समाधान दैनिक,पोखरामा २०७३ जेठ ३ गते
प्रकाशित
उदीपराज ढुंगाना
सल्लीपिर सल्लाको पातमात्र होइन । सोलुको पिर पनि हो । पीडा
पनि हो । र, हो सोलु जस्तै अनेकन दुरदराजका बस्तीहरुको । जब गरिबीले
अधिपत्य जमाउँछ, स्वतन्त्रता कैदी हुन्छ । केही कैदीहरुको कहानी पनि हो, सल्लीपिर ।
हामी गरिब छौं ।
जहाँ गरिबी हुन्छ, त्यहाँ सधैं एउटा
उत्कृष्ट कथा हुन्छ । ग्रिक दार्शनिक ‘अरस्तुु’ ले भनेका छन्, ‘गरिबी क्रान्ति र अपराधको अभिभावक हो ।’ मलाई लाग्छ गरिबी दर्जनौं उत्कृष्ट कथाको जननी पनि हो ।
गरिब हुन आर्थिक कुराले मात्र भूमिका खेलेका हुँदैनन् । अपहेलित हुनु र नितान्त
एक्लो हुनुको आभास दिलाइदिनुले अझ ठूलो गरिबी निम्त्याउँछ । कर्णालीका कथा
काठमाडौंमा बसेर पहिले पनि लेखिएका छन्, बग्रेल्ती, विभिन्न दाबासहित
।
लेख्न गाह्रो हुँदैन । लेखिरहन गाह्रो हुन्छ । विषयमाथि
न्याय गर्ने मान्छे मात्र लेखक हो । विषय फरक राख्नुलाई मात्र अब नयाँपन मान्न
सकिँदैन । नेपाल जस्तो अल्पविकसित÷विकाशील मुलुकमा गरिबी तथा विपन्नताको कथा÷विषयको कदाचित कमी रहँदैन । छैन । छ त केवल एउटा कुशल सूत्रधारको
। यसपटक सोलुको सूत्रधार बनेका छन्, उलार र लु जस्ता सुन्दर र कालजयी उपन्यासका सर्जक नयनराज
पाण्डे ।
सल्लीपिर सल्लाको पातमात्र होइन । सोलुको पिर पनि हो । पीडा
पनि हो । र, हो सोलु जस्तै
अनेकन दुरदराजका बस्तीहरुको । जब गरिबीले अधिपत्य जमाउँछ, स्वतन्त्रता कैदी हुन्छ । केही कैदीहरुको कहानी पनि हो, सल्लीपिर । जसको जिन्दगी फगत एउटा निश्चित सिमानामा सकिने
गर्छ । जहाँका मानिसको भन्दा मानव निर्मित÷संरक्षित वस्तुहरुको मूल्य बढी छ ।
छिरिङले जन्माएका हरेक पात्रको अन्तर्मनमा घरिघरी झिल्काको
रुपमा देखा पर्ने शिक्षाको मधुर प्रकाशले उपन्यास शिक्षामा केन्द्रित रहेको
प्रमाणित गर्न बल पुगेको छ । यो एउटा कवितामय उपन्यास पनि हो । तपाईं कविताको पाठक
हुनुहुन्छ भने तपाईंलाई औधी खुसी लाग्नेछ । छिरिङको कविताबाट सुरु भएको उपन्यास
छिरिङको प्रतिबिम्वको रुपमा नाङसेरेको सोही कवितासँगै सकिन्छ । भलै आख्यानकारले
सुन्दर कवितालाई गीत भनेका छन् । यो कथा गरिबी, हिमाल, सीमान्तकृत
समुदाय, खुम्बु, चौंरी र शेर्पाहरुको त हुँदै हो ।
सम्पूर्ण रुपमा यो एउटा भोक र प्यासको कथा हो । शिक्षाको
प्यास । चेतनाको प्यास । ज्ञानको प्यास । मुख्य पात्रलाई प्यास हुँदाहुँदै पनि
कुवाको पानी विषाक्त छ भन्ने भ्रम छ । भूतमात्र देख्छ किताबहरुमा । भगवान समग्रमा
घटना भएपछि आउने प्रहरीको भूमिकामा छन् ।
कथ्यशैली बेजोड छ । आफैंमा नेपाली फिल्मका कथा तथा पटकथाकार
समेत रहेका आख्यानकारले पटकथाको सुन्दर प्रयोग गरेका छन् । मूल कथालाई अगाडि बढाउन
त्यो प्रयोग सार्थक सिद्ध देखिन्छ । पात्र निर्माणमा हतार देखिँदैन । लम्बेतान पनि
