“सल्लीपिर” मा अर्थ–राजनीतिक चेत
(नयाँ पत्रिका दैनिकमा जेठ ४ गते शनिवार,२०७३मा प्रकाशित)
विमल कोइराला
उलार’ र लु’ पढेपछि नयनराज पाण्डेको आञ्चलिकतामा डुबुल्की मारेर लेख्न
सक्ने खुबी थाहा भइसकेको थियो । ‘सल्लीपिर’ पढेपछि भने नयनको विकास अर्थशास्त्रको पक्ष उद्घाटित भएको
पाएँ । प्रशासन व्यवस्था र विकास अर्थशास्त्रको विद्यार्थीका नाताले सल्लीपिरका
पात्रको छनोट र बनोट अनि शेर्पा समुदायको सामाजिक आर्थिक अवस्थाबारे लेख्ने कुतूहल
जाग्यो । प्रस्तुत टिप्पणी नयनराज पाण्डेको तीखो विश्लेषण र अर्थ राजनीतिक चेतका
नयाँ आयामको उद्घाटनले अर्थशास्त्रीय शब्द सञ्जालमा नअल्मल्याई सरल भाषामा जनजीवन
खुलस्त लेखिन सक्छ भन्ने पक्षलाई समर्पित र प्रशंसा गर्न लेखेको हुँ । मैले
जानेबुझेसम्म नयनराज पाण्डे नेपाली गद्य साहित्यका हस्ती हुन् । उनको साहित्यइतर
संलग्नताको मलाई जानकारी छैन । सल्लीपिर उपन्यासमा भने उनी समाज परिवर्तनका
संवाहकको रूपमा उपस्थित भएका छन् । उनको यो नयाँ क्षेत्र विकास अर्थशास्त्रको
उपस्थिति चानचुने छैन ।
गरिबी गरिबका कारण निर्माण भएको होइन, सम्पत्तिमाथिको भेदभाव, राज्यसत्ताको हेपाहा प्रवृत्ति र आधारभूत क्षेत्रहरू (शिक्षा र स्वास्थ्य)मा भेदभावपूर्ण पहुँच आदिका कारण गरिबी बढेको हो । हाम्रो मुलुकको सामाजिक, सांस्कृतिक र शासकीय परिवेशले गरिबी पुस्तान्तरण हुँदै गएको छ ।
बिल गेट्सले भनेजस्तो ‘जन्मँदा गरिब भयौ भने तिम्रो गल्ती होइन, मर्दा पनि गरिबै रह्यौ भने तिम्रै गल्ती हो’ स्थिति नेपालमा छैन । हजुरबाउ गरिब त्यसकारण बाउ गरिब अनि छोरा–नाति पनि गरिब भन्ने यहाँको सजीव यथार्थता छिरिङ, दाबा हुँदै फुर्वासम्म सरेको कहालीलाग्दो तस्बिर नयनले देखाइदिएका छन् । छिरिङ मात्र यस्तो पात्र हो जो साक्षर (शिक्षित ?) थियो । समाजको अर्धचेतनाका कारण ऊ एक्लोजस्तो देखिन्थ्यो । उसले न त शिक्षाको प्रसारणले समाजलाई लाभान्वित गर्न सक्यो न आफैँलाई बदल्न सक्यो । बरु उल्टै छिरिङ तत्कालीन राज्य व्यवस्थाको प्रताडनाको सिकार भयो । छिरिङको उपस्थिति उपन्यासभरि नै अन्योलपूर्ण देखियो । खुम्बू क्षेत्रका अन्य गाउँबस्ती पनि भिन्न देखिएनन् । उमेर पुगेका नानीहरूले स्कुल देख्न नपाउने र स्वास्थ्यको बन्दोबस्त नभएका गाउँबस्तीमा अकालमै मर्नुपर्ने परिस्थितिको सजीव चित्रण गरेर लेखकले उपन्यासभरि विकास अर्थशास्त्रका विविध पक्षको व्याख्या गरेका छन् ।
