । प्रेमले मान्छेलाई परिवर्तन गर्छ भन्ने सूत्र प्रयोग गरेको छु मैले ।
उपन्यासका पात्रमा सिनेमा, नौटंकी, सर्कसको प्रभाव धेरै छ । उनीहरू फिल्मी टाइपको प्रेम गर्छन् । प्रेम पाउन असल हुन्छन् । त्यही पात्र मध्येको हो इलैया पनि । नुसरतको प्रेमले उसलाई सुधा¥यो ।
कथाको मुख्य पात्र इलैयाको निर्माण कसरी गर्नुभयो ? पात्रको निर्माण गर्नु त धेरै गाह्रो काम हो नि, होइन र ?
पात्रहरू लेखकले सिर्जना गर्ने भन्दा पनि समाजबाट लिने हो । विषयवस्तु उठान गरेपछि त्यस विषलाई मिल्ने पात्र, चरित्र समाजमै खोज्ने हो । लेखकले सबैखाले चरित्र समाजमा देखेको हुन्छ, उसले आफ्नो आवश्यकता अनुसार त्यहाँबाट टिप्छ । इलैया जस्तो पात्र र चरित्र भएका व्यक्ति हाम्रो समाजमा धेरै ठाउँमा छन्, अथवा धेरै व्यक्तिको चरित्र मिसाउँदा उसको जस्तो बन्छ । लेखकले यी सबैलाई संयोजन मात्र गर्ने हो ।
कथाका अन्य पात्र कति यथार्थ हुन्, के तिनीहरू जीवितै छन् ?
पात्र यथार्थ हुन् । जीवितै छन् । साहित्य मौलिक हुँदैन भनिन्छ नि । समाजमा कतै घटित घटनालाई लेखकले संयोजन गर्ने मात्र हो । त्यसैले कथा पनि जीवितै छ । परिवेश, पात्र, घटना फरक फरक ठाउँका होलान्, तर सीमा क्षेत्रमा बस्ने हरेकले यो कथा भोगेका छन् । ती सबैको भूमिका किताबका प्रतिनिधि पात्रले निभाएका छन् ।
पढ्दै जाँदा सत्य घटनामा आधारित हो कि जस्तो लाग्छ, किताबमा कति यथार्थता छ ?
मैले चाहेकै त्यही थिएँ । यथार्थ कथा र गाउँ होस् भन्ने । ‘पत्थरपुरवा’ गाउँको नाम काल्पनिक हो । तर कथामा आएका वरिपरिका गाउँ, बजार, बाटा सबै वास्तविक हुन् । कल्पना र यथार्थताको मिश्रण हो । आख्यान भएकाले त्यसो गरेको । तर यस्ता गाउँ सीमाभर थुप्रै छन् । पूर्वदेखि पश्चिमसम्मका तमाम गाउँहरूको प्रतिनिधि गाउँ हो पत्थरपुरवा ।
किताब लेख्ने सोच बनाएर स्थलगत अध्ययन गर्दा र अहिले सीमाका ‘पत्थरपुरवा’ जस्ता गाउँ र गाउँलेको जीवनमा के परिवर्त आएको छ ?
