सल्लीपिर: अक्षरको अभिव्यञ्जना
(हिमाल खबर पत्रिकामा २०७३ बैसाख
२६ आइतवार प्रकाशित)
सुन्दै
अनौठो लाग्ने सल्लीपिर नामक उपन्यास लिएर चर्चित आख्यानकार नयनराज पाण्डे फेरि
झुल्किएका छन् । तराईको जनजीवन चित्रण गर्न ख्याति कमाएका उनले सल्लीपिर मा भने
एउटा हिमाली बस्तीको कष्टकर जीवनगाथालाई कलात्मक शैलीमा उतारेका छन् ।
उपन्यासको
सार यस्तो छ– पेमाका
बाबुको किताबमोह उनकी आमाले बुझ्दिनन् । यही कारण उनीहरुको खटपट शुरु हुन्छ ।
समयक्रममा पेमाको छोरो फुर्वा पनि किताबप्रति सम्मोहित हुन्छ । पेमा उनको आमाले
गरेको गल्तीबाट आफ्नो छोरालाई जोगाउन चाहन्छिन् ।
सजिलै
पाठ्यपुस्तक नपुग्ने विकट हिमाली बस्तीमा छोराको ज्ञानको तलतल मेट्न पेमा राजधानी
काठमाडौं पुग्छिन् । किताब लिएर फर्कंदा उनले अनेक सास्ती भोग्नुपर्छ । अधिकांश
शेर्पा हिमाल चढ्नेका भरिया या चौंरी गोठाला हुन्छन् । पेमा छोराको नियति बदल्न र
उसलाई लामा बनाउन चाहन्छिन् । तर, पुस्तक बोकेको चौंरी अगाडि लगाएर हिंडिरहेकी उनलाई हिउँले
आफ्नो बनाउँछ ।
नयनराज
सधैं समाजका सीमान्तकृत ‘सबाल्टर्न’ पात्रहरुलाई केन्द्रमा राखेर लेख्छन् । आजीविकाका लागि
तिनले गर्ने दुःखको वरिपरि उपन्यासको हृदय घुमिरहन्छ । यसपालि उनी हिमाली पात्र र
खुम्बुको सेछेनलगायतका हिमाली गाउँ पुग्छन् ।
उपन्यासको
विशेषता मुख्य पात्र नारी (पेमा) हुनु हो । बालखैमा सुनेको एउटा तिलस्मी कथा जस्तै
जीवनको अन्त्यसम्म अविश्रान्त संघर्ष गर्नु पेमाको सफलता हो । बाबु छिरिङले
पेमालाई हमेशा कथा सुनाउँथ्यो तर ती कथाहरुमा दुःख मात्र हुन्थे । छिरिङ भन्थ्यो–
के गर्नु छोरी,
मसित रमाइला कथा छैनन् । हाम्रो
जीवन पनि कहाँ रमाइलो छ र ? जीवन सुन्दर भए पो कथा पनि सुन्दर हुन्छ । छिरिङले किताब
पढेको उसकी श्रीमती ग्याल्मोलाई पटक्कै मन पर्दैन ।
छिरिङ
निदाएको मौका पारेर ग्याल्मोले सबै किताबमा आगो लगाइदिन्छे । प्रतिक्रियाविहीन
छिरिङले भोलिपल्ट घर छाड्छ र पेमाले गहभरि आँसु लिएर बाबुको विदाइका दृश्य हेर्छे
। यही बिन्दुबाट पेमाको संघर्ष शुरु हुन्छ ।
पेमाकी
आमा ग्याल्मो विदेशी आरोही पिटरसँग प्रेममा पर्छिन् र छोरीलाई माइतीमै छाडेर
अमेरिकातिर लाग्छिन् । हजुरबुबा, हजुरआमाले केही समय हुर्काएपछि पेमाको बिहे दावासँग
गराइदिन्छन् । हिमाली दुःखले नवविवाहिता जोडीलाई पनि छोड्दैन । उपन्यास भन्छ–
यो शहर होइन,
खुम्बु हो । यहाँ माया पाउन याम
पर्खिनुपर्छ ।
चौंरीका
लागि खर्क खोज्दै बसाइँ सर्नु, सीमापारि तिब्बतको खर्क पुग्नु हिमाली जीवन हिस्सा हुन् ।
कुशल चित्रकार झैं नयनले पनि चौंरीखर्कका कथा दुरुस्त उतारेका छन् ।
काठमाडौं/केन्द्रको लापरबाहीले कतिपय नेपाली बस्ती तिब्बततिर परेका कुराले पाठकको
मन कटक्क खान्छ ।
दावा
आरोहीको भरिया बनेपछि पेमाको जीवनमा उज्यालो धर्सा देखा पर्छ,
तर त्यसको आयु छोटो हुन्छ । सगरमाथा
आरोहणका क्रममा दावाको मृत्यु र क्षतिपूर्ति लिन राजधानी आउने आग्रहसहितको सरकारी
चिठी सेछेन त पुग्छ तर चिठी पढ्न सक्ने गाउँमा कोही हुँदैन । पेमाको छोरो फुर्वाले
लामा गुरुलाई चिठी पढ्न लगाउँछ । बुबाको मृत्युको खबर आमालाई सुनाउँदाको वर्णन
हृदयविदारक छ । एउटा बालकले आफ्नो बाबुको मृत्युको खबर कुन आँट र धैर्यले आमालाई
सुनायो होला । यस्तैमा हो लेखकको परख जाँचिने, जसमा उपन्यासकार खरो उत्रिएका छन् ।
फुर्वालाई
कथा सुन्ने रहर हुन्छ । घरमा पाहुना आएकी लडाकूले सुनाएको कथाको पात्र नामग्याल र
छिमीले सुनाएको कथाको पात्र डुनले फुर्वालाई साँच्चिकै मोहनी लगाउँछन् । फुर्वाले
एक दिन आफैंसँग प्रश्न गर्छ– ‘के मैले कुनै कथा सुन्न पाउँदिन ?
