रुमानी ‘सल्लीपिर’
बाह्रखरी अनलाइन पत्रिकामा शनिबार २५, बैशाख २०७३प्रकाशित
– शिशिर पराजुली
वर्षले
नयाँ खुड्किलो उक्लिए पनि पाठकको नयाँ साहित्यिक यात्राको उत्साह पुरानै सालबाट
चल्दै आएको हल्लाखल्लामा आधारित थियो नै । तर, ०७२ साललाई जसरीतसरी आफ्नो मस्तिष्कबाट हटाउँदै ०७३
सालले आफ्नो आयतन बढायो । वर्षको सुरुमै कहलिएका लेखक नयनराज पाण्डेको सातौं
उपन्यास ‘सल्लीपिर’ आयो । अहिले बजार यसकै
चर्चापरिचर्चाले तातेको छ ।
दमदार
साहित्यिक प्रस्तुति सरल तरिकाले दिन खप्पिस पाण्डेको नयाँ प्रस्तुतिको हल्लाखल्ला
पनि जोडतोड थियो र भयो पनि त्यस्तै । विमोचन कार्यक्रममा पाठकको उपस्थिति निक्कै
बाक्लो थियो । यो लेखकप्रतिको विश्वास र भरोसाको मापक पनि हो ।
‘लू’ र ‘उलार’ को विषयवस्तुले नेपाली पाठकलाई पाण्डेको लेखनीमा विश्वास
थियो । त्यही विश्वासलाई जित्न ‘सल्लीपिर’ सफल रह्यो वा रहेन, त्यो सबै पाठकको हातमा
भर पर्छ । नेपाली साहित्यमा पठन संस्कृति विकास भएको ठान्ने पाण्डे आफ्ना पाठकलाई
निकै सम्मान गर्छन् र उनीहरूको आलोचनालाई रूचाउँछन् । उनी पहिले पाठक र पछि
समालोचकको मस्तिष्कमा छिर्न मन पराउँछन् । यो उनको बल हो ।
किताबको
शीर्षक सार्वजनिक भएपछि प्राय: पाठक अलमल्लमा परे । लेखक आफैं शीर्षकको अर्थ
बुझाउन तल्लीन देखिन्थे । तर, सबै पाठक नयाँ
विषयवस्तु,
पात्र र स्थानसँग साक्षात्कार
हुनेमा चाहिँ ढुक्क देखिन्थे ।
‘सल्लीपिर’को आवरणमा देखिने विषयवस्तुले कथाको झिनो झल्को त दिन्छ
नै । आवरणमा कुनै एउटा बालक हिमालको काखमा ध्वजापताकासँगै छ । तर, उपन्यासको विषयवस्तु जति सरल देखिन्छ, त्यति नै किल्ष्ट छ । कति ठाउँमा रोकिनुपर्छ । थकाइ
मार्नुपर्छ । पानी पिउनुपर्छ । रूनुपर्छ । डराउनुपर्छ । काँप्नुपर्छ ।
उपन्यासभित्र
जम्मा ५६ वटा अध्याय छन् तर विषयवस्तु र कथा भने सयौं छन् । उपन्यासको यात्रा
नगर्दै ब्याक कभरमा लेखिएका कुराले मस्तिष्कमा कम्पन ल्याइदिन्छन् । आफ्नै बाबु
छोराको रूपमा फेरि धर्तीमा आउने कुराले पाठकलाई झस्काइदिन्छ । कतै यो किताब
पुनर्जन्मको ग्रन्थ त हैन ? दिमागमा यस्तै कुरा
खेल्न नपाउँदै सुरू हुन्छ- छिरिङ, पेमा, कर्मा, छिमी, फुर्वा र अरु शेर्पाहरूका कथा । पाण्डेले किताब सुरूमै
समर्पण गर्दै लेखेका छन्, “जसको दुरूह जीवनयात्रा
र संघर्षको कथा यो उपन्यासमा अक्षर बनेर पोखिए, उही पेमा र खुम्बुका सबै शेर्पालाई । उनीहरूको क्षमता, श्रम, भाषा र संस्कृतिको
सम्मानसहित ।”
उपन्यासको
सुरूवाती अध्यायमा पेमा र कर्माको कथा छ । उनीहरूका बालसुलव कथाले पाठक आफ्नो
बालापनमा पुग्छन् र सम्झिन्छन् आफ्ना पिताको माया, उनले सुनाएका कथा र कापीमा कोरेर बनाएका चित्र । पेमा र
