आँशु पुछ्न रुमाल लिएर बस्नुपर्ने सल्लीपिर
लोकान्तर दैनिक अनलाइन पत्रिकामा प्रकाशित
अमृता लम्साल
तराईमा जन्मी हुर्केका लेखकले
हिम्मतका साथ हिमाली जनजीवन र संस्कृतिबारे लेख्न कम्मर कसे । अरूले सोचेका थिए कि
थिएनन् कुन्नि ! उनले नयाँ विषयमा झ्याम्मै हात हाले । खुम्बु र माने घुमिरहेका
हिमाली गुम्बाहरूलाई आफ्नो कथाको मुख्य स्थान र पात्र बनाए । छोटाछोटा वाक्य
संयोजनले सिंगारिएको लेखकको आफ्नो मन्त्रमुग्धकारी लेखनशैली त छँदै थियो, त्यसैलाई
साथ लिएर हिमाली भेगका वासिन्दाको यति कारुणिक चित्र कोरे कि समय–समयमा
छेउमा आँसु पुछ्ने कपडाको टुक्रो राखेर पुस्तकको पाना पल्टाउँदै जानुप-यो ।
बाल्यकालमा शेर्पा र लामा देख्दा
डरले मुटु काम्थ्यो किनकि हामी हुर्किएको समाजमा अरू समाजसँग घुलमिल भइहाल्ने, आफू
इतरका समुदाय र समाजको बारेमा जान्ने चलन थिएन । बख्खु र ‘ह्याट’ जस्ता
टोपी लगाएका, लामो लामो कपाल (त्यो पनि नकोरेर
जगल्टा देखिने) भएका व्यक्तिहरू घरघरमा जिम्बु र सियो लिएर आउँथे । समाजका
वासिन्दाहरू उनीहरूसँग चामल वा अन्य अन्न दिएर जिम्बु साटासाट गर्थे । यो
चलचित्रको कथा होइन, काठमाडांैको चावहिलमा जन्मिएकी यो
पंक्तिकारले देख्दै हुर्किएको दृश्य हो ।
बौद्ध गुम्बा नजिकै थियो तर यसरी
मनमा ‘डर’
पसेको थियो कि ‘थाक्से
र भोटेले बच्चाहरूलाई लैजान्छन् र उनीहरूको नजिक जान हुन्न’ भन्ने
मनोवृत्ति लिएर हुर्किइयो । त्यसैले ती सरल मानिसहरू, उनीहरुको
संस्कृति र उनीहरूको रहनसहनबारे जानकारी पाउने समय कहिल्यै जुरेन । त्यसैले पनि
होला, ‘सल्लीपिर’ हातमा
पर्नेबित्तिकै त्यसका पानाहरू यसरी पल्टाइयो जसरी कुनै केटाकेटीहरू मिठो चक्लेट
पाउँदा चुसिहाल्छन् ।
हुनत धेरै पाठकहरुको प्रतिक्रिया यो
पनि छ, सल्लीपिरले पीडाको महल ठड्याएको छ ।
कलात्मक लेखनमार्फत लेखकले पाठकको मनलाई दुःखमा यति धेरै डुबाइदिए कि त्यसको
वेदनाले भरिएको मनलाई निकाल्न ठूलै कोसिस गर्नुप-यो । तर कुरा यो पनि हो, मानवीय चाख नै आँसु र पीडामा धेरै
देखिन्छ । आँसुले पाठकलाई बाँध्छ र आँसु लेखकको पनि प्रिय वस्तु हो । प्रेमकहानी
नै पढ्नुछ भने पनि आँखा पुछ्दै लैला–मजनु,
रोमियो–जुलियट
नै बढी पढ्न खोजिन्छ । शायद लेखक पनि यही सिद्धान्तबाट अभिप्रेरित भएका हुन् कि !