देखिँदैन । सन्तुलित लाग्छ । पछिल्लो समयका केही आख्यानमा आख्यानकारले ‘सेट डिजाइन’ गर्दा गरेको ‘कथा तन्काउने गल्ती’ पाण्डेले गरेका छैनन् ।
फिक्सन कथालाई यथार्थपरक रुपमा प्रस्तुत गरिएको छ । कुनै
उत्कृष्ट थ्रिलर चलचित्र हेरेको भान पनि हुन सक्छ पाठकलाई । पेमासँग लगातार यात्रा
गरिरहँदा काहिँ कतै पनि तपाईं थाकेको महसुस हुँदैन । कमजोर मुटु भएका पाठकले रुमाल
लिएर पढ्न बस्दा उपयुक्त हुन्छ । तात्कालीन समयमा एउटै वस्तुलाई सेना र माओवादीले
हेर्ने दुई दृष्टिकोणलाई बडो सरल तरिकाले सुन्दर रुपमा प्रस्तुत गरिएको छ । घटनाक्रमहरु यसरी आउँछन् कि पढ्दा रोकिने
सम्भावना कम छ ।
देशमा विभिन्न कालखण्डमा भएका घटनालाई जोडेर लेखकले कथा
सत्य हो कि भनेर सोच्न बाध्य बनाउँछन् । त्यसले मुलकथामा केही प्रभाव त पारेको छैन, बरु कथामा मिठास भने थपेको छ । हुन त किताबको ‘पोखरा विमोचन’मा लेखकले भनेका थिए, ‘प्रस्तुत कथा सतप्रतिशत यथार्थ हो र सतप्रतिशत फिक्सन पनि ।’ त्यो निर्णयको जिम्मा पूर्ण रुपमा पाठकसँग सुरक्षित
राखिदिएका छन्, लेखकले ।
त्यो अनुभव उपन्यास सकिएपछि अझ विषेशरुपमा पाउँछन् पाठकले ।
विभिन्न ठाउँमा आउने ‘सपना प्लट’ले पाठकलाई रोमाञ्चित बनाउँछ ।
उपन्यासको सुरुमा अन्याय गरिएका विषय तथा पात्रहरुलाई अन्य
पात्रको माध्यमबाट लेखकले शृंखलावद्ध न्याय गर्ने प्रयास गरेका छन् । क्रुर
ग्ल्यामोको मातृत्व छिमी पात्रले सन्तुलित बनाएको छ । कर्माको बहिर्गमन र आगमनलाई
सुक्ष्म रुपमा भए पनि सम्बोधन गरिएको छ । औचित्य प्रस्ट पारिएको छ । शेर्पाको
रहनसहन, चाडपर्व र जन्म
तथा मृत्यु संस्कारबारे पूर्ण जानकार हुन्छ पाठक उपन्यास सक्दा नसक्दै ।
लेखकले आफूले प्रस्तुत गर्न खोजेको विषय÷विचारमा विरोधाभास आउन दिएका छैनन् । उपन्यासको
उत्तरााद्र्धतिर ‘प्रोजेक्टर’ छिटो दौडिएको भान हुन्छ । कथा ‘कोल्याप्स’ त भएको छैन तर, पाठकको दिमाग सामान्य मानिसको हिँडाइबाट म्याराथन धावक बन्न
बाध्य हुन्छ । बिट मार्न हतार गरिए जस्तो लाग्छ । लेखकको त्यही हतारको चाहनाले
दौडिएको पाठक थकित हुने सम्भावना देखिन्छ ।
एउटा गजबको ‘प्रयोग ?’ छ उपन्यासभरि ।
खुम्बुमा बस्ने हरेक शेर्पालाई प्रस्ट नेपाली भाषा बोल्न आउँछ । शेर्पा भाषा र लवज
तिनीहरुले बिर्सिसकेका छन् । सुरुबाट अन्त्यसम्म उनीहरुमा आफ्नो भाषाप्रतिको रुचि÷ज्ञान देखिँदैन । राजधानीमा बस्ने नेपाली भाषाको सम्पादक
जस्तै ज्ञान छ, उनीहरुमा ।
पात्रका वरिपरिका सम्पूर्ण वस्तु तथा चिजबिजका नाम उनीहरुले आफ्नो भाषामा लिन्छन्
। तर, आपसमा बोल्दा
आफ्नै लवजको प्रयोग गर्दैनन् ।
हरेक शेर्पासँग प्रस्ट नेपालीमा सुन्दर गीत (कविता) गाउन
सक्ने खुबी छ ? शेर्पा भाषाको
सम्भोट लिपिमा नै आख्यान लेख्ने कुरो त भएन तर, त्यो लोकल टोनको अभाव खट्किन्छ । स्थान र स्थानीकरणका लागि
त्यति बिघ्न अध्ययन र अनुसन्धान गरेर पनि भाषामा स्थानीय टोनमा भने आख्यानकार किन
चुकेका होलान् ?