अहिले मोबाइलको सुविधा पुगेकोले सूचनाको पहुँच बढेको छ । तर राज्यको उपस्थिति छैन । उनीहरू भारतपरस्त छन् भन्ने राज्य सोच्छ, तर यथार्थमा भारतीय सीमा सुरक्षा बालद्वारा सबभन्दा बढी पीडित उनीहरू नै छन् । एसएसबीको अत्याचार, हत्या, हिंसा, लुटपाट, बलात्कार सबै उनीहरूले भोगका छन् । भारतको मिचाहा र हेपाह प्रवृत्ति देशभर छ । सीमाका नागरिकलाई तिमीहरू नेपाली हौ भनेर सोध्यो भने होइन भन्छन्, भारतीय हौ भन्यो भने पनि होइनौं भन्छन् । को हौ त भन्दा देशी हौँ भन्छन् । यस्तो अवस्था छ । सबै काम सीमा पारी निर्भर हुनुपर्छ । मालपोत बुझाउन र नागरिकता लिन मात्र नेपालगन्ज आउँछन् । अवस्था फेरिएको छैन । भारतीय सीमा सुरक्षा बलको ज्यादती रोकिएको छैन ।
कुरा गर्दै जाँदा तपाई भारत विरोधी जस्तो लाग्यो ।
म कुनै देशको पनि विरोधी होइन । तर जसले हामीलाई दुःख दिन्छ । हेप्छ । सीमा मिच्छ, उसको सबैले विरोध गर्नुपर्छ जस्तो लाग्छ । एक इन्च जमिन पनि कसैले मिच्न पाउँदैन । त्यो माटोको थुप्रो मात्र होइन । हाम्रो राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय हो । भारतले मात्र होइन चीनले सीमा मिच्यो भने त्यसको पनि विरोध गर्नुपर्छ । सीमा मिच्ने, नागरिकलाई दुःख दिने, लुटपाट गर्ने यस्ता व्यवहारको सबै सचेत नागरिकले विरोध गर्नुपर्छ ।
किताब बजारमा आएपछि पाठक प्रतिक्रिया कस्तो छ ?
मलाई शंका थियो उपेक्षित ठाउँको विषय राष्ट्रिय मुद्दा नबन्ला कि भन्ने । नेपाली साहित्यमा तराईबारे अहिलेसम्म एकदम कम लेखिएका छन् । पहाडी परिवेशका उपन्यास पढ्ने बानी लागेकाले तराईको रहनसहन, संस्कृति, वेशभूषा र पात्र मन नपराउने हुन् कि भन्ने डर पनि थियो । तर पत्रपत्रिकामा किताबको समीक्षा छापिएपछि धेरै सकारात्मक प्रतिक्रिया आए । किताब पाठकको हातमा पुगेपछि देशको स्वाधीनताको विषयवस्तु उठान गर्नुभएको भनेर धन्यवाद पनि दिए । भर्खर प्लस टु र ब्याचलर पढ्दै गरेका विद्यार्थीको प्रतिक्रियाबाट उत्साहित छु । मैले कल्पना पनि नगरेका प्रतिक्रिया आइरहेका छन् ।
लूबारे देशका विभिन्न भागमा छलफल र अन्तरक्रिया भयो, तर जहाँको लूको कथा लेखिएको हो बाँके, त्यहाँ नै छलफल हुन सकेको छैन, किन ?
नेपालगन्जमा पनि यसबारे छलफल हुन्छ । पाठक प्रतिक्रिया लिने र मैले आफ्ना कुरा भन्ने गर्नेछौँ । किताब प्रकाशन हुनेबित्तिकै हेटौडा, चितवन र पोखराका स्थानीय संघसंस्थाले चासो देखाए र त्यहाँ छलफल गरियो । जेठ १४ आसपासको बन्द, हड्तालले नेपालगन्जमा समयमा पुस्तक पुर्याउन सकिएन । अब छलफल गर्ने सोचिरहेका छौँ । जहाँको लूले मलाई ‘लू’ लेख्ने प्रेरणा दियो, त्यहाँ छलफल नगर्ने भन्ने हुँदैन ।
आगामी योजना के छ ? केही लेख्दै हुनुहुन्छ ?
उपन्यास लेख्दै छु । पहिला प्रयोगमुलक लेखन रुचाउँथे । ‘उलार’ देखि सामाजिक यथार्थतिर रुचि बढेको हो । अहिले पहिला जस्तो कोठामा बसेर लेख्ने दिन गए । स्थलगत अध्ययन, अनुसन्धान नगरी लेख्न सकिदैन । त्यसैले कम्तिमा दुई वर्ष त लाग्छ होला । लेख्न सुरु गरिसकेको छु । राष्ट्रिय राजनीति, गणतन्त्रपछिका विकृति र परिवर्तन समेटिएको उपन्यास लेख्दै छु ।
No comments:
Post a Comment