गरिबी गरिबका कारण निर्माण भएको होइन, सम्पत्तिमाथिको भेदभाव, राज्यसत्ताको हेपाहा प्रवृत्ति र आधारभूत क्षेत्रहरू (शिक्षा र स्वास्थ्य)मा भेदभावपूर्ण पहुँच आदिका कारण गरिबी बढेको हो । हाम्रो मुलुकको सामाजिक, सांस्कृतिक र शासकीय परिवेशले गरिबी पुस्तान्तरण हुँदै गएको छ ।
बिल गेट्सले भनेजस्तो ‘जन्मँदा गरिब भयौ भने तिम्रो गल्ती होइन, मर्दा पनि गरिबै रह्यौ भने तिम्रै गल्ती हो’ स्थिति नेपालमा छैन । हजुरबाउ गरिब त्यसकारण बाउ गरिब अनि छोरा–नाति पनि गरिब भन्ने यहाँको सजीव यथार्थता छिरिङ, दाबा हुँदै फुर्वासम्म सरेको कहालीलाग्दो तस्बिर नयनले देखाइदिएका छन् । छिरिङ मात्र यस्तो पात्र हो जो साक्षर (शिक्षित ?) थियो । समाजको अर्धचेतनाका कारण ऊ एक्लोजस्तो देखिन्थ्यो । उसले न त शिक्षाको प्रसारणले समाजलाई लाभान्वित गर्न सक्यो न आफैँलाई बदल्न सक्यो । बरु उल्टै छिरिङ तत्कालीन राज्य व्यवस्थाको प्रताडनाको सिकार भयो । छिरिङको उपस्थिति उपन्यासभरि नै अन्योलपूर्ण देखियो । खुम्बू क्षेत्रका अन्य गाउँबस्ती पनि भिन्न देखिएनन् । उमेर पुगेका नानीहरूले स्कुल देख्न नपाउने र स्वास्थ्यको बन्दोबस्त नभएका गाउँबस्तीमा अकालमै मर्नुपर्ने परिस्थितिको सजीव चित्रण गरेर लेखकले उपन्यासभरि विकास अर्थशास्त्रका विविध पक्षको व्याख्या गरेका छन् ।
खुम्बू क्षेत्रको आर्थिक अवसर भनेकै हिमाल चढ्ने विदेशीहरूको भरिया हुनु हो । त्यही आशमा यौवनको लहलहाउँदो उमेर पर्खेर बस्छन् युवाहरू । दाबाले त्यस्तै गर्यो । उसको घरबारी जोर्ने र पेमालाई सुख दिने सपनाको आधार नै ‘भरिया’ हुन पाउनु ठान्यो । युवावस्थामा राजनीतिक दलको भरिया भयो तर जित्नासाथ कथित जनप्रतिनिधिले उसलाई चिनेन । यो दाबाको मात्र होइन, आम नेपालीको नियति हो । मतदातालाई चिन्ने र राज्यले जनतासँग खुलेर संवाद गर्ने परिस्थिति भइदिएको भए लोकतन्त्रको लाभांश जनताले पनि पाउने थिए । तर, लोकतन्त्र सीमित व्यक्तिहरूको बिलासिताको वस्तु हुन गयो । जनता नबोलून् भनेर किस्ताबन्दीमा लोकतन्त्रको पोको जनतासम्म पुर्याउन खोजियो । तर, दाबा छिरिङहरूले त्यसको अंश पनि पाएनन् ।