जहाँ—जहाँ पात्र
पुग्छन्, पाठकलाई आफैं
पुगेको भान हुन्छ । कथाको सुन्दर रुपमा ‘सेट डिजाइन’ गरिएको छ । गहिरो अध्ययन र अनुसन्धान गरेको देखिन्छ ।
लेखकले अक्षरबाट न्याय गरेका छन्, खुम्बु क्षेत्रको
सुन्दरता र विकटतालाई । पेमासँगको हरेक यात्रामा पाठकले आफ्नो बलियो उपस्थिति
पाउँछ । सगरमाथा उक्लिँदा होस् या उक्लिएको कहानी सुन्दा ।
चाैरीलाई गोठ लैजाँदा होस् वा शेर्पाप्रति तिब्बतीको
व्यवहारमा, छिमिको मायामा
होस् या ग्याल्जेन÷दावाको बिहेको
सिलु र स्याब्रु नाँचमा । चिमल र धूपीको बास्ना आइरहन्छ पठन यात्राभरि । कथामा स–साना ‘चेन’हरुको निर्माण गरेका छन्, लेखकले । जसले पाठकलाई बाँधिरहन्छ । फुत्कनै दिँनैन । मिहीन
ढंगले गरिएको यो प्रयोगले उपन्यासलाई लोभलाग्दो बनाएको छ ।
तराईको तातो हावामा रमाइरहेका नयनराज पाण्डे योपटक हिमाल
उक्लेका छन् । एउटा दबाब थियो नयनलाई, तातो हावा वरिपरिबाट बाहिर निस्कन । आरोप थियो, नयनले समथर बाहेकको कथा लेख्नै सक्दैनन् । यो भम्र चिर्नु
थियो । यो उपन्यास आउनुमा यो तत्वले पनि केही न केही काम पक्कै गरेको छ ।
हिँडिरहनेलाई हिँड्न भयंकर गाह्रो हुँदैन । पाण्डे थाकेको भान हुँदैन उपन्यासभरि ।
सल्लीपिर आर्थिक गरिबीको मात्र कथा होइन । यो कथा एउटा वास्ता नगरिएको बस्तीको हो
। नरुचाइएको जीवनको पनि । यो खोजी नगरिएको अस्तित्वको हो ।
हरेक बिहान सूर्य उदाएर पनि अँध्यारो रहने घरहरुको कथा हो ।
जहाँ शिक्षाको अभाव छ । ज्ञानको आवश्यकता छ । चेतनाको प्यास छ । दुख र नोक्सान
भएपछि मानिस अधिक विनम्र र सहयोगी बन्छ । एउटा विनम्र र सहयोगी समूहलाई सुन्दर
बस्तीको रुपमा निर्माण गरेका छन्, लेखकले । मलाई
सरुभक्तको मदन पुरस्कार प्राप्त उपन्यास ‘पागल बस्ती’ पढिसकेपछि एउटा जंग चल्यो । म हान्निएको थिएँ, कास्कीको नौडाँडामा पागल बस्ती खोज्न । कल्पनाशक्तिले
बसाएको बस्ती भौतिक थिएन । त्यो खतरा सल्लीपिरमा पनि छ ।
No comments:
Post a Comment