उनले कतिसम्म आँसु दिएका छन् भने
उनी लेख्छन्, ‘त्यो चिसो अाँसुु सँधै नदी भएर
बग्दैन, त्यो त हिउँ पनि बन्छ र थुप्रिन्छ
हिमालमा । हिमाल त्यसैले आँसुहरुको शिखर पनि हो । कसैका लागि पनि सजिलो छैन यो
शिखर उक्लन ।’ उसो त पुस्तकले हिमाली भेगको
दैनन्दिनी मात्रै समेटेको छैन ।
विषयको हिसाबले किताबलाई थुप्रै
भागमा बाँड्न सकिन्छ । पहिलो, यसको मुख्य पात्रको शिक्षाप्रतिको
लगाव । दोस्रो, हिमाली भेगका जनताले हरेक दिन
भोग्नुपरेको कष्ट र त्यही कष्टले हिमाल चढ्नेहरूका भरिया बनेर जानुपर्ने बाध्यता ।
तेस्रो, माओवादी युद्धले गर्दा सर्वसाधारणले
भोग्नुपरेको पीडा । चौथो, ‘फ्री तिबेत’ आन्दोलनमा
कसरी सोझासाझालाई फँसाइन्छ भन्ने प्रसङ्ग र पाँचौ,
सरकारी कार्यालयले सरकारी
कामको सिलसिलामा गाउँबाट आएका सामान्य जनतालाई दिने दुःखकष्ट ।
पुस्तकबारे थुप्रै पाठकका
प्रतिक्रिया र टिप्पणी सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती आइरहेका छन् तर
त्यसभित्रको मुख्य विषय, ‘शिक्षा’को
बारेमा भने कमै पाठकले मात्र ध्यान दिएको देखिन्छ । सल्लीपिरले शिक्षाको बारेमा
चेतना जगाउन ठूलो भूमिका खेलेको छ । किताबभरिनै ‘अक्षर’को
कथा मिठोसँग बुनिएको छ, माकुरोले मसिना जालमा नजानिँदो
किसिमले आफ्ना आहार फँसाए जस्तै ।
साँच्चै भन्नुपर्दा, पुस्तकको
सुरुआत नै ‘अक्षर’प्रतिको
मोहबाट हुन्छ र त्यही ‘अक्षर’ चिन्ने
र चिनाउने परिवेशमा कथाको अन्त्य गरिन्छ । कथाको शुुरुवातमा दुई विपरीत ध्रुवमा
रहेका परिवार देखाइएको छ, ‘कर्मा’ र
‘पेमा’को
बाबुआमाको परिवारमा प्रेममा डुबेका लोग्ने र स्वास्नी छन् भने पेमाको बाबुआमाले एक
अर्कालाई माया गरेको पेमाले देखेकी हुँदिन ।
पेमाको बाबुआमाको कथा पढ्दा कताकता ‘अनमेल
विवाह’ को झल्को देखिन्छ । कारण, पेमाको
बाबु किताब भनेपछि भुतुक्कै हुने तर उसकी आमा किताबलाई आफ्नो शत्रु ठान्ने । त्यही
किताबकै कारण पेमाको बाबु छिरिङले उसकी आमा ग्याल्मोलाई छाडेर हिँड्छ ।
त्यो क्षणको वर्णन लेखले यसरी गरेका
छन्, ‘एक रात छिरिङ पढ्दा–पढ्दै
निदायो । त्यही मौकामा ग्याल्मोले छिरिङले कताकताबाट जम्मा गरेका सबै किताब
कोठाभित्रबाट बाहिर आँगनमा ल्याई । हिजोमात्र सल्लाघारीबाट बटुलेर ल्याएका जम्मै
सल्लीपिर र सिम्टाहरू किताबमाथि थुपारी । आगो सल्काइदिई ।
सल्लीपिर र सिम्टासँगै किताब पनि
जल्न थाल्यो । धुँवा उड्न थाल्यो । एघार सय सो-हवटा किताबहरूको धुवाँ । किताब
सल्किसकेपछि छिरिङ ब्युँझियो । आफूले कति जतन गरेर राखेका किताब बाहिर जलिरहेको
देखेर उसको मन निचोरियो । त्यो रात छिरिङले जलिरहेका किताबबाट माथिमाथिसम्म
उडिरहेका आगाका झिल्कातिर हेरिरह्यो । उसले ती झिल्कामा जलिरहेको किताबबाट
अताल्लिएर मुक्त हुन खोजिरहेका अक्षरलाई देखिरहेको थियो ।’
त्यसपछि छिरिङ घर मात्रै होइन, उसले
एकदमै माया गर्ने आफ्नी छोरी समेत छाडेर हिँडिदिन्छ । उसको किताबप्रतिको लगाव