सल्लीपिर थुप्रै कथा उपकथाहरूको अर्थपूर्ण संयोजनजस्तो पनि देखिन्छ । हाम्रो शासन व्यवस्थाको कुरुप र भद्दा तस्बिर खर्कमा चौँरी लिएर जाँदा गाविस–सचिव र वनका कर्मचारीले घुस मागेको प्रसंगबाट प्रस्ट्याइएको छ । राष्ट्रियता र राष्ट्रिय एकताको गणितीय सूत्र हुँदैन । एक–अर्कालाई गर्ने व्यवहारबाट पनि निर्देशित हुन्छ । सरकारी जग्गामा सयल गर्न जनप्रतिनिधिले निर्माण गर्न लागेको रिसोर्टमा सरकारी अधिकारी नै खटिनुले राज्य व्यवस्थाको निरीहता उदांग भएको छ । चाहे दक्षिणबाट होस् वा उत्तरबाट सीमामा बस्ने नेपाली ठगिएको छ, हेपिएको छ । सानो देशको नागरिक भएकाले उसको प्रतिरोधले सुनुवाइ पाउन सकेको छैन । सीमा बजारका ठगीका घटनाको रोचक वर्णन गरेका छन् नयनले सल्लीपिरमा ।
किन कुनै राष्ट्र असफल हुन्छ ? ड्यारोन एसमोग्लु र जेम्स रविन्सनले आफ्नो पुस्तक ‘ह्वाई नेसन्स फेल’ मा अमेरिकाको एरिजोना राज्यको मेक्सिकोसँग साँध सिमाना भएको क्षेत्रको उदाहरण दिएका छन् । नोगलेस सहरका केटाकेटी स्वस्थ छन्, स्कुल जान्छन् । उमेर पुगेका सबैजसोले माध्यमिक तह उत्तीर्ण गरेका छन् । ६५ वर्ष नाघेकाहरूले पनि स्वाथ्योपचार पाइरहेका छन् । उनीहरूको आयस्ताले मनग्ये पुगेकै छ । बिजुली, टेलिफोन र बाटोघाटोको सुविधा पनि छ । आवागमन निर्बाध छ । चोरीचकारी, लुटपाट र धम्की कतैबाट पनि आउँदैन । त्यसैको दक्षिणपट्टि नोगालेस, सोनोरा छ । मेक्सिकोको सापेक्षित रूपले धनी क्षेत्र पनि हो, तर त्यहाँका धेरै युवाले माध्यमिक तहको शिक्षा पाएका छैनन् । उमेर पुगेका सबै नानी स्कुलमा छैनन् । बालमृत्युदर पनि बढी नै छ र सबैले सार्वजनिक सुविधा पाएका छैनन् । त्यहाँका नागरिकले भ्रष्ट राजनीतिज्ञको प्रताडना पनि सहनुपरेको छ । एकापट्टि लोकतन्त्रको उज्यालो छ, अर्कापट्टि केही टाठाबाठाका निम्ति मात्रै ।
खुम्बू क्षेत्रमा एउटै स्कुल नहुनु, प्राथमिक स्वास्थ्य केन्द्र नहुनु र बाटाघाटा र सम्पर्क नहुनुले जीवन त्रासदीपूर्ण बनाएको छ । किन दाबाले पढ्न नपाउने ? किन पेमा निरक्षर भई ? किन पुस्तौँपुस्ता खर्कमा चौँरी लिएर जीवन गुजारा गर्नुपर्ने बाध्यता छ ? पाण्डेले सल्लीपिरमा यी तमाम विकास अर्थशास्त्रका प्रश्न एजेन्डाका रूपमा राखेका छन् । जति जीवन्त वर्णन नेगालेस, सोनोराको छ, त्यत्तिकै रोचक प्रस्तुति नयनको पनि छ ।
घुमाउरो पारामा जटिल र नबुझिने शब्द प्रयोग गर्दा मात्र विद्वान् होइन्छ, भन्ने मान्यतालाई नयनले राम्रै थप्पड दिएका छन् । सरल शब्दमा सुरुचिपूर्ण र कलात्मक व्याख्याले पाठकको मन जित्न सकिन्छ भन्ने उनले प्रमाणित गरिदिएका छन् । सल्लीपिर पढ्दै गर्दा मलाई धेरैपल्ट सोच्न बाध्य गरायो । जुन रचनाले सोच्न बाध्य गराउँछ त्यो सार्थक रचना हो । सल्लीपिर त्यसैले एउटा सार्थक कृति हो ।
