नौलो परिवेश र नौलो लेखनीको संयोजन– सल्लीपिर
(पिपलनेटा डटकममा
प्रकाशित)
सोबिता रिसाल
नेपाली साहित्यका लागि नयनराज पाण्डे नौला लेखक
होइनन् । लेखक नौला नभएपनि उनको लेखनी सधैं नौलो हुने गरेको छ । यो पटक पनि
पाण्डेले नेपाली साहित्यमा विल्कुलै नौलो परिवेशलाई भित्र्याएका छन्– सल्लीपिर मार्फत ।
प्राकृतिक, साँस्कृतिक अनि
पर्यटकिय महत्वले भरपुर सोलुखुम्बुका गरिब शेर्पाहरुको कथा हो–सल्लीपिर । जसरी उम्रिए देखि नमरून्जेलसम्म
झरिरहन्छन् सल्लाका पातहरु निरन्तर, त्यसरी नै
जन्मिए देखि नमरुन्जेलसम्म दुःख भोगिरहन्छन् सल्लीपिर भित्रका शेर्पाहरुले ।
सगरमाथा र नाम्चेबजार विश्वव्यापी भइसके तर सदियौं
देखि उस्तै छ आसपासमा बस्ने शेर्पाहको कथा । यही परिवेशलाई विभिन्न घटनाक्रममा
उन्दै तयार भएको छ–
सल्लीपिर । सल्लीपिर भित्रको
कथा त नौलो छ नै यसको लेखनी पनि उत्तिकै नौलो छ । कतै कवितात्मक, कतै कथात्मक त कतै निबन्धात्मक शैलीमा लेखिएको यो
उपन्यास श्वेत कल्पना मात्रै भएपनि वास्तविकतासँग निकै नजिक रहेको छ ।
सल्लीपिर दुःखै दुःखको कथा हो । लेखकले कथामा प्रयोग
गरेजस्तो इन्द्रधनुषी खुसी र सुखहरू छैनन् खुम्बु र सेछेनका बस्तिमा । लेखकले
सल्लीपिरमा विशेषगरी दुःख पाएका र पिछडिएकाहरूको कथालाई मिहिन ढंगले उठाएका छन् ।
कथा त्यही आसपासबाट शुरू हुन्छ, जतिखेर देशमा बहुदलिय प्रजातन्त्र सहितको राजनीतिक
आन्दोलनले सफलता पाएको थियो । केन्द्रमा प्रजातन्त्र फस्टाउँदै गर्दा सेछेन र
खुम्बुतिर त्यसको हावा अलिकति पनि पुगेको थिएन । प्रजातन्त्रको आडमा माओवादी
विद्रोह सम्मको चेत खुल्दा शेर्पाहरुमा राजनीतिक, सामाजिक जागरण शुन्य प्राय छ ।
कथाकी मुख्य पात्र पेमा शेर्पाले आमशेर्पाहरूको
प्रतिबिम्बित गर्छिन् । उपन्यास पढ्दै गर्दा पेमा आँखाभरी घुमिरहन्छिन् । हिमाल झै
सुन्दर अनि निश्चल पेमा र कर्माहरुको जीन्दगी कति दुःखदायी बनेर बित्छ । के यो
महसुस गरेको छ काठमाडौंले ? सल्लीपिरले
प्रश्न खडा गरिदिएको छ ।
हुन त जीवनको अर्को नाम नै दुः ख हो भन्नेहरु पनि
छन् । जीवन के हो नबुझ्दै, जीवनको अर्थ
आफैंले महसुस गर्न नपाउँदै बाबु छिरिङ र आमा ग्याल्मोको अन्र्तसघंर्षमा चेपिएकी
पेमाले दुःख पाईरहन्छे जीन्दगीभरी ।
१६ सय किताब पढ्ने छिरिङ र किताब अनि अक्षरलाई भूत
झै मान्ने अन्धविश्वासी आमाको चेपुवामा पर्छिन्– पेमा । के किताबले मान्छे बिगार्छ ? उक्त समुदायमा व्याप्त अन्धविश्वासलाई छर्लङ्ग पारेका छन् लेखकले ।
कथाभरी शेर्पाहरु चौरी, गोठ अनि खर्क वरिपरि घुमिरहन्छन् । हिमालमा टुरिष्ट
गाईड हुँदाका किस्सा,
गोठमा चौरी डुलाउँदाका कुरा ।
बाघ र भालुसँग लडेको कथा । अनि तिब्बतसम्म पुगेर नुन किनेको स्मरण । पुजा आजा ।
यही परिवेश वरिपरि घुमिरहन्छ– सल्लीपिर ।
सल्लीपिर पढ्दा कुनै किताब पढे झैं लाग्दैन् ।
सिनेमा हेरे झैं हुन्छ । पढ्दै गर्दा त्यही ठाउँ पुगिन्छ, जहाँ सल्लाका बोटबाट झरिरहेका छन् सल्लीपिरहरु ।
नजिकै हिमाल छ । काठै काठले बनाएका घर छन् । बाक्लो बख्खु लगाएका मान्छे छन् ।
चौरी छ । गोठ छ । नुन हालेको चिया र छ्याङ खाइरहेका मान्छे छन् । अनि निरन्तर–निरन्तर फुसफुस गर्दै खसिरहेको चाँदी झै टल्कने हिऊँ
छ ।
पेमाकै वरिपरि घुमेको कथा फुर्वामा गएर सकिन्छ ।
पेमाको बुवा छिरिङ जस्तै छोरा फुर्वामा पनि पढ्ने लेख्ने रहर छ । छोरोलाई पढाउने
लेखाउने गाँउभरीकै शिक्षित बनाउने पेमाको एउटा मात्रै सपना छ ।
चाहेर पनि सुख पाउन सक्दैन् सेछेनले । कहिले आर्थिक
कहिले राजनीतिक अनि कहिले सामाजिक बन्दनमा जेलिरहन्छन् शेर्पाहरू । हिमाल जस्तै
चिसो मन पारेर चिसै जीन्दगी बिताउन बाध्य छन् हिमाली समुदाय । शिक्षा, स्वास्थ्य, यातायात र
आधुनिकता भन्दा टाढा धेरै टाढा कल्पना मात्रैको संसार झै लाग्ने कथाका पात्र र
परिवेश घुमिरहन्छन् सल्लीपिरका वरिपरि ।
प्रकृतिले बरदान दिँदा राज्यले र राजनीतिले ठगेको छ– सेछेनलाई । भोट माग्न पुग्ने नेताहरू चुनाब जितेर
मन्त्री बनेपछि मतदाता बिर्सिन्छन् ।
काठमाडौं आफ्नै झै लाग्ने कुनै आभास हुँदैन् उनीहरुमा । जसरी पेमाले सगरमाथाको हिम पहिरोमा
पुरिएको आफ्नो लोग्ने दाबाको क्षतिपुर्ति लिन आउँदा काठमाडौमा सास्ति भोगेकी छ ।
जीवन हिउँमा समर्पण गरेर प्राप्त गर्ने ५० हजार रुपैयाँ पेमाको लागि ठूलो हैन् तर
उसको सपनाको लागि निकै ठूलो रकम बनेको छ ।
जनयुद्ध कालको तितो यथार्थ पनि खोतलेको छ– सल्लीपिरले । गणतन्त्र र समान व्यवस्थाको नारा सहित
शुरू भएको जनयुद्धमा पेमा जस्ता सोझा साझा नागरिकले पाउनु सम्मको दुःख पाए । शहरमा
चलेको राजनीतिको असरले पेमा, छिरिङ, दाबा र ग्यालेजनहरूको जीवन त बर्बाद भएको थियो–थियो भविष्यको होनाहार फुर्वाको सपना पनि कुल्चिएको
छ ।
नरमाइलो त त्यति बेला लाग्छ जतिबेला बोराभरी किताबै
किताबको खात बोकेर छोरा भेट्ने उत्कट चाहानामा हिडेकी पेमा बाटोमा नै जीवनको
अमूल्य समय बिताउन बाध्य हुन्छे । उता किताब आमा अनि ज्ञान सहितको उज्वल भविष्यको
कामना गरेको फुर्वाको सपनामा हिमपात हुन्छ ।
राजनीतिक र सामाजिक धारमा रहेर लेख्ने नयनराज
पाण्डेले यसपाली पुस्तौ पुस्ता देखिको शेर्पाहरुको कथा उठाएका छन् । पहाडमा जन्मेर
तराईमा हुर्केका पाण्डेले शेर्पा समूदायको सामाजिक अवस्थालाई अत्यन्तै न्यायोचित
ढंगले औपन्यासिक रूपमा प्रस्तुत गरेका छन् । संगै सल्लीपिरले पर्यटनको बलियो
सम्भावनालाई पनि उठाएको छ । कथामा जति–जति हिमाली भेग
उक्लिदै गयो उति–उति देखिने, गुम्बा, माने, खर्क, लेक र
ध्वजाहरुले पर्यटकीय स्थान पनि पक्कै लिनेछन् ।
समग्रमा उपन्यास निकै पठनीय बनेको छ । यसमा प्रयोग
भएको समय र रकम पुरापुर असुल हुनेछ । लू, उलार, घामकिरी जसरी नेपाली साहित्य क्षेत्रमा चर्चामा रहन
सफल भए सल्लीपिरले त्योभन्दा बढी चर्चा पाओस् शुभकामना ।
No comments:
Post a Comment