त्यति गाढा थियो । उही छिरिङकी छोरी आफ्नो छोरालाई पढाएर रिम्पोछे बनाउने
उद्देश्यमा दुखको कहर उठाएर कताकता पुग्छे, कति हन्डर खान्छे , सल्लीपिर
त्यसैमा रुमल्लिएको छ ।
कथा बुन्ने क्रममा लेखकले आफ्नो ‘अक्षर’ प्रतिको
भोक मार्न नसकेर छिरिङले आफ्नै छोरी पेमाको गर्भबाट फुर्वाको जन्म गराइदिन्छन् ।
उनी लेख्छन् , ‘त्यस रात पेमाले सपना देख्छे ।
सपनामा छिरी पेमालाई भन्छ, ‘हरेक आमाबाबु आफ्नै सन्तानको
गर्भबाट जन्मिन्छन् । म मरेर फेरि तेरो छोरा भएर जन्मिएँ ।’ सपनाबाट
ब्युँझिएपछि पेमाले आफैँलाई प्रश्न गर्छे, ‘के मेरै कोखबाट जन्मिए मेरा बाबु?’ अनि पेमाको जीवनको उद्देश्य नै बदलिन्छ ।
आख्यानभित्र घोत्लिइरहँदा कतैपनि
लाग्दैन कि आफू त्यहाँ पुगिएको छैन । वर्णन त्यति जीवन्त छ । शेर्पा जातिको
धर्मप्रतिको श्रद्धा, रहनसहन, खानपिन, उनीहरूको
कोठाचोटाको विवरण र संस्कृति कतै पनि लेखक चुकेजस्तो लाग्दैन । तरैपनि लेखकले सुखान्त भने पटक्कै सोच्न सकेका छैनन् । हुँदाहुँदा
एउटा स्थानमा उभ्याइएकी, छोटो भूमिकामा देखिएकी पात्र ‘निमी’ समेत
हिमालमै आफ्नो आत्महत्यामार्फत आफ्नो देह विसर्जन गर्छे ।
ऊ भन्छे, ‘शिखरमा आइसकेर किन फेरि तल झर्ने हतार गर्छन् मानिसहरू ? मलाई
शिखरमै बस्न देऊ, यो उचाइ र चिसोलाई अनुभव गर्न देऊ ।’ किताबमा पटकपटक मस्तिष्कलाई सोच्न बाध्य पारेको अर्को वर्णन छ ।
त्यो हो, जे कुरामा पनि ‘एघार’ अङ्कलाई
महत्व दिइएको छ । जलेका किताब ११ सय १६, वस्तीका घरहरू ११, चौँरीको
बथान १ सय ११ । शायद, शेर्पा जातिमा ‘११’ अङ्कको
कुनै महत्व रहेछ कि ?
किताबमा पद्यात्मक शैलीको पनि धेरै
ठाउँमा प्रयोग गरिएको छ । केही उदाहरण हेरौं:
‘मुटुभित्र धेरै थोक हुन्छ । उसको
दावा पनि त उसको मुटुभित्रै थियो । उसको फुर्वा पनि त उसको मुटुभित्रै थियो । छिमी
त्यहीँभित्र थिइन् । उसका बाउ छिरिङ त्यहीँभित्र थिए । माया मारेर गएकी उसकी आमा
ग्याल्मो पनि त्यहीँभित्र थिइन् । उसको प्यारो खुम्बु त्यहीँभित्र थियो ।’
‘मुटु त सानो हुन्छ । तर, कति धेरै कुरा अटाउँछ यही मुटुमा । हो नि त ! त्यसैले त यही सानो मुटुमा ‘सल्लीपिर’ पनि अटाउन आइपुगेको छ !’
‘मुटु त सानो हुन्छ । तर, कति धेरै कुरा अटाउँछ यही मुटुमा । हो नि त ! त्यसैले त यही सानो मुटुमा ‘सल्लीपिर’ पनि अटाउन आइपुगेको छ !’
समग्रमा भन्नुपर्दा, नेपाली
साहित्यले भिन्न संस्कृतिको बारेमा एउटा राम्रो आख्यान प्राप्त गरेको छ । यो
आख्यान कोठाभित्रको कोरा कल्पनामा डुबेर लेखिएको नभई यसले स्थलगत विवरणलाई यसरी
प्रस्तुत गरेको छ कि पाठकलाई शेर्पा बस्तीमै पु-याइदिएको छ । यति हुँदाहुँदै पनि
यो अलि हतारमा ‘सिध्याइहालुँ’ भन्ने
उद्देश्यले लेखिएको जस्तो लाग्छ । पुस्तकको अन्त्यमा, ‘पेमा’ मरेकी हो कि जिउँदै छे भन्ने
प्रश्नले केही पाठकको दिमागलाई झकझक्याएको देखियो । त्यसको उत्तर खोज्न पुस्तक नै
पल्टाउनुपर्छ र यो एउटा पल्टाउनैपर्ने पुस्तकको रूपमा पाठकसमक्ष आएको छ
No comments:
Post a Comment