कर्मासँगै सिम्टा र सल्लीपिर बटुलिन्छ, लालिगुराँससँग खेल्न
पुगिन्छ,
पूजाकोठामा बालेको धूपको बास्ना र
घिउबत्तीको धुवाँ यहीँसम्म महसुस गर्न सकिन्छ । र, सँगै मोहक नुम्बुर र कोङ्दे हिमालको चिसो पनि छुन सकिन्छ
।
झुटो
बोल्दा नराम्रो भएको ठान्ने पेमा सधैं आफ्ना बाबु र आमाबीच प्रेम अंकुराएको हेर्न
चाहन्छे तर आफ्नो बाबुको व्यवहारले गर्दा पेमाकी आमा अर्कै विदेशी मान्छेसँग विवाह
गर्छिन् । पतिको व्यवहार परिवर्तन गर्न उनले अनेक प्रयास गर्दा पनि सफल हुन्निन् ।
पत्नीले आफ्ना पुस्तक जलाइदिएपछि विक्षिप्त बाबु छिरिङ घर छाडेर हिँड्छन् । आमा
विदेशीसँग विवाह गरेर जान्छन् अनि पेमा पुग्छिन् हजुरबुवा र हजुरआमाको घर । आमा र
बाबुसँग छुट्टिएर बस्दा पेमाको मन रुन्छ । तर, पनि उसले बाँच्न सिक्छे । बाबु छिरिङले सुनाउने गीतको
अर्थ उसले बिस्तारै बुझ्न थाल्छे :
“दु:ख दिन्छन् बाबै, साह्रै दु:ख दिन्छन्
सपना
र रहरलाई पाहुना
पाहुना
बनाउनु हुँदैन
पाहुनाहरूले
साह्रै दु:ख दिन्छन् ।”
त्यसपछि
कथाले अर्कै मोड लिन्छ । पेमाको विवाह दावासँग हुन्छ । पेमाले आफ्नो विवाहको
बारेमा खासै ध्यान पनि दिइन र सोध्न पनि चाहिन किनकि उसलाई थाहा थियो– हजुरबुवा/आमा बूढाबूढी भइसके, अब बोझ बनिरहनु हुँदैन । पेमालाई अब नयाँ वातावरण र नयाँ
घर जानु थियो । पेमा दु:ख बुझेकी मान्छे, नयाँ ठाउँमा गएर आफूलाई
समाहित गर्छे । उसको जीवनमा नयाँ मोड, उकाली,-ओराली र नयाँ सम्बन्ध थपिँदै जान्छन् । दावाको प्रेममा ऊ
असाध्यै खुसी हुन्छे र त्यो खुसीको सीमा फुर्वा अर्थात् पेमा र दावाको छोरासम्म
आइपुग्छ । दावासँग तिब्बत जाँदा पेमाले शेर्पाहरूको दु:ख नजिकबाट बुझ्छे र देख्छे
आफ्ना सन्नततिको भविष्य र कहालिन्छे हिमालको चिसो
र सन्नाटासँग । र, सम्झन्छे आफ्ना पिताले
सुनाएको कथा,
जहाँ हुन्छ ११ वटा मात्र घर भएको
एउटा बस्ती,
१११ वटा चौंरीको बथान । बथानको
पछिपछि हिँडिरहेकी बालिका । चितुवाले आक्रमण गरेपछि घाइते भएका चौंरीहरू र चौंरीको
रगतले बिस्तारै रातो हुँदै गएको हिउँ। मानिस र पशुको मौन सम्बन्धबारे अनेक तर्कना
गरिएको भेटिन्छ । यात्राकै क्रममा पेमा निकै कल्पनाशील देखिन्छे र अनेक तर्कना
गर्छे । आफूले बाँचिरहेको जीवनलाई कल्पनाशील ठान्दै भन्छे, “हामीहरू सबै यो दृश्यमय संसारमा हैन, कसैले सिर्जना गरेको कथामा बाँचिरहेका छौं । हामीहरू
मान्छे हैनौं । अरूले नै लेखेको, अरूले नै भनेको कथाका
कमजोर पात्रहरू हौं ।”
आफ्ना
पिताको पुस्तकप्रतिको मोह आफ्नो छोरा फूर्वामा पाउँदा पेमा चकित हुन्छे किनकि
उसलाई किताब र अक्षर भूत हुन् भन्ने लाग्थ्यो । एकरात पेमाको सपना देख्छे, जसले फूर्वाको भविष्य र ऊ आफैंको नयाँ यात्रा सुरू हुन्छ
। त्यसपछि उसले अझ नजिकबाट देख्छे- जीवनको कारुणिक यात्रा र नयाँ सम्बन्धको