के कहिल्यै पनि अक्षर चिन्न पाउँदिन
? के कागजका अक्षर मेरा लागि
सधैं वाणीहीन चौंरी झैं हुनेछन् ? के नामग्याल र डुनसित कुनै अर्को कथामा मेरो भेट हुने छैन ?
के मैले कहिल्यै पनि आफैंले किताब
पढ्न पाउने छैन ? त्यसो
त दावाले फुर्वा जन्मनेवित्तिकै भनेको हुन्छ– ‘चढ्दैन यसले चोमोलोङ्मा । बन्दैन कसैको भरिया । त्यस्तो
दुःखी काम गर्दैन यसले । यसलाई त गुम्बामा लामा पढ्न पठाउँछु म ।’
किताबलाई
भूत मान्ने आफ्नी आमा झैं अक्षरप्रति सन्देह भएकी पेमालाई एक
दिन आभास हुन्छ–
‘मन्त्र बन्ने अक्षरहरुले कहिल्यै
पनि मान्छेलाई दुःख दिंदैनन् । कथा भन्ने अक्षरहरुले कहिल्यै पनि तर्साउँदैनन्
मान्छेलाई ।’ अनि
मात्र पेमाले बाबु छिरिङ ज्ञानी भएको महसूस गर्छे ।
बुबा
छिरिङले सुनाएको दुःखपूर्ण कथाका अनेक पन्ना र तह पेमाले आफ्नै जीवनमा भोग्छे ।
शायद छिरिङले पेमालाई जीवनका दुःखसँग अभ्यस्त बनाउनकै लागि यी कथाहरु सुनाएको थियो
। बौद्ध दर्शनबाट प्रभावित भए पनि गीताको दर्शनसँग पनि मिल्ने पेमा अन्तिम वाक्य
बोल्छे– ‘हे
साङगे, … मैले
मेरो यात्रा पूरा गर्न सकिनँ । फुर्वाले किताब पढेको हेरुँला भन्ने रहर थियो …
मैले मेरो रहर पूरा गर्न सकिनँ । …
मैले हिम्मत हारेकी थिइनँ । मैले यी
किताब गाउँसम्म पु¥याउने
हरेक प्रयास गरेकी थिएँ ।’
अघिल्लो
उपन्यास ‘घामकिरी’
मा ‘म्याजिकल रियालिज्म’ को प्रयोग गरेका नयनराजले यही सिद्धान्तको सहाराले किताब
बोकेको चौंरी गाउँसम्म पुर्याएका छन् । यस्ता प्रयोगले उपन्यास ‘मोनोटोनस’ हुनबाट जोगिएको मात्र छैन, नयाँ स्वाद पनि थपिएको छ ।
टिम्बुरबोटे
काण्ड, जनमतसंग्रहदेखि
२०४६ पछिका चुनाव, माओवादी
सशस्त्र युद्धले गाउँ र पेमाको जीवनमा पारेको प्रत्यक्ष परोक्ष प्रभाव पाठकले सजिलै
महसूस गर्न सक्छन् । दुःख, अक्षर र किताबबारे नयनराजले उपन्यासभरि यति धेरै मार्मिक
उद्गार व्यक्त गरेका छन् कि तिनको संकलन मात्रले सानो पुस्तक नै तयार हुन्छ । कालो
अक्षरलाई भूत सम्झेकैले शेर्पाहरु पछिपरेको उपन्यासकारको ठहर छ ।
राजनीतिका
कारण देशमा ‘पहाड
भर्सेज मधेश’ मानसिकता
विकसित भइरहेको बेला लेखकका रुपमा नयनराजले मानिस जहाँ भए पनि सीमान्तकृतको दुःख
समान भएको अनुभूत गराउन सफल भएका छन् । नयनको लेखनीमा विशिष्ट क्षमता भएकैले यो
सम्भव भएको हो । सामाजिक सहिष्णुताका लागि एउटा लेखकले अपील गर्ने अर्को सम्यक्
शैली नहोला ।
No comments:
Post a Comment