गरिबी घटाउन गरिबको पहिचान गरी तिनको अयस्ता वृद्धिमा राज्यले लगानी गर्नुभन्दा समष्टिगत अर्थ संरचनामा सुधार गरी गरिबमुखी कार्यक्रममा लगानी गर्नु छिटो र प्रभावकारी हुन्छ । समावेशी, फराकिलो र उच्च आर्थिक वृद्धिमा जोड दिनु नै श्रेयष्कर हुन्छ । नयनले आफ्नो उपन्यासमा अर्थशास्त्रको यो सर्वमान्य र प्रमाणित सूत्रको प्रयोग गरेका छन् । दाबाको गाउँमा आधारभूत क्षेत्रहरूमा राज्यले लगानी बढाउन सकेको भए वा परम्परागत रूपले चौँरीमा आश्रित अर्थतन्त्रको विविधीकरणमा विनियोजन गरेको भए त्यहाँका जनता लाभान्वित हुने थिए र अर्थतन्त्रले पनि फड्को मारिसकेको हुन्थ्यो । त्यसो हुन सकेन । हाम्रो अर्थव्यवस्था कुशासनको दुष्चक्रमा नराम्ररी फस्यो । सल्लीपिरभित्र देखिएको अर्थ–राजनीतिक चेतको थोरै मात्रा पनि हाम्रो राजनीतिमा देखिएन ।
‘खान दिइनस् भने तँलाई मार्छु’ भन्ने द्वन्द्वका अभियन्ता र ‘किन खान दिइस्, तँ पनि माओवादी हो’ भन्ने सेनाको चेपुवामा परेको गरिब परिवारको मनोदशालाई नयनले राम्ररी चित्रण गरेका छन् । द्वन्द्वका वेला देखिएका अन्तरविरोधको पनि तटस्थ व्याख्या गरिएको छ । फुर्वाले माग गरेको शिक्षा दिन नसके पनि उसको चेतनावृद्धिका कच्चापदार्थ जुटाउन दृढसंकल्पित पेमाको जीवनका साहसिक क्षणको कथा जोडिएको छ, उपन्यासको अन्त्यमा । यसरी उपन्यासलाई अर्थ–राजनीतिक अन्तर्वस्तुका आधारमा कथा, उपकथाको क्रमलाई लहरै मिलाई जोड्न खोजिएको छ । यो कृति साहित्यिक कोणबाट हेर्दा जति खँदिलो देखिन्छ, अर्थ राजनीतिक कोणबाट पनि त्यत्तिकै गहकिलो छ ।
माओवादी द्वन्द्वका वेला देखिएका आलाकाँचा व्यवहारको पनि सजीव प्रस्तुति छ । पेमाले ल्याएका किताबलाई सेनाले माओवादी पाठ्य सामग्री देख्नु र माओवादीले परम्परागत पुँजीवादी विचारको सहायक देख्नुले दुवैथरीको दृष्टिकोण उजागर भएको छ । साहित्यको कृति भएकाले सल्लीपिरभित्र धेरै अर्थ–राजनीतिक मसला खोज्नु मेरो पनि भूल हुनेछ । तथापि, पढेर अर्थशास्त्री भएकाहरूभन्दा नयनजस्तो परेर, भोगेर अर्थशास्त्री भएकाले सटिक व्याख्या गर्न सक्दो रहेछ भन्ने पुष्टि भएको छ ।
तर, सल्लीपिरलाई अर्थ राजनीतिक चेतका हिसाबले मात्र हेर्नु लेखकप्रति अन्याय हुन्छ । यसले निर्माण गर्ने नयाँ मूल्य–मान्यताको पनि सघन परख हुनुपर्छ । कुनै ‘विषय’ छानेर इतिहास, भूगोल र अर्थशास्त्रको एकीकृत भट्टीमा विचार पगालेर नयाँ सृष्टि गर्नु गाह्रो काम हो । नयनले गाह्रो काम सजिलो गरी देखाइदिएका छन् ।
No comments:
Post a Comment