विस्तारित रूप ।
आफ्नी
आमाको आँखामा आँसु हेर्न नचाहने फुर्वाको कथा सुन्ने र अक्षर चिन्ने उत्सुकतालाई
उसका पिता,
आमा र छिमेकीले अनौठो मान्छन् ।
उनीहरूले फुर्वाको पुस्तकमोहलाई महत्व दिँदैनन् । तर, फुर्वाको पढ्ने उत्सुकता हिमालझैं अटल रहिरहन्छ । उसकै
रहर पूरा गर्ने क्रममा दावा हिमालको खर्पसमा पुरिएर मर्छ । पति मरिसकेपछि छोराको
अनुहार हेरेर बसेकी पेमा त्यसको क्षतिपूर्ति लिन काठमाडौं आइपुग्छे, जुन ठाउँ उसलाई हिमालको खर्पसभन्दा अप्ठ्यारो लाग्छ ।
याम्बु अर्थात् काठमाडौंमा आफ्ना कोही नभेटिएको तीतो यथार्थ र नयाँ सम्बन्धको
विस्तारले कथामा नयाँ मोड दिन्छ । आफ्नो छोराका लागि किताब किनेर गाउँ फर्किंदा
माओवादीको जालोमा फस्छे र थुनिन्थे ६ महिना सेनाको कालो काराबासमा । त्यहाँबाट ऊ
चाहेर पनि फर्कन सक्दिन । ६ महिनाको अप्यारिलो बसाइ र खटनपछि पेमा किताबका
भारीसहित घर फर्कन्छे । तर, ऊ बाटोमा कतै हराउँछे ।
आफ्नो गाउँको बाटो बिर्सिन्छे । उसले ल्याएका किताब छोरासम्म पुग्न पाउँदैनन् ।
पढ्न नजानेर पाएको दु:खले उसलाई काठमाडौंसम्म डोर्याएको थियो । त्यही ग्लानी हटाउन
छोरालाई पढाउने उसको इच्छा बरफझैं जम्छ । नफर्किएकी आमाको पर्खाइमा नयाँ कथा र
किताब पढ्ने रहर राख्दै बसेको फुर्वाले कोरेको धर्को सम्झँदा आङ सिरिंग हुन्छ ।
भनिन्छ-
राम्रो काव्यको कथा एकै सासमा भनेर सकिन्छ । ‘सल्लीपिर’को कथा पनि एकै सासमा
भन्न सकिन्छ । नेपाली साहित्यमा धेरै नआउने विषयलाई पाण्डेले ‘सल्लीपिर’मा उतारेका छन् । ‘लू’ र ‘घामकिरी’मा मुस्लिम समुदायको
संस्कृति,
रहनसहन र तिनको धार्मिक आस्थाको
वर्णन छ । ‘सल्लीपिर’मा बौद्ध धर्म र यससँग
सम्बन्धित विषयसँग साक्षात्कार हुन पाइन्छ । नेपाली साहित्यमा बौद्ध धर्म र
हिमालको दु:ख समेटिएका उपन्यास औंलामा गन्न सकिन्छन् ।
‘सल्लीपिर’को विषयवस्तुले पाठकलाई बाँधराख्न सक्छ । पाठक कथा र
पात्रसँगै डुल्छन् हिमाली क्षेत्र, गुञ्जिरहन्छ बौद्ध
गुम्बाको घण्ट र अनुभूत हुन्छ धूपको सुगन्ध । ‘सल्लीपिर’का सबल पक्ष अनेकन् छन्
।
अनुसन्धान
र चिन्तनको लेखनले पक्कै सफलता हासिल गर्छ । पाठकहरु सधैं यस्तै लेखनीमा भिज्न
रूचाउने कुरा पाण्डेले राम्रोसँग बुझेका छन् । त्यसैले ‘सल्लीपिर’का लागि उनले गहकिलो
अध्ययन/अनुसन्धान गरेका छन् । तराईमा हुर्केबढेको मानिसले हिमाली परिवेशमा आधारित
बौद्ध धर्म,
आनी, गुम्बा, शेर्पा
संस्कृति/जीवनशैली, विवाह र मृत्यु
संस्कारबारे लेखेको कथाले मन छुन्छ । पछिल्लो समय बजारमा प्रकाशित उपन्यास र त्यसका
विषयवस्तुले व्यापक निराश बनाइरहेका बेला ‘सल्लीपिर’ले पाठकको मनमा नयाँ सूर्योदय पक्कै गर्नेछ ।
No comments:
